५३ अंकले बढ्यो नेप्से, विकास हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट
काठमाडौं । बुधबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५३ अंककले बढेर २८१९ बिन्दुमा पुगेको छ । आज २३२ कम्पनीको सेयर मूल्य बढ्दा १९ कम्पनीको सेयर मूल्य घटेको छ । बुधबार ३२१ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६८ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, नेपाल रिइन्स्योरेन्सको ५० करोड, ग्रीन भेन्चरको ४६ करोड, हिमालयन डिस्टीलरीको ४३ करोड र नेपाल रिपब्लीकको २१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबारको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । बैंकिङ १.३८, विकास बैंक ३.४०, वित्त १.९८, होटल तथा पर्यटन १.६६, जलविद्युत् १.८५, लगानी २.१९ र जीवन बिमा समूह २.२१ प्रतिशतले बढेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन २.६९, लघुवित्त १.०९, म्युचुअल फण्ड ०.४७, निर्जीवन बिमा १.६८, व्यापार २.६८ र अन्य समूह २.१४ प्रतिशतले बढेको छ । आज विकास हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी केबिएल डिबेञ्चर–२०८६ को सेयर मूल्य ५.७९ प्रतिशतले घटेको छ ।
ट्रम्पको धम्कीका बाबजुद पनि भारतमा एप्पलको विस्तार जारी रहने, २.५ अर्ब डलर लगानी गर्दै
काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एप्पलले भारत सरकारलाई जानकारी दिँदै भारतमा आफ्नो विस्तार योजनालाई सुस्त पार्ने कुनै उद्देश्य नराखेको स्पष्ट पारेको छ। टाइम्स अफ इन्डियाको रिपोर्टअनुसार कम्पनीले वार्षिक ४० मिलियन युनिट आईफोन उत्पादन क्षमता बढाएर करिब ६० मिलियन युनिट पुर्याउने लक्ष्यसहित करिब २.५ अर्ब अमेरिकी डलर लगानी गर्दैछ । यो अतिरिक्त उत्पादनको ठूलो हिस्सा निर्यात, विशेषगरी अमेरिकाका लागि हुनेछ । एप्पलले भारतमै छिट्टै बजारमा आउने आईफोन १७ एसेम्बल गर्न सुरु गरिसकेको छ । स्रोतहरूका अनुसार कम्पनीले भारत सरकारलाई देशभित्र आफ्ना विस्तार योजना र लगानी सुस्त नपार्ने पक्का आश्वासन दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट हुने आईफोन निर्यातको खुलेआम विरोध गरे पनि यो विस्तार योजना रोकिएको छैन । हालका लागि, स्मार्टफोन र कम्प्युटरहरू नयाँ अमेरिकी ट्यारिफबाट प्रभावित छैनन् । तर ट्रम्पले आफ्नो विरोध स्पष्ट रूपमा जनाइसकेका थिए ।
डिशहोम र चन्द्रागिरी हिल्सबीच साझेदारी, भर्चुअल प्रिभिलेज कार्डमार्फत छुट सुविधा
काठमाडौं । डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्डमार्फत नेपालकै प्रमुख पर्यटन गन्तव्य चन्द्रागिरी हिल्ससँग साझेदारी गरेको छ । यस साझेदारीअन्तर्गत सक्रिय डिशहोम ग्राहकहरूले चन्द्रागिरी केबलकार टिकटमा १० प्रतिशत छुट पाउने भएका छन् । काठमाडौं उपत्यकाको सुन्दर दृश्य, ऐतिहासिक महत्व र प्राकृतिक सौन्दर्यका कारण प्रसिद्ध चन्द्रागिरी हिल्स सहजै पुग्न सकिने पर्यटन गन्तव्य मानिन्छ । डिशहोमसँगको यो सहकार्यपछि ग्राहकहरूले छुटसहित चन्द्रागिरीको अनुभव लिन सक्ने अवसर पाउने भएका छन् । कम्पनीका अनुसार ग्राहकहरूले छुट पाउनका लागि ‘माइ डिशहोम एप’ प्रयोग गर्नुपर्नेछ । एप प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गरी दर्ता भएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरेर लग–इन गर्न सकिन्छ । त्यसपछि होमपेज वा प्रोफाइल सेक्सनमा उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड देखाएर चन्द्रागिरी केबलकार टिकट खरिद गर्दा छुट प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । यस सम्झौतामा चन्द्रागिरी हिल्सका सेल्स एण्ड मार्केटिङ प्रमुख प्रभाकर खड्का र डिशहोमका चिफ न्यु प्रोडक्ट डेभलपमेन्ट एन्ड इन्टिग्रेसन अफिसर सबिन महर्जनले हस्ताक्षर गरेका छन् । सम्झौता अवसरमा डिशहोमका सीईओ तारा मानन्धरले यो साझेदारीले ग्राहकलाई केवल डिजिटल सेवामा मात्र सीमित नगरी नेपालका उत्कृष्ट पर्यटन अनुभवमा पनि छुटसहित पहुँच दिने बताए । डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रममार्फत हाल डाइनिङ, आतिथ्य, यात्रा, मनोरञ्जन र लाइफस्टाइल क्षेत्रमा विभिन्न छुट उपलब्ध छन् । कम्पनीले आगामी दिनमा थप शीर्ष ब्रान्डहरूलाई पनि यस योजनामा सहभागी गराउने लक्ष्य लिएको छ ।
अष्ट्रेलियामा वार्षिक मूल्यवृद्धि १२ महिनाको उच्च बिन्दुमा, जनजीवनमा असर
काठमाडौं । अष्ट्रेलियाको उपभोग्य वस्तु तथा सेवाको मूल्यवृद्धि दर सन् २०२५ को जुलाई महिनामा २ दशमलव ८ प्रतिशत पुगेको छ, जुन पछिल्लो एक वर्षको सबैभन्दा उच्च दर हो । अष्ट्रेलियाली तथ्यांक विभागका अनुसार, एक वर्षको अवधिमा उपभोक्ता मूल्य सूचकांक २ दशमलव ८ प्रतिशतले वृद्धि भएको हो, जुन अघिल्लो महिनासम्म १ दशमलव ९ प्रतिशत थियो । यो दर सन् २०२४ को जुलाईपछि कै सबैभन्दा उच्च हो, त्यसबेला वार्षिक मूल्यवृद्धि ३ दशमलव ५ प्रतिशत थियो । अर्थशास्त्रीहरूले अनुमान गरेको भन्दा यो दर उच्च देखिएको हो । उनीहरूले करिब २ दशमलव ३ प्रतिशतको वृद्धि हुने आँकलन गरेका थिए । मूल्यवृद्धिको आधारभूत मापन (ट्रिम गरिएको औसत दर) पनि अघिल्लो महिनाको २ दशमलव १ बाट बढेर २ दशमलव ७ प्रतिशतमा पुगेको छ । वर्षको अवधिमा मूल्यवृद्धिमा मुख्य योगदान दिने क्षेत्रहरूमा घर भाडा तथा आवास खर्चमा ३ दशमलव ६ प्रतिशत, खाद्यान्न तथा गैर–मद्यपेय वस्तुहरूमा ३ प्रतिशत र मद्यपान तथा सुर्तीजन्य वस्तुहरूमा ६ दशमलव ५ प्रतिशतको वृद्धि देखिएको छ । विशेषगरी कफी, चिया र कोकोको मूल्य १४ दशमलव ४ प्रतिशतले बढेको छ, जसको कारण अन्तर्राष्ट्रिय उत्पादनमा प्रतिकूल मौसमका कारण आपूर्तिमा आएको असर हो भनी विभागकी प्रमुखले बताइन् । देशको केन्द्रीय बैंकले यसै महिनामा सार्वजनिक गरेको अनुमानअनुसार, सन् २०२५ को बाँकी समयमा मूल्यवृद्धि अझै बढ्नेछ र सन् २०२६ को अधिकांश समयसम्म करिब ३ प्रतिशतमा स्थिर रहनेछ । रासस
साउनमा १४ अर्बभन्दा बढी सरकारी ऋण थप
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा १४ अर्ब रुपैयाँभन्दा बढी सरकारी ऋण थपिएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयद्वारा प्रकाशित गत साउन मसान्तसम्मको सरकारी ऋणको प्रतिवेदनअनुसार चालु आवको सुरुमा कूल सार्वजनिक ऋण २६ खर्ब ६९ अर्ब ५७ करोड रहेकामा साउन मसान्तसम्ममा १४ अर्ब दुई करोड वृद्धि भई २६ खर्ब ८३ अर्ब ६० करोड पुगेको हो । यो कूल गार्हस्थ उत्पादनको ४३ दशमलव ९४ प्रतिशत हुन आउने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । कूल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५२ दशमलव २६ प्रतिशत अर्थात् १४ खर्ब दुई अर्ब ४७ करोड ६५ लाख छ भने आन्तरिक ऋणको हिस्सा ४७ दशमलव ७४ प्रतिशत रहेको छ । चालु आवका लागि सरकारले ५ खर्ब ९५ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकामा साउन मसान्तसम्ममा ४४ अर्ब ५७ करोड ऋण उठाइसकेको कार्यालयले जनाएको छ । वार्षिक लक्ष्यको तुलनामा कूल सार्वजनिक ऋण प्राप्ति सात दशमलव ४८ प्रतिशत बराबर रहेको जनाइएको छ । आन्तरिकतर्फ ३ खर्ब ६२ अर्ब ऋण उठाउने लक्ष्य रहेकामा पहिलो महिना ११ दशमलव शून्य पाँच प्रतिशत अर्थात् ४० अर्ब ऋण उठाइएको हो । बाह्यतर्फ २ खर्ब ३३ अर्ब ६६ करोड ३१ लाख ऋण उठाउने लक्ष्य रहेकामा साउनमा एक दशमलव ९६ प्रतिशत अर्थात् ४ अर्ब ५७ करोड ४८ लाख बराबर ऋण उठाइएको कार्यालयले जनाएको छ । त्यस्तै, चालु आर्थिक वर्षमा सरकारी ऋणको साँवा ब्याज तिर्नका लागि ४ खर्ब ११ अर्ब एक करोड बजेट विनियोजन भएकामा साउन मसान्तसम्ममा ३६ अर्ब ६८ करोड भुक्तानी भइसकेको छ । वार्षिक बजेट विनियोजनका आधारमा सरकारी ऋणको साँवा ब्याज तिर्नका लागि छुट्याइएको बजेट आठ दशमलव ९३ प्रतिशत बराबर रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
सिँचाइका लागि एक वर्षमा १६ डिप बोरिङ वितरण
नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा एक वर्षको अवधिमा सिँचाइका लागि १६ वटा ‘डिप बोरिङ’ वितरण गरिएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा वितरण भएको डिप बोरिङले जिल्लाका करिब ४२५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको भूमिगत जल सिँचाइ आयोजना कार्यालय भरतपुरले जनाएको छ । आयोजना प्रमुख इञ्जिनियर विश्वबन्धु केसीले एउटा डिप बोरिङबाट करिब २५ देखि ३० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने बताए । ‘हामीले गत वर्षबाट मात्रै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा डिप बोरिङको काम गरेका हौँ”, उनले भने, ‘एउटा डिप बोरिङबाट करिब १५० जनासम्म कृषक लाभान्वित हुनुभएको छ ।’ जिल्लाको गैँडाकोट नगरपालिकामा पाँच, विनयी त्रिवेणी गाउँपालिकामा चार, मध्यविन्दु नगरपालिकामा तीन, कावासोती नगरपालिकामा तीन र देवचुली नगरपालिकामा एउटा डिप बोरिङ वितरण गरिएको जानकारी दिए। किसानबाट माग भएपछि सम्भाव्यता अध्ययन गरी प्राथमिकताको आधारमा डिप बोरिङ वितरण गरिने आयोजना प्रमुख केसीले बताए । ‘डिप बोरिङ माग गर्नका लागि ३५ बिघा क्षेत्रफल जमिनको लालपुर्जा र वडाको सिफारिस लिएर आउनुपर्छ’, उनले भने, ‘डिप बोरिङमा पानी आउने सम्भावित अवस्था छ कि छैन अनुगमन गरेर, आवश्यकता पहिचान गरी प्रक्रियामा जान्छौँ ।' किसानबाट डिप बोरिङको माग धेरै हुने तर स्रोतसाधनको सीमितताका कारण सबैलाई उपलब्ध गराउन सक्ने अवस्था नरहेको उनले बताए । चालु आवका लागि नवलपुरका पाँच वटा पालिकाबाट २० डिप बोरिङको माग भई आएको केसीले बताए । 'अघिल्लो वर्ष किसानको मागबामोजिम डिप बोरिङ वितरण गर्न सफल भयौँ, तर यसवर्ष बजेट थोरै आएको छ', उनले भने, 'हाम्रो कार्यक्रममा नवलपुर, चितवन र मकवानपुरको तीन जिल्लाका लागि जम्मा १२ वटा बोरिङ स्वीकृत भई आएको छ ।' समानुपातिक हिसाबबाट वितरण गर्दा पनि एउटा जिल्लामा चारवटाभन्दा बढी डिप बोरिङ उपलब्ध गराउन सक्ने अवस्था नरहेको उनले बताए। प्रतिबोरिङ निर्माण गर्नका लागि २१ लाख खर्च हुने भन्दै उनले तीन प्रतिशत जनसहभागिता हुनुपर्ने बताए । ‘किसानको जनसहभागिता श्रमदान तथा नगद दुवैमा गर्न सक्नुहुन्छ’ उनले भने, ‘हालसम्म किसानको सहभागिता श्रमदानमार्फत हुँदै आएको छ ।’ नवलपुरको गैँडाकोट, कावासोती र विनयी त्रिवेणीमा करिब १०० मिटर गहिराइबाट पानी आउने गरेको भन्दै उनले मध्यविन्दु र देवचुलीमा भने ११० मिटरभन्दा बढी गहिराइको बोरिङ गाड्नुपरेको बताए । ‘हामीले आवश्यकता पहिचान गर्दा नहर लाग्ने, कुलो लाग्ने तथा खोलाको पानी लाग्ने ठाउँमा बोरिङ वितरण गर्दैनौँ’, उनले भने, ‘जुन ठाउँमा सिँचाइका लागि पानी आवश्यक छ, कुलो तथा नहर छैन त्यस्ता ठाउँमा मात्रै बोरिङ दिने गरेका छौँ ।’ बोरिङ गाड्दा पानी आउने सम्भावना नभएको ठाउँमा समेत आफूहरुले कार्यक्रम दिन नसक्ने केसीले बताए । जिल्लाको हुप्सेकोट गाउँपालिका, बौदिकाली गाउँपालिका र बुलिङटार गाउँपालिकाको सबै भाग पहाडी क्षेत्रमा पर्ने भन्दै उनले ती पालिकामा आफूहरुको कार्यक्रम नभएको बताए । रासस
बीवाईडीको याङवाङ यु ९ ट्रयाक एडिसनले राख्यो नयाँ रेकर्ड
काठमाडौं । बीवाईडीको प्रिमियम सबब्रान्ड याङवाङले ग्लोबल इलेक्ट्रिक भेहिकल (ईभी) मा सबैभन्दा तीव्र गतिको ईभी रेकर्ड कायम गरेको छ । जर्मनीको एटीपी अटोमोटिभ टेस्टिङ पापेनबर्ग टेस्ट ट्रयाकमा ४७२.४१ किलोमिटर प्रतिघण्टाको गतिका साथ सो रेकर्ड कायम भएको हो । याङवाङको सबैभन्दा नयाँ मोडल यु ९ ट्रयाक एडिसन सुपर कारले गत अगस्ट ८ मा विश्वकै सबैभन्दा तीव्र गतिको ईभीको रूपमा सो रेकर्ड कायम गरेको हो । जर्मनीका व्यावसायिक ड्राइभर मार्क बासेङले गाडी चलाएर सो रेकर्ड कायम गरेका हुन् । योभन्दा पहिले गत वर्ष पनि उनले यस्तै ग्लोबल ईभी स्पिड रेकर्ड कायम गरेका थिए । उनले गत वर्ष नै जितेको सोचे पनि नयाँ प्रविधिका कारण उही ट्रयाकमा नयाँ रेकर्ड कायम गर्न सफल भएको र आफ्नै रेकर्ड तोडेकोमा खुसी व्यक्त गरे । याङवाङ यु ९ हाल चीनमा बिक्री भइरहेको छ । अहिले रेकर्ड ब्रेक गरेको याङवाङ यु ९ ट्रयाक एडिसन त्यसैको सुधारिएको भर्सन हो । यसमा पनि यु ९ मा प्रयोग गरिएको ई ४ प्लेटफर्म र डिसस–एक्स कोर टेक्निकल आर्किटेक्चर प्रयोग गरिएको छ । यसमा विश्वकै पहिलो १२०० भोल्टको अल्ट्रा–हाई–भोल्टेज भेइकल प्लेटफर्म फिचर उपलब्ध छ र एक्स्ट्रिम कन्डिसनमा पनि सहजताका लागि थर्मल म्यानेजमेन्ट सिस्टमसँग पेयर गरिएको छ । याङवाङ यु ९ ट्रयाक एडिसनमा भएको ई४ प्लेटफर्ममा विश्वकै पहिलो विशेष प्रकारको मोटर सिस्टम प्रयोग गरिएको छ, जसमा ३० हजार आरपीएमको हाई–पर्फमेन्स मोटर रहेको छ । जसले प्रतिमोटर ५५५ किलोवाटको पिक पावर डेलिभर गर्छ । याङवाङ यु ९ मै प्रयोग भएको एरोडाइनामिक डिजाइन यु ९ ट्रयाक एडिसनमा पनि प्रयोग गरिएको छ । त्यसैगरी यसमा अझै सुधारिएको अप्सनल कार्बन–फाइबर फ्रन्ट स्प्लिटर प्रयोग गरिएको छ । अल्ट्रा–हाई स्पिडमा समेत चलाउन सहज हुने गरी यसमा पुरै साइन्टिफिक डिजाइन र टेक्नोलोजी प्रयोग गरिएको छ । यसमा प्रयोग भएको टायर पनि विशेष किसिमको छ । यसका लागि ट्रयाकमा केन्द्रित सेमी–स्लिक टायर प्रयोग गरिएको छ । यसरी पहिले नै उपलब्ध विशेष प्राविधिक दक्षता र थप सुधारका कारण याङवाङ यु ९ ट्रयाक एडिसनले सो उपलब्धि हासिल गर्न सफल भएको हो । यी सबैका कारण यो ग्लोबल अटोमोटिभ इन्डष्ट्रीकै टपमा पर्न सफल भएको हो ।
अखाद्य वस्तु भेटिएपछि ‘मुस्ताङ गोल्ड’ मदिरा उत्पादकमाथि कारबाही, २ लाख जरिवाना
काठमाडौं । काठमाडौं महानगरपालिकाले धनुषा डिस्टिलरी प्रालिद्वारा उत्पादित ‘मुस्ताङ गोल्ड’ नामक अल्कोहलजन्य पेय पदार्थमा अखाद्य वस्तु भेटिएपछि उद्योगमाथि कारबाही गरेको छ । सिलबन्दी अवस्थामा बजारमा बिक्री वितरण भइरहेको उक्त मदिरामा झिँगा जस्तो अखाद्य पदार्थ फेला परेको थियो । मापदण्ड विपरीत रहेकोले महानगरले २ लाख रुपैयाँ जरिवाना गरेको हो । भदौ ४ मा उपभोक्ता स्वयम आफै आएर महानगर प्रहरी बलमा मदिरामा झिँगा भेटिएकोले गुनासो गरेका थिए । विभागले उक्त मदिराको नमुना सङ्कलन गरी भौतिक जाँच गरेको थियो । जाँचका क्रममा सिलबन्दी बोतलभित्र अखाद्य तत्त्व फेला परेको पुष्टि भएको छ । काठमाडौं महानगरपालिकाको बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७५ को दफा १०(३)(ढ) अनुसार यो कार्य अनुचित व्यापारिक गतिविधि मानिएको छ । साथै ऐनको दफा २९(घ) र दफा ३०(१)(ख) बमोजिम धनुषा डिस्टिलरी प्रालिले कानुन उल्लङ्घन गरेको ठहर गरिएको विभागले जनाएको छ । महानगरको कृषि तथा पशुपक्षी विभागका अनुसार, जरिवाना रकम काठमाडौं महानगरपालिकाको राजस्व खातामा जम्मा गरिसकेपछि सोको जानकारी विभागमा पेस गर्नुपर्नेछ । काठमाडौं महानगरपालिकाले बजारमा बिक्री हुने खाद्य तथा पेय पदार्थको गुणस्तर सुनिश्चित गर्न नियमित अनुगमन र कडा कारबाहीको नीति अवलम्बन गरेको जनाएको छ । महानगरले उपभोक्ताको स्वास्थ्य र सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै बजारमा बिक्री वितरण हुने सबै खाद्य तथा पेय पदार्थको गुणस्तर जाँचलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।