गल्ती स्वीकार गर्दै गगन थापाले गरे जेनजीलाई संयमित हुन आग्रह (भिडियोसहित)
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजी समूहलाई सम्हालिएर अघि बढ्न आग्रह गरेका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत उनले जेनजी समूहलाई संयमित हुन आग्रह गरेका हुन् । उनले राखेको भिडियोमा भनिएको छ, ‘बिग्रन दिन हुँदैन । सम्हालेर लिएर जानुपर्छ । संयमित भएर सोचिदिनुहोला ।’ महामन्त्री थापाले आफूहरूबाट गल्ती भएको र कमजोरीप्रति माफी माग्दै सुध्रने वाचासमेत गरेका छन् । उनले भनेका छन्, ‘हामीबाट जे गल्ती, कमजोरी भएका छन्, त्यसका लागि माफी माग्छु । सुध्रने वाचा गर्छु ।झ् उनले जेनजीको फ्रस्ट्रेसन बुझ्ने भन्दै आफूले गर्न नसकेकोमा पनि माफी मागेका छन् । थापाले शीर्ष तीन नेता नहटाई देश चल्दैन भन्ने कुरा पहिलादेखि नै भन्दै आएको पनि बताए ।
आगलागीले डाटा सेन्टर प्रभावित, भायानेटको सेवा अवरुद्ध
काठमाडौं । भायानेटले हालै इन्टरनेट र भीआइए टिभी सेवामा आएको अवरोधका कारण ग्राहकसँग माफी मागेको छ । कम्पनीका अनुसार गत भदौ २४ गते साँझ करिब ४:४५ बजे प्रदर्शनका क्रममा लागेको आगलागीले सेन्ट्रल बिजनेस पार्कको चौथो तलामा रहेको प्रमुख डाटा सेन्टरमा क्षति पुर्याएको थियो । भायानेटका अनुसार ब्याकअप डाटा सेन्टरहरू भए पनि प्रमुख संरचना गुमाउँदा सबै ग्राहकको इन्टरनेट ट्राफिक सम्हाल्न नसक्दा देशभर सेवा अवरुद्ध भएको थियो । प्राविधिक टोली तत्काल खटिए पनि भवन असुरक्षित भएकाले तत्काल प्रवेश गर्न नसकिएको र ब्याकअपमार्फत आंशिक रूपमा मात्र इन्टरनेट चलाइएको कम्पनीले जनाएको छ । भदौ २५ गते बिहान सेना र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएपछि दिउँसो करिब १२ बजे प्राविधिक टोलीले भवनभित्र प्रवेश गरी आवश्यक सर्भरहरू सुरक्षित रूपमा निकालेर अर्को सुरक्षित डाटा सेन्टरमा पुनःस्थापना गरेको बताइएको छ। भायानेटका अनुसार प्राविधिक टोलीको प्रयासका कारण अधिकांश ग्राहकको इन्टरनेट सेवा सुचारु भइसकेको छ भने आजै साँझसम्म पूर्ण क्षमतामा सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको छ । अवरुद्ध ‘भीआइए टिभी’ सेवा पनि चाँडै सञ्चालनमा ल्याइने कम्पनीले जनाएको छ । भायानेटले ग्राहकवृन्दको धैर्य, विश्वास र साथका लागि आभार प्रकट गर्दै यस घटनाबाट नेटवर्कलाई अझ मजबुत बनाउन प्रेरणा मिलेको जनाएको छ ।
एनसेलले बढायो निःशुल्क लोकल कल, एसएमएस र इन्टरनेटको समयसीमा
काठमाडौं । टेलिकम सेवा प्रदायक एनसेलले गत मंगलबारबाट थालेको निःशुल्क लोकल भ्वाइस, एसएमएस र इन्टरनेट सेवाको समयावधि बढाएको छ । कम्पनीका अनुसार अब एनसेलका ग्राहकले यी निःशुल्क सेवाहरुको फाइदा शुक्रबारसम्म लिन सक्नेछन् । हालको विषम परिस्थितीमा आम उपभोक्तालाई देश, विदेशमा रहेका आफन्तजनहरुसँग सम्पर्क निरन्तर कायम राख्न सहजता प्रदान गर्ने उद्देश्यले यी सेवाहरु एनसेलले मंगलबारबाट दुई दिनका लागि निःशुल्क प्रदान गर्न थालेको थियो । एनसेलले बिहीबार आफ्नो आधिकारिक फेसबुक पेज मार्फत यी सेवाहरु १ दिन थप गरिएको जानकारी गराएको हो । एनसेलको यो सुविधा अन्तर्गत ग्राहकहरुले बिना कुनै शुल्क लोकल भ्वाइस कल (एनसेल र नेपाल टेलिकम दुवै नेटवर्कमा), इन्टरनेट र एसएमएस सेवा पाउँदै आएका छन् ।
काठमाडौं उपत्यकामा जनजीवन सामान्य बन्दै
काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर जनजीवन सामान्य बन्दै गएको छ । आन्दोलनपछि नेपाली सेनाले सुरक्षाको नेतृत्व लिएसँगै काठमाडौं उपत्यकासहित देशभरको जनजीवन सामान्य बन्दै गएको हो । नेपाली सेनाले कफ्र्यु खुकुलो बनाएसँगै पसलहरुबाट सामान खरिद गर्न, अत्यावश्यकका काममा घर बाहिरि निस्किन दिएको छ । बिहान ६ बजेदेखि १० बजेसम्म हिँडडुलका लागि वातावरण मिलाएको सेनाले १० बजेपछि साँझ ५ बजेसम्म निषेधाज्ञा जारी गर्दै सुरक्षा व्यवस्था मजबुत बनाउने भएको छ । काठमाडौंमा बिहान मानिसहरु आवश्यक कामका लागि बाहिर निस्किएका छन् । बेलुका ५ बजेदेखि ७ बजेसम्म आवतजावतका लागि निषेधाज्ञा केही खुकुलो बनाउने बताएको छ । नेपाली सेनाले सुरक्षाकर्मी, पानी, सञ्चारकर्मी, सरकारी कर्मचारीहरुलाई परिचय पत्र हेरेर आवतजावत गर्न दिएको छ ।
आजदेखि बैंकहरू चार घण्टा खुल्ने, डिजिटल कारोबारमा जोड दिन राष्ट्र बैंकको निर्देशन
काठमाडौं । बैंकहरू २ बजेसम्म खुल्ने भएका छन् । नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्यु आदेश जारी गरेकै समयमा नेपाल बैंकर्स संघले बिहान १० बजेदेखि २ बजेसम्म बैंकका शाखा खोल्ने निर्णय गरेको हो । नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अघिकृत (सीईओ) अनिल शर्माका अनुसार काठमाडौंमा ३ वटा, ललितपुर र भक्तपुरमा २/२ वटा शाखा कार्यालय खुला गरेर सेवा दिने निर्णय गरेको हो । उपत्यका बाहिर भने प्रशासनसँग समन्वय गरेर सेवा दिन बैंकहरूलाई पत्राचार गरिएको उनले बताए । ‘काठमाडौंमा ३ वटा, ललितपुर र भक्तपुरमा २/२ वटा शाखा कार्यालय खुला गरेर सेवा दिन भनेका छौं । उपत्यका बाहिर प्रशासनसँग छलफल गरेर कहाँ खोल्न सकिन्छ, सोहीअनुसार सेवा दिने भनिएको छ,’ उनले भने, ‘बिहान १० बजेदेखि २ बजेसम्म शाखा खुला गरेर सेवा दिनु भनिएको छ ।’ यस्तै, नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरूलाई डिजिटल कारोबारमा जोड दिन निर्देशन दिएको छ । भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने बैंक तथा वित्तीय संस्थाले व्यावसायिक निरन्तरतालाई मध्यनजर गर्दै सीमित कर्मचारीबाट आफ्नो संवेदनशील प्रणाली सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी सेवा सुचारू गर्न निर्देशन दिएको हो । साथै, अन्य प्रणालीको हकमा जोखिमको आधारमा रिमोट एक्सेस मार्फत सञ्चालन गर्ने व्यवस्था मिलाउन र सञ्चालनमा आएका शाखा, एटीएम र उपलब्ध सेवा सम्बन्धी सूचना आफ्नो वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई जानकारी गराउनुपर्ने राष्ट्र बैंकले जनाएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार काठमाडौं उपत्यकामा निषेधाज्ञा भदौ २६ गतेको बिहान १० देखि बेलुकी ५ बजेसम्म लागू हुनेछ । कर्फ्यु भने भदौ २६ गते बेलुकी ७ बजेदेखि भदौ २७ गते बिहान ६ बजेसम्मका लागि जारी गरिएको छ । निर्देशनालयका अनुसार नागरिकलाई अत्यावश्यक कार्यको लागि भदौ २६ गते बिहान ६ बजेदेखि १० बजेसम्म र सोही दिन बेलुकी ५ देखि ७ बजेसम्म आवतजावत गर्न सकिने गरी समय निर्धारण गरिएको छ । निषेधाज्ञा तथा कर्फ्युको समय अत्यावश्यक सेवाका एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै, खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधि ओसारपसार गर्ने सवारी साधनाहरू सञ्चालन गर्न सकिने सेनाले जानकारी दिएको छ । उक्त समयमा सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थालगायत सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीले आफ्नो परिचयपत्र देखाई कार्यालयसम्म आवतजावत गर्न सक्ने जनाएको छ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको उडान नियमित
काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको हवाई उडान नियमित रुपमा सञ्चालन भइरहेको छ । विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार बुधबार साँझदेखिनै विमानस्थलको उडान नियमित रुपमा सञ्चालन भइरहेको छ । 'विगतका दिनहरुमा जस्तै आन्तरिक र अन्तरराष्ट्रिय उडान सामान्य रुपमा सञ्चालन भइरहेको छ । यात्रु आवागमनलाई सहज तुल्याउन सुरक्षा निकायसँग समन्वय गरिएको छ', उनले भने । विमानस्थलको हालको उडान तालिका भन्दा उडान थप्नसक्ने अवस्था नरहेको र विगतकै क्षमतामा हवाई उडान नियमित गरिने विमानस्थलले जनाएको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी रहेकाले हवाई यात्रुलाई परिचय खुल्ने कागजातका आधारमा आवतजावतमा सहजीकरण गरिएको छ । नेपाल पर्यटन बोर्डले सटल बसको व्यवस्था गरी विदेशी पर्यटकलाई गन्तव्यमा पुर्याइने जनाएको छ । यता वायुसेवा कम्पनीले पनि आफ्ना यात्रुलाई विभिन्न व्यवस्था गरेर गन्तव्य लगिरहेको विमानस्थलले जनाएको छ । निजी क्षेत्रका हवाई कम्पनी बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार आज बिहानदेखि नियमित रुपमा उडानहरु भइरहेका छन् । काठमाडौं र बाहिरका गन्तव्यमा दुई तीन दिनदेखि रोकिएका यात्रुलाई लैजानुपर्नेछ । ‘जेनजी पुस्ता’का कारण विषम परिस्थिति उत्पन्न भए पनि यही भदौ २४ गतेदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बन्द गरिएको थियो । विमानस्थल सुरक्षा समितिको बैठकको निर्णय अनुसार बुधबार दिउँसो ३ः३० बजेदेखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको उडान पुनः थाल्ने निर्णय गरिएको थियो । बुधबार साँझदेखिनै आन्तरिक र अन्तराष्ट्रिय दुवै उडान सञ्चालन भइरहेका छन् । विमानस्थलले हवाई उडानका लागि विमानस्थल आवागमन गर्ने यात्रुले आ–आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिएर विमानस्थल आउन अनुरोध गरेको छ । साथै यसरी आवतजावत गर्दा आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात साथमा लिई आउन समेत भनिएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भएर दैनिक तीनसयभन्दा बढी उडान हुन्छ । यसमध्ये आन्तरिकतर्फ दुई सय ५० भन्दा बढी र अन्तरराष्ट्रियमा दैनिक १०० हाराहारी उडान हुन्छ । विमानस्थल बिहान ६ः०० बजेदेखि राति १३ः०० बजेसम्म सञ्चालन हुँदै आएको छ । आन्तरिकतर्फ १२ हेलिकप्टर कम्पनीसहित २१ वायुसेवा कम्पनीले सेवा दिइरहेका छन् । अन्तरराष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई कम्पनीले उडान भर्दै आएका छन् । –––
म राष्ट्रिय हितका लागि काम गर्न तयार छु : सुशीला कार्की
काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रिय हितका लागि काम गर्न तयार रहेको बताएकी छन् । नेपालको अन्तरिम सरकारको नेतृत्वका लागि जेनजी युवाबाट आएको प्रस्ताव उनले स्वीकार्ने बताएकी हुन् । भारतीय एक टेलिभिजनसँगको प्रतिक्रियामा कार्कीले नेपाली युवाले आफूलाई गरेको विश्वासप्रति विनम्रता महसुस गरेको बताइन् । उनले भनेकी छन्, ‘जेन-जी समूहले मलाई छोटो अवधिका लागि सरकारको नेतृत्व गर्न विश्वास गरेको छ । म राष्ट्रिय हितका लागि काम गर्न तयार छु ।’ साथै उनले आफू भारतीय नेताहरूबाट आफू धेरै प्रभावित भएको पनि बताएकी छन्। यद्यपि जेनजीहरूले अन्तरिम सरकारको नेतृत्व सुशीला कार्कीलाई दिने प्रस्ताव गरे पनि केही जेनजीले भने असन्तुष्टि जनाएका छन् । जेनजीहरुबीच नै नेतृत्वकर्ताको विषयमा असन्तुष्टि हुँदा नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्ने विषय पनि पेचिलो बनेको छ । सरकारको नेतृत्वको सन्दर्भमा असन्तुष्टि जनाउँदै केही जेनजीहरूले हिजो जंग्गीअड्डाबाहिर नाराबाजी पनि गरेका थिए । जेनजीहरूबीच नै कुरा नमिलेपछि सेनाले बिहीबार बिहान सम्पर्कमा आउन आग्रह गरेको थियो ।
चितवनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
चितवन । जिल्लामा लगाइएको कर्फ्यु हटाइएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार यही भदौ २४ गतेदेखि लगाइएको कर्फ्यु हटाएर निषेधाज्ञा लगाइएको छ । आज बिहान ६ः०० बजेदेखि कर्फ्यु हटाएर निषेधाज्ञा लगाइएको प्रजिअ अर्यालले जानकारी दिए । उनका अनुसार जिल्ला सदरमुकाममा रहेका बैंक तथा वित्तीय संस्थाहरु दिनको १ः०० बजेसम्म सञ्चालन गरिने छन् भने सरकारी कार्यालय खुला गरिएका छन् । निषेधाज्ञा कार्यान्वयन गर्दै विस्तारै जनजीवन सहज बनाउँदै लगिने उनले बताए। अहिले सडकमा सवारी आवागमन सहज हुँदै गएको छ ।