नेप्सेले अप्पर स्याङ्गे हाइड्रोको सेयर कारोबार फुकुवा गर्यो
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको सेयर कारोबार फुकुवा गरेको छ । वार्षिक साधारण सभा सम्बन्धी सञ्चालक समितिको निर्णय ढिलो पठाएको कारण नेप्सेले गत सोमबारदेखि कम्पनीको सेयर कारोबार रोक्का गर्दै ३ दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको थियो । नेप्सेले कानुनको पालना गर्ने प्रतिबद्धतासहित कम्पनीले चित्तबुझ्दो स्पष्टीकरण पेश गरेपछि कारोबार फुकुवा गरेको जनाएको छ । कम्पनी सञ्चालक समितिले भदौ ११ गते बसेको बैठकले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्तावसहित नवौँ वार्षिक साधारण सभा असोज ९ गते आयोजना गर्ने निर्णय गरेको थियो। तर उक्त निर्णय नेप्सेमा भदौ १६ गते मात्र पठाइएको थियो । धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१) अनुसार धितोपत्रको मूल्यमा प्रभाव पार्ने सूचना वा निर्णय भएमा कम्पनीले सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था छ ।
बुढाथोकी कोल्ड स्टोरको व्यापारमा उछाल, एक वर्षमा १ अर्ब बढीको कारोबार
काठमाडौं । बुढाथोकी कोल्ड स्टोरेजको व्यापारमा उछाल आएको छ । कोल्ड स्टोरेजका साथै मासु प्रशोधन गरी व्यवसाय गर्ने बुढाथोकी कोल्ड स्टोरेज प्रालिले एक वर्षमा १ अर्ब बढीको कारोबार गरेको हो । कम्पनीको तथ्याङ्क अनुसार सन् २०२५ को ९ महिनामा १ अर्ब ८ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार गरेको हो । यसअघि कम्पनीले सन् २०२४ मा १ अर्ब २ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । यस्तै, सन् २०२३ मा १ अर्ब १ करोड रुपैयाँ, सन् २०२२ मा ७६ करोड ७० लाख रुपैयाँ र सन् २०२१ मा ४७ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार गरेको कम्पनीले जनाएको छ । सन् १९९६ मा स्थापित बुढाथोकी कोल्ड स्टोरेज शीत भण्डारण व्यवसाय मात्रै गरिरहेको थियो । सन् २०१५ पछि भने कम्पनीले कुखुराको मासु प्रशोधन प्लान्ट स्थापना गरेर मासु प्रशोधन गर्दै आएको छ । साथै कम्पनीले सन् २०२२ देखि बङ्गुर (पोर्क)को मासु पनि प्रशोधन प्लान्ट पनि सञ्चालन गरिरहेको छ । कम्पनीको मासु प्रशोधन प्लान्ट, शीत भण्डारण सुविधा र मुख्य कार्यालय काठमाडौंको सीतापाइलामा रहेको छ । कम्पनीमा बसन्त प्रकाश बुढाथोकीको ३६ प्रतिशत, मीना बुढाथोकीको ५१ प्रतिशत र बाँकी तामिब बुढाथोकीको १३ प्रतिशत सेयर स्वामित्व रहेको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट १ अर्ब १७ करोड ८८ लाख रुपैयाँ कर्जा लिएको छ । कम्पनीका अनुसार हाल ७६ करोड ३८ लाख रुपैयाँ दीर्घकालीन ऋण र ४१ करोड ५० लाख रुपैयाँ अल्पकालीन ऋण लिएको छ । यसअघि कम्पनीले ४६ करोड ६ लाख रुपैयाँ दीर्घकालीन र ३७ करोड ९४ लाख रुपैयाँ अल्पकालीन गरी कुल ८४ करोड रुपैयाँ ऋण लिएको थियो ।
चीनको सैन्य परेडमा विश्वको नजर, अमेरिकासँग झन् बढ्दै तनाव
काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले बुधबार विश्व ‘शान्ति वा युद्ध’ र ‘संवाद वा सामना’ को विकल्पको दोबाटोमा रहेको बताएका छन् । दोस्रो विश्वयुद्धको समाप्तिको ८०औं वार्षिकोत्सवका अवसरमा चीनले आयोजना गरेको सबैभन्दा ठूलो सैन्य परेडमा उनले यस्तो बताएका हुन् । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रुथ सोसल’ मा लेख्दै चीनको स्वतन्त्रता सुरक्षित गर्न अमेरिकाले गरेको योगदानलाई स्वीकार गर्न आग्रह गरेका छन् । तर उनले बेइजिङ अमेरिकाविरुद्ध षड्यन्त्र गरिरहेको आरोप समेत लगाएका छन् । ‘कृपया भ्लादिमिर पुटिन र किम जोङ उनलाई मेरो तर्फबाट न्यानो शुभेच्छा दिनुहोस्, तपाईंहरूले संयुक्त राज्य अमेरिकाविरुद्ध षड्यन्त्र गर्दै हुनुहुन्छ,’ ट्रम्पले भने । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनसहित २० भन्दा बढी देशका नेताहरू बेइजिङस्थित तियानआनमेन चौकमा आयोजित ‘विजय दिवस’ सैन्य परेडमा सहभागी भएका छन् । चीनले परेडपछि भोज र साँझ विशेष सांस्कृतिक कार्यक्रमको आयोजना पनि गरेको छ । एशिया सोसाइटीका चीन राजनीतिक विश्लेषक नील थोमसका अनुसार पुटिन र किमको उपस्थितिले अमेरिका–चीनबीच भइरहेको व्यापार वार्तालाई बाधा पुर्याउने सम्भावना न्यून छ किनभने दुवै पक्ष आगामी महिनामा सम्झौताको दिशातर्फ अघि बढ्ने इच्छुक देखिन्छन् । उनका अनुसार ‘क्षेत्रीय कूटनीतिमा चीनको बढ्दो प्रभाव यसको प्रगतिलाई देखाउँछ, विशेष गरी जब वाशिंगटनले एशियाली मुलुकहरूसँग व्यापार र लगानी सम्झौता गर्न इच्छुक छ वा छैन भन्ने अनिश्चितता बढेको छ।’ अप्रिल महिनामा अमेरिका–चीन तनाव ‘प्रतिवन्ध–प्रतिवन्ध’ को नयाँ चरणमा पुगेको थियो । तर दुवै देशले नोभेम्बरसम्म थपिएको अधिकांश भन्सार हटाउने सहमति गरेका छन् । आगामी महिनामा ट्रम्प र सीबीच प्रत्यक्ष भेटवार्ता हुने अपेक्षा गरिएको छ । सीले आफ्नो सम्बोधनमा चीनको सैनिक क्षमता अझ सशक्त बनाउने वाचा गरे । ताइवानको नाम नलिईकन उनले चीनको सार्वभौमिकता र भौगोलिक अखण्डतामा सेना महत्त्वपूर्ण रहेको प्रस्ट पारे । तियानआनमेन चौकमा आयोजित परेडमा मिसाइल, ट्यांक, स्वचालित सवारी, सैनिक ट्रक, अनुशासित सैनिक दस्ताबल र आकाशमा उड्ने लडाकु विमानसमेत देखाइएका थिए । यसले चीनको सैनिक शक्तिलाई प्रदर्शन गर्यो । आयोजकहरूले चीनले साइबर र सूचना सुरक्षामा गरिरहेका प्रयासलाई पनि जोड दिएका थिए । युरेशिया ग्रुपका वरिष्ठ विश्लेषक जेरेमी चानका अनुसार ‘यस परेडमा पश्चिमी नेताहरूको अनुपस्थिति र दक्षिणपूर्वी एशियाका आठ नेताहरूको सहभागिताले चीनको बढ्दो क्षेत्रीय प्रभावलाई देखाउँछ ।’ दक्षिण कोरियाका राष्ट्रपतिले चीनको निम्तो अस्वीकार गरेका थिए भने किमको अप्रत्याशित सहभागिता बेइजिङ–प्योङयाङ सम्बन्ध न्यानो भएको संकेत हो । चीनले प्योङयाङलाई नजिक राख्न खोजिरहेको अनुमान गरिएको छ, विशेष गरी उत्तर कोरिया–रूस सहकार्य र सियोल तथा वाशिंगटनको नयाँ कूटनीतिक पहलबीच । उत्तर कोरियाले युक्रेनविरुद्धको युद्धमा रूसलाई समर्थनस्वरूप सैनिक पठाएको बताइएको छ । बेइजिङले भने रूसको आक्रमणलाई ‘आक्रमण’ भन्न अस्वीकार गर्दै आफूलाई शान्तिदूतको भूमिकामा देखाउन खोजेको छ । अमेरिकाले भने चीनमाथि रूसलाई सैन्य सहयोग दिएको आरोप लगाएको छ, जुन चीनले अस्वीकार गरेको छ। किमको छोरी पनि सहभागी उत्तर कोरिया सम्बन्धी विज्ञहरूले किम जोङ उनकी छोरी किम जु–ए को सहभागितालाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन् । सियोलको सेजोङ इन्स्टिच्युटका उपाध्यक्ष चियोङ सेङ–चाङका अनुसार, ‘किम जु–एले बेइजिङमा विदेशमन्त्री वाङ यीसहित वरिष्ठ अधिकारीहरूसँगै उभिएर औपचारिक स्वागतमा भाग लिनु उनलाई उत्तर कोरियाको ‘दोस्रो दर्जाको नेतृ’ जस्तै प्रोटोकल दिएको प्रमाण हो ।’ यसअघि पनि पुटिनसहितका नेताहरू तियानजिनमा आयोजित शाङ्घाई सहयोग संगठन (एससीओ) को विशाल सम्मेलनमा सहभागी भएका थिए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भने परेडमा सहभागी भएनन्, तर तियानजिनमा पुटिन र शी सँग हाँस्दै गरेको उनको फोटो र भिडियो भाइरल भएको थियो । मंगलबार शी र पुटिनले बेइजिङमा भेट गर्दै वर्षौंदेखि रोकिएको ‘पावर अफ साइबेरिया–२’ ग्यास पाइपलाइन परियोजनामा कानुनी सम्झौता गरेका थिए । चीनले यसअघि २०१९ मा कम्युनिस्ट पार्टीको ७०औं वार्षिकोत्सवमा ठूलो परेड आयोजना गरेको थियो। त्यतिबेला सीले ‘चिनिया जनतालाई कसैले रोकेर अघि बढ्न सक्दैन’ भनेका थिए । सी २०१३ मा राष्ट्रपति बनेका थिए र २०१८ मा कार्यकालको सीमा हटाएका थिए । चीनले यो पटकको परेडलाई ‘जापानी आक्रमणविरुद्धको विजय र विश्वको फासिवादविरुद्धको विजयको ८०औं वार्षिकोत्सव’ को नाम दिएको छ । अन्त्यमा परेड शान्तिको प्रतीकका रूपमा परेवा र रङ्गीन बेलुन उडाएर सम्पन्न गरिएको थियो । हाँसोभित्र लुकेको कुटनीति : पुटिन, मोदी र सी जिनपिङको तिआनजिन संवाद ‘शीतयुद्ध मानसिकता’ अस्वीकार, चिनियाँ राष्ट्रपति सीको एआईमा सहकार्य गर्न आह्वान
आन्दोलन शसक्त बनाउने तयारीमा विद्यालय सञ्चालक : २५ गते काठमाडौंमा बृहत् आन्दोलन गर्ने
काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले आन्दोलनका कार्यक्रमलाई थप शसक्त मनाउने निर्णय गरेका छन् । जसअन्तर्गत बुधबार सबै जिल्ला सदरमुकामहरूमा बृहत् खबरदारी सभा आयोजना गर्ने तयारी भएको प्याब्सनका महासचिव आरबी कटुवालले बताए । उनका अनुसार भोलि १९ गते सञ्चार माध्यमसँग अन्तरक्रिया गर्ने, २० र २१ गते प्रमुख राजनीतिक दलहरूसँग भेटघाट गर्ने, २२ गते निजी क्षेत्रका सम्पूर्ण सरोकारवालाहरूसँग अन्तरक्रिया गर्ने र भाद्र २३ गते देशभरिका सबै निजी विद्यालयका सञ्चालकहरूलाई काठमाडौंमा केन्द्रित गर्ने कार्यक्रम तय गरिएको छ । प्याब्सन, ऐन प्याब्सन, हिसान, अपेन, र एनएएमए पाँच वटा संस्थाले संयुक्त रुपमा भाद्र २५ गते काठमाडौंमा बृहत् आन्दोलन कार्यक्रम गर्ने बताएका छन् । जसमा सबै निजी विद्यालय सञ्चालकहरू, प्रिन्सिपलहरू तथा शिक्षक कर्मचारीहरूको अनिवार्य सहभागिता हुनुपर्ने भनेको छ । निजी सञ्चालकहरूले कम्पनी ऐन अनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरूलाई 'गैर नाफामूलक' बनाउने प्रावधान पूर्णरूपमा हटाइनुपर्ने,'पूर्ण छात्रवृत्ति' भन्ने शब्दावली हटाइनु पर्ने, विद्यालयहरूमा उत्पादन नहुने पोशाक, पाठ्यपुस्तक, शैक्षिक सामग्री, यातायात, खाना, खाजा लगायतका सेवा/सुविधामाथि गरिएको अनावश्यक प्रतिबन्ध हटाइनु पर्ने माग राखेको छ । यस्तै छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनु पर्ने र पालिका प्रतिनिधिको सहभागितामा पारदर्शी समिति गठन गरी लक्षित वर्गलाई वितरण गर्न सकिने व्यवस्था मिलाइनु पर्ने माग उनिहरूले राखेका छन् । नेपालको शिक्षा प्रणालीको समग्र विकासमा निजी क्षेत्रले निरन्तर योगदान गर्दै आएको अवगत गराउँदै सञ्चालकहरूले आफ्ना माग सबै पुरा गर्नुपर्ने अडान राखेको छन् । चार दशकदेखि निजी क्षेत्रले राज्यसँग सहकार्य गर्दै शिक्षामा व्यापक लगानी र स्रोत परिचालनमार्फत देशको शैक्षिक समृद्धिमा योगदान पुर्याएको यथार्थलाई अस्वीकार गर्ने ठाउँ नभएको भन्दै हाल संसदमा प्रेसित विद्यालय शिक्षा विधेयक २०८० का केही प्रावधानहरूले निजी क्षेत्रको अस्तित्व र योगदानमाथि प्रश्न उठाउने प्रयत्न गरेको भन्दै उनीहरूले आक्रोस पोखेका छन् ।
इजिप्टका सरकारी स्वामित्वका बैंकहरूले ब्याजदर घटाए
काठमाडौं । इजिप्टका दुई ठूला सरकारी स्वामित्वका बैंकहरू नेशनल बैंक अफ इजिप्ट र बैंक मिस्रले इजिप्टका पाउण्ड र अमेरिकी डलर दुवैमा मूल्याङ्कन गरिएका वचत उत्पादनहरूमा ब्याजदर घटाउने घोषणा गरेका छन् । इजिप्टको केन्द्रीय बैंकले गत बिहीबार प्रमुख ब्याजदरहरू २ प्रतिशतले घटाउने निर्णय गरेपछि यो कटौती गरिएको हो । यी कदमहरूले स्थानीय अर्थतन्त्रको विश्वव्यापी मौद्रिक विकाससँगको सम्बन्धलाई प्रतिबिम्बित गर्दछ । यो पछिल्लो कटौती २०२५ को शुरुमा इजिप्टको केन्द्रीय बैंकद्वारा शुरू गरिएको कटौतीको श्रृंखलापछि आएको हो । यस वर्षको कटौतीले प्रमुख ब्याजदरहरू ५.२५ प्रतिशतले घटाएको छ । युक्रेन द्वन्द्व र विश्वभरका प्रमुख केन्द्रीय बैंकहरूले अपनाएको मौद्रिक कडाइ नीतिहरूबाट उत्पन्न दुई वर्ष लामो विदेशी मुद्राको अभावको बीचमा इजिप्टले आर्थिक चुनौतीहरूको सामना गरिरहेको छ ।
एक तोला सुनको मूल्य २ लाख ७ हजार ९०० पुग्यो
काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै स्थानीय बजारमा पनि त्यसको असर परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य प्रतितोला दुई लाख सात हजार ९०० रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । मङ्गलबार प्रतितोला सुन दुई लाख पाँच हजार ९०० रुपैयाँमा कारोबार भएकोमा सोमबार प्रतितोला दुई हजार रुपैयाँ बढेको हो । चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले घटेर दुई हजार ४८० रुपैयाँ कायम भएको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ५३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रभु बैंकलाई 'नेपालको उत्कृष्ट डिजिटल एसएमइ बैंक' उपाधि
काठमाडौं । प्रभु बैंकले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित युरोनोमि एक्सीलेन्स अर्वाड २०२५ प्राप्त गरेको छ । यस पुरस्कार अन्तर्गत प्रभु बैंकलाई नेपाल बेस्ट डिजिटल बैंक फर एसएमइको रुपमा सम्मानित गरिएको हो । यस उपलब्धिले प्रभु बैंकले साना तथा मझौला उद्यमीहरूलाई डिजिटल सेवामार्फत प्रदान गर्दै आएको योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त भएको पुष्टि गरेको छ । यसअघि पनि प्रभु बैंकले बैंक अफ द इयर २०२३ जस्ता महत्वपूर्ण पुरस्कारहरू जितिसकेको छ । बैंकले ग्राहकमैत्री डिजिटल सेवा, सहज पहुँच र व्यवसायिक पारदर्शिताका कारण निरन्तर यस्ता अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै आएको छ ।
नाडामा भाँडभैलोः विशेष साधारणसभा स्थगित, प्रशासनको हस्तक्षेप विरुद्धअदालत जाने तयारी
काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) भित्रको आन्तरिक कलह छताछुल्ल भएको छ । भदौ २४ गतेका लागि बोलाइएको नाडाको विशेष साधारण सभा जिल्ला प्रशासन कार्यालय काठमाडौंले रोक्न निर्देशन दिएको छ । नाडालाई महासंघ बनाउने महत्वाकांक्षी एजेण्डा लिएर अगाडि बढेका वर्तमान नेतृत्वलाई यो निर्देशनले ठूलो झट्का लागेको छ भने संस्थाको भविष्य थप अन्योलग्रस्त बनेको छ । नाडाभित्र झाङ्गिदै गएको विवाद विशेष साधारण सभाको स्थगनले नयाँ मोडमा प्रवेश गरेको छ । विशेष गरी ४७ औं वार्षिक साधारण सभाबाट पारित विधान संशोधनको विषयमा तत्कालीन अध्यक्ष ध्रुव थापा र वर्तमान अध्यक्ष कर्ण चौधरी पक्षबीच लामो समयदेखि किचलो चल्दै आएको छ । निवर्तमान अध्यक्ष ध्रुव थापा र वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा लगायतका ९ जना कार्यसमिति सदस्यहरुले नाडाको वर्तमान नेतृत्वले मनोमानी ढंगले संस्था चलाएको, विगतका निर्णयहरु कार्यान्वयन नगरेको र विधान मिचेर काम गरेको आरोप लगाउँदै आएका छन् । उनीहरुको मुख्य आपत्ति ४७ औं साधारण सभाले पारित गरेको विधान संशोधनलाई जिल्ला प्रशासन कार्यालयबाट विधिवत दर्ता नगराइएको र सोही कारणले आकाश गोल्छालाई वरिष्ठ उपाध्यक्षबाट सदस्य पदमा घटुवा गरिएको विषयमा छ । ‘हामीले पहिला भएकै विधान संशोधन नगरिकन किन जाने भनेर गयौं,’ ध्रुव थापाले भने, ‘गृहकार्य नै नगरी हतारमा महासंघमा लैजाने कुरा गरियो, जसले नाडालाई झन् ड्यामेज गर्थ्याे ।’ जिल्ला प्रशासन कार्यालय काठमाडौंले भदौ १६ गते नाडालाई पत्र लेख्दै तत्कालका लागि विशेष साधारण सभा रोक्न निर्देशन दिएको छ । प्रशासनले नाडालाई गैरकानुनी तरिकाले विशेष साधारण सभा बोलाइएको भन्दै उजुरी परेको जानकारी गराएको छ । प्रशासनले नाडा नेतृत्वलाई विधान बमोजिम वार्षिक साधारण सभा नबोलाई किन विशेष साधारण सभा बोलाइएको, पटक/पटक छलफल गर्दा पनि विवाद समाधान नहुनुको कारण के हो भन्दै स्पष्टीकरण समेत सोधेको छ । विशेष साधारण सभा बोलाउनका लागि गरिएका निर्णयहरूसहित ७ दिनभित्र कार्यालयमा उपस्थित हुन र हाल गर्न लागिएको भनिएको विशेष साधारण सभा स्थगित गर्न निर्देशन दिइएको छ । महासंघ बनाउने सपनामाथि प्रशासनको ब्रेक नाडाको वर्तमान नेतृत्वले भदौ ८ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकबाट नाडालाई महासंघमा रूपान्तरण गर्ने निर्णय गरेको थियो । यसै एजेन्डासहित भदौ २४ गते विशेष साधारण सभा डाकेको थियो । तर, जिल्ला प्रशासनको निर्देशनले यो प्रक्रियामाथि पूर्णविराम लागेको छ । ध्रुव थापाका अनुसार सिडिओ कार्यालयले कुनै पनि संघलाई महासंघमा लग्न नमिल्ने र यदि नाडालाई महासंघ बनाउने हो भने यसलाई पहिला विघटन गर्नुपर्ने र यसका सबै सम्पत्ति सरकारमा जाने जानकारी गराएको छ । ‘सिडिओले रोकिदिएको छ,’ थापाले भने, ‘यसले गर्दा झन् नाडालाई ड्यामेज हुन्थ्यो । कानुनी सल्लाह नलिकन हतारमा निर्णय गरिएको हो ।’ यस्तै, आकाश गोल्छाले नाडालाई महासंघमा लैजाने वर्तमान कार्यसमितिको प्रयास कानुनसम्मत नभएको र आफूलाई उपाध्यक्ष पदबाट हटाएकोबारे उनीहरुले स्पष्टीकरण नदिएको आरोप लगाए । उनले भने, ‘मैले आफूलाई पदबाट किन हटाएको हो भनेर स्पष्टीकरण खोजिरहेको छु । हालसम्म कसैले यसको जफाव दिएको छैन् । नाडाभित्र मनोमानी चलिरहेको छ । ’ साधारणसभाबारे आफूहरुमा कुनै छलफल नै नभएको गोल्छाको भनाइ छ । यस विषयमा अध्यक्ष करण चौधरीलाई बुझ्दा उनले आफु पोखरा रहेको बताए । यो प्रसंगबारे उनले महासचिव सुरेन्द्र उप्रेतीलाई सोध्न आग्रह गरे । सुरेन्द्र उप्रेतीलाई हामीले बारम्बार सम्पर्क गर्दा उनको फोन नै उठ्न सकेन् । अदालत जाने तयारी विशेष साधारण सभा स्थगित भएपछि असन्तुष्ट पक्ष थप सशक्त बनेको छ । ध्रुव थापाको नेतृत्वमा रहेका ९ जना कार्यसमिति सदस्यहरुले संयुक्त विज्ञप्ति जारी गर्दै संस्थालाई महासंघमा लैजाने निर्णय असामयिक र संस्थाको हित विपरीत रहेको बताएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘संस्थाको नियमित वार्षिक साधारण सभा हुन जम्मा बढीमा चार महिना मात्र बाँकी छ, तर त्यसो नगरी आफ्नो कार्यकाल लम्ब्याउने दुषित मनसाय राखी वार्षिक साधारण सभालाई बाइपास गर्दै तदर्थ समिति गठन गर्ने उदेश्यले संस्थालाई महासंघमा लैजाने निर्णयार्थ भन्दै विशेष साधारण सभा बोलाइएको जुन सम्बन्धित सबैलाई गुमराहमा पार्ने प्रपन्च भएको महसुस गरेका छौं ।’ उनीहरुले जिल्ला प्रशासन कार्यालयबाट ४७ औं साधारण सभाको निर्णयलाई मान्यता नदिएमा अदालत जाने चेतावनी समेत दिएका छन् । ‘यदि जिल्ला प्रशासन कार्यालयबाट ४७ औं साधारण सभाको निर्णय कार्यान्वयन तर्फ अगाडि बढे नभने हामी अदालत जान्छौं,’ थापाले भने । विज्ञप्ति जारी गर्ने ९ जना कार्यसमिति सदस्यहरुमा ध्रुव बहादुर थापा नाडाका निवर्तमान अध्यक्ष, आकाश गोल्छा वरिष्ठ उपाध्यक्ष, कार्य समिति सदस्यहरू निराकार श्रेष्ठ, सुनिल रिजाल, यमुना श्रेष्ठ, सञ्जय खेतान, प्रदिपमान प्रधान, सोहन श्रेष्ठ, सौरभ थापा रहेका छन् । नाडाभित्रको यो विवादले अटोमोबाइल व्यवसायीहरुमा चिन्ता बढाएको छ ।