आर्थिक पत्रकारलाई जीवन बीमा तालिम
काठमाडौं । इकोनोमिक मिडिया सोसाइटी नेपाल र नेशनल एकेडेमी फर फाइनान्सियल सर्भिसेज(नाफ्स)ले जीवन बीमा सम्बन्धि एक दिने अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक पत्रकारहरुलाई जीवन बीमा सम्बन्धि समाचार सम्प्रेषण गर्दा ध्यान दिनुपर्ने बिषयलाई लक्षित गरेर उक्त दुई संस्थाले संयुक्त रुपमा सो तालिमको आयोजना गरेको हो । यस्ता समस्या समाचारमा न्युनीकरण गराउने उदेश्यले उक्त तालिमको आयोजना गरिएको नाफ्सका अध्यक्ष रमेशकुमार भट्टराईले बताएका छन् । उनले जीवन बीमा सम्बन्धि समाचार सम्प्रेशन गर्दा पत्रकारिताको भूमिकाबारे प्रशिक्षण दिएका छन् । अध्यक्ष भट्टराईले बीमा क्षेत्रमा काम गर्ने पत्रकारहरुलाई बीमासँग जोडिएका बिषयमा अध्ययन गर्न सुझाब दिए । बैंक भन्दा बीमासँग जोडिएका समाचार लेख्न कठिन हुने बताउँदै उनले प्राविधिक बिषय बुझेर मात्र समाचार लेख्न सुझाव दिएका छन् । अन्यथा आम पाठक तथा लगानीकर्तामा गलत सन्देश जाने उनले बताए । त्यस्तै कार्यक्रममा नाफ्सका संचालक कमल पन्थीले जीबन बीमा व्यवसायका बारेमा पत्रकारहरुले जान्नुपर्ने प्राबिधिक बिषयबारे प्रस्तुति दिए । नेपालमा बीमा व्यवसायको अवस्थालाई विश्व बजारसँग तुलना गर्दै पन्थीले बीमा व्यवसायको अवसर र चुनौतीबारे बताएका छन् । त्यसैगरी, नाफ्सका संचालक रामेश्वर श्रेष्ठले बीमा कम्पनीहरुले सार्वजनिक गर्ने वित्तीय विवरण विश्लेषण गर्ने तरिकाबारे प्रस्तुति दिए । उनले बीमा कम्पनीले सार्वजनिक गर्ने वित्तीय विवरणमा उल्लेख हुने विभिन्न शिर्षकहरु र त्यसको प्रभाव तथा सूचकहरुको गणना विधीबारे जानकारी दिएका छन् । कार्यक्रममा इम्सनका अध्यक्ष रामकृष्ण पौडेलले यस किसिमका तालिम तथा अन्तरकृया कार्यक्रमले आर्थिक पत्रकारहरुलाई बीमा व्यवसायको समाचार सम्प्रेषण गर्न सघाउने धारणा राखेका थिए । उनले सम्बन्धित क्षेत्रका विज्ञहरुबाट आयोजना हुने यस किसिमका अन्तरकृया कार्यक्रमले आर्थिक क्षेत्रमा काम गर्ने पत्रकारहरुको लेखन क्षमता अझ बढाउने र सम्बन्धित क्षेत्रबारे सहि समाचार सम्प्रेषण हुने बताएका छन् । त्यस्तै, इम्सनका सदस्य परमेश्वर अधिकारीले यस अन्तरक्रियाबाट जीवन बीमाको प्राविधिक र आर्थिक विषयवस्तुका बारेमा अनलाइन क्षेत्रमा कार्यरत पत्रकारहरूका लागि निकै फलदायी रहेको बताएका छन् । कार्यक्रममा इम्सनमा आबद्ध बिकास न्युज, मेरोलगानी, बिजपाटी डटकम, बिजशाला, कर्पोरेट नेपाल, आर्थिक न्युज, बिजखबर लगायतका आर्थिक मिडियाहरुमा कार्यरत २० जना आर्थिक पत्रकारहरुको सहभागीता थियो । आर्थिक विषयमा केन्द्रीत भई सञ्चालन हुँदै आएका ‘आर्थिक मिडिया’ हरुको साझा हितका विषयमा काम गर्ने लक्ष्यसहित ‘इकोनोमिक मिडिया सोसाईटी नेपाल’ले काम गर्दै आएको छ । त्यस्तै, बैंक, बीमा, पूँजी बजार, सहकारी क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ नेशनल एकेडेमी फर फाइनान्सियल सर्भिसेज् नाफ्सले सक्रियता बढाउँदै आएको छ ।
बजार घट्दाको असर, विकास बैंकका सेयर १०० रुपैयाँ नजिक
काठमाडौ । सेयर बजार निरन्तर ओरालो लाग्दा विकास बैंकको सेयर मूल्य पनि घटेर प्रतिकित्ता १०० रुपैयाँ नजिक पुगेका छन् । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सुचिकृत ३३ वटा विकास बैंक मध्ये एकाध बाहेक धेरैको सेयर आधारभूत मूल्य अर्थात् १०० रुपैयाँको हाराहारीमा झरेको छ । आधारभूत मूल्यभन्दा माथि नजाँदा अधिकांश लगानीकर्तालाई निराश बनाएको छ । लामो समयदेखि सेयर कारोबारमा संलग्नलाई पछिल्लो बजार मूल्यले निराश बनाएको छ भने नयाँ लगानीकर्तालाई यसले लगानी गर्नका लागि अवसर प्रदान गरेको छ । बजार तल्लो बिन्दुमा झर्दा नयाँ लगानीकर्तालाई सेयर कारोबारमा प्रवेश गर्न सहज हुन्छ । स्टकमा सूचीकृत एक्सेल विकास बैंकको सेयर प्रतिकित्ता ३१३ मा कारोवार भएको छ । गत वर्षको भदौ अन्तिम साता सो विकास बैंकको सेयर ४७१ रुपैयाँमा कारोबार भएको थियो । यस्तै काबेली विकास बैंकको प्रतिकित्ता २९८, कैलाश विकास बैंकको २२९, मितेरी डेभलपमेन्ट बैंकको २७५ र मुक्तिनाथ विकास बैंकको प्रतिकित्ता ३९२ रुपैयाँमा कारोबार भएको छ । गत वर्ष मुक्तिनाथको सेयर ५८६ मा कारोबार भएको थियो । यस्तै सहयोगी विकास बैंकको सेयर प्रतिकित्ता २१५ मा कारोबार भइरहेको छ । गत वर्ष प्रतिकित्ता ३४६ मा कारोबार भएको सो बैंकको सेयरमा समेत घटबढ भएको छ । साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सेयर प्रतिकित्ता २८५ रुपैयाँमा कारोबार भएको छ । सो बैंकको गत वर्ष ३८७ रुपैयाँमा कारोबार भएको थियो । नेप्सेमा सूचीकृत सबै विकास बैंकको तथ्याङ्क हेर्ने हो भने सेयरको अवस्था एकदमै खराब देखिन्छ । अघिल्ला वर्षमा लगानीकर्तालाई राम्रो प्रतिफल दिएका विकास बैंकको सेयर बजारको चक्रका आधारमा ओरालो लागेर न्यून बिन्दुमा कायम भएका छन् । भार्गव विकास बैंकको सेयर १२६ मा कारोबार भएको छ । गत वर्ष पनि सो बैंकको अवस्था राम्रो थिएन । गत वर्षको भदौ अन्तिम साता सो बैंकको सेयर २६५ मा खरिद बिक्री भएको थियो । कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर १०१ रुपैयाँमा कारोबार भएको छ । गत वर्ष १४७ रुपैयाँ थियो । राम्रो मानिएकोमा देव विकास बैैंकको सेयर समेत १२९ मा झरेको छ । गत वर्ष सो बैंकको सेयर २४९ रुपैयाँमा कारोबार भएको थियो । गण्डकी विकास बैंकको १९५, गरिमा विकास बैंक १९२, ग्रीन डेभलपमेन्ट बैंक १२६, हाम्रो विकास बैंक १३३, ज्योति विकास बैंक १४४, कामना सेवा विकास बैंक १४५, कञ्चन डेभलपमेन्ट बैंक १९७, कन्काई विकास बैंक १२६, लुम्बिनी विकास बैंक १५३ तथा कर्णाली डेभलपमेन्ट बैंक १०२ रुपैयाँमा कारोबार भइरहेको छ । महालक्ष्मी विकास बैंक १९१ पूर्णिमा विकास बैंक १६८, सहयोगी विकास बैंक २१५, सप्तकोशी डेभलपमेन्ट बैंक ११२, साँग्रिला डेभलपमेन्ट बैंक १४८, सिन्धु विकास बैंक ११९ र वेस्टर्न डेभलपमेन्ट बैंकको २३१ मा कारोबार भएको छ । विकास बैंक एसोसिएसनका अध्यक्ष भरत ढकाल विकास बैंकको कारोवार तथा वासलात एकाधको बाहेक धेरैको राम्रो रहेको बताउछन् । सेयर बजारमा उतारचढाव आउँदा त्यसबाट अरु क्षेत्र जस्तै विकास बैंक समूहसमेत प्रभावित भएको छ । बजार बढाउने वा घटाउने विषय आफूहरुको नभएको जानकारी दिँदै अध्यक्ष ढकालले भन्ने, “ग्रामीण क्षेत्रमा हामीले वित्तिय सेवा दिएका छौँ । सेयर बजार कहिले बढ्छ कहिले घट्छ यो सामान्य प्रक्रिया हो । हामी आत्तिएका छैनौँ ।” बजारका जानकारका अनुसार नयाँ लगानीकर्तालाई भने लगानीको सुवर्ण अवसर प्राप्त भएको छ । सेयर विश्लेषक प्रकाश तिवारी दीर्घकालीन फाइदाका लागि भने बजार घटेको बेला सेयर खरिद गर्दा राम्रो बताउछन् । रासस
गोर्खाज फाईनान्सले पायो बजार निर्माता इजाजत पत्र, राष्ट्रिय तथा नागरिक बचतपत्रको कारोबार गर्ने
काठमाडौँ । गोर्खाज फाईनान्स लिमिटेडले नेपाल राष्ट्र बैंकबाट बजार निर्माता इजाजत पत्र प्रदान गरेको छ । उक्त इजाजत पत्र पाएसँगै अब गोर्खाज फाईनान्सले राष्ट्र बैंकद्धारा जारी राष्ट्रिय बचतपत्र र नागरिक बचतपत्रको प्राथमिक तथा दोस्रो बजार कारोबार गर्न पाउने छ । साथै, फाइनान्सले बैदेशिक रोजगार बचतपत्रको दोस्रो बजार कारोबार गर्न पाउने संस्थाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । काठमाडौंको डिल्लीबजारमा केन्द्रिय कार्यालय रहेको यस संस्थाको चुक्तापुँजी ८७ करोड रुपैयाँ रहेको छ । फाईनान्सले हाल २२ वटा शाखा बाट वित्तीय सेवा दिँदै आएको छ ।
मूख्य मन्त्रीको प्रश्नः चरेशको थालमा मार्सी चामलको भात खाने प्रदेशका जनता कसरी गरिब ?
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चरेशको थालमा मार्सी चामलको भात खाने जनता गरिब हुनै नसक्ने बताएका छन् । राजधानीमा पत्रकार सम्मेलन गर्दै मूख्यमन्त्री शाहीले भने, मार्सी धानको चामलको भात खाने मानिसहरु कसरी गरिब हुनसक्छ ? चरेसको थालमा भात खाने मानिस कसरी गरिब हुन्छ ? संसारमा नभएका प्राकृतिक जडिबुटी कर्णालीमा पाईन्छ, कर्णाली धनीहरुको प्रदेश हो ।’ कर्णाली प्रदेशको परिचय बदल्नको लागि केही समय लाग्ने बताउँदै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सम्पूर्ण रुपमा धनी प्रदेश भएको दाबी गरे । उनले भने,‘कर्णाली प्रदेश स्वर्ग हो । प्राकृतिक, भौगोलिक, साँस्कृतिक र उत्पादन यी सबै रुपमा कर्णाली प्रदेश अब्बल छ । केही विकास, स्वास्थ्य र शिक्षाको अभाव छ । तर बाहिर भनेजस्तै कर्णाली प्रदेश गरिब छैन्, धनी छ ।’ विगतमा कर्णालीको दयनीय तस्बिर बेचेर डलर कमाउनेहरुको कब्जामा कर्णाली रहे पनि अब त्यसबाट मुक्त भैसकेको जनाउँदै उनले भने,‘अब कर्णाली प्रदेशलाई आत्मनिर्भर बनाउन हामीले योजनाहरु अघि सारेका छौं । यो प्रदेशमा वार्षिक रुपमा ५ सय क्विन्टल चामलको खाँचो हुदोरहेछ, अब त्यो अभावलाई पूर्ति गर्नको लागि प्रदेशमै उत्पादन बढाउनुपर्छ भनेका छौं ।’ मूख्य मन्त्री शाहीले प्रधानमन्त्री केपी ओलीसँग प्रदेश सरकारहरुको कुनै द्धन्द्ध नरहेको पनि स्पष्ट पारे ।
चीनसंग भएका सहमती कार्यान्वयन गर्न उर्जा मन्त्रालयले थाल्यो पहल
काठमाडौं– नेपाल र चीनबीच बनेको उर्जा संयन्त्रको पहिलो बैठकको मिति तय भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको गत जुनमा भएको चीन भ्रमणको बेला दुई देशबीच उर्जा सम्झौतामा हस्ताक्षर भएको थियो । नेपालका उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र चीनका उर्जामन्त्री नुर बेक्रीले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । समझदारीअनुसार दुवै देशले उर्जा क्षेत्रलाई मध्यनजर गरेर संयुक्त कार्यान्वयन संयन्त्र बनाउने सहमती भएको थियो । नेपालले उक्त सम्झौतालाअनुसार नै सात सदस्यिय संयन्त्र निर्माण गरेको छ । त्यसको सहअध्यक्षमा उर्जा सचिव अनुपकुमार उपाध्याय रहेका छन् । समितिमा उर्जा महाशाखा हेर्ने सह–सचिव, उर्जाकै कानुन हेर्ने सहसचिव,परराष्ट्रमन्त्रालयको चीन महाशाखा हेर्ने सहसचिव,विद्युत विकास विभागका महानिर्देशक,नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक सदस्य रहने र उर्जा मन्त्रालयकै सीडीई बावुराम अधिकारी सदस्य सचिव रहेका छन् । उर्जामन्त्री पुनले चीनसंग भएका सहमतीलाई अघि बढाउन संयन्त्रको बैठक बोलाउन निर्देशन दिएपछि त्यसको मिति समेत तय भएको छ । नेपालले गरेको बैठकको प्रस्तावमा चीनले सहमती जनाइसकेको छ । दुवै पक्षको सहमतीअनुसार आगामी सेप्टेम्बर २७ र २८ गते संयन्त्रको पहिलो द्धिपक्षीय बैठक काठमाडौंमा टुंगो लागेको छ । चिनिया पक्षले बैठकमा सहभागीता जनाउनु अघि एजेण्डा पठाउन नेपाली पक्षसंग आग्रह गरेको छ । उर्जामन्त्री बर्षमान पुनसहित उर्जामन्त्रालयका उच्च अधिकारी सम्मेलित आईतबार बसेको बैठकले चीनलाई पठाउने एजेण्डा समेत तय गरिसकेको छ । बैठकमा दुईदेशबीच अन्र्तदेशिय प्रशारणलाइन र ग्रिड कनेक्शन, दुई देशको बीचमा जोइन्ट भेन्चरमा निर्माण गर्न सकिने सम्भावित जलविद्युत परियोजना र उर्जा क्षेत्रमा गर्न सकिने अन्य सम्भावनाबारे छलफल हुनेछ । त्यसैगरी गत २१ जुनमा भएको प्रधानमन्त्रीको चीन भ्रमणको बेला नेपालले पठाएका सात वटा जलविद्युत आयोजना र ६ वटा प्रशारणलाइनलाई अघि बढाउने विषयमा समेत बैठकमा छलफल हुने उर्जामन्त्रीका पुनका प्रेस संयोजक रोशन खड्काले जानकारी दिए । उर्जामन्त्री पुन त्यसलगत्तै चीन भ्रमणमा जाने कार्यसुची समेत छ । चिनिया समकक्षी नुर बेक्रीको निमन्त्रणामा मन्त्री पुन आगामी अक्टोबरमा चीन जाने कार्यक्रम छ । उहाले चीन भ्रमणको क्रममा आफ्ना चिनिया समकक्षीसंग द्धिपक्षीय वार्ता गर्नुका साथै ‘वेल्ट एण्ड रोड इनर्जी मिनिस्ट्रियल कन्फ्रेन्स’ मा समेत भाग लिने कार्यक्रम छ ।
ज्योति विकास बैंकले ८ प्रतिशत नगद लाभांश दिने, सेयर मूल्य घट्याे
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले सेयरधनीलाई ८.४० प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले गत आव २०७४/७५ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको सो मात्रा अर्थात २१ करोड ८० लाख ६२ हजार ७५३ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव भदौ २४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । साथै, बैंकले उक्त नगद लाभांशबाट प्राप्त हुने रकमबाट खण्डिकृत सेयरमा रहेको भिन्न अंक थप गरी पूर्ण सेयर कायम गर्ने भएको छ । हकप्रद सेयर वितरण गरेपछि प्राप्त हुन बाँकी सेयरधनीहरुको खण्डिकृत अवस्थित भिन्न रकम तथा कर बापत बुझाउनु पर्ने रकम कट्टा गरेर बाँकी रकम मात्र सेयरधनीहरुलाई वितरण गर्ने बैंकले जनाएको छ । बैंकले नगद लाभांश घाेषणा गरेपछि यसकाे सेयर मूल्य घटेकाे छ । अाइतबार प्रति कित्ता १४४ रूपैयाँमा काराेबार भएकाे यस बैंककाे सेयर साेमबार झरेर १३६ रूपैयाँमा काराेबार भएकाे छ । चुक्ता पुँजी २ अर्व ६० करोड रुपैयाँ पुगिसकेकाे अवस्थामा बैंकले सेयरधनीलार्इ नगद लाभांश दिने निर्णय गरेकाे हाे । बाेनस सेयर नपाउने भएपछि लगानीकर्तामा निरासा देखिएकाे सेयर मूल्यले संकेत गरेकाे छ ।
साफ च्याम्पियनसिप नेपालको भेट माल्दिभ्ससँग
काठमाडौं । बङ्गलादेशको राजधानी ढाकामा जारी साफ च्याम्पियनसिपको सेमिफाइनलमा बुधबार नेपालले माल्दिभ्ससँग खेल्ने भएको छ । गोलाप्रथाद्वारा माल्दिभ्स समूह ‘बी’को उपविजेता बनेपछि नेपालको भिडन्त माल्दिभ्ससँग हुने भएको हो । समूह ‘ए’बाट नेपाल समूह विजेता बन्दै सेमिफाइलन प्रवेश गरेको हो । त्यसैगरी भारत समूह ‘बि’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । भारतले समूह ‘ए’को उपविजेता पाकिस्तानसँग खेल्नेछ । समूह ‘बी’ मा रहेका माल्दिभ्स र श्रीलङ्काले एक खेलमा पराजय र एकमा बराबरी खेलेपछि गोलाप्रथाद्वारा समूह उपविजेता छानिएको थियो । अब नेपालले फाइनल प्रवेशका लागि माल्दिभ्ससँग आगामी बुधबार ३ः४५ बजे ढाकास्थित बङ्गबन्धु रङ्गशालामा प्रतिपर्धा गर्नेछ । दोस्रो सेमिफाइनलमा सोही दिन साँझ ७।४५ बजे भारत पाकिस्तानसँग खेल्नेछ । समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग २–१ ले पराजित भएको नेपालले भुटानलाई ४–० र बङ्गलादेशलाई २–० ले पराजित गर्दै सेमिफाइलन प्रवेश गरेको हो । नेपालले दुई गोल खाँदा ७ गोल गर्न सफल भइसकेको छ । माल्दिभ्सले श्रीलङ्कासँग गोलरहित बराबरी खेलेको थियो भने भारतसँग २–० ले पराजित भएको थियो । जारी प्रतियोगितामा दुई खेल खेलेको माल्दिभ्सले गोल गर्न सकेको छैन भने दुई गोल खाएको छ । सेमिफाइनलमा पुगेका चारमध्ये भारतले सर्वाधिक सात पटक तथा माल्दिभ्सले एक पटक साफ च्याम्पियनसिपको उपाधि जितिसकेका छन् । नेपाल र पाकिस्तान भने अहिलेसम्म सेमिफाइनल भन्दा माथि पुग्न सकेका छैनन । पाकिस्तान १३ वर्षपछि तथा नेपाल पाँच वर्षपछि अन्तिम चारमा पुगेको हो । माल्दिभ्सले घरेलु भूमी र श्रीलङ्कामा संयुक्तरुपमा आयोजना गरिएको सन् २००८ को उपाधि जितेको थिया । भारतले सन् १९९३, १९९७, १९९९, २००५, २००९, २०११ र २०१५ मा उपाधि जितिकेको छ ।
शतप्रतिशत हकप्रदपछि स्वदेशी लघुवित्तको सेयर मूल्य समायोजन
काठमाडौं । स्वदेशी लघुवित्तको वित्तीय संस्था लिमिटेडको १०० प्रतिशत हकप्रद पछिको सेयरमा मूल्य समायोजन भएको छ । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ८०१.५० रुपैयाँ तोकिएको छ । जसको औसत आधार मूल्य ५०३.२५ रुपैयाँ रहेको छ । संस्थाले सेयरधनीहरुलाई १ बराबर १ को अनुपातमा हकप्रद निष्काशन गर्दै छ । सो प्रयोजनको लागि भदौ २५ गते(अर्थात आज) संस्थाको बुक क्लोज भएको छ । हाल संस्थाको चुक्ता पुँजी ११ करोड ५० लाख रुपैयाँ रहेको छ । १०० प्रतिशत हकप्रद पछि लघुवित्तको चुक्ता पुँजी २३ करोड रुपैयाँ पुग्ने छ ।