विकासन्युज

सेयर बजार दोहोरो अंकले घट्दा हिमालयन डिष्टीलरीका सेयरधनीले कमाए ९ प्रतिशत बढी

काठमाडौं । सोमबारको सेयर बजार दोहोरो अंकले घटेको छ । कारोबार खुलेदेखि नै ओरालो लागेको बजार अन्त्य सम्म निरन्तर ओरालो लागेको छ । अन्ततः नेप्से परिसूचक १०.२८ अंकले घटेर १३३८.१७ अंकमा झरेको छ । अघिल्लो कारोबारको तुलनामा सेयर करोबारमा भने वृद्धि भएको छ । गत बिहीबार ३५ करोडको सेयर किनबेच भएको बजारमा सोमबार साढे ४२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा कुल १६३ कम्पनीको १० लाख कित्ता सेयर किनबेच भएका छन् । दिनभर निरन्तर रुपमा घटेको बजारमा हिमायलन डिष्टीलरी लि.का लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । यस कम्पनीका सेयरधनीले अघिल्लो दिनको तुलनामा ९.९५ प्रतिशत कमाएका छन् । त्यस्तै, उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ७.०६ प्रतिशतले बढेको छ । बजारमा बीमा समूह ६९ अंकले ओरालो लागेको छ । त्यस्तै, विकास बैंक २६, माइक्रोफाइनान्स २२, हाइड्रोपावर १५ र बैंकिङ समूह १० अंकले घटेका छन् । उत्पादनमूलक २५, होटल ८ र अन्य समूह ३.६३ अंकले हरिया भएका छन् भने बाँकी समूह राताम्मे भएका छन् ।

बीपीसीले सञ्चित कोषको ५२५ करोड बोनस सेयर बाड्ने, लगानीकर्ता मालामाल !

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले (बीपीसी) आउँदो वर्षदेखि संचित कोषमा रहेको बचत (रिजर्व)बाट वार्षिक थप २० प्रतिशतसम्म लगानीकर्तालाई बोनस सेयर दिने भएको छ ।गत पुसमा थप निष्कासन (एफपीओ) जारीपछि संचित कोष १०० प्रतिशत बढेर ५ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । यो रकम बीपीसीले वर्षेनी सेयरधनीलाई बोनस सेयरको रुपमा लाभांश दिने भएको हो । संचित कोषको रकमबाट बोनस सेयरका अतिरित्त वर्षेनी हुने नाफाबाट नगद लाभांश र बोनस सेयर पाउने भएपछि बीपीसीका लगानीकर्ता मालमाल हुने भएका छन् । आउँदो आर्थिक वर्षदेखि संचित कोषको रकम वर्षेनी लगानीकर्तालाई बोनस सेयर दिने बीपीसी अर्थ विभागका भाइस प्रेसिडेन्ट राधेश्याम श्रेष्ठले बताए । उनले औसत २० प्रतिशत हारहारीमा बोनस सेयर वितरण हुन सक्ने जानकारी दिए । “संचित कोषको रकम बोनस सेयरका रुपमा लगानीकर्तालाई वितरण गर्ने भने पनि यति नै दिने भनेर निर्णय भएको छैन” उनले भने । लगानीकर्तालाई बोनस सेयर वितरण गरेपछि कम्पनीको पुँजीगत आधार मजवुत हुने उनको भनाई छ । कम्पनीले २ अर्ब ४ करोड ४५ लाख रुपैयाँ बराबरको एफपीओ निष्कासन गरेको थियो । बीपीसीले गत आर्थिक वर्षमा गरेको नाफाबाट लगानीकर्तालाई २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । अब बस्ने साधारणसभाले पारित गरेपछि लाभांश वितरण सुरु हुनेछ । चालु आर्थिक वर्षको चैतसम्म बीपीसीले ६५ करोड ७७ लाख रुपैयाँ खुदनाफा गरेको छ । कम्पनीले बिजुली बिक्रीबाट मात्र ५३ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । यसबाहेक हिमाल पावर लिमिटेडबाट ४९ करोड ६० लाख रुपैयाँ नगद लाभांश पाएको छ । बीपीसीले ३० मेगावाटको न्यादी, ३७.६ मेगावाटको कावेली ए आयोजना निर्माण गरिरहेको छ । यस्तै ८ मेगावाटको चिनोखोला, १०० मेगावाटको मनाङ–मस्र्याङदी, २०० मेगावाटको मुगु–कर्णाली जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । आगामी ५ वर्षमा २ खर्ब रुपैयाँ जलविद्युतमा लगानी गरी १ हजार मेगावाट बिजुली उत्पादन गर्न बीपीसीले ३ वटा चिनियाँ कम्पनीको साझेदारीमा एससीआईजी इन्टरनेसनल नेपाल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनी प्रालि गठन भइसकेको छ । संयुक्त कम्पनीले ८६२ मेगावाट क्षमताको २ आयोजना खरिद गरिसकेको छ । बीपीसीको १९.४ प्रतिशत स्वामित्व रहने छ । बोनस सेयर वितरणपछि कम्पनीको पुँजी बढ्ने र सो रकम जलविद्युत आयोजनामा लगानी गर्ने बीपीसीको योजना छ । बीपीसीले गत वर्ष सहायक कम्पनीबाट मात्रै ५५ करोड १० लाख रुपैयाँ नगद लाभांश प्राप्त गरेको छ । बीपीसीले हिमाल पावर लिमिटेड, हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमिटेड र नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक कम्पनी लिमिटेडबाट सो रकम बराबरको लाभांश प्राप्त गरेको हो ।    

सिटिजन्स बैंकले एकैदिन खोल्यो दुर्गममा ६ वटा शाखा, कति बढ्ला निक्षेप ?

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनले दुर्गम स्थानीय तहमा एकै दिन ६ वटा शाखा विस्तार गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बाणिज्य बैंकको शाखा स्थापना नभएका ६ वटा स्थानीय तहमा सिटिजन्स बैंकले शाखा खोलेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले केन्द्रिय कार्यालयबाटै ६ वटा शाखाहरुको सेवा आरम्भ गरेका हुन् । बैंकले इलामको माङसेबुङ गाउँपालिका, सोलुखुम्बुको लिखुपिके गाउँपालिका, रामेछापको सुनापति गाउँपालिका, काभ्रेको तिमाल गाउँपालिका, सिन्धुलीको हरिहरपुरगढी गाउँपालका र धनुकुटामा खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिका नयाँ शाखा स्थापना गरेको हो । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार नै दुर्गममा शाखा विस्तार गरेको प्रमुख कार्यकारी अधिकृत भण्डारीले बताए । यस अघि नै बैंकले नौं वटा स्थानीय तहमा शाखा विस्तार गरिसकेको थियो । निकट भविष्यमै बैंकले प्युठानको झिमरुक, पुर्वी रुकुमको भुमे, हुम्लाको नाम्खा, अछामको ढकारी, कैलालीको मोहन्याल, काठमाडौंको टोखा र थानकोटमा शाखा स्थापना गरिसकेको छ । बैंकका डेपुटी सीईओ गणेशराज पोखरेलले शाखा सञ्जालसँगै व्यवसाय विस्तारमा बैंकले आफुलाई केन्द्रित गराएको बताएका थिए । सिटिजन्स बैंकको शाखा सञ्जाल अब ७४ वटा पुगेको छ भने ६९ वटा एटिएम ९७ वटा शाखारहित बैंकिङ सञ्चालनमा रहेका छन् । बैंकको ग्राहक संख्या ३ लाख ३५ हजार पुगेको छ ।

नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकको बोनस पछिको सेयर मूल्य समायोजन

काठमाडौं । सोमबार नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा बैंकको ८.६१ प्रतिशत बोनस पछिको सेयरको मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकिता १३५.३५ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १८१.६७ रुपैयाँ रहेको थियो । हाल कम्पनीको चुक्ता पुँजी ५२ करोड ६३ लाख रुपैयाँ रहेको छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४७ रुपैयाँ रहेको छ ।  

नेपाल इन्स्योरेन्स कम्पनीको २६औँ शाखा सर्लाहीमा

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आफ्नो २६औँ शाखा सर्लाही जिल्लाको हरिबनमा सञ्चालनमा ल्याएकाे छ । उक्त शाखाको उद्घाटन यस इन्स्योरेन्सका नायव महाप्रबन्धक विक्रान्त पाण्डेले गरेका हुन् । इन्स्योरेन्सले शाखा विस्तारको क्रममा उक्त स्थानमा थप नयाँ शाखा खोलेको हो । यस शाखा कार्यालय संचालन पश्चात जनमानसमा बीमाको पहुँच वृद्धि गर्नमा सहयोग पुग्ने कम्पनीको विश्वास छ ।

यूनाइटेड सिमेन्ट्सद्वारा धुनिवेशी नगरपालिकामा शैक्षिक सामाग्री वितरण

काठमाडौं । केएल दुगड ग्रुप अन्तर्गत यूनाइटेड सिमेन्ट्स प्रा.लि.ले धुनिवेशी नगरपालिकाको विभिन्न स्थानीय विद्यालयहरुका सम्पूर्ण विद्यार्थीहरुलाई विभिन्न शैक्षिक सामाग्रीहरु वितरण गरेको छ । कम्पनीले उक्त स्थानमा शिक्षाको महत्व दर्शाउने र सम्पूर्ण अभिभावकहरुलाई प्रोत्साहित गर्ने उद्देश्यका साथ शैक्षिक सामाग्रीहरु वितरण गरेको हो । विविध समस्याका कारण वर्षेनी सयौँ बालबालिकाहरुले बीचमै अध्ययन छोड्नु पर्ने समस्यालाई केही हदसम्म समाधान गर्ने र अभिभावकहरुमा जनचेतना फैलाउने उद्देश्यका साथ विभिन्न शैक्षिक सामाग्रीहरु वितरण गरिएको कम्पनीले जनाएको छ । यस सिमेन्ट्सले विगतका दिनहरुमा पनि यस्ता धेरै सामाजिक कार्यहरु गर्दै आइरहेको छ । गत वर्ष पनि यस कम्पनीले सो क्षेत्रमा एम्बुलेन्स वितरण गरेको थियो र आगामी दिनहरुमा पनि यस्तै विभिन्न सामाजिक कार्यहरु गर्ने प्रतिबद्घता जनाएको छ ।

२ महिनामा होला दैनिक ३ अर्ब १४ करोड विकास खर्च ?

काठमाडौं । विनियोजन गरिएको विकास बजेट सक्न सरकारले अब दैनिक औसत ३ अर्ब १४ करोड ५४ लाख रुपैयाँ खर्च गर्नुपर्ने भएको छ । चालु आर्थिक वर्ष सकिन अब २ महिना केही दिन बाँकी रहदा लक्ष्यको ४० प्रतिशत हारहारीमा मात्र खर्च भएपछि यस्तो अवस्था आएको हो । सरकारले लिएको लक्ष्य पुरा गर्नका लागि दैनिक यो रकम खर्च गर्नुपर्ने देखिएको हो । आर्थिक वर्ष सकिन अब ६४ दिन मात्र बाँकी रहदा अझै ६० प्रतिशत विकास खर्च हुन बाँकी छ । चालु आवमा सरकारले ३ खर्ब ३५ अर्ब १७ करोड रुपैयाँ पुँजीगत खर्च विनियोजन गरेको मध्ये वैशाख ३० गतेसम्म १ खर्ब ८६ अर्ब ३३ करोड रुपैयाँ मात्र खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । गत वर्षदेखि डेढ महिना अगावै बजेट ल्याउदा पनि विकास खर्चमा सुधार हुन सकेको छैन् । चालु आर्थिक वर्षदेखि बजेट खर्चको अख्तियारी लिनु नपर्ने र सिधै ठेक्का गरेर बजेट खर्च गर्न पाउने व्यवस्था पनि प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन् । सरकारले गत फागुनमा गरेको बजेटको अर्धवार्षिक मूल्याँकनमा ७० प्रतिशत अर्थात २ खर्ब ३४ अर्ब ६२ करोड रुपैयाँ मात्र खर्च हुने प्रक्षेपण गरेको छ । बाँकी ३० प्रतिशत अर्थात १ खर्ब रुपैयाँ खर्च नहुने देखिएको छ । सरकारले कुल बजेटको ८४.६७ प्रतिशत खर्च नहुने देखाएको छ । चालु खर्च ७० प्रतिशत अर्थात ५ खर्ब ६२ अर्ब रुपैयाँ खर्च भइसकेको छ । यस्तै वित्तीय व्यवस्थापनतर्फ पनि ३८.२४ प्रतिशत खर्च भएको छ ।

यातायात व्यवसायीको अवैध असुली जारी, नयाँ बसपार्कमा बसबाट दैनिक ५० रुपैंया, वार्षिक ९० लाखको हिसाब खै ?

काठमाडौं । राजधानीको नयाँ बसपार्कमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अवैध रुपमा बसको टिप शुल्क असुली जारी राखेको छ । यातायात सेवा बन्द नगर्ने र सिण्डिकेट हटाउने निर्णयको स्वागत गर्ने कागज गरेका व्यवसायीले अवैध रुपमा टिप शुल्क उठाउन थालेका हुन् । बसपार्कबाट बाहिरिने प्रत्येक बसबाट व्यवसायीले पटकैपिच्छे ५० रुपैंया शुल्क असुली गरिरहेका छन् । सिण्डिकेट हटेपछि यातायात व्यवसायी समितिद्धारा उठाउदै आएको टिप शुल्क खारेज भएपछि व्यसायीले समितिको नाममा बसबाट अझै टिप शुल्क असुली गरिरहेका छन् । सरकारले समितिलाई नविकरण नगर्ने भएपछि ती सबै अवैध भइसकेका छन् । बसपार्कमामा कार्यरत एक कर्मचारीका अनुसार दैनिक ५०० बस सो पार्कबाट बाहिरिन्छन् । यो हिसाबले ५०० बसबाट दैनिक २५ हजार रुपैयाँ उठ्ने गर्दछ । यसबाट मात्रै मासिक रुपमा ७ लाख ५० हजार रुपैयाँ उठ्नेछ । १२ महिनाको हिसाब गर्ने हो भने यो रकम ९० लाख रुपैयाँ पुग्छ। महासंघले यसरी उठाउने रकममा कुनै खर्च शिर्षक र आम्दानी शिर्षक तोकेको छैन । व्यवसायीहरुले २ वर्षअघि ३० रुपैंया लिदै आएको रकमलाई बढाएर ५० रुपैंया बनाएको हो । व्यवसायीलाई अवैध शुल्क उठाउने अधिकार नभएको यातायात व्यवस्था विभागका निर्देशक तुलसीराम अर्यालले बताए । उनले भने- व्यवसायीलाई अतिरिक्त शुल्क उठाउने कुनै कानूनी आधार छैन, यदि अवैध रकम उठाइरहेको छ भने यो ठगी मुद्दा अन्तर्गत पर्ने छ । राष्ट्र बैंकले व्यवसायीहरुको खाता बन्द गरेपनि व्यवसायीहरुले रकम असुली गरिरहेका छन् । तर बसपार्कमा काम गर्ने कर्मचारीहरुले भने तलब सेवासुविधा नपाएको बताएका छन् । बसपार्कमा एक रात बस्ने बसले ४५० रुपैंया ठेकेदार लोहत्से बहुउद्धेशिय प्राइभेट लिमिटेडलाई तिर्दै आएका छन् । बसपार्क भित्र टिकट बिक्रीमा बेथिति बसपार्कमा अहिले ७० व्यवसायी तथा कम्पनीले बस सेवा दिइरहेका छन् । ७० कम्पनीको टिकटलाई एकिकृत गरी १६ वटा झ्यालबाट टिकट वितरण भैरहेको छ । अझै पनि यात्रुहरुले लाइनमा बसेर टिकट लिनुपर्ने बाध्यता छ । टिकट बेच्ने कर्मचारीले कम भाडादरमा चलाउने कम्पनीको टिकटलाई बढी दरमा बिक्री गरिरहेका छन् ।