प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न अमेरिकी सिनेटरहरूको आग्रह
काठमाडौं । नेपालमा विकसित भएको घटनाबारे अमेरिकाको वैदेशिक मामिलासम्बन्धी कमिटीका सिनेटरहरूले प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह गरेका छन् । सिनेटरहरू जिन शहिन र क्रिस भ्यान होलेनले बिहीबार विज्ञप्ति जारी गर्दै भने, ‘हालै नेपालमा भएको हिंसा, मानवीय क्षति र आगजनी अस्वीकार्य छ र हामीहरू पीडित र उनीहरूको परिवारजनप्रति गहिरो सहानुभूति व्यक्त गर्दछौँ ।’ नागरिकहरूको विरुद्ध चर्को दमन गर्नेहरूलाई उत्तरदायी बनाउन अपिल गर्दै विज्ञप्तिमा भनिएको छ, ‘नेपालले विगत दुई दशकमा प्रजातान्त्रिक अभ्यासको महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ, नागरिकको कडा योगदानले प्राप्त उपलब्धिहरूको रक्षा गर्नु वाञ्छनीय रहेको छ ।’ शान्ति, पूर्ण प्रजातान्त्रिक र गतिशील नेपाल नै नेपाली, अमेरिका र यस क्षेत्रको चासोको विषय भएको उल्लेख गर्दै विज्ञप्तिमा नागरिकको विश्वास जित्नका लागि भ्रष्टाचार नियन्त्रण र संस्थागत कमजोरीलाई नेपाल सरकारले सम्बोधन गर्ने विश्वास गरिएको छ ।
बीमा दाबीलाई सहज बनाउन प्राधिकरणको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले यही भदौ २३ गतेदेखि उत्पन्न भएको असहज परिस्थितिका कारण सृजना भएको बीमा दाबीलाई छिटो र सहज ढङ्गले फर्च्छ्यौट गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । असहज परिस्थितिका कारण सिर्जित सार्वजनिक तथा निजी क्षेत्रमा अपूरणीय क्षति पुगेको र बीमितको धनसम्पत्तिमा हुन गएको क्षति र असहजतालाई मध्यनजर गर्दै बीमा दाबीलाई सहज बनाउन प्राधिकरणले निर्जीवन बीमा कम्पनीलाई आग्रह गरेको निर्देशक कुन्दन सापकोटाले जानकारी दिए । असहज अवस्थाका कारण भएको क्षतिको बीमा दाबी भुक्तानीका विवरण साप्ताहिक रूपमा उपलब्ध गराउन समेत प्राधिकरणले आग्रह गरेको छ । यही भदौ २३ र २४ गतेको प्रदर्शन तथा तोडफोडका कारण ठूलो जनधनको क्षति भएको छ ।
सर्वदलीय र सर्वपक्षीय सरकार गठन गर्नुपर्छः पूर्वप्रधानमन्त्री खनाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले ‘जेनजी’ पुस्ताको आन्दोलनमा सहादत प्राप्त गरेका सम्पूर्ण युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै मुलुकमा शान्ति, धैर्य र सहमतिबाट मात्र निकास सम्भव हुने बताएका छन् । नेता खनालले बिहीबार एक विज्ञप्ति जारी गर्दै शोकाकुल परिवारजनप्रति समवेदना तथा सम्पूर्ण घाइतेहरूको शीघ्र र निःशुल्क उपचार गर्न माग गरे । आन्दोलनका क्रममा भएका आगजनी, तोडफोड, लुटपाट र सर्वनाशका घटनाबाट मुलुक अहिले शान्तितर्फ फर्किरहेको उल्लेख गर्दै इतिहासमा जेनजी पुस्ताको आन्दोलनको समेत समीक्षा हुने भन्दै तात्कालिक अवस्थामा शान्ति कायम गरेर मुलुकलाई पुनःस्थापना र अग्रगतितर्फ लैजानै मुख्य कार्यभार रहेको बताए । शान्त, संयमित र धैर्यवान बन्न आग्रह गर्दै नेता खनालले मुलुकलाई नयाँ निकासतर्फ अघि बढाउन सर्वदलीय र सर्वपक्षीय प्रयास जरुरी रहेको उल्लेख गरे। उनले भेटघाट, वार्ता र सहमतिबाट संविधानलाई आधार बनाएर साझा नीति तथा कार्यक्रम निर्धारण गर्नुपर्ने विचार व्यक्त गरे । उनले सहमतिका आधारमा सर्वदलीय र सर्वपक्षीय सरकार गठन गरी देश, जनता र राष्ट्रलाई पुनः गठन, पुनःस्थापना, समृद्धि र समाजवादको दिशामा अघि बढाउन आग्रह गरे ।
राष्ट्रपति र सभामुखबीच भेटवार्ता, संविधानभित्रै रहेर राजनीतिक निकास खोज्ने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच बिहीबार भेटवार्ता भएको छ । सो भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा छलफल भएको सभामुखका सञ्चार विज्ञ शेखर अधिकारीले जानकारी दिए । सो अवसरमा वर्तमान राजनीतिक निकासका बारेमा उनीहरूबीच छलफल भएको थियो । सभामुखसँगको भेटका क्रममा राष्ट्रपति पौडेलले संविधानको भावनाअनुसार संविधानभित्रै रहेर राजनीतिक निकास खोज्ने बताए । यही भदौ २३ गतेपछि विकसित राजनीतिक घटनाक्रमका बारेमा राष्ट्रपति पौडेल र सभामुखबीच छलफल भएको र उपयुक्त निकासका बारेमा विचारविमर्श भएको बताइन्छ । उनीहरूबीचको भेटलाई महत्त्वका साथ हेरिएको छ ।
भाटभटेनीले भन्यो : हामी छिट्टै उठ्दै छौं, थप मजबुद बन्दैछौं
काठमाडौं । भाटभटेनी डिपार्टमेन्टल स्टोरले छिट्टै लयमा आउने बताएको छ । डिपार्टमेन्टल स्टोरले सामाजिक सञ्जालमार्फत् आन्दोलनमा धेरै स्टोहरु ध्वस्त भए पनि छिट्टै उपभोक्ताको सेवामा समर्पित हुने बताएको हो । भाटभटेनीले भनेको छ, ‘दुःखद क्षणहरू गुज्रिए, तर आशा हराएको छैन । आज हाम्रो स्टोरहरु ध्वस्त भए पनि, तपाईंहरूको साथले हामी अझ मजबुत महसुस गरिरहेका छौं । हजारौँ सहयोगी हातहरूले सफा गर्न मद्दत गरिरहेका छन्, आँसु पुछिरहेका छन्, र हामीलाई फेरि उठ्न शक्ति दिइरहेका छन् । भाट–भटेनी फेरि उभिनेछ । तपाईंहरूको साथमा, हामी भविष्यलाई अझ उज्यालो बनाउनेछौं ।’ जेनजी आन्दोलनमा भाटभटेनीका १२ वटा स्टोर आगजनी गरिएका छन् भने ९ वटामा लुटपाट भएको जानकारी दिएको छ । नक्साल भाटभटेनी, महाराजगञ्ज, बौद्ध, कोटेश्वर, बालुवाटारस्थित वेयर हाउस, पोखरा, चितवन, हेटौंडा, बिर्तामोड, दमक, विराटनगर र धरानमा रहेका स्टोरमा लुटपाट र आगजनी गरी पूर्ण नष्ट गरिएको भाटभटेनीले जानकारी दिएको छ ।
सेनाले फेरि जारी गर्यो निषेधाज्ञा र कर्फ्यू आदेश, अत्यावश्यक काम गर्ने समय पनि तोकियो
काठमाडौं । नेपाली सेनाले फेरि निषेधाज्ञा र कर्फ्यू आदेश जारी गरेको छ । सेनाले अहिले सूचना जारी गर्दै काठमाडौं, भक्तपुर र ललितपुरमा भोलि पनि दिनभर निषेधाज्ञा र राति कर्फ्यू लाग्ने जानकारी दिएको हो । सार्वजनिक भएको विज्ञप्तिका अनुसार, भोलि (भदौ २७) गते बिहान ११ बजेबाट बेलुकी ५ बजेसम्म निषेधाज्ञा लाग्नेछ । त्यस्तै, साँझ ७ बजेबाट रातभर कर्फ्यू आदेश जारी गरिएको छ । सेनाले बिहान र साँझ अतिआवश्यक कामका लागि बाहिर निस्कन पाइने बताएको छ । बिहान ६ देखि ११ बजे र साँझ ५ देखि ७ बजेसम्मको समयमा भने अत्यावश्यक कार्यका लागि आवतजावत गर्न सकिने सूचनामा उल्लेख छ ।
आज पनि ‘भोलि आउनु’ भन्दै सेनाले जेनजीलाई घर पठायो, नेतृत्व चयन गर्ने विषय पेचिलो बन्दै
काठमाडौं । अन्तरिम सरकारको नेतृत्व कसलाई दिने भन्नेबारे अन्यौल कायमै रहेको छ। जेनजीबीच बिहीबार पनि कसलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने भन्ने विषयमा सहमति जुट्न नसक्दा अन्यौलता बढेको हो । बिहीबार साँझ जेनजीले ७ वटै प्रदेशबाट एक–एक जना प्रतिनिधि छनोट गर्ने र ती प्रतिनिधिलाई छलफलका लागि जङ्गीअड्डा पठाउने विषयमा छलफल भएको थियो । तर, अन्ततः कुरा नमिलेपछि सेनाले भोलि आउन भन्दै घर पठाएको छ । आज जङ्गगीअड्डा पुगेका युवाहरूबीच नेतृत्वको विषयमा विवाद चर्किएको थियो । उनीहरुबीच केही समय आपसमा हानाहान समेत भएको थियो । जेनजी आन्दोलनका केही समूहले धरानका मेयर हर्क साङपाङलाई प्रधानमन्त्री बनाउने भन्दै नारा लगाएका थिए । केहीले कुलमानको नाम अघि सारेका थिए भने केहीले शुशीला कार्की हुनुपर्ने अडान राखिरहेका थिए । यसअघि जेनजी पुस्ताले लामो छलफलपछि कार्कीलाई अन्तरिम प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेको थियो । तर, सैनिक मुख्यालय पुगेको केही समयमै देखिएको विभाजनले सहमतिको स्थायित्वमा रूपान्तरण हुन अझै समय लाग्ने संकेत दिएको छ। नेतृत्व चयनको बहसले आन्दोलनको प्राथमिक एजेन्डा ओझेलमा पर्ने खतरा बढेको छ भने कतिपयले यो बहसलाई लोकतान्त्रिक अभ्यासको रूपमा हेरिरहेका छन् । आजै एक जेनजीको समूहले नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई नेतृत्व दिन प्रस्ताव गरेको छ । तर, त्यसमा पनि सहमति जुट्न सकेन । बुधबार पनि जङ्गी अड्डाले बिहीबार बिहान आउनुभन्दै जेनजीलाई घर पठाएको थियो । बिहीबार पनि बुधबारकै परिवेश दोहोरिएको हो । अन्तरिम सरकारको नेतृत्व चयनको विषय थप पेचिलो र रहस्यमयी बन्दै गएको छ ।
क्षति बेहोरेका बीमित तथा ग्राहकलाई सम्बन्धित बीमा कम्पनीमा सम्पर्क गर्न बीमक संघको आग्रह
काठमाडौं । नेपाल बीमक संघले हाल देशभर उत्पन्न प्रतिकूल परिस्थितिका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । संघले विज्ञप्ति जारी गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको पनि कामना गरेको छ । संघले क्षति बेहोरेका बीमित तथा ग्राहकलाई सम्बन्धित बीमा कम्पनीमा सम्पर्क गरी सहयोग लिन आग्रह गरेको छ । केही सञ्चारमाध्यममा प्रसारित समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै बीमा कम्पनीहरू दाबी व्यवस्थापन गर्न सक्षम र प्रतिबद्ध रहेको पनि संघले स्पष्ट पारेको छ ।