विकासन्युज

प्रमोटर सेयर बिक्री नभएका तीन वाणिज्य बैंकप्रति राष्ट्र बैंक कठोर बन्दै, पुँजी नपुर्याउने पाँच बैंक निगरानीमा

काठमाडौं । सेयर पुँजी न्यूनतम ८ अर्ब रुपैयाँ नपुर्याउने पाँच वटा वाणिज्य बैंकलाई के गर्ने भन्ने विषयमा नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा गम्भिर बहस शुरु भएको छ । बैंक अफ काठमाडौं, सिभिल, कुमारी, एनसीसी र एनएमबी बैंकको ८ अर्ब पुँजी पुगेको छैन । पुँजी नपुगेकै कारण उनीहरुलाई राष्ट्र बैंकले वार्षिक साधारणसभा गर्न अनुमति पनि दिएको छैन । त्यस्तै संस्थापक सेयर बिक्रीमा समस्या भोगिरहेका सिभिल, कुमारी र एनसीसी बैंकप्रति राष्ट्र बैंकले कठोर निर्णय लिने तयारी गरेको उच्च स्रोतले बतायो । सिभिल बैंकले हकप्रद सेयर निष्काशन गर्दा करिब ३३ लाख कित्ता प्रमोटर सेयर बिक्री भएको थिएन । लिलामी गर्दा पनि ३१ लाख कित्ता सेयरको लागि आवेदन नपरेपछि दोस्रो पटक लिलामीमा राखिएकोछ । त्यस्तै कुमारी बैंकको हकप्रद सेयर निष्काशन खुला छ । तर आधारभूत सेयरधनीबाटै हकप्रद सेयरको लागि प्रयाप्त पैसा नराखेपछि राष्ट्र बैंकले कुमारी बैंकलाई पनि गम्भिर रुपमा लिएको छ । एनसीसीसँग मर्ज प्रक्रियाबाट वाहिरीएको कुमारी बैंकप्रति राष्ट्र बैंकको असन्तुष्टी बढ्दो छ । त्यस्तै, आधारभूत सेयरधनीले नै हकप्रद सेयरमा लगानी नगरी विवादस्पद विषयलाई लिएर उजुरबाजुरमा फसेको एनसीसी बैंकले हकप्रद सेयर निष्काशन समेत गर्न सकेको छैन । आधारभूत सेयरधनीले लगानी नगरेको भन्दै धितोपत्र बोर्डले एनसीसी बैंकको हकप्रद निष्काशन सम्बन्धि विवरण पत्र स्वीकृत गर्न मानेको छैन । बैंक अफ काठमाण्डूले प्रमोटर सेयर निष्काशन गर्दा जम्मा भएको प्रिमियमलाई पुँजीमा गणना गर्न गरेको प्रस्तावलाई राष्ट्र बैंकले स्वीकार गरेको छैन । ‘अन्तराष्ट्रिय लेखा प्रणाली र सिद्धान्तअनुसार प्रिमियम रकम संचित कोषमा जम्मा हुन्छ, सेयर पुँजीमा राख्न मिल्दैन’ राष्ट्र बैंकका एक सञ्चालकले भने । बैंक अफ काठमाण्डूसँग यस्तो रकम करिव ९३ करोड रुपैयाँ छ । त्यस्तै, एनएमबी बैंकले प्रस्ताव गरेको ८८ करोडको एफपीओ निष्काशन नभएकोमा पनि राष्ट्र बैंक असन्तुट भएको छ । उक्त एफपीओ निष्काशन हुने हो भने बैंकको पुँजी ८ अर्बभन्दा बढी हुन्छ ।

हिमालयन बैंकको थप शाखा बारा र बाँकेमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले बारा र बाँकेमा थप शाखा विस्तार गरेको छ । बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा बाराको प्रसौनीमा र बाँकेको राप्तीसोनारीमा नयाँ शाखा विस्तार गरी सञ्चालनमा ल्याएको छ । यससहित बैंकको कूल शाखा संख्या ४९ पुगेको छ । उक्त शाखाहरुबाट बैंकले ग्राहकहरुलाई सम्पूर्ण बैङ्किग सुविधाहरु उपलब्ध गराउँनेछ ।

ग्लोबल आइएमई बैंकको थप ४ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले यस साता ४ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले अब रुपन्देहीको चारांगेमा, गुल्मीको हार्दिनेटा, भेदुवा र हटियाबाट नयाँ शाखारहित बैंकिङ्ग सेवा दिने भएको छ । यससगैं बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ८३ पुगेको छ । बैंकले हाल १२९ वटा शाखा, १३१ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर माफर्त बैंकिङ सेवा प्रदान गर्दे आइरहेको छ ।

मारुती सिमेन्टले निःशुल्क प्राविधिक परामर्श दिने, निर्माण गुणस्तरीय र मजबुत हुने

काठमाडौं । मारुती सिमेन्ट लिमिटेडले निशुल्क प्राविधिक परामर्श तथा सहयोग गर्ने भएको छ । संस्थाले निर्माण गुणस्तरीय र मजबुत होस भन्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको हो । कम्पनीले ‘मोबाइल कंक्रिट एक्सपर्ट’ नामक प्राविधिक सेवा सहितको भ्यान हरेक निर्माण स्थलमै पुगेर दक्ष प्राविधिकहरुबाट कंक्रिटको कम्प्रेसिभ स्ट्रेन्थको जाँच तथा गुणस्तरीय निर्माणमा आवश्यकता अनुसारको प्राविधिक परामर्श सेवा निःशुल्क रुपमा प्रदान गर्ने भएको छ । मारुती सिमेन्टले यस सेवामा ‘मोबाइल कंक्रिट एक्सपर्ट’ भ्यान मार्पmत कंक्रिट कम्प्रेसिभ स्ट्रेन्थको जाँच, सम्पूर्ण ढलान सम्बन्धी प्राविधिक जानकारी, गुणस्तरीय निर्माण सामाग्रीहरुको सही छनौट तथा मिश्रणको सही अनुपात एवं यसको कार्यक्षमता बारे जानकारी, भाइबे्रटर र क्युरिङ्ग गर्ने सहि तरिका, कंक्रिट बनाउने सही तरिका साथै गारो र प्लास्टर लगाउने सही तरिका अनि आवश्यकता अनुसार थप प्राविधिक परामर्श तथा सहयोग प्रदान गराउने छ । यो सेवा हाल काठमाडौँ उपत्यकाभित्र मात्र सञ्चालन गरिएको र निकट भविष्यमा नै उपत्यका बाहिर पनि शुरु गरिने कम्पनीका सिनियर ब्राण्ड म्यानेजर राजु श्रेष्ठले जानकारी गराएका छन् । यस सेवामा निःशुल्क टोल फ्रि नम्बर नेपाल टेलिकम प्रयोगकर्ताका लागि १६६००११७७७७ र एनसेल प्रयोगकर्ताका लागि ९८०१५७३७७७ नम्बरमा कल गरि आफूलाई आवश्यक परेको प्राविधिक सल्लाह सुझाव तथा निर्माणाधीन संरचनाको लागि कंक्रिटको भारवहन क्षमता जाँचको सुविधा लिन सकिने कम्पनीले बताएकाे छ ।

कृषि व्यवसाय गर्ने युवालाई ७० प्रतिशत अनुदान

काठमाडौं । कृषि व्यवसाय गर्ने युवालाई ७० प्रतिशत अनुदान दिने कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले घोषण गरेका छन् । स्वदेशमा नै रोजगारी सृजना गरी युवा जनशक्तिको विदेश पलायन रोक्न तथा स्वदेशमै युवाहरुलाई कृषि क्षेत्रमा आकर्षित गर्न उक्त कार्यक्रम ल्याउने उनले बताएका छन् । इजरायली दुतावास र साना किसान बैंकले संयुक्त रुपमा काठमाडौंमा गरेको साना किसान कृषि तालिम कार्यक्रममा उनले स्वदेशमा नै रोजगारी सृजना गर्ने जोड दिए । ‘विदेशमा सिकेको शिपलाई सदुपयोग गर्ने दिशामा सरकर अघि बढ्नेछ,’ उनले भने ‘कृषि क्षेत्रमा काम गर्न चाहनेहरुका लागि सरकारले सहयोग गर्नेछ ।’ कृषि मर्यादित र सम्मानित पेशा भएको भन्दै उनले स्वदेशमै केही गर्छु भन्ने सोंच भएकाहरुलाई राज्यले सहयोग गर्ने उनकाे स्पष्टाेक्ति थियाे । छोटो समयमै मुलुकलाई कृषिको माध्यमबाट माथि उठाउन सकिने उनको भनाइ छ । उनको अनुसार विदेशबाट सिकेर आएको शिपलाई मुलुकमा सदुपयोग गरी आयातलाई प्रतिस्थापन गर्ने गरी निर्यात बढाउन जोड दिइनेछ । इजरायलमा २ दशमलय ८ प्रतिशत मानिसले खेती गरेर ८० प्रतिशत उत्पादन निर्यात गर्ने गरेको अनुभव सुनाउँदै मन्त्री खनालले नेपालले पनि कृषि क्षेत्रमा प्रगति गर्न सक्ने उनको भनाइ छ । मन्त्रालयकोअनुसार नेपालमा ६६ प्रतिशत मानिस कृषिमा आश्रित भएपनि ५० प्रतिशतलाई मात्र खान पुग्ने गरेको छ । थप ५० प्रतिशत आयात गर्नु पर्ने बाध्यता रहेको छ । हिमालदेखि तराईसम्म १६ प्रकारको हावापानी उपलब्ध छ । संसारमा उत्पादन हुने सबै वस्तु नेपालमै उत्पादन हुने मन्त्री खनालको दावी छ । ‘तर नेपालमा उत्पादन हुने वस्तु संसारका सबै ठाँउमा हुन सक्दैन,’ उनले भने ।

प्रोभिषाद्धारा एकदिने रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । शैक्षिक परामर्शदातृ संस्था प्रोफेशनल भिषा एण्ड एजुकेशन सर्भिसेस (प्रोभिषा)ले एकदिने रक्तदान कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ । संस्थाले आफ्नो १०औं वार्षिक उत्सबको अवसरमा उक्त कार्यक्रमको आयोजना गरेको हो । नेपालमा पनि रगतको अभावमा ज्यान गुमाउनेको अवस्थालाई मध्यनजर गर्दै आज भृकुटिमण्डपमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको हो । संस्थाले समाज सेवालाई पनि प्राथमिकतामा राख्दै उक्त कार्यक्रम गरेको हो । १० वर्षदेखि सञ्चालनमा रहेको यस संस्थाले नेपालको काठमाण्डौं र अष्ट्रेलियाको सिड्नीबाट आफ्नो सेवा प्रदान गरिरहेको छ ।

सेनाले २ वर्षमै सम्पन्न गर्यो मैलुङ-स्याफ्रुवेशी सडक, जेठ ६ गते हस्तान्तरण गर्ने

काठमाडौं । नेपाली सेनाले मैलुङ स्याफ्रुवेशी सडकखण्ड सरकारलाई हस्तान्तरण गर्ने भएको छ । सेनाले २ वर्षमै सडक निमार्ण सम्पन्न गरी जेठ ६ गते सरकारलाई हस्तान्तरण गर्न लागेको हो । १७ किलोमिटरको स्याफ्रुवेशी सडकखण्ड तयार भैसकेको सेनाका प्रवक्ता गोकुल भण्डारीले बताए । नेपाली सेनाले लिएको कामको जिम्मा समयमै सक्दै आएको छ, सोहि अनुसार मैलुङ स्याफ्रुवेशी सडकखण्ड पनि जेठ ६ गते हस्तान्तरण गर्ने तयारी गरेका छौं, प्रवक्ता भण्डारीले विकासन्युजसँग भने । भण्डारीका अनुसार सडक ९ देखि ११ मिटर चौडा बनाइएको छ । यस सडकखण्डले चीनसँग रसुवागढी नाकासँग जोडिने भएकोले विशेष महत्व राख्दछ । सेनाले निर्माण काम सुरु गरेको २ वर्षमै १७ किलोमिटर सडक निर्माण सम्पन्न गरेको हो । सेनाले कर्णाली करिडोर, कालीगण्डकी करिडोर, फास्ट ट्रयाक, जाजरकोट डोल्पा, बेनीघाट लार्केभन्ज्याङ लगायतको सडकखण्ड धमाधम निर्माण गरिरहेको छ ।

सीजी मोटोकोर्पद्धारा ट्राफिक प्रहरी ललितपुरलाई सीसी क्यामरा प्रदान

काठमाडौं । सीजी मोटोकोर्पले आफ्नो सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत ट्राफिक प्रहरी ललितपुरलाई क्लोज सर्किट(सीसी) क्यामरा हस्तान्तरण गरेको छ । सीजी होल्डिङ्सको अटोमोटिभ विभाग, सीजी मोटोकोर्पले आफ्नो सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत ट्राफिक प्रहरी ललितपुरलाई क्लोज सर्किट क्यामरा हस्तान्तरण गरेको हो । सो क्यामरा ललितपुर ट्राफिक प्रहरीको मोबाइल सवारी साधनमा जडान गरिने छ ।१८० डिग्री कभरेज भएको सो क्यामराले ट्राफिक व्यवस्थापनमा मद्दत पुर्याउने छ । ललितपुर ट्राफिक शाखाका निरीक्षक सिताराम हाछेथुको उपस्थितिमा क्यामरा हस्तान्तरण गरिएको थियो । सडकहरु सुरक्षित बनाउने उपायहरु अपनाउने उद्देश्यसहित ट्राफिक प्रहरीसँगको समन्वयमा यस सिसि क्यामराको हस्तान्तरण गरिएको कार्यकारी निर्देशक करण चौधरीले बताए ।