सिंहदरबारभित्रै आईएनजिओको ९० अर्ब
काठमाडौं । आन्तरिक सुरक्षाका लागि निकै संवेदनशिल मानिएका मन्त्रालयसहित संवैधानिक आयोगमासमेत अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्था आइएनजिओ र दातृ निकायले ९० अर्ब रुपैयाँ बराबर लगानी गरिरहेको पाईएको छ। सुरक्षा संवेदनशिलता ख्याल नगरी गृहसहित १८ वटा मन्त्रालय, सर्वोच्च अदालत, राष्ट्रिय मानवअधिकार आयोगलगायतका निकायमा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाले ८८ अर्ब ९८ करोड १४ लाख ८६ हजार ७ स ८१ रुपैयाँ खर्च गरिरहेका हुन्। पूर्वमुख्यसचिव लीलामणि पौडेलले पदबहालीलगत्तैको पहिलो निर्णय नै प्रधानमन्त्री कार्यालयबाट आईएनजिओ र दातृ निकायबाट सहयोग नलिने निर्णय गरेका थिए। ‘प्रधानमन्त्री कार्यालयले कुनै पनि आइएनजिओ र दातृ निकायको सहयोग नलिने भन्ने निर्णय मेरो पदवहालीको पहिलो निर्णय थियो,’ हाल चीनका लागि नेपाली राजदूत रहेका पौडेलले भने,‘त्यो निर्णय उल्ट्याउन राजदूतदेखि कहलिएका सांसद प्रधानमन्त्रीमार्फत म माथि निकै दबाब दिए। तर मैले प्रधानमन्त्री कार्यालय चलाउन नेपाल आफैं सक्षम छ भनेर अडान राखेपछि बल्ल काम फत्ते गरिएको थियो।’ उनका अनुसार मुख्य सचिव भए लगत्तै सो निर्णय गरे तापनि प्रधानमन्त्री कार्यालयबाट आइएनजिओ र दातृ निकायका परियोजना हटाउन ६ महिना लागेको थियो। नागरिक दैनिकबाट ।
कपन र कीर्तिपुर एक्सचेन्जका टेलिफोन लाइनलाई नयाँ प्रविधिमा प्रतिस्थापन
काठमाडौं । नेपाल टेलिकमले कपन र कीर्तिपुर एक्सचेन्जका पुरानो टीडीएम प्रविधिका स्वीचिङ उपकरणलाई नयाँ प्रविधिको आईपी बेस्ड उपकरणबाट प्रतिस्थापन गरेको छ । कम्पनीले गत साउन १ गते आइतबार कपन एक्सचेन्ज र साउन ४ गते बुधबार कीर्तिपुर एक्सचेन्जमा सो प्रतिस्थापन कार्य सम्पन्न गरेको हो । कीर्तिपुर एक्सचेन्जका ५ हजार ८ सय २३ लाइन र कपन एक्सचेन्जका ६ हजार ५ सय ३३ लाइन अब नयाँ प्रविधिमा प्रतिस्थापन भएका छन् । आइपी बेस्ड उपकरणबाट प्रतिस्थापन गरेपछि ल्यान्डलाइन प्रविधिको भ्वाइस तथा डाटा सेवाको गुणस्तरमा उल्लेखनीय सुधार हुनेछ । यस प्रविधि अन्तर्गतका सबै लाइनबाट अब ग्राहकको मागअनुरुप एडीएसएल लाइन उपलब्ध गराउन सम्भव हुनेछ । साथै, भविष्यमा ल्यान्डलाइन सेवामा आधारित अन्य आधुनिक सेवा जस्तै: आईपीटीभी, भिडियो अन डिमान्ड आदि सेवा समेत प्रदान गर्न मद्दत पुग्ने छ । नेपाल टेलिकमले हाल सञ्चालनमा रहेका पुराना प्रविधिका पीएसटीएन (ल्यान्डलाइन) टेलिफोन सेवाको गुणस्तर अभिबृद्धि हुने गरी नयाँ प्रविधिमा परिवर्तन गर्न आरम्भ गरेको छ । गत असार २३ गते नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष एवं सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ्गले ललितपुरको ग्वार्कोस्थित टेलिफोन एक्सचेन्जमा नयाँ प्रविधिको पीएसटीएन टेलिफोन लाइनबाट कुरा गरी सो कार्यको आरम्भ गरेका हुन् । साथै, उनले पुरानोे टीडीएम प्रविधिको स्वीचिङ उपकरणलाई नयाँ प्रविधिको आइपी बेस्ड उपकरणबाट प्रतिस्थापन गर्दै स्तरोन्नति गर्ने कार्यको शुभारम्भ गरेका थिए । ग्वार्को एक्सचेन्जका सम्पूर्ण ४ हजार २ सय ४६ लाइन टेलिफोन सफलतापूर्वक प्रतिस्थापन गर्ने कार्य सम्पन्न भइसकेको छ । आगामी दुई महिना भित्रमा मुलुकका एक लाख ३४ हजार पीएसटीएन टेलिफोन लाइनका उपकरणहरुलाई आइपी बेस्ड उपकरणबाट प्रतिस्थापन गरिनेछ । आगामी आर्थिक वर्ष भित्रमा कुल चार लाख ल्यान्डलाइन सेवालाई यस प्रविधिबाट प्रतिस्थापन गरिसक्ने कार्यक्रम रहेको छ । साथै त्यसपछि बाँकी ल्यान्डलाइन सेवालाई पनि क्रमशः आइपी बेस्ड प्रविधिमा रुपान्तरण गर्दै लैजाने लक्ष्य रहेको छ । २५ वर्ष अघि स्थापित डिजिटल प्रविधिका उपकरणलाई प्रविधिको विकासक्रम अनुरुप आधुनिक आईपी बेस्ड प्रविधिमा रुपान्तरण गरी उपभोक्ताको माग अनुरुपको भ्यालु एडेड सेवा समेत वितरण गर्न सकिने गरी यो सेवालाई स्तरोन्नति गर्न आरम्भ गरिएको टेलिकमले जनाएको छ ।
अब ठमेल २४ सै घण्टा खुल्ने
काठमाडौं । काठमाडौं । अब राजधानीको व्यस्त पर्यटकिय नगरी ठमेल २४ सै घण्टा खुल्ने भएको छ । काठमाडौं महानगरपालिकाले अघि सारेको ‘२४ आवर मार्केट’को योजनालाई गृहमन्त्री जनार्दन शर्मा सुरक्षा दिएर सघाउने घोषणा गरेका हुन् । यस अघि नै ठेमललाई नेपालको पहिलो २४ आवर मार्केटका रुपमा सञ्चालन गर्ने भनिएपनि प्रहरीले सुरक्षा दिन नसक्ने बताउँदै आएको थियो । अब गृहमन्त्रीले सुरक्षाको उचित प्रबन्ध मिलाउन निर्देशन दिएसँगै ठमेल २४ सै घण्टा सञ्चालनमा आउन लागेको हो । राजधानीमा आयोजीत पर्यटन व्यवसायीहरुको एक कार्यक्रममा उनले ठमेललाई २४ सै घण्टा खुल्ला गरेर पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने बताएका हुन् । ज्ञात रहोस नेपाल आउने विदेशी पर्यटक मध्ये ९० प्रतिशतले एक पटक ठमेलको भ्रमण गर्दै आएका छन् ।
नबिल बैंकद्धारा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन
काठमाडौं । नबिल बैंकले वित्तिय साक्षरताको बारेमा जानकारी गराउने र आर्थिक समावेशिकरणलाई अभिवृद्धि गर्ने हेतुले राष्ट्र ब्यापी रुपमा वित्तिय साक्षरता अभियान सञ्चालन गरिरहेको छ । बैंकको ३३ औं वार्षिकोत्सवको अवसर पारेर यो अभियानलाई लम्जुङको बेसिशहरबाट आर्थिक साक्षरता सम्बन्धी सचेतना र्याली, सडक नाटक तथा स्थानिय तहमा सफल भएका साना ब्यवसायीहरुका बिचमा अन्तरक्रिया कार्यक्रम जस्ता तिनवटा छुट्टाछुट्टै कार्यक्रमहरु आयोजना गरी शुरू गरिएकाे छ । उक्त कार्यक्रमहरु फिनलिट नेपाल सँगको सहकार्यमा गरिएको थियो । बैंकका बेसिशहर शाखाका शाखा प्रवन्धक अमृतराज उप्रेती र फिनलिट नेपालका प्रकाश कोइरालाले यी कार्यक्रमहरुको संयोजन गरेका थिए । विभिन्न सरकारी निकायका कर्मचारीहरु, सुरक्षाकर्मि, समाजसेवी, स्थानिय बासिन्दा तथा विद्यार्थीहरु समेतको सहभागितामा बैकिङ विषयमा सचेतना फैलाउने सन्देश राखिएका प्लेकार्डहरु प्रदर्शन गरी आयोजना गरिएको र्यालीलाई प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले उद्घाटन गरेका थिए । उक्त र्याली मनाङ चौताराबाट सेरा चोक हुँदै नबिल बैंक सम्म पुगेको थियो । त्यसपछी नोट वा सिक्काहरुलाई कसरी सफा राख्ने, बैकिड्ड कारोवार गर्ने बानीको विकास कसरी गर्ने, बैंकमा रकम जम्मा गर्दाका फाइदाहरु के के हुन, अनावश्यक रकम खर्चगर्ने खराब बानीलाई कसरी नियन्त्रण गर्ने, एटिएम कार्डको प्रयोग कसरी गर्ने आदि जस्ता विषयमा सन्देश प्रवाह गर्ने खालको मनोरञ्जनात्मक सडक नाटक कार्यक्रम आयोजना गरिएको थियो । त्यस पश्चात नबिल बैंकबाट कर्जा लिएर छोटो समयमा आफ्नो व्यवसायलाई धेरै गुणा विस्तार गर्न सफल भएका एक सफल स्थानिय व्यवसायी मनमोहन अधिकारीले व्यवसाय विस्तारमा बैंकको भूमिका र सहयोगको बारेमा आफ्नो अनुभवलाई सहभागिहरु समक्ष बाँडेका थिए ।
सिप्रदी ट्रेडिङ्द्धारा ‘टाटा मार्कोपोलो अल्ट्रा’ बसको उद्घाटन, भोलिदेखि नै संचालनमा
काठमाडौं । नेपालको लागि टाटा गाडीहरुको एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ् प्रा.लि. ले टाटा मोटर्स् लि.द्वारा उत्पादित ‘मार्कोपोलो अल्ट्रा एलपीओ’ बसको औपचारिक संचालन गरेको छ । बिहीबार एक कार्यक्रम गर्दै कम्पनीले ‘मार्कोपोलो अल्ट्रा एलपीओ ७.५टी ३४ एस’ का १० थान बसहरु सिप्रदी ट्रेडिङ्को ईटहरी शाखाको हिमशिखर यातायात एण्ड ट्राभल टुर्स् प्रा.लि. लाई औपचारिक साँचो हस्तान्तरण गरि उद्घाटन गरेको छ । नेपाल अधिराज्यभर व्यवसायी तथा सर्वसाधरण यात्रु वर्गबाट अत्यन्तै रुचाइएको लोकप्रिय एलपीहओ अल्ट्रा मार्कोपोलो बस नेपालको पूर्वी भेगमा ठूलो संख्यामा संचालित छ । यो गाडी साउन ६ गतेदेखि विराटनगरबाट काँकडभित्ता र धरानबाट काँकडभित्तासम्म सेवा संचालनमा आउने कम्पनीले जनाएको छ । हिमशिखर यातायात एण्ड ट्राभल टुर्स्का अध्यक्ष मनोज कुमार प्रधानका अनुसार यस गाडीमा सिसी टिभी क्यामेरा, डेष्टिनेशन बोर्ड, एलईडी टिभी, यूपीएसका साथै अन्य सुविधाहरु रहेको बताएका छन् । अहिलेको प्रतिस्पर्धी समय र यात्रुवर्गको इच्छा चाहनालाई मध्यनजर गर्दै निश्चित एवं तोकिएको समयमा गन्तव्य सम्म पुर्याइने र यात्रुवर्गलाई शिष्ट र मर्यादित व्यवहार गरिने उनले बताए । उक्त साँचो हस्तान्तरण कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रा.लि. का सिओओराजेश प्रसाद गिरीले सिप्रदीको उद्देश्य गाडी बिक्री गर्नु मात्र नभई बिक्री पछिको सेवा सुविधा उपलब्ध गराई उच्च ग्राहक सन्तुष्टी हाँसिल गर्नु रहेको बताए । त्यस्तै, उनले गाडीहरुलाई कुनै पनि बेला अफ रोड हुन नदिन र छिटो भन्दा छिटो गाडीको मर्मत गरि संचालन गराउनु रहेको छ बताए । साथै उनले गाडीलाई चाहिने आवश्यक स्पेयर पार्टस्हरु सधैं सर्वत्र उपलब्ध गराउने प्रतिबद्धता कम्पनीको रहेको बताए ।
आरएसडिसी लघुवित्तलाई २०० प्रतिशत हकप्रद निष्काशन गर्न बोर्डको अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले आरएसडिसी लघुवित्त वित्तिय संस्थालाई २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति प्रदान गरेको छ । बोर्डले कम्पनीलाई २३ करोड रुपैयाँ बराबरको २३ लाख कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति दिएको हो । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
दोश्रो जिम्मेवार व्यवसाय सम्मेलन साउन १९ गतेदेखि हुने
काठमाडौं । नेपालमा व्यवसायिक सामाजिक उत्तरदायित्व र असल व्यवसायिक अभ्यासको प्रवद्र्धन गर्नका लागि यही साउन १९ र २० गते दोश्रो जिम्मेवार सम्मेलनको आयोजना हुने भएको छ । राष्ट्रिय व्यवसायिक पहलले त्रिभूवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयसंगको सहकार्यमा यस सम्मेलनको आयोजना गर्दैछ । नेपाली व्यवसायिक जगतमा व्यवसायिक सामाजिक उत्तरदायित्व एक आधुनिक अवधारणा हो जसलाई प्रचार प्रसार गर्न राष्ट्रिय व्यवसायिक पहलले विगत एक दशकदेखि विभिन्न प्रयासहरु गर्दै आइहरको छ । आयोजक संस्था राष्ट्रिय व्यवसायिक पहलका अध्यक्ष पद्यज्योतिले सम्मेलनको घोषणा गर्दै भने “दुई दिने यस सम्मेलनमा १६ विभिन्न सत्रहरुमा ठूलादेखि साना उद्योगी व्यवसायीहरु, बैंक तथा वित्तिय संस्थाहरु, सम्बन्धित सरकारी निकाय, विकास साझेदार संस्थाहरु लगायत अन्य सरोकारवालाहरुले नेपालमा जिम्मेवार व्यवसायको क्षेत्र, प्रकृति, लाभ तथा चुनौतिहरुको विषयमा बृहत् छलफल गर्नेछन् । यस सम्मेलनले व्यवसायिक सामाजिक उत्तरदायित्व सम्बन्धि नयाँ कानूनको कार्यान्वयन गर्न पनि सहयोग पुग्ने हामीेले विश्वास लिएका छौं ।” नेपाल सरकारले नयाँ औद्योगिक व्यवासाय ऐन २०७३ र नेपाल राष्ट्र बैंकले गत वर्षको मौद्रिक नीति अन्तर्गत तोकिएको सीमाभन्दा बढी कारोबार गर्ने उद्योग व्यवसाय र वित्तिय संस्थाहरुमा व्यवसायिक सामाजिक उत्तरदायित्वलाई बाध्यकारी बनाएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाबाट सम्मेलनको उद्घाटन हुने तय भएको छ । सम्मेलनमा समेटिएका ट्रयाक र तिनका उद्देश्यहरु निम्न बमोजिम रहेका छन् : क) व्यवसाय सञ्चालनलाई संस्थागत एवं पद्धतिबद्ध गर्न “आन्तरिक व्यवसायिक अभ्यास” ख) व्यवसायका निकटतम सरोकारवालाहरुको आवश्यकताको व्यवस्थापन गर्न “सरोकारावाला परिचालन” ग) व्यवसायिक वातावरण सुधार गर्न “सबल साझेदारी” घ) भविष्यका लागि जिम्मेवार व्यवसाय प्रवद्र्धनको खाका तयार गर्न “प्राध्यापन तथा नियमन” प्रत्येक सत्रमा एक प्रखर अन्तर्राष्ट्रिय वक्ता र एक नेपाली कम्पनीको अनुभव सहित दुई नेपाली वक्ताहरु रहनेछन् । साथै प्रत्येक सत्रलाई नेपालका प्रतिष्ष्ठित उद्योगी व्यवसायी वा सत्रसंग सम्बन्धित प्रख्यात व्यक्तिहरुले अध्यक्षता गरी सञ्चालन गर्नेछन् । सम्मेलनमा सहभागि हुने अन्तर्राष्ट्रिय वक्ताहरुमा भुटान उर्जा कर्पाेरेशन लिमिटेडका व्यवस्थापकिय निर्देशक जिम छिरिंग, संयुक्त राष्ट संघ अन्तर्गत ग्लोबल कम्प्याक्ट एशिया प्रमुख मेंग लुई, भारतीय कर्पाेरेट मामिला संस्थानको संस्थागत साझेदारी एवं सञ्चार प्रमुख अतुल देव शर्मा, सोल एनालाइटिक्सका संस्थापक एवं नोकिया कर्पाेरेशनका मध्य पूर्व क्षेत्रका पूर्व बजार प्रबन्धक सुधिर नायर, सिंगापुर राष्ट्रिय विश्वविद्यालयका उपाध्यक्ष डा सिराम रामाकृष्ण र विश्व विश्वविद्यालय संघका पूर्वअध्यक्ष प्रा डा ड्जुल लगायत रहेका छन् । राष्ट्रिय वक्ताहरुमा विभिन्न नविनतम साना तथा मझौला उद्योग व्यवसाय सहित औद्योगिक व्यवसायिक समूहहरुमा ज्योति समूह, वैद्य समूह, पञ्चकन्या समूह, गोल्छा समूह, नेपाल उद्योग वाणिज्य महासंघ आदि छन् । त्यसैगरी सरकारी निकायतर्फबाट उद्योग मन्त्रालय, नेपाल राष्ट्र बैंक, निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, विद्युत प्राधिकरण रहेका छन् भने नागरिक समाज तर्फ श्रम संगठन, वातावरण अधिकारकर्मी, युवा अधिकारकर्मी, सुशासन अधिकारकर्मी लगायत रहेका छन् ।
सडक विस्तारमा घर भत्किँदैछ ? चिन्ता नमान्नुस अब क्षतिपुर्ति बढ्दैछ
काठमाडौं । के काठमाडौं उपत्यका भित्र सडक विस्तारका क्रममा आफ्नो घर भत्किने चिन्ताले तपाईलाई सताईरहेको छ ? यदि त्यसो हो भने चिन्ता हटाइदिनुस, किनकी अब भत्किएका घरहरुको क्षतिपुर्ति रकम वृद्धि हुँदैछ । काठमाडौं उपत्यका विकास प्राधिकरणले सडक विस्तारका क्रममा भत्काईने घरहरुको पुननिर्माणका लागि पुग्ने गरि क्षतिपुर्ति वृद्धि गर्न तयारी अघि बढाएको छ । साउन मसान्तभित्र क्षतिपुर्तिको नयाँ दर लागु गर्ने तयारी भैरहेको प्राधिकरणका विकास आयुक्त भाईकाजी तिवारीले बताए ।‘भत्किएका घरहरुको पुननिर्माण गर्न पुग्ने गरि क्षतिपुर्तिको दर बनाउने गृहकार्य अघि बढेको छ, साउन मसान्त अघि नै नयाँ दर कार्यान्वयनमा ल्याउँछौं’, प्राधिकरणका विकास आयुक्त तिवारीले विकासन्युजसँग भने । हाल प्राधिकरणले प्रति वर्ग फुट २६ सय रुपैंयाँ क्षतिपुर्ति दिँदै आएको छ ।‘अहिले प्रतिवर्ग फुट २६ सय रुपैंयाँ दिने व्यवस्था छ, कन्ट्याक्टर लगाउँदा र रास कट्टी गर्दा १८ सय जति पनि हातमा पर्दैन, त्यसले भत्किएको घर बनाउनै नपुग्ने अवस्था देखेपछि दर बढाउने अभियानमा लागेका हौं’, तिवारीले भने । उनले क्षतिपुर्ति रकम कति वृद्ध हुन्छ भन्ने चाँही एकिन नभएको स्पष्ट पारे । काठमाडौं उपत्यकाका तीनै जिल्लाका जन निर्वाचित प्रतिनिधीहरुले सडक विस्तारमा सघाउने प्रतिवद्धता व्यक्त गरेको जानकारी दिँदै तिवारीले भने–जनप्रतिनीधिले सडक विस्तारमा सघाउँछु भनेका छन र क्षतिपुर्ति दर बढाउनुपर्ने माग छ । तिवारीका अनुसार हालसम्म उपत्यकाका तीन जिल्लामा ३५० किलोमिटर सडक विस्तार सम्पन्न भएको छ । सोमध्ये २६३ किलोमिटर काठमाडौंमा, ५७ किलोमिटर ललितपुरमा र ३० किलोमिटर भक्तपुरमा सम्पन्न भएको हो । काठमाडौंमा १०० किलोमिटर, ललितपुरमा २० किलोमिटर र भक्तपुरमा १० किलोमिटर सडकमा विस्तारका लागि चिनो लगाएर राखिएको पनि उनले बताए । प्राधिकरणले काठमाडौंमा ४०० किलोमिटर, ललितपुरमा १३७ किलोमिटर र भक्तपुरमा १३० किलोमिटर गरि कुल ६३० किलोमिटर सडक विस्तारको योजनामा अनुसार काम गरिरहेको छ । हालसम्म सडक विस्तारकै क्रममा क्षतिपुर्तिका लागि मात्रै २ अर्ब ९४ करोड खर्च भएको तिवारीले जानकारी दिए । सो रकममध्ये ७५ प्रतिशत रकम घरको क्षतिपुर्तिमा लागेको पनि उनले बताए ।