जनजीवन सामान्य : हट्यो कर्फ्यु र निषेधाज्ञा
काठमाडौं । नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बनेको छ । आन्दोलनपछि मुलुकका विभिन्न क्षेत्रमा केही दिनअघिदेखि लगाइको कर्फ्यु र निषेधाज्ञा हटेको छ । सबै जनता आफ्नो पेसा व्यवसायमा संलग्न भएका छन् । युवापुस्तासहित सम्पूर्ण देशवासीमा खुशियाली छाएको छ । शान्ति सुरक्षाको अवस्था सामान्य रहेको छ । भ्रष्टाचारविरुद्ध र सुशासन प्रवर्द्धनको नाराकासाथ अघि बढेको जेनजी पुस्ताको मागअनुरूप पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीका नेतृत्वमा नयाँ सरकार गठन भएको छ । आमनागरिकको चाहनाअनुरूप मुलुकमा शान्ति सुव्यवस्था र कानुनी राज्यको अनुभूति दिलाउँदै वर्तमान सरकारले तोकिएको समयसीमाभित्र निर्वाचन गराई सत्ता हस्तान्तरण गर्ने छ ।
प्रधानमन्त्री कार्कीको पहिलो निर्णय संसद् विघटन, फागुन २१ गते चुनाव घोषणा
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो पहिलो निर्णय संसद् (प्रतिनिधि सभा) विघटन गरेकी छन् । शुक्रबार राति पद तथा गोपनीयताको शपथ ग्रहण समारोहपछि शीतल निवासमै बसेको पहिलो मन्त्रिपरिषद् बैठकले संसद् विघटन गर्ने निर्णय गरेको हो । कार्कीको अन्तरिम मन्त्रीपरिषदमा अन्य सदस्य नियुक्त नभएकाले उनी एक्लैको बैठकले संसद विघटन गर्ने निर्णय गरेको हो । प्रधानमन्त्रीले संसद् विघटनको सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले त्यसलाई सदर गरेका छन् । त्यस्तै, फागुन २१ गतेका लागि चुनावको मिति समेत तोकिएको छ । प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपतिले चुनावको मिति घोषणा गरेका हुन् ।
देशले नयाँ प्रधानमन्त्री पायो, ओलीसहितका नेताले फिर्ता पाए जफत भएका मोबाइल
काठमाडौं । देशले नयाँ प्रधानमन्त्री पाउँदा केपी शर्मा ओलीसहितका नेताहरूले जफत भएका मोबाइल फोन फिर्ता पाएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा सपथ खुवाई रहँदा नेपाली सेनाको तालिम केन्द्र शिवपुरीमा रहेका निवर्तमान प्रधानमन्त्री ओलीसहितका नेताहरूले जफत भएका फोन फिर्ता पाएका हुन् । नेपाली सेनाको सुरक्षा घेराभित्र शिवपुरी ब्यारेकमा रहेका ओलीसहित निवर्तमान मन्त्रीहरूले मोबाइल फिर्ता पाएका छन् । भदौ २४ गते जेनजीको आन्दोलनकर्मीहरुले बालुवाटार, संसद् भवन, सिंहदरबार, राजनीतिक दलका कार्यालय तथा नेताका घरघरमा आगजनी गरेपछि नेपाली सेनाले हेलिकप्टर मार्फत तालिम केन्द्र शिवपुरीमा पुर्याएर सुरक्षा दिएको थियो । नेपाली सेनाले भैँसेपाटीस्थित मन्त्री निवासबाट हेलिकप्टरमा निवर्तमान मन्त्रीहरूलाई शिवपुरी पुर्याएको थियो । साथै उनीहरुको साथमा रहेका मोबाइल सेनाले जफत गरेको थियो । नवनियुक्त प्रधानमन्त्री कार्की शपथ सकेर राष्ट्रपति निवासबाट बाहिरिएसँगै शिवपुरीमा रहेका नेताहरूको फोन पनि लागि रहेको छ ।
प्रधानमन्त्री कार्कीको पदभार ग्रहण आइतबार हुने, किन रोकियो एकाएक ?
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शुशीला कार्कीको पदभार ग्रहण आइतबार हुने भएको छ । उनले राष्ट्रपति निवास शितल निवासबाट सपथ लिएर सिंहदरबारका लागि हिँडे पनि उनले आइतबार मात्रै पदभार ग्रहण गर्ने योजना बनाएकी हुन् । यसअघि आजै पदभार हुने भनिए पनि एकाएक पदभार रोकिएको छ । यसको कारण भने खुल्न सकेको छैन । अहिलेका लागि उनले सबै मन्त्रालय आफूले नै सम्हालेकी छन् । शुक्रबार प्रधानमन्त्रीको सपथपछि उनले सबै मन्त्रालय आफूले सम्हाल्ने भएकी हुन् । अब आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन हुने भएको छ ।
बालेनले भने- प्रिय जेनजी, तपाईहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजीको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको बताएका छन् । जेनजीसहिदप्रति श्रद्धाञ्जलीको फोटो राख्दै उनले जेनजीको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको बताएका हुन् । ‘प्रिय जेनजी, तपाईंहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ,’ उनले लेखेका छन् । वीर सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै योगदान अमूल्य रहेको उनको भनाइ छ । ‘तपाईंहरूको योगदान अमूल्य छ, जसले सधैं भावी पुस्तालाई देश प्रेम र कर्तव्य बोधको मार्गदर्शन गर्नेछ । ताईहरूप्रति असिम सम्मान ।’ उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत व्यक्त गरे ।
प्रतिनिधिसभा विघटन गर्ने निर्णयमा माओवादीको असहमति
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा विघटन गर्ने निर्णयमा गम्भीर असहमति रहेको जनाएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको केन्द्रीय पदाधिकारीहरूको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा विघटन गर्ने निर्णयमा गम्भीर असहमति रहेको बताए । वर्तमान परिस्थितिलाई विश्लेषण गर्दै मुलुकको संवैधानिक व्यवस्था विपरीत संसद् विघटन गर्ने निर्णय भएको भन्दै त्यसप्रति गम्भीर असहमति भएको निर्णय माओवादी केन्द्रले जनाएको छ ।
प्रधानमन्त्री कार्कीले सम्हालिन् सबै मन्त्रालय, ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने
काठमाडौं । नवनियुक्त सुशीला कार्कीले सबै मन्त्रालय आफूले नै सम्हालेकी छन् । शुक्रबार प्रधानमन्त्रीको सपथपछि उनले सबै मन्त्रालय सम्हाल्ने भएकी हुन् । अब आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्नेगरी पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ, राष्ट्रपतिले भने : देश सफल होस्, जनता बाँचुन्
काठमाडौं । अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले सपथ लिएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सपथ ग्रहण गराएका हुन् । शितलनिवासमा भएको सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति, प्रधानन्यायाशीध लगायतको सहभागिता छ । शुक्रबार कार्कीलाई प्रधानमन्त्रीको शपथ दिलाएपछि राष्ट्रपति पौडेलले देश सफल होस् र जनता बचाउनुहोस् भन्दै शुभकामना व्यक्त गरे । शुभकामना दिँदै राष्ट्रपति पौडेलले भने, ‘बधाई छ । धेरै-धेरै शुभकामना । कार्यकाल सफल होस् । देश सफल होस्, जनता बचाउनुस् ।’ जवाफमा कार्कीले थप केही नभनी धन्यवाद भनिन् ।