विकासन्युज

१२१ अस्थायी दरबन्दी स्वीकृत, नयाँ भर्ना कि पुरानाको सरूवा ?

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको भदौ १३ गतेको बैठकले १२१ अधिकृत स्तरका कर्मचारीहरुको अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।  विभिन्न मन्त्रालय अन्तर्गतका आयोजना र कार्यालयरूबाट माग भएबमोजिम त्यस्ता दरबन्दी स्वीकृत गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता श्रृजना शर्माका अनुसार भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयमा सबैभन्दा धेरै अधिकृतहरूको दरबन्दी स्वीकृत गरिएको छ । उक्त मन्त्रालयमा ८७ जना अधिकृतको अस्थायी दरबन्दी स्वीकृत गरिएको हो । यसैगरी, युवा तथा खेलकुद मन्त्रालयमा २१ र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा १० जना अधिकृतको अस्थायी दरवन्दी स्वीकृत गरीएको प्रवक्ता शर्माले जानकारी दिइन् । शर्माका अनुसार ती दरबन्दीहरू अस्थायी भएपनि बहालवाला स्थायी कर्मचारी नै ती दरबन्दीमा रहनेछन् ।  भूमि व्यवस्था मन्त्रालयका ८७ जना अधिकृतमध्ये ३ जना सहसचिव स्तरका  र ४ जना उपसचिव स्तरका अधिकृत रहेको मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टले जानकारी दिए ।  भूमि आयोगसहितका विभिन्न कार्यालयमा काजमा कार्यरत कर्मचारीहरूको दरबन्दी स्वीकृत मन्त्रिपरिषदले गर्ने गरेको उनले जानकारी दिए । खेलकुदमा पनि राष्ट्रिय युवा परिषद, फाप्ला क्रिकेट मैदानलगायतमा रहेका अस्थायी दरबन्दीका स्थायी कर्मचारीको दरबन्दी मन्त्रिपरिषदले स्वीकृत गरेको मन्त्रालयका  सूचना अधिकारी जगदीश पराजुलीले बताए । यस्तै, पर्यटन मन्त्रालय अन्तर्गतका दश दरबन्दी पनि सोही प्रकृतिको रहेको मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले जानकारी दिए । उनका अनुसार पुरातत्व विभागमा एक जना सहसचिवसहित दश जनाको दरबन्दी रहेको छ ।  

४ करोड र ९ किलो सुनसहित पक्राउ परेका मिटरब्याजी श्रेष्ठलाई राजस्वमा पठाइने

काठमाडौं । चार करोड २५ लाख रुपैयाँ र ९ किलो सुनसहित गोरखाका ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई राजस्व अनुसन्धान विभागमा पठाइने भएको छ । प्रहरीले उनलाई बरामद रकम र सुनसहित राजस्व अनुसन्धान विभाग, हरिहर भवन पठाउने तयारी गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार श्रेष्ठको कसुरलाई प्रहरीले भन्दा पनि विभागले हेर्ने किसिमको रहेकाले सो स्थानमा पठाउन लागिएको हो । मंगलबार प्रहरीले श्रेष्ठको घरमा छापा मारेर ठूलो मात्रामा रकम र मूल्यवान धातु बरामद गरेको थियो । बैंकको मेसिन प्रयोग गरी रकम गणना गर्दा करिब ४ करोड २५ लाख रुपैयाँ भएको पुष्टि भएको थियो । साथै, सुनका विभिन्न गरगहनाहरू ९ किलो ८३७ ग्राम र चाँदीका गरगहनाहरू ३ किलो २१८ ग्राम बरामद भएको छ । प्रहरीले पक्राउ परेका श्रेष्ठ मिटरब्याजी रहेको दाबी गरेको छ । काठमाडौं महानगरपालिका–२६, गोंगबुस्थित आफ्नै घरबाट पक्राउ परेका श्रेष्ठले सुन धितो राखेर मिटरब्याजमा पैसा लगानी गर्ने गरेको बताइएको छ । ठूलो मात्रामा अवैध रकम लुकाइएको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले छापा मारेको थियो ।   

बीमकको विदेशी मुद्रा सटही सिफारिससम्बन्धी निर्देशन, २०८२ जारी, के के छ व्यवस्था ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको विदेशी मुद्रा सटही सिफारिससम्बन्धी निर्देशन, २०८२ जारी गरेको छ । बीमकले पुनर्बीमा, रेट्रोसेसन, विदेशबाट आयात गर्ने परामर्श सेवाबापत भुक्तानी गर्नुपर्ने विदेशी मुद्रा सटही सिफारिस कार्यलाई पारदर्शी र व्यवस्थित गर्न वाञ्छनीय भएकोले बीमा ऐन, २०७९ को दफा १६६ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशन जारी गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले जारी गरेको विदेशी मुद्रा सटही सिफारिससम्बन्धी निर्देशनअनुसार अब बीमकले विदेशी बीमक वा पुनर्बीमक वा नेपालमा रहेका बीमकमा लगानी गर्ने विदेशी लगानीकर्ता वा बीमकलाई सेवाप्रदान गर्ने विदेशी सेवाप्रदायक संस्थालाई सीधै वा बीमा दलालको संलग्नतामा गरिएको पुनर्बीमासँग सम्बन्धित पुनर्बीमा शुल्क तथा बीमा दाबी रकम, लाभांश फिर्ता, परामर्श सेवा लिएबापतको रकम भुक्तानी गर्न प्राधिकरणको सिफारिस लिएरमात्र गर्नुपर्ने छ ।  बीमकले यस निर्देशनको अतिरिक्त विदेशी लगानीसँग सम्बन्धित प्रचलित कानुन र नेपाल राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापन सम्बन्धमा जारी गरेको निर्देशनको समेत पालना गर्नुपर्नेछ । सटही सिफारिस माग गर्दा प्रचलित कर, सेवा शुल्क, पुनर्बीमा कमिसन वा त्यस्तै कुनै छुटहरू पाउने भएमा सो समेत कट्टा गरी खुद रकमको भुक्तानीका लागि राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थामार्फत विप्रेषण हुने गरी सिफारिस माग गर्नुपर्ने छ ।  प्राधिकरणले विदेशी मुद्रा सटही सिफारिस गर्दा डेबिट नोट वा बीजक जारी गर्ने सम्बन्धित पुनर्बीमक वा पुनर्बीमा दलाल वा विदेशी सेवाप्रदायक संस्थाको नाममा मात्र गर्नुपर्ने व्यवस्था गरेको छ । सटही सिफारिसको लागि प्राधिकरणमा पेश हुने निवेदनमा बीमकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)को हस्ताक्षर गर्नुपर्ने छ । सटहीका लागि पेस हुने सबै संलग्न कागजातको प्रतिलिपिमा बीमक वा पुनर्बीमकको छापसहित सम्बन्धित कर्मचारीले हस्ताक्षर गर्नुपर्ने व्यवस्था छ ।  बीमकले प्राधिकरणबाट सटही सिफारिस प्राप्त मितिले वाणिज्य बैंकको हकमा १५ दिन र नेपाल राष्ट्र बैंकको हकमा ३० दिनभित्र भुक्तानी गरी सो निस्सा तीन दिनभित्र प्राधिकरणमा पेश गर्नुपर्ने व्यवस्था छ ।  सिफारिस माग गर्दा भारतको हकमा भारतीय मुद्रामा तथा अन्य मुलुकको हकमा उक्त मुलुकको प्रचलित स्वदेशी मुद्रा वा परिवर्तनीय अमेरिकन डलरमा मात्रै भुक्तानीका लागि सिफारिस माग गर्नुपर्नेछ ।  विदेशी बीमक वा विदेशी ब्रोकरलाई बीमाको दाबीबाप्तको भुक्तानी गर्दा ट्रिट्री वा फ्याकल्टेटिभ हिसाबकिताब मिलान गरी अनुसूची ४ बमोजिमको कागजातहरू संलग्न गरी प्राधिकरणमा पेश गर्नुपर्ने हुन्छ ।  बीमकले पुनर्बीमा शुल्कबापत विदेशी मुद्रा सटही सिफारिस माग गर्दा बीमकले धारण गरेको जोखिमको हिस्साबाहेकको बाँकी जोखिम सतप्रतिशत हस्तान्तरण गरेको आवश्यक विवरण तथा स्व:घोषणासहितको सारांश पेस गर्नुपर्ने निर्देशनमार्फत व्यवस्था गरिएको छ ।  पुनर्बीमा वा रेट्रोसनबापत विदेशी मुद्रा सटही माग गर्दा प्राधिकरणले जारी गरेको बीमकको पुनर्बीमा निर्देशिकाबमोजिम सूचीकरण भएका विदेशी पुनर्बीमक तथा पुनर्बीमा दलाल र सोही निर्देशिका बमोजिमको रेटिङ प्राप्त पुनर्बीमकका लागि मात्र प्राधिकरण सिफारिस दिनेछ ।   तर, बीमकको पुनर्बीमा निर्देशिका लागू हुनुपूर्व गरिएको बीमा वा पुनर्बीमा सम्झौतासँग सम्बन्धित रकमको भुक्तानीका लागि विदेशी मुद्रा सिफारिस माग गर्न वा प्रदान गर्न यस व्यवस्थाले बाधा नपुर्याउने निर्देशनमा व्यवस्था गरिएको छ ।  बीमकको लगानीसम्बन्धी निर्देशन संशोधन, के-के छन् नयाँ व्यवस्था ?  

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र नेपाल मेडिकल एसोसिएसनबीच सम्झौता, सदस्यलाई छुट सुविधा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र नेपाल मेडिकल एसोसिएसनबीच व्यावसायिक सम्झौता भएको छ । यस सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र एसोसिएसनका अध्यक्ष डा. अनिल बिक्रम कार्कीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार नेपाल मेडिकल एसोसिएसनका सम्पूर्ण सदस्यलाई बैंकको २७५ वटा शाखामार्फत विभिन्न सेवामा विशेष छुट उपलब्ध हुने भएको छ । जसअन्तर्गत प्रोफेशनल बचत खाता, दश लाखसम्मको दुर्घटना बीमा, व्यावसायिक कर्जा, साना तथा मझौला कर्जा, क्लिन सोसल कर्जा, व्यक्तिगत कर्जा, सवारी तथा घर कर्जा लगायतका सुविधामा विशेष प्रावधान गरिएको बैंकले जनाएको छ । साथै, डेबिटरक्रेडिट कार्ड, मोबाइल बैंकिङ लगायतका सेवामा पनि छुटको व्यवस्था गरिएको छ । बैंकले यस सम्झौताबाट एसोसिएसनका हजारौं सदस्य प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गरेको छ।

बीमकको लगानीसम्बन्धी निर्देशन संशोधन, के-के छन् नयाँ व्यवस्था ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन, निर्जीवन र लघुबीमा कम्पनीहरूको लागि एकीकृत लगानी निर्देशन ‘बीमकको लगानी सम्बन्धी निर्देशन, २०८२’  जारी गरेको छ । बीमकको लगानीसम्बन्धी निर्देशिका संशोधन गर्दै प्राधिकरणले नयाँ निर्देशिका जारी गरेको हो । यसअघि फरक-फरक प्रकृतिको बीमा व्यवसायको इजाजतप्राप्त बीमकको लगानी बेग्लाबेग्लै निर्देशन प्रचलनमा रहेको थियो । नयाँ लगानी निर्देशन जारी भएसँगै पुराना चारवटै निर्देशन खारेज भएको छ । बीमकको लगानीसम्बन्धी संशोधित नयाँ व्यवस्थामा बीमकले बेग्लै लगानी इकाई स्थापना गर्नुपर्ने भनिएको छ । प्राधिकरणले बीमकले लगानी व्यवस्थापन गर्न लगानी सम्बन्धित कार्यको अनुभव भएको उच्च व्यवस्थापन तहको कर्मचारीको मातहतमा रहने गरी एक लगानी व्यवस्थापन इकाई स्थापना गर्नुपर्ने व्यवस्था गरिएको छ । नयाँ व्यवस्थामा बीमकले गर्ने लगानीको खरिद मूल्य, खरिद प्रक्रिया, प्रचलित कानुन पालना गरिएको विषय र लगानीपश्चात हुने परिणामका सम्बन्धमा बीमकको सञ्चालक समिति, उच्च व्यवस्थापन, कार्यकारी प्रमुख र लगानी व्यवस्थापन इकाइको प्रमुख जिम्मेवार हुने व्यवस्था गरिएको छ । बीमा ऐन, २०७९ बमोजिम प्राधिकरणको स्वीकृति लिनुपर्नेमा बाहेक यस निर्देशनमा उल्लेखित लगानीको सीमा र शर्तको अधिनमा रही लगानी गर्दा प्राधिकरणको स्वीकृति लिनु नपर्ने भएको छ । प्राधिकरणले बीमा कम्पनीहरूलाई लगानीको सीमा र क्षेत्र तोकिदिएको छ । तोकिएको क्षेत्रभन्दा बाहेकको लगानी गर्न बन्देज छ ।  बीमा कम्पनीहरूलाई सरकारी सुरक्षणपत्र वा नेपाल राष्ट्र बैंक ऋणपत्रमा लगानी गर्न कुनै प्रकारको बन्देज र सीमा लागू नहुने व्यवस्था गरेको छ ।  सहायक कम्पनीमा लगानी गर्न सकिने बीमा कम्पनीहरूले प्राधिकरणको पूर्वस्वीकृति लिई विभिन्न पाँच क्षेत्रमा लगानी गर्न सकिने व्यवस्था नयाँ निर्देशिकामा यथावत राखिएको छ ।  बीमा कम्पनीहरूले धितोपत्रसम्बन्धी कानुनबमोजिम नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त पब्लिक कम्पनी, कृषि उत्पादन, भण्डारण तथा वितरण, भण्डार गृह तथा शीत भण्डार गृह, ऊर्जा उत्पादन, प्रसारण र वितरण, शिक्षा, स्वास्थ्य र लगानी कम्पनीमा लगानी गर्न सक्ने व्यवस्था छ ।  बीमकले कुल लगानीको ५ प्रतिशतमा नबढ्ने गरी प्राधिकरणको पूर्व स्वीकृति लिएर ती क्षेत्रहरूमा लगानी गर्न सक्नेछन् ।  सहायक कम्पनीमा लगानी गर्ने बीमकले प्राधिकरणले तोकिएको चुँक्ता पुँजी कायम गर्नुपर्ने छ । त्यस्तै प्राधिकरणले तोकिएको न्यूनतम जोखिममा आधारित पुँजी सोल्भेन्सी मार्जिन १३० प्रतिशत कायम हुनुपर्छ । यसबाहेक कम्पनी तीन वर्षदेखि लगातार नाफामा रहेको र बीमकको नेटवर्थ धनात्मक रहेको हुनुपर्छ । प्राधिकरणले बीमकको लगानीसम्बन्धी नयाँ निर्देशिकाको लगानीको सीमा हेरफेर गरेको छ भने केही क्षेत्रमा यथावत नै राखेको छ । 

ओमस्टोन होटेल्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

काठमाडौं । ओमस्टोन होटेल्स लिमिटेड (दुसित थानी हिमालयन रिर्सोट) ले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्नको लागि बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।  बुधबार एक समारोहबीच ओमस्टोन होटेल्स लिमिटेड (दुसित थानी हिमालयन रिर्सोट) र सिटिजन्स क्यापिटलबीच आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको हाे ।  उक्त सम्झौतामा ओमस्टोन होटेल्स लिमिटेडको तर्फबाट अख्तियार प्राप्त प्रबन्ध निर्देशक रमेश कुमार हमाल र सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे । उक्त सम्झौता अनुसार सिटिजन्स क्यापिटलले दुसित थानी हिमालयन रिर्सोट (ओमस्टोन होटेल्स लिमिटेड) को आईपीओ निष्काशनको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ । समारोहमा संस्थापकको तर्फबाट प्रमुख विदेशी लगानीकर्ता विष्णु मोरको उपस्थिती रहेको थियो ।   

अनुदानको २ सय बोरा मल लुकाएर राख्ने व्यापारी पक्राउ

काठमाडौं । सरकारले किसानलाई वितरण गर्न पठाएको २०० बोरा अनुदानको मल लुकाएर गोदाममा भण्डारण गर्ने व्यापारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको कटारीस्थित आशुतोष ट्रेडर्स एण्ड जनरल स्टोर्सका सञ्चालक दिलीप चौधरी रहेका छन् । उनलाई पक्राउ गरी मंगलबार जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय कटारीका डीएसपी कमल बजगाईंले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय उदयपुरको बजार अनुगमन टोलीले भदौ १२ गते गरेको अनुगमनका क्रममा चौधरीको गोदाममा अनुदानको मल फेला परेको थियो । त्यसपछि मल शिलबन्दी गरी अनुसन्धान अघि बढाइएको हो । सर्वदलीय छलफलपछि उक्त मल किसानलाई वितरण गर्ने निर्णय भएको छ । निर्णयअनुसार वडा नं. १ देखि ७ सम्मका किसानलाई १७५ बोरा मल वितरण गरिने भएको छ । इलाका प्रहरी कार्यालयमार्फत मल सम्बन्धित वडामा पुर्याइएको डीएसपी बजगाईंले बताए । नगरपालिकाले वितरण गर्ने मलको मूल्य प्रतिबोरा एक हजार रुपैयाँ तोकिएको छ । किसानबाट संकलन हुने रकम राजस्व खातामा जम्मा गरिने सर्वदलीय बैठकले निर्णय गरेको छ ।

कजारिया टायल्सको नयाँ उपभोक्ता योजना सार्वजनिक, स्मार्टवाचदेखि सिंगापुर क्रुज प्याकेजसम्म जित्ने मौका

काठमाडौं । कजारिया टायल्सले ‘कजारियासँगै गृहप्रवेश, घुमौं देशविदेश’ नामक नयाँ उपभोक्ता योजना सार्वजनिक गरेको छ । यस चाडपर्वको अवसरमा ग्राहकहरूले दैनिक लक्की ड्रमार्फत आकर्षक बोट्स स्मार्टवाच र सम्पूर्ण खर्चसहितको सिंगापुर क्रुज प्याकेज जित्ने मौका पाउनेछन् । यस योजनामा सहभागी हुनका लागि ग्राहकले आधिकारिक डिलरबाट कम्तीमा एक हजार वर्गफिट कजारिया टायल्स खरिद गर्नुपर्नेछ । त्यसभन्दा बढी टायल्स खरिद गर्ने ग्राहकहरू दैनिक लक्की ड्रमार्फत स्मार्टवाच जित्न योग्य हुने कम्पनीले जनाएको छ । कजारिया टायल्सले घर सजावटलाई मध्यनजर गरी यो योजना ल्याएको हो ।  योजना कात्तिक १५ सम्म लागू हुने छ र यस अवधिमा गरिएका सबै खरिद यस योजनामा स्वतः सहभागी हुनेछन् ।