विकासन्युज

समृद्धि फाइनान्स इटहरी शाखाको तेस्रो वार्षिकोत्सव सम्पन्न

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको इटहरी शाखाले आफ्नो तेस्रो वार्षिकोत्सव सम्पन्न गरेको छ । कम्पनीले इटहरी शाखाका ग्राहकहरू र स्थानीय व्यक्तिहरूको उपस्थितिमा वार्षिकोत्सव मनाएको हो । उक्त अवसरमा शाखाले आफ्नो तीन वर्षको प्रगति विवरण सार्वजनिक गर्दै हालसम्मको उपलब्धिहरू प्रस्तुत गरेको थियो । शाखा प्रमुखले ग्राहकहरूको साथ र विश्वासकै कारण शाखाले निरन्तर प्रगति हासिल गरेको जानकारी गराउँदै आगामी दिनहरूमा अझ प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रममा सहभागी ग्राहकहरू र स्थानीय व्यक्तिहरूलाई आभार व्यक्त गर्दै, समृद्धि फाइनान्सले आगामी दिनमा अझ उत्कृष्ट सेवा र सहकार्यको अपेक्षा राखेको जनाएको छ ।  समृद्धि फाइनान्सको यो सफल यात्रा र आगामी योजनाहरूले वित्तीय सेवाको क्षेत्रमा अझ सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ। नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखामार्फत कारोबार गर्दै आएको छ भने आरटीजीएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिट्यान्स, क्लियरिङ लगायतका बैंकिङ र मोबाइल बैंकिङ, डेबीट कार्ड, क्यूआर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

ललितपुरको कुपण्डोलमा लेमिनार टायल्सको नयाँ डिलर शोरूम

काठमाडौं । नेपालको पहिलो र एकमात्र भिट्रिफाइड टायल्स लेमिनार टायल्सले ललितपुरमा आफ्नो विशेष डिलर शोरूम सञ्चालनमा ल्याएको छ ।  ललितपुरको कानदेउतास्थान, कुपण्डोलस्थित सेरामिक सन्सार प्रालिलाई आधिकारिक डिलरको रूपमा नियुक्त गरी लेमिनार टायल्सले यो शोरूम उद्घाटन गरेको हो ।  शुक्रबार आयोजित औपचारिक समारोहमा सेरामिक सन्सार प्रालिका सन्चालकद्वय कृष्ण कोइराला र टेकबहादुर टमाटा र लेमिनार टायल्सका निर्देशक आशुतोश खेतानले संयुक्त रूपमा ‘एम्पोरियो’ श्रेणीअन्तर्गतको डिलर शोरूमको उद्घाटन गरे। उद्घाटन समारोहमा बोल्दै निर्देशक आशुतोश खेतानज्युले लेमिनार भिट्रिफाइड टायल्स बलियो र टिकाउ रहेको, यसको लोड बियरिङ क्षमता र ब्रेकिङ स्ट्रेन्थ अरु टायल्स भन्दा बढी रहेको र लेमिनार टायल्सले देशभर १०० भन्दा बढी विशेष शोरूमहरू स्थापना गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताए।  बर्दियाको गुलरियामा १२.५ बिगाह क्षेत्रफलमा अवस्थित अत्याधुनिक यूरोपेली प्रविधियुक्त उत्पादन केन्द्रबाट लेमिनार टायल्सको उत्पादन भइरहेको छ ।  कम्पनीले ५०० भन्दा बढी आकर्षक डिजाइनमा पाँच फरक आकारका टायल्स बजारमा उपलब्ध गराएको छ ।  यी टायल्सहरू पूर्ण भिट्रिफाइड भएकाले ९९.९२ प्रतिशतसम्म वाटरप्रुफ छन् र उच्च गुणस्तरको कच्चा पदार्थ तथा उन्नत उत्पादन प्रक्रियाका कारण अन्य सेरामिक टायल्सको तुलनामा चार गुणा बढी टिकाउ छन् ।

इटहरीमा खुल्यो दिपलको स्टेट अफ आर्ट शोरुम, टेस्ट ड्राइभ र एक्सचेन्ज पनि सुरु

काठमाडौं ।  नेपालका लागि दिपलको आधिकारिक विक्रेता एमएडब्ल्यू वृद्धिले कोशी प्रदेशको महत्त्वपूर्ण बजार इटहरीमा नयाँ स्टेट अफ आर्ट शोरुमको उद्घाटन गरेको छ ।  इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन पराजुली, एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया र दिपल इटहरीको डिलर सर्ब मोटर्सका उत्कृष्ट भट्टराई तथा राधा ढकालले संयुक्त रुपमा अत्याधुनिक सोरुमको उद्घाटन गरे । यसै अवसरमा विभिन्न अफरहरुसहित यहाँ चार दिन लामो टेस्ट ड्राइभ र एक्सचेन्ज पनि सुरु भएको छ ।  भाद्र २० देखि २३ गतेसम्म चल्ने कार्यक्रममा दिपलका अत्याधुनिक इभी लाइनअप नेपालकै सबैभन्दा सुन्दर र विशेष कनेक्टिभिटी भएको दिपल एस ०७ आईसीए, स्टाइलिस सेडान एल ०७, संसारकै पहिलो ट्रान्सफर्मर एसयुभी दिपल ई ०७ र अल्ट्राप्रिमियम लक्जरी एसयुभी अवतार ११ र केही साताअघि सार्वजनिक भएर अटोबजार तताइ रहेको दिपल एस ०५ को पनि टेस्ट ड्राइभ गर्न सकिने छ ।  भर्खरै सम्पन्न नाडा अटो सो स्टपरका रूपमा चर्चित दिपल एस ०५ लक्जरी, स्टाइल र टेक फिचरका कारण केही सातामै नेपाली अटोबजारमा सफल सावित भएको छ ।  यो एक्सचेन्जमा ग्राहकले चारवटा रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको सर्वोत्कृष्ट मूल्यांकन पाउनुका साथै केही निश्चित दिपल मोडेलमा नगद छुट, निशुल्क रोड ट्याक्स र इन्स्योरेन्सका साथै निशुल्क ट्राभल चार्जर पनि पाउने कम्पनीले जनाएको छ ।  यो कार्यक्रममा दिपलका अत्याधुनिक ह्युमनोइड रोबोट र रोबोट कुकुर पनि प्रदर्शनीमा राखिने जनाइएको छ । शुक्रबार इटहरीमा सार्वजनिक भएको दिपल एस ०५ लक्जरी, स्टाइल र टेक्नोलोजीको कारण केही सातामै नेपाली बजारमा चर्चित बन्न सफल मोडेल हो ।   

वीरगञ्जमा सोल्टी होटलले ‘सोल्टी वेस्टेण्ड रिसोर्ट्स’ सञ्चालनमा ल्याउने

काठमाडौं । नेपालको अग्रणी लक्जरी आतिथ्य ब्रान्ड सोल्टी होटल्स एण्ड  रिसोर्ट्सले मधेश प्रदेशको प्रमुख औद्योगिक तथा व्यावसायिक सहर वीरगञ्जमा आफ्नो उपस्थिति विस्तार गर्दै नयाँ होटल ‘सोल्टी वेस्टेण्ड  रिसोर्ट्स, वीरगञ्ज’ सञ्चालन गर्ने भएको छ।  होटल व्यवस्थापनसम्बन्धी सम्झौतामा सोल्टी होटल्स एण्ड  रिसोर्ट्सका उपाध्यक्ष सुदर्शन चापागाईं र हिमाल वाटर पार्क एण्ड भिलेज होटल लिमिटेडका अध्यक्ष सुनिलकुमार खेतानले औपचारिक हस्ताक्षर गरे । चापागाईंले वीरगञ्जमा वेस्टेण्ड ब्राण्डको प्रवेशले आधुनिक आतिथ्यता, आत्मीय सेवा र स्थानीय सांस्कृतिक अनुभवलाई संयोजन गरी अतिथिलाई अद्वितीय सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे । यो होटल हिमाल वाटर पार्क एण्ड भिलेज होटल लिमिटेडको स्वामित्वमा रहेर सोल्टीको सुप्रसिद्ध वेस्टेण्ड ब्राण्ड अन्तर्गत डिसेम्बर २०२५ बाट सञ्चालनमा आउन लागेको हो । वीरगञ्ज महानगरपालिका–१४, गण्डक बाहुअरीमा अवस्थित यो होटल राष्ट्रिय राजमार्गसँगै जोडिएको छ र भारतसँगको अन्तर्राष्ट्रिय सीमा नाकाको नजिक भएकाले रणनीतिक दृष्टिले निकै महत्त्वपूर्ण गन्तव्य मानिएको छ ।  स्वदेशी र विदेशी दुवै पाहुनाका लागि यो क्षेत्र आकर्षक पर्यटन तथा व्यावसायिक केन्द्रको रूपमा चिनिन्छ । होटलमा आधुनिक शैलीमा डिजाइन गरिएका कोठा, विभिन्न भोजन तथा व्यञ्जनका विकल्पहरू, फिटनेस क्लब, स्वीमिङ पुल, स्पाका साथै क्यासिनो भवन लगायतका सुविधा रहनेछन् ।  समकालीन सुविधा, गुणस्तरीय सेवा र सोल्टी ब्राण्डको विशिष्ट पहिचानमार्फत यो होटल व्यवसायिक पाहुना, अवकाश मनाउन आउने परिवारदेखि आधुनिक यात्रुहरू सबैका लागि रोजाइको प्रमुख गन्तव्य बन्ने अपेक्षा गरिएको छ ।

चर्चित गीत ‘हामी उभिएको धरातल’ पुनः म्युजिक भिडियोमा

भक्तपुर । विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर प्राङ्गणमा ‘हामी उभिएको धरातल बोलको गीतको छायाँकनको शुभमुहुर्त गरिएको छ । एक दशकअघि नै चर्चामा रहेको सो गीतको रिमिक्स म्युजिक भिडियो निर्माण गर्न लागिएको हो ।  ग्रेटर नेपाल नामक संस्थाले रिमिक्स गरि अहिलेको परिवेशअनुसार सम्पदादेखि सहरसम्मको दृश्यलाई कैद गर्दै नयाँ स्वरूपमा छायांकन गरी म्युजिक भिडियो निर्माणको सुरु गरेको हो । सो म्युजिक भिडियोको नरिवल फुटाएर शुभ मुहूर्त गर्दै प्रतिनिधिसभाका सांसद एवं नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले सम्पदादेखि वातावरणको संरक्षण गर्ने सन्देश बोकेको गीतलाई अन्तराष्ट्रिय स्तरको भिडियो निर्माण गरी सबैमा शन्देश फैलाउँने उदेश्य रहेको बताए ।   देशमा केही भएको छैन भन्नेहरूले यो गीतको पुरानो दृश्य र अब बन्ने दृश्य हेरे पुग्ने बताउँदै सांसद थापाले देशमा लोकतन्त्र आएपछि शिक्षा, स्वास्थ्य सञ्चार लगायतका क्षेत्रमा आमूल परिवर्तन आएको बताए ।  सामाजिक र राजनीतिक क्षेत्रको कालजायी गीतले देशलाई युवा पुस्ताले माया गर्ने सन्देश प्रवाह गर्दै सम्पदादेखि वातावरण संरक्षणसम्म, सडकदेखि संरचनासम्म भएको विकासलाई सन्देशपूर्ण रूपमा उनको थियो । युवा विदेशिने प्रवृतिको अन्त्य गर्दै नेपालमै डाक्टर, इन्जिनियरलगायत सबै विषय पढ्न पाइन्छ, नेपालमै बस्नु पर्छ भन्ने सन्देश फैलाउन पनि यो म्युजिक भिडियो सहयोगी सिद्ध हुने उनको भनाइ थियो ।   कार्यक्रमलाई सम्बोधन गर्दै चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले ऐतिहासिक चाागुनारायण मन्दिर सम्पदालाई नगरकोट भ्रमण वर्षको अवसरमा विश्वभर प्रचारमा लाग्न म्युजिक भिडियो सहयोगी सिद्ध हुने विश्वास व्यक्त गरे ।  स्थानीयवासी, जनप्रतिनिधि सबै नागरिक मिलेर चाँगुनारायणको विकास, सम्बृद्धि र पर्यटकको आगमन बढाउन लाग्नु पर्ने बताउँदै उनले यहाँको धार्मिक, सांस्कृतिक, प्राकृतिक गन्तव्यलाई अन्तर्राष्ट्रिय जगतमा पुर्याएर पर्यटकलाई आकर्षित गर्न सक्नुपर्ने बताए ।  म्युजिक भिडियोको निर्देशकमा सञ्चारकर्मी सुचित्रा श्रेष्ठ रहेकी छिन् । शुभमूर्हुत कार्यक्रममा संगीतकार सुनिल उप्रेती, गायक प्रवेशमान शाक्य, प्राश्ना शाक्य, भीम तुलाधार, रबिन महर्जन, कलाकार रश्मि भट्टलगायतका चर्चित कलाकारको सहभागिताको रहेको थियो ।  कार्यक्रममा भिडियो निर्माणका लागि भक्तपुरका चाँगुनारायण, मध्यपुरथिमि नगरपालिका तथा काठमाडौंका कागेश्वरी मनोहरा, दक्षिणकालीलगायका उपत्यकाका ६ वटा नगरपालिकाको सहयोग रहने जानकारी सिदइएको थियो ।  करिब १० वर्ष अगाडि सुनिल उप्रेतीको संगीत, निरामिषको शब्द, संजय श्रेष्ठ, रत्न सुवेदी, उमा गुरुङ, सन्नी रौनियार, प्रविण मानन्धर, राजकुमार जोशीलगायतको स्वर र रोशनप्रताप राणाको निर्देशनमा कोरस नृत्य रहेको यस गीतको म्युजिक भिडियो चर्चामा आएको थियो ।  

ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ को बेस्ट बैंक अवार्डबाट सम्मानित भएको छ ।   मंगलबार सिंगापुरमा आयोजित एक विशेष समारोहमा युरोमनी म्यागाजिनका प्रतिनिधिले बैंकका सञ्चालक समिति सदस्य रामबहादुर भण्डारी र ट्रेजरी तथा करेस्पोन्डेन्ट बैंकिङ विभागका म्यानेजर शिशिर शाक्यलाई उक्त अवार्ड हस्तान्तरण गरे । सन् १९९२ मा युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अवार्ड हो । ग्लोबल आइएमई बैंकले ग्राहकहरूलाई प्रदान गर्दै आएको सेवा, वित्तीय अवस्था, संस्थागत सामाजिक उत्तरदायित्व, बैंकिङ क्षेत्रमा भित्र्याएको नयाँनयाँ प्रविधि, वातावरणीय, सामाजिक तथा सुशासनका क्षेत्रहरुमा बैंकले गरेको लगानी तथा बैंकको उच्चस्तरीय कार्यसम्पादनका लागि यो अवार्ड प्रदान गरिएको हो ।  युरो मनी म्यागजिन बैंकिङ क्षेत्रको गहिरो विश्लेषण र समालोचनाका लागि प्रख्यात छ । युरो मनी समूहमा बैंक तथा वित्तीय क्षेत्रका ख्यातिप्राप्त तथा अनुभवी व्यक्तिहरू छन् ।  यो वर्षको अवार्डसँगै ग्लोबल आइएमई बैंक तेस्रो पटक बेष्ट बैंक अवार्डबाट सम्मानित भएको हो । यसअघि पनि ग्लोबल आइएमई बैंकले युरो मनी अवार्ड फर एक्सलेन्स २०२२ र २०२४ मा बेस्ट बैंक अवार्ड प्राप्त गरेको थियो। यसअघि ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ र २०२५ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गत दुई विधामा नेपालको सर्वश्रेष्ठ बैंक, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२ र २०२४ मा बेष्ट बैंकको रूपमा सम्मानित भएको थियो ।  ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५२ शाखा कार्यालय, ३८४ एटीएम, १५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ ।  बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

प्राइम एसोसिएट्स नेपालमा विटगन ग्रुपका आधिकारिक विक्रेता नियुक्त, नयाँ उपकरण पनि सार्वजनिक

काठमाडौं । प्राइम एसोसिएट्स प्रालि नेपालमा विश्वप्रसिद्ध विर्टगन ग्रुपका निर्माण उपकरण तथा औजारहरूको आधिकारिक विक्रेता बनेको छ । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत कम्पनीले औपचारिक घोषणा गरेको हो । प्राइम एसोसिएट्सले विगत १८ वर्षदेखि अटोमोबाइल र कन्स्ट्रक्सन इक्विपमेन्ट कारोबार गर्दै आएको छ ।  सडक विस्तार र निर्माणका लागि आवश्यक अस्फाल्ट प्लान्ट, पेभर, बुमर, स्टोन क्रसरदेखि कंक्रिटिङका लागि सेल्फ–लोडिङ मिक्सचरसम्म उपलब्ध गराउँदै आएको कम्पनीले अब विर्टगन ग्रुप अन्तर्गतका विश्वस्तरीय उपकरण नेपालभर विक्री–वितरण गर्नेछ । ग्रुप जोन डियरे अन्तर्गतको बहुराष्ट्रिय निर्माण उपकरण निर्माता हो, जसले विर्टगन, भोगेले, हाम र क्लीमनजस्ता ब्रान्डमार्फत अत्याधुनिक प्रविधिका मेसिन उत्पादन गर्दै आएको छ । यी उत्पादनहरू सडक निर्माण, पुनस्र्थापना, ढुंगा क्रसिङ तथा खानी सञ्चालनमा विश्वसनीय मानिन्छन् । कार्यक्रममा कम्पनीले ह्याम ब्रान्डको मिनी रोलर एचडी १२ भीभीसमेत नेपालमा आधिकारिक रूपमा लन्च गरेको छ । इको–फ्रेन्ड्ली इन्जिन, दुई भाइब्रेटिङ रोलर, थ्री–पोइन्ट आर्टिक्युलेसन, इर्गोनोमिक ड्राइभर प्लेटफर्म, उत्कृष्ट भ्यु प्रणाली र इन्टेलिजेन्ट वाटर स्प्रिडक्लर सिस्टम जस्ता प्रविधियुक्त यो मिनी रोलरलाई बेस्ट–इन–क्लास उत्पादनका रूपमा प्रस्तुत गरिएको छ । नेपालमा विटगन ग्रुपका उत्पादनहरू विभिन्न सडक तथा पूर्वाधार परियोजनामा प्रयोग भइरहेका छन्। कम्पनीले दक्ष प्राविधिकमार्फत बिक्रीपछिको सेवा, देशभरको सर्भिस नेटवर्क र आवश्यक स्पेयर पाट्र्स उपलब्ध हुने जनाएको छ ।

शिक्षा विधेयक विवादः शिक्षक र सञ्चालक आन्दोलनमा होमिँदा अभिभावक चिन्तित

काठमाडौं । विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघ र निजी विद्यालयका सञ्चालकहरू आन्दोलित हुँदै सडकमा उत्रिएपछि अभिभावक चिन्तित भएका छन् । उनीहरूले कुनै पनि बहानामा विद्यार्थीलाई दुःख दिने काम नगर्न आग्रह गरेका छन् ।  शिक्षा क्षेत्रलाई नै शान्ति क्षेत्र भन्ने बौद्धिक वर्गहरूले  नै विद्यालय बन्द गरेर आन्दोलन गर्ने चेतावनी दिएपछि अभिभावक पुनः चिन्तित हुन थालेका हुन् । सामुदायिक विद्यालय बन्द गरेर शिक्षक पटकपटक सडकमा आउँदा छोराछोरीको पढाइमात्र नभइ मनोविज्ञानमा असर परेको उनीहरू बताउँछन्। अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले विद्यालय नै बन्द हुने गरी कुनैपनि पक्ष सडकमा आउन नहुने बताए ।  ‘कुनैपनि विषयमा असहमति हुँदा आन्दोलन गर्न मिल्छ, पाइन्छ तर, आन्दोलनको स्वरुप फरक हुनुपर्छ, विद्यालय नै बन्द गर्ने चेतावनी दिएर सडकमा आउनु राम्रो होइन,’ उनी भन्छन् ‘आन्दोलनको स्वरूपप्रति हाम्रो आपत्ति हो ।’  अध्यक्ष भण्डारीले विद्यालय बन्दले विद्यार्थीको मनोविज्ञानमा असर पर्ने बताए । २०६२/६३ सालको जनआन्दोलनको स्मरण गर्दै उनले अब विद्यालय बन्द गर्ने कुरा कुनै पनि वर्गले सोच्न नहुने बताए ।  चार दशकमा निजी विद्यालय ११ प्रतिशतबाट ३० प्रतिशत पुगेको प्रसंग जोड्दै उनले ५४ वर्षपछि आउने विधेयक विद्यार्थीमैत्री हुनुपर्ने बताए । उनी भन्छन्, ‘सबैका जायज माग पूरा हुनुपर्छ । सरकारले पनि आन्दोलन गर्ने वातावरण नभइदिए हुन्थ्यो ।’  निजी विद्यालयका कारण शिक्षाका नाममा हुने पुँजी पलायन रोकिएको भए पनि राज्यको ध्यान सामुदायिक शिक्षा सुधारमै केन्द्रित हुनुपर्ने उनले बताए।  शिक्षाका लागि अभियान (एनसी)का उपाध्यक्ष सुबेन्द्रमान श्रेष्ठ सबै पक्षले आफ्नो स्वार्थ छोडेर देश र शिक्षाका विषयमा सोच्नुपर्ने बताउँछन् ।  ‘शिक्षा मौलिक हक हो यसको जिम्मा राज्यले लिनुपर्छ,’ उनी भन्छन्, ‘शिक्षा कुनैपनि हालतमा किनबेच गर्न पाइँदैन । यो समान हुनुपर्छ, सबैले पाउनुपर्छ , नेपालमा धनी र गरिबले पाउने शिक्षामा ठूलो खाडल छ जुन देशको लागि राम्रो होइन ।’  उनी आर्थिक हिसाबले शिक्षा राम्रो र नराम्रो पाउन नहुने बताउँछन् । शिक्षा विधेयकमा निःशुल्क र आधारभूत शिक्षा सुनिश्चित गर्ने संविधानको भावनाभन्दा तल झर्न नहुने उनको भनाइ छ ।  बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका सदस्य शान्ता दाहाल निजी वा सामुदायिक क्षेत्रका विद्यालय बन्द गरेर आन्दोलनमा जान नहुने बताउँछिन् । विद्यालय बन्दले बालबालिकाको मस्तिष्कमा असर पर्ने बताउँदै उनीहरूलाई शान्तिपूर्ण वातावरणमा पढ्न दिनुपर्ने वातावरण सिर्जना गर्नुपर्ने उल्लेख गरिन्।  महासंघ भन्छ– आन्दोलन रहर होइन नेपाल शिक्षक महासंघले भने आन्दोलनमा जाने रहर नभएको बताएको छ । विभिन्न पार्टीका कार्यालयमा धर्ना दिएर दिँदै आएको महासंघले धर्नाको कार्यक्रम रोकेर पहिलो चरणको दोस्रो आन्दोलन सुरु गर्ने निर्णय गरेको छ । आन्दोलनको स्वरूपबारे भने आज शुक्रबार छलफल हुने महासंघले जनाएको छ । महासंघले माग पुरा नभए विगतका भन्दा ठूलो आन्दोलन गर्ने बताउँदै आएको छ ।  शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले ५४ वर्षपछि बन्न लागेको ऐन पनि अधुरो राखेर शिक्षा क्षेत्रलाई सधै समस्यामा राख्न नहुने बताए । संसदीय उपसमितिले उल्टो बाटो हिँडाएको विधेयकलाई समितिले केही सच्याए पनि अहिलेका समस्या समाधान गर्नेगरी ल्याउने छाँट नदेखिएकाले महासंघ आन्दोलनमा उत्रिनुपरेको उनको भनाइ छ ।  उनी भन्छन्, ‘माननीयहरू स–साना कुरामा अल्झिनुभएको छ । आफ्नो नजिकको शिक्षकसँगको सम्बन्ध वा विद्यालय हेरेर कानुन बनाउनु हुँदैन ।’  महासंघले अहिले कुनै नयाँ माग नराखेको दाबी गर्दै अध्यक्ष सुवेदीले विगतमा सरकारले गरेका सहमति कार्यान्वयन मात्र आफूहरुको माग रहेको बताए । ‘धेरैले हामीलाई कम्प्रोमाइज गर्न भन्नुहुन्छ । भइसकेको सम्झौतामा कहाँ कम्प्रोमाइज गर्ने ?,’ उनले भने । निजी विद्यालयका सञ्चालकको कडा आन्दोलन गर्ने चेतावनी  निजी विद्यालयका सञ्चालकले विद्यालय शिक्षा विधेयक नसच्चिए विद्यालय बन्द गरेर आन्दोलन गर्ने चेतावनी दिएका छन् । निजी विद्यालयलाई विधेयकमा गैरनाफामूलक बनाउने कुरा अमान्य भएको बताउँदै लगानी सुरक्षित गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन् ।  प्याब्सनका वरिष्ठ उपाध्यक्ष दिपिका रिमाल थापाले निजी विद्यालय खोल्न र कम्पनीअन्र्तगत सञ्चालन गर्ने अनुमति दिइसकेपछि राज्यले अहिले आएर गैरनाफामूलक हौ भन्न नमिल्ने बताइन् ।  ‘कम्पनीमा जाने भनेकै नाफामूलक हो,’ उनी भन्छिन्, ‘पूर्ण छात्रवृत्ति र आवासीय सुविधा दिन सक्ने स्थिति छैन।’  उनले विद्यार्थी छनौटको अधिकार पनि विद्यालयलाई नै हुनुपर्ने बताइन् ।  ‘गरिबीको रेखामुनिका बालबालिकाको दायित्वबाट निजी विद्यालय नभाग्ने तर राज्यले सबै काम निजीले गरिदेओस् भनेर पन्छाउने प्रवृत्ति गलत छ । हिजो भूकम्प र कोभिडमा निजी क्षेत्र ढल्दा सरकारले हेरेन । तर, अहिले सम्पूर्ण कर्तव्यको भारी बोकाउन खोजेको छ,’  उनले भनिन् ।  विज्ञहरू भने अहिलेको शिक्षा विधेयक नै सोचे जस्तो आउन नसकेको धारणा राख्छन् । जति छलफल र बहस भएको थियो त्यो आधारमा विधेयक नआएपनि विद्यालय नै बन्द गरेर आन्दोलन गर्न नहुने उनीहरूको धारणा छ । शिक्षाविद् प्राडा विद्यानाथ कोइराला विद्यालय बन्दले समस्याको समाधान नभइ विद्यार्थीमाथि असर पर्ने बताउँछन्।  उनी भन्छन्, ‘हामीले छलफल गरेर योयो कुरा कानुनमा राख्नुपर्छ, यस्तो आउनुपर्छ भनेका थियौं त्यसको विपरित हामीले पायौं । तर यसको समाधान स्कुल बन्द गरेर हुँदैन । यो एकदमै गलत कदम हो ।’ अर्का शिक्षाविद् टीका भट्टराई संविधानको मर्मविपरित निजी विद्यालयलाई लाभ हुनेगरी विधेयक अघि बढाउन खोजिएको बताउँछन् । उनी निजी विद्यालयका सञ्चालकले केही कुरामा असन्तुष्टि राखेपनि विधेयक भने उनीहरूकै पक्षमा तयार भएको बताउँछन् ।