कोटेश्वरमा सुरुङमार्ग र दुई फ्लाईओभर बन्ने निश्चित, जापानसँग ३० अर्ब ऋण लिइने
काठमाडौं । काठमाडौं उपत्यकाको सबैभन्दा बढी ट्राफिक जाम हुने कोटेश्वर चोकमा अब सुरुङमार्ग (कट एन्ड कभर) र दुईवटा फ्लाईओभर निर्माण हुने निश्चित भएको छ । सरकारले ‘कोटेश्वर इन्टरसेक्सन सुधार आयोजना’ कार्यान्वयनका लागि जापान सरकारसँग करिब ३० अर्ब ८ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण लिने निर्णय गरेसँगै यो परियोजना कार्यान्वयनको बाटो खुलेको हो । भदौ २ गते बसेको मन्त्रिपरिषद् बैठकले जापानसँग ३४ अर्ब ४९ करोड येन ऋण लिने निर्णय गरेको हो । नागढुंगा सुरुङमार्गपछिको नेपालको यो अर्को ठूलो पूर्वाधार परियोजनाले कोटेश्वरको दैनिक जामबाट मुक्ति दिलाउने अपेक्षा गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्लालाई जोड्ने मुख्य बिन्दु भएकाले कोटेश्वर चोकमा सवारीको चाप अत्यधिक हुने गरेको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा तयार पारिएको प्रारम्भिक अध्ययन प्रतिवेदनअनुसार तीनकुनेदेखि जडीबुटीसम्मको क्षेत्रमा विभिन्न संरचना निर्माण हुनेछन् । यद्यपि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएपछि मात्रै संरचनाको अन्तिम टुङ्गो लाग्ने सडक विभागले जनाएको छ । जाइकाको प्रारम्भिक अध्ययनले प्रस्ताव गरेका मुख्य संरचनाहरूमा तिनकुनेदेखि विमानस्थलसम्म ६६४ मिटर लामो फ्लाइओभर बन्नेछ भने विमानस्थल परिसरभित्र ७०० मिटर लामो ‘कट-एन्ड-कभर’ प्रकारको सुरुङमार्ग बन्ने तथा विमानस्थलदेखि जडिबुटीसम्म २३८ मिटर लामो अर्को फ्लाइओभर बन्ने विभागले जनाएको छ । सडक विभागले काठमाडौं, भक्तपुर र ललितपुर तीनवटै जिल्लालाई असर गर्ने र ट्राफिकको चाप अत्यधिक भएकाले यो परियोजना प्राथमिकतामा पर्नु स्वाभाविक भएको जनाएको छ । ‘त्यहाँ ट्राफिक धेरै छ, त्यसैले यो प्राथमिकतामा परेको हो,’ विभागको विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुन अर्यालले भने । यद्यपि उनले सरकारले ऋण लिन सैद्धान्तिक निर्णय गरे पनि प्रक्रिया भर्खरै सुरु भएको बताए । ‘अहिलेसम्म हामीलाई पनि पत्रिकामार्फत थाहा भएजति नै जानकारी छ । अब दुई देशबीच ऋण सम्झौता भएर आधिकारिक रूपमा आएपछि विस्तृत काम अघि बढ्छ,’ उनले भने । विभागका अनुसार अहिले प्रस्ताव गरिएका संरचनाहरू ‘थ्योरेटिकल’ अर्थात् अवधारणागत मात्रै हुन् । अब विस्तृत सर्भे र डिजाइनको काम सुरु गरिनेछ । ‘अब सर्भे डिजाइन गरेर बल्ल फाइनल रूप दिन्छौं अनि मात्र निर्माण सुरु हुन्छ,’ उनले भने । आयोजनाको डिजाइन, निर्माण र कार्यान्वयनको सम्पूर्ण जिम्मा सडक विभागले नै लिनेछ । प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन (फिजिबिलिटी स्टडी) भए पनि विस्तृत वातावरणीय अध्ययन हुन बाँकी रहेको विभागले जनाएको छ । यस्तै, जापानसँग ऋण लिने विषयमा अर्थमन्त्रालयमा सम्पर्क गर्दा प्रवक्ता, सूचना अधिकारी लगायत अर्थमन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखाले यसबारे जानकारी नभएको बताएको छ । जाइकाको अध्ययनअनुसार आयोजनाको अनुमानित समयरेखा ऋण सम्झौता सन् २०२५ को सेप्टेम्बर रहेको छ । विस्तृत डिजाइन र टेन्डरको तयारी २०२६ जुनदेखि २०२७ मेसम्म गरिने सडक विभागले जनाएको छ । यस्तै, निर्माण कम्पनीसँग सम्झौता २०२८ को अप्रिल गर्ने तथा निर्माण सम्पन्न हुने लक्ष्य २०३३, अगस्टसम्मको लिएको सडक विभागले जनाएको छ । यो आयोजना सम्पन्न भएपछि काठमाडौं उपत्यकाको मुख्य पूर्व-पश्चिम यातायात प्रवाह थप प्रभावकारी हुने र विशेष गरी अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको ट्राफिक जाम न्यूनीकरणमा उल्लेखनीय सुधार आउने विश्वास लिइएको छ ।
सिटिजन्स बैंकले बागमतीमा नेतृत्व विकास सेमिनार सम्पन्न
काठमाडौं । सिटिजन्स बैंकले बागमती प्रदेशका प्रमुख, क्लस्टर हेड, शाखा प्रबन्धक तथा कर्मचारीहरूलाई लक्षित गरी 'ईम्पावरिङ्ग लिडरसिप इन बागमतीः अ सेमिनार फर पर्फरमेन्स एण्ड एक्सिलेन्स' नामक कार्यक्रम सम्पन्न गरेको छ । बैं कका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, उप–प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ कार्यकारीहरू समेतको उपस्थिति रहेको सो कार्यक्रम नेतृत्व क्षमता अभिवृद्धि र कार्यक्षमता सुदृढीकरणमा केन्द्रित थियो । कार्यक्रममा गत आर्थिक वर्षको कार्यप्रगति समीक्षा गर्दै चालु आर्थिक वर्षका प्राथमिकताहरूमा छलफल भएको बैंकले जनाएको छ । यसअघि मधेश प्रदेशमा पनि यस्तै सेमिनार आयोजना भइसकेको र अन्य प्रदेशहरूमा समेत चरणबद्ध रुपमा सञ्चालन गर्ने योजना रहेको छ । सिटिजन्स बैंकले आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म कर्जा, निक्षेप, खुद व्याज आम्दानी लगायतका सूचकमा दोहोरो अंकको वृद्धि हासिल गरेको जनाएको छ । समीक्षा अवधिमा बैंकको कर्जा प्रवाह ११.१५ प्रतिशत बढेर १ खर्ब ७५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, निक्षेप संकलन ११.६९ प्रतिशतले बढ्दै २ खर्ब १४ अर्ब ८ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब २२ अर्ब बढी हो । खुद व्याज आम्दानीमा पनि ११.२० प्रतिशत वृद्धि भई ६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । हाल बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८१.९१ प्रतिशतमा कायम छ, जसले तरलता व्यवस्थापन सन्तुलित रहेको देखाउँछ । त्यस्तै, सम्पत्ति प्रतिफल दर ०.५५ प्रतिशत र पुँजी प्रतिफल दर ५.८१ प्रतिशत कायम भएको बैंकले जनाएको छ ।
टेस्लाको मोडल वाई एल चीनमा सार्वजनिक, अमेरिकामा भने उत्पादन नहुने संकेत
काठमाडौं । टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले कम्पनीले यसै हप्तादेखि चीनमा बजारमा ल्याएको नयाँ छ-सीटको मोडल वाई भेरियन्ट सायद अमेरिकामा कहिल्यै उत्पादन नहुने बताएका छन् । उनले स्वचालित (सेल्फ-ड्राइभिङ) सवारीसाधनको बढ्दो प्रभावका कारण उत्पादन नहुने बताएका हुन् । शाङ्घाई कारखानामा बनेको मोडल वाई एलमा लामो ह्वीलबेस र तीन पंक्तिको सिट रहेको छ । यसको मूल्य करिब ४७ हजार २०० अमेरिकी डलर तोकिएको छ । यो मंगलबारदेखि चीनमा बिक्रीमा आएको हो, जहाँ टेस्लाले बाईडी र साओमीजस्ता स्थानीय ईभी निर्माताहरूको तीव्र प्रतिस्पर्धा सामना गरिरहेको छ । ‘यो भेरियन्ट अमेरिकामा अर्को वर्षको अन्त्यसम्म उत्पादन सुरु हुँदैन,’ मस्कले सामाजिक सञ्जाल एक्स एक्समा प्रयोगकर्ताको पोस्टको जवाफ दिँदै भनेका छन्। ‘सायद कहिल्यै नहोला किनभने अमेरिकामा सेल्फ-ड्राइभिङ युग सुरु भइसकेको छ ।’ मस्कले स्वचालित सवारीसाधनको बढ्दो प्रभावले किन छ सीटरको आवश्यकता घटाउँछ भन्नेबारे भने खुलाएका छैनन् । तीन पंक्तिसहितका पेट्रोलबाट चल्ने एसयूभीहरू अमेरिकन परिवारहरूमा लामो समयदेखि लोकप्रिय छन् । तर, लाभ कमाउने गरी तीन पंक्तिको इलेक्ट्रिक गाडी बनाउनु अझै पनि गाह्रो मानिन्छ । यसैबीच ट्रम्प प्रशासनका हालैका नीतिगत परिवर्तनहरूले इलेक्ट्रिक गाडीलाई अझै महँगो बनाउने देखिएको छ, जसका कारण अटो कम्पनीहरू साना र सस्ता भेरियन्टतर्फ बढी ध्यान केन्द्रित गरिरहेका छन् । टेस्ला यसै वर्षपछि सस्तो मोडल वाई ल्याउने तयारीमा पनि छ जसमा कम प्रिमियम सुविधाहरू हुने अपेक्षा गरिएको छ । मस्कले यसलाई 'साधारण मोडल वाई' भनेर वर्णन गरेका छन् । अमेरिकामा टेस्लाले आफ्नो ध्यान बिस्तारै रोबोट्याक्सी महत्त्वाकांक्षातर्फ केन्द्रित गरिरहेको छ । कम्पनीले जून महिनामा अष्टिनमा सीमित रोबोट्याक्सी सेवा सुरु गरिसकेको छ र यसै वर्षको अन्त्यसम्म अमेरिकी जनसंख्याको आधाभन्दा बढी क्षेत्रमा विस्तार गर्ने लक्ष्य राखेको छ । मस्कले गत वर्ष लगानीकर्ताहरूसँगको छलफलमा भविष्य स्वचालित बन्ने भएकाले पारम्परिक गाडी बनाउन ‘निरर्थक’ हुने बताएका थिए । आगामी वर्ष टेस्लाले साइबरक्याब नामक दुई सिटे, स्टेयरिङ र पेडल नभएको विशेष रोबोट्याक्सी मोडेलको उत्पादन सुरु गर्ने तयारी गरिरहेको छ । बीवाईडी र साओमीसँगको भिडन्तमा टेस्लाको नयाँ हतियार ‘मोडेल वाई एल’
दिपल एस०७ आईसी किन्दा ५ वर्षसम्म निःशुल्क बीमा, सर्भिस र चार्जिङ सुविधा पाइने
काठमाडौं । नाडा अटो सो २०२५ को अवसरमा एमएडब्लु वृद्धिले नेपालकै ‘नेक्स्ट लेभल कनेक्टिभिटी’सहितको ‘बेस्ट लुकिंग’ इभी दिपल एस०७ आईसीएका लागि ‘एमएडब्लु–ग्यारेन्टिड बाईब्याक’ योजना घोषणा गरेको छ । नेपालको नं १ लक्जरी इभीको स्थानलाई मजबुत बनाउँदै एमएडब्लु वृद्धिले दिपल एस०७ मा यो ग्राहक योजना ल्याएको हो । कम्पनीका अनुसार योसँगै ग्राहकले ‘जिरो ओनरसिप कस्ट फर फाइभ इयर’ योजना पनि पाउनेछन् । यस योजना अन्तर्गत दिपल एस०७ खरिद गर्ने ग्राहकले आफ्नो इभी बेच्न चाहेमा किनेको दोस्रो वर्षदेखि पाँचौं वर्षसम्ममा एमएडब्लुबाट ‘ग्यारेन्टिड बाइब्याक भ्यालु’ पाउनेछन् । यसबाट दिपल एस०७ खरिद गर्ने ग्राहकको ‘कन्फिडेन्स’ बढ्नुका साथै ‘ब्याट्री लाइफ’ र ‘रिसेल भ्यालु’ को चिन्ताबाट मुक्त गर्ने अपेक्षा एमएडब्लुले गरेको छ । दोस्रोदेखि पाँच वर्षसम्ममा दिपल एस०७ छोडेर एमएडब्लु वृद्धिको ‘पोर्टफोलियो’ मा भएका कार खरिद गर्न चाहेमा ‘ग्यारेन्टिड रिसेल भ्यालु’ दिइनेछ । यो योजनासँगै ग्राहकहरुले ‘जिरो ओनरसिप कस्ट फर फाइभ इयर’ यानि दिपल एस०७ चढ्दा पाँच वर्षसम्म कुनै खर्च नलाग्ने योजनाको उपभोग गर्न पाउनेछन् । यो योजना अन्तर्गत ग्राहकले पाँच वर्षसम्म निशुल्क ‘अटोप्लस इन्स्योरेन्स’, निशुल्क ‘पेरियोडिक मेन्टेनेन्स’, निशुल्क चार्जिंगमा लाग्ने शुल्क र निशुल्क ‘रोडट्याक्स’ लगायतका सुविधा पाउनेछन् । ‘हाम्रो उद्देश्य ग्राहकलाई पूर्ण शान्ति दिनु, इभी किन्ने आत्म विश्वास बढाउनु र एस०७ आईसीएप्रति विश्वास बढाउनु हो । लक्जरी, स्टाइल र इनोभेसनले भरिएको इभीको स्वामित्वलाई सहज बनाउनु हो,’ एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने । ‘बाई ब्याक ग्यारेन्टी’ र ‘जिरो ओनरसिप कस्ट फर फाइभ इयर’ जस्ता दुई योजनाले लक्जरी इभी सेग्मेन्टमा दिपल एस०७ आईसीको नेतृत्वलाई अझ बलियो बनाउने कम्पनीले जनाएको छ ।
एकवर्षमा विपद्का घटनाबाट १४ करोड बढीको क्षति
विराटनगर । विपद्सम्बन्धी घटनाबाट एक वर्षमा मोरङमा कुल १४ करोड ९२ लाख २९ हजार ५०० रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा ४१२ वटा विपद्का घटना घटेका थिए । त्यसमध्ये सबैभन्दा बढी आगलागीका २६१ घटनामा १४ करोड ६५ लाख ४७ हजार ५०० रुपैयाँ बराबरको क्षति भएको छ । चट्याङका ११ घटनामा दुई महिला, एक पुरुषको मृत्यु, दुई घाइते र एक घर क्षति भई तीन लाख ३५ हजार रुपैयाँ बराबरको क्षति भएको उल्लेख छ । त्यसैगरी, डुबानका चार घटनामा ६५ हजार रुपैयाँ, हावाहुरीका सात घटनामा एक घर पूर्णरुपमा र २२ घरमा आंशिक क्षति हुन गई छ लाख ८५ हजार रुपैयाँ तथा जङ्गली जनावरका आक्रमणका ३४ घटनामा दुई महिला र दुई जना पुरुषको मृत्यु एवं १५ लाख ९७ हजार रुपैयाँ मूल्य बराबरको भौतिक क्षति भएको जिल्ला आपतकालीन् कार्य सञ्चालन केन्द्रले जनाएको छ । सो अवधिमा बाढीका १० घटनामा १८७ घरमा क्षति, पहिरो एक, सर्पदंशका ४३ घटनामा चार महिला र चार पुरुषको मृत्यु, भिरबाट लडि एक जनाको मृत्यु र करेन्टका ४० घटनामा सात महिला र आठ पुरुषको मृत्यु भएको जनाइएको छ । कुल ३६ वटा चौपयाको मृत्यु भएको उल्लेख छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले विपद्का घटना थाहा पाउने बित्तिकै नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी स्थानीयको सहयोग लिने गरको बताए ।
घट्दै वैदेशिक सहायता, लक्ष्यको ३३ प्रतिशत मात्रै
काठमाडौं । पछिल्लो समय वैदेशिक सहायता आउने क्रम घट्दै गएको छ । अर्थमन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ५२ अर्ब ३३ करोड अनुदान प्राप्तिको लक्ष्य राखेको सरकारले जम्मा २३ अर्ब ५३ करोडमात्रै प्राप्त गरेको छ । जुन लक्ष्यको ३२.६२ प्रतिशत मात्रै हो । अघिल्लो आर्थिक वर्षमा सरकारले ४९ अर्ब ९४ करोड वैदेशिक अनुदान लिने लक्ष्य राखेकोमा २४ अर्ब प्राप्त भएको थियो । जुन लक्ष्यको तुलनामा प्राप्ति ४९.०८ प्रतिशत हो । अघिल्लो आवको तुलनामा वैदेशिक अनुदान प्रप्ति २.०४ प्रतिशतले घटेको अर्थ मन्त्रालयले जनाएको छ । यस्तै, अघिल्लो आर्थिक वर्षको तुलनामा २०८१/८२ मा सरकारले लिने ऋण समेत घटेको छ । आव २०८१/८२ मा २ खर्ब १७ अर्ब वैदेशिक ऋण लिने सरकारको लक्ष्य रहेकोमा १ खर्ब २५ अर्ब ४० करोड मात्रै ऋण लिन सरकार सफल भएको छ । यो सरकारले लिएको वैदेशिक ऋण लक्ष्यको तुलनामा ५७.७८ प्रतिशत हो। अघिल्लो आर्थिक वर्ष अर्थात् २०८०/८१ मा २ खर्ब १२ अर्ब ऋण लिने सरकारले लक्ष्य राखेको थियो । त्यसमध्ये १ खर्ब २५ अर्ब ६६ करोड सरकारले ऋण लिएको थियो । लक्ष्यको तुलनामा ५९.०७ प्रतिशत सरकारले ऋण लिएको थियो । अघिल्लो वर्षको तुलनामा २०८१/८२ मा वैदेशिक ऋण प्राप्ति ०.२१ प्रतिशतले घटेको अर्थमन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । कुल वैदेशिक सहायतातर्फ २०८१/८२ मा सरकारले २ खर्ब ६९ अर्ब वैदेशिक सहायता लिने लक्ष्य लिएको थियो । उक्त आवमा सरकारले १ खर्ब ४८ अर्ब त्यस्तो सहायता प्राप्ति गरेको छ । जुन प्राप्ति वार्षिक लक्ष्यको ५५.१५ प्रतिशत हो। अघिल्लो आवमा सरकारले वैदेशिक सहायतातर्फ २ खर्ब ६२ अर्ब वैदेशिक सहायता लिने लक्ष्य लिएको थियो । उक्त आवमा सरकारले १ खर्ब ४९ अर्ब ६७ करोड त्यस्तो सहायता प्राप्ति गरेको छ । जुन प्राप्ति वार्षिक लक्ष्यको तुलनामा ५६.९८ प्रतिशत हो । अघिल्लो आवको तुलनामा वैदेशिक सहायता ०.४९ प्रतिशतले घटेको अर्थमन्त्रालयको तथ्यांकले प्रष्ट देखाएको छ ।
डिशहोमको कुशे औंसी अफर सार्वजनिक
काठमाडौं । डिशहोमले कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको अवसर पारी ग्राहकहरूका लागि अफर ल्याएको छ । अफरअन्तर्गत अब वार्षिक नयाँ इन्टरनेट (एमबीपीएस र माथिका प्याकेज) लिनेलाई डिशहोमले ७ हजार ९९९ पर्ने फोर-के स्ट्रीमर उपहार स्वरूप दिनेछ । यो विशेष अफर भदौ ५ देखि भदौ ७ सम्म मात्र लागू हुनेछ । ग्राहकले जडानको ७ दिनपछि आफ्नो नजिकको डिशहोम सेवा केन्द्रमा ग्राहक आइडी वा इन्टरनेट विवरण देखाएर उपहार लिनसक्ने डिसहोमले जनाएको छ ।
मेटलाइफ नेपालद्वारा सर्पदंश नियन्त्रणका लागि सहयोग, झापामा जनचेतना अभियान सुरु
झापा । मेटलाइफ नेपालले झापास्थित कन्काई सहारा सर्पदंश उपचार केन्द्रसँग सहकार्य गर्दै ग्रामीण क्षेत्रमा बढ्दो सर्पदंशको जोखिम नियन्त्रण गर्न सहयोग गरेको छ । कम्पनीले यसलाई कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गतको महत्वपूर्ण पहलका रूपमा अघि सारेको हो । झापाको कृषिमुखी जीवनशैली र बढ्दो तापक्रमका कारण यहाँका ग्रामीण समुदाय सर्पदंशको उच्च जोखिममा रहेको बताइएको छ । नेपालमा हरेक वर्ष सयौं मानिसको ज्यान जाने सर्पदंशलाई गम्भीर सार्वजनिक स्वास्थ्य समस्या मानिन्छ । सीमित जनचेतना, समयमै उपचार नपाइनु र स्वास्थ्य सुविधाको कमीले मृत्यु दर अझै उच्च रहेको विशेषज्ञहरूको भनाइ छ । यस पहलमार्फत समुदायमा सर्पदंश रोकथाम र तत्कालीन उपचारबारे जनचेतना अभिवृद्धि गर्ने, ग्रामीण बासिन्दालाई उपचार सेवामा सहज पहुँच उपलब्ध गराउने र सर्पदंशजन्य मृत्यु कम गर्ने लक्ष्य राखिएको छ । मेटलाइफ नेपालले जनचेतना अभियान, रोकथामका उपायहरूको प्रवर्द्धन र जीवनरक्षक उपचारमा सहज पहुँच सुनिश्चित गर्न योगदान पुर्याउने जनाएको छ । 'सर्पदंश ग्रामीण नेपालमा गम्भीर तर प्रायः बेवास्ता गरिने सार्वजनिक स्वास्थ्य समस्या हो। कन्काई सहारा सर्पदंश उपचार केन्द्रसँग सहकार्य गरेर हामी समुदायलाई सर्पदंशबाट बच्न आवश्यक ज्ञान मात्र नभई समयमा उपचारमा सहज पहुँच दिलाउन प्रतिबद्ध छौँ,' मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने ।