अमेरिकामा महँगी फेरि चुलिँदै, ब्याजदर घट्ने चर्चा तीव्र
काठमाडौं । संयुक्त राज्य अमेरिकामा जुलाई महिनाको आधारभूत महँगी २.९ प्रतिशतले बढेको छ, जुन चालु वर्षको फागुन महिनापछिको सबैभन्दा उच्च स्तर हो । अमेरिकी आर्थिक विश्लेषण विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार यस्तो देखिएको हो । आधारभूत मूल्यवृद्धि भन्नाले खाद्यान्न र इन्धनजस्ता दैनिक रूपमा उतारचढाव हुने वस्तुहरूलाई हटाएर बाँकी वस्तु तथा सेवाहरूको मूल्यमा आएको परिवर्तनलाई जनाइन्छ । जुन महिनाको तुलनामा यो दर ०।३ प्रतिशतले वृद्धि भएको छ, जुन आर्थिक जानकारहरूको अनुमानसँग मेल खाएको बताइएको छ । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार, मूल्यवृद्धिको गति अपेक्षाकृत मन्द देखिएकाले सेप्टेम्बर महिनामा ऋणको ब्याजदर घट्ने सम्भावना रहेको उल्लेख गरिएको छ । संयुक्त राज्य अमेरिकामा आर्थिक अवस्था आँकलन गर्ने मुख्य सूचकको रूपमा रहेको उपभोग व्यय मूल्य सूचकांक अनुसार, अमेरिकामा बसोबास गर्ने नागरिकहरू वा तिनीहरूका तर्फबाट किनमेल गरिने वस्तु तथा सेवाहरूको मूल्य यही माध्यमबाट मापन गरिन्छ ।
रोजगारी सृजना र प्रवर्द्धन प्राथमिकतामा छ : मन्त्री दाहाल
काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले रोजगारी सृजना र प्रवर्द्धन हुने कार्यक्रमलाई प्राथमिकतामा दिएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित विद्युतीय परिवहनको साधारणसभालाई सम्बोधन गर्दै उनले रोजगारी प्रवर्द्धनका लागि विभिन्न तालिम, प्रशिक्षण तथा सीप हस्तान्तरणका कार्यक्रम सन्चालन गरि रहेको पनि बताए । वातावरणमैत्री र स्वच्छ उर्जाको उपयोग गरि थप रोजगारी सृजना तर्फ लाग्नु पर्ने उनले उल्लेख गरे । स्वदेशमै उत्पादित विद्युतको उपयोग प्रवर्द्धन गरि नेपाली मुद्रा विदेश जान बाट रोक्न सकिने तर्फ ध्यान दिने बेला आएको पनि मन्त्री दाहालले बताए । विद्युतीय परिवहनको माध्यमबाट नेपाली महिला तथा युवाहरु स्वरोजगार समेत भइरहेकोले यस क्षेत्रलाई आवश्यक नियम बनाइ थप व्यवस्थित पारिने समेत उनले उल्लेख गरे । कार्यक्रममा ठाकुर गैरे, विभिन्न यातायात व्यवसायिक लगायतले विद्युतीय यातायात प्रवर्द्धनमा जोड दिएका थिए ।
भन्सार शुल्क लगाउने ट्रम्पको निर्णय गैरकानुनी : अमेरिकी अदालत
काठमाडौं । अमेरिकी अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका विश्वव्यापी भन्सार शुल्कहरूलाई अवैध ठहर गरेको छ । शुक्रबार भएको ७–४ को बहुमतको फैसलामा अदालतले ट्रम्पले आपतकालीन आर्थिक अधिकारको दुरुपयोग गर्दै कानूनी सीमाभन्दा बाहिर गएर शुल्क लगाएको स्पष्ट पारेको हो । हाल ती शुल्कहरू तत्काल हटाउनु नपर्ने भए पनि अदालतले तिनीहरूलाई आगामी (अक्टोबर) महिनासम्म मात्र कायम रहने जनाएको छ । यसले ट्रम्पलाई सर्वोच्च अदालतमा अपिल गर्ने समय दिएको छ । सन् २०२५ को जनवरीमा दोहोरिएको राष्ट्रपतिको कार्यकाल सुरु गरेपछि ट्रम्पले अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक अधिकार ऐन (आइइपीए) को प्रयोग गर्दै अधिकांश व्यापारिक साझेदारहरूमाथि पारस्परिक भन्सार शुल्क लगाएका थिए । ती शुल्कको प्रारम्भिक दर १० प्रतिशत थियो भने केही मुलुकहरूमा अझ बढी दर तोकिएको थियो । मेक्सिको, क्यानडा र चीनमाथि उनले लागूपदार्थको ओसारपसार नियन्त्रण गर्न भन्दै छुट्टै शुल्कसमेत लगाएका थिए । तर अदालतको निर्णयमा भनिएको छ,“राष्ट्रपतिलाई आपतकालीन अवस्था घोषणा गरेपछि विभिन्न कदम चाल्ने अधिकार छ, तर त्यो अधिकारले भन्सार शुल्क वा कर लगाउने विषयलाई समेट्दैन ।” यस फैसलाले ट्रम्पको व्यापार तथा आर्थिक नीतिमा गम्भीर असर पार्ने देखिएको छ । यदि सर्वोच्च अदालतले पनि यस्ता शुल्कहरूलाई अवैध ठहर गरेमा, विगत केही वर्षमा उठाइएको अर्बौं डलर सरकारलाई फिर्ता गर्नुपर्ने अवस्था आउन सक्छ । फैसलापछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियल मा प्रतिक्रिया दिँदै भने, 'अदालतले गलत फैसला गरेको छ, तर अन्ततः अमेरिकाले जित्नेछ ।' उनले सर्वोच्च अदालतमा मुद्दा लड्ने चेतावनी दिए । विश्लेषकहरूका अनुसार यस निर्णयले युरोपेली सङ्घलगायतका प्रमुख व्यापारिक साझेदारहरूसँग भएका सम्झौतामा समेत अन्योलता सिर्जना गरेको छ ।
अनिश्चितकालीन राजमार्ग बन्द गर्ने उखु किसानको घोषणा
काठमाडौं । आन्दोलनरत उखु किसानले भदौ २५ गतेदेखि अनिश्चितकालका लागि राजमार्ग अवरुद्ध गर्ने घोषणा गरेका छन् । शनिवार उखु उत्पादक महासङ्घ र उखु उत्पादन हुने जिल्ला सङ्घहरूको बैठकले अनिश्चितकालिन राजमार्ग बन्द गर्ने निर्णय गरेको हो । बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त बैठकबाट माग सम्बोधन गराउनका लागी थप निर्णायक आन्दोलन अपरिहार्य रहेकोले सशक्त आन्दोलनका लागी सबै जिल्लाका उखु किसानहरूको सक्रिय सहभागितामा सर्लाहीको हरिवनमा २५ गते बुधवारबाट अनिश्चितकालिन राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने सर्वसम्मत निर्णय भएकाले सो परिस्थितिमा उत्पन्न हुने प्रतिकूल वातावरणको जिम्मेवार नेपाल सरकार, अर्थ मन्त्रालय र सम्माननीय प्रधानमन्त्री तथा मन्त्री परिषद् हुने जानकारी सबैमा अनुरोध छ।’ सो अवस्था सिर्जना हुन नदिनका लागि सरकारले उखु किसानलाई उपलब्ध गराउन बाँकी अनुदान रकम विना सर्त तत्काल भुक्तानी गर्ने तथा उखुको मूल्य तोक्दा किसान प्रतिनिधिहरूको सहभागिता सुनिश्चित गरी आन्दोलित किसानलाई सडकबाट घर खेतमा फर्किने वातावरण निर्माण गर्न नेपाल सरकारसँग माग गरेका छन् ।
महानगर प्रहरीको काम सिनेमा हेरेजस्तो छ : मेयर बालेन्द्र शाह
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगर प्रहरीले गर्ने काम सिनेमा हेरेजस्तो लाग्ने बताएका छन् । ३३औँ महानगर प्रहरी दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सानैमा हलिउड फिल्म हेर्दा सिटी प्रहरीले गर्ने कामजस्तो अहिले काठमाडौं महानगर प्रहरीले गरिरहेको अनुभव भएको बताए । शाहले काठमाडौं महानगरबाट धेरै स्थानीय तहले सिक्ने प्रयास गरिरहेको उल्लेख गर्दै सो सिकाइमा महानगर प्रहरीको ठूलो योगदान रहेको स्पष्ट पारे । उनले सार्वजनिक सम्पत्ति संरक्षण, अतिक्रमण हटाउने, सुशासन र सुव्यवस्था कायम गर्ने तथा अनुगमन गर्ने काममा महानगर प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताए । ‘सानोमा हलिउड फिल्म हेर्दा न्यूयोर्क सिटी पुलिसको काम कारबाही देखेर रमाइलो लाग्थ्यो । अहिले भने काठमाडौं महानगर प्रहरीको काम हेर्दा कहिलेकाहीँ त्यस्तै सिनेमा हेरेजस्तो लाग्छ, जुन खुशीको कुरा हो,’ शाहले भने । उनले महानगर प्रहरी बल काठमाडौंको पर्यायवाची पहिचानको रूपमा स्थापित भएको भन्दै यसले आगामी दिनमा पनि अन्य सिटी प्रहरी र स्थानीय सरकारका लागि सिकाइको आधार बन्ने विश्वास व्यक्त गरे ।
५२ वर्षको उमेरमा कलेज भर्ना भए वडा अध्यक्ष खनाल
काठमाडौं । मनहरी गाउँपालिका–१ का वडाध्यक्ष शिवप्रसाद खनालले ५२ वर्षको उमेरमा कलेज भर्ना भएर औपचारिक शिक्षा सुरु गरेका छन् । हेटौंडा उपमहानगरपालिका–१९ स्थित बस्तिपुरको निर्मल बहुमुखी क्याम्पसमा उनी अहिले स्नातक तह (ब्याचलर) पहिलो वर्षमा समाजशास्त्र र स्वास्थ्य विषय अध्ययन गरिरहेका छन् । शिक्षाको महत्व सधैं बुझ्दै आएका खनाल अहिले दोस्रो कार्यकालका लागि वडाध्यक्षको जिम्मेवारीमा छन् । जनप्रतिनिधिको जिम्मेवार पदमा पुग्दा समेत औपचारिक अध्ययनको अभावले मनमा गहिरो खालीपन महसुस भइरहने भएकाले गाउँमा आयोजना हुने कार्यक्रमहरूमा शिक्षित व्यक्तिहरूको सक्रियता र प्रभाव देख्दा आफू पनि त्यस्तै बन्ने चाहना दिनप्रतिदिन बलियो हुँदै गएको उनले अनुभव सुनाए । विगतमा विदेश जाने सपना बोक्नुभएका खनालले पाँचपटक पासपोर्ट बनाए पनि अवसर जुरेन । उनले बस बेचे, पसल गरे, कुखुरा पालनजस्ता काम पनि गरे । तर ऋणको चक्रव्यूहबाट भने उम्कन सकेनन् । यद्यपि जीवनका ती सबै चुनौतीहरूले उनी कमजोर भएनन् । वडाध्यक्ष बन्नुअघि खनालको मुख्य चाहना एउटा विद्यालयको अध्यक्ष बन्ने थियो । २०७४ सालमा उनी पहिलोपटक वडा अध्यक्षमा निर्वाचित भए । त्यसपछि श्री बाल जीवन ज्योति विद्यालय, मकरीको अध्यक्षको भूमिका समेत उनले सम्हाले । उक्त विद्यालयमा लगाइएको सप्ताहपूजाबाट संकलन भएको पैसाबाट कक्षा १२ सम्मको पठनपाठन सुरु गर्ने निर्णय उनले नै लिए । जसले गाउँमै उच्च शिक्षाको ढोका खोलेको छ । अहिले सो विद्यालयको नयाँ भवन निर्माण भइसकेको छ र स्थानीय विद्यार्थीहरूलाई सहज शिक्षाको अवसर प्राप्त भएको छ । वि।सं। २०५२ मा एसएलसी पास गरेका खनाल २७ वर्षपछि २०७९ मा कक्षा ११ आफैंले १२ कक्षा बनाएको विद्यालयमा पुनः भर्ना भए । शिक्षाप्रति बढ्दो मोहका बीच उनले २०८१ सालमा कक्षा १२ उत्तीर्ण गर्दै २।६ जीपीए ल्याए । त्यही आत्मविश्वासले उनलाई अझ उच्च शिक्षा हासिल गर्ने हौसला दियो । अहिले पनि सामाजिक जिम्मेवारीसँगै समय व्यवस्थापन गरेर उनी नियमित रूपमा क्याम्पसमा पढाइमा सहभागी भइरहेका छन् । शिक्षाप्रतिको यो लगनशीलता र जीवनभर सिकिरहने जाँगरले शिवप्रसाद खनाल मात्र होइन, उनको नेतृत्वमा रहेको समुदायका लागि पनि प्रेरणाको स्रोत बनेको छ ।
वर्षाले नौ राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोले नौ राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभाको भोटखोलास्थित कोशी राजमार्ग, रसुवाको नेपाल–चीन जोड्ने पुल, रसुवाकै पासाङल्हामु राजमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका हुन् । बागलुङको कालीगण्डकी करिडोर, म्याग्दीको बेनी– दरबाङ सडक, रुकुमपश्चिमको जाजरकोट, डोल्पा भेरी करिडोर र दार्चुलाको गोकुलेश्वर–दार्चुला सडक पूर्ण रुपमा अवरुद्ध भएका हुन् । यसैगरी, तेह्रथुमको मध्यपहाडी लोकमार्ग, रसुवाको उत्तरगया, पासाङल्हामु राजमार्ग र पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन भएका छन् । नवलपरासीपूर्वको कालीगण्डकी करिडोर, तनहुँको पृथ्वी राजमार्ग, दाङको राप्ती राजमार्ग र अर्घाखाँचीको सालझण्डी ढोरपाटन सडकखण्ड एकतर्फी सञ्चालन भएका केन्द्रीय समाचार कक्षले जनाएको छ ।
चिलिमे विद्युत् केन्द्र बन्द
रसुवा । राष्ट्रिय प्रसारण लाइनमा समस्या भएपछि चिलिमे जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् आपूर्ति बन्द भएको छ । कालिका गाउँपालिका–१ ग्राङ आसपास क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनमा समस्या आएपछि केन्द्रबाट उत्पादन बन्द गर्नुपरेको हो । चिलिमे जलविद्युत् केन्द्रका अनुसार टावर मर्मत गरेर आजै साँझसम्ममा केन्द्र पुनःसञ्चालन गर्ने लक्ष्य छ । टावर मर्मतका लागि काठमाडौंबाट रसुवाका निम्ति प्राविधिकहरु प्रस्थान गरिसकेका छन् ।