विकासन्युज

बझाङको बुङ्गल हाइड्रोको आईपीओ बिक्री खुला, कति कित्ता आवेदन दिने ?

काठमाडौं । बझाङको बुङ्गल हाइड्रोले आज भदौ १६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरेपश्चात् अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् २९ करोड ५ लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २९ लाख ५ हजार कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ८ लाख ३० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्र बझाङको बुङ्गल नगरपालिकाका स्थानीय र सर्वसाधारणलाई छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् २ लाख ७ हजार ५ सय कित्ता सेयर विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ ।  अब दोस्रो चरणमा कम्पनीले ५ प्रतिशत अर्थात् १ लाख ३ हजार ७५० कित्ता सामूहिक लगानी कोष, ३ प्रतिशत अर्थात् ६२ हजार २५० कित्ता कर्मचारी र बाँकी रहेको १७ लाख १ हजार ५ सय कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।  कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा भदौ १९ गतेसम्म आवेदन दिनुपर्नेछ । यदि उक्त अवधिमा सेयर पूर्ण बिक्री नभएमा आवेदन दिने भदौ ३० गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा बिक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

फोहरमैला व्यवस्थापनका गर्न ‘सफ्टवेयर’ प्रणाली सार्वजनिक

काठमाडौं । नेपाल टेक मार्केटले नेपालको फोहरमैला व्यवस्थापनका लागि आधुनिक (स्मार्ट) ‘सफ्टवेयर’ प्रणालीको सार्वजनिक गरेको छ । आधुनिक प्रविधिको विकास सँगसँगै सहरी सरसफाइका लागि सहजता ल्याउने अभिप्रायले सोलिड वेष्ट एशोसियशन म्यानेजमेन्ट नेपाल, अपकोड नेपाल र नेपाल टेक मार्केटको सहकार्यमा फोहर व्यवस्थापन प्रणाली सार्वजनिक गरिएको नेपाल टेक मार्केटका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी अधिकारीले जानकारी दिए । 'यो पहल केवल प्रविधि मात्र होइन, सामाजिक जिम्मेवारीसँग जोडिएको हाम्रो सामूहिक सङ्कल्प हो, फोहर समस्या मात्र होइन, यसलाई सदुपयोग गरेर पुनः प्रयोग गर्ने, पुनःचक्रण गर्ने, नयाँ प्रविधि ल्याउने र दीगो समाधान सिर्जना गर्ने सुनौलो अवसर हो,’ अधिकारीले भने ।  उनले यो प्रणाली उपभोक्ताको आवश्यकता र बजारको मागलाई ध्यानमा राखेर विकसित गरिएको बताए । यस प्रणालीमा कृत्रिम बुद्धिमत्ताको प्रयोग गरिएको जानकारी दिँदै यसले फोहर व्यवस्थापनलाई अझ प्रभावकारी र सहज बनाउने विश्वास व्यक्त उनले गरे ।  आइतबार ललितपुरमा आयोजित कार्यक्रममा फोहर व्यवस्थापन प्रणाली बारे जानकारी दिँदै अपकोड नेपालका वरिष्ठ सफ्टवेयर इञ्जिनियर मङ्गल कृष्ण प्रधानले फोहरमैला व्यवस्थापन प्रणालीलाई प्रयोगकर्ता मैत्री बनाउन नवीनतम् प्रविधि र विश्वव्यापी प्रचलन समावेश गरिएको बताए ।  ‘यो प्रणाली बलियो, सुरक्षित र प्रयोग गर्न सजिलो छ, यसले फोहर सङ्कलन र व्यवस्थापनलाई अझ प्रभावकारी बनाउँछ, नेपालको भविष्यको नीति कागजमा मात्र होइन, सपना देख्ने, सिर्जना गर्ने र सहकार्य गर्ने हाम्रा हातमा लेखिन्छ, आज हामी केवल एउटा सफ्टवेयरको विकास मात्रै गरिरहेका छैनौँ, एउटा व्यवस्थापन प्रणालीको विकास गरेर सुन्दर र सुखी भविष्यका लागि अभियान सुरु गर्छौँ । सुन्दर र सफा शहरको दीगो विकासको लागि सचेतनाका लागि नागरिकको अभियानलाई सफल बनाउन लागि रहेका छौँ,’ उनले भने । इञ्जिनियर प्रधानका अनुसार यो फोहर व्यवस्थापन सफ्टवेयरको सम्भावित प्रयोगकर्ताहरू फोहरमैला व्यवस्थापनमा काम गर्ने संस्था, घरायसी फोहर उत्पादन गर्ने, हस्पिटल, होटल, व्यवसायी, विद्यालय, सरकारी संस्था आदि यो सफ्टवेयरका प्रयोगकर्ता हुन् ।य स सिस्टममार्फत प्रत्येक फोहर व्यवस्थापन गर्ने कम्पनी, फोहर उत्पादन गर्ने सङ्घ संस्था, घरबीच अन्तर सम्पर्क गर्न सकिनेछ । फोहर व्यवस्थापन गर्न लाग्ने शुल्कको अनलाइन भुक्तानी गर्नु साथसाथै यो सिस्टमले नगरपालिकाको लागि छुट्टै ड्यास बोर्ड उपलब्ध गराएको छ। नगरपालिकाका युजरबाट आफ्नो नगर वडामा फोहर व्यवस्थापनका के-के गतिविधिहरू भइरहेको छ भनेर थाहा पाउन सक्नेछ । यो फोहर व्यवस्थापन प्रणालीले नेपालमा फोहर व्यवस्थापनको क्षेत्रमा नयाँ आयाम थप्ने लक्ष्य राखेको उनले जानकारी गराए । यो प्रणालीमा फोहर बोक्ने सवारीमा जिपिएस प्रणालीको उपयोग, फोहोरको वर्गीकरणअनुसार व्यवस्थित पुनः उपयोगलाई जोड दिने जानकारी गराइएको छ । नेपाल टेक मार्केटका प्रमुख व्यावसायिक अधिकृत सुष्मिता पौडेलले यस प्रणालीले प्रयोगकर्ताबाट सकारात्मक प्रतिक्रिया पाएको बताइन् ।  ‘प्रविधिको उपयोगबाट हुने डिजिटल रुपान्तरणले जनजीवनलाई सहज बनाउँदै हरेक घर घरलाई फोहरको वर्गीकरण गर्न प्रेरित गर्छ, यसले स्थानीय तहको कार्यक्षमता बढ्छ । सफा सहर कायम गर्दै समुदायलाई सबल बनाउन प्रेरित गर्छ,’ उनले भनिन् ।  यस अभियानले नीति निर्माता, नगरपालिका, निजी क्षेत्र, नवप्रवर्तनकर्ता र समुदायलाई एकताबद्ध गराउँदै सफा र सुन्दर सहर निर्माणतर्फ ठोस कदम चाल्ने लक्ष्य राखेको जनाइएको छ । यो प्रणालीमार्फत ‘सफा सहर अभियान’ लाई दीर्घकालीन पहलको रूपमा स्थापित गर्ने, फोहर व्यवस्थापन प्रणाली नीति तथा रणनीतिक संवादलाई प्रवर्द्धन गर्ने, पुनःचक्रण उद्योग र हरित रोजगारीका अवसर उजागर गर्ने, विद्यालय र समुदायमार्फत नागरिकलाई सक्रिय बनाउने, अन्तर्राष्ट्रिय अभ्यासलाई नेपालमा लागू गर्ने र सञ्चारमाध्यममार्फत प्रभाव सिर्जना गर्ने लक्ष्य राखिएको नेपाल टेक मार्केटका प्रमुख कार्यकारी अधिकृत अधिकारीले जानकारी गराए । 

४ रुपैयाँ घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आइतबार रातिदेखि लागू हुने गरी डिजेल/मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ, इवाई इन्धन (आन्तरिक तर्फ)मा १ रुपैयाँ र हवाई इन्धन अन्तर्राष्‍ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले घटाएको हो । पेट्रोल तथा एलपी ग्यासको बिक्री मूल्य भने यथावत् राखिएको छ । नयाँ बिक्री मूल्यअनुसार डिजेल/मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर क्रमशः १४२ रुपैयाँ ५० पैसा, १४४ रुपैयाँ र १४५ रुपैयाँ तोकिएको छ । यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १२७ रुपैयाँ तोकिएको छ । हवाई इन्धन अन्तर्राष्‍ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ९६६ निर्धारण गरिएको निगमले जनाएको छ । इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएकाले नेपाली बजारमा मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।

थप १५ दिन बीपी राजमार्गमा राति सवारीसाधन गुडाउन रोक

काठमाडौं । बीपी राजमार्गमा आज भदौ १६ गतेदेखि थप १५ दिन सवारीसाधन गुडाउन रोक लगाइएको छ । जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारीसाधन सञ्चालनमा रोक लगाइँदै आएकामा भदौ मसान्तसम्म राति १२ घण्टा सो कार्यमा रोक लगाइएको हो । जिल्ला सुरक्षा समितिको आज सम्पन्न बैठकले उक्त राजमार्गमा प्रत्येक दिन साँझ ५ बनेदेखि बिहान ५ बजेसम्म यात्रु वाहक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिए । कार्यालयले सो राजमार्ग अन्तर्गत जिल्लाको काभ्रे भञ्ज्याङदेखि सिन्धुली-सीमा नेपालथोकसम्म थप १५ दिन रोक लगाउने निर्णय गरेको हो । कार्यालयले उक्त निर्णय गर्दै सूचनामार्फत मनसुन सक्रिय रहेको अवस्थामा बीपी राजमार्गमा बाढी पहिरोको सम्भावित जोखिम रहेकाले विपद् जन्य घटना हुनसक्ने भएकाले जोखिम न्यूनीकरणका लागि राजमार्गको उल्लिखित क्षेत्रमा सवारी सञ्चालनमा रोक लगाइएकाले सतर्कता अपनाउन सार्वजनिक अपीलसमेत गरेको छ ।  काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट खण्डका विभिन्न स्थानमा जोखिम भएकाले यातायात सञ्चालनमा रोक लगाइएको हो । यस्तै काठमाडौंबाट जाने सवारीसाधनलाई काभ्रे भञ्ज्याङ र काठमाडौंतर्फ आउनेलाई सिन्धुलीको सिमाना नेपालथोकमै रोकिने छ । गत साल असोजको बाढी पहिरोले बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको चौकी डाँडादेखि सिन्धुलीको वर्षे खोलासम्मको आठ किलोमिटर सडक खण्डमा सडक नै बगाएका कारण खोलामा कतै एकतर्फी, कतै दुईतर्फी यातायात सञ्चालन हुने गरी अस्थायी सडक सञ्चालनमा ल्याइएको छ । बाढी पहिरोले राजमार्गको कुल १६० किलो मिटरमध्ये तेस्रो खण्ड अन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौथो खण्ड नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पु¥याएको थियो । कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्का प्रक्रिया अघि बढाएको छ ।

नेपाल आइडल सिजन-६ को विजेता बनिन् गङ्गा सोनाम, पाइन २५ लाख रुपैयाँ पुरस्कार

काठमाडौं । गङ्गा सोनाम नेपाल आइडल सिजन-६ को विजेता बनेकी छिन् । आइतबार साँझ ललितपुरमा भएको ‘ग्राण्ड फिनाले’मा उत्कृष्ट चार प्रतिस्पर्धीलाई पछि पार्दै सोनाम विजेता बनेकी हुन् । विजेता सोनामले २५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छिन् । त्यसैगरी बविता थापामगर दोस्रो, दर्शना गान्धारी तेस्रो, अभिनय खाती चौथो र मिनल मानन्धर पाँचौ भए । विजेतालाई पुरस्कार वितरण गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले विजेतालाई शुभेच्छा प्रकट गरे ।  ‘नेपाल आइडल नेपालको हिरो कार्यक्रम हो । यो प्रतियोगिता सुरु भए पछि नै अरु नयाँ नयाँ प्रतियोगिताहरु सुरु भएका छन् । नेपाल आइडल सधैँ हिरो कार्यक्रमका रुपमा रहनेछ,’ उनले भने ।  ललितपुर महानगर प्रमुख चिरी बाबु महर्जनले अति महत्त्वपूर्ण कार्यक्रममा विजेता हुने सबैलाई बधाई दिँदै ठूलो कार्यक्रम सफल भएकोमा खुसी व्यक्त गरे । एपी वान टेलिभिजनका अध्यक्ष राजेन्द्र शाक्यले ६ वटा सिजनसम्म पुग्दा नयाँ नयाँ प्रतिभाहरूको जन्म भएको उल्लेख गरे । २०८२ जेठ २ गतेदेखि सुरु भएको नेपाल आइडल सिजन-६ को मुख्य निर्णायकमा न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद रिजाल छन् । ग्राण्ड फिनालेको सुरुवातमा पहिलो प्रस्तुती बविता थापामगर, दोस्रो प्रस्तुति मिनल मानन्धर, तेस्रो प्रस्तुति गङ्गा सोनाम, चौथो प्रस्तुति दर्शना गान्धारी र पाँचौँ प्रस्तुति अभिनय खातीले प्रस्तुत गरेका थिए । 

कोशीमा खतराको सङ्केत पार, ब्यारेजका ३१ ढोका खोलिए

काठमाडौं । सप्तकोशी नदीमा पानीको सतह बढेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार आइतबार बेलुकी १० बजे गरिएको जल सतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड २ लाख २६ हजार ५६० क्युसेक पुगेको छ । आइतबार दिउँसो २ बजे १ लाख ७४ हजार ३७५ प्रतिसेकेण्ड पानीको प्रवाह मापन गर्दा २३ ढोका खोलिएको थियो । प्रवक्ता खतिवडाका अनुसार कोशी ब्यारेजका ५६ ढोकामध्ये अहिले ३१ ढोका खोलिएका छन् ।  कोशी ब्यारेजमा पानीको प्रवाह १ लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केत स्वरूप रातो बत्ती बाल्ने गरिन्छ । सोहीअनुसार रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ । पहाडी भेगमा भइरहेको वर्षाका कारण जल सतह बढ्दै गएको प्रहरी प्रवक्ता खतिवडाले बताए । 

एनआईसी एशिया बैंकको 'साथी घर कर्जा योजना' सार्वजनिक, ३ करोडसम्म कर्जा सुविधा

काठमाडौं । एनआईसी एशिया बैंकले घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण, पुनःनिर्माण र घडेरी खरिद गर्न सक्ने उद्देश्यसहित नयाँ घर कर्जा योजना सार्वजनिक गरेको छ ।  'एनआईसी एशिया साथी घर कर्जा' नाम दिइएको यस योजनाअन्तर्गत ग्राहकले न्यूनतम ५० लाखदेखि अधिकतम ३ करोड रुपैयाँसम्मको कर्जा सहज प्रक्रियाबाट प्राप्त गर्न सक्नेछन्। ‘सपना तपाईंको, साथ हाम्रो' भन्ने नारासहित सार्वजनिक गरिएको यो योजना आकर्षक ब्याजदर र अन्य सेवासहित उपलब्ध हुनेछ । यस कर्जाको अवधि अधिकतम २५ वर्ष रहने व्यवस्था गरिएको बैंकले जनाएको छ । यस योजनाअन्तर्गत पहिलो पटक घर खरिद वा निर्माण गर्ने ग्राहकलाई अधिकतम ८० प्रतिशतसम्म धितो सुरक्षणको आधारमा कर्जा उपलब्ध हुनेछ भने अन्य अवस्थामा अधिकतम ७० प्रतिशतसम्मको धितो सुरक्षणअनुसार कर्जा प्रदान गरिनेछ ।  

१० ठूला बैंकको लेखापरीक्षण गर्न बङ्गलादेशको हाउल्याडरले साढे ६२ लाख रुपैयाँ लिने

काठमाडौं । नेपालका १० ठूला वाणिज्य बैंकको लेखापरीक्षण गर्न नेपाल राष्ट्र बैंकले बङ्गलादेशको लेखापरीक्षक कम्पनीसँग सम्झौता गरेको छ । १० ठूला वाणिज्य बैंकको लेखापरीक्षण गर्न राष्ट्र बैंकले बङ्गलादेशको हाउल्याडर युनुस एन्ड कम्पनीसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।  राष्ट्र बैंकका अनुसार हाउल्याडर युनुस एन्ड कम्पनीले १० ठूला बैंकको लेखापरीक्षण गरेबापत ६२ लाख ५४ हजार ९१२ रुपैयाँ (२ लाख ७१ हजार ६७० अमेरिकी डलर) शुल्क लिने भएको छ । उक्त रकम भ्याट बाहेक रहेको जनाएको छ । यससँगै हाउल्याडर युनुस एन्ड कम्पनीले नेपालका १० बैंकको सम्पत्ति गुणस्तर गर्नेछ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँगको शर्तअनुसार १० वटा बैंकको लेखापरीक्षण गर्न राष्ट्र बैंकले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी उक्त कम्पनी छनोट गरेको हो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँगको शर्तअनुसार बैंकहरूले कुन क्षेत्रमा कति कर्जा प्रवाह गरेका छन् र लोन पोर्टफोलियो रिभ्यूको अध्ययन गर्न लेखापरीक्षण गर्न लागेको हो ।