विकासन्युज

मुक्तिनाथ विकास बैंकको नाफा ४९ करोड ६३ लाख, खराब कर्जा शून्य नजिक

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आर्थिक २०७३/०७४ वर्षमा ४९ करोड ६३ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.३० प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको तुलनामा २०७३/०७४ वर्ष बैंकको निक्षेप र कर्जा लगानी दुबैमा वृद्धि भएको छ । सोही अवधिमा बैंकको निक्षेप ४८.७६ प्रतिशतले बृद्धि भई १६ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ भने कुल कर्जा लगानी ५४.६४ प्रतिशतले वृद्धि भई १५ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । बैंकका प्रति शेयर वार्षिक आम्दानी ३२.११ रुपैयाँ रहेको छ । साथै, सो अवधिमा बैंकको प्रति शेयर कुल सम्पत्तीको मूल्य १,२७८.२९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३०.२४ रहेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै, बैंकले वार्षिक तरलता अनुपात २२.६७ प्रतिशत, प्रति सेयर नेटवर्थ १४९.८० रुपैयाँ र पूँजीकोष अनुपात १४.९६ प्रतिशत पुर्याएको छ । सो अवधिमा बैंकले न्यून खराब कर्जा ०.०२ प्रतिशत कायम गरेको छ, जुन गत आर्थिक वर्षको यही अवधिमा ०.०९ प्रतिशत रहेको थियो ।

नेशनल बैंकिङ्ग इन्स्टिच्यूटले मौद्रीक नीतिको अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने

काठमाडौं । नेशनल बैंकिङ्ग इन्स्टिच्यूटले हालै सार्वजनिक भएको मौद्रीक नीति २०७४/७५ को अन्तरक्रिया कायक्रमको आयोजना गर्न गईरहेको छ । काठमाडौंको होटल र्याडिसनमा हुन गइरहेको यस कार्यक्रममा मौद्रीक नीति संग सरोकार राख्ने एवम बैंकिङ्ग क्षेत्रका विज्ञहरु बाट प्रस्तुति हुने इन्टिच्यूटले जनाएको छ । यस अन्तरक्रिया कायक्रमा नरबहादुर थापा (कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक) बाट मौद्रीक नीतिको बारेमा प्रस्तुती हुने छ । त्यस पश्चात हुन गई रहेको प्यानल डिसकसनमा नेपाल राष्ट्र बैंकको एक्विक्विटिभ डाइरेक्टर नर बहादुर थापा, सानिमा बैंकको सिइओ भुवन कुमार दाहाल, डिबिएएनको भाइस प्रिसिडेन्ट गोबिन्द प्रसाद ढकाल र एनएफआईएको राष्ट्रपति सरोज काजी तुलाधर द्वारा आ-आफ्नो धारणाहरु राख्नुहुने कार्यक्रम रहेको कम्पनीले जनाएको छ ।

यती एयरलाइन्सबाट यात्रा गरेका यात्रुहरुलाई चन्द्रागिरि केबलकारको टिकटमा विशेष छुट

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेड र यती एयरलाइन्स डोमेस्टिक बिच सेवाग्राहीलाई छुट लिने दिने विषयमा सम्झौता भएको छ । सम्झौता अनुसार यती एयरलाइन्स मार्फत हवाइ यात्रा गरेका यात्रुहरुलाई हवाई यात्राको बोर्डिङ्ग पासका आधारमा चन्द्रागिरि केबलकारको टिकटमा २० प्रतिशत छुट प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ । साथै, चन्द्रागिरि केबलकारको टिकटका आधारमा यती एयरलाइन्सको टिकटमा ११(एघार) देखि २०(विष) प्रतिशत सम्म छुट पाउने व्यवस्था मिलाइएको छ । सम्झौतापत्रमा चन्द्रागिरि हिल्स लिमिटेडको तर्फबाट महाप्रबन्धक अभिषेक विक्रमशाह र यती एयरलाइन्स डोमेस्टिकको तर्फबाट प्रविना के.सी. ले हस्ताक्षर गरेका छन् । यो छुट योजना २०७४ साउन १ गते देखि २०७५ असार मसान्तसम्म लागु हुनेछ । चन्द्रागिरि हिल्स लिमिटेडले ल्याउने सेवाग्राही मुखि प्रर्बद्धनात्मक कार्यक्रम र यती एयरलाइन्सले ल्याउने दशैं तिहारको टिकट शुल्कमा यो योजना लागु हुने छैन । अन्यशर्तहरु सम्झौताबमोजिमलागु हुने छन् । ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

सनराइज बैंकद्धारा बचतकर्ता सामुहिक दुर्घटना अन्तर्गत बीमा रकम भुक्तानी

काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्ना बचत खाताका ग्राहकहरुको सुविधाको निमित्त शिखर ईन्स्योरेन्स कम्पनी लिमिटेड संगको सहकार्यमा “बचतकर्ता सामुहिक दुर्घटना बीमा व्यवस्था” प्रदान गर्दै आएको छ । यस सुविधा अन्तर्गत दुर्घटनामा परी कुनै बचतकर्ताको मृत्यु वा स्थायी तवरले व्यक्ति अशक्त भएमा ५ लाख रुपैयाँमा नवढ्ने गरी बचत खातामा रहेको मौज्दातको ४ गुणा सम्म दावी गर्न सकिने छ । यस बैंकका निक्षेप ग्राहक महादेव लाल देवकी छोरी, परमेश्वर देव वैश्यकी श्रीमती, विसहरिया-४, सप्तरी निवासीे श्रीमती मालती देवी वैश्यको सडक दुर्घटनामा परी निधन भएकोमा “बचतकर्ता सामुहिक दुर्घटना बीमा व्यवस्था” अन्तर्गत मृतकको नाममा यस बैंकको न्यूरोड शाखामा रहेको निक्षेप रकमको ४ गुणा अर्थात १ लाख ४९ हजार २९१ रुपैयाँ बराबरको रकम हस्तान्तरण गरियो । उक्त रकम बराबरको चेक बैंकका न्यूरोड शाखाका शाखा प्रबन्धक प्रितमलाल श्रेष्ठद्धारा मृतकका श्रीमान परमेश्वर देव वैश्यलाई हस्तान्तरण गरियो ।

३५ अर्बको बोनस सेयर सूचिकृत, हकप्रद सेयर १८ अर्ब

काठमाडौं । आर्थिक वर्ष २०७४ जेठ मसान्तसम्ममा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा ३५ अर्ब ९ करोड रुपैयाँ बराबरको बोनस शेयर सूचिकृत भएको छ । जुन रकम धितोपत्र सूचिकृत मध्ये सबैभन्दा बढी हो । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको एघार महिनामा कुल १२१ अर्ब ८५ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । त्यसमध्ये १८ अर्ब ८४ करोड रुपैयाँ बराबरको हकप्रद शेयर र ४ अर्ब ६७ करोड रुपैयाँ बराबरको साधारण शेयर नेप्सेमा थिपिएका छन् । त्यस्तै, सोही अवधिमा ६२ अर्ब बराबरको सरकारी ऋणपत्र र १ अर्ब २५ करोड बराबरको म्युच्युअल फण्ड गरी सो मात्राको धितोपत्र सूचीकृत भएका छन् । २०७४ जेठ मसान्तसम्ममा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको छ । जुन संख्या अघिल्लो वर्षको भन्दा १८ संख्या कम हाे। २०७३ जेठ मसान्तमा (अघिल्लो वर्ष) सूचीकृत कम्पनीहरूको संख्या २३० रहेको थियो । केही बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा मर्ज भएका कारण सूचीकृत कम्पनीहरुको संख्या घट्न गएको राष्ट्र बैंकले जनाएको छ । सूचीकृत कम्पनीहरूमध्ये १६९ वटा बैंक तथा वित्तीय संस्था (बीमा कम्पनी समेत) रहेका छन् भने १८ वटा उत्पादन र प्रशोधन उद्योग, १४ वटा जलविद्युत् कम्पनी, ४र४ वटा होटल तथा व्यापारिक संस्था र ३ वटा अन्य समूहका रहेका छन् । नेप्सेमा सूचीकृत कम्पनीहरूको चुक्ता पूँजी वार्षिक विन्दुगत आधारमा ४४.४ प्रतिशतले वृद्धि भएको छ । चुक्ता पूँजी सो मात्राले वृद्धि भई गत आर्थिक वर्षको एघार माहिनामा २८३ अर्ब १६ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।

बैंकको व्याजदर घट्ने राष्ट्र बैंकको प्रक्षेपण, सनराईज बैंकले घटायो ३७ प्रतिशत व्याज

काठमाडौं । नेपाल राष्ट्र बैंकले व्याजदर घट्ने प्रक्षेपण गरेलगत्तै बैंकहरुले निक्षेपको व्याजदर घटाउन थालेका छन् । शुक्रबार सनराईज बैंकले मुद्दती खातामा ३७.५ प्रतिशत व्याज घटाएको छ । यस बैंकले एक वर्षे मुद्दती खातामा ७.५ प्रतिशत व्याज दिने जनाएको छ । यसअघि यस बैंकले १ वर्षे मुद्दतीमा १२ प्रतिशत सम्म व्याज दिएको थियो । बैंकले १८ महिना अवधिको मुद्दती खातामा ८ प्रतिशत मात्र व्याज दिने जनाएको छ । यस बैंकले संस्थागत निक्षेपकर्तालाई दुई वर्षको निक्षेपमा पनि ७.५ प्रतिशत मात्र व्जाज दिने जनाएको छ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको ११ महिनाको वित्तीय अवस्था सार्वजनिक गर्दै भनेको छ–‘पछिल्लो समयमा वित्तीय असन्तुलनमा सुधार आएको छ । खास गरी तरलतामा देखिएको उल्लेख्य वृद्धिका कारण मध्यमकालीन ब्याजदर सन्तुलित अवस्थामा फर्किने देखिएको छ ।’ नेपाल राष्ट्र बैंकले निक्षेपको व्याज ८/९ प्रतिशतको बीचमा रहनु र कर्जाको व्याज ११ देखि १३ प्रतिशतसम्म रहनुलाई सन्तुलित अवस्था मान्दै आएको छ । विगत केही महिनामा बैंकहरुले निक्षेपमा १२ देखि १४ प्रतिशतसम्म र कर्जामा १३ देखि १९ प्रतिशतसम्म व्याज तोकेका थिए । विदेश जाने कामदारको संख्यामा कमी आएता पनि विप्रेषण आप्रवाह सुदृढ अवस्थामा रहेको र प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि भइरहेकाले पनि तरलता वृद्धि हुने र वित्तीय अवस्था सहज हुँदै जाने राष्ट्र बैंकको अनुसन्धान विभागले जनाएको छ ।

१० खर्ब ५९ अर्बको वैदेशिक व्यापार, ७४ अर्बको मात्रै वस्तु निर्यात, ९८४ अर्बकाे अायात

काठमाडौं । गत आर्थिक वर्ष २०७३/७४ मा कुल १० खर्ब ५९ अर्ब वैदेशिक व्यापार भएको छ । गएको आवमा कुल ९ खर्ब ८४ अर्बको वस्तु तथा सेवा आयात भएको छ भने ७४ अर्ब ७१ करोड बस्तु तथा सेवा नेपालबाट वाहिरिएको छ । गएको वर्ष भएको वैदेशिक व्यापार अघिल्लो आवको भन्दा २ खर्ब ८५ अर्बले बढी भएको भन्सार विभागको तथ्यांक छ । अघिल्लो आव २०७२/७३ मा विभिन्न मुलुकसँग वैदेशिक व्यापार ८ खर्ब ४४ अर्ब ९६ करोड वैदेशिक व्यापार भएको थियो । उक्त व्यापारमध्ये ७ खर्ब ७४ अर्ब ७१ करोडको आयात हो भने निर्यात ७० अर्ब २५ करोड हो । नेपालको भारतसँग करिब दुई तिहाइ व्यापार हुँदै आएको छ । गएको वर्ष भएको वैदेशिक व्यापारमा ९ खर्ब ९ अर्ब व्यापार घाटा देखिएको विभागका प्रवक्ता कुलराज ज्ञवालीले जानकारी दिए । गत वर्ष भारतबाट ६ खर्ब ४१ अर्ब १७ करोडको वस्तु तथा सेवा आयात भएको छ । नेपालबाट भने भारतमा ४१ अर्ब ६० करोडको मात्र वस्तु निर्यात भएको छ । एक वर्षको अवधिमा भारतसँग ५ खर्ब ९९ अर्ब ५७ करोड रुपैयाँ व्यापार घाटा भएको छ । चीनबाट १ खर्ब १९ अर्ब ८७ करोडको वस्तु भित्रिँदा नेपालबाट एक अर्ब ७० करोडको वस्तु निर्यात भएको छ । नेपालले चीनसँग एक खर्ब २८ अर्ब १७ करोडको व्यापार घाटा बेहोर्नु परेको छ । सबैभन्दा बढी आयात पेट्रोलियम पदार्थ गत वर्ष नेपाल भारतबाट सबैभन्दा बढी पेट्रोलियम पदार्थ भित्रिएको छ । एक वर्षको सो अवधिमा एक खर्ब ४० अर्ब पाँच करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको हो । दोस्रो नम्बरमा रहेको फलाम तथा स्टिल र तिनका उत्पादन ९३ अर्ब ७१ करोडको भित्रिएको छ । गत वर्ष विभिन्न मुलुकबाट ७९ अर्ब ५० करोडको सवारी तथा पार्टपुर्जा भित्रिएको छ । यो परिमाण अघिल्लो वर्षको तुलनामा भने धेरै हो । कृषि प्रधान मुलुकमा ४० अर्ब १४ करोड रुपैयाँको खाद्यन्न आयात गरिएको छ । कार्पेट सबैभन्दा बढी निर्यात नेपाली कार्पेट गत वर्ष विभिन्न मुलुकमा ७ अर्ब ६३ करोडको कार्पेट निर्यात भएको छ । चिया र कफी सात अर्ब दुई करोडको निर्यात भएको छ । गत वर्ष पाँच अर्ब ११ करोडको तरकारी तथा फलफूल निर्यात भएको हो । विगत ५ वर्षअघि नै नेपाल सरकारले वार्षिक निर्यात एक खर्ब निर्यात गर्ने लक्ष्य राखेको थियो । भारतबाट पेट्रोलियम पदार्थ, फलाम, स्टिल, औद्योगिक कच्चा पदार्थ, खाद्यान्न, यातायातका साधन, मेसिनरी तथा पार्टपुर्जा, औद्योगिक कच्चा पदार्थलगायत आयात भएको देखिन्छ । चीनबाट दूरसञ्चार सामग्री, विद्युतीय उपकरण, मेसिनरी तथा पार्टपुर्जा, स्याउ तथा रासायनिक मल बढी आयात भएको छ । तेस्रो मुलुकबाट सुनचाँदी, प्लास्टिकको कच्चापदार्थ, महँगा सवारीसाधन लगायत बढी आयात गरिएको छ ।

उपत्यकामा छलाख उनन्चालीस हजार सवारी कारबाहीमा

काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा आर्थिक वर्ष २०७३/७४ मा ६ लाख ३९ हजार ६११ सवारीसाधनलाई कारबाही गरेको छ । महाशाखाले जथाभावी सवारी पार्किङ, मादकपदार्थ सेवन गरी सवारी चलाउने, लेन अनुशासन पालना नगर्ने, हर्न निषेध पालना नगर्ने र जेब्रा क्रसिङमा पैदलयात्रुलाई नटेर्ने लगायतका शीर्षकमा उक्त सवारी कारबाहीमा परेका हुन् । तीमध्ये लेन अनुशासन पालना नगर्ने एक लाख ३१ हजार ५३३, जथाभावी पार्किङ २९ हजार ८०, मापसे सेवन गरी सवारी चलाउने २८ हजार ८९६ र नो हर्न पालना नगर्ने नौ हजार ६६३ कारबाहीमा परेका हुन् । महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले सवारीसाधनको सङ्ख्याको वृद्धिसँगै सवारीसाधन कारबाहीको सङ्ख्यामा समेत वृद्धि हुँदै गएको बताए  । महाशाखाले आव २०७२/७३ मा पाँच लाख ४८ हजार ७७० सवारीलाई कारबाही गरेको थियो । यस्तै, उपत्यकामा यो वर्षमा खाल्डाखुल्डीका कारण ११ दुर्घटना भएको पनि महाशाखाले जनाएको छ । रासस