विकासन्युज

आन्दोलनमा भएको क्षतिप्रति सीएनआईको गहिरो दुःख, व्यवसायिक वातावरण बनाउन आग्रह

काठमाडौं । देशभर भएको आन्दोलन र प्रदर्शनका क्रममा भएको धनजनको क्षति प्रति नेपाल उद्योग परिसंघ (सीएनआई) ले गहिरो दुःख प्रकट गरेको छ । परिसंघले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारलाई समवेदना प्रकट गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आन्दोलनले मुलुकलाई नयाँ चरणतर्फ डोर्‍याउने विश्वास समेत व्यक्त गरेको छ । परिसंघका अनुसार सुशासन भ्रष्टाचार निवारण र पारदर्शिताप्रति युवा पुस्ताले उठाएका मागलाई उच्च महत्व दिनुपर्नेमा जोड दिइएको छ । ‘विद्यमान अन्यौलतालाई चिर्दै मुलुकमा शान्ति र सुव्यवस्था कायम गर्नुपर्ने आम नेपालीको चाहनामा हामी प्रतिबद्ध छौं,’ परिसंघले विज्ञप्तिमा उल्लेख गरेको छ । आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमाथि भएको तोडफोड, आगजनी र लुटपाटप्रति परिसंघले गहिरो चिन्ता व्यक्त गरेको छ । ती घटनाले उद्योग–व्यवसायीहरूलाई त्रसित तुल्याएको भन्दै यसले लगानी, रोजगारी र औद्योगिक गतिविधिमा गम्भीर असर पारेको चेतावनी दिएको छ । ‘लगानीकर्ताले त्रास र भयबीच काम गर्नुपर्ने अवस्था रह्यो भने स्वदेशी र विदेशी दुवै लगानी प्रभावित हुनेछन्,’ परिसंघले जनाएको छ । यसका लागि परिसंघले सुरक्षाको प्रत्याभूति दिँदै निर्वाध रूपमा व्यवसाय सञ्चालन गर्न सक्ने वातावरण बनाइदिन सरकारलाई आग्रह गरेको छ । परिसंघका अनुसार आन्दोलनमा क्षतिग्रस्त सार्वजनिक र निजी संरचना पुनःनिर्माणका लागि खर्बौं लगानी आवश्यक पर्नेछ । राज्यको स्रोत मात्रले पुनर्निर्माण सम्भव नहुने भन्दै निजी क्षेत्रलाई सहज वातावरण दिनुपर्नेमा जोड दिइएको छ । बिहीबार साँझ सम्पन्न राष्ट्रिय परिषद बैठकपछि परिसंघले युवा पुस्ताले उठाएका आकांक्षा मूर्तरूप दिन निजी क्षेत्र शसक्त रूपमा प्रयत्नशील रहने प्रतिबद्धता जनाएको छ ।

२० हजार लाइसेन्स र ६ लाख बढी इम्बोस्ड नम्बर प्लेट जले, सेवा लिन दुई महिना लाग्ने

काठमाडौं । जेनजी आन्दोलनका क्रममा काठमाडौं मीनभवनस्थित यातायात व्यवस्था विभाग जलेर नष्ट भएको छ ।  आगजनीमा इम्बोस्ड नम्बर प्लेट उत्पादन गर्ने प्लान्ट र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ गर्ने मेसिनलगायत अन्य सामाग्री जलेर ध्वस्त भएको विभागले जनाएको छ ।  अहिले जीर्ण अवस्थामा रहेको भवन मर्मत गरेर चलाउन सक्ने अवस्था नरहेको  विभागका प्राविधिक शाखा प्रमुख श्रीकान्त यादवले जानकारी दिए । विभागका अनुसार करिब २० हजार लाइसेन्स वितरणका लागि राखिएको थियो। यादवले लाइसेन्ससहित इम्बोस्ड नम्बर प्लेट उत्पादन गर्ने प्लान्ट र लाइसेन्स छाप्ने मेसिन जलेर ध्वस्त भएको जानकारी दिए । विभागबाट लिने सेवा सुरु हुन अझै दुई महिना लाग्नसक्ने उनले बताए ।  यसअघि विभागले तत्काल लाइसेन्स आवश्यक पर्नेलाई निवेदन दिएको २४ घण्टाभित्र उपलब्ध गराउँदै आएको थियो । अहिले भने वैदेशिक रोजगारीमा जाने तथा सुरक्षा निकाय कसैलाई पनि तत्काल लाइसेन्स आवश्यक परे उपलब्ध नहुने भएको छ  ।  विभागमा रहेको एउटा मात्र लाइसेन्स छपाइ गर्ने मेशिन आगलागीबाट ध्वस्त भएपछि सेवा अनिश्चित बनेको हो । विभागले असोज १ बाट नयाँ दर्ता, नवीकरण र नामसारी गर्दा सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्न सार्वजनिक सूचना नै जारी गरेको थियो ।  विभागका अनुसार साउनसम्म ८ लाख १९ हजार ५९ वटा इम्बोस्ड नम्बर प्लेट तयार भएका थिए । त्यसमध्ये करिब दुई लाख हाराहारी मात्र सम्बन्धित प्रदेश र त्यसअन्तर्गतका कार्यालयमा पठाइएको थियो । बाँकी नम्बर प्लेट विभागमै रहेको र पठाउने तयारी हुँदै थियो । ६ लाख १९ हजार इम्बोस्ड नम्बर प्लेट जलेर नष्ट भएको विभागको भनाइ छ  ।  विभागका अनुसार साउनसम्म दुईपांग्रे ६ लाख ३२ हजार १ सय ४१, चारपांग्रे १ लाख ६४ हजार १ सय ९१, हेभी सवारीका लागि १४ हजार ५ सय ८२ र तीनपांग्रेका लागि ८ हजार १ सय ४५ वटा इम्बोस्ड नम्बर प्लेट उत्पादन गरिएको थियो  ।  अहिले कोशीबाहेक बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, मधेश र कर्णालीका लागि नम्बर प्लेट तयार थियो । यसमध्ये थोरै संख्यामा मात्र पठाइएको थियो  । यस्तै, विभागका अनुसार कार्यालयमा पार्किङ गरेर राखिएका ७ वटा गाडी जलेर नष्ट जलेका छन् । 

जेनजी आन्दोलनपछि​​​​​​​ बैंकका सीईओ र उद्योगी व्यवसायीसँग गभर्नरको भेट

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले जेनजी आन्दोलनपछिको अवस्थाका बारेमा बैंक तथा वित्तीय संस्था र उद्योगी व्यवसायीहरूसँग छलफल गरेका छन् । जेनजी आन्दोलनपश्चात के कति क्षति भयो र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा गभर्नर डा.पौडेलले बैंकर र उद्योगी व्यवसायीहरूसँग छलफल गरेको राष्ट्र बैंकका सहायक प्रवक्ता सुमन न्यौपानेले जानकारी दिए ।  उनका अनुसार गभर्नर पौडेलले नेपाल बैंकर्स संघ र डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालका प्रतिनिधि र उद्योगी व्यवसायीका प्रतिनिधिसँग पछिल्लो घटनाक्रमका कारण परेको असरबारे छुट्टाछुट्टै छलफल गरेका हुन् । ‘वर्तमान परिस्थितिमा कसरी अगाडि बढ्ने भन्ने विषयमा सामान्य छलफल भएको हो । साथै भेटमा के कस्तो समस्या भयो र कति क्षति भएको छ भन्ने विषयमा गभर्नरले जानकारी लिनु भयो,’ प्रवक्ता  न्यौपानेले भने ।  उनका अनुसार धेरै लामो छलफल भएको छैन । छोटो भेट गरेर वर्तमान विषयमा जानकारी लिने काम मात्रै हो । 

क्षतिग्रस्त संरचना सञ्चालन गर्न कामना सेवा विकास बैंकको सहयोग

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिका वडा नं ३० लाई कार्यालय सञ्चालन गर्नको लागि टेबल कुर्सी हस्तान्तरण गरेको छ ।  जेनजीको भ्रष्टाचार विरुद्धको आन्दोलनका क्रममा उक्त कार्यालयका सम्पूर्ण उपकरण तथा फर्निचरहरु जलेर नष्ट भएको थियो ।  कामना सेवा विकास बैंकका ढुङ्गेपाटन शाखाकी शाखा प्रबन्धक लक्ष्मी ढकालले वडाध्यक्ष दुर्गा प्रसाद सुवेदीलाई उक्त फर्निचरहरु हस्तान्तरण गरिन् । उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै वडाध्यक्ष दुर्गा प्रसाद सुवेदीले आन्दोलनका क्रममा क्षति पुगेका संरचनामा सहयोग गरि कार्यालय सञ्चालन गर्न सहयोग गरेकोमा बैंकलाई धन्यवाद दिँदै अन्य सरोकारवालाहरुलाई पनि पुनःनिर्माणमा जुट्न आह्वान गरे ।  बैंकले आन्दोलनका क्रममा कार्यालयका उपकरण सहित सम्पूर्ण भौतिक संरचना जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, कास्कीलाई आवश्यक कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ ।  कार्यालय पूर्ण रूपमा जलेर नष्ट भई कार्यालय सञ्चालन नै असम्भव हुने अवस्थामा रहेकोमा तत्काल आवश्यक पर्ने कम्प्युटर र प्रिन्टर बैंकका पोखरा क्षेत्र प्रमुख शिवकुमार ढकालले जिल्ला प्रहरी कार्यालय, कास्कीका डीएसपी हरिबहादुर बस्नेतलाई हस्तान्तरण गरे ।  बैंकले आन्दोलनका क्रममा क्षतिग्रस्त भएका विभिन्न वडा कार्यालय, मालपोत कार्यालय, प्रहरी कार्यालयहरू पुनःनिर्माण, मर्मत सम्भार तथा आवश्यक सामाग्री हस्तान्तरण गर्न थालेको छ । 

स्वास्थ्य मन्त्रालय जलेपछि आपतकालीन सेवा वीर अस्पतालबाट

काठमाडौं । काठमाडौंस्थित रामशाह पथमा रहेको स्वास्थ्य मन्त्रालयको भवन जलेर खरानी भएको छ ।  मन्त्रालयभित्र रहेका दर्जनौं सवारीसाधनदेखि कागजात सबै जलेका छन् ।  मन्त्रालय नै जलेपछि अहिले कर्मचारीहरू घरमै बसेर काम गरिरहेको मन्त्रालयले जनाएको छ ।  तीन दिनसम्म लगातार दन्किरहेको आगोले कुनै पनि भाग र सामग्री बाँकी नराखेको मन्त्रालयका पदाधिकारीले बताएका छन् । मन्त्रालयमा रहेको स्वास्थ्य आपतकालीन केन्द्र (एचईओसी) भवन पूर्ण रूपमा जलेको छ ।  मन्त्रालयले यो केन्द्रलाई वीर अस्पतालको एउटा कोठामा सारेर वीरबाट कामलाई निरन्तरता दिएको जनाएको छ।  केन्द्रले देशभरका अस्पतालमा समन्वय गरेर काम गरिरहेको छ । मन्त्रालयको अर्को भवनको टुंगो नलागेसम्म केन्द्रले वीरबाट र अन्य कर्मचारीले घरबाटै काम  गर्ने भएका छन् ।

अर्को साता सेयर कारोबार नहुने

काठमाडौं । अर्को साता सेयर कारोबार नहुने भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले विज्ञप्ति जारी गर्दै सेयर कारोबार नहुने जनाएको हो । आगामी आइतबारदेखि बिहीबारसम्म कारोबार नहुने भएको हो । धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १० उपदफा (१) खण्ड (घ) बमोजिम  नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भए अनुसार नेप्सेले कारोबार नगर्ने भएको हो ।

अर्थशास्त्रीहरूहरू भन्छन्– ‘जेनजी आन्दोलन अर्थतन्त्रका लागि ‘कोर्स करेक्सन’को अवसर

काठमाडौं । अर्थतन्त्रका जानकारहरुले जेनजी प्रदर्शनका कारण मुलुकले भौतिक रूपमा उल्लेखनीय क्षति बेहोरे पनि अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रमा आशा जगाउँदै ‘कोर्स करेक्सन’को अवसर प्रदान गरेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले शुक्रबार  आयोजना गरेको ‘वर्तमान अवस्थामा अर्थतन्त्रका चुनौती र अबको बाटो’ विषयक भर्चुअल अन्तरक्रियामा उनीहरुले जेनजीको प्रदर्शन बेथिती, कुशासन र भ्रष्टाचारविरुद्ध भएकाले यो समयलाई कोर्स करेक्सनको रुपमा सदुपयोग गर्नुपर्नेमा जोड दिए । नेपाल सरकारका पूर्वअर्थसचिव रामेश्वर खनालले भ्रष्टाचारका विरुद्ध मुलुकभरबाट मानिसहरु एकसाथ जाग्नुलाई सकारात्मक रूपमा लिनुपर्ने बताए । ‘नयाँ पुस्ताको नेतृत्वमा मुलुकभरबाट भ्रष्टाचारका विरुद्ध मानिसहरु एकसाथ जाग्नु हाम्रा लागि उपलब्धि हो, संविधान संशोधनलगायतका विषय पछि जोडिएका हुन्,’ उनले भने, ‘अब यो अवसरलाई सदुपयोग गर्दै सरकारले पुनःनिर्माण, नयाँ लगानीको अवसर सृजना र लगानीकर्ताको आत्मविश्वास बढाउनुपर्ने विषयलाई प्राथमिकता दिनुपर्छ ।’ उनले अहिलेको समस्या प्राकृतिक र महामारी विपत्ती नभइ आन्तरिक रूपमा मानव सृजित समस्या भएकाले दातृ निकायबाट सहयोग प्राप्त हुने अवस्था सहज नभएको बताए । ‘यसप्रकारको अवस्था २०३६ साल र माओवादीको द्वन्द्वको समयमा पनि देखिएको थियो, तत्कालीन समयमा भौतिक संरचनामा ठूलो क्षति पुगेको थियो, सडक, पुलमा ठूलो क्षति हुनुका साथै सञ्चार सेवा नै अवरुद्ध भएको अवस्था थियो,’ उनले भने, ‘तर अहिले त्यो अवस्था छैन, त्यसैले हामीलाई फेरि उठ्नका लागि ठूलो समस्या हुन्छ भन्ने लाग्दैन ।’ पूर्वसचिव खनालले अन्य मुलुकको तुलनामा नेपाल छिटो ‘रिकभर’ गर्ने मुलुक भएकाले उल्लेख गर्दै प्रदर्शनको तेस्रो दिनमै स्थिरतातर्फ उन्मुख हुनु मुलुकका लागि सकारात्मक पक्ष भएको बताए ।  उनले यस प्रदर्शनले भ्रष्टाचार र कुशासन हटाउँदै शासकहरुलाई सच्चिनका लागि पनि सन्देश दिएको प्रतिक्रिया दिए । ‘जेनजीले जुन विषय उठाएर प्रदर्शन गरे र त्यसले जुन रुप लियो, यसबाट हामीलाई भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन र आसेपासे पुँजीवादको जालो भत्काउन सहयोग गरेको छ,’ खनालले भने, ‘आगामी दिनमा मुलुकमा देखिएको व्याप्त भ्रष्टाचार हटाउन सहयोग पुग्छ भन्नेमा मलाई विश्वास छ ।’ खनालले यस प्रदर्शनले अर्थतन्त्रमा ठूलो योगदान दिएका क्षेत्रहरु रेमिट्यान्स, कृषि र पर्यटनमा ठूलो समस्या नपारेकाले रिकभर हुन पनि धेरै समय नलाग्ने बताए ।  तर यसका लागि सञ्चारमाध्यमले सूचना दिँदा सत्यतथ्य र संयमित हुन भने जरुरी रहेको उनको भनाइ छ । अर्थशास्त्री डा समर खतिवडाले जेनजी प्रदर्शनले नेपाललाई कोर्स करेक्सनको अवसर दिएको टिप्पणी गरे ।  ‘जेनजी प्रदर्शनले ‘क्रोनी क्यापिटालिजम’लाई भत्काउने प्रयास गरेको छ, नयाँ पुस्ताले सुशासनयुक्त समाज निर्माणका लागि सन्देश पनि दिएको छ’, उनले भने, ‘यो फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ)को ग्रे लिस्टबाट नेपाललाई निकाल्नका लागि प्राप्त भएको अवसर पनि हो ।’ खतिवडाले एकाध पर्यटकीय पूर्वाधारमा क्षति पुगे पनि पर्यटन क्षेत्र अझै सम्भावना भएको क्षेत्र भएको बताए ।  उनले भने, ‘अर्थतन्त्रको महत्वपूर्ण क्षेत्र पर्यटनमा ठूलो सम्भावना छ, यद्यपि विदेशी पर्यटकको प्रवेश विन्दु त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा समस्याका कारण केही पर्यटक निरुत्साहित हुन्छन् कि भन्ने भय भने विद्यमान छ, सरकारले अन्तर्राष्ट्रिय जगतमा सकारात्मक प्रचारप्रसार गर्न आवश्यक छ ।’ उनले अबको अर्थतन्त्रमा खुला, पारदर्शी, स्वतन्त्र नीति अपनाउनुपर्नेमा जोड दिए । उनले जेनजीको प्रदर्शनले प्रत्यक्ष विदेशी लगानीमा ठूलो असर नपर्ने बताए । ‘हामीले ल्याइरहेको विदेशी लगानी कुल ग्राहस्थ उत्पादनको ०.३ प्रतिशतमात्रै हो, त्यो आफैमा सानो आकार भएकाले ठूलो चिन्ता लिनुपर्ने अवस्था छैन, बरु अब यसलाई बढाएर कसरी तीन प्रतिशत बनाउन सकिन्छ भन्ने विषयमा काम गर्न सकिन्छ,’ उनले भने ।

खनालपत्नी चित्रकारको स्वास्थ्यमा सुधार

काठमाडौं । जेनजी आन्दोलनको क्रममा आगजनीमा परेर गम्भीर घाइते भएकी रविलक्ष्मी चित्रकारको स्वास्थ्यमा सुधार आएको छ ।  उनी नेकपा एकीकृत समाजवादीका नेतासमेत रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी हुन् । कीर्तिपुरको बर्न अस्पतालमा चित्रकारको उपचार भइरहेको छ ।  उक्त अस्पतालका एक चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्थामा असाध्यै राम्रो सुधार आइरहेको  छ ।  उनले सामान्य खाना खान र बोल्न थालेकी छन् ।  चित्रकारलाई अझै केही समय आईसीयुमै राखेर उपचार गर्नु पर्दछ । उनको शरीरका विभिन्न भाग जलेका छन् । जलेको भागमा शरीरका अन्य भागको मासु लगेर प्लान्ट गर्ने काम भइरहेको एक चिकित्सकले बताए । चित्रकार डल्लु आवासमा रहेको आफ्नै घरमा प्रदर्शनकारीले गरेको आगजनीमा परेर घाइते भएकी थिइन् । चित्रकारलाई बाहिरी मान्छेसँग भने भेटघाट गर्न नदिएको पनि चिकित्सकहरूले जानकारी दिएका छन् । जेनजी प्रदर्शनकारीहरूले नेता खनालको घर जलाउँदा उनकी पत्नी चित्रकार गम्भीर रूपमा जलेकी थिइन् ।