प्रधानमन्त्रीमा सुशीला कार्कीलाई बालेनको समर्थन, संसद् विघटन गर्नुपर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई समर्थन जनाएका छन् । जेनजी प्रतिनिधिले अन्तरिम सरकार नेतृत्वका लागि प्रस्ताव गरेको भन्दै मेयर बालेनले कार्कीलाई समर्थन गरेका हुन् । साथै, उनले कार्की प्रधानमन्त्री बन्नु अघि संसद् विघटन गर्नुपर्ने उनले बताए । ‘जेनजीहरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसद् विघटन अविलम्ब गर्नु होला,’ उनले राष्ट्रपतिलाई सम्बोधन गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । बुधबार दिउँसो जेनजी प्रतिनिधिले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम प्रस्ताव गरिएको थियो । https://www.facebook.com/share/p/1JZ4wEaudr/
संविधानसम्मत प्रक्रियाबाट संवाद सुरु गर्न राष्ट्रपतिलाई एमालेको माग
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले मुलुकमा पछिल्ला दिनमा भएका असामान्य घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गरेको छ । प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा भएको मृत्यु र सयौं घाइते भएको घटनाप्रति सो पार्टीले गहिरो दुःख व्यक्त गरेको छ । एमालेका महासचिव शङ्कर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले संयुक्त रूपमा जारी गरेको वक्तव्यमा मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । सार्वजनिक तथा निजी सम्पत्तिमा खर्बौंको क्षति पुगेको र जेलबाट हजारौं कैदीबन्दी बाहिरिएको प्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ । वक्तव्यमा सुरक्षा निकायको भूमिकाको पनि समीक्षा हुनुपर्ने भनिएको छ । यस्तो प्रतिकूल अवस्थामा पार्टी पङ्क्तिलाई अविचलित र एकताबद्ध रहन आग्रह गर्दै वक्तव्यमा भनिएको छ, ‘अहिले सम्हालिनु, एकताबद्ध हुनु र दृढ विश्वासका साथ अघि बढ्नु जरुरी छ ।’ उत्पन्न राजनीतिक अवस्थाको निकास संविधानसम्मत र लोकतान्त्रिक प्रक्रियाबाट खोजिनुपर्ने भन्दै एमालेले राष्ट्रपतिलाई सार्थक संवाद सुरु गर्न र युवापुस्ताका मागलाई सम्बोधनका लागि पहल गर्न आग्रह गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको भीड
काठमाडौं । आन्दोलनका कारण मङ्गलबार दिउँसोदेखि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार साँझदेखि सञ्चालन भएपछि अहिले यात्रुहरूको भीड लागेको छ । विमानस्थल सुरक्षा समितिको बैठकले बन्द गरिएको विमानस्थल बुधबार साँझदेखि पुनः सञ्चालन गर्ने निर्णय गरेपछि विदेश जाने यात्रुहरूको भीड बढेको विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले जानकारी दिए । उनले भने, ‘आन्दोलनका कारण मङ्गलबार दिउँसो ३ः३० बजेदेखि विमानस्थल बन्द गरिएको थियो । बुधबारदेखि पुनः सञ्चालन गरिएपछि यात्रुहरूको भीड बढेको हो ।’ विमानस्थल सञ्चालनमा आएपछि काठमाडौं विमानस्थल प्रशासनले यात्रुहरूलाई आफ्ना टिकट किनेका एजेन्सी वा सम्बन्धित वायुसेवासँग सम्पर्क गरेर मात्रै विमानस्थलमा आउन आग्रह समेत गरेको छ ।
देउकुमारको कृषि फार्ममा ३० लाखको रायोको साग, दैनिक ४/५ क्विन्टल उत्पादन
काठमाडौं । झापाको भद्रपुर नगरपालिका-१ का देउकुमार लिङ्देनको कृषि फार्ममा यतिबेला रायोको साग बिक्रीका लागि तयार भएको छ । उनले यस वर्ष दुई स्थानमा गरी एक बिघा जमिनमा बेमौसमी रायोको साग लगाएका हुन् । ‘दैनिक ४/५ क्विन्टल जति उत्पादन हुन्छ,’ लिङ्देनले भने, ‘बजारमा प्रतिकेजी १ सय रूपैयाँदेखि १२० रूपैयाँसम्ममा बिक्री हुँदै आएको छ । यसपालि मनग्गे आम्दानी होला जस्तो छ ।’ उनले यस सिजनमा मात्र ३० लाख रुपैयाँको साग बिक्री गर्ने लक्ष्य सुनाए । ‘लगानी र खर्च कटाएर १० लाख रुपैयाँ नाफा हुन्छ भन्ने आशा छ,’ लिङ्देनले भने, ‘गत वर्ष १५ कट्ठामा लगाएको साग खेतीबाट १८ लाख रुपैयाँ आम्दानी भएको थियो ।’ वैदेशिक रोजगारीको सिलसिलामा ११ वर्ष मलेसिया बसेर फर्किएका लिङ्देनले स्वदेशमै परिवारसँगै बसेर व्यवसाय गर्ने उद्देश्यले विसं २०७३ मा लिङ्देन कृषि फार्म सुरु गरेका हुन् । त्यसयता उनले बर्सेनि साग बेचेरै उल्लेख्य आर्जन गर्दै आएका छन् । लिङ्देनले उत्पादन गरेको साग चन्द्रगढी, भद्रपुर मात्र नभएर र बिर्तामोड नगरपालिकास्थित कृषि थोक बजारमा बिक्री हुँदै आएको छ । उनले १० वटा पोखरीमा माछा पालनसमेत गरिरहेको बताए । सोही माछा पोखरीको डिलमा समेत साग उत्पादन हुँदै आएको छ । मलेसियामा हुँदा साग सब्जी र फूल खेतीमा काम गरेको अनुभवले आफ्नै देशमा केही गर्न सहज भएको लिङ्देनको भनाइ छ । भद्रपुर-१ मा भइरहेको व्यावसायिक खेतीमा १८ जनाले रोजगारी पाइरहेका छन् । उनीहरूले फार्ममा साग गोड्ने, मल हाल्ने, टिप्ने र बजार लैजाने कार्यमा सहयोग गर्छन् । ‘सुरुमा लाभदायक हुन्छ कि हुँदैन भनेर दुई कट्ठाबाट साग उत्पादन सुरु गरेको थिए । उत्पादन र त्यसको मागसमेत राम्रो भएपछि खेती बढाएर एक बिघामा बिस्तार गरेको हुँ । मौसमीभन्दा बेमौसमी खेतीबाटै फाइदा लिइरहेको छु,’ लिङ्देनले भने । कात्तिक(मङ्सिरमा अरूले पनि साग उत्पादन गर्ने र भाउ नहुने हुँदा आफूले सधैँ साउन-भदौ महिनामै बेमौसमी साग उत्पादन गर्दै आएको उनको भनाइ छ । रासस
नेपालीलाई गड्डाचौकीबाट भारत प्रवेशमा पूर्ण रूपमा रोक
काठमाडौं । छिमेकी मुलुक भारतसँग जोडिएको पश्चिमी सीमा नाका गड्डाचौकीबाट भारत प्रवेशमा रोक लगाइएको छ । नेपालमा ‘जेनजी’को आन्दोलनपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले भारतसँग जोडिएका सुदूरपश्चिमका सीमा नाकामा कडाइ गर्नुका साथै नेपालीलाई भारत प्रवेशमा रोक लगाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए । ‘हाल भारतबाट फर्किने नेपाली नागरिकलाई नेपाली परिचयपत्र अनिवार्य गरिएको छ । भारततर्फ जानेको हकमा पनि भारतीय आधार कार्ड अनिवार्य गरिएको छ,’ उनले भने, ‘नेपालीलाई भारत प्रवेशमा पूर्ण रूपमा रोक लगाएको छ ।’ यसैगरी बुधबार भारतीय एसएसबीले कारागारबाट भागेर त्यहाँ जान लागेका ४ जनालाई नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगाएको छ ।
अन्तरिम सरकारको प्रधानमन्त्री शुशीलालाई बनाउने प्रस्तावमा मतभेद, भोली सम्पर्कमा आउन सेनाको आग्रह
काठमाडौं । जेनजीहरुले अन्तरिम सरकारको नेतृत्व शुशीला कार्कीलाई दिने प्रस्ताव गरे पनि केही जेनजीले भने असन्तुष्टि जनाएका छन् । जेनजीहरुबीच नै नेतृत्वकर्ताको विषयमा असन्तुष्टि हुँदा नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्ने विषय पनि पेचिलो बनेको छ । सरकारको नेतृत्वको सन्दर्भमा असन्तुष्टि जनाउँदै केही जेनजीहरूले जंग्गीअड्डाबाहिर नाराबाजी पनि गरिरहोका छन् । जेनजीहरुबीच नै कुरा नमिलेपछि सेनाले बिहीबार बिहान सम्पर्कमा आउन आग्रह गरेको छ । जंगीअड्डा बाहिर नेपाली सेनाका प्रतिनिधिले माइकिङ गरेर भोलि बिहान सम्पर्कमा आउन आग्रह गरेका हुन् । ‘को को हुनुहुन्छ नेतृत्वकर्ता, कतिजना हुनुहुन्छ, त्यो ग्रुपबाट फोन नम्बर र नामसहित भोलि बिहान सम्पर्क गर्नुहोला,’ सेनाका प्रतिनिधिले माइकिङ गरेर भने ।
कृषि विकास बैंकका कर्मचारीको टाउकोमा लाग्यो गोली
काठमाडौं । जेनजी आन्दोलनका क्रममा मंगलबार कृषि विकास बैंकका कर्मचारीलाई गोली लागेको छ । बैंकको केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीको टाउकोमा गोली लागेको कम्पनी सचिव हिमलाल पौड्यालले जानकारी दिए । उनका अनुसार बैंकको केन्द्रीय कार्यालयमा काम गरिरहेको अवस्थामा अज्ञात व्यक्तिले हान्दा बैंकका कर्मचारी अशोक श्रेष्ठको टाउकोमा गोली लागेको हो । ‘स्वास्थ्य मन्त्रालयमा आगजनी भइरहेको थियो । त्यही क्रममा गोली प्रहार हुँदा बैंकका सहयोगी कर्मचारी अशोक श्रेष्ठको टाउकोमा गाेली लाग्यो । गोली कसले हानेको हाे स्पष्ट हुन सकेको छैन,’ उनले भने, ‘उहाँ बैंकको कम्पाउन्ड भित्रै हुनुहुन्थ्यो । काम गरिरहेको अवस्थामा गोली लागेको हो ।’ उनका अनुसार हिजो नै अन्नपुर्ण अस्पतालमा लगेर उपचार गरिएको छ । साथै, घाइेते श्रेष्ठको परिवारसहित उपस्थितिमा अप्रेशन गरेर गोली निकालिएको उनले बताए । ‘प्रेसर स्टेबल हुन नसकेका कारण चिकित्सकको सल्लाह अनुसार आज अप्रेशन गरियो । र, गोली निकालिएको छ । अहिले उहाँ खतरामुक्त हुनुहुन्छ भनेर चिकित्सकले भन्नु भएको छ,’ उनले भने । यस्तै, बैंकको किर्तीपुर शाखामा रहेको एटीएम मेसिन तोडफोड गरिएको उनले बताए । तर, के कति क्षति भएको र पैसाको अवस्था के छ भन्ने स्पष्ट हुन नसकेको उनको भनाइ छ । ‘प्रदर्शनकारीहरुले फुटाउन खोजेका रहेछन्, जेनजी समूहले नै त्यो फुटाएको एटीएम मेसिन बैंकमा आएर बुझाएका छन् । के कति क्षति भएको छ, एकिन छैन,’ उनले भने । उनका अनुसार लहानमा खाद्य संस्थानको डिपो जलाउन खोज्दा बैंकको शाखामा समेत क्षति पुगेको छ भने धनगढी शाखामा गाडीमा क्षति भएको छ । ‘लहान शाखामा ढुंगामुडा गरेका छन् । कम्प्युटर र सिसाहरु फुटेको जानकारी आएको छ । खाद्य संस्थाको डिपो जलाउन खोज्दा बैंकको शाखामा क्षति पुगेको छ,’ उनले भने, ‘धनगढीको शाखामा बैंकको गाडीमा क्षति भएको सूचना छ । के कति क्षति भएको भन्ने एकिन तथ्याङ्क आएको छैन ।’ पौडेलका अनुसार बैंकका अन्य कर्मचारीहरु भने सबै सुुरक्षित रहेको जानकारी दिए । साथै बैंकको प्रणाली सूचारु राख्न आईटीका कर्मचारीहरु निरन्तर खटिरहेको उनले बताए । संकटको बेलामा बैंकका कर्मचारीहरु कसरी परिचालन गर्ने र सम्पत्ति कसरी सुरक्षित गर्ने भनेर टिम समेत खडा गरिएको उनको भनाइ छ ।
दाङको तुलसीपुर कारागारबाट भागेका ४० कैदीबन्दी पक्राउ
तुलसीपुर । यहाँको तुलसीपुर कारागारबाट भागेका ४० कैदीबन्दीलाई पक्राउ गरिएको छ । सेनाको सहयोगमा उनीहरूलाई पक्राउ गरिएको कारागार कार्यालय तुलसीपुरका प्रमुख गिरबहादुर सेजुवालले जानकारी दिए । आज र हिजो कारागारबाट कैदीबन्दी भागेका थिए । आज बिहान मात्रै २५३ कैदीबन्दी भागेका थिए । तीमध्ये ४० जनालाई पक्राउ गरिएको हो । आज भागेका मध्ये २१३ र हिजो भागेका १२४ गरी ३३७ जना अझै फरार रहेको उनले बताए । भाग्नेहरू सबै पुरुष कैदी हुन् । कारागारमा जम्मा ४६९ कैदीबन्दी थिए । तीमध्ये महिला कैदीहरु भने भागेका छैनन् । कैदीहरूले कारागार तोडफोड गरी भागेका थिए । सेनाले हवाई फायर गर्दागर्दै पनि उनीहरू भाग्न सफल भएका थिए ।