आइतबार निजामती सेवा दिवस मनाइँदै, ४१ कर्मचारीलाई सम्मान गरिने
काठमाडौं । मुलुकको स्थायी सरकारका रूपमा रहेका निजामती सेवाका कर्मचारीले भोलि आइतबार देशभर विभिन्न कार्यक्रमको आयोजना गरी ‘निजामती सेवा दिवस’ मनाउँदै छन् । निजामती सेवासम्बन्धी ऐन पहिलोपटक जारी भएको विसं २०१२ भदौ २२ गतेको स्मरण गर्दै हरेक वर्ष यस दिन निजामती सेवा दिवस मनाइने गरिएको छ । निजामती सेवाको मूल्य–मान्यता,आदर्श, चरित्र, नैतिकता, सदाचारिता, निष्ठाजस्ता गुणको स्मरण र पालना गरी नागरिकको सेवामा प्रतिबद्धता व्यक्त गर्ने दिनका रूपमा यस दिवसलाई लिने गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव प्रकाश दाहाल बताउँछन् । ‘सबै नीतिको माउ नीति राजनीति’ हाँक्ने जिम्मेवारीमा रहेको राजनीतिक नेतृत्वलाई नीति निर्माणमा परामर्श दिने, बनेका नीति–नियमलाई कार्यान्वयन गरी नागरिकलाई सरल र सहज रूपमा सेवासुविधा उपलब्ध गराउने निजामती कर्मचारीको प्रमुख जिम्मेवारी हो । निजामती सेवामा रहेका करिब ८५ हजार कर्मचारीका लागि यो दिवस ठूलो उत्सव र कदर गर्ने दिनका रूपमा लिने गरिएको छ । सेवा दिवस मनाउन मुख्यसचिवको अध्यक्षतामा गठित मूल समारोह मातहतका उपसमितिबाट स्वास्थ्य शिविर, वृक्षरोपण, रक्तदान, मैत्रीपूर्ण फुटबल, अन्तक्र्रिया, झाँकी प्रदर्शनी, र्याली, दीपावलीजस्ता कार्यक्रम तय गरिएको छ । यस दिवसका उपलक्ष्यमा प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा राजधानीमा हुने मूल समारोहमा वर्षभरमा राम्रो काम गर्ने कर्मचारीको मूल्याङ्कन गरी एक जनालाई सर्वाेत्कृष्ट निजामती, १० जनालाई उत्कृष्ट निजामती र ३० जना निजामती पुरस्कारको समेत घोषणा गरिने छ । अघिल्लो वर्ष घोषणा गरिएका कर्मचारीलाई प्रमुख अतिथिको हातबाट पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ । समारोहमा पुरस्कृत हुने कर्मचारीबाट अरुलाई पनि असल र निष्ठावान हुन प्रेरणा प्राप्त मिल्ने दिनका रूपमा यो दिवसलाई लिने सकिने सहसचिव दाहाल बताउँछन् । यो दिवस राष्ट्र र जनताका लागि असल काम गर्न प्रण गर्ने दिन हो । केही कर्मचारीले भ्रष्टाचार र अनियमित कार्य प्रदर्शन गरेका तथा कतिपय राजनीतिज्ञले समेत जनहितका लागि आफूले गर्न चाहेको काम कर्मचारीकै असहयोगमा अघि बढ्न नसकेको भन्ने हल्का टिप्पणीले समग्र सेवाप्रति गलत प्रचार हुन पुगेको निजामती कर्मचारीको बुझाइछ । निजामती कर्मचारीलाई ढिलासुस्ती, प्रक्रियामुखी, काम पन्छाउने, समयमा निर्णय नगर्ने भन्ने खाले आरोप लाग्दैआएको बताउँदै सहसचिव दाहाल भन्छन् , ‘पछिल्ला समय निजामती कर्मचारीप्रति आमनागरिक, आमसञ्चार, राजनीतिकर्मीबाट हेर्ने दृष्टिकोणलाई भने चिर्न जरुरी छ ।’ निजामतीलाई खासगरी नागरिकले हाम्रो हितमा काम गर्दैनन्, सेवामुखी हुन सकेनन बरु उल्टो शासकजस्तै बन्न खोजेको भन्ने आक्षेप पनि लाग्दै आएको छ । जनतालाई सरल, सहज र पारदर्शी ढङ्गले सेवा दिन सूचना प्रविधिमैत्री सेवा प्रदानको प्रणाली विकास र अनुशरण गर्न सकिएमा सेवाको साखलाई उँचो बनाउन सहयोग पुग्ने निजामती कर्मचारीको भनाइ छ । अर्कातर्फ योग्यता, क्षमता र आवश्यकताका आधारमा नभई राजनीतिक आग्रह पूर्वाग्रहका आधारमा हुने अवसर, सरुवा, बढुवा र पुरस्कारले सक्षम व्यक्ति ओझेलमा परेको गुनासो समेत निजामती सेवामा प्रशस्त सुनिदैआएको छ । निजामती सेवा काविल नभई सरकार वा राजनीतिक कहिले सफल नहुने भएकाले राजनीति र प्रशासनबीचमा सुमधुर सम्बन्ध अहिलेको आवश्यकता रहेको नेपालको निजामती प्रशासनका भुक्तभोगी बताउँछन् । हाल निजामती सेनाका राष्ट्र सेवक कर्मचारी सङ्घ, प्रदेश र स्थानीय तहमा बाँडिएर काम गरिरहेका छन् । रासस
सञ्चार क्षेत्रले सरकारका कमजोरी औँल्याउने र राम्रा काम जनतासम्म पुर्याउनुपर्छ : अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सञ्चार जगत्ले सरकारका कमजोरी औँल्याउने र सकारात्मक काम जनतासम्म प्रभावकारी रूपमा पुर्याउनुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७ औँ वार्षिक साधारणसभा तथा अधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले सञ्चार क्षेत्रलाई आलोचनात्मक र सुझावात्मक दुवै दृष्टिकोणले अघि बढ्नुपर्ने बताए । 'सरकारका नीतिगत त्रुटि वा कार्यान्वयनमा कमजोरी भए त्यसलाई प्रस्टसँग जनतासामु उजागर गर्नु सञ्चारको दायित्व हो', पौडेलले भने, 'साथसाथै सरकारले गरेका उपलब्धि र जनहितमा भएका कामबारे नागरिकलाई सुसूचित पनि त्यत्तिकै महत्त्वपूर्ण छ ।' सो अवसरमा अर्थमन्त्री पौडेलले आर्थिक पत्रकारिताको महत्त्वमा जोड दिँदै मुलुकको अर्थतन्त्रलाई सबल बनाउन पत्रकारको भूमिका अपरिहार्य रहेको उल्लेख गरे । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड महामारी, रुस–युक्रेन तनावलगायत कारण मुलुकको अर्थतन्त्रमा असर देखिएको र पछिल्लो समय सुधार हुँदै गएको बताए । मुलुकको आर्थिक क्षेत्र सुधारका लागि निजी क्षेत्रबाट कसरी भूमिका खेल्न सकिन्छ भनेर महासङ्घले सधैँ पहल गरिरहेको उल्लेख गर्दै उनले कानुनी र व्यवहारिक सुधारका लागि सरकारलाई निरन्तर सुझाव दिइरहेको धारणा राखे । यद्यपि कानुन कार्यान्वयन कमजोर हुँदा सोचेअनुरुप नतिजा प्राप्त गर्न नसकेको ढकालको भनाइ छ । कार्यक्रममा नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको अर्थतन्त्र सुधारका लागि कुन क्षेत्रमा कति लगानी आवश्यक छ र त्यसका लागि के कस्ता नीतिगत तथा कानुनी सुधार गरिनुपर्छ भनेर परिसङ्घले अध्ययन गरिरहेको बताए । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले अर्थतन्त्र सूचकहरू विस्तार सुधार हुँदै गए पनि निजी क्षेत्र अझै लगानीका तयार नभइसकेको बताए । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई दिएका सुझाव तथा सिफारिस कार्यान्वयनमा उनले जोड दिए । कार्यक्रममा सेजनका पूर्वअध्यक्षहरूले सञ्चार क्षेत्रले सामना गरिरहेका चुनौती, पत्रकारिताको गुणस्तर र आर्थिक क्षेत्रसम्बन्धी अनुसन्धानात्मक समाचारको आवश्यकताबारे विचार व्यक्त गरेका थिए। अधिवेशनले सेजनको नयाँ नेतृत्व चयन गर्नेछ ।
दशैं–तिहार नजिकिँदा पनि सुनसान छ रामेछाप विमानस्थल
मन्थली । कुनै बेला व्यस्त हुने गरेको रामेछाप विमानस्थल पछिल्लो समय सुनसान छ । यहाँको विमानस्थबाट नियमित उडान नहुँदा सुनसान भएको हो । काठमाडौंमा रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पूर्वी क्षेत्रको नजिकै रहेको विमानस्थलका रूपमा रहेको यो विमानस्थल अहिले हवाइजहाजहरू नचल्दा सुनसान भएको हो । पर्यटकीय समयमा मात्र सोलुको लुक्ला जाने बेला विमानस्थलबाट उडान भर्ने गरिन्छ । त्यसबेला काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बढी व्यस्त हुने भएकाले विदेशी पर्यटकलाई काठमाडौँबाट सडकमार्ग हुँदै मन्थली ल्याउने र त्यसपछि हवाइजहाजमार्फत सोलुको लुक्ला पुर्याउने गरिन्छ । दशैँ, तिहार र छठ जस्ता चाडपर्व नजिकिँदै गर्दा अन्य जिल्लामा चल्ने विभिन्न एयरलाइन्सले जिल्ला जिल्लामा जान अग्रिम बुकिङ खुला गरे पनि रामेछापका नागरिकहरूका लागि भने हवाइजहाजबट यात्र गर्न कुनै एयरलाइन्सहरूले अग्रिम बुकिङ खुला गरेका छैनन् । पर्यटकको सिजनमा मात्र विमानस्थल चल्ने भएकाले विमानस्थल वरपरका रहेका होटल तथा पसलहरू पनि यतिखेर सुनसान छन् । जिल्लामा विमानस्थल हुँदाहुँदै पनि रामेछापका नागरिकहरूले यसको सुविधा नपाउनु दुःखको कुरा भएको स्थानीयको भनाइ छ । रामेछापका नागरिकहरूलाई पनि हवाई सुविधा दिलाउने पहल राजनीतिक दल र प्रदेश तथा सङ्घीय सांसदले गर्नुपर्ने स्थानीय वीरेन्द्र श्रेष्ठले बताए । उनले भने, 'यहाँका मानिसहरू सडकमार्गमार्फत काठमाडौं जाँदा बिपी राजमर्गको १२५ किमि पार गर्नुपर्छ भने पुष्पलाल मार्गको तामाकोशी–चरिकोट–मुडे हुँदै करिब २०० किलोमिटर दूरी पार गर्नुपर्दछ ।' गत वर्ष असोजको १२ गते आएको बाढीले पुष्पलाल मार्ग र बिपी राजमार्गको धेरै ठाउँका सडकमा क्षति पुगेकाले यी दुवै मार्ग जोखिमयुक्त छ । जिल्लामा सुविधा सम्मन्न एम्बुलेन्स नभइरहको अवस्था र मन्थलीबाट काठमाडौंका लागि भएका दुईवटा सडक मार्गहरू पनि भरपर्दा नभएकाले जटिल प्रकृतिका बिरामीहरू काठमाडौँ पठाउन निक्कै समस्या हुने गरेको श्रेष्ठको भनाइ छ । नजिकिँदै गरेको दशैँ तिहारजस्ता पर्वका लागि हिजोआज सहरबाट गाउँ आउनेहरूको सङ्ख्या बढ्दै जान लागेको छ । जोखिमपूर्ण सडकमार्गका कारण चाडपर्वमा घर आउनेलाई यात्रा सहज नभएको मन्थली–१ का नारायणदास श्रेष्ठ बताउँछन् । जिल्लामा हवाई सेवाला निरन्तर गरी पर्यटन प्रवद्र्धनमा समेत टेवा पुर्याउने उद्देश्यका साथ मन्थली नगरले पटकपटक पहल गरेको भए पनि त्यसको टुङ्गो नलागेको मन्थली नगरपालिकामा नगर पालिकाका प्रमुख लव श्रेष्ठ बताउँछन् । उनले भने, 'रामेछाप विमानस्थलमा नियमित उडानका लागि पहल गर्न जिल्लाका सङ्घीय सांसदसहित आफूहरू पर्यटन मत्रीलाई ध्यानाकर्षणपत्र बुझाउन पर्यटन मन्त्रालय गएको र मन्त्रीले सकारात्मक आश्वासन पनि दिएको तर त्यसको कुनै सुनुवाइ अहिलेसम्म नहुँदा नागरिकले निर्वाचित प्रतिनिधिलाई विश्वास गर्न छाडेका छन् ।' रामेछापमा लामो सङ्घर्षपछि मात्र एयरपोर्ट कालोपत्रे गर्न सफल भएको, आफ्नो निरन्तर प्रयासले गत वर्ष असोजमा गएको बाढीका कारण मन्थलीबाट काठमाडाैं जाने दुवैतर्फको बाटो अवरुद्ध हुँदा आफूले निक्कै प्रयास गरेर केही समय हवाई सेवा सुरु भए पनि हाल बन्द भइको पूर्वराज्यमन्त्री एवं सङ्घीय सांसद पूर्णबहादुर तामाङले बताए । उनले भने, 'यहाँको विमानस्थलबाट रामेछापका नागरिक आउजाउ गर्नसक्ने गरी जहाज सञ्चालनका लागि विशेष पहल भइरहेको छ, सकभर दशैँअघिदेखि नै नियमित उडान गराउन म लागिपरेको छु । विशेष पहल गर्ने तयारी छ ।' सोलुको लुक्लासम्मका लागि सीता, तारा र समिट एयरका एयरलाइन्सले यस एयपोर्टबाट पर्यटक ओसार्ने सिजनका बेला ६० देखि ६५ वटासम्म उडान भर्ने गरेका छन् । ती एयसलाइन्सका जहाजमार्फत आलोपालो प्रणालीद्वारा जिल्लाका नागरिक र बिरामीहरूलाई पनि सेवा दिने गरी आफ्ना कार्यक्रम सञ्चालन गर्नुपर्ने मन्थली न पा–२ का स्थानीय गुञ्जबहादुर श्रेष्ठले बताए । रासस
डेङ्गी सङ्क्रमणको जोखिम कायमै छ, सचेत रहनुहोला
काठमाडौं । काठमाडौं महानगरपालिकाले डेङ्गी सङ्क्रमणको जोखिम आगामी कात्तिकसम्म रहने भएकाले थप सचेत रहन आग्रह गरेको छ । पछिल्लो समय कामपाको ३२ वटै वडामा डेङ्गीका बिरामी बढेका कामपा स्वास्थ्य विभागले जानकारी दिएको छ । भदौदेखि आगामी कात्तिकसम्म डेङ्गी सङ्क्रमणको जोखिक बढी रहेकाले कामपाले थप सचेत रहन आग्रह गरेको हो । पछिल्लो समय कामपा डेङ्गी सङ्क्रमित पनि बढिरहेकाले यसले महामारीको रूप समेत लिन सक्ने भन्दै कामपाले अलि बढीनै सचेत रहन आग्रह गरेको कामपा स्वास्थ्य विभागका महामारी रोग रोकथाम तथा नियन्त्रण फोकलपर्सन ऋषिप्रसाद भुसालले जानकारी दिए । भुसालका अनुसार, स्थानीय सरकार वा केन्द्रीय सरकारले उक्त रोग नियन्त्रणका लागि यो गरे वा गरेनभन्दा पनि प्रत्येक नागरिकले घरघरबाट डेङ्गी सङ्क्रमण नियन्त्रणको लागि पहल गरे ठूलो समस्याको सामना गर्नुगर्दैन त्यसैले यसको लागि नागरिक आफैँ पनि जिम्मेवार बन्न आवश्यक छ । भुसालका अनुसार कार्यक्रममा लामखुट्टे बस्ने स्थानहरू नष्ट गर्ने, माइकिङ गर्ने, नगरवासीलाई सचेत गराउने काम समेत भइरहेको छ । कामपाले यसअघिबाट नै लामखुट्टेको वासस्थान खोज र नष्ट गर अभियान सञ्चालन गर्दै आएको छ । पानी जम्ने ठाउँमा लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न नदिन र निरन्तर सरसफाइको लागि जनचेतनामूलक अभियान जारी राखिएको भुसालले जानकारी दिए । डेङ्गीको जोखिम कम गर्न र सावधानी अपनाउन समुदायमा पुगेर सचेतना जगाउने काम भइरहेको छ । 'घरमा भएका गमला, ड्रम, तथा सफा पानीमा डेङ्गीको लार्भा छन् । घरभित्रनै लामखुट्टे उत्पादन गर्ने कारखाना भइसकेको छ', भुसालले भने, 'सामान्य जानकारी नहुँदा डेङ्गी फैलिरहेकाले छ । यसलाई नियन्त्रण गर्न खोज र नष्ट गर अभियान सबैभन्दा उत्तम हुन्छ ।' त्यसका साथै स्कुल–स्कुलमा पुगेर बालबालिकामार्फत डेङ्गी नियन्त्रणका लागि सचेतनाको कार्यक्रम कामपाले गरिसकेको छ । डेङ्गी भाइरसद्वारा सङ्क्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी पाइने गर्छ । यो लामखुट्टे सफा पानी जमेको स्थानमा फुल पार्ने गर्छ । विशेषगरी, वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गमला, पानीका ट्याङ्की आदिमा यसले फुल पार्छ ।
बागलुङमा घ्यू भण्डारण गर्न ‘कोल्ड स्टोर’ सञ्चालन
गलकोट । बागलुङमा घ्यूको उचित तापक्रममा भण्डारणका लागि १० टन क्षमताको चिस्यान केन्द्र (कोल्ड स्टोर) निर्माण गरी सञ्चालनमा ल्याइएको छ । जिल्लामा किसानको दूधको सङ्कलन, प्रशोधन र बजारीकरण गर्दै आएको बागलुङ दूग्ध सहकारी सङ्घले स्थापना गरेको उद्योगमा रु २० लाखको लागतमा घ्यू कोल्ड स्टोर बनाइएको हो । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको ५० प्रतिशत अनुदान सहयोगमा घ्यू कोल्ड स्टोर निर्माण गरिएको दूग्ध सहकारी सङ्घ बागलुङका अध्यक्ष दिपक गौतमले जानकारी दिए। सङ्घको रु १० लाख र रु१० लाख पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको अनुदानमा १० टन क्षमताको कोल्ड स्टोर बनाइएको हो । जिल्लाका एक हजार ४०० भन्दा बढी किसानबाट दैनिक तीन हजार ५०० लिटर दूधको संकलन, प्रशोधन र बजारीकरण गर्दै आएको सङ्घले घ्यूलाई उचित तापक्रममा भण्डारण गरी बिक्री गर्नका लागि घ्यू कोल्ड स्टोरले सघाएको गौतमले बताए । 'दूधको माग घटबढ हुन्छ, कहिले दूधको माग धान्नै सकिन्न कहिले दूध धेरै भएको हुन्छ, दूधबाट छुर्पी बनाउदा ठूलो परिमाणमा घ्यू उत्पादन हुन्छ, उत्पादन भएको घ्यू एकैपटक बजारमा बिक्रीसमेत हुँदैन त्यसैले घ्यूलाई उचित तापक्रममा भण्डारण गर्न सानो फ्रिजले पुग्दैन' गौतमले भने 'दूधको खपत कम हुँदा उत्पादन भएको घ्यूलाई क्रमश बिक्रीका लागि १० टन क्षमताको कोल्ड स्टोर अझै कम हुन्छ हामीलाई तर अनुदानले राहत मिलेको छ ।' कोल्ड स्टोरमा घ्यूलाई माइनस डिग्रिमा भण्डारण गरिँदै आइएको छ । अहिले सङ्घले रु एक हजार ५०० मा एक केजी घ्यू बिक्री गर्दै आएको छ । दूधसँगै दूधजन्य उत्पादन पनिर, छुर्पी, घ्यू र खुवा उत्पादन गर्दै आएको सहकारी सङ्घले आर्थिक वर्ष २०८१/८२ मा किसानबाट रु आठ करोड ९३ लाखको नौ लाख ९२ हजार लिटर दूध खरिद गरेर बिक्री गर्दै आएको छ । दूधमा आत्मनिर्भर जिल्लाका रूपमा रहेको बागलुङमा २४ प्रारम्भिक सहकारी र एक सङ्घले दूधको संकलन र बजारीकरण गर्दै आएको छ ।
६१ स्थानीय तहले अझै ल्याएनन् चालु आवको बजेट
काठमाडौं । हालसम्म ६१ स्थानीय तहले चालु आर्थिक वर्षका बजेट सार्वजनिक गर्न सकेका छन् । नियमानुसार, गत असार १० गते स्थानीय तहको बजेट सार्वजनकि गर्नुपर्ने व्यवस्था छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार कूल ७५३ स्थानीय तहमध्ये ६९२ स्थानीय तहले हालसम्म बजेट सार्वजनिक गरी कार्यान्वयन गरेका छन् । बजेट पेश नभएका स्थानीय तहको सङ्ख्या ६१ वटा छन् । सो मन्त्रालयका अनुसार कोशी प्रदेशका पाँच, मधेस प्रदेशका ४०, वाग्मती प्रदेशका पाँच स्थानीय तहले हालसम्म बजेट प्रस्तुत गरेका छैनन । राजनीतिक विवाद र स्थानीय समस्याका कारण ती स्थानीय तहले बजेट प्रस्तुत गर्न नसकेको पाइएको छ । गण्डकी प्रदेशका सबै स्थानीय तहले बजेट ल्याउँदा, लुम्बिनी प्रदेशका सात, कर्णाली प्रदेशका तीन र सुदूरपश्चिम प्रदेशको एक स्थानीय तहले बजेट ल्याएका छैनन् । भोजपुरको साल्पासिलिछो गाउँपालिका, इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, मोरङको सुनबर्षी नगरपालिका र ओखलढुंगाको सुनकोशी गाउँपालिकाले हालसम्म बजेट सार्वजनिक गर्न सकेका छैन । मधेस प्रदेश अन्तर्गत सप्तरीका मात्रै पाँच स्थानीय तहले बजेट ल्याएका छैनन् । सिरहाका तीन, धनुषाको १०, महोत्तरी एक, सर्लाहीको पाँच, रौतहटको पाँच, बाराको पाँच र पर्साका पाँच स्थानीय तहले बजेट ल्याएका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा सम्बन्धित स्थानीय तहले प्रविष्ट गरेको विवरणअनुसार वाग्मती प्रदेश अन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका, दोलखाको बिगु, धादिङको खनियाबास र गल्छी गाउँपालिकाले बजेट ल्याएका छैनन् । काठमाडौँ महानगरपालिकाले यसअघि नै बजेट प्रस्तुत गरिसकेको भएपनि मन्त्रालयको विवरणमा उल्लेख नभएको देखिन्छ । लुम्बिनी प्रदेशको नवलपरासीको पाल्हीनन्दन गाउँपालिका र प्रतापपुर गाउँपालिका, रुपन्देहीको कोटहीमाई गाउँपालिका र सम्मरीमाई गाउँपालिका, कपिलवस्तुको शुद्धोधन गाउँपालिका, दाङको तुल्सीपुर उपमहानगरपालिका र लहमी नगरपालिकाको बजेट सार्वजनिक भएको छैन । कर्णाली प्रदेशको सल्यान जिल्लाको कुमाख, छत्रेश्वरी र दार्मा गाउँपालिकाले बजेट प्रस्तुत नगरेको मन्त्रालयको विवरणमा उल्लेख छ । यस्तै, सुदूरुपश्चिम प्रदेशको टिकापुर नगरपालिकाले बजेट प्रस्तुत नगरेको मन्त्रालयको विवरणमा उल्लेख छ । संवैधानिक व्यवस्थाअनुसार हरेक बर्षको जेठ १५ गते संघीय सरकारले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत हुन्छ । यस्तै, असार १ गते प्रदेश सरकारको र असार १० गते स्थानीय तहले बजेट प्रस्तुत गर्ने व्यवस्था छ ।
लम्कीमा जुत्ताचप्पलको गोदाममा आगलागी हुँदा ७० लाख बढीको क्षति
लम्की । यहाँ जुत्ताचप्पलको गोदाममा आगलागी भएको छ । आगलागीबाट रु ७० लाख बढीको क्षति भएको प्रहरीले जनाएकोे छ । आज बिहान २ः४० बजेको समयमा लम्कीचुहा नगरपालिका–१ लम्कीस्थित टीकापुर रोडमा रहेको कल्पना ट्रेडर्स एण्ड सप्लायर्स एक्कासि आगलागी भएको जनाइएको छ । आगलागी भएलगत्तै लम्कीचुहा नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले बताए । लम्की निवासी कल्पना जैशीले सञ्चालन गर्दै आएको गोदाममा चप्पल र जुत्ता रहेका थिए । आगलागीबाट गोदाममा रहेका सम्पूर्ण सामान जलेर नष्ट भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । गोदाममा कोही बस्ने नभएकाले आगलागी कसरी भएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बेकोले गर्यो दशैंतिहार लक्षित अफर सार्वजनिक
काठमाडौं । युरोपको नं १ होम एप्लायन्स ब्राण्ड बेकोले दशैंतिहारलाई लक्षित गरी आकर्षक अफर ल्याएको छ। अफरअन्तर्गत उपभोक्ताले बेकोका आधुनिक र भरपर्दो उत्पादनहरू खरिद गर्दा ४१ हजार ४०० सम्मको बचतसहित पक्का उपहारहरू प्राप्त गर्न सक्नेछन् । बेकोका उत्पादनहरूमा १०० पार्ट्स उपलब्धता र सेवा ग्यारेन्टी‍का साथै १२ वर्षको वारेन्टीको सुविधा रहेको छ। होम उइज ब्लुटुथ कनेक्सन प्रविधि सहितका आधुनिक उपकरणहरूले उपभोक्ताको जीवनलाई अझ सहज र रमाइलो बनाउनेछन्। यस योजनाअनर्तगत वासिङ मेसिनको खरिदमा ६ केजी को एरियल, डिस वासरमा २ प्याकेट ट्याबलेट, रेफ्रिजेरेटरमा आकर्षक क्यास ब्याक र मायाडियाको फ्यान हिटर प्राप्त गर्न सकिने जनाइएको छ । त्यस्तै, फ्री स्टयान्डिङ ओभनमा सीजीको प्रेसर कुकर र एयर कन्डिस्नरमा भने निस्शुल्क जडानको सुविधा पनि पाइनेछ । यस अफरलाई सीजी इलेक्ट्रोनिक्समार्फत नेपालभरका सिजीको शोरुम तथा अधिकृत डिलर नेटवर्कमार्फत उपलब्ध गराइएको हो । यो अफर यही भाद्र १९ गते देखि नेपालभरका सबै सिजीका शोरुमहरु तथा आधिकारिक विक्रेताहरुमा उपलब्ध रहेको छ ।