सुगर रोग पत्ता लगाउने ओटो मोबाईल फोन बजारमा, मूल्य ३४ सय ९६ रुपैयाँ मात्र
काठमाडौं । जयमा इन्टरकन्टिनेन्टल प्रा.लि.ले सुगरको रोग पत्ता लगाउने डिजिटल इलेक्ट्रोनिक प्रविधिको ओटो मोबाइल फोन नेपाली बजारमा ल्याएको छ । बुधबार कम्पनीले राजधानीको होटल अन्नपुर्ण होटलमा पत्रकार सम्मेलन गरि उक्त फोन पहिलो पटक नेपाली बजारमा ल्याएको हो । कम्पनीका अनुसार यो फोन दक्षिण एसिया कै सबै भन्दा पहिलो सुगर रोग पत्ता लगाउने फोन हो । उक्त फोनमा ल्यान्सिङ यन्त्र, ल्यान्सेट र स्ट्राइपको प्रयोग गरेर सुगर रोग पत्ता लगाउन सकिने जानकारी दिइएको छ । कार्यक्रममा कम्पनीका सेल्स म्यानेजर सचिन राजले यस फोन चलाउँदा साबुन पानीले हात धोएर मात्र चलाउन पर्ने बताएका छन् । जि.पि.आर.एस मात्र चल्ने यस फाेनकाे बजार मूल्य ३४ सय ९६ रुपैयाँ पर्ने कम्पनीले जनाएकाे छ । यस फोन उपभोक्ताको चाहाना र इच्छा अनुसार सिंगापुरमा डिजाइन भएर आएको हाे । साथै, यस फोन सुगर परिक्षणको लागी उपयुक्त भएको कुरा अमेरिकाले प्रमाणित गरेको कम्पनीले जनाएको छ ।
बेरुजु फछ्र्याेट नगर्ने कर्मचारीलाई ठूला प्रोजेक्टमा रोक, सरुवा पनि नपाउने
काठमाडौं । आफ्नो कार्यकालको बेरुजु फछ्र्याेट नगर्ने कर्मचारीले ठूला परियोजनाको नेतृत्व गर्न नपाउने भएका छन् । महालेखा परिक्षकको कार्यालयले बेरुजु फछ्र्याेट नगर्ने कर्मचारीहरुलाई एक अर्ब भन्दा ठूला लगानीको प्रोजेक्टमा जान रोक लगाउने तयारी थालेको हो ।‘एक अर्ब भन्दा ठूला परियोजना हेर्ने कर्मचारीको बेरुजु फछ्र्याेटको फाइल हेर्ने निर्णय भएको छ, आफ्नो कार्यकालको बेरुजु फछ्र्याेट नगरेको फेला परेमा ठूला प्रोजेक्टको नेतृत्व गर्न दिँदैनौं’, महालेखा परिक्षक टंकमणी शर्माले भने । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै महालेखा परिक्षक शर्माले आफ्नो कार्यकालको बेरुजु फछ्र्याेट नगरी अर्काे कार्यालयमा सरुवा समेत हुन नदिने घोषणा गरेका हुन् । ‘अरबौं बेरुजु बनाएर खुसुक्क अर्काे निकायमा सरुवा भएर जान मिल्दैन, अब कसैले छुट पाउँदैन’, शर्माले भने । उनले अब संस्थाको नभएर व्यक्तिको बेरुजु हेर्ने पनि स्पष्ट पारे । ‘अहिलेसम्म फलानो कार्यालयको बेरुजु फलानो बर्षमा यति रहेछ भनेर हेर्दै आएका थियौं तर अब फलानो कार्यालयमा फलानो हाकिम हुँदाको बेरुजु यति छ भनेर रिपोर्ट तयार पार्छाै’, शर्माले भने । उनले पछिल्लो १० बर्षको बेरुजुको रिपोर्ट तयार पार्ने र त्यसमा को को व्यक्तिका नाममा धेरै देखिन्छ सो व्यक्तिहरुको विवरण सार्वजनिक गर्ने पनि बताए । उनले महत्वपुर्ण जिम्मेवारी दिनुअघि कर्मचारीको वित्तिय अनुशासन र बेरुजुको फाइल अध्ययनलाई अनिवार्य बनाउने पनि स्पष्ट पारेका छन् । उनले लेखा परिक्षणका क्रममा अब खर्चको पारदर्शितासँगै उपलब्धि पनि खोजिने बताए । ‘अहिलेसम्म खर्च ठिकसँग भयो की भएन, विल भरपाई ठिक छ की छैन भनेर हेर्दै आएका थियौं तर अब खर्चसँगै उपलब्धी भयो की भएन भनेर पनि हेर्छाै’, शर्माले भने । बैठकमा सांसदहरुले बेरुजु फछ्र्याेटको कामलाई द्रुतगतिमा अघि बढाउनुपर्ने धारणा राखेका थिए । बैठकले बेरुजु फछ्र्याेट कार्ययोजना बनाउन महालेखा परिक्षकको कार्यालयलाई निर्देशन पनि दिएको छ ।
प्राधिकरणको बजेट र नीति तथा कार्यक्रम पारित, पुनःनिर्माणका लागि एक खर्ब ४५ अर्बको बजेट
काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आर्थिक वर्ष २०७४/७५ को बजेट, नीति तथा कार्यक्रम पारित भएको छ । प्राधिकरण निर्देशक समितिको बुधबारको बैठकले भूकम्पले भत्किएका संरचना पुनःनिर्माणका लागि रु एक खर्ब ४५ अर्बको बजेट र कार्ययोजना पारित गरेको हो । समितिका अध्यक्ष एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले पुनःनिर्माणमा हालसम्म भएका कामको समीक्षा पनि गर्यो । बैठकमा सहभागी समिति उपाध्यक्ष एवम् नेकपा (एमाले) का नेता भीम रावलले प्राधिकरणको कार्यप्रगति सुस्त रहेको आरोप लगाए । “अहिलेसम्म साढे दुई हजार घर पनि नबनेको देखियो, कर्मचारीका सम्बन्धमा पुरानै समस्या पुनरावृत्ति भयो, प्राधिकरणको काम छिटो छरितो होस् भनी निर्देशन दिइएको छ”-उनले भने । निर्माणाधीन घरको सङख्या एक लाख १० हजार रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्दराज पोखरेलले जानकारी दिए । “म आउनुअघि एक हजार घर पनि बनेका थिएनन्, अहिले ४० हजार घर निर्माण भएको छ, ५० हजार विद्यालय पुनःनिर्माणको क्रममा छन्”-उनले भने । उनले आफू आउनुअघि बन्दै नबनेका घर बन्यो भनी प्राधिकरणकै वेभसाइटको तथ्याङ्कले देखाएको पनि बताएका छन् । प्राधिकरण ऐनअनुसार पुनःनिर्माणका लागि छुट्याइएको बजेट निर्देशक समितिले पारित गर्नुपर्छ । ३१ जिल्ला हेर्ने गरी बनेको सङ्घठन संरचना पनि आजको बैठकले पारित गरेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिएका छन् । रासस
बजारमा ६४ करोडको सेयर कारोबार, चार कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले वृद्धि
काठमाडौं । बुधबारको सेयर बजारमा ६४ करोड २ लाख बढी रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १५२ कम्पनीको ३५ लाख ९७ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा चार वटा कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । सो दिन फर्वाड कम्यूनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको ९.९९, अरुण फाइनान्सको ९.७९, कर्नाली डेभलपमेन्ट बैंकको ९.७२ र कुबेर मर्चेन्ट फाइनान्स लिमिटेडको ९.६५ प्रतिशतले सेयर मूल्य बढेको छ । सो दिन कारोबार भएका समूह मध्ये बीमा, विकास बैंक र बैंकिङ् समूहको परिसूचक क्रमशः २७, ७ र ३ अंकले उकालो लागेका छन् । त्यस्तै, बाँकी समूहको परिसूचक भने सामान्य ओरालो लागेका छन् । समग्रमा बुधबारको नेप्से परिसूचक २ दशमलब ५५ अंकले उकालो लागेर १५८७ अंकमा पुगेको छ ।
एक्सेलको ३८ लाख ४५ हजार कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत
काठमाडौं । बुधबार एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको ३८ लाख ४५ हजार ६२५ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब कम्पनीको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्वसाधारणको भएको छ । हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब ८७ करोड ९५ लाख रुपैयाँ रहेको छ । बुधबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६२० रुपैयाँ रहेको छ ।
चार कम्पनीको ६३ लाख १० हजार कित्ता सेयर नेप्सेमा सूचिकृत, हेरौँ क-कसको भयो ?
काठमाडौं । बुधबार विभिन्न चारवटा कम्पनीको ६३ लाख १० हजार ६२६ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । नेप्सेमा २५ लाख ३१ हजार ३८८ कित्ता बोनस र ३७ लाख ७९ हजार २३८ कित्ता हकप्रद सेयर गरी सो मात्राको सेयर सूचिकृत भएको हो । नेप्सेमा सूर्या लाइफ इन्स्यारेन्स कम्पनी र रिलायवल डेभलपमेन्ट बैंकको बोनस सेयर सूचिकृत भएको हो । सूर्या लाइफको ३ लाख १२ करोड ५०० कित्ता र रिलायवलको २२ लाख १८ हजार ८८८ कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै, डेपरोक्स डेभलपमेन्ट बैंकको २५ लाख ७९ हजार २३८ कित्ता र भार्गव विकास बैंकको १२ लाख कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । बुधबार नेप्सेमा सबैभन्दा बढी हकप्रद सेयर सूचिकृत भएको छ ।
काठमाडौं भ्यू टावर निर्माण सम्झौता रद्द, ३ अर्ब ५० करोडको ठेक्का छोडेर मनोज भेटवाल फरार
काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं भ्यू टावर निर्माणको लागि जलेश्वर स्वछन्द विकोइ विल्डर्स कम्पनीसँग गरेको सम्झौता रद्द गरेको छ । महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार स्वछन्द विकोइ विल्डर्सले सम्झौता अनुसार निर्माण कार्य नगरेकोले सम्झौता रद्द गरिएको हो । सम्झौता भएको एक वर्ष वित्दा पनि निर्माणको काम शुरु नभएकोले सम्झौता खारेज गर्ने निर्णय भएको उनले बताए । उक्त कम्पनीले काठमाडौं भ्यू टावरको संरचनाको विस्तृत विवरण समेत पेश गर्न नसकेको उनले बताए । दुई महिनाअघि अहिलेसम्म भएको प्रगति विवरण पेस गर्न भनेको तर कम्पनीले पेस नगरेको उनले बताए । कम्पनीका मालिक मनोज भेटवाल सम्पर्कमा समेत नआएको उनले बताए । उनलाई विभिन्न बैंकहरुले कालोसूचिमा राखेका छन् । भेटवाल भाग्दा सबैभन्दा बढी नोक्सान एनसीसी बैंकलाई भएको स्रोतले बतायो । यसअघि पनि कम्पनीलाई सम्झौता अनुसार काम गर्न पटक पटक निर्देशन दिएको महानगरपालिकाले जनाएको छ । बागबजार नजिकको पुरानो वसपार्कमा १२ तले भवन बनाउन सन् २०१६ मार्च ५ मा दुई पक्षबीच सम्झौता भएको थियो । दुई वर्षभित्र भवन निर्माण कार्य सम्पन्न गर्ने सम्झौता पत्रमा उल्लेख छ । उक्त भवन बनाउने ३ अर्ब ५० करोड लागत लाग्ने अनुमान गरिएको थियो । महानगरपालिकाले सम्झौता रद्द गरेपछि कम्पनीले भने काम निर्माण क्षेत्रमा आफ्नो गतिविधि अगाडि बढाएको छ ।
दूधको उत्पादनमा सहकारीलाई १९ लाख अनुदान
बनेपा। कृषकलाई प्रतिलिटर दूधको उत्पादनमा एक रुपैयाँ अनुदान दिन काभ्रेपलाञ्चोकका दुई सहकारी संस्थालाई १८ लाख ७५ हजार रुपैयाँ प्रदान गरिएको छ । सेतीदेवी दुग्ध उत्पादक सहकारीलाई १२ लाख ३४ हजार रुपैयाँ र उमादेवी दुग्ध उत्पादक सहकारीलाई रु ६ लाख ४० हजार उपलब्ध गराइएको हो । दूध उत्पादनको क्षेत्रमा काम गर्दैआएका अन्य सहकारीलाई क्रमशः रकम हस्तान्तरणको तयारी भइरहेको जिल्ला पशुसेवा कार्यालय, धुलिखेलका प्रमुख डा नारायण श्रेष्ठले जानकारी दिए । सहकारी मार्फत अहिलेसम्म कृषकले सबैभन्दा बढी रु सात हजारसम्म रकम बुझेका छन् । सरकारले कृषकलाई उत्पादनमा प्रति लिटर एक रुपैयाँ अनुदान दिने भएपछि जिल्लाका १२ वटा दुग्ध सहकारी संस्था रकमका लागि छनोट भएका थिए । “गोठ, भकारो, घाँस उत्पादन लगायतका क्षेत्रमा लगानी गरेपनि खासै उपलब्धि मूलक भएन,” डा श्रेष्ठले भने। एक वर्षको दूध उत्पादनको अवस्था हेरेर दुग्ध सहकारी मार्फत कृषकलाई अनुदान दिइने उनले बताए। मूल्याङ्कन समिति मार्फत छनोट गरिएका बनेपा रविओपीको देउराली दूध उत्पादक सहकारीले रु २० लाख ९ हजार, पाँचखाल अनोकोटको अनेकोट दुग्ध उत्पादक सहकारीले रु चार लाख १० हजार, मण्डन देउपुर नगरपालिका महादेव स्थानको रानीटार दुग्ध उत्पादक सहकारीले रु ६ लाख २३ हजार, पाँचखाल नगरपालिकाको शिखरपुर श्रीराम पाटी दुग्ध उत्पादक सहकारीले रु दुई लाख १६ हजार तथा देउपुरको ब्रम्हयणी दुग्ध उत्पादक सहकारीले रु एक लाख ८३ हजार वार्षिक अनुदान पाउने छन् । त्यस्तै धुलिखेल स्थित कालिदेवी दुग्ध उत्पादक सहकारीले रु दुई लाख ९० हजार, ज्याम्दीको ठूल्दीवँेसी दुग्ध उत्पादक सहकारीले रु तीन लाख ५४ हजार, मण्डन देउपुरको इन्द्रवती बहुउद्देश्यीय सहकारीले रु दुई लाख ७० हजार, मङ्लटार स्थित तिमाल महाभार बहुउद्देश्यीय सहकारीले रु नौ लाख ७८ हजार र देवी पन्चकन्या बहुउद्देश्यीय सहकारीले रु दुई लाख ४७ हजार अनुदान पाउने कार्यालयले जनाएको छ । रासस