सहुलियतपूर्ण कर्जामा संशोधन : कृषि, महिला, युवा र स्टार्टअपलाई बढी सुविधा
काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जासम्बन्धी कार्यविधिलाई संशोधन गरेको छ । परम्परागत सीप र पेशाको आधुनिकीकरण एवं प्रवर्द्धन गर्दै उद्यमशीलताको विकास तथा प्राकृतिक विपद् पीडितको निजी आवास निर्माण गर्न प्रदान गरिने सहुलियतपूर्ण कर्जामा लाग्ने ब्याज, बीमाशुल्क वा सुरक्षण शुल्कमा अनुदान रकम उपलब्ध गराउने उद्देश्यले सरकारले कार्यविधि संशोधन गरेको हो । अर्थमन्त्रालयका अनुसार संशोधित कार्यविधिपछि बैंक तथा वित्तीय संस्थाहरूले प्रदान गर्ने सहुलियतपूर्ण कर्जालाई सहजीकरण गरिएको छ भने कतिपय कर्जाको सीमामा समेत भारी रूपमा वृद्धि गरिएको छ । अब कृषि तथा पशुपन्छी कर्जाअन्तर्गत पाँच करोड रूपैयाँसम्म कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थाहरूले सक्नेछन् । यसअघि व्यवसायीक कृषिलाई मात्रै दिइने गरिएको थियो भने अब सबै खालेलाई दिइँदैछ । त्यस्तै, महिला उद्यमशील कर्जालाई कार्यविधि संशोधन गरेर पच्चीस लाख रूपैयाँसम्म पुर्याइएको छ । वैदेशिक रोजगारबाट फर्केका युवा स्वरोजगार बन्न चाहेमा अब सरकारले २० लाख रुपैयाँसम्म कर्जा दिनेछ । शिक्षित युवा परियोजना कर्जालाई २० लाख रूपैयाँसम्म पुर्याइएको छ भने दलित समुदाय भगत सर्वजित उद्यम विकास कर्जालाई समेत २० लाख रूपैयाँसम्म पुर्याइएको छ । त्यस्तै, संशोधित कार्यविधि अनुसार स्टार्ट अप उद्यम कर्जाको सीमा पच्चीस लाख रुपैयाँसम्म पुर्याइएको छ । उद्योगमा ब्रोइलर प्रतिस्थापन कर्जाका लागि अधिकतम २५ लाख रुपैयाँसम्म सरकारले सीमा तोकेको छ । प्राकृतिक विपद् पीडितको निजी आवास निर्माण कर्जा पाँच लाख रूपैयाँसम्म तोकिएको छ । यसअघि यस्तो व्यवस्था राखिएको थिएन । कार्यविधिमा भनिएको छ, 'सहुलियतपूर्ण कर्जा किस्ताबन्दीमा भुक्तानी हुने आवधिक प्रकृतिको हुनेछ । एक पटक स्वीकृत भएको सहुलियतपूर्ण कर्जाको सीमा पुनः वृद्धि गर्न पाइने छैन । सहुलियतपूर्ण कर्जा एकाघर परिवारको एक जना भन्दा बढी सदस्यलाई प्रदान गरिने छैन । सहुलियतपूर्ण कर्जा संवत् २०८७ साल असार मसान्तसम्म प्रदान गरिनेछ ।' ब्याज अनुदान प्राप्त गर्ने अवधि कर्जामा बढीमा पाँच वर्षसम्म ब्याज अनुदान प्राप्त हुने तोकिएको छ । ब्याज अनुदान प्रयोजनका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाले कर्जाको प्रकार, रकम, उद्देश्य, व्यवसायको प्रकृति. प्रतिफलको अवधि र जोखिमको स्तर लगायतका आधारमा ग्रेस अवधि, किस्ता तथा कर्जा भुक्तानी अवधि निर्धारण गर्नुपर्ने व्यवस्था गरिएको छ ।
नेपाली कांग्रेस कार्यालयमा शिक्षक महासंघको धर्ना
काठमाडौं । नेपाल शिक्षक महासंघले पहिलो चरणको आन्दोलन अन्तर्गत बुधबार नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा धर्ना दिएको छ । धर्ना कार्यक्रम दिउँसो २ बजेसम्म चल्नेछ । यस क्रममा महासंघले ध्यानाकर्षण पत्र समेत बुझाएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार बिहीबार एमालेको केन्द्रीय कार्यालय च्यासल र शुक्रबार माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा पनि धर्ना दिने कार्यक्रम तय गरिएको छ । महासंघले विगतका सहमति तथा सम्झौताहरू कार्यान्वयन गर्न सरकारसँग माग गर्दै आएको छ । २०७५, २०७८, २०८० र २०८१–०८२ सालमा भएका सहमतिसहित २०८२ वैशाख १७ गते मन्त्रिपरिषद्ले पारित गरेको ९ बुँदे निर्णय अझै कार्यान्वयन नभएको महासंघको आरोप छ । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित विद्यालय शिक्षा विधेयक विगतको सहमति विपरीत भएको महासंघको ठहर छ । विधेयकमाअनुसार अस्थायी शिक्षकको पदपूर्ति ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट हुने व्यवस्था राखिएको छ भने महासंघले ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुला प्रतिस्पर्धा हुनुपर्ने माग गरेको छ । यस्तै, स्थायी शिक्षकको आवधिक बढुवाको प्रावधान विधेयकमा नसमेटिएको, अस्थायी अवधिको गणना नगरीएको, अध्यापन अनुमतिपत्रको म्याद थप्ने व्यवस्था नराखिएको र विभागीय कारबाहीसम्बन्धी प्रावधान पनि सहमति विपरीत भएको महासंघको भनाइ छ । त्यसैगरी, विद्यालय कर्मचारीको पद र वेतन सुनिश्चित नगरेको, बालकक्षा शिक्षकको सेवा सुविधा स्पष्ट नभएको, संस्थागत विद्यालयका शिक्षकको सरुवा प्रणाली अव्यवहारिक रहेको, शिक्षक दरबन्दी स्थानीय तहमा हस्तान्तरण गर्ने प्रावधान अस्वीकार्य रहेको महासंघले जनाएको छ ।
प्रभु बैंक र मार्फा प्यालेस होटलबीच छुट सम्झौता
पोखरा । प्रभु बैंक लिमिटेड र घरपझोङ गाउँपालिका–२, मार्फामा अवस्थित मार्फा प्यालेस होटलबीच छुट सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहक तथा कर्मचारीहरुले होटलमा उपलब्ध सेवा–सुविधामा छुट पाउने भएका छन् । सम्झौता–पत्रमा मार्फा प्यालेस होटलका तर्फबाट केशव रिजाल र बैंकका तर्फबाट जोमसोम क्लस्टर प्रमुख तथा शाखा प्रबन्धक नरेन्द्र थकालीले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार बैंकका ग्राहक र कर्मचारीले बैंकको डेबिट वा क्रेडिट कार्ड तथा अन्य डिजिटल माध्यममार्फत भुक्तानी गर्दा मार्फा प्यालेस होटलमा उपलब्ध आवास, भोजन तथा मनोरञ्जन सेवामा १५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ । स्याउको राजधानीको रुपमा परिचित मार्फा गाउँमा अवस्थित मार्फा प्यालेस होटल न्यानो, परिवारमैत्री वातावरण, आरामदायी आवास तथा गुणस्तरीय सेवाको लागि प्रसिद्ध छ । प्रभु बैंक र होटलबीचको यस साझेदारीले मुस्ताङको पर्यटन प्रवद्र्धनसँगै बैंकका ग्राहकलाई थप सुविधा पुग्ने विश्वास गरिएको छ ।
आजदेखि भारतीय सामानमा ५० प्रतिशत कर
काठमाडौं । अमेरिकी सरकारले भारतमाथि लगाइने थप २५ प्रतिशत ट्यारिफ लागू गर्ने सम्बन्धमा आधिकारिक नोटिस जारी गरेको छ । यो ट्यारिफ बुधबार अर्थात् अगस्ट २७ देखि लागू भएको छ । यसअघि ट्यारिफ दर २५ प्रतिशत थियो । यससँगै अब भारतमाथि कुल ५० प्रतिशत ट्यारिफ लाग्ने भएको छ । नोटिसमा उल्लेख भएअनुसार अगस्ट २७ वा त्यसपछि प्रयोगका लागि आउने वा गोदामबाट निकालिने कुनै पनि भारतीय सामानमा ५० प्रतिशत ट्यारिफको दायरामा पर्नेछ । राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा ५० प्रतिशत ट्यारिफ लगाउनुको कारण भारतले रूसबाट कच्चा तेल किनेर युक्रेनविरुद्धको युद्धमा रूसलाई सहयोग गरेको बताएका थिए। तर भारतले ट्रम्पको यस निर्णयलाई ‘अनुचित, अकारण र तर्कहीन’ भनेको थियो । अमेरिकी ट्यारिफको क्रम : अप्रिल २०२५ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि २६ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका थिए, तर पछि यो निर्णयलाई ९० दिनका लागि स्थगित गरियो । जुलाईमा राष्ट्रपति ट्रम्पले घोषणा गरेअनुसार अगस्ट १ बाट भारतीय वस्तुहरूमा २५ प्रतिशत ट्यारिफ लागू भयो । अगस्टमा २५ प्रतिशत ट्यारिफपछि ट्रम्पले थप २५ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरे र ट्यारिफ दर ५० प्रतिशतमा पुगेको छ । अब अगस्ट २७ बाट भारतीय सामानहरूमा ५० प्रतिशत ट्यारिफ लागु हुनेछ ।
कोशी प्रदेश : क्यान्सर, मिर्गौला लगायतका बिरामीलाई ८ करोड ८५ लाख सहायता वितरण
झापा । कोशी प्रदेश सरकारले कडा रोगका बिरामीलाई आठ करोड ८५ लाख रुपैयाँ आर्थिक सहायता वितरण गरेको जनाएको छ । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. केनिन राईका अनुसार आर्थिक वर्ष २०८१/८२ मा सहायताका लागि एक हजार ७१५ जना बिरामीले मन्त्रालयबाट सहायता रकम प्राप्त गरेका हुन् । क्यान्सर, मिर्गौला, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेन एनिमियालगायतका बिरामीले अघिल्लो आव २०८०र ८१ मा दिएका निवेदनका आधारमा ५० हजार रुपैयाँ र एक लाख रुपैयाँका दरले आर्थिक सहायता वितरण गरिएको उनले जानकारी दिए । उनले क्यान्सर, मिर्गौला, स्पाइनल इन्जुरी, हेड इन्जुरीका एक हजार ६६० बिरामीलाई ५० हजार रुपैयाँका दरले र मिर्गौला ट्रान्सप्लान्टका ५५ बिरामीलाई एक लाख रुपैयाँका दरले सहायता रकम वितरण गरिएको बताए । चालु आव २०८२/८३ मा सरकारले आर्थिक सहायताका लागि बजेट विनियोजन नगरेको उनले बताए । 'यो आवमा यस्तो सेवा मन्त्रालयले राखेको छैन', सूचना अधिकारी राईले भने, 'आर्थिक रुपमा भार धेरै भयो । कडा रोग लागेका बिरामीलाई निःशुल्क स्वास्थ्य बिमा गरिदिने र बिमा गरिसकेकाहरुको नवीकरण गरिदिने कार्यविधि बनेको छ । जिल्लाहरुबाट तथ्याङ्क सङ्कलन गरिरहेका छौँ । चाँडै सूचना जारी गरेर काम थाल्नेछौँ ।' विगतको कार्यविधिमा मिर्गौला प्रत्यारोपण गर्नेलाई दुई लाख रुपैयाँ र अन्य कडा खालका रोग लागेकालाई एक लाख रुपैयाँका दरले सहायता उपलब्ध गराउने प्रावधान थियो । तर माग धेरै र बजेट अभाव भएपछि सरकारले गत वर्ष आधा मात्रै बाँड्ने निर्णय गरेको थियो । उनले विसं २०८० चैतबाट मन्त्रालयले निवेदन लिने काम बन्द गरिसकेको जानकारी दिए । प्रदेशमा कडा रोग लागेका बिरामीलाई पहिलोपल्ट आव २०७९/८० बाट आर्थिक सहायता वितरण सुरु गरिएको थियो । रासस
४५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
काठमाडौं । अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले बुधबार ४५ अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७२ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ असोज ५ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधि अनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकता अनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उकरण प्रयोग गर्दै आएको छ ।
निसानमा मर्सिडिज-बेन्जको हिस्सेदारी समाप्त, ३२५ मिलियन डलरमा डिल
काठमाडौं । जर्मन अटोमेकर मर्सिडिज-बेन्जको पेन्सन ट्रस्टले जापानी अटोमेकर निसान मोटरमा रहेको आफ्नो सम्पूर्ण सेयर ४७.८३ अर्ब येन (३२४.६५ मिलियन डलर) मा बिक्री गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयर्टसले जनाएको छ । सोमबार मर्सिडिज–बेन्जले निसानमा रहेको आफ्नो ३.८ प्रतिशत सेयर बिक्री गर्ने घोषणा गरेपछि जापानी अटोमेकरको सेयरमूल्य एकैदिनमा ६ प्रतिशतभन्दा बढी घट्यो । जुलाईको सुरुयता आएको यो सबैभन्दा ठूलो एकदिने गिरावट हो । निसानको सेयर घट्नुको कारण लगानीकर्ताहरूको कम्पनीको सुधार योजनाप्रति रहेको शंका हो । अमेरिकी र चिनियाँ बजारमा शुल्क तथा बिक्री घट्दै गएको अवस्थामा निसानले जुनमा अन्त्य भएको तीन महिनामा ५३५ मिलियन डलर घाटा व्यहोरेको थियो । यसअघि निसान र दीर्घकालीन साझेदार रेनोबीच साझेदारीमा संशोधन गर्ने सहमति भएको थियो, जसअनुसार रेनोको न्यूनतम सेयर हिस्सेदारी १५ प्रतिशतबाट १० प्रतिशतमा झार्न सकिने व्यवस्था गरिएको थियो । स्रोतका अनुसार मर्सिडीज–बेन्जले निसानको सेयर प्रतिसेयर ३४१.३ येनमा बेचेको हो, जुन सोमबारको बन्द मूल्य ३६३ येन भन्दा ५.९८ प्रतिशत कम हो । रोयटर्सले देखेको कागजातअनुसार बिक्री मूल्य ३३७.५ येनदेखि ३४१ येनको दायरा तोकिएको थियो । बिक्री गरिएका भन्दा बढी माग आएपछि शीर्ष १० लगानीकर्ताले करिब ७० प्रतिशत सेयर पाएका थिए । निसानले यस विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेको छ भने मर्सिडिज–बेन्जले पनि आफ्नो अघिल्लो वक्तव्यबाहेक थप केही टिप्पणी नगर्ने जनाएको छ । मर्सिडिज-बेन्जका प्रवक्ताले सोमबार बताएका छन् कि २०१६ मा कम्पनीको पेन्सन कोषमा स्थानान्तरण गरिएको निसानको सेयर रणनीतिक हिसाबले त्यति महत्त्वपूर्ण नभएकाले यसलाई बेच्नु कम्पनीको लगानी पोर्टफोलियोलाई व्यवस्थित गर्ने नियमित प्रक्रियाको हिस्सा मात्रै हो । रेनोसँग निसानको ३५.७ प्रतिशत सेयर छ, जसमा १७.०५ प्रतिशत प्रत्यक्ष र बाँकी ट्रस्टमार्फत राखिएको छ । फ्रान्सेली अटोमेकर रेनोले गत महिनामात्रै निसानमा रहेको सेयरका कारण ११ अर्ब डलर घाटा देखाएको थियो । विश्लेषक क्रिस्टोफर रिच्टरका अनुसार रेनोले निसानमा रहेको हिस्सेदारी क्रमशः घटाउँदै जाने सम्भावना छ, तर बजारमा सिधै बेच्न मिल्ने सीमितता सम्झौतामा भएकोले तत्काल ठूलो बिक्री सम्भव छैन । ‘पहिले निसानको वित्तीय स्थिति राम्रो हुँदा कम्पनी आफैले ती सेयर खरिद गर्ने चाहना राख्थ्यो,’ उनले भने, ‘तर अहिले निसानको नगद स्थिति कमजोर भएकाले रेनोबाट सेयर खरिद गर्ने सम्भावना कम देखिन्छ ।’ निसानका नयाँ सीईओ इभान एस्पिनोसाले नाफा फर्काउने उद्देश्यसहितको सुधार योजना सार्वजनिक गरेका छन् । यसमा २०२७ सम्ममा उत्पादन क्षमता ३.५ मिलियनबाट २.५ मिलियन सवारीसाधनमा झार्ने र उत्पादन केन्द्र १७ बाट १० मा सीमित गर्नेजस्ता कदम समावेश छन् । गत महिना एस्पिनोसाले निसान अझै पुनरुत्थानको प्रारम्भिक चरणमा रहेको बताए तर लागत कटौतीमा प्रगति भइरहेको स्पष्ट गरे । टोकाइ टोकियो इन्टेलिजेन्स ल्याबोरेटरीका वरिष्ठ विश्लेषक सेइजी सुगिउराले भने, ‘साझेदारी कमजोर हुँदै गएकाले रेनोले निसानमा रहेको हिस्सेदारी क्रमशः घटाउँदै जाने अपेक्षा गरिएको छ ।’ निसानलाई अघिल्लो प्रमुख कार्लोस घोसन हटाइएपछि लगातार समस्या आइरहेको छ । रेनो–निसान गठबन्धनका अभियन्ता मानिने घोसनलाई टोकियो अभियोजनकर्ताले वित्तीय कदाचारको आरोप लगाएका थिए तर उनले यी आरोप अस्वीकार गर्दै आएका छन् । अटो पाइलट दुर्घटना मुद्दा : सम्झौता प्रस्ताव अस्वीकार गर्दा टेस्लालाई घाटा, २४३ मिलियन डलर क्षतिपूर्ति
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाब
काठमाडौं । स्थानीय बजारमा मङ्गलबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । सुनको मोल तोलमा तीन सय रुपैयाँले बढेको छ भने चाँदी १५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार एक तोला सुनको मूल्य एक लाख ९९ हजार रुपैयाँ निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी दुई हजार ३४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । हिजो मङ्गलबार एक तोला सुन एक लाख ९८ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी दुई हजार ३६० रुपैयाँमा क्रयविक्रय भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रतिऔँस सुन तीन हजार ३७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।