दशैंको अग्रिम टिकट बुकिङ असोज ५ गतेदेखि खुल्ने
काठमाडौं । दशैंको अग्रिम टिकट बुकिङ असोज ५ गतेदेखि खुल्ने भएको छ । यातायात व्यवस्था विभागमा व्यवसायी र सरकारबीच भएको छलफलमा ५ गतेदेखि बुकिङ खुल्ने सहमति भएको हो । यातायात व्यवसायीले अग्रिम बुकिङ खोल्न सहमति जनाएको विभागका निर्देशक गोकर्ण उपाध्यायले बताए । आफुहरु आफ्नो मागलाई थाती राखेरै जनताको सेवामा लागेको यातायात व्यवसायी महासंघका सचिव सरोज सिटौलाले बताए । यसअघि विभागले भदौ २४ बाट बुकिङ खुला गर्ने भनेपनि व्यवसायीहरुसँग सहमति नहुदा बकिङ खुला गर्न सकेको थिएन । ई टिकेटिङ लागू हुन सकेन विभागले टिकट बुकिङलाई व्यवस्थित गर्न ई टिकेटिङको व्यवस्था गर्ने भने पनि आगामी दशैंमा लागू नहुने भएको छ । विभागका अनुसार राजधानीका बसपार्कमा रहेका काउन्टरबाट नै टिकट बुकिङ हुनेछ । राजधानीको विभिन्न १२ स्थानका टिकट काउन्टरबाट टिकट बुकिङ गर्न सकिनेछ । अनलाइन प्रणाली लागू नहुँदा यो वर्ष पनि टिकट लिन घण्टौँ लाइन बस्नु पर्ने अवस्था आउने देखिएको छ । प्रत्येक बसपार्कमा प्रहरीको यात्रु सहायता कक्ष महानगरिय ट्राफिक महाशाखाले यात्रुहरुलाई सेवा दिने उदेश्यले प्रत्येक बसपार्कमा यात्रु सहायता कक्ष राख्ने तयारी गरेको छ । यात्रुहरुले सहज रुपमा टिकट र यातायात सेवा पाउन् भन्ने उदेश्यका साथ सहायता कक्ष राख्न लागिएको महाशाखाका प्रवक्ता राजकुमार लम्सालले बताए । चाडपर्वको समयमा ट्याक्सी लगायत भाडाका सवारी साधनले मनोमानी गर्ने भएकोले यसको न्युनिकरणको लागि कक्ष स्थापना गरिने लम्सालले बताए । लामो दुरी र छोटो दुरीमा चल्ने सवारीलाई दुर्घटना न्युनिकरणका लागि अग्रीम जनचेतना कार्यक्रम गर्ने महाशाखाको तयारी रहेको छ । लम्सालका अनुसार महाशाखाले थप तयारीको बारेमा सरकार विभाग र यातायात व्यवसायीसँग पनि छलफल गर्नेछ । विभागमा हालसम्म ३२ लाख २१ हजार ४३ वटा सवारीसाधन दर्ता भएका छन् । त्यसमध्ये २५ लाख ३० हजार मोटरसाइकल, ४८ हजार ४५८ ठूलाबस, २४ हजार ८७२ मिनीबस, ८३ हजार ७१० ट्रक, कार र जीपको संख्या २ लाख ७० हजार ६६५, पिकअप ५१ हजार ९०, माइक्रोबस ६ हजार ६५७, ट्याम्पु ३९ हजार ५७५ रहेका छन् । ट्याक्टर र पावर टेलर १ लाख ८५६ रहेको विभागले जनाएको छ ।
सिद्धार्थ बैंकबाटै प्रभु लाइफको इन्स्योरेन्स सेवा पाइने
काठमाडौं । अब सिद्धार्थ बैंकबाट प्रभु लाइफको इन्स्योरेन्स सेवा पाइने भएको छ । उक्त सेवा सम्बन्धि दुई कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा, सिद्धार्थ बैंककातर्फबाट सहायक महाप्रबन्धक अर्नुजभद्र खनाल र प्रभु लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख व्यवसायिक अधिकृत प्रयास श्रेष्ठले हस्ताक्षर गरेका छन् । त्यस्तै सिद्धार्थ बैंकका सहायक महाप्रबन्धक खनालले आगामी दिनहरुमा प्रभु लाइफ इन्स्योरेन्समा जीवन बीमा गर्ने ग्राहकहरुलाई आवश्यक जीवन बीमा सम्बन्धी सेवाहरु बैंकको जुनसुकै शाखाबाट दिने बताएका छन् । साथै, उनले नविकरण प्रिमियम तथा जीवन बीमाको प्रिमियम सिद्धार्थ बैंकबाट सजिलै बुझाउन सकिने जानकारी गराएका छन् । बैंकले हाल देशभर १२३ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ सेवा र १३१ एटीएम मार्फत सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
तपाईलाई औषधी चाहियो ? डाक्टरको शिफारिश पठाउनुस् तुरुन्त घरैमा आइपुग्छ
काठमाडौं । तपाईलाई औषधी पसलसम्म पुग्न गाह्रो भएको छ ? अब चिन्ता नर्गनुस् अर्डर गर्नसाथ आफुले मागेको औषधी तुरुन्तै घरैम आईपुग्ने छ । डाक्टरको शिफारिश पठाउन साथ एटीएम फार्मेशी मार्केटिङ प्राइभेट लिमिटेडले औषधी घरमै डेलिभरी गरिदिन्छ । यसका लागि डाक्टरको शिफारिश भने चाहिन्छ । अनलाइन फारम, इमेल, भाइबर र फोनको माध्यबाट डाक्टरको शिफारिश पठाएपछि तुरुन्त औषधी घरैमा डेलिभरी गरिदिने एटीएमका प्रबन्ध निर्देशक रञ्जित साहले बताए । यस्तो सेवा नेपालमै पहिलो पटक भएको उनले सुनाए । उनका अनुसार एटीएम मार्फत औषधीको मूल्य र आइपुग्न लाग्ने समयको बारेमा जानकारी गराइन्छ । कम्पनीले औषधी डेलिभरी सेवा निःशुल्क गरेको छ । अहिले १ हजार ५०० रुपैयाँ बराबरको औषधी मगाउँदा सोही रकम बराबरको स्वास्थ्य जाँचको कुपन पनि दिने गरेको उनले सुनाए । “अन्य फर्मेसीमा औषधी किन्दा छुट दिँदैन । १० प्रतिशत छुटका साथ अर्डर गरेको केही समयपछि घरमा आइपुग्ने व्यवस्था गरेका छौं” उनले भने । एटीएमले ५०० रुपैयाँभन्दा बढीको औषधी मात्र डेलिभरी गर्ने छ । “१० प्रतिशत छुट दिएर घरमा नै औषधी पुर्याउने काम एटीएम फार्मेसीले मात्रै गरिरहेको छ” उनले भने “हामीले थोरै नाफा लिएर निःशुल्क डेलिभरीको काम गरिरहेका छौँ ।” भारतमा जचाएर आएका बिरामीहरुले भारतमा नै प्रयोग गरेको औषधी खोजीरहेका हुन्छन् तर ती औषधीहरु नेपालमा नपाउने भएकाले डेलिभरीमा समस्या भएको उनको भनाई छ । एटीएमले नेपालमा बिक्री हुने सबै औषधीहरु बिरामीको घरमा नै पुर्याउने गरेको छ । औषधी होम डेलिभरी गरिसकेपछि मात्रै पैसा लिने गरेको साहले जानकारी दिए । उनका अनुसार एटिएमले दैनिक १५ देखी २० जनालाई औषधीको होम डेलिभरी सेवा दिइरहेको छ ।
लुम्बिनी विकास बैंकको १०औँ साधारणसभा सम्पन्न, सञ्चालकमा ६ जना नियुक्त
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको १० औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभाले आर्थिक वर्ष २०७३/२०७४ को वित्तीय प्रतिवेदन पारित गरेको छ । साथै, सभाले आगामी कार्यकालको लागि सर्वसाधारण र सस्थापक समूहमा गरी जम्मा ६ जना सञ्चालकलाई नियुक्त गरेको छ । बैंकको सर्वसाधारणतर्फबाट प्रविणकृष्ण श्रेष्ठ, रामचन्द्र सिग्देल र प्रतापकुमार आचार्यलाई सर्वसम्मत रुपमा सञ्चालकमा नियुक्त भएका छन् । त्यस्तै, संस्थापक समूहको तर्फबाट सुशीलराज पराजुली, चिन्तामणी भट्राई र डा. रुप ज्योति सञ्चालकमा चयन भएका छन् । गत असार मसान्तसम्ममा बैंकको चुक्ता पुँजी २ अर्ब १७ करोड रुपैयाँ तथा जगेडा कोषमा एक अर्ब १४ करोड रुपैयाँ रहेको छ । सोही अवधिमा बैंकले २२ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन तथा १८ अर्ब ३८ करोड रुपैयाँ कर्जा लगानी परिचालन गरेको छ । त्यस्तै, बैंक ४० करोड १७ लाख रुपैयाँ खुद मुनाफा कमाउन सफल भएको छ । हाल बैंकले ६५ शाखा तथा १२ एटीएम मार्फत विभिन्न बैंकिङ सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
नेपाली फेसन ब्रान्ड रिगल इन्कको शोरुम दरबारमार्गमा
काठमाडौं । फेसन फ्रेन्चाइजी दि रिगल इन्कको ब्रान्ड आउटलेट काठमाडौंको दरबारमार्गमा खुलेको छ। जयश्री पशुपति ट्रेड इन्टरनेशनल अन्तर्गत दर्ता रियल इन्क दरबारमार्गमा रहेको त्रिसरा रेष्टुरेन्टको भवनमा शोरुम खुलेको छ। नविल बैंकका प्रमुख कार्यकारी (सीईओ) अनिलकेशरी शाहले आउटलेटको उद्घाटन गरेका छन् । काठमाडौंको फेसन हव दरबारमार्गमा शोरुम स्थापना गरेको रिगलले फेसनको क्षेत्रमा नवप्रवर्तन गर्ने लक्ष्य लिएको छ। शोरुमको उद्घाटन गर्दै बैंकर शाहले फेसनको दुनियाँमा नेपाली ब्रान्डको उदयले गुणस्तरीय छनौटको अवसर बढेको बताए। युवा व्यवसायीहरुको प्रयासबाट भएको यस्तो काम अझै बढ्नुपर्ने उनको धारणा थियो। रिगल इन्कका सीईओ अशुतोश अग्रवालले आफ्नै ब्रान्ड र विदेशी गुणस्तरीय ब्रान्ड उपलब्ध गराउने उद्देश्यबा साथ शोरुम खोलिएको बताए।“यसबाट लुक्समात्र फेरिने छैन सँगै हामी गुणस्तर, विश्वासनीयता, सस्तो र धान्नसक्ने गरी उत्पादनहरु उपलब्ध गराउने छौं’अग्रवालले भने। अग्रवालले आफ्नै ब्रान्डमा विभिन्न फेसन उत्पादनहरु पनि उपलब्ध गराउँदै जाने बताए। जिबी ब्रुमेल नामबाट सर्ट पाइन्टदेखि पर्ससम्मका उत्पादन राखिने उनले जानकारी दिए। उनका अनुसार शोरुममा आठवटा ब्रान्ड उपलब्ध हुने छन्। जसमा नेपाली फेसन ब्रान्ड जिबी ब्रुमेल हुने छ। पुरुषहरुका लागि फेसन डिजाइनहरु हुने यो ब्रान्ड नेपाली हो। त्यस्तै द म्यान कम्पनी भन्ने भारतीय ब्रान्ड पनि यो शोरुममा हुने छ। त्यस्तै लोरो पियना, भाइटल बारबेरिस, डि डेल्फीनो र डोरमिइएल ब्रान्डका उत्पादनहरु उपलब्ध हुने छन्। शोरुममा लानफिको र इटालियन सुट ब्रानड जेग्ना पनि हुने छ। रियल इन्कलाई नेपालको आधिकारी फेसन हाउसको रुपमा विकसित गर्दै जाने र आवस्यकताअनुसार देशभर विस्तार गर्दै जाने अग्रवालले जानकारी दिए। विश्वव्यापी र क्षेत्रीय रुपमा ट्रेन्डमा रहेका फेसन उत्पादन किन्नमात्र होइन, गुणस्तरीय र विश्वासनीय सपिङको केन्द्रविन्दु बनाउने उद्देश्यसहित अगाडि बढेको उनको भनाइ छ।
कर्मचारी सञ्चयकोषको ५७औँ वार्षिकोत्सव सम्पन्न, ३०० अर्बको वित्तीय स्रोत
काठमाडौं । कर्मचारी सञ्चयकोषले आइतबार स्थापनाको ५७औँ वार्षिकोत्सव कार्यक्रम मनाएको छ । उक्त कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारी सञ्चयकोष सामाजिक सुरक्षण कोष समेत रहेको कारण सामाजिक सुरक्षाका कार्यक्रमलाई नयाँ ढंगले अगाडि बढाउनुपर्ने बताएका छन् । अर्थमन्त्री डा. खतिवडाले कोषमा रहेको लगानी योग्य रकमलाई एक वर्षभन्दा बढी अवधिको निक्षेपमा लगानी गरी पुँजी बजारको प्रमुख खेलाडीको रुपमा रहनु पर्ने बताए । उनले नेपाल सरकारको नीति अनुसार कर्मचारी आवसको लागि काम गर्न कोषलाई आग्रह गरेका छन् । यसैगरी सोही कार्यक्रममा बोल्दै नेपाल सरकारका राजश्व सचिव तथा कोष सञ्चालक समितिका अध्यक्ष शिशिर कुमार ढुंगानाले कोषलाई सुदृढ सामाजिक सुरक्षण संयन्त्रको रुपमा विकास गर्दै लैजाने नीति रहेको बताए । उनले कोषमा रहेको रकमको दीर्घकालिन व्यवस्थापन गर्न श्रोत व्यवस्थापन र लगानी विविधिकरणमा सुधार गर्नुपर्ने बताए । उनले कोषले निर्णय गर्दा जहिले पनि सञ्चयकर्ताहरुको बृहत्तर हितलाई हेरेर मात्र निर्णय गर्नुपर्ने बताएका छन् । सोहि कार्यक्रममा बोल्दै कोषका प्रशासक तुलसीप्रसाद गौतमले नेपाल सरकारले अघि सारेको एकिकृत सामाजिक सुरक्षाको अवधारणलाई सार्थक तुल्याउन कर्मचारी सञ्चयकोषलाई प्राप्त हुने भुमिका र जिम्बेबारी निर्वाह गर्न कोष प्रतिबद्ध रहेको बताएका छन् । उक्त कार्यक्रममा कोषमा २५ वर्ष र १५ वर्ष सेवा गर्ने ३ जना कर्मचारीलाई दीर्घसेवा पदकबाट सम्मान गरिएको थियो । त्यस्तै एसइइ परिक्षामा उत्कृष्ठ अंक ल्याउने कर्मचारीका सन्ततिलाई पुरस्कृत गरिएको थियो । कर्मचारी सञ्चयकोषमा हाल ६ लाख सञ्चयकर्ताहरुको करिव ३ सय अर्व बरावरको वित्तिय स्रोत रहेको छ । उक्त रकमबाट कोषले सञ्चयकर्ताको सामाजिक आवश्यकता पूर्ति गर्नको लागि विभिन्न सापटी सुविधाहरु प्रदान गरिरहेको छ भने मुनाफा रकमबाट कोष खडा गरी विभिन्न किसिमका सामाजिक सुरक्षणका सुविधाहरु प्रदान गर्दै आइरहेको छ । यसैगरी कोषले मुलुकको पूर्वाधार विकासको लागि विभिन्न जलविद्युत कम्पनीहरु माथिल्लो तामाकोशी, चिलिमे जलविद्युत कम्पनीद्धारा प्रबर्धित विभिन्न जलविद्युत आयोजनामा ऋण लगानी गरिरहेको छ । नेपाल बायु सेवा निगमलाई विमान खरिद गर्न ऋण लगानी गरेको छ यस्तै कोषले सञ्चयकर्ताको बहुमत शेयर स्वामित्व रहने गरी ६८८ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजना निर्माणको प्रारम्भिक प्रकृयाको शुरुवात गरेको छ ।
अर्थमन्त्रीले निजी क्षेत्रलाई भने-‘पेट्रोलियम सवारी विस्थापनको काम सुरु गरिहालौं’
काठमाडौं । प्रदेश नम्बर ३ का अर्थमन्त्री कैलाशप्रसाद ढुङगेलले पेट्रोलियम सवारी विस्थापनको काम सुरु गरिहाल्नु पर्ने बताएका छन् । आइतबार नेपाल उद्योग परिसंघले राजधानीमा गरेको प्रदेश ३ को आर्थिक मार्गचित्र नामक अन्तरक्रिया कार्यक्रममा बोल्दै ढुङगेलले इलेक्ट्रिक सवारी विकासमा जोड दिएका हुन् । अर्थमन्त्री ढुङगेलले निजी क्षेत्रले योजना तयार पारेर ल्याए सरकारले भोलिदेखि नै काम सुरु गर्ने बताए । उनले भने-‘हामीले २०८५ सम्ममा तेलबाट चल्ने सवारी विस्थापन गर्न लागेका छौं, यसको लागि निजी क्षेत्रको सहयाेग आवश्यक रहेको हुन्छ ।’ कार्यक्रममा बोल्दै परिसंघका अध्यक्ष हरिभक्त शर्माले निजी क्षेत्र पेट्रोलियम सवारी साधान हटाउने पक्षमा रहेको बताए । उनले भने-‘मन्त्रीले काममा साथ दिने भए हामी पेट्रोलियम सवारी हटाउन तयार रहेका छौं, यसका लागि निजी क्षेत्रले मात्र प्रयास गरेर हुदैंन, सरकारले पनि साथ दिनुपर्छ ।’ शर्माले सरकारले रेलको हल्ला गर्नुभन्दा पनि चित्तवन हेटौंडा बुलेट ट्रेन सञ्चालन गर्न सुझाव दिए । उनले अबको ५ वर्षभित्र प्रतिव्यक्ति आय ४ हजार डलर पुर्याउन निजी क्षेत्र तयार रहेको बताए । कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले इलेक्ट्रिक सवारीको विकासमा निजी क्षेत्रको ठूलो भुमिका हुने बताए । उनले भने-‘निजी क्षेत्र र सरकार एउटै डुङगामा हिड्ने भएकाले यसमा दुबै सफल हुनु जरुरी छ, हामी जागिर खान मात्र मन्त्री बनाएका होइनौं ।’ कार्यक्रममा उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले सरकारले चारैतिर हात हाल्नु भन्दा कुनै एक क्षेत्रलाई मात्र अघि बढाउनु पर्नेमा जोड दिए । उनले इथोपियाको उदाहरण दिदैं नेपालले पनि कुनै सीमित विषयलाई मात्र प्रमुख एजेन्डा बनाउनु पर्ने सुझाए । कार्यक्रमा ३ नम्बर प्रदेशका योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटा, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. शंकर शर्मालगायतले प्रदेशको आर्थिक सम्भावनाबारे विचार राखेका थिए ।
महासंघको महासचिवमा गौतमको उम्मेद्धवारी, कम मुल्यमा ठेक्का कबुल गर्ने नीति विरुद्ध लड्ने प्रतिवद्धता
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य दीपक गौतमले संघको आशन्न ११ औं महाधिवेशनमा महासचिव पदको लागि उम्मेदारी घोषणा गरेका छन् । गौतमले ‘समृद्ध नेपाल, सुखि नेपाली’ को महाअभियानको लागि सरकार पक्ष र निर्माण व्यवसायीबीच बृहत्त अन्तरक्रियाको खाँचो रहेको बताउँदै त्यसको लागि आफ्नो उम्मेदारी रहेको स्पष्ट पारे । उनले सार्वजनिक खरिद ऐनमा रहेको कम मुल्यमा कबुल गर्नेले ठेक्का पाउने उल्लेखित व्यवस्थालाई सुधार गर्नुपर्ने आवश्यकत्ता औंल्याए । उनले भने,‘यो व्यवस्थालाई सुधार गरियो भने गुणस्तरीय काम हुन्छ । मेरो यसमा धेरै जोड रहेको छ ।’ उनले भने,‘संघको ११ औं महाधिवेशन र २० औं साधारण सभाको लागि हाम्रो संघ तिब्र रुपमा लागेको छ । असोज ४, ५ र ६ गते काठमाडौंमा हुन गैरहेको भेलामा उपयुक्त र साना व्यवसायीको हकहितलाई ध्यानमा राखेर काम गर्ने खालको हुनुपर्छ । सार्वजनिक खरिद ऐनमा भएका त्रुटिहरुलाई सच्याउनुपर्छ, यसको लागि म पहल गर्नेछु ।’ राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी आफूहरु दुई दशकभन्दा बढि काम गरेको अनुभव रहेको सुनाउँदै गौतमले भने,‘मसँग मुलुकभित्र र बाहिर गरि लामो समय काम गरेको अनुभव छ । ईलाम जिल्ला कार्यसमितिमा एक कार्यकाल, पूर्वाअञ्चल क्षेत्रीय निर्माण व्यवसायीमा एक कार्यकाल हुँदै केन्द्रीय सदस्यमा रहेर एक कार्यकाल बिताएको छु । अब म लड्ने भनेको नै महासचिवमा हो, मेरो भीजन भनेको ५० वर्ष पहिले दक्षिण कोरियाले अवलम्बन गरेको विकासको मार्ग जसरी अघि बढ्नुपर्छ भन्ने हो, हामी विकासमा धेरै पछि छौं, सरकारले क्षमता अनुसारको काम दिने हो भने समयमै काम सकिन्छ, निर्माण व्यवसायीहरुले पनि आफ्नो क्षमताकै आधारमा काम लिने हो भने काम समयमै सकिन्छ, गुणस्तर पनि आउँछ ।’ केही गल्तिहरु आफूहरुको पनि रहेको सुनाउँदै उनले भने,‘हामीहरुबाट पनि केही गल्तीहरु भएका होलान्, क्षमता अनुसारको काम दिने ऐन हुने हो भने कामको गुणस्तर र समय दुबै मिल्छ, त्यसपछि हामीलाई कुनै प्रकारको आलोचना गर्ने ठाउँ भेटिदैन, अर्को कुरा हाम्रो संगठनका सहकर्मीमाथि हेर्ने दृष्टिको बद्लिनुपर्छ, राज्यको पैसा कर्मचारी, निर्माण व्यवसायीको माध्ययमबाट जनताकोबीचमा पैसा आउने हो, जसमध्ये निर्माण व्यवसायीको माध्यममार्फत अलि बढि पैसा जनताकोबीचमा आउने हुनाले हेर्ने दृष्टि फरक हुन गएको छ, सूरक्षाको हिसाबमा सरकारले सजक हुनैपर्छ ।’ गौतमले निर्माण कार्य गुणस्तरीय नहुनुको पछाडि व्यवसायीहरुको मात्रै दोष नभएर निर्माण सामाग्रीहरुको कमसल लगायतका अरु थुप्रै कारण पनि हुन सक्ने सुनाए । उनले अघि थपे,‘विकास निर्माणको बारेमा सरकार र निर्माण व्यवसायीबीच अन्योन्याश्रीत सम्बन्ध छ, विकासको मुख्य जिम्मा सरकारको भएपनि त्यसको अभिन्न अंग हामीनै हो, हामी उद्योगको पनि उद्योग हो, सरकार, विज्ञ, निर्माण व्यवसायी सम्बन्धित् पक्षसँगको बृहत्त छलफल गर्ने र त्यसको आधारमा विकासका कामहरु हुनुपर्छ ।’