जेनजीले घरमै कुटे देउवा दम्पती
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती नै कुटिएका छन् । प्रदर्शनमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका हुन् । मंगलबार जेनजीहरूले देउवाकै निवास पुगेर गेट फुटाएर घरभित्र प्रवेश गरेका थिए । सोही क्रममा जेनजीहरूले उनीमाथि हातपात गरेका थिए । प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले सिंहदरबार, संसद् भवन लगायतका शीर्ष नेताहरूको घरमा आगजनी गरेका थिए ।
नख्खु कारागारबाट निस्के रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागारबाट निस्किएका छन् । नख्खु कारागारमा रहेका उनलाई निकालेर बाहिर निकालिएको हो । लामिछाने निस्केको दीपक बोहराले जानकारी दिए ।
जेनजीलाई बालेनको आग्रह- अब संयमित हुनूस्, सेना प्रमुखसँग वार्ता गर्न तयार हुनुहोला
काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)ले जेनजी प्रदर्शनकारीलाई संयमित हुन आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन् । उनले लेखेका छन् , ‘हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त जेनजीको आन्दोलन हो । प्रिय जेनजी, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला ।’ बालेनले देशको जनधनको क्षति हाम्रै भएकाले संयमित हुन जरुरी भएको बताएका हुन्। साथै उनले सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुन आग्रह गरेका छन् ।
सुदूरपश्चिम प्रदेशसभा भवनमा आगजनी
काठमाडौं । जेनजीले सुदूरपश्चिम प्रदेशसभाको भवनमा आगजनी गरेको छ । सोमबारको जेनजी आन्दोलनका क्रममा १९ जनाको मृत्यु भएपछि आक्रोशित युवाहरू सडकमा उत्रिएका थिए । त्यसैक्रममा उनीहरूले सुदूरपश्चिम प्रदेशसभा भवनमा आगजनी गरेका हुन् ।
माओवादी केन्द्रीय कार्यालयमा आगजनी
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पनि आगजनी भएको छ । मंगलबार प्रर्दशनकारीहरुले पेरिसडाँडामा रहेको माओवादी पार्टी कार्यालय जलाएका हुन् । जेनजी युवाहरुले गरेको आन्दोन चर्केको अवस्था छ । अहिले संसद् भवन, सिंहदरबारदेखि धेरै ठाउँका भवन, पार्टी कार्यालयमा तोडफोड आगजानी भइसकेका छन् ।
जेनजीले जलाए पूर्वराष्ट्रपति भण्डारीको घर
काठमाडौं । प्रदर्शनमा उत्रिएका जेनजीहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घर जलाएका छन् । बुढानीलकण्ठस्थित भङ्गलामा रहेको घरमा प्रदर्शनकारीहरूले तोडफोड गर्दै घरभित्र छिरेर आगजनी गरेका हुन् । जेनजीहरूले पार्टी कार्यालय र नेताहरूको घर लक्षित आन्दोलन गर्दै तोडफोड र आगजनी गरिरहेका छन् ।
राप्रपाका सबै सांसदले दिए राजीनामा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सबै सांसदले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाका गरी ४२ सांसदले सामूहिक राजीनामा दिएका हुन् । 'देशमा विकसित पछिल्लो घटनाक्रमबाट वर्तमान सरकार, संसद् र संविधानको औचित्य समाप्त भइसकेको छ । यस सन्दर्भमा राप्रपाका प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरूले सामूहिक राजीनामा दिई संसद्बाट बाहिरिने निर्णय गरेको छ,' प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
राजनीतिक निकास र समस्या समाधानको थप पहलका लागि राजीनामा दिएको हुँ : ओली
काठमाडौं । केपी शर्मा ओलीले राजनीतिक निकास र समस्या समाधानको थप पहलका लागि राजीनामा दिएको बताएका छन् । मुलुकमा उत्पन्न असामान्य परिस्थितलाई ध्यानमा राख्दै आफूले राजीनामा दिएको उनले बताएका हुन् । ‘हाल मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निकासका र समस्या समाधनको थप पहलको लागि संविधानको धारा ७७ (१) क बमोजिम आजैका मितिदेखि लागु हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु,’ ओलीले आफ्नो राजीनामापत्रमा भनेका छन् । देशभर जारी जेनजीको आन्दोलनको दबाब थेग्न नसकी प्रधानमन्त्रीले राजीनामा दिएका हुन् । प्रधानमन्त्रीको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरिसकेका छन् । सोमबार भएको जेनजीको आन्दोलनमा १९ जनाले ज्यान गुमाएका छन् भने सयौं घाइते भएका छन् ।