विकासन्युज

अमेरिकी कार्यस्थलमा युवा कामदारहरू एआई प्रतिस्थापनको जोखिममा : अध्ययन

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) ले अमेरिकामा २२ देखि २५ वर्ष उमेर समूहका कर्मचारीहरूलाई विस्थापित गर्न थालेको छ र सन् २०२२ को अन्त्यदेखि एआई–सम्बन्धित व्यवसायहरूमा रोजगारी १३ प्रतिशतले घटेको देखिएको छ । यो अध्ययन स्ट्यानफोर्ड विश्वविद्यालयका अर्थशास्त्री एरिक ब्रिनजोल्फसन, भारत चन्द्र र रुयु चेनले संयुक्त राज्य अमेरिकाको सबैभन्दा ठूलो पेरोल प्रोसेसिङ कम्पनी अटोमेटिक डाटा प्रोसेसिङको तथ्याङ्क प्रयोग गरी गरेका हुन् ।  अध्ययनले सन् २०२५ जुलाईसम्मका दशौँ हजार कम्पनीको रोजगारी ढाँचा ट्र्याक गरेको थियो । अध्ययनको निष्कर्षले पहिलो पटक ठूला स्तरमा च्याटजिपिटीजस्ता उत्पादक एआई उपकरणहरूले रोजगार बजारलाई पुनःआकार दिइरहेको प्रमाण प्रस्तुत गरेको छ । अध्ययनमा भनिएको छ, 'जेनेरेटिभ एआईलाई व्यापक रूपमा अपनाएपछि सबैभन्दा बढी एआई–सम्बन्धित व्यवसायहरूमा प्रारम्भिक क्यारियरका कामदारहरूले कम्पनी स्तरका अन्य प्रभावहरू नियन्त्रण गरिसकेपछि पनि रोजगारीमा १३ प्रतिशत गिरावटको अनुभव गरेका छन् ।'  यसमा जागिर कटौती नै मुख्य कारण रहेको र तलब कटौती माध्यमिक भएको उल्लेख गरिएको छ । यी परिवर्तनहरूको सबैभन्दा ठूलो असर युवा सफ्टवेयर विकासकर्ताहरू र ग्राहक सेवा प्रतिनिधिहरूले बेहोरेका छन् । बाइसदेखि २५ वर्ष उमेरका सफ्टवेयर विकासकर्ताहरूको रोजगारी सन् २०२२ को अन्त्यमा देखिएको शिखर अवस्थाबाट झण्डै २० प्रतिशतले घटेको छ भने सोही पेशामा वृद्ध कामदारहरूको रोजगारी स्थिर वा बढ्दो देखिएको छ । लेखकहरूले एआई–प्रभावित रोजगारीमा युवा कामदारहरूको गिरावटलाई समग्र कार्यबलमा हुने आगामी ठूलो परिवर्तनको प्रारम्भिक चेतावनी सङ्केतका रूपमा व्याख्या गरेका छन् । शोधकर्ताहरूले ३५ देखि ५० लाख कामदारको मासिक पेरोल रेकर्डको विश्लेषण गर्दै रोजगारी वर्गीकरणलाई अघिल्लो शैक्षिक अध्ययनहरूद्वारा परिभाषित एआई एक्सपोजर सूचकसँग जोडेका छन् ।  नतिजामा, एआईले कार्य स्वचालित गर्ने व्यवसायहरूले रोजगारीमा तीव्र गिरावट भोगे भने एआईले मानव क्षमतामा सहयोग गर्ने कामहरूले निरन्तर वृद्धिको अनुभव गरे । यो समय सन् २०२२ नोभेम्बरमा च्याटजिपिटीको सुरु हुने अवधिसँग मेल खान्छ, जसले अमेरिकी कार्यस्थलहरूमा एआई उपकरणहरूको तीव्र प्रयोगलाई गति दियो । सन् २०२५ को मध्यसम्ममा, अमेरिकी सर्वेक्षणमा सहभागीमध्ये ४६ प्रतिशतले आफ्ना कार्यस्थलमा ठूला भाषा मोडेल प्रयोग गरेको बताएका छन् । यद्यपि अध्ययनले एआईको प्रभाव व्यवसायको प्रकारअनुसार निकै फरक पर्ने देखाएको छ । स्वास्थ्य सहयोगी, नर्सिङ सहायक र अन्य कम एआई–प्रभावित भूमिकाहरूमा युवा कामदारहरूको रोजगारी बढेको छ । एआईले मुख्यतया विद्यालयमा सिकाइने संहिताबद्ध ज्ञानलाई प्रतिस्थापन गर्छ, तर कार्य अनुभवबाट प्राप्त मौन ज्ञानलाई भने प्रतिस्थापन गर्न सक्दैन भन्ने शोधकर्ताहरूको सुझाव छ । रासस  

बाफिया विधेयकले अर्थतन्त्रमा नकारात्मक असर गर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन गर्न बनेको विधेयकप्रति असन्तुष्टि जनाएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले असन्तुष्टि प्रकट गरेका हुन् । कुनै बैंक वा वित्तीय संस्थाको प्रवर्तकको नातेदारको कुनै एक जनाले अर्को निजी कम्पनीमा १० प्रतिशत मात्र सेयर राखे पनि, ९० प्रतिशत अन्य प्रवर्तक भएको निजी कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाउने प्रावधान हालको बाफिया विधेयकको ड्राफ्टमा रहेको उनले बताए । यसले आम नागरिकबीच चर्चा पाएको भए पनि आत्मनिर्भर अर्थतन्त्र बनाउन सहयोग नपुग्ने उनको जिकिर छ। ढकालले यस प्रावधानले अर्थतन्त्रका सम्पूर्ण सूचकहरूमा नकारात्मक असर गर्ने दाबी गरे। उनका अनुसार हालका अधिकांश उद्योग–धन्दा र प्रतिष्ठानहरूमा नातेदारभन्दा बाहिरका मानिसहरू नरहेको हकीकत छ। उनले भने, 'कुनै बैंक वा वित्तीय संस्थाको प्रवर्तकको नातेदारले अर्को निजी कम्पनीमा १० प्रतिशत मात्र शेयर राखे पनि ९० प्रतिशत अरू प्रवर्तक भएको निजी कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाउने व्यवस्था ड्राफ्टमा छ । हालका उद्योग–धन्दा तथा प्रतिष्ठानहरू वास्तवमा नातेदारभन्दा बाहिरका छैनन् ।' अध्यक्ष ढकालले बनेका उद्योग–धन्दा बन्द गर्नेतर्फ लाग्नु हुँदैन भन्दै त्यसका लागि व्यवहारिक नीतिहरू आवश्यक पर्नेमा जोड दिए ।

राज्य व्यवस्था समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने

काठमाडौं । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा ईश्वरीदेवी न्यौपाने निर्विरोध चयन भएकी छन् । उनी नेपाली कांग्रेसको समानुपातिक सांसद हुन् । समितिका ज्येष्ठ सदस्य सर्वेन्द्रनाथ शुक्लाको अध्यक्षतामा बुधबार बसेको बैठकमा उनलाई निर्विरोध चयन भएको घोषणा गरिएको हो । समितिका यसअघिका सभापति पदमा कांग्रेसका रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त सभापति पदमा न्यौपानेको मात्र उम्मेदवारी परेको थियो ।  बैठकमा समिति सदस्य खतिवडाले न्यौपानेलाई  सभापति निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई नेकपा (एमाले)का सांसद कृष्णगोपाल श्रेष्ठले समर्थन जनाएका थिए । समिति सभापति निर्वाचित न्यौपानेले आजै सभामुखसँग पद तथा गोपनीयताको शपथ लिनेछिन् । नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु गरेकी न्यौपाने हाल कांग्रेसको केन्द्रीय सदस्य हुन् । यसअघि उनी तत्कालीन संविधानसभामा सदस्य थिइन् भने पार्टीका तर्फबाट संसदीय दलको सचेतकको भूमिका समेत निर्वाह गरिसकेकी छिन् ।  कांग्रेस महिला विभाग प्रमुख भई जिम्मेवारी सम्हालेको अनुभव पनि उनीसँग छ। कांग्रेसको मङ्गलबार बसेको पदाधिकारी बैठकले न्यौपानेलाई समितिको सभापति उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

स्मार्ट च्वाइस टेक्नोलोजिज पीसीआइ एसएससीको दक्षिण एशिया क्षेत्रीय बोर्ड सदस्यमा चयन

काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एसटीसी) पेमेन्ट कार्ड इन्डस्ट्री सेक्युरिटी स्टान्डर्स काउन्सिल (पीसीआइ एसएससी) को दक्षिण एशिया क्षेत्रीय बोर्ड सदस्यमा चयन भएको छ । यस बोर्डमा नेपालबाट चयन हुने एकमात्र संस्था एसटीसी हो । एसटीसीसँगै गुगल, नेशनल पेमेन्ट कर्पोरेशन अफ इन्डिया र युरोनेट यूएसए एलएलसी जस्ता भुक्तानी क्षेत्रका ठूला कम्पनीहरूले पनि यस बोर्डमा प्रतिनिधित्व गर्नेछन् । विश्वव्यापी स्तरमा भुक्तानी सुरक्षासम्बन्धी मापदण्ड विकास र प्रवर्द्धन गर्दै आएको पीसीआइ एसससीले डिजिटल भुक्तानीमा देखिएका साइबर तथा सुरक्षा जोखिम न्यूनीकरण गर्न सहयोग पुर्‍याउँदै आएको छ । भारत–दक्षिण एशियामा पहिलोपटक गठन भएको यस क्षेत्रीय बोर्डमार्फत पीसीआइ एसएससीले डिजिटल भुक्तानी क्षेत्रमा यस क्षेत्रको बढ्दो महत्वलाई प्रतिबिम्बित गरेको छ । एसटीसीले बोर्ड सदस्यका रूपमा भुक्तानी सुरक्षासम्बन्धी चुनौती र अवसरबारे परामर्श दिने, मापदण्ड र कार्यक्रम विकासका लागि सुझाव प्रदान गर्ने तथा दक्षिण एशियाभर पीसीआइ एसससीका मापदण्ड र उत्कृष्ट अभ्यासबारे सचेतना अभिवृद्धि गर्ने भूमिका निर्वाह गर्नेछ । स्मार्ट च्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरेले नेपालबाट यस प्रतिष्ठित मञ्चमा प्रतिनिधित्व गर्न पाउनु गौरवको विषय भएको बताए । उनले भने, 'यो सम्मानले नेपाल र दक्षिण एशियामा सुरक्षित डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने हाम्रो प्रतिबद्धतालाई पुष्टि गर्दछ। हामी हाम्रो विशेषज्ञता मार्फत योगदान गर्दै भुक्तानी प्रणालीलाई अझ सबल बनाउन क्षेत्रीय सहकार्यलाई मजबुत बनाउनेछौं ।'

मुक्तिनाथ विकास बैंकको धुम्बाराही शाखा कार्यालय उद्घाटन

काठमाडौं । मुक्तिनाथ विकास बैंकले काठमाडौं महानगरपालिका–४, धुम्बाराही (चिलिमे टावर) स्थित नयाँ शाखा कार्यालयको समुद्घाटन गरेको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले सोमबार एक विशेष समारोहका बीच उक्त शाखाको औपचारिक उद्घाटन गरेका हुन् । यसअघि जमलमा रहेको शाखालाई स्थानान्तरण गर्दै बैंकले नयाँ स्थानबाट आधुनिक सुविधा र उत्कृष्ट ग्राहक सेवासहित वित्तीय कारोबार सुरु गरेको छ । उद्घाटन समारोहमा बोल्दै कार्यकारी निर्देशक पौडेलले बैंकले कृषि क्षेत्रमा गरेको लगानी र डिजिटल बैंकिङ सेवाको विस्तारको प्रशंसा गर्दै जोखिम व्यवस्थापनमा पनि सजग रहन सुझाव दिएका थिए । साथै उनले नयाँ शाखाबाट गुणस्तरीय सेवा प्रदान गर्न शुभकामना व्यक्त गरे । कार्यक्रममा सञ्चालक उमेश आचार्यले स्वागत मन्तव्य राखेका थिए भने प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको वर्तमान अवस्था र आगामी योजनाबारे जानकारी गराए । त्यस्तै, निवर्तमान अध्यक्ष तथा संस्थापक प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले मुलुकको अर्थतन्त्र सबलीकरणका लागि बैंक र नियामक निकायले अख्तियार गर्नुपर्ने रणनीतिबारे धारणा राखे । समारोहको सभापतित्व बैंक सञ्चालक समितिका अध्यक्ष खिम प्रकाश मल्लले गरेका थिए । धन्यवाद ज्ञापन गर्दै मल्लले सेवाको गुणस्तरमा निरन्तर सुधार गर्ने प्रतिवद्धता व्यक्त गरे । नयाँ र आधुनिक भवनबाट सञ्चालनमा आएको यो शाखा कार्यालय रिङ्गरोडसँग जोडिएको छ र पर्याप्त पार्किङ सुविधा पनि रहेको छ, जसले ग्राहकलाई सहजता हुने बैंकले विश्वास व्यक्त गरेको छ । उद्घाटन समारोहमा बैंकका वर्तमान तथा पूर्व सञ्चालक, संस्थापक तथा सेयरधनी, विभिन्न क्षेत्रका व्यक्तित्व, ग्राहक र स्थानीयवासीहरूको उपस्थिति थियो ।

५३ अंकले बढ्यो नेप्से, विकास हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । बुधबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५३ अंककले बढेर २८१९ बिन्दुमा पुगेको छ । आज २३२ कम्पनीको सेयर मूल्य बढ्दा १९ कम्पनीको सेयर मूल्य घटेको छ । बुधबार ३२१ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६८ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, नेपाल रिइन्स्योरेन्सको ५० करोड, ग्रीन भेन्चरको ४६ करोड, हिमालयन डिस्टीलरीको ४३ करोड र नेपाल रिपब्लीकको २१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबारको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । बैंकिङ १.३८, विकास बैंक ३.४०, वित्त १.९८, होटल तथा पर्यटन १.६६, जलविद्युत् १.८५, लगानी २.१९ र जीवन बिमा समूह २.२१ प्रतिशतले बढेको छ ।  त्यस्तै, उत्पादन तथा प्रशोधन २.६९, लघुवित्त १.०९, म्युचुअल फण्ड ०.४७, निर्जीवन बिमा १.६८, व्यापार २.६८ र अन्य समूह  २.१४ प्रतिशतले बढेको छ । आज विकास हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी केबिएल डिबेञ्चर–२०८६ को सेयर मूल्य ५.७९ प्रतिशतले घटेको छ ।

ट्रम्पको धम्कीका बाबजुद पनि भारतमा एप्पलको विस्तार जारी रहने, २.५ अर्ब डलर लगानी गर्दै

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एप्पलले भारत सरकारलाई जानकारी दिँदै भारतमा आफ्नो विस्तार योजनालाई सुस्त पार्ने कुनै उद्देश्य नराखेको स्पष्ट पारेको छ।  टाइम्स अफ इन्डियाको रिपोर्टअनुसार कम्पनीले वार्षिक ४० मिलियन युनिट आईफोन उत्पादन क्षमता बढाएर करिब ६० मिलियन युनिट पुर्‍याउने लक्ष्यसहित करिब २.५ अर्ब अमेरिकी डलर लगानी गर्दैछ । यो अतिरिक्त उत्पादनको ठूलो हिस्सा निर्यात, विशेषगरी अमेरिकाका लागि हुनेछ । एप्पलले भारतमै छिट्टै बजारमा आउने आईफोन १७ एसेम्बल गर्न सुरु गरिसकेको छ । स्रोतहरूका अनुसार कम्पनीले भारत सरकारलाई देशभित्र आफ्ना विस्तार योजना र लगानी सुस्त नपार्ने पक्का आश्वासन दिएको छ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट हुने आईफोन निर्यातको खुलेआम विरोध गरे पनि यो विस्तार योजना रोकिएको छैन । हालका लागि, स्मार्टफोन र कम्प्युटरहरू नयाँ अमेरिकी ट्यारिफबाट प्रभावित छैनन् । तर ट्रम्पले आफ्नो विरोध स्पष्ट रूपमा जनाइसकेका थिए ।

डिशहोम र चन्द्रागिरी हिल्सबीच साझेदारी, भर्चुअल प्रिभिलेज कार्डमार्फत छुट सुविधा

काठमाडौं । डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्डमार्फत नेपालकै प्रमुख पर्यटन गन्तव्य चन्द्रागिरी हिल्ससँग साझेदारी गरेको छ । यस साझेदारीअन्तर्गत सक्रिय डिशहोम ग्राहकहरूले चन्द्रागिरी केबलकार टिकटमा १० प्रतिशत छुट पाउने भएका छन् । काठमाडौं उपत्यकाको सुन्दर दृश्य, ऐतिहासिक महत्व र प्राकृतिक सौन्दर्यका कारण प्रसिद्ध चन्द्रागिरी हिल्स सहजै पुग्न सकिने पर्यटन गन्तव्य मानिन्छ । डिशहोमसँगको यो सहकार्यपछि ग्राहकहरूले छुटसहित चन्द्रागिरीको अनुभव लिन सक्ने अवसर पाउने भएका छन् । कम्पनीका अनुसार ग्राहकहरूले छुट पाउनका लागि ‘माइ डिशहोम एप’ प्रयोग गर्नुपर्नेछ । एप प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गरी दर्ता भएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरेर लग–इन गर्न सकिन्छ । त्यसपछि होमपेज वा प्रोफाइल सेक्सनमा उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड देखाएर चन्द्रागिरी केबलकार टिकट खरिद गर्दा छुट प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । यस सम्झौतामा चन्द्रागिरी हिल्सका सेल्स एण्ड मार्केटिङ प्रमुख प्रभाकर खड्का र डिशहोमका चिफ न्यु प्रोडक्ट डेभलपमेन्ट एन्ड इन्टिग्रेसन अफिसर सबिन महर्जनले हस्ताक्षर गरेका छन् । सम्झौता अवसरमा डिशहोमका सीईओ तारा मानन्धरले यो साझेदारीले ग्राहकलाई केवल डिजिटल सेवामा मात्र सीमित नगरी नेपालका उत्कृष्ट पर्यटन अनुभवमा पनि छुटसहित पहुँच दिने बताए ।  डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रममार्फत हाल डाइनिङ, आतिथ्य, यात्रा, मनोरञ्जन र लाइफस्टाइल क्षेत्रमा विभिन्न छुट उपलब्ध छन् । कम्पनीले आगामी दिनमा थप शीर्ष ब्रान्डहरूलाई पनि यस योजनामा सहभागी गराउने लक्ष्य लिएको छ ।