विकासन्युज

संघीयताको आवधिक समीक्षा गर्ने बेला भयो: वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उप-महासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले संघीयता नेपालको राष्ट्रिय आवश्यकता र भविष्यको आधार भएको बताएका छन् । गृहजिल्ला रोल्पा स्थित संघ तथा प्रदेश अन्तर्गतका सरकारी कार्यालयहरूबाट गत आर्थिक वर्षमा सञ्चालित योजना तथा कार्यक्रमको वार्षिक समीक्षा कार्यक्रममा मंगलबार पुनले संघीयता संघीयता तीन तहका सरकारमार्फत जनताका सार्वभौम अधिकार बाँडफाँट गरिएको बताए । ‘तीन तहको संघीय संरचना संविधानले स्वीकार गरिसकेको छ । सार्वभौम सत्ता जनताको हुन्छ । देशका मालिक जनता हुन् । जनताले शासन गर्ने भन्ने कुरा स्वीकार गरेका छौं’, पुनले भने,  ‘लोकतान्त्रिक व्यवस्था तीन तहमा जनताका सार्वभौम अधिकारहरू बाँडफाँड गरेका छौं ।’ उनले नेपालमा अवलम्बन गरिएको संघीयता सहकार्यमा आधारित भएको चर्चा गर्दै तीनै तहबीच सहकार्य, समन्वय र स्पष्ट कार्य विभाजन आवश्यक रहेको उल्लेख गरे । संविधानमा व्यवस्था भएअनुसार संघीय अभ्यासहरूको आवधिक समीक्षा गर्ने बेला भएको उनले बताए ।  संघ, प्रदेश र स्थानीय सरकारका कार्यक्षेत्रबारे थप स्पष्टता आवश्यक रहेको धारणा राख्दै उनले संघले स्थानीय तहको अधिकार क्षेत्रमा सशर्त कार्यक्रम चलाउनु संविधानको मर्म विपरीत हुने स्पष्ट गरे ।  संघीयताको सफल कार्यान्वयनका लागि कानुनी आधार, स्पष्ट जिम्मेवारी, समन्वय र वित्तीय स्रोतको व्यवस्थापनमा प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए । संघले नीति निर्माण, प्रदेशले विकास एजेन्सी र स्थानीय तहले सेवा प्रवाहको काम गर्ने कल्पना संविधानले गरेको भए पनि कार्यान्वयनमा त्रुटि रहेकाले सच्याउनुपर्ने उनको भनाइ थियो ।  पुनले संघीयतामा संघसँग प्रदेश र स्थानीय तहले माग गर्ने विषय मात्र नभई संवैधानिक व्यवस्थाहरुको कार्यान्वयनमार्फत कसरी दिगो र प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे सबैले सोच्नुपर्ने औंल्याए ।

सेयर बजारको उतारचढावमा ग्लोबल आइएमई सेक्युरिटिजको प्रगती, लगानीकर्ताको भरोसा वृद्धि गर्ने

काठमाडौं । ग्लोबल आइएमई सेक्युरिटिजले संस्थागत सुधार र सेवा प्रभावकारितालाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ । कम्पनीको दोस्रो वार्षिक साधारणसभामार्फत वार्षिक प्रतिवेदन, वित्तीय विवरण तथा आगामी रणनीति पारित गर्दै सेवा प्रभावकारितामा जोड दिएको हो । साधारणसभाका अवसरमा आयोजित कार्यक्रमका वक्ताहरूले लगानीकर्ताको विश्वास र भरोसा अभिवृद्धि गर्दै संस्थागत हितमा लाग्ने विश्वास व्यक्त गरे । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले कम्पनीले हालसम्म हासिल गरेको उपलब्धिहरू प्रशंसनीय रहेको उल्लेख गर्दै भविष्यमा अझ प्रभावकारी काम गर्नुपर्नेमा जोड दिए । उनले लगानीकर्ताको विश्वास र भरोसा कायम हुने गरी संस्थाको सेवालाई प्रभावकारी बनाउन आग्रह गरे । कम्पनीका अध्यक्ष टेकनाथ पोखरेलले संस्थाको बृहत्तर हितमा काम गर्न जरुरी भएको उल्लेख गरे । कम्पनीकी प्रबन्ध सञ्चालक प्रवीना पाण्डेले सेयर बजारको उतारचढाव, नियामक निकायका मार्गनिर्देशन र लगानीकर्ताको अपेक्षाबीच कम्पनीले पारदर्शिता, भरोसा र सेवा सुधारलाई प्राथमिकता दिँदै वित्तीय वर्ष २०८१/८२ मा उल्लेखनीय प्रगति हासिल गरेको बताइन् । साधारणसभाले कम्पनीका अध्यक्ष पोखरेलले प्रस्तुत गरेको सञ्चालक समितिको प्रतिवेदनलाई सर्वसम्मतीले पारित गरेको छ । ग्लोबल आइएमई बैंकको शतप्रतिशत लगानीमा स्थापित ग्लोबल आइएमई सेक्युरिटिजले आफ्नो दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको हो । साथै सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वित्तीय विवरण, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, साथै प्रबन्धपत्र र नियमावली संशोधनसम्बन्धी प्रस्ताव अनुमोदन गरेको छ । कार्यक्रममा कम्पनी रजिस्ट्रार कार्यालयका उपरजिष्ट्रार सूर्यप्रसाद चापागाईँ तथा विभिन्न क्षेत्रका व्यक्तित्व, बैंकका प्रतिनिधि लगायतको उपस्थिति थियो ।

नेपाली भाषामै इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने संवैधानिक व्यवस्था र सर्वोच्चको फैसला

काठमाडौं । भाषा आयोगले सवारी साधनमा जडान हुने विद्युतीय सङ्केत (इम्बोस्ड नम्बर प्लेट) नेपाली भाषामा नै हुनुपर्नेमा जोड दिएको छ । सरकारी कामकाजको भाषा नेपाली भाषा नै हुने  व्यवस्था नेपालको संविधानको धारा ७ को उपधारा १ मा रहेको स्पष्ट पार्दै आयोगले सवारी साधनको नम्बर प्लेट अंग्रेजी भाषामा हुने व्यवस्थाप्रति आपत्ति जनाएको हो । संविधानले नचिनेको भाषा र लिपिमा नभई नेपाली भाषामा नै इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको फैसलाको समेत आयोगले जानकारी गराएको छ । सर्वोच्च अदालतले २०८१ असार ९ मा गरेको नेपाली भाषाको वर्णविन्याससम्बन्धी फैसलामा नेपालको संविधानको धारा ७ को उपधारा ३ ले भाषासम्बन्धी अन्य कुरा भाषा आयोगको सिफारिसमा नेपाल सरकारले निर्णय गरे बमोजिम हुनेछ भनी स्पष्ट गरेको पाइन्छ भन्ने प्रावधान बमोजिम सबै तहका सरकारलाई सोही बमोजिम गर्न गराउन स्पष्ट व्याख्या भएको छ । भाषा आयोगले आफ्नो संवैधानिक दायित्व समेत बोध गर्दै देवनागरी लिपिमा विद्युतीय सङ्केत सङ्ख्या राख्न आयोगको यही भदौ १ को निर्णयअनुसार नेपाल सरकारको पुनः ध्यानाकर्षण गराइएको आयोगका अध्यक्ष डा गोपाल ठाकुरले जानकारी दिए । 

मासुका लागि राँगा पालन, एउटा राँगाको मूल्य ६० हजारसम्म

काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका किसानले सुरु गरेको मासुका लागि व्यावसायिक राँगा पालन प्रभावकारी बन्दै गएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा विनियोजित ४३ लाख रुपैयाँबाट समूह तथा व्यक्तिको २५ प्रतिशत लागत सहभागितामा उन्नत जातका राँगा खरिद गरेर वितरण गरेको थियो । तराईबाट खरिद गरेर ल्याइएका उन्नत जातका ४ सय वटा राँगामध्ये वडा नं. ३ बाम्राङमा ८३ वटा, वडा नं. ४ खाल्लेमा ५९ वटा, वडा नं. ५ लफ्याङमा ५२ वटा, वडा नं. ७ दोर्पाचिउरी डाँडामा १५ वटा र वडा नं. १५ विजय खर्कमा ४१ वटा वितरण गरिएको नगरपालिकाका पशु शाखा प्रमुख गणेशप्रसाद आचार्यले जानकारी दिए । नगरपालिकाले विनियोजन गरेको बजेट कृषक समूहको खातामा जम्मा गरि दिएपछि समूह आफैले उन्नत जातका राँगा खरिद, ढुवानी तथा वितरण गरेको जनाइएको छ । नगरवासीलाई आफ्नै ठाउँमा स्वरोजगार बनाउँदै राँगाको मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले लागू गरिएको कार्यक्रम प्रभावकारी बन्दै गएको उपप्रमुख विशन राईले बताए ।  ‘अघिल्लो वर्ष यो कार्यक्रम अन्तर्गत ४ सय वटा राँगा खरिद गरेर वितरण गरेका थियौँ । एउटा राँगाको मूल्य ६० हजार रुपैयाँसम्म पुगेको छ, चालु आवमा कार्यक्रमलाई अझै प्रभावकारी बनाउँदै लैजाने योजनामा छौँ,’ उनले भने । राँगा तथा भैँसी पालन कार्यक्रमले प्राङ्गारिक मलसमेत उत्पादन हुने भएपछि तरकारी तथा कृषि उपज उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ । गत वर्षको नगरसभाबाट पारित नीति तथा कार्यक्रम अन्तर्गत नगरपालिकाले कृषिलाई व्यवसायीकरण गर्ने कार्यक्रम अगाडि बढाएको हो । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पशुपालनसँगै केरा, किबी, कागती, सुन्तला, कफी, चिया तथा तरकारीको व्यावसायिक खेतीका लागि कृषकहरूलाई अनुदान उपलब्ध गराउँदै आएको छ । नगरपालिकाले वडा नं. ६ नेर्पा र वडा नं. १४ बुइपामा कफीका नर्सरी नै स्थापना गरेको छ । नगरपालिकाको लगानीमा दुवै ठाउँ स्थापना गरिएको नर्सरीमा कफीका १७ लाख बिरुवा हुर्किएका छन् । बाहिरबाट खरिद गरिएको बिरुवाभन्दा आफैले उत्पादन गरेका बिरुवा सस्तो हुने भएकाले पनि कफीको नर्सरी स्थापना गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख तेज प्रकाश जैसीले बताए । नगरपालिकाले स्थापना गरेको दुवै ठाउँका कफीको नर्सरीमा दैनिक ज्यालादारीका करिब १०० जना कामदार खटिएका छन् । कृषिलाई व्यवसायीकरण गर्ने कार्यक्रम अन्तर्गत कफीले फल दिन थालेपछि नगरपालिकामा प्रतिवर्ष १२ अर्ब रुपैयाँ रकम भित्रिने आँकलन गरिएको छ । 

बिवाइडीको शून्य कार्बन उत्सर्जन नीति, ड्रोन प्रयोगबाट सगरमाथामा फोहर संकलन गर्दै

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा नेपाललाई विश्वमा चिनाउन बारम्बार प्रयोग भइरहन्छ । नेपालको पर्यटनमा सबैभन्दा महत्वपूर्ण योगदान दिएको सगरमाथा हाम्रा लागि धार्मिक, पर्यटन र आर्थिक सबै हिसाबले खास छ । तर पछिल्ला वर्षमा पर्यटक र आरोहीहरूको बढ्दो चापसँगै सगरमाथामा फोहर थुप्रिँदै जाँदा समस्या सृजना भएको छ । जसले वातावरणीय सन्तुलन र हिमाली पारिस्थितिकीय तन्त्रमा गम्भीर चुनौती खडा गरिरहेको छ । हिमाललाई जलवायु परिवर्तनको असरबाट बचाउने उद्देश्यका साथ सगरमाथामा भएको फोहर ढुवानीमा पछिल्लो समय ड्रोन प्रविधिको प्रयोग गरिएको छ । विद्युतीय सवारी बिवाइडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमक्स इंकले नेपालको ड्रोन कम्पनी एयरलिफ्ट टेक्नोलोजीसँगको समन्वयमा ड्रोनमार्फत फोहर सङ्कलन गरिरहेको जनाएको छ । साइमक्स इङ्कका अनुसार कम्पनीले सगरमाथा क्षेत्रबाट १ हजार केजी फोहर सङ्कलनको लक्ष्यसहित काम गरिरहेको छ ।  बिवाइडीले विश्वव्यापी रुपमा ‘कूल द अर्थ वाइ वान डिग्री’ नाराका साथ जलवायु परिवर्तन विरुद्ध सुरु गरेको अभियानअन्तर्गत नै नेपालमा सगरमाथा क्षेत्रमा फोहर सङ्कलन अभियान सुरु गरेको हो । उक्त अभियान स्वच्छ ऊर्जाको प्रवर्द्धन र शून्य कार्बन उत्सर्जनमार्फत पृथ्वीको तापक्रम वृद्धिलाई नियन्त्रणमा राख्ने उद्देश्यले विश्वव्यापी रुपमा सुरु गरिएको हो र साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साहिल श्रेष्ठले आफूहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक र प्राविधिक रुपमा यस अभियानमा जोडिएको बताए । सगरमाथालाई बचाउन र जलवायु परिवर्तनको न्यूनीकरणका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले आफूहरूले उक्त अभियान सुरु गरेको उनको भनाइ छ । ‘सगरमाथा हाम्रो राष्ट्रिय गौरव हो, यसको संरक्षणमा प्रविधिको उपयोग गर्दै सकारात्मक प्रभाव पार्न हामी क्रियाशील छौँ, हामी सधैँ दिगो विकास र स्वच्छ वातावरणका पक्षमा छौँ र यो अभियान त्यसकै निरन्तरता हो,’ उनले भने । एयरलिफ्ट टेक्नोलोजीका निर्देशक मिलन पाण्डेका अनुसार फोहर सङ्कलनमा प्रयोग हुने ड्रोनहरूले झण्डै १५ मिटर प्रतिसेकेन्डको गति र १५ डिग्री सेल्सियसको चिसोमा काम गर्न सक्छन् । यसले सगरमाथा क्षेत्रमा सफाइका लागि परम्परागत जोखिम घटाउने गरी काम गर्ने अपेक्षा गरिएको छ । निर्देशक पाण्डेका अनुसार सगरमाथाको माथिल्लो क्षेत्रमा भएको फोहर ढुवानीमा ६ देखि ७ घण्टा लाग्ने गरेकामा अब प्रविधिको प्रयोगले भने १ देखि २ मिनेटमा सम्भव भएको उनको भनाइ छ । ‘विगतका वर्षमा खुम्बु आइफसलमा फोहर थुप्रिँदा ‘रोप फिक्सिङ’ र सामान ढुवानी गर्दा धेरैले ज्यान गुमाएको अवस्था थियो, तर अहिले प्रविधिको प्रयोगले फोहरलगायतका सामान ढुवानी सहज मात्रै भएको छैन कैयौँ मानिसहरुको ज्यान पनि जोगिएको छ,’ उनले भने । उनका अनुसार सगरमाथाको ६ हजार १३० मिटरको उचाइमा रहेको फोहर ड्रोनको प्रयोग गरी आधारशिविरमा ल्याउने काम भइरहेको छ । सगरमाथा प्रदूषण नियन्त्रण समिति र खुम्बु पासाङल्हामु गाउँपालिकाको सहकार्यमा फोहर व्यवस्थापन पनि भइरहेको उनको भनाइ छ । ‘हामीले यसअघि सन् २०२४ मा सगरमाथाको क्याम्प–१ बाट २३४ केजी र अमादब्लम हिमालबाट ६४१ केजी फोहर सङ्कलन गरेका थियौँ, यसपटक साइमेक्स इङ्कको सहकार्यमा सगरमाथा क्षेत्रबाट २८६ केजी फोहर सङ्कलन भइरहेको छ, अब अमादब्लम र मनास्लुबाट फोहर सङ्कलनको योजना छ,’ उनले भने ।  एयरलिफ्ट टेक्नोलोजीले सगरमाथामा फोहर सङ्कलनपछि यो अभियानलाई अन्य हिमाली क्षेत्र र राष्ट्रिय निकुञ्जमा विस्तार गर्ने योजना बनाएको छ । साइमेक्स इङ्कका बजार प्रमुख समिर श्रेष्ठका अनुसार गत याममा सगरमाथाको क्याम्प–१ बाट ड्रोनको प्रयोग गरी २८६ केजी फोहर सङ्कलन भइसकेको छ भने यस याममा थप फोहर सङ्कलन जारी छ ।  ‘एयरलिफ्ट कम्पनीले यसअघि सगरमाथा क्षेत्रमा रहेको फोहर सङ्कलन गरेको थियो,’ उनले भने, ‘यसपटक साइमेक्स इङ्क र एयरलिफ्ट टेक्नोलोजी मिलेर १ हजार केजी फोहर सङ्कलन सुरु गरेका छौँ ।’ जलवायु परिवर्तनविरुद्धको अभियानमा प्रविधिको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै बिवाइडीका बजार प्रमुख श्रेष्ठले फोहर सङ्कलनमा ड्रोनको प्रयोगले सहज भएको बता ।  ‘रोप फिक्सिङमा पनि ड्रोनको सफल प्रयोग भएपछि फोहर सङ्कलनमा ड्रोनको प्रयोग गरेका हौँ,’ उनले भने ।  नेपाल पर्वतारोहण सङ्घका प्रथम उपाध्यक्ष तथा आरोही मिङ्मा डेभिड शेर्पाले आरोहीहरुले सगरमाथामै फोहर छाड्ने गरेकाले समस्या भएको बताउँछन् । उनले सगरमाथाबाट फोहर सङ्कलनमा ठूलो खर्च र जोखिम हुने उल्लेख गर्दै प्रविधिको प्रयोगले निकै सहज भएको बताए । उनका अनुसार अब आरोहीसँग शुल्क नै लिएर फोहर व्यवस्थापन गर्नुपर्छ ।  ‘आरोहीहरुसँग प्रत्येक पटक फोहरका शीर्षकमा सरकारले केही शुल्क धरौटीका रुपमा राख्छ तर पछि फिर्ता पनि दिन्छ, तर पनि सगरमाथा क्षेत्रमा फोहर बढ्ने क्रम रोकिएको छैन, यसले समस्या थपिएको छ,’ उनले भने । 

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै, के-के गरे चिनमा ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिइ आज स्वदेश फर्किने भएका छन् । प्रधानमन्त्री ओली भदौ १४ गते २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको तियानजिनतर्फ प्रस्थान गरेका थिए । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तियानजिनमा भेटवार्ता गरेका थिए । यस्तै, उनले शिखर सम्मेलनलाई सम्बोधन गरे ।  नेपाल सन् २०१६ देखि सो सङ्गठनको संवाद साझेदार रहँदै आएको छ । सन् २००१ मा स्थापना गरिएको एससिओ सङ्गठन विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय सङ्गठनका रूपमा विकसित भइसकेको छ । चीन, रूस, भारत, पाकिस्तान, काजकिस्तान, कीर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, इरान र बेलारुस यसका पूर्ण सदस्य राष्ट्रहरू हुन् । अफगानिस्तान र मङ्गोलिया पर्यवेक्षक राष्ट्रहरू हुन् । नेपालसहित टर्की, श्रीलङ्का, अजरवैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, मालदिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स सङ्गठनका संवाद साझेदारहरू (डायलग पार्टनर) हुन् । सो अवसरमा प्रधानमन्त्री ओलीले शिखर सम्मेलनमा सहभागी केही विश्व नेताहरूसँग भेटवार्ता गरेका थिए । त्यसैगरी, प्रधानमन्त्री ओलीले मङ्गलबार बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गरे । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले रूसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जु, कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोन तथा समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टा छुट्टै भेटवार्ता गरेका थिए । प्रधानमन्त्री ओलीसँग उहाँका धर्मपत्नी श्रीमती राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद छविलाल विश्वकर्मा र उच्चस्तरीय सरकारी अधिकारी सहभागी हुनुहुन्छ । 

आज देशभर साधारणतया बदली रहने, कोशी, तराई र वाग्मतीमा भारी वर्षा हुने

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर साधारणतया बदली रहने बताएको छ । लुम्बिनी प्रदेशलगायत पहाडी भूभाग र तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने हुनेछ । कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशका पहाडी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, तराई र वाग्मती प्रदेशका पहाडी भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाले वर्षाका पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

कजारिया टायल्सको नयाँ शोरुम जोरपाटीमा

काठमाडौं । कजारिया टायल्सले काठमाडौंको जोरपाटीमा नयाँ शोरुमा खोलेको छ ।  कजारियाले जीएनएस ट्रेडर्सको सहकार्यमा शोरुम सञ्चालन गरी काठमाडौंमा आफ्नो उपस्थिति झन् मजबुत बनाएको हो । नेपाली कांग्रेसका सांसद सन्तोष चासिलेले शोरुम उद्घाटन गरे ।  उद्घाटन समारोहमा रमेश टायल्सका निर्देशक हिमांशु अग्रवाललगायतको उपस्थिति रहेको थियो । कम्पनीले देशभरका ४५ भन्दा बढी शोरुम र एक सय बढी डिलरमार्फत उच्च गुणस्तरका टायल बेच्दै आएको छ।