कालिक पावरको आईपीओ माग भन्दा बढी आवेदन, सोमबार अन्तिम दिन
काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित कालिका पावर कम्पनी लिमिटेडको साधारणसेयर (आईपीओ) आज सोमबारसम्म मात्र निष्कासन हुने भएको छ । गत बिहीबारदेखि निष्कासन भएको आईपीओमा माग भन्दा बढी आवेदन परेपछि सोमबारसम्म मात्र निष्कासन हुन लागेको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ निष्कासन गरेको हो । आईपीओ निष्कासन बन्द छिटोमा असोज १ गते तोकिएको छ । निष्कासन तथा बिक्री प्रवन्धककाठमाडौं क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । आईपीओ न्युनतम ५० देखि अधिकतम ६ हजार कित्तासम्म आवेदन दिन पाइने छ । कुल निष्कासन मध्ये २४ लाख रुपैयाँ बराबरको २४ हजार कित्ता कम्पनीका कर्मचारी र ६० लाख रुपैयाँ बराबरको ६० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्टाइएको कम्पनीले जनाएको छ । कालिकाले ६ मेगावाट क्षमताको दरौदी ए जलविद्युत आयोजना निर्माण तथा सञ्चालन गरिरहेको छ । आयोजनाको कुल लागत १ अर्ब ३८ करोड ६२ लाख रुपैयाँ रहेको छ । आयोजना बनाउन प्रतिमेगावाट लागत २३ करोड १० लाख रुपैयाँ रहेको छ । आयोजनाको लगानी फिर्ता ९ वर्ष ५ महिना रहेको छ । लगानीकर्ताले लाभांश पाउन ९ वर्ष भन्दा बढी अवधि कुर्नुपर्ने देखिएको छ । ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारणको स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ । जसअनुसार चुत्तापुँजी ६० करोड रुपैयाँ रहेको छ । कम्पनीमा स्थानीयबासिन्दाको १० प्रतिशत अर्थात ६ करोड र सर्वसाधारणलाई २० प्रतिशत अर्थात १२ करोड गरी कुल १८ करोड रुपैयाँ लगानी रहेको छ । यस्तै संस्थापकले ४२ करोड रुपैयाँ लगानी गरेका छन् ।
“सेभ द हार्ट”द्धारा पत्रकार कार्की सम्मानित
काठमाडौं । मुटु जोगाऊँ ‘सेभ द हार्ट’ले पत्रकार रुद्र कार्कीलाई सम्मान गरेको छ । पत्रकारिताको माध्यमले नेपाली जनमानसमा स्वास्थ्यसम्वन्धि जनचेतना अभिवृद्धि गरेको योगदानको कदर गर्दै सेभ द हार्टको पाँचौ वार्षिकोत्सवको अवसरमा रिपोर्टर्स नेपाल डटकमका सम्पादक कार्कीलाई सम्मान गरिएको हो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र सेभ द हार्टका अध्यक्ष एवम् बरिष्ठ मुटुरोग विशेषज्ञ उप—प्राध्यापक डा. अनिल भट्टराईले उक्त अवसरमा पत्रकार कार्कीलाई सम्मानपत्र हस्तान्तरण गरेका थिए । विगत एक दशकदेखि सक्रिय रही पत्रकार कार्कीले सिँगो नेपाली पत्रकारिताको क्षेत्रमा पु¥याएको अमूल्य योगदानको उच्च कदर गर्दै उनलाई सेभ द हार्ट–२०७५ बाट सम्मानित गरिएको हो ।
नेपालीकाे क्रय क्षमता बढ्याे, ६ दिनमा १०० कराेड मूल्यकाे गाडी खरिद
नाडा अटाे शाे २०१८ मा प्रदर्शनीमा राखिएकाे विद्युतीय कार हुण्डाई इयोनिक काठमाडौं । नेपाल अटो मोबाइल्स डिलर्स संघले आयोजना गरेको ‘नाडा अटो सो २०१८’ मा करीब एक अर्ब रुपैयाँ बराबरको कारोवार भएको छ । यही भदौ २६ देखि ३१ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको मेलामा नयाँ ब्राण्डका दुई पाङ्ग्रे र चार पाङ्ग्रे, ठूला सवारी साधनका साथै तीनका पार्टस्पूर्जाको कारोवार भएको छ । ६ दिनमा १०० कराेड रूपैयाँ मूल्यका सवारी एकै स्थानबाट खरिद हुनुले नेपालीहरूकाे क्रय क्षमता उच्च रहेकाे संकेत गरेकाे छ । तर यस्ताे क्रय क्षमता थाेरै नेपालीमा भएकाे अर्थविद् डा शंकर शर्मा बताउँछन् । नयाँ सवारी किन्ने भन्दा परिवार सदस्यका लागि अतिरिक्त सवारी किन्ने नेपालीकाे जमात बढेकाे उनले बताए । करिब ६० हजार दर्शकले अवलोकन गरेको उक्त मेलामा देशका विभिन्न स्थानबाट नयाँ मोडलका गाडी तथा विदेशी गाडीको बिक्रीका लागि स्वदेशमा रहेका सबै मुख्य ब्राण्डको सहभागिता थियो । अन्तर्राष्ट्रिय तहका नाम चलेका विभिन्न कम्पनी तथा ब्राण्डका सामग्रीमा सहुलियत तथा छुटको व्यवस्थासमेत गरिएको थियो । संघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद दुलालले यस क्षेत्रले मुलुकको राजश्वमा करीब १७ प्रतिशत योगदान पुर्याएकोे जानकारी दिँदै सो क्षेत्रको विकासका लागि स्वदेशमै उत्पादनको व्यवस्था, आयातित सामानमा कर सहुलियत हुनुपर्नेमा जोड दिए । चारपाङ्ग्रे साधन तथा कारको आयातमा करीब २५६ प्रतिशतसम्म भन्सार राजश्व तिर्नुपर्ने हुँदा यसको लागत धेरै हुने गरेको व्यवसायी बताउँछन् । यस क्षेत्रले कूल गार्हस्थ्य उत्पादनमा वार्षिक २५ प्रतिशत योगदान गरेको सङ्घले जनाएको छ । मेलामा विभिन्न कम्पनीका ७१ बिक्री कक्ष राखिएको थियो । व्यवसायीले सवारी साधनमा सहुलियत व्याजदरमा ऋण उपलब्ध गराउन माग गरेपछि सरकारले सर्वसाधारणले आम्दानी गरेर सक्षम भएपछि मात्र सवारी साधन खरिद गर्न आग्रह गरेको थियो । विद्युतीय सवारी साधन, ठूला सार्वजनिक सवारी साधनको आयातमा कर छुट गर्ने जनाइएको छ ।
पुनर्निर्माणमा ३३६ अर्ब सकियाे, बाँकी काम सम्पन्न गर्न थप ६०० अर्ब लाग्ने
सुशील ज्ञवाली, प्रमुख कार्यकारी अधिकृत-राष्ट्रिय पुनर्निर्माण प्राधिकरण काठमाडै । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण र पुनर्स्थापनाका बाँकी कामहरु सम्पन्न गर्न करिब ६ खर्ब रुपैयाँ थप लाग्ने बताएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रतिनिधिहरुसँगको छलफलमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले चालू आर्थिक वर्षभित्रसम्ममा पुनर्निर्माणमा ३ खर्ब ३६ अर्ब खर्च रुपैयाँ खर्च हुने उल्लेख गर्दै आवश्यक रकम जुटाउनका लागि सरकार र दातृ निकायसँग छलफल जारी रहेको जानकारी दिए । प्राधिकरणले पुर्निर्माणमा पहिलो वर्ष २२ अर्ब, दोस्रो वर्ष ४९ अर्ब, तेस्रो वर्ष १ खर्ब १४ अर्ब रुपैयाँ खर्च गरेको थियो । पुनर्निर्माणका लागि चालू आर्थिक वर्षमा १ खर्ब ५१ खर्ब रुपैयाँ विनियोजन गरिएको छ । २०७३ साल वैशाखमा तयार पारिएको विपद् पश्चातकको पुनर्लाभ कार्यढाँचामा पुनर्निर्माणका लागि ९ खर्ब ३८ अर्ब रुपैयाँ लाग्ने आंकलन गरिएको थियो । नेपालको पुर्निर्माणका लागि आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनमा छिमेकी मुलुक सहित दातृ निकायहरुले प्रतिबद्धता जनाएको कूल ४ खर्ब १० अर्ब रुपैयाँ मध्ये ६७ अर्ब उद्धार तथा राहत सहितका कार्यक्रममा खर्च भइ ३ खर्ब ४३ अर्ब रहेकोमा त्यसमध्ये २ खर्ब ६२ अर्ब रुपैयाँको सम्झौता भइसकेको छ । ‘पुनर्निर्माणका लागि विनियोजन गरिएको रकम खर्च गरी आवश्यक रकमको व्यवस्थापन र दातृ सम्मेलनमा व्यक्त प्रतिबद्धता अनुसारको रकम जुटाउन पहल गर्छौ,-प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने, ‘पुनर्निर्माणका कामहरु अघि बढ्दै गर्दा आवश्यक रकम जुटाउन सहज हुनेछ ।’ अन्तर्राष्ट्रिय मुद्रा कोषका मिसन प्रमुख ग्रीर्ट अल्मेकिन्डर्सले पुनर्निर्माणको क्षेत्रमा पूँजीगत खर्च बढेकोमा प्रशंसा गर्दै पुनर्निर्माणमा हुने खर्चले नेपालको आर्थिक वृद्धिमा महत्वपूर्ण सहयोग पुग्ने बताए । मिसनमा एसिया प्रशान्त विभागका उपनिर्देशक केन्नेथ काङ लगायत सहभागी थिए ।
क्यान्सरपीडित बालकलाई महालक्ष्मी विकासको सहयोग
काठमाडाैं । महालक्ष्मी विकास बैंकले दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नं २ का रक्त क्यान्सरपीडित बालकविश्वास कार्कीलाई आर्थिक सहयोग गरेको छ । बैंकको बानेश्वर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिभिल अस्पतालमा उपचाररत ८ बर्षीय तीबालकलाई १० हजार रुपैयाँसहित फलफुल सामग्री प्रदान गरेको हो । बैंकका बानेश्वर शाखा प्रबन्धक सुजाता लामिछानेले सिभिल अस्पतालमा नै आएर क्यान्सर पीडित बालकका पिता जीवन कार्कीलाई आइतबार उक्त रकम हस्तान्तरण गरेकी हुन् । बैंकले वित्तीय कारोबारसँगै आफ्नो कार्यक्षेत्र आसपासका विद्यालय, अशक्त, विरामी, गरिब तथा जेहेन्दार विद्यार्थीलाई यस्ता खाले सहयोग गर्ने गरेको उनले बताइन् । रक्तक्यान्सर पीडित बालकलाई संस्थाकोतर्फबाट यस्तो सहयोग गर्न पाउँदा सन्तोष लागेको उनले जनाइन् । बैंकका सबै शाखाले हरेक वर्ष सामाजिकउत्तरदायित्वअन्तर्गत यस्ताखाले कार्यक्रमहरु गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बैंकले जनाएको छ । पीडित बालकका पिता कार्कीले छोराको उपचारार्थ सहयोग गर्ने सबैलाई धन्यवाद प्रकट गरे । छोराको उपचारका लागि ठूलो रकम लाग्ने भएकाले सबैसँग सहयोगका लागि उनले अपील गरेका छन् ।
साउदी जाने नेपाली कामदारको न्यूनतम पारिश्रमिक बढाइने
काठमाडौ । सरकारले वैदेशिक रोजगारीका लागि साउदी अरब जाने अदक्ष, अर्ध–दक्ष, दक्ष र व्यावसायिक कामदारको न्यूनतम पारिश्रमिक पुनरवलोकन गरेको छ ।छ वर्षदेखि पारिश्रमिक पुनरवलोकन नहुँदा साउदीमा कार्यरत नेपाली कामदारले उचित पारिश्रमिक पाउन सकेका थिएनन् । गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले साउदीमा काम गर्ने नेपाली कामदारको न्यूनतम पारिश्रमिक पुनरवलोकन गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउदी अरबमा नेपाली कामदारको न्यूनतम पारिश्रमिक पुनरवलोकन गर्ने प्रस्ताव तयार पारी मन्त्रिपरिषद्को बैठकमा पेश गरेको थियो । श्रममन्त्री गोकर्ण विष्टको विशेष सक्रियतामा मन्त्रालयले उक्त प्रस्ताव तयार पारेको हो । पुनरवलोकन गरिएको पारिश्रमिकअनुसार साउदी अरबमा काम गर्न जाने नेपालीले अब न्यूनतम १ हजारदेखि अधिकतम ११ हजार साउदी रियालसम्म पाउनेछन् । साउदीमा रोजगारीका लागि जाने नेपाली कामदारमध्ये अधिकांश अदक्ष कामदार छन् । सरकारले लेबर, क्लिनर, हेल्पर, स्विपर, अफिस ब्वाय र वाचमेनमा काम गर्न जाने व्यक्तिलाई अदक्ष कामदारका रुपमा वर्गीकरण गरेको छ । ती कामका लागि साउदी जाने अदक्ष नेपाली कामदारले अब न्यूनतम पारिश्रमिक साउदी रियाल एक हजार करीब नेपाली ३० हजार रुपैयाँ पाउनेछन् । यसअघि साउदीमा काम गर्न जाने अदक्ष कामदारको परिश्रमिक साउदी रियाल ८०० नेपाली करीब २२ हजार निर्धारण गरिएको थियो । ती कामदारले खाना भत्ताबापत साउदी रियाल ३०० नेपाली करीब ९ हजार प्राप्त गर्नेछन् । यसअघि खाना भत्ताबापत कामदारले साउदी रियाल २०० नेपाली करीब छ हजार पाउँदै आएका थिए । सरकारले अदक्ष कामदारका लागि औषधोपचार, द्वितर्फी हवाई टिकट, आवास, यातायात सुविधा कम्पनी वा रोजगारदाताले नै उपलब्ध गराउनुपर्ने व्यवस्थासमेत गरेको छ । न्यूनतम पारिश्रमिक र अन्य सुविधा वृद्धि भएसँगै एक अदक्ष नेपाली कामदारले आवास सुविधासहित कम्तिमा मासिक साउदी रियाल १ हजार ३०० नेपाली करीब ४० हजार रुपैयाँ पारिश्रमिक पाउने छन् । मेशन, ब्लक मेकर, प्लास्टरमेन, कार्पेन्टर, मेकानिकल हेल्पर, इलेक्ट्रिकल हेल्पर, स्टिल पिक्स्चर, टायल फिक्स्चर, प्लम्बर, पाइप फिटर, वेल्डर, स्काफोल्डर, एसी मेकानिक, लाउन्ड्री म्यान, वासर मेन, शप एसिष्टेन्स, सेक्युरिटी म्यान, वेटर, अस्सिटेन्ट कुक, सेल्स म्यान र इलेक्ट्रिसियनलगायत अर्धदक्ष कामदारको पनि पारिश्रमिक पुनरावलोकन गरिएको छ । उनीहरुले अनुभव र सीपका आधारमा साउदी रियाल १ हजार २०० देखि एक हजार ५०० सम्म पारिश्रमिक पाउनेछन् । यसअघि अर्ध–दक्ष कामदारले साउदी रियाल एक हजार पाउँदै आएका थिए । सामान्य तालीम प्राप्त अर्ध–दक्ष कामदारले साउदी रियाल १ हजार २००, दुई वर्षको कार्यानुभव भएको व्यक्तिले १ हजार ३००, चार वर्ष कार्यानुभव भएको व्यक्तिले १ हजार ४०० र पाँच वर्षको कार्यानुभव वा आधारभूत दक्ष तह व्यक्तिले साउदी रियाल १ हजार ५०० पारिश्रमिक पाउने श्रम मन्त्रालयले जनाएको छ । तालीमप्राप्त हलुका सवारी चालकको पारिश्रमिक साउदी रियाल १ हजार ३००, दुई वर्ष अनुभव भएको चालकको १ हजार ४००, चार वर्ष अनुभव भएको चालकको १ हजार ५०० र पाँच वर्ष अनुभव भएको हलुका सवारी चालकले साउदी रियाल १ हजार ६०० पारिश्रमिक पाउनेछन् । मालबाहक सवारी चालकले साउदी रियाल १ हजार ५००, दुई वर्ष अनुभव भएकाले १ हजार ८००, चार वर्षको अनुभव भएकाले १ हजार ९०० र पाँच वर्षको अनुभव भएकाले साउदी रियाल २ हजार २०० पाउनेछन् । मालबाहक सवारी चालकलाई प्रत्येक यात्राको यात्रा भत्ता अनिवार्य उपलब्ध गराउनुपर्ने छ । रासस
सञ्चय कोषको नाफा ३ अर्ब २० करोड
काठमाडौ । गत आर्थिक वर्षमा कर्मचारी सञ्चय कोषले ३ अर्ब २० करोड रुपैयाँ नाफा गरेको छ । सञ्चयकर्तालाई प्रदान गरिएको ब्याज तथा कोषको व्यवस्थापन खर्च कटाउँदा सो रकम बराबर नाफा भएको कोषका प्रशासक तुलसी गौतमले जानकारी दिए । उनले नाफा रकम ६ लाख सञ्चयकर्ताको सामाजिक सुरक्षा सुविधा र वितरणको माध्यमबाट उपयोग गरिने उनले जानकारी दिए । गत आर्थिक वर्ष २०७४/७५ मा २ अर्ब ५२ करोड रुपैयाँ आम्दानी भएको छ । २ खर्ब ८७ अर्ब ७८ करोड रुपैयाँ अर्थात् ९८.३४ प्रतिशत रकम विभिन्न क्षेत्रमा लगानी गरेको उनले जानकारी दिए । कोषको कूल लगानीमध्ये सञ्चयकर्ता सापटीमा ५८ प्रतिशत, परियोजना कर्जामा १६, वाणिज्य बैंकको मुद्दती निक्षेपमा १९ र बाँकी ७ प्रतिशत अन्य क्षेत्रमा प्रवाह भएको छ । कोषको स्रोतमा २ खर्ब ९२ अर्ब ६३ करोड रुपैयाँ जम्मा भएको आइतबार आयोजित ५७औँ वार्षिकोत्सवका अवसरमा जानकारी दिइयो । वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले कृषि, श्रमलगायत सबै क्षेत्रमा रोजगार गरिरहेकालाई कोषअन्तर्गत सामाजिक सुरक्षा प्रदान गर्न सरकारले गृहकार्य गरिरहेको बताए। “कर्मचारीलाई सेवा निवृत्त भएपछि डेरामा बस्नुपर्दैन भन्ने कुराको सुनिश्चित गर्न कर्मचारी आवास योजनाको व्यवस्था हुनुपर्छ, कर्मचारी आवास व्यवस्था न्यून वैतनिक व्यवस्था भएकालाई प्राथमिकता दिइनुपर्छ, जोखिमपूर्ण आवासमा बसेकाले यो सुविधा पाउनुपर्छ”, उनले भने । कर्मचारीले उत्पादकत्व बढाएर सुविधा लिनुपर्ने, कोष मध्यकालीन ब्याजदरको प्रणालीमा जानुपर्ने र पूँजी बजारलाई सञ्चालन गर्न सक्ने क्षमतामा कोष स्थापित हुनुपर्ने मन्त्री डा खतिवडाको भनाइ थियो । अर्थ मन्त्रालयका राजश्व सचिव शिशीरकुमार ढुङ्गानाले सबै किसिमका कोषलाई नियमन गर्ने निकाय स्थापनाको तयारीमा लागिएको बताए । “सामाजिक न्यायको सिद्धान्तअनुसार सञ्चयकर्तालाई सेवा सुविधा दिइन्छ, सञ्चयकर्ताको दिगोपनको लाभका बारेमा काम गर्ने विषयमा छलफल भइरहेको छ”, उनले भने। कोषका कर्मचारीलाई मासिक २ हजार रुपैयाँ महँगी भत्ता, घर सापटी कार्यक्रममा ५ लाख रुपैयाँ थप गर्नेजस्ता निर्णय आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेको ढुङ्गानाले जानकारी दिए ।
सिटी एक्स्प्रेसले ल्यायो ९० दिने ‘लखपति एक्स्प्रेस’ योजना, लक्की ड्रमा एक लाख जित्ने माैका
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि. ले नेपालीको महान चाड दशैँ, तिहार र छठ्लाई “लखपति एक्स्प्रेस” उपहार योजना सार्वजनिक गरेको छ । ९० दिनसम्म चल्ने योजना अन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक २०० रुपैयाँको मोबाइल टप अप १२ जनाले जित्न सक्नेछन् । त्यसैगरी, साप्ताहिक रुपमा तीन जना विजेताले १०,००० रुपैयाँ र हरेक महिना लक्की ड्रमा विजयी हुने एक जनालाई एक लाख रुपैयाँ उपहार प्रदान गरिने छ । उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहार र सिटी एक्स्प्रेस १२ वर्ष प्रवेश गरेको उपलक्ष्यमा १२ लाख रुपैयाँ जित्न सक्नेछन् । कम्पनीका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारका लागि सहभागी हुने जानकारी दिएको छ । यो योजना असोज १ गतेदेखि मंसिर २९ गते सम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत मनी ट्रान्स्फर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ । यो योजना मार्फत जम्मा ११२० जना उपभोक्ताहरु विजेता हुनेछन् । यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि व्यक्तिलाई लागु हुनेछैन ।