प्रहरीले हान्यो गोली, जेनजीले भन्यो- घुसपैठ भयो, घर फर्किनू
काठमाडाैं । जेनजीको आन्दोलन उग्र भएपछि कर्फ्यू आदेशसँगै प्रहरीले गोली चलाएको छ । प्रदर्शनकारीले ढुंगामुढासहित संसद भवनको २ नम्बर गेटको पर्खाल भत्काएपछि प्रहरीले रबर गोली चलाएको हो । प्रदर्शनकारीलाई तितरबितर पार्न घुँडामुनि रबरको बुलेट हानिएको सुरक्षा अधिकारीले बताएका छन् । योसँगै जेनजीको प्रदर्शन उग्र भएपछि घुसपैठ भएको भन्दै जेनजी नेपालले प्रदर्शनकारीलाई घर फर्किन आग्रह गरेको छ । जेनजी नेपाल नामको फेसबुक पेजबाट सो आह्वान गरिएको हो । ‘कृपया तत्कालै सुरक्षित तरिकाले निस्किनुहोला । धेरै स्वार्थ प्रेरित समूहहरूले भीडलाई उत्तेजित बनाइरहेका छन् । चाँडोभन्दा चाँडो त्यहाँबाट हट्नुस् । हाम्रो आजको दिन सफल भइसकेको छ । आज सबै जना सुरक्षित तरिकाले घर जानुस्,’ पेजमा भनिएको छ ।
नेपाल टेक रोडशो अस्ट्रेलिया २०२५ सम्पन्न, नेपाल-अस्ट्रेलिया प्रविधि सहकार्यमा नयाँ आयाम
काठमाडौं । नेपाल एसोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिस कम्पनीज (नास आइटी) ले आयोजना गरेको नेपाल टेक रोडशो अस्ट्रेलिया २०२५ सिड्नीस्थित राइड्जेस वर्ल्ड स्क्वायरमा भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा नेपाल र अस्ट्रेलियाका प्रविधि क्षेत्रका आविष्कारक, उद्यमी, लगानीकर्ता तथा उद्योग अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । रोडशोको उद्देश्य नेपालको बढ्दो आईटी र सफ्टवेयर क्षमतालाई अन्तर्राष्ट्रियस्तरमा प्रस्तुत गर्नुका साथै दुवै देशबीच प्रविधि सहकार्य र लगानीका नयाँ अवसरहरू सिर्जना गर्नु रहेको आयोजक नास आइटीले जनाएको छ । कार्यक्रमको उद्घाटन टेकक्राफ्ट इंकका सह–संस्थापक तथा नास आइटी सदस्य अनिश श्रेष्ठले गरेका थिए । त्यस्तै, ईके सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत तथा नास आइटी अध्यक्ष गौरव पाण्डेले नेपालको विकासशील प्रविधि इकोसिस्टमबारे विस्तृत प्रस्तुति दिएका थिए । कार्यक्रमको प्रमुख आकर्षण अस्ट्रेलियाली र नेपाली प्रविधि इकोसिस्टमबीच सहकार्य र लगानीका अवसरहरू विषयमा गरिएको प्यानल छलफल थियो । एमिनेंस वेजका प्रबन्ध निर्देशक तथा नास आइटी कार्यकारी सदस्य नारायण कोइरालाको संयोजनमा भएको छलफलमा दुवै देशका विज्ञहरूले चुनौती, सम्भावना र व्यावहारिक कदमबारे गम्भीर बहस गरेका थिए । प्यानलमा सहभागीहरूमा डाटा विश्लेषण, मेसिन लर्निङ र सूचना सुरक्षामा विशेषज्ञ मनोज घिमिरे, डिजिटल रचनात्मकता तथा प्रयोगकर्ता अनुभव डिजाइनका विज्ञ माइकल सिग्नल, र एसिया–प्रशान्त क्षेत्रमा डिजिटल रूपान्तरणको नेतृत्व गरिरहेका सुदीप आचार्य रहेका थिए । कार्यक्रमको समापन रात्रिभोजसहितको नेटवर्किङ सत्रबाट गरिएको थियो, जसले सहभागीहरूलाई विचार आदानप्रदान र सम्बन्ध विस्तार गर्ने अवसर प्रदान गरेको थियो । नास आइटीका अनुसार यस कार्यक्रमले नेपालको तीव्र गतिमा विकास भइरहेको प्रविधि परिदृश्य, नेपाली स्टार्टअपहरूले प्रस्तुत गरेका नविन समाधानहरू र अस्ट्रेलियामा सहकार्यका सम्भावनाबारे गहिरो जानकारी प्रदान गरेको छ । कार्यक्रम एनसेल बिजनेसको सहयोगमा सम्पन्न भएको हो । नास आइटीले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै नेपालको प्रविधि क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा थप प्रभावकारी बनाउन प्रतिबद्धता व्यक्त गरेको छ ।
काठमाडौंका यी ठाउँमा कर्फ्यू आदेश जारी
काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । जेनजीले प्रदर्शन उग्र बनाएपछि कर्फ्यू आदेश जारी गरेको हो । प्रशासन कार्यालय, काठमाडौंले अनुसार माइतीघर, बानेश्वर, तीनकुने र शंखमुल आसपासमा राति १० बजेसम्मका लागि कर्फ्यू जारी गरिएको हो । भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा प्रदर्शनमा उत्रिएका जेनजीले कागज, सडकमा भेटिएका रुखका हाँगाका टुक्रा, पानीका बोतलले प्रहार गरेका छन् । प्रदर्शनकारीहरूले सरकारविरुद्ध विभिन्न नाराबाजी गरिरहेका छन् । जेनजीको प्रदर्शनले सरकार दबाबमा परेको छ ।
बिक्री घटे पनि मर्सिडिजले रणनीति नबदल्ने, चीनमा प्रिमियम दाउ कायमै
काठमाडौं । जर्मन लक्जरी अटोमेकर मर्स‍िडिज बेन्जले आफ्नो मुख्य बजार चीनमा पनि प्रिमियम रणनीति कायम राख्ने निर्णय गरेको छ । जहाँ कडा मूल्य प्रतिस्पर्धाले कम्पनीको बजार हिस्सा घटाएको छ र स्थानीय उपभोक्ताहरू क्रमशः सस्ता घरेलु मोडेलतर्फ मोडिरहेका छन् । प्रमुख कार्यकारी अधिकृत (सीईओ) ओला केलेनियसले म्युनिखमा हुने आईएए अटो शोअघि रोयटर्ससँग कुरा गर्दै आइतबार सार्वजनिक गरिएको नयाँ इलेक्ट्रिक जीएलसी एसयूभीले विश्वकै सबैभन्दा ठूलो अटो बजार चीनमा कम्पनीले गुमाएको स्थान पुनः प्राप्त गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए । पोर्शेजस्तै मर्सिडिज–बेन्जले पनि चीनमा बजार हिस्साभन्दा नाफा सुरक्षित गर्नेतर्फ ध्यान दिएको छ । सन् २०२५ को दोस्रो त्रैमासमा कम्पनीको गाडी बिक्री १९ प्रतिशत घटेर १ लाख ४० हजार ४०० मा झरेको छ । केलेनियसका अनुसार कम्पनीले चीनमा आफ्नो रणनीति परिवर्तन गर्ने छैन र प्रिमियम दृष्टिकोणलाई निरन्तरता दिनेछ । मर्सिडिज–बेन्ज र अन्य युरोपेली प्रतिस्पर्धीहरूले हाल अमेरिकी अटो आयात शुल्क २७.५ प्रतिशतबाट घटाएर १५ प्रतिशतमा ल्याइने आशा गरिरहेका छन्, जुन वाशिङ्टनले युरोपेली संघसँगको सहमतिअनुसार अमेरिकी सामानमा कर कटौती गर्ने वाचा गरेको छ । ‘युरोपियन कमिसन र उनीहरूको व्यापार टोली यसबारे अमेरिकी प्रशासनसँग काम गरिरहेका छन्,’ केलेनियसले भने । र उनले अमेरिकी प्रशासनले चाँडै नै कार्यकारी आदेशमा हस्ताक्षर गरेर कर घटाउने आशा व्यक्त गरे। करहरूले हालसम्म समूहको परिणाममा कस्तो वित्तीय असर पारेका छन् भन्ने उनले ठ्याक्कै खुलाएनन् । सान्दर्भिक सामग्री : इतिहासकै ठूलो तलब डिल : मस्कलाई टेस्लाको १ ट्रिलियन डलर प्रोत्साहन प्याकेज युरोपेली बजारमा चिनियाँ इलेक्ट्रिक कारहरूको आक्रामक प्रवेश विश्वकै ठूलो ईभी निर्माता बीवाईडीको नाफा घट्दै, उत्पादन विस्तार योजनामा ढिलाइ पोर्शेमा नयाँ सीईओको खोज सुरु, फक्सवागनसँगको दोहोरो भूमिका अन्त्य हुने संकेत
संसद भवनभित्र छिरे जेनजी, दबाबमा सरकार
काठमाडौं । जेनजी प्रदशर्न गर्दै संसद भवनभित्र छिरेका छन् । सोमबार बिहान सुरु भएको प्रदर्शन अहिले तनावग्रस्त बनेको छ । प्रदर्शनमा उत्रिएका जेनजीहरू संघीय संसद् भवनभित्र प्रवेश गरेका छन् । उनीहरू प्रहरीको घेरा तोड्दै संसद् भवनभित्र प्रवेश गरेका हुन् । उनीहरू गेटबाट माथि चढेर संसद् भवनभित्र प्रवेश गरेका हुन् । अहिले प्रहरीले स्थिति नियन्त्रणका लागि अश्रुग्यास प्रहार गरिरहेको छ । भ्रष्टाचार र सामाजिक प्रतिबन्धको विरोधमा प्रदर्शनमा उत्रिएका जेनजीले कागज, सडकमा भेटिएका रुखका हाँगाका टुक्रा, पानीका बोतलले प्रहार गरेका छन् । प्रदर्शनकारीहरूले सरकारविरुद्ध विभिन्न नाराबाजी गरिरहेका छन् । जेनजीको प्रदर्शनले सरकार दबाबमा परेको छ ।
श्रीनगर एग्रीटेकको आईपीओ बाँडफाँड सम्पन्न
काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालयमा बाँडफाँड गरिएको हो । सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशत, अर्थात् ३ लाख ९ हजार ९३८ कित्ता साधारण सेयर (प्रति कित्ता १०० रुपैयाँ अंकित दर) नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा कार्यरत नेपालीहरूका लागि भदौ ११ देखि १६ गतेसम्म निष्काशन गरिएको थियो । यस सेयरमा कुल ६४ हजार ८१२ आवेदकले १० लाख १५ हजार ४७० कित्ता सेयरका लागि आवेदन दिएका थिए । जसमध्ये ६४ हजार ७९ वटा आवेदन स्वीकृत भएका छन् भने १३ वटा आवेदन रद्द भएका थिए । मागभन्दा बढी आवेदन परेकाले बाँडफाँड गोलाप्रथा (लटरी) प्रणालीमार्फत गरिएको हो । सोअनुसार ३० हजार ९९३ जनाले १० कित्ताका दरले कम्पनीको सेयर पाएका छन् । बाँकी रहेका ८ कित्ता सेयर पनि सोही लगानीकर्तामध्ये ८ जनामा बाँडफाँड भई प्रत्येकले १/१ कित्ता अतिरिक्त सेयर प्राप्त गरेका छन् ।
उग्र बन्यो जेनजी प्रदर्शन : निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ लम्किए, लाठी र अश्रुग्यास प्रहार
काठमाडौं । सोमबार सुरु भएको जेनजी प्रदर्शन उग्र बनेको छ । सुरुमा शान्तिपूर्ण भएको प्रदर्शन अहिले उग्र बनेको हो । प्रदर्शनकारीहरूले नयाँ बानेश्वरस्थित निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ अगाडि बढेका छन् । उनीहरुले प्रहरीको ब्यारिकेड तोड्दै जुलस अगाडि बढेपछि तनाव उत्पन्न भएको छ । संसद भवनतर्फ जाने प्रयास गरेका केही युवाहरूलाई प्रहरीले लाठी प्रहार गरेका छन् । प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गर्दा पनि प्रदर्शनकारी अगाडि बढेका छन् । भ्रष्टाचार र सामाजिक प्रतिबन्धको विरोधमा प्रदर्शनमा उत्रिएका जेन–जीले कागज, सडकमा भेटिएका रुखका हाँगाका टुक्रा, पानीका बोतलले प्रहार गरेका छन् । प्रदर्शनकारीहरूले सरकारविरुद्ध विभिन्न नाराबाजी गरिरहेका छन् ।
उपत्यकाकामा सुरक्षा व्यवस्था कडा, ‘ड्रोन’बाट निगरानी
काठमाडौं । काठमाडौं उपत्यकाका तीनै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । ‘जेनजी’ पुस्ताको प्रदर्शनको चर्चाका बीच आइतबारदेखि आवश्यक सुरक्षा प्रबन्ध गरिएको र सोही अनुसार बिहानदेखि सुरक्षाकर्मी आवश्यकताका आधारमा परिचालन भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले जानकारी दिए । उनका अनुसार अवाञ्छित गतिविधि हुनसक्ने कुरालाई ध्यानमा राखेर ड्रोनबाट समेत निगरानी भइरहेको छ । 'यसले एउटा ‘रेकर्डेट’ पनि हुन्छ र कुनै घटना भइहालेमा पनि त्यसलाई नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सकिन्छ भनेर ड्रोनबाट निगरानी गरिरहेका छौँ, अन्य सबै क्षेत्रमा आवश्यताका आधारमा सुरक्षा टोली परिचालन भएको छ', प्रजिअ रिजालले भने । अहिले काठमाडौंको माइतीघरमा जेनजी पुस्ताका नाममा केही मानिस भेला भएको जानकारी आएको बताउँदै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले तीनै जिल्लामा आवश्यकताका आधारमा उचित सुरक्षा प्रबन्ध रहेको बताए । प्रवक्ता खनालले भने, 'हामीले सुरक्षा योजना बनाएर नै परिचालन गरेका छौँ, सबै लाग्ने डिउटी खटाइसकेका छौँ, कमान्ड पोष्ट परिचालन भइसकेको छ ।' सामाजिक सञ्जालमा लगाइएको रोकलगायत विरुद्ध भन्दै जेनजी पुस्ताले आज उपत्यकामा प्रदर्शन गर्ने कार्यक्रम रहेको भनेर प्रचार भएपछि उपत्यकामा सुरक्षा निगरानी बढाइएको हो ।