विकासन्युज

जेनजीको आन्दोलनमा भएको घटना दुखद, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध तत्काल हटाइयोस्ः प्रचण्ड

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज भएको जेन-जी पुस्ताको प्रदर्शनका क्रममा भएको दुखद घटनाले स्तब्ध र गम्भीर बनाएको बताएका छन् । प्रहरीको गोली लागेर मृत्यु भएका युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उनले घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरे । ‘जेन-जीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धको मागहरूलाई तत्काल सम्बोधन गरियोस्। स्थिति थप बिग्रिन नदिन सरकारले जिम्मेवारी पूर्वक ठोस कदम चालोस्,’ उनले भने । साथै, काठमाडौंसहित देशका विभिन्न स्थानमा जेन-जी पुस्ताको प्रदर्शन र देशको समसामयिक अवस्थालाई मध्यनजर गर्दै माओवादी केन्द्रका उपलब्ध पदाधिकारीहरूको आकस्मिक बैठक भीमसेन थापा गाउँपालिका-३, टारिफाटमा बसेको छ। बैठकले जारी जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियान स्थगित गर्दै भोलि काठमाडौंमा पूर्ण पदाधिकारी बैठक बोलाउने निर्णय गरेको छ।  त्यसैगरी, जेन-जीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धको मागहरूलाई तत्काल सम्बोधन गर्न तथा स्थिति थप बिग्रिन नदिन जिम्मेवारी पूर्वक ठोस कदम चाल्न सरकार समक्ष माग गरेको छ।

सिंहदरबारमा सामाजिक सञ्जाल निरन्तर सञ्चालनमा

काठमाडौं । सिंहदरबार परिसरमा रहेका सबै सामाजिक सञ्जाल निरन्तर सञ्चालनमा रहेको छ । सिंहदरबारको वाइफाइ नेटवर्क प्रयोग गर्दा फेसबुक, ह्वाट्सएप, मेसेंजरलगायतका प्लेटफर्म सहजै खुल्ने गरेका छन् । संसद् सचिवालयका कर्मचारी र सांसदहरूले यसो विगतदेखि नै हुँदै आएको बताएका छन् । सोमबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक चलिरहेका बेला संसद् भवन नयाँ बानेश्वर बाहिर सामाजिक सञ्जाल बन्दको विरोधमा प्रदर्शन चर्किएको थियो । त्यही क्रममा गृहमन्त्री रमेश लेखक बैठकस्थलबाट बाहिरिएपछि समिति बैठक स्थगित भएको थियो । बैठकपछि एक सांसदले भने, 'सिंहदरबारमा चल्ने, बाहिर नचल्ने भएपछि नागरिकमा आक्रोश बढ्नु स्वाभाविक हो ।'

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १४ पुग्यो, दर्जनौं गम्भीर, सयौं घाइते

काठमाडौं । जेनजीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा १४ जनाको मृत्यु भएको छ । अहिलेसम्मको सूचनाअनुसार प्रहरीको गोली लागेर १४ जनाको मृत्यु भइसकेको छ ।  ट्रमा सेन्टरमा ६ जना, सिभिल अस्पतालमा ३, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जना जनाको मृत्यु भएको हो । दर्जनौंको अवस्था गम्भीर रहेको छ भने सयौं बढी घाइते भएका छन् । 

यी हुन् राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत ५० जना घाइते (नामसहित)

काठमाडौं । जेन जीको प्रदर्शनका क्रममा घाइते भएका राष्ट्रिय ट्रमा सेन्टरमा ५० जना उपचाररत रहेका छन् । अस्पतालले सार्वजनिक सूचीमा ५०जना जेनजी प्रदर्शनकारी घाइते भएका हुन् ।  उपचारका लागि ट्रमा सेन्टर पुर्याइएका प्रदर्शनकारीको नामसहित सूची सार्वजनिक गरेको हो ।         

यी हुन् ट्रमा सेन्टरमा मृत्यु भएका ६ प्रदर्शनकारी

काठमाडौं । जेन जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा १० जनाको मृत्यु भएको छ । अहिलेसम्मको सूचना अनुसार प्रहरीको गोली लागेर १० जनाको मृत्यु भइसकेको छ ।  ट्रमा सेन्टरमा मात्रै ६ जनाको मृत्यु भएको छ । ट्रमा सेन्टरका अनुसार वर्ष २३ का श्रीयाम चौलाईं, बाँकेका वर्ष २१ का सुलभ राज श्रेष्ठ, किर्तिपुरका ४२ वर्षीय बुद्धी तामाङकाृ मृत्यु भएको छ । अस्पतालका अनुसार अन्य तीन जनाको पहिचान खुल्न सकेको छैन् ।

पोखरामा निषेधाज्ञा जारी

गण्डकी । जिल्ला प्रशासन कार्यालय, कास्कीले पोखराका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।  पोखरा महानगरपालिका–७ सहिदचोक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिए ।  उनका अनुसार सोमबार दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पूर्वतर्फ वाइचोक, उत्तरपूर्वतर्फ मिलनचोक, पश्चिमतर्फ फिस्टेगेट ९बैदाम०, उत्तरतर्फ मालमोत कार्यालय र दक्षिणतर्फ राष्ट्रबैङ्कचोक ९दक्षिण पश्चिमतर्फ पर्यटन बोर्डको कार्यालयअगाडि, ड्यामसाइड० सम्मलाई  निषेधित क्षेत्र घोषणा गरिएको हो ।  ‘जेनजी’को प्रदर्शन अराजक बनेपछि सुरक्षाका लागि निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।  

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १० पुग्यो, घाइतेले अस्पताल भरिभराउ

काठमाडौं । जेन जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा १० जनाको मृत्यु भएको छ । अहिलेसम्मको सूचना अनुसार प्रहरीको गोली लागेर १० जनाको मृत्यु भइसकेको छ ।  उपचारका लागि ट्रमा सेन्टर पु¥याइएका ६ जनाको र सिभिल अस्पतालमा २ जनाको मृत्यु भएको हो । यस्तै, केएमसी र त्रिवि शिक्षण अस्पतालमा पनि एक÷एक जनाको मृत्यु भएको छ । मृतकहरूको पहिचान खुल्न बाँकी छ । ट्रमा सेन्टरमा पुगेका हाम्रा सम्वाददाताका अनुसार ट्रमामा ५० जनाको उपचार भइरहेको छ ।  

जेनजीको प्रदर्शन अराजक बनेपछि सुरक्षाका लागि खटाइयो नेपाली सेना

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा ‘जेनजी’को प्रदर्शन अराजक बनेपछि सुरक्षाका लागि नेपाली सेना खटाइएको छ । सोमबार बिहानदेखि माइतीघर मण्डलाबाट सुरु भएको उक्त प्रदर्शन निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वर क्षेत्रमा प्रवेश गरेपछि अराजक बनेर तोडफोड र आगजनीमा उत्रिएको थियो । नेपाल प्रहरीले सुरक्षा नियन्त्रणमा लिन दर्जनौँ सेल अश्रुग्यास र हवाई फायर गर्नुपरेको थियो । प्रदर्शनकारी अराजक भई संसद् भवन प्रवेश गर्ने प्रयास गरेपछि स्थानीय सुरक्षा समितिको आग्रहअनुसार नेपाली सेनाको एक टुकडी कर्फ्यू आदेश जारी गरेको क्षेत्रमा सुरक्षाका लागि परिचालन गरिएको सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए । प्रदर्शनका क्रममा एक प्रहरी नायब उपरीक्षक, एक प्रहरी निरीक्षकलगायत ३० भन्दा बढी प्रहरी र दर्जनौँ प्रदर्शनकारी घाइते भएका छन् । सुरक्षाका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालयले काठमाडौंका विभिन्न स्थानमा कर्फ्यू आदेश जारी गरेको छ ।