ट्रान्सटेकद्वारा निर्मित निसौर स्क्वायर परियोजना सम्पन्न, ट्राफिक सहज
काठमाडौं । चिनियाँ कम्पनी ट्रान्सटेकद्वारा निर्मित निसौर स्क्वायर विकास परियोजनाको सोमबार उद्घाटन गरिएको छ । दशकौंको युद्ध र द्वन्द्व, विशेष गरी २००३ को अमेरिकी आक्रमणले इराकको सडक सञ्जाल सहितको पूर्वाधारमा गहिरो दाग छोडेको छ । यो परियोजनाले इराकको राजधानीमा लामो समयदेखि रहेको पुरानो भीडभाडलाई कम गर्न बहु–स्तरीय यातायात केन्द्र निर्माण गर्ने लक्ष्य राखेको छ । जुलाई २०२३ मा शुरु गरिएको यस परियोजनामा दुई ओभरपास र पाँच सुरुङहरू छन् । ट्राफिकका लागि खुलिसकेपछि यसले बगदादमा भीडभाडलाई उल्लेखनीय रूपमा कम गरेको छ । ध्वनि प्रदुषण कम गरेको छ । ट्रान्सटेकद्वारा निर्मित निसौर स्क्वायर विकास परियोजना पूरा भएको र ट्राफिकको लागि खुला गरिएको छ । परियोजनामा दुई ओभरपास, पाँच सुरुङहरू साथै १६८ किलोमिटर भूमिगत पाइपलाइन र केबलहरूको मर्मतसम्भार समावेश छ ।
मस्कको लगानीले टेस्लाको एआई–रोबोटिक्स महत्त्वकांक्षालाई नयाँ दिशा
काठमाडौं । टेस्लाको सेयर सोमबारको प्रारम्भिक कारोबारमा ६ प्रतिशतले बढ्यो जब कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले करिब १ अर्ब डलर बराबरको टेस्लाको सेयर खरिद गरेको खुलासा गरे । यो खरिदलाई मस्कले कम्पनीको भविष्यप्रति देखाएको पछिल्लो ठूलो विश्वासको संकेतका रूपमा हेरिएको छ । यो सेयर खरिद मस्कको २०२० को सुरुवातपछिको पहिलो खुला बजार खरिद हो– जुन टेस्लाका लागि महत्त्वपूर्ण समयमै आएको हो । कम्पनी हाल आफैलाई कृत्रिम बौद्धिकता (एआई) र रोबोटिक्स पावरहाउसमा रूपान्तरण गर्ने महत्त्वाकांक्षी लक्ष्य पूरा गर्न दौडिरहेको छ, यद्यपि कार बिक्री सुस्ताउँदै गएको चुनौती पनि छ । यो कदमले मस्कको टेस्लामा अझ बढी नियन्त्रण चाहने लक्ष्यलाई पनि बलियो बनाएको छ । यसअघि करिब एक हप्ताअघि मात्रै कम्पनीको बोर्डले मस्कका मागलाई सम्बोधन गर्ने गरी १ ट्रिलियन डलर बराबरको क्षतिपूर्ति योजना प्रस्ताव गरेको थियो, जसले कम्पनीका वित्तीय र सञ्चालन लक्ष्यहरूलाई उच्च स्तरमा राखेको छ । सोमबारको नियामक विवरण अनुसार मस्कले शुक्रबार २५.७ लाख सेयर खरिद गरेका थिए, प्रति सेयर ३७२.३७ देखि ३९६.५४ डलरसम्म तिरेर । ‘यो मस्कले पुनः टेस्लामा पुरै ध्यान केन्द्रित गर्न लागेको स्पष्ट संकेत हो... वर्षको कमजोर सुरुवातपछि टेस्ला-मस्कको कथा पुनः सही ट्रयाकमा फर्किएको देखिन्छ,’ हग्रिभ्स ल्यान्सडाउनका वरिष्ठ इक्विटी विश्लेषक म्याट ब्रिट्जम्यानले भने । मस्कले निरन्तर टेस्लामा आफ्नो सेयर हिस्सेदारी र मतदान शक्ति बढाउन माग गर्दै आएका छन् । उनले पहिले भनेका थिए कि यदि उनले २५ प्रतिशत मतदान शक्ति पाउन सकेनन् भने एआई र रोबोटिक्सका उत्पादनहरू टेस्लाबाहिर बनाउने उनको प्राथमिकता हुनेछ । एलएसईजीका तथ्यांकअनुसार डिसेम्बरसम्म मस्कसँग करिब १३ प्रतिशत सेयर हिस्सेदारी थियो । सोमबार लगातार तेस्रो दिन टेस्लाको सेयर बढिरहेको भए पनि यो वर्ष हालसम्म यसको मूल्य २ प्रतिशत घटेको छ, जसले यसलाई ‘म्याग्निफिसेन्ट सेभेन’ ठूला टेक कम्पनीहरूबीच कमजोर प्रदर्शन गर्ने सेयर बनाएको छ । टेस्लाको पछिल्लो त्रैमासिक नतिजामा कम्पनीको नाफामा दबाब जारी रहेको देखिएको छ किनभने विद्युतीय कारको माग सुस्त भएको, लागत बढेको र प्रतिस्पर्धा तीव्र भएको छ । तर, टेस्लाको बोर्ड अध्यक्ष रोबिन डेन्होल्मले शुक्रबार भनेका थिए कि मस्कको राजनीतिक गतिविधिले बिक्रीमा असर गरेको भन्ने चिन्ता निराधार छ । उनका अनुसार मस्क केही महिना ह्वाइट हाउसमा व्यस्त रहेपनि अहिले पुनः कम्पनीमा ‘फ्रन्ट एन्ड सेन्टर’ अर्थात् पूर्ण रूपमा सक्रिय भएका छन् । इतिहासकै ठूलो तलब डिल : मस्कलाई टेस्लाको १ ट्रिलियन डलर प्रोत्साहन प्याकेज चिनियाँ अर्थतन्त्रमा दबाब बढ्दैः खुद्रा बिक्री, लगानी र रोजगारीमा निराशाजनक तथ्यांक गोह चेंग लियाङको निर्णयले विश्व चकित, ६ नाति–नातिनी एकै रातमा अर्बपति
मुगुमा चाडपर्वलक्षित सहुलियत पसल सञ्चालन
मुगु । आसन्न दसैँतिहारजस्ता ठूला चाडपर्वलाई ख्यालगर्दै सोमबारदेखि यहाँ सहुलियत मूल्य पसल सञ्चालन गरिइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालयद्वारा सञ्चालन गरिएको पसलमा सहुलियत दरमा दैनिक उपभोग्य सामग्री राखिएका छन् । पसलमा उपभोक्ताले चामल, तेल, चिनीलगायत प्रमुख खाद्य सामग्री छुट मूल्यमा खरिद गर्न सक्नेछन् । बजारमा सामान्यतया महँगो मानिने रिम्स जिरा चामलदेखि अरुवा सोना चामल, मध्यम तथा मोटा चामलसम्म सस्तो मूल्यमा पाइने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । त्यस्तै सूर्यमुखी, तोरी र सोयाबिन तेल तथा चिनी पनि छुटमा बिक्री गर्ने तयारी गरिएको छ । सहुलियत पसलबाट कृत्रिम मूल्यवृद्धि तथा कालोबजारी नियन्त्रणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । हरेक चाडपर्वमा बजारमा अचानक मूल्य बढ्ने, उपभोक्तालाई ठगिने तथा व्यापारीले कृत्रिम अभाव सृजना गर्नेजस्ता समस्या देखिने भएकाले यसपालि समयमै सहुलियत पसल सञ्चालन गरिएको शाखा प्रमुख केशव गिरीले जानकारी दिए । स्थानीय उपभोक्ताले भने सहुलियत पसलले आफूहरूलाई प्रत्यक्ष राहत पुगेको बताएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार सहुलियत पसल नियमित रूपमा सञ्चालन हुने र आवश्यकताअनुसार थप सामग्री उपलब्ध गराउने तयारी गरिएको छ ।
जेनजी आन्दोलनमा काठमाडौंमा एक हजारभन्दा बढी सरकारी गाडी जले
काठमाडौं । जेनजीको आन्दोलनका क्रममा काठमाडौं उपत्यकामा मात्रै एक हजारभन्दा बढी सरकारी सवारीसाधनमा आगजनी भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । विभिन्न सरकारी निकायहरूले उपलब्ध गराएको प्रारम्भिक तथ्यांकअनुसार आन्दोलनका क्रममा ४४१ वटा चारपांग्रे र ६०१ वटा दुईपांग्रे गरी कुल १ हजार ०४२ वटा सरकारी सवारीसाधन पूर्ण रूपमा नष्ट भएका छन् । यद्यपि, अधिकारीहरूले दुईपांग्रे सवारीसाधनको संख्यालाई तुलनात्मक रूपमा न्यून भएको बताएका छन् । सरकारी तथा निजी सवारीसाधनमा भएको आगजनीको पूर्ण विवरण आउन बाँकी छ । त्यसबाट भएको कुल आर्थिक क्षतिको मूल्याङ्कन गर्न अझै केही समय लाग्ने सरकारी अधिकारीहरूको भनाइ छ । विवरणअनुसार सबैभन्दा धेरै सडक विभागका ६५ वटा चारपांग्रे सवारीसाधन नष्ट भएका छन् । त्यसपछि सर्वोच्च अदालतका ५१ वटा, सहरी विकास तथा भवन निर्माण विभागका ५० वटा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका ४७ वटा, अर्थ मन्त्रालयका ३६ वटा, र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका ३५ वटा गाडी जलेका छन् । यस्तै, शिक्षा मन्त्रालयका २६ वटा, गृह मन्त्रालयका २५ वटा, स्वास्थ्य मन्त्रालयका २२ वटा, युवा तथा खेलकुद मन्त्रालयका १९ वटा, संघीय संसद सचिवालयका १८ वटा, उपत्यका ट्राफिक प्रहरी कार्यालयका १८ वटा, वन तथा वातावरण मन्त्रालयका १७ वटा, र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका ९ वटा चारपांग्रे गाडी आगजनीबाट नष्ट भएका छन् । भदौ २३ गतेको आन्दोलनमा १९ जनाको ज्यान गएपछि उच्चपदस्थ कर्मचारीहरूले सरकारी सवारीसाधनहरूलाई कार्यालय परिसरमै पार्किङ गर्न निर्देशन दिएका थिए । तर, भदौ २४ गते आन्दोलन अझ हिंसात्मक बनेपछि सिंहदरबार परिसरभित्र र बाहिरका विभिन्न सरकारी कार्यालयहरूमा तोडफोड, लुटपाट र आगजनीका घटना घटेका थिए । त्यसक्रममा आगो लागेका सवारीसाधनहरू अहिले पनि सरकारी कार्यालय परिसरहरूमा देखिन सकिन्छ ।
उच्च मनोबलका साथ अगाडि बढ्न उद्योगीलाई सरकारको आग्रह
काठमाडौं । सरकारले उद्योगीलाई उच्च मनोबलका साथ अगाडि बढ्न आग्रह गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवद्वय डा रामप्रसाद घिमिरे र कृष्णबहादुर राउतले निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थासँग गरेको छलफलमा मुलुकलाई नयाँ ढङ्गबाट अगाडि बढाउन निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताए । उनीहरूले निजी क्षेत्रलाई विद्यमान अवस्थाबाट अगाडि बढाउन आवश्यक सहयोग गर्न मन्त्रालय प्रतिबद्ध रहेको प्रतिबद्धता जनाए । सचिवद्वयले आउँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै आवश्यक खाद्यान्नलगायत सामग्री पर्याप्त मौज्जाद रहेकाले कुनै अभाव नहुने जानकारी दिए । उनीहरूले माग, आपूर्ति र प्रतिकूल प्रभाव पार्नेगरी वस्तु सञ्चित नगर्न/नगराउन उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, बिक्रेतालगायत सरोकार भएका सबैलाई अनुरोध गरे । मन्त्रालयले आपूर्ति व्यवस्थामा ठूलो असर नपर्ने देखिएकाले वस्तु अनावश्यक रूपमा सञ्चित नगर्न सर्वसाधारणमा आग्रह गरेको छ । परिस्थिति सामान्य बन्दै गएकाले निजी क्षेत्रलाई आफ्ना उद्योग व्यवसाय सञ्चालन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आह्वान गरेको छ । मन्त्रालयले आयात सहज गर्न कोरला नाका खुला गरिएको तथा सो नाकाबाट ठूलो मात्रामा सामान भित्रिरहेको जानकारी गराउँदै तातोपानी नाका खुलाउन प्रयास भइरहेको जनाएको छ । साथै दक्षिणतर्फका नाकासमेत नियमित सञ्चालनमा आइसकेको सचिवद्वय घिमिरे र राउतले जानकारी दिए । छलफलमा परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले अहिलेको विषम् परिस्थितिमा मुलुक अप्ठ्यारोमा परेकाले अर्थतन्त्र उकास्न सबैसँग सहकार्य र समन्वय गरी सहज वातावरण बनाउन आवश्यक रहेकामा जोड दिए । उनले उत्पादनमूलक उद्योग, होटेल तथा रिटेल चेन तथा साना व्यवसाय तथा उद्योगी व्यवसायीका निजी आवास तथा भवनमा भएको आगजनी, लुटपाट तथा तोडफोड गरी निजी क्षेत्रलाई निराश बनाए पनि नयाँ हौसलासहित उठ्ने प्रयास गरिएको बताए । सरकारसँग नजिक रहेर काम गर्न निजी क्षेत्र प्रतिबद्ध रहेको बताउँदै उहाँले निजी क्षेत्रलाई आत्मविश्वासिलो बनाउनुपर्नेमा जोड दिए ।
‘भोजपुरे खुकुरी’ को माग उच्च : बनाउन कालीगढको चरम अभाव
भोजपुर । परम्परागत खुकुरी बनाउने कालीगढ पेसाप्रति नयाँ पुस्ताको रुचि घट्दै जाँदा जिल्लामा ‘भोजपुरे खुकुरी’ निर्माणमा सङ्कट देखिएको छ । दक्ष कालीगढको अभावले मागअनुसारको उत्पादन गर्न नसकिएको व्यवसायीहरू बताउँछन् । पुस्तान्तरण नहुँदा तथा संरक्षणको अभावले कालीगढ पेसा सङ्कटमा पर्दै गएको हो । भोजपुरे खुकुरीको माग स्थानीय बजार, बाहिरी जिल्लासँगै अन्तरराष्ट्रिय बजारसम्म हुने भए पनि मागअनुसारको खुकुरी उत्पादन हुन नसकेको व्यावसायीहरूको भनाइ छ । खुकुरीले ख्याति कमाएको जिल्लामा दक्ष कालीगढ अभावले उत्पादनमा कमी आएको स्थानीय कालीगड हर्कबहादुर विश्वकर्माले बताए । कालीगड पेसामा नयाँ पुस्ताको रुचि हराउँदै गएका कारण खुकुरी उत्पादनमा कमी आउँदा माग धान्न समस्या रहेको उनको भनाइ छ । 'पछिल्लो समय भोजपुरे खुकुरीको देश–विदेशबाट माग आउने गरेको छ', उनले भने, 'गाउँघरमा अहिले दक्ष जनशक्ति नहुँदा उत्पादनमा कमी आएको छ । बजारको मागलाई धान्न मुस्किल छ । यो पेसालाई पुस्तान्तरणको अभाव देखिएको छ ।' मुख्य गरेर भोजपुरे, सिरुपाते, चित्लाङ्गले कोथीमोडालगायतका खुकुरीको बजारमा बढी माग रहेको उनले बताए । यहाँ उत्पादन भएका खुकुरी आकारअनुसार न्यूनतम रु एक हजारदेखि अधिकतम २० हजारसम्म पर्ने व्यवसायी दिनेश गजमेरले बताए । बाहिरका जिल्लाबाट दुईचार सय खुकुरीको माग आउने भए पनि धेरै माग भएको खण्डमा धान्न समस्या हुने उनको भनाइ छ । विगतका वर्षहरूमा धेरै कालीगढ भए पनि पछिल्लो समयमा व्यावसायिक रूपमा यो काम गर्ने मानिसहरूको सङ्ख्या क्रमशः घट्दै गएको उनले जानकारी दिए । बढी मेहेनत गर्नुपर्ने साथै व्यवसाय गर्नका लागि आवश्यक हुने कच्चा पदार्थ अभावसँगै नयाँ पुस्तामा यसप्रति मोह कम भएकाले यो पेसा सङ्कटमा पर्दै गएको उनले बताए । विदेश जाने लहरको कारण गाउँघरमा सञ्चालनमा रहेका खुकुरी बनाउने आरन उद्योग बन्द हुँदा खेतीपातीका लागि आवश्यक पर्ने कृषि औजार उपकरण बनाउने जनशक्तिको पनि अभाव देखिन थालेको छ । रासस
असोजमा ०.१२ प्रतिशत घट्यो बैंकको ब्याजदर, ९ बैंकले घटाउँदा २ बैंकले बढाए
काठमाडौं । वाणिज्य बैंकहरुले असोजमा पनि ब्याजदर घटाएका छन् । असोज १ गतेदेखि लागू हुने गरी बैंकहरुले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् । असोज महिनाका लागि बैंकहरुको मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.१२ प्रतिशत घटेर औसत ५.४६ प्रतिशतमा झरेको छ । जबकी भदौमा औसत ब्याजदर व्यक्तिगततर्फ ५.५८ प्रतिशत थियो । यस्तै, असोजमा मुद्दती निक्षेपमा संस्थागततर्फ औसत ०.०९ प्रतिशत घटेर ३.८७ प्रतिशतमा झरेको छ । यसअघि साउनमा संस्थागततर्फ औसत ३.९६ प्रतिशत ब्याजदर थियो । भदौ महिनाका लागि विभिन्न ९ वटा बैंकले ब्याजदर घटाएका छन् भने २ बैंकले ब्याजदर बढाएका छन् । कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक, प्राइम बैंक, सिटिजन्स बैंक, सानिमा बैंक र एनआईसी एशिया बैंकले साउनको तुलनामा असोजमा ब्याजदर घटाएका छन् । यस्तै, लक्ष्मी सनराइज बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले साउनको तुलनामा असोजमा ब्याजदर बढाएका छन् । ग्लोबल आइएमई बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, नबिल बैंक र राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)ले भने असोजमा ब्याजदर स्थिर राखेका छन् ।
पर्यटन पुनःउत्थानमा ५ वर्ष लाग्ने गरेको छ, यस पटक छोटो अवधिमै उदाहरणीय काम गर्नुपर्छ
काठमाडौं । मुलुकको पर्यटन पुनः उत्थान गर्न सरकार र निजी क्षेत्रले सामूहिक ऐक्यबद्धता जनाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियता र नेपाल पर्यटन बोर्डको समन्वयमा सोमबार भएको छलफलमा सरोकार भएका सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूले सबै मिलेर पर्यटन पुनः उत्थानमा लाग्ने बताए । ‘जेनजी’ आन्दोलनका कारण नेपालको पर्यटन संरचनामा पनि ठूलो क्षति र चुनौती थपिएको उल्लेख गर्दै सहभागीले त्यसका बाबजुद पर्यटन क्षेत्र पुनःस्थापना र प्रगतिको मार्गमा अघि बढिरहेको धारणा राखे । मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले पर्यटन क्षेत्रलाई पुनर्जीवन दिनका लागि नीतिगत अड्चन फुकाउन मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गर्दै निजी क्षेत्रको सहकार्य अपरिहार्य रहेको बताए । ‘पर्यटन क्षेत्रको पुनः उत्थानका लागि आवश्यक सुधार गर्न तत्काल पहल थालिएको छ । नेपालको छवि सुधार र सूचना प्रविधिको अधिकतम प्रयोगमार्फत नेपाल सुरक्षित गन्तव्य भएको विषय विदेशमा फैलाउन आवश्यक पहल गर्न हामी काम गरिरहेका छौँ,’ उनले भने । सचिव मैनालीले नेपाल आउने पर्यटकलाई पहिलो प्राथमिकतामा राख्दै उनीहरूको सुरक्षित आवागमनको सहजीकरण गर्न सम्बन्धित निकायलाई निर्देशन पनि दिए । ‘यस घटनाले हामीलाई धेरै सिकाएको छ । प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् विस्तार हुने क्रम सुरु भएसँगै राम्रो सन्देश विश्वभर पुगेको छ । हामी आशावादी भएर काम गरिरहेका छौँ,’ उनले भने । पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले यस सिजनलाई सक्रिय बनाउन ‘पर्यटन प्याकेज’ सार्वजनिक गर्नुपर्ने बताए । दूतावास, गैर आवासीय नेपाली र अन्य सञ्जालमार्फत नेपाल सुरक्षित छ भन्ने सन्देश दिन आवश्यक रहेको बताए । पर्यटन बोर्ड पोखरा कार्यालय प्रमुख मणिराम लामिछानेले पोखरामा रहेका पर्यटन व्यवसायीसँग त्यहाँ भएको क्षतिको विवरण सङ्कलनका लागि समन्वय भएको उल्लेख गर्दै त्यहाँ आवागमन गर्ने पर्यटकलाई आवश्यक सहजीकरण गर्न तयार रहेको बताए । उनले भने, ‘हाम्रा ट्रेकिङ रुटहरू सुरक्षित छन् । साहसिक पर्यटकीय गन्तव्यमा पनि सहज आवागमन सुरु भइसकेको छ । त्यसकारण पोखरा आवागमन गर्ने पर्यटकलाई कुनै समस्या हुँदैन, आवश्यक सहजीकरणका लागि हामी तयार छौँ ।’ होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले होटल व्यवसायमा क्षति भए पनि पाहुनाका लागि स्वागत र आतिथ्य सेवामा कुनै कमी नहुने बताए । साहसिक पर्यटनका क्षेत्रमा खासै असर परेको छैन । यो क्षेत्र सुरक्षित भएकाले पर्यटकको सङ्ख्या बढ्दै गएको उनको भनाइ छ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाटा) का अध्यक्ष कुमारमणि थपलियाले नेपाल सुरक्षित रहेको सन्देश व्यापक बनाउनुपर्ने बताए । प्राकृतिक विपद् र हालको सङ्कट फरक भएकाले दीर्घकालीन समस्या समाधानका लागि काम गर्नुपर्ने उनको धारणा छ । पर्यटन बोर्डका सदस्य ऋषि भण्डारीले पुनः उत्थानका लागि निरन्तर प्रयत्न आवश्यक रहेको बताए । ‘हरेक सङ्कटपछि नेपालको पर्यटन पुनः उत्थानमा ५/५ वर्ष लाग्ने गरेको छ । यस पटक हामीले छोटो अवधिमै उदाहरणीय काम गर्नुपर्छ,’ उनले भने । यस्तै, बोर्ड सदस्य तथा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) का महासचिव नरेन्द्र देव भट्टले नेपाललाई सुरक्षित गन्तव्यका रूपमा प्रचार गर्न विदेश स्थित नेपाली दूतावास र नेपालस्थित विदेशी नियोगहरूसँग समन्वय बढाउनुपर्नेमा जोड दिए । टान अध्यक्ष सागर पाण्डे र कैलाश टुर अपरेटर एसोसिएसनका अध्यक्ष विमल नहर्कीले कैलाश यात्रामा सहजीकरण गर्नुपर्नेमा जोड दिए । नेपाल पर्यटन बोर्डले स्थिति सामान्य भएसँगै आइतबार पनि पर्यटनसँग सम्बन्धित निकायका प्रतिनिधिसँग छलफल गरेको थियो । उक्त छलफलका क्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले विगतका विपद् तथा विभिन्न सङ्कटका समयमा पनि नेपालको पर्यटन क्षेत्र पुनः उत्थान भएको उदाहरण दिँदै आत्मविश्वासका साथ सक्रिय बनाउन लाग्नुपर्ने धारणा व्यक्त गरे । यसैगरी बोर्डले आज नेपालमा रहेका पाँच तारे र चार तारे होटलका प्रमुख, महाप्रबन्धक तथा प्रतिनिधिसँग पनि छलफल गरेको छ । छलफलका क्रममा राज्यले सहजीकरण गरिदिएको अवस्थामा होटल व्यवसायीहरू पाहुनालाई स्वागत गर्न तयार रहेको होटल व्यवसायीले बताए । यी विभिन्न छलफलका क्रममा सरकार, पर्यटन बोर्ड र निजी क्षेत्र पर्यटन पुनःस्थापनाका लागि एकमत देखिएको छ । हाल सिर्जना भएका चुनौतीलाई अवसरमा बदल्ने र नेपाललाई अझ सुरक्षित, आकर्षक र सहज गन्तव्यका रूपमा स्थापित गर्न सामूहिक पहल गर्ने सहभागीले प्रतिबद्धता व्यक्त गरेका छन् ।