विकासन्युज

शान्तिसुरक्षामा असर पार्ने काम नगर्न सुरक्षा फौजको आग्रह

काठमाडौं । देशका सुरक्षा सङ्गठनले मुलुकको शान्ति सुव्यवस्थाको परिस्थिति क्रमशः सहजीकरणतर्फ उन्मुख भइरहेकाले त्यसलाई असर पर्ने कुनै पनि क्रियाकलाप नगर्न-नगराउन सबै तह र तप्कासँग आग्रह गरेका छन् । देशको शान्ति सुरक्षा र अमनचयनका लागि अहोरात्र परिचालित सुरक्षा फौजले सम्हालिँदै गएको परिस्थितिलाई बिथोल्ने कुनै पनि किसिमका गतिविधि र क्रियाकलाप नगर्न समाजका सबै पक्षको ध्यानाकर्षण गराएका छन् । 

रुपन्देहीमा कर्फ्यु आदेशलाई निरन्तरता

लुम्बिनी । रुपन्देही जिल्ला प्रशासन कार्यालयले जिल्लामा लगाएको कर्फ्यु आदेशलाई निरन्तरता दिएको छ ।  प्रमुख जिल्ला अधिकारी डा टोकराज पाण्डेले बिहीबार जारी भएको कर्फ्यु आदेशमा जिल्लाका विभिन्न क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस, हुल दङ्गा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भई शान्ति सुरक्षा भङ्ग हुनसक्ने परिस्थितिलाई दृष्टिगत गरी यही भदौ २४ गते बेलुका ८ः३० बजेदेखि जारी भएको कफ्र्यु आदेशलाई आज बिहान ९ः०० बजेदेखि पुनः लागू गरिएको जनाइएको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ‘क’ बमोजिम आज बेलुका ७ः०० बजेसम्म रुपन्देही जिल्लाभर पुनः कर्फ्यु आदेश जारी गरिएको सूचनामा जनाइएको छ । यसअघि आज बिहान ७ः०० बजेदेखि ९ः०० बजेसम्म कर्फ्यु आदेश खुला गरिएको थियो ।  कफ्र्यु अवधिभर आदेशको उल्लङ्घन गरी कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गरेमा प्रचलित कानुनअनुसार कडाभन्दा कडा कारबाही गरिने ब्यहोरा आदेशमा जानकारी गराएको छ । प्रशासनले कर्फ्यु आदेश जारी गरेपछि जिल्लामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा व्यवस्था कायम गर्न थप परिचालन भएका छन् । 

त्रिभुवन विश्वविद्यालयको पठनपाठन कात्तिक ११ गतेसम्म बन्द

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको पठनपाठन आगामी कात्तिक ११ गतेपछि मात्रै सुरु हुने भएको छ ।  त्रिविले आज सूचना जारी गरी असामान्य परिस्थितिका कारण तत्काल पठनपाठन सुरु गर्न समस्या भएको जनाउँदै अब छठपर्वपछि मात्र पठनपाठन हुने जनाएको हो ।  सूचनामा भनिएको छ, 'मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरी त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरिएको छ ।'   

मुस्ताङमा ‘हाइब्रिड’ स्याउ उत्पादनमा वृद्धि, गतवर्ष ८२ करोडभन्दा बढी कारोबार

मुस्ताङ । मुस्ताङमा उच्चघनत्व प्रविधिमा आधारित ‘हाइब्रिड’ स्याउको उत्पादन भइरहेको छ । यसपटक ‘पोस्ट हाभेस्ट’ अन्तिम चरणमा पुगेको छ । यहाँ सरोकार भएका निकाय सम्मिलित जिल्लास्तरीय समन्वयात्मक बैठकले उच्च ‘हाइब्रिड’ गाला स्याउ भदौ ५ देखि र किङरट जातको स्याउ भदौ १५ गतेदेखि जिल्ला बाहिर लैजान पाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार यहाँका स्याउ बगैँचाबाट पोखरा-काठमाडौंलगायत स्थानमा पुर्‍याइसकिएको छ । कृषि ज्ञान केन्द्रका अनुसार यसवर्ष यस्तो स्याउको उत्पादन करिब १० प्रतिशतले वृद्धि भएको अनुमान छ । कार्यालय प्रमुख राजेश गुरुङले यहाँको प्रारम्भिक सर्वेक्षणमा स्याउ उत्पादनमा वृद्धि भएको देखिएको बताए । गत वर्ष मुस्ताङमा ६० हेक्टर ‘हाइब्रिड’ स्याउ बगैँचा क्षेत्र रहेकामा उत्पादनशील ५० हेक्टर क्षेत्रफलमा एक हजार २५० मेट्रिक टन स्याउ उत्पादन भएको उनले जानकारी दिए । यसवर्ष गत वर्षभन्दा एक सय २५ मेट्रिक टन बढी उत्पादन भएको कार्यालय प्रमुख गुरुङको भनाइ छ । यहाँ परम्परागत स्थानीय जातका स्याउको उत्पादनमा भने ह्रास आउने देखिएको कृषि ज्ञान केन्द्रले अनुमान गरेको छ । यस वर्ष गत वर्षको तुलनामा स्थानीय जातको स्याउ १५ प्रतिशतले ह्रास आउने प्रक्षेपण गरिएको केन्द्र प्रमुख गुरुङले सुनाए । गत वर्ष यहाँ आठ सय ३० हेक्टरमा स्थानीय लगाइएकामा छ हजार ७८ दशमलव ८४ प्रतिशत मेट्रिक टन उत्पादन भएको थियो । ज्ञान केन्द्रले गत वर्षभन्दा ९२ मेट्रिक टन कम उत्पादन हुने अनुमान गरेको छ । थासा-१ टुकुचेका कृषक दिपसागर थकालीले यसवर्ष थासाङ क्षेत्रमा स्थानीय स्याउको उत्पादन एक तिहाईले घटेको बताए । 'गत वर्ष लटरम्म फलेको थियो, तर यस वर्ष बोटमा स्याउ नै थोरै फलेको छ', उनले भने । केही क्षेत्रमा भने उत्पादनमा समस्या नआउने अनुमान रहेको छ । यहाँको घरपझोङ-५ स्थित चिम्ले अचार्ड कृषि स्याउ फार्ममा स्थानीय जातका स्याउ उत्पादनमा कुनै असर नपरेको फार्मका सञ्चालक कर्म गुरुङले बताए । बगैँचाको उचित व्यवस्थापन, भूगोल र स्थानले समेत स्याउ उत्पादनमा फरक पर्ने उनले सुनाए । शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका प्रमुख पद्मनाथ आत्रेयले बोटमा फूल फुल्दै गरेको बेला वर्षा भएकाले असर पुर्याएकाले उत्पादनमा कमी आउने देखिएको बताए । तथापि, जिल्लामा कति स्याउ उत्पादन भयो भन्नेबारे असोजपछि यकिन हुने उनको भनाइ छ । केन्द्रका अनुसार स्थानीय र ‘हाइब्रिड’ गरी गतवर्ष यहाँ छ हजार १६ हेक्टर क्षेत्रफलमा सात हजार ३२८ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । जसमध्ये १० प्रतिशत स्याउ मुस्ताङमै खपत भएको थियो भने ९० प्रतिशत स्याउ बाहिर निकासी भएको थियो । स्याउ निकासीबाट रु ८२ करोड ६८ लाख कारोबार हुँदा रु नौ करोड १८ लाख ६७ हजार बाराबर जिल्लामै खपत भएको ज्ञान केन्द्रले जनाएको छ । रासस

कालीगण्डकी करिडोर सडक अवरुद्ध

गुल्मी । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । कालीगण्डकी करिडोर सडकको गुल्मीखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ स्थित राक्से भन्ने स्थानमा सडक माथिबाट पहिरो खसेपछि गए रातिदेखि उक्त सडक पूर्ण रुपमा अवरुद्ध बनेको हो ।        सडक अवरुद्ध भएको जानकारी पाएपछि प्रहरीचौकी पुर्तीघाटबाट प्रहरी टोलीलाई बिहानै सडक सुचारुका लागि पहिरो गएको स्थानका खटाई सकिएको प्रहरीले जनाएको छ । अहिले पनि उक्त क्षेत्रमा लगातार वर्षा भइरहेका कारण सडकमा थुप्रिएको पहिरो पन्छाउन समस्या परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकरी गङ्गाबहादुर सारुले जानकारी दिएका छन् ।        सडक अवरुद्ध बनेपछि त्यस क्षेत्रबाट पर्वत, बागलुङ एवं रिडी हुँदै पाल्पा र बुटवलसम्म आवजावत गर्ने सवारीसाधन सञ्चालनमा आउन सकेका छैनन् । वर्षा रोकिनासाथ सडक सुचारु गर्नका लागि स्थानीय निर्माण कम्पनी कालिका कन्ट्रक्सनले पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा राखेको सूचना अधिकारी सारुले बताएका छन् । पहिरोका कारण उक्त सडक पटक पटक अवरुद्ध हुने गर्दछ ।   

कान कम सुन्ने र मुटुको अपरेसन गरेको आमाको कोठामा आक्रमण गर्नेको फलोस् फुलोस् : गभर्नर डा. पौडेल

काठमाडौं । जेनजी आन्दोलनकारीहरुले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलका घरमा समेत तोडफोड र आगजनी गरेका छन् । गभर्नर पौडेलको ललितपुरको भैँसेपाटी र चितवनस्थित घरमा तोडफोड र आगजनी गरेको जनाएका छन् ।  कान कम सुन्ने र मुटुको अपरेसन गरेको ८२ वर्षीय आमाको कोठामा आक्रमण गरिएको उनले बताए । गभर्नर भएपछि पनि हरेक हप्ता एक छाक भएपनि बाआमासँग खाना खान पुग्ने गरेको उनले सुनाए । चितवनस्थित घरमा भएको आक्रमणको भिडियो सेयर गर्दै पौडेलले भने, ‘यस भिडियोमा शुरूमा ढुंगा हानेको कोठा मेरो कान कम सुन्ने र ८२ वर्षीय बुढी आमाको सुत्ने कोठा हो । वहाँ भर्खरै मुटुको अपरेसन गरेर बस्नुभएको पनि हो । यो मेरो गाउँको घर हो । गभर्नर भएपछि पनि हरेक हप्ता म एक छाक भएपनि बाआमासँग खाना खान पुग्ने गर्थे । बा ले लगभग १५ वर्ष अघि म विद्यार्थी छँदा नै बनाएको घर हो ।’  गभर्नर पौडेलका बुवा ८७ वर्षका भएका छन् । भैँसेपाटीको घर जलाएर नपुगी मेरा वृद्ध बाआमा बसेको चितवनको घरमा पोख्ने साथीहरूको फलोस् फुलोस् भन्दै भिडियो सेयर गरेका छन् ।  ‘अहिले मेरो बा पनि ८७ वर्षको हुनुभयो । केही अघि रक्ताल्पता भैराखेर बाँच्नुहुन्न कि जस्तो भएकोमा अहिले सन्चो हुँदै थियो । ६७ वर्षअघि चितवन झर्नुभएका बाका सबै सन्तान यही जन्मेका हुन्,’ उनले भने, ‘जिन्दगीमा मैले कसैसँग एक रुपैया मागेको छैन, दिएको मात्र हुँला, चितवनमा सिधै कक्षामा फस्ट हुन्थे । गाउँको केही सुविधा नभएको स्कुल पढेर दाइ अहिले अमेरिकामा प्राध्यापक हुनुहुन्छ भने म नेपालमै बस्ने गरि आएपछि केयुमा प्राध्यापक भएँ । बा आमा दुबै साधारण लेखपढ गर्न जान्ने हुनुहुन्छ । मेरो रिस मेरो भैँसेपाटीको घर जलाएर नपुगि मेरा वृद्ध बा आमा बसेको चितवनको घरमा पोख्ने साथिहरुको फलोस् फुलोस् ।’  

आज देशभर मौसम बदली, यी प्रदेशमा मध्यम र भारी वर्षा हुने

काठमाडौं । देशभर आज साधारणतया मौसम बदली रहनेछ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित छ । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानमा र बाँकी तराईका भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । मधेश प्रदेशलगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशको पहाड र मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराईका भु-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

कर्फ्यु आदेश खुकुलो गर्दै सेना, बिहान ४ घण्टा र साँझ २ घण्टा आवतजावत गर्न पाइने

काठमाडौं । नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्यु आदेशलाई क्रमबद्ध खुकुलो बनाउँदै निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएको छ । पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाको लागि काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा जारी भएको निषेधाज्ञा तथा कर्फ्यु खुकुलो तुल्याइने जनाएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार निषेधाज्ञा भदौ २६ गतेको बिहान १० देखि बेलुकी ५ बजेसम्म लागू हुनेछ । कर्फ्यु भने भदौ २६ गते बेलुकी ७ बजेदेखि भदौ २७ गते बिहान ६ बजेसम्मका लागि जारी गरिएको छ । निर्देशनालयका अनुसार नागरिकलाई अत्यावश्यक कार्यको लागि भदौ २६ गते बिहान ६ बजेदेखि  १० बजेसम्म र सोही दिन बेलुकी ५ देखि ७ बजेसम्म आवतजावत गर्न सकिने गरी समय निर्धारण गरिएको छ । निषेधाज्ञा तथा कर्फ्युको समय अत्यावश्यक सेवाका एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै, खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधि ओसारपसार गर्ने सवारी साधनाहरू सञ्चालन गर्न सकिने सेनाले जानकारी दिएको छ । उक्त समयमा सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थालगायत सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीले आफ्नो परिचयपत्र देखाई कार्यालयसम्म आवतजावत गर्न सक्ने जनाएकाे छ । यस्तै, आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुहरूले आफ्नो उडानको टिकट देखाई विमानस्थलसम्म आवतजावत गर्न सक्नु हुने सेनाले स्पष्ट गरेको छ । सेनाले आवश्यक सहायताको लागि नजिकमा रहेका सुरक्षाकर्मीहरूसँग समन्वय गर्नुहुन सम्बद्ध सबैमा अनुरोध समेत गरेको छ । काठमाडौं उपत्यका बाहिरको हकमा सम्बन्धित जिल्लाको सुरक्षा परिस्थिति अनुरूप जिल्ला सुरक्षा समितिहरूबाट निर्णय तथा समन्वय गरिए बमोजिम हुने जानकारी दिइएको छ । जस्तोसुकै परिस्थितिमा पनि आमनेपालीको सुरक्षा र मानवीय उद्धारमा प्रतिबद्ध रही जिम्मेवारी निर्वाहमा सक्रिय सुरक्षाकर्मीहरूलाई सहयोग पुर्‍याउन सबैमा सेनाले अपिल गरेको छ ।