विकासन्युज

एनसेलद्वारा ‘रिचार्ज एण्ड विन’ अफर अन्र्तगत नगद पुरस्कार वितरण

काठमाडौ। एनसेल प्राईभेट लिमिटेडले नजिकिदै गरेको चाडपर्वको अवसरमा ल्याएको आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर अन्र्तगत पहिलो हप्ताका विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ । ‘रिचार्ज एण्ड विन’ १० हप्ता सम्ममा संचालनमा रहने अफर हो । पहिलो हप्ताका विजेताहरु मंगलबार (भाद्र २६ गते) एपि वान टेलिभिजनमा प्रत्यक्ष प्रशारण मार्फत छानिएका हुन् । १० भाग्यशाली विजेता ग्राहकहरु मध्ये दुई जनाले बिहिबार जनही नगद रु एक लाख पुरस्कार पाएका छन् । तीन अन्य विजेताहरुले आफ्नो पुरस्कार अर्को हप्ता लिने जनाएकाले कम्पनीले सोही अनुरुप उनीहरुलाई दोस्रो हप्ताका विजयी ग्राहकहरुसँगै पुरस्कार हस्तान्तरण गर्नेछ । पहिलो हप्ताका थप पाँच विजेताहरुको पहिचान तथा प्रमाणित गर्ने काम भई रहेको छ र प्रक्रिया समापन लगतै नगद पुरस्कार प्रदान गरिनेछ । एनसेलका सेक्युरिटी तथा जेनेरल सर्भिसेज् निर्देशक महेन्द्र कुमार भट्टचनले काठमाडौंमा आयोजित एक कार्यक्रम माझ दुई विजयीहरु झापाका जाकिर हुसैन र नुवाकोटका हरि श्रेष्ठलाई बिहिबार जनही रु एक लाख नगद पुरस्कार प्रदान गरेका हुन् । ‘रिचार्ज एण्ड विन’ अफर भाद्र १७ गतेबाट संचालनमा रहेको छ । यस योजनामा सप्ताहभर रु १०० वा सो भन्दा बढी रिचार्ज गर्ने एनसेलका सम्पूर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले आकर्षक नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्छन् । यो योजना अन्र्तगत प्रत्येक विजयीले खुद रु एक लाख नगद पुरस्कार पाउँछन् यो योजना अन्र्तगत प्रत्येक विजयीले खुद रु एक लाख नगद पुरस्कार पाउँछन् र यसमा लाग्ने कर कम्पनीले नै व्यहोर्ने छ । यो योजना साप्ताहिक चक्रमा संचालन भईरहेको छ, जसको शुरुवात आइतबार हुन्छ भने समापन शनिबार हुन्छ । ग्राहकले आइतबार देखि शनिबार सम्मको अबधिमा गरेको प्रत्येक रु १०० बराबरको रिचार्जका आधारमा उनीहरुले एसएमएस मार्फत एउटा कोड प्राप्त गर्छन् । उदाहरणको लागि ग्राहकले आइतबार देखि शनिबार सम्ममा रु २५० को रिचार्ज गरेका छन् भने सो सप्ताह लगत्तैको सोमबार सम्ममा एसएमएस मार्फत दुई वटा विशेष कोडहरु प्राप्त गर्छन् ।

धावनमार्गमा खाल्टाखुल्टी देखिन थालेपछि त्रिभुवन अन्तर्राष्ट्रियलगायत ५ विमानस्थल कालाेपत्रे हुँदै

काठमाडौं । नागरिक उड्ययान प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रियलगायत ४ विमानस्थलकाे धावनमार्गमा कालाेपत्रे (पीच) गर्ने भएको छ । धावनमार्गमा पिच उप्किएर खाल्टाखुल्टी देखिन थालेपछि  पिच गर्न लागिएको हो । प्राधिकरणले देशभरका ५ विमानस्थलमा पिच गर्न लागेको हो । प्राधिकरणले त्रिभुवन अन्तराष्ट्रियसहित धनगढी, चन्द्रगिरी, सिमिकोट, विराटनगर, जनकपुर लगायत ५ विमानस्थलमा पिच गर्न लागेको हो । विमानस्थल पिच गर्न आवश्यक बजेट बिनियोजन भैसकेको काम अघि बढ्ने प्राधिकरणका प्रवक्ता बिरेन्द्र श्रेष्ठले बताए । यो वर्ष हामीले नयाँ विमानस्थल भन्दा पनि पुरानैमा मर्मत सम्भारलाई प्राथमिकता दिएका छौं, विशेषगरी धावनमार्गमा गिर्खा देखिन थालेपछि विमानस्थल पिच गर्न लागेका हौं, प्रवक्ता श्रेष्ठले भने विभिन्न स्थानमा टर्मिनल भवन बनाउने तयारी समेत गरिरहेका छौं । धनगढी विमानस्थल ओभरले गर्ने काम भैरहेको छ । भरतपुर, चन्द्रगढी र सिमिकोट विमानस्थलको पिच गर्नका लागि ५ ५ करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ । प्राधिकरणले त्रिभुवन विमानस्थल सुधार गर्नका लागि विशेष ध्यान दिने भएको छ । विमानस्थलको रनवे, पार्किङ र हेलिप्याड बनाउने भएको छ । बंगलादेशी विमान दुर्घटना भएको क्षेत्रमा हेलिप्याडको निर्माण हुने भएकाे छ । हेलिप्याड निर्माणको लागि प्राधिकरणले प्रक्रिया अघि बढाइसकेको छ । यसैगरी कोटेश्वर तर्फको जमिनमा पार्किङ निर्माण गर्नेछ । प्राधिकरणले धमाधम विमानस्थल बन्द हुन थालेपछि अब नयाँ विमानस्थल निर्माणका लागि ध्यान नदिने भएको छ । प्रवत्ता श्रेष्ठका अनुसार हाल २२ वटा आन्तरिक विमानस्थल बन्द छन् । यसबाट सरकारको अर्बौ  रूपैयाँ लगानी खेर गएको छ । सात विमान स्थलमात्रै नाफामा देशभर रहेको ५६ वटा विमानस्थल रहेका छन् । जसमध्ये ३१ विमानस्थल मात्रै सञ्चालनमा रहेको प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौडेलले बताए । उनका अनुसार गत आर्थिक वर्षमा त्रिभुवन विमानस्थलले सबैभन्दा धेरै आम्दानी गरेको छ । अन्तराष्ट्रिय विमानस्थलले गत वर्ष ७ अर्ब २५ करोड रूपैयाँ आम्दानी गरेको हो । यसैगरी नाफा गर्ने विमानस्थलहरुमा पोखरा, भैरहवा, नेपालगञ्ज, भरतपुर, चन्द्रगढी र लुक्ला विमानस्थल रहेका छन् ।

“उच्च सरकारी कार्यालयमा अब १ सेकेण्ड पनि विद्युत् जादैन” : कुलमान घिसिङ

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ठूला सरकारी प्रमुख कार्यालयमा कहिल्यै पनि विद्युत् नजाने तयारी भइरहेको बताएका छन्। सञ्चार केन्द्र नेपालले बिहीबार आयोजना गरेको ‘जलविद्युत्को क्षेत्रमा हालसम्म भएका उपलब्धिहरू एवं देखिएका चुनौती’ विषयक अन्तरक्रियामा उनले बेलाबेलामा भइरहने विद्युत् कटौतीलाई अन्त्य गरी चाँडै नै कहिल्यै पनि विद्युत् नजाने गरिने बताएका हुन्। “अहिले पनि राष्ट्रपति तथा प्रधानमन्त्री निवास र सिंहदरबारमा बेलाबेलामा बत्ती जाने गरेको छ”, कार्यकारी निर्देशक घिसिङले भने, “ अब ती क्षेत्रमा कहिल्यै बत्ती नजाने गरी काम गरिरहेका छौँ ।” उनले विद्युत् वितरणलाई भरपर्दो बनाउन अन्य क्षेत्रमा पनि विद्युत् नजाने गरी आफू लागिपरेको बताए। “अहिले साना प्रसारण क्षमताबाट वितरण भएको विद्युत्लाई भरपर्दाे र दिगो समाधानका लागि क्षमता बढाएर गुणस्तरीय बनाउन लागिरहेका छौँ”, कार्यकारी निर्देशक घिसिङले भने, “यसबाट बेलाबेलामा विद्युत् जाने समस्या हट्नुका साथै निरन्तर विद्युत् पनि दिन्छौँ ।” निकट भविष्यमै काठका पोल, शहरमा देखिएका नाङ्गा तार हटाइ जमीनमुनिबाट विद्युत् लाइन वितरण गरिनेमा जोड दिँदै उनले नेपालको जलविद्युत् परियोजनालाई विस्तार गरेर केही वर्षमा विद्युत् निर्यात गर्न सक्ने अवस्थामा पु¥याइने पनि बताए। राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद वलीले सरकारले थप जलविद्युत् परियोजना ल्याउन तयारी गरिरहेको जानकारी दिँदै जलविद्युत्मा वैदेशिक लगानी भित्र्याउनका लागि अहिले भइरहेका ऐन कानूनले समस्या परेकाले त्यसलाई संशोधन गरी वैदेशिक लगानी भित्र्याइने बताए। विद्युत्मा फड्को मार्न सकेमात्र मुलुकको विकास हुने भन्दै उनले ठूला परियोजनाबाट विद्युत् उत्पादनका लागि सरकारले वैदेशिक लगानी खोजिरहेको बताए। ऊर्जा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेले लोडसेडिङमुक्त भए पनि बिजुलीको गुणस्तर कामय गर्न नसकिएको बताए। रासस

साफ महिला च्याम्पियनसीप : नेपाल समूह ‘ए’ मा

काठमाडौँ। आगामी पुस २ देखि ११ गतेसम्म हुने साफ महिला च्याम्पियनसीप फुटबलमा नेपाल नेपाल समूह ‘ए’ मा परेको छ । बङ्गलादेशको ढाकामा बिहीबार सार्वजनिक गरिएको समूह चरणको लक्की ड्रमा नेपालसहित बङ्गलादेश, भुटान र पाकिस्तान समूह ‘ए’ मा परेका हुन्। समूह ‘बी’मा भारत, माल्दिभ्स र श्रीलङ्का छन् । भारतमा भएको पछिल्लो संस्करणमा नेपाल सेमिफाइनलमा भारतसँग पराजित हुँदै घर फर्केको थियो। त्यसअघिका संस्करणमा भने नेपाल अन्तिम चरणमा आएर भारतसँग पराजित हुँदै आएको थियो । प्रतियोगिताको आयोजक राष्ट्रको टुङ्गो भने अझै लागेको छैन । यसपटक हुने प्रतियोगिताको पाँचौ संस्करण हो। रासस

एक लिटर नेपाली लुब्रिकेन्ट किन्दा २०० रुपैयाँ देशलाई फाइदा हुन्छ-भोलेश्वर दुलाल

  भोलेश्वर दुलाल, प्रबन्ध निर्देशक, पूर्वाञ्चल ल्युव आयल भोलेश्वर दुलाल पूर्वी नेपालमा सफल उद्यमी हुन् । उनले स्थापना गरेका पूर्वाञ्चल ल्युव आयल, पूर्वाञ्चल पोलिमयर उद्योगका साथै विभिन्न ब्राण्डका लुब्रिकेन्ट, फेविकल, पेन्ट्स उत्पादन गर्दै आएको छ । उनको ट्रेडिङ कम्पनी सत्कार मेसिनरी कन्सर्नले किसानहरुलाई आवश्यक मेसिनरी सामानको व्यापार गर्छ । कोरियामा बनेको जेडआईसी लुब्रिकेन्सदेखि गाडीका स्पेयर पाट्स, टायर आयातको व्यापारमा पनि उनी जम्दै गएका छन् । उद्योग, व्यापारका साथै उनी सामाजिक काममा पनि सक्रिय छन् । दुलाल नेपाल जेसिसको पूर्व राष्ट्रिय अध्यक्ष समेत हुन् । प्रस्तुत छः उद्योग र व्यापारको अवस्थाबारे उनीसँग गरिएको विकास वहस । पूर्वाञ्चल ल्युव आयल उद्योगको अवस्था कस्तो छ ? हामीले विजनेश शुरु गरेको २६ वर्ष भयो । पूर्वाञ्चल ल्युव आयल उद्योग सञ्चालनमा आएको १९ वर्ष भयो । पूर्वाञ्चल ल्युव आयलले पीएलओ, स्टार र मेघा ब्राण्डका लुब्रिकेन्ट उत्पादन गर्दै आएको छ । पूर्वाञ्चल पोलिमयर उद्योगले फेविकल उत्पादन गर्छ । पूर्वाञ्चल ल्युव आयल हाम्रो धेरै मिहेनतमा स्थापना भएको हो । जतिबेला गल्फ लुब्रिकेन्टस् मात्र हुन्थ्यो, त्यतिबेला हामीले धेरै मिहेनत गरेर पूर्वाञ्चल ल्युव आयल स्थापना गरेका हौ । शुरुमा पीएलओ ब्राण्ड लुब्रिकेन्ट लिएर बजारमा जाँदा नेपाली ब्राण्ड बेच्दैनौ भन्थे डिलरहरुले । तर आज उनीहरुलाइ नेपाली ब्राण्ड नभई नहुने अवस्था आएको छ । स्थापनादेखि नै हामी कहिल्यै पनि आत्तिएनौ, मात्तिएनौं । अरु ब्राण्डभन्दा नेपाली ब्राण्डको मूल्य केही कम नै राख्यौं । गुणस्तरमा हामीले सम्झौता गरेनौं । पीएलओले नेपाल गुणस्तर चिन्ह पाएको छ । गुणस्तरीय व्यवस्थापन प्रणाली अन्तराष्ट्रिय स्तरको बनाएर आईएसओ २००१ लिने हाम्रो तयारी छ । नेपाली ब्राण्डमा हामी नम्बर वान भएका छौं । वर्षमा १०० करोड रुपैयाँ बराबरको लुब्रिकेन्ट बेच्छौं । हामी ४/५ प्रकारको ग्रिज बनाउँछौं । हाइड्रोलिक आयल, ट्रास्फर्मर आयल, स्पेन्डल आयल, कटिङ आयल, ब्रेक आयल, गेर आयल लगायत धेरै प्रकारका आयल बनाउँछौं । त्यस्तै पेट्रोल इन्जिन आयल, डिजेल इन्जिन आयल बनाउँछौं ।  विभिन्न नामका ८५ प्रकारका लुब्रिकेन्ट नेपालमै उत्पादन गर्छौ । एउटै कम्पनीले पीएलओ, मेगा, स्टार जस्ता फरक नामका ब्राण्ड उत्पादन गर्नुको कारण के हो ? हामीले एक ठाउँमा एउटा डिलर दिएपछि अर्को डिलर दिदैनौ । पीएलओ माग र बिक्री बढेपछि डिलरसिपको माग पनि एकदमै बढ्यो । नेटवर्क विस्तारले बजार विस्तारमा सहयोग नै गर्छ । हामीले नेटवर्क विस्तार र उत्पादनमा पनि विविधिकरण गर्ने योजनासहित हामीले स्टार ब्राण्ड बनायौ । आज स्टार ब्राण्डको लुब्रिकेन्ट नै वार्षिक २८ करोड रूपैयाँको बिक्री छ । त्यसपछि फेरि हाइग्रेडमा मेगा लुब्रिकेन्ट उत्पादन थालेका छौं । यो प्रडक्ट देशभर बिक्री शुरु गरेका छौं । यो ब्राण्ड किन्दै भन्न परेको छैन । बजारमा यसकाे माग राम्रो छ । उत्पादन वृद्धिको योजना के बनाउनु भएकाे छ ? १९ वर्ष अघि जडान गरिएका मेसिनहरु पुराना भए । प्रविधिमा पनि धेरै परिवर्तन आयो । त्यसैले हामीले हालै नयाँ मेसिन राखेको छौं । पहिलाको भन्दा १० गुणा बढी उत्पादन क्षमता भएको मेसिनहरु जडान गरेका छौं । मेसिन खरिदका लागि मात्र ७ करोड रूपैयाँ लगानी गरेका छौं । अटोमेटिक फिलिङ प्लान्ट, कुकिङ प्लान्ट, व्लेण्डिङ प्लान्ट सहित फूल अटोमेटिक प्लान्ट लगाईसकेको छौं । वर्षमा एक लाख किलोलिटर लुब्रिकेन्ट उत्पादन गर्न सक्छौं । अब वार्षिक ५०० करोड मूल्य बराबरको लुब्रिकेन्ट माग हुँदा पनि उत्पादन गर्न सकिन्छ । नयाँ प्लान्ट सञ्चालन गरिसकेका छौं । साथै, गुणस्तरमा विशेष ध्यान दिनको लागि क्यास्ट्रोलमा २८ वर्षसम्म काम गरेका अनुभवी केमेस्ट्री डा आँचल कान्ति मण्डललाई नियुक्त गरेका छौं । उनले काम थालेको पनि एक वर्ष भईसकेको छ । लुब्रिकेन्ट बजारमा पीएलओको हिस्सा कति हो ? मूल्यको आधारमा नेपालमा १४ अर्ब रुपैयाँ बराबरको लुब्रिकेन्ट खपत हुन्छ । कुल बजारमा नेपाली उत्पादनको हिस्सा २८ प्रतिशत छ । नेपाली प्रडक्टको बजारलाई १०० प्रतिशत आधार मान्ने हो भने पीएलओको बजार ३२ प्रतिशत छ । सबै लुब्रिकेन्टको बजारमा पीएलओको हिस्सा ८ प्रतिशत रहेको छ । नेपाली उत्पादन र विदेशी उत्पादनबीच प्रतिस्पर्धा कस्तो छ ? मूल्य, गुणस्तर, बजारमा सहज उपलब्धता लगायत सबै हिसावले पीएलओ सबैभन्दा राम्रो ब्राण्ड हो । तर नेपालमा उपभोक्ताले आफ्नो छनोटमा लुब्रिकेन्ट मोटरमा हाल्न पाएका छैनन् । सिप्रदीबाट गाडी किनेकाले म्याक नै हाल्नुपर्ने बाध्यता सिर्जना गरिएको छ । टाटाको गाडीमा म्याक नै हाल्नुपर्छ, म्याक नहाले गाडीको इन्जिनमा हामी ग्यारेन्टी लिदैनौ भनेर उपभोक्तालाई बल्याकमेलिङ गरिराखेको छ । बजार वाईक बेच्दै आएको गोल्छाले सर्भो लुब्रिकेन्ट ल्याएर त्यसै गरेको छ । सर्भो नहाले मोटरसाईकलमा ग्यारेन्टी हुँदैन भनिरहेको छ । त्यस्तै, होण्डाले होण्डा आयल ल्याएर त्यसरी नै उपभोक्तालाई किन्न वाध्य बनाएको छ । गाडी विक्रेतालाई यसरी उपभोक्तालाई वाध्यतामा राखेर लुब्रिकेन्ट बेचिरहेका छन् । यो गलत अभ्यास हो । यसले उपभोक्ताको मौलिक अधिकार खोसेको छ । यस विषयमा हामीले सरकारको ध्यानाकर्षण गराएका छौं । सरकारले नयाँ नियमावली ल्याएर यस्तो गलत काम रोक्छौं भनेको छ । सरकारले यस्तो नियम ल्याएर लुब्रिकेन्टको ग्रेडको आधारमा प्रयोग गर्न पाउने अधिकारी उपभोक्तालाई दिने हो भने नेपाली प्रडक्टको खपत धेरै बढ्छ । अहिले पनि विदेशी लुब्रिकेन्ट र नेपाली लुब्रिकेन्टको एमआरपी उस्तै हुन्छ । तर विदेशी ब्राण्ड बेच्नेले एमआरपीमा नै बेचिरहेका छन् । तर डिलरलाई ३० प्रतिशतसम्म छुट दिएका हुन्छौं । डिलरले रिटेलरलाई ३० प्रतिशत छुट दिएको हुन्छ । २० प्रतिशतसम्म छुट दिएका छौं । नेपाली ब्राण्ड बिक्री हुँदा तीन तहमा नेपालीले फाइदा लिएको हुन्छन् । यसबाट धेरै नेपालीले राम्रो आम्दानी पनि गरेको छन् । रोजगारीको अवसर सिर्जना गरेको छन् । प्रत्यक्ष अप्रत्यक्ष रुपमा सरकारलाई ठूलो मात्रामा कर आम्दानी भएको छ । नेपाली उत्पादन बिक्री हुँदा प्रतिकेजीमा १०० रुपैयाँ विदेश जान्छ भने विदेशी ब्राण्ड बिक्री गर्दा प्रतिकेजी ३०० रुपैयाँ विदेश जान्छ । त्यसले न रोजगारी सिर्जना गरेको छ न नेपालीलाई राम्रो फाइदा दिएको छ । उपभोक्ताले एक लिटर नेपाली लुब्रिकेन्ट किन्दा २०० रुपैयाँ देशलाई फाइदा हुन्छ । यस्तो जानकारी भएका उपभोक्ताले नेपाली लुब्रिकेन्ट प्रयोग गर्न सक्छन् ? विभिन्न कम्पनीहरुले ५ वर्ष, ८ वर्ष वा १० वर्ष वारेन्टी गरेर सवारी बेचेका हुन्छन् । त्यो वारेन्टी अवधि भर गाडी बेच्ने कम्पनीले नै बेच्दै आएको लुब्रिकेन्ट मात्र किन्न उपभोक्तालाई वाध्य पारिएको छ । वारेन्टी अवधि सकिएपछि उपभोक्ता आफ्नो रोजाई अनुसारको वर्कशपमा गएर सर्भिस गराउन थाल्छन् । त्यतिबेला उनीहरुले आफ्नो रोजाई अनुसारको लुब्रिकेन्ट प्रयोग गर्न पाउँछन् । हामीले बजारमा भएको यस्तो ठगी रोक्न सरकारसँग लविङ गर्दै आएका छौं । हालै अर्थमन्त्री युवराज खतिवडासँग पनि यस विषयमा गम्भिर छलफल भयो । उहाँले नेपाली उद्योगलाई प्रवद्र्धन गर्ने, नेपाली उत्पादनलाई प्रयोग गर्न प्रोत्साहित गर्ने र उपभोक्तालाई खरिदमा छनौटको अधिकार सुरक्षीत बनाउने गरी काम गर्छु भन्नु भएको छ । रातो कितावमा नेपाली उत्पादन १० प्रतिशत महँगो भए पनि नेपाली नै प्रयोग गर्ने भनिएको छ । त्यो कार्यान्वय गर्न नियमावली जारी भएको छैन । अर्थमन्त्रीले छिट्टै नियमावली बनाएर जारी गर्छु भन्नु भएको छ । नेपाली उत्पादन सरकारी कार्यालयले नकिन्ने समस्या छ । नेपाली लुब्रिकेन्ट प्रतिलिटर ४०० रुपैयाँमा किन्न पाइन्छ । तर सरकारी कर्मचारीले प्रतिलिटर ७०० रुपैयाँ पर्ने विदेशी लुब्रिकेन्ट किन्छन् । किनकी उनीहरुले त्यसमा कमिशन पाएछन् । सरकारी कर्मचारीहरुले कतिसम्म बद्मासी गरिरहेका छन् भने १००० लिटरको विल बनाउने, ५०० लिटर किनेको छ । १००० लिटरको विल बनाएर लिन्छन् । एकातिर कमिशन पाउँछन् अर्कोतिर खरिद बिल बढीको बनाएर दोहोरा लाभ लिन्छन् । विदेशी कम्पनीसँग एमआरपीमा किन्छन् । नेपाली कम्पनीले एमआरपीमा २० प्रतिशत छुट दिदाँ पनि किन्दैनन् । यस्तो कमिशन खेलको हामीले खुलेर विरोध गरेको छौं । मन्त्रीलाई, तीनै तहका जनप्रतिनिधिहरुलाई कमिशनको खेल, अटोमोवाईल व्यवसायीले उपभोक्तालाई ठगेको कुरा राखेको छौं । खासगरी हामीले अर्थमन्त्री युवराज खतिवडाबाट यो विषयमा बढी सहयोगको अपेक्षा गरेका छौं । नेपाली लुबिकेन्टले प्रयोग गर्ने मुलभूत कच्चा पदार्थ विदेशबाट नै आयात हुन्छ । तयारी बस्तु उपत्पादन हुन्दा कति प्रतिशत उपयोगिता बढ्छ ? न्यूनतम १०० देखि १५० प्रतिशतसम्म भ्यालु एड भएको हुन्छ । सरकारले १० प्रतिशत मात्र भ्यालु एड भयो भने पनि उद्योग मान्ने भनेको छ । बेस आयल मात्र आयात हुने हो । बट्टा नेपालमा बन्छ । कार्टुन नेपालमा बन्छ । स्टीकर नेपालमा बन्छ । व्लेण्डिङ यहि हुन्छ । नेपाली श्रमिकले काम गर्छन् । नेपालको बिजुली खपत हुन्छ । पीएलओ कै कुरा गर्दा २०० भन्दा बढी कर्मचारीको तलब पाउँछन् । देशभरका डिलर, रिटेलर, तिनका कर्मचारी, उनीहरुको परिवार पालिएका छन् । सरकारले कर पाउँछ । कम्पनीले नाफा लिन्छौं । मूल्यको हिसावले १५० प्रतिशतसम्म भ्यालु एड हुन्छ र पनि विदेशी लुब्रिकेन्ट भन्दा सस्तो मूल्यमा उपभोक्ताले नेपाली लुब्रिकेन्ट प्रयोग गर्न पाएका छन् । पीएलओ लुब्रिकेन्ट निर्यातकाे तयारी भएकाे छ  ? हामी तत्काल नजिकका देशहरुमा निर्यातको तयारीमा छौं । बंगलादेश, पाकिस्तान, बुटान, श्रीलंका, माल्दिभ्स, वर्मा लगायत १० वटा देशहरुमा नियातको तयारी गरिरहेका छौं । धेरै ठाउँमा वितरक तयार पनि गरेका छौं । हामीले ती देशहरुमा विभिन्न तहमा सर्भे गरेको छौं । हाम्रो प्रतिस्पर्धी क्षमताको विश्लेषण गरेको छौं । नेपाली लुब्रिकेन्ट विदेशमा प्रतिस्पर्धी हुनुको आधार के के हुन् ? विभिन्न ६३ देशमा बनेका लुब्रिकेन्ट नेपालमा बिक्री भएका छन् भने नेपाली ब्राण्ड विदेशमा नजाने कुरै भएन । विदेशी लुब्रिकेन्ट भन्दा नेपाली लुब्रिकेन्टको मूल्य २० प्रतिशत सस्तो छ । नेपाली श्रमिक सस्तो छ । नेपालमा बिजुली सस्तो छ । यसले हाम्रो उत्पादन लागत कम हुन्छ । सरकारले पनि निर्यातका लागि इन्सेन्टिभ दिएको छ । हामीलाई बढी मूल्य तिर्नु पर्ने भनेको ढुवानी भाडामा मात्र हो । भाडा कम गर्नको लागि हामीले बेस आयल ल्याउने कन्टेनरबाट नै तयारी लुब्रिकेन्ट निर्यात गर्ने तयारी गरेका छौं ।

निर्मला पन्तलाई न्याय माग्दै नेकपाका कार्यकर्ता सडकमा

काठमाडौं । कञ्चनपूरमा बलत्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई न्याय माग्दै नेकपाका कार्यकर्ता सडकमा उत्रिएका छन् । शुक्रबार नेकपाको भातृ संगठन अनेरास्ववियुको सरस्वति क्याम्पस कमिटीले ठमेल-लैनचौर क्षेत्रमा जुलुस निकाल्यो । सैयौं युवा विद्यार्थी सहभागी भएको जुलुसलाई नेकपा केन्द्रिय सदस्य दिलु कुमारी पन्त, अनेरास्ववियुका केन्द्रिय सचिव सुदेश पराजुली लगायतले सम्बोधन गरेका थिए । नेकपा केन्द्रिय सदस्य दिलुकुमारी पन्तले बलत्कार तथा हत्या जस्ता जघन्य अपराधमा संलग्नहरुलाई महिनौंसम्म पक्रेर कारवाही गर्न नसक्नु दुई तिहाई बहुमत प्राप्त बामपन्थी सरकारका लागि लज्जाको बिषय भएको बताइन् । उनले आधा आकाश ढाक्ने महिलाहरु असुरक्षित रहने मुलुकमा शान्ति सुरक्षाको प्रत्याभूति कसरी सम्भव छ भन्ने प्रश्न समेत गरेकी थिइन् । सरकारले अपराधीलाई पक्रन नसकेको हो वा पक्राउ गर्न नचाहेको हो नागरिक दुविधामा परेको उनको आरोप थियो । अनेरास्ववियुका केन्द्रिय सचिव सुदेश पराजुलीले कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज बिष्टलाई तत्काल पक्राउ गर्न अनुरोध गरे । उनले बिष्टलाई २४ घण्टा भित्र पक्राउ गरेर कारवाही नथाले देशैभर आन्दोलन गर्ने चेतावानी पनि दए । सरकार निर्मलाले न्याय कहिले पाउँछिन भन्ने ब्यानरमा प्रर्दशन गरेका उनीहरुले हत्यारालाई फाँसी दे, महिला हिंसा बन्द गर लगायतका नारा लगाएका थिए । दुई तिहाई बहुमत प्राप्त सरकारले बलत्कार तथा हत्या जस्तो गम्भिर अपराधमा संलग्नलाई महिनौंसम्म पक्राउ गर्न नसक्नुले नागरिकमा सरकार र न्याय प्रति नै अविश्वास पैदा भएको अनेरास्ववियुका केन्द्रिय सदस्य अशोक थापाले बताए ।

स्वास्थ्य क्षेत्रमा बन्द, हड्ताल वर्जित

काठमाडौं । सर्वोच्च अदाततले स्वास्थ्य सेवा बन्द हड्तालजस्ता कार्य नगर्न नेपाल चिकित्सक सङ्घको नाममा आदेश जारी गरेको छ ।न्यायाधीश दीपकराज जोशीको एकल इजलासले स्वास्थ्य सेवाजस्तो आधारभूत क्षेत्रमा बन्द हडताल नगर्ने सङ्घको नाममा आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, “सङ्घको भदौ २६ गतेदेखि स्वास्थ्य सेवा बन्द गर्ने भनिएको निर्णय अर्को आदेश नभएसम्म तत्काल कार्यान्वयन नगर्ने नगराउनु ।” उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट अधिवक्ता विष्णुप्रसाद तिमिल्सनाले स्वास्थ्य क्षेत्रजस्तो आधारभूत क्षेत्रमा बन्द हड्ताल गर्न नहुने भन्दै रिट निवेदन दायर गरेका थिए। सङ्घले मुलुकी अपराध ९संहिता० ऐन २०७४ संशोधनका विषयलाई लिएर आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । सरकार र सङ्घबीच वार्तापछि पाँचबुँदे सहमति भएको थियो ।

दर्जनौ पुल आयोजना अलपत्र पार्ने विवादास्पद पप्पु कन्ष्ट्रक्सन राष्ट्र बैंकको भवन बनाउन छनौट

काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त नेपाल राष्ट्र बैंकको भवन बनाउन विवादस्पद पप्पु कन्ट्रक्सन कम्पनी प्राइभेट लिमिटेड प्राविधिक रुपमा छनौट भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले बोलपत्र आब्हान गर्दा भाग लिने मध्ये पप्पुलगायत १२ निर्माण व्यवसायी प्राविधिक रुपमा पास भएका छन् । पप्पुले एसआरबीसीसंगको संयुक्त उपक्रम (जेभी) संग बोलपत्र पेश गरेको आयोजना कार्यान्वयन इकाईले जनाएको छ । धरहराको सुपरीवेक्षणको काम गर्नका लागि छनौट भएको पप्पुले राष्ट्र बैंकको भवन बनाउन प्राविधिक रुपमा सक्षम प्रमाणपत्र सरकारबाट पाएको छ ।आर्थिक प्रस्ताव खोल्न बाँकी रहेको आयोजना कार्यान्वयन इकाईले जनाएको छ । आर्थिक प्रस्तावमा सबैभन्दा सस्तो दर भएमा पप्पुले राष्ट्र बैंकको भवन निर्माणको ठेक्का पाउने छ । पप्पुले ठेक्का पाएमा राष्ट्र बैंकको भवन निर्माण पनि अनिश्चित बन्नेछ । आयोजना कार्यान्वयन इकाईले असोज ५ गते बिहान ११ बजे आर्थिक प्रस्ताव खोल्ने जानकारी दिएको छ । सबैभन्दा कम दर प्रस्ताव गरेको पाइएमा पप्पुले राष्ट्र बैंकको भवन बनाउने ठेक्का पाउने छ । पप्पुले ठेक्का पाएका कुनै पनि आयोजना निर्धारित समयमा सकिएको छैन् । पप्पुमाथि गुणस्तरहीन काम गरेको आरोप लाग्दै आएको छ । उसले ७ किलोमिटर भन्दा बढी लामो पुल अायाेजनाकाे ठेक्काको काम गर्न बाँकी रहेको छ । पप्पुले वर्षोदेखि पुल निर्माण अलपत्र पारेर छाडेको छ । पप्पु कन्ष्ट्रक्सन संघीय समाजवादी फोरमका अध्यक्ष हरिनारायण रौनियारको हो । उनले हालै एक दैनिक अखवारमा अन्तरवार्ता दिदै पप्पुमाथि लागेको आरोप सत्य नभएको दावी गरेका छन् । अहिले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले पप्पुले लिएका आयोजनाको अध्ययन गरिरहेको छ । अध्ययन प्रतिवेदन आएपछि कार्वाही प्रक्रिया अघि बढाउने मन्त्री रघुवीर महासेठले बताएका छन् । राष्ट्र बैंकको भवन बनाउन प्राविधिक प्रस्ताव पास हुनेमा क्यापसिटी गौरी पार्वती जेभी, कुमार सीएफसी जेभी, सीआर ५ स्वच्छन्द जेभी, जीआईएसी, शर्मा लाभा जेभी, जेटिक रमन जेभी रहेका छन् । प्राविधिक रुपमा सफल हुने अन्य कम्पनीमा सीसो समानन्तर जेभी, बीएलके रसुवा रोशन जेभी, एसआरबीसी पप्पु जेभी, चाइना रेल्वे गजुरमुखी जेभी, बिल्ल कन्टेक जेभी, तँदी केसी जेभी र बीकोइ हेविइ जेभी रहेका छन् ।