नेपालगन्जका सहकारी बन्द, बचतकर्ताको सपना चकनाचुर
नेपालगन्ज । नेपालगन्जका सहकारीमा राखेको बचत फिर्ता नपाउँदा निक्षेपकर्ता भौतारिदै हिडन बाँध्य भएका छन् । पाँच वर्ष अघिदेखि नेपालगन्जको एउटा सहकारी संस्थामा बचत गरेको पैसा फिर्ता नपाउदा नेपालगन्जकी माया पासी अझै भौतारिदै हिडीरहेकी छन् । 'मैले अर्काको भाडा माझेर, लुगा धोएर जम्मा गरेको पैसा अहिलेसम्म फिर्ता पाएको छैन' उनले भनिन् । पासीले बचत गरेको पैसाका लागि सिडीओ कार्यालयलगायतका विभिन्न निकायमा पुगेर पनि कुनै सुनुवाई नभएको उल्लेख गर्दै बचत भएको रकम फिर्ताका लागि पहल गरिदिन आग्रह गरिन् । 'मैले विश्वासका आधारमा सहकारीमा पैसा राखेको थियो तर यस्तो होला भन्ने कुनै कल्पना गरेको थिइन', उनले भनिन् । तत्कालिन वित्तिय विकास सहकारीमा तीन लाख २८ हजार रुपैयाँ उनले बचतका लागि राखेकी थिइन् । अहिले सो सहकारी बन्द अवस्थामा रहेको छ । पासीले छोरीको विवाहलगायतका कुनै खास कामका लागि भन्दै सो सहकारीमा पैसा बचत गरेकी थिइन् । उनको जस्तै समस्या छ, सावित्रीदेवीको पनि । उनले पनि सो सहकारीमा छ लाख रुपैयाँ बचत गरेको बताउँछिन् । 'छोरीको विवाहका लागि भनेर बचत गरेको थिए तर सबै सपना चकनाचुर भयो', उनले भनिन् । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सहकारीले आफ्ना मान्यता विपरित बैङ्कीङ प्रणालीमा जस्तो काम गरेकाले समस्या उत्पन्न भएको उल्लेख गर्दै नेपालगन्जका सहकारीलाई नियमन गर्न खोजिएको बताए । उनले साना बचतकर्ताको पैसा कसरी फिर्ता दिने भन्ने विषयमा पनि छलफल आवश्यक भएकोमा जोड दिँदै सहकारीको वित्तिय अवस्था र उत्तरदायित्वका विषयमा नियमन गर्न जनशक्ति अभाव भएको बताए । सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले ऋण लगानी गर्न नमिल्ने ठाउँमा ऋण लगानी भएकाले कानुनी कैफियत देखिएको उल्लेख गर्दै यसका कारणले सहकारीमाथि प्रश्न आएको बताए । सहकारी प्रशिक्षणालय, बाँकेका निमित्त प्रार्चाय आलोक ओझाले सहकारीको मूल सिद्धान्त र मर्म विपरितका कामले सहकारीमा समस्या देखिएको उल्लेख गर्दै सहकारी बचत सङुकलनका लागि नभएको बताए । नेपालगन्ज उपमहानगरपालिकाका सहकारी विभाग प्रमुख प्रविण थापाले सहकारीमा बचत फिर्ता र ऋण असुलीको प्रमुख समस्या रहेको बताउँदै नेपालगन्जमा सहकारी मर्ज गरेर पाँच वटा सहकारी बनाउन आग्रह गरे । जिल्ला सहकारी सङ्घ, बाँकेका अध्यक्ष प्रेम सुवेदीले सहकारीको अनुगमन, नियमन गर्नका लागि नयाँ कार्यविधि ल्याइएको जानकारी दिए । नेपालगन्जमा रहेका करिव पाँच सहकारी अहिलेपनि समस्याग्रस्त अवस्थामा रहेको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ । रासस
सौर्यमण्डलमा रहस्यमय घुसपेठिया, चमक देखेर हैरान भए खगोलविद्
काठमाडौं । वैज्ञानिकहरूले सौर्यमण्डलमा एक बाह्य घुसपेठिया पत्ता लगाएका छन्, जो सूर्यतिर तीव्र गतिमा बढ्दैछ । यस वर्षको सुरुवातमा पहिलोपटक फेला परेको यस पिण्डलाई खगोलविद्‌हरूले थ्रीआई एटएलस नाम दिएका छन् । अमेरिकाको म्यानह्याट्टन सहर जतिको आकार भएको यो इन्टरस्टेलर पिण्ड हो । इन्टरस्टेलर पिण्ड भनेको ती वस्तुहरूलाई भनिन्छ जुन एक सोलार सिस्टमबाट अर्कोमा स्वतन्त्र रूपमा घुम्छन् । यसभन्दा अगि सन् २०१७ र २०१९ मा पनि यस्तै इन्टरस्टेलर पिण्ड देखिएका थिए । हबल अन्तरिक्ष दूरबीनले यस पिण्डको तस्बिर खिचेपछि खगोलविद्हरूको उत्साह बढेको छ । वैज्ञानिकहरूले यसको आकार र रासायनिक संरचनाको विश्लेषण गर्ने दुर्लभ अवसर पाएका छन् । सिड्नी विश्वविद्यालयकी रेडियो खगोलशास्त्री डा. लारा ड्रिसेन भन्छिन्, ‘हामीलाई सही रूपमा थाहा छैन यो कहाँबाट आएको हो, तर निश्चित रूपमा यो सौर्यमण्डल बाहिरबाट आएको हो ।’ यसको नाम आई इन्टरस्टेलरको पहिलो अक्षरबाट राखिएको हो । थ्री भनेको खोजिएको तेस्रो यस्ता वस्तु हो । एटलस ती दूरबीनहरूको नेटवर्कबाट लिइएको हो जसले यसको पहिचान गरेको थियो । २१ जुलाईमा हबल अन्तरिक्ष दूरबीनले यस पिण्डको तस्बिर खिच्दा यो सूर्यतिर चम्किरहेको देखियो । यो चमक फैलिएको नभई केन्द्रित थियो, जसले वैज्ञानिकहरूलाई अचम्ममा पार्‍यो, किनभने उनीहरूले यसलाई सामान्य धूमकेतु जस्तो हुने आशा गरेका थिए । यस चमकले विभिन्न आशंकाहरू जन्माएको छ । जस्तै, प्रकाशलाई कुन स्रोतबाट ऊर्जा प्राप्त भइरहेको छ । केहीले यसलाई एलियनसँग जोडिरहेका छन् । डेली मेलअनुसार लोएबले एक बयानमा भनेका छन् कि यो परमाणु ऊर्जाद्वारा सञ्चालित अन्तरिक्षयान हुन सक्छ । यसका अगाडिको सतहबाट निस्कने धूलो अन्तरतारकीय यात्रामा सतहमा जम्मा भएको धूलो हुन सक्छ । यद्यपि उनीहरू मान्छन् कि यी दुवै धारणाहरू असम्भव छन्, तर उनका अनुसार अझै यो धारणा खारेज गर्न सकिँदैन । अनुसन्धानकर्ताहरूले हबलको तस्बिर प्रयोग गरेर अनुमान गरेका छन् कि थ्रीआईरएटलसको व्यास ५।६ किमीभन्दा कम र सम्भवतस् ३२० मिटर जति सानो हुन सक्छ । स्विनबर्न स्पेस टेक्नोलोजी एण्ड इण्डस्ट्री इन्स्टिट्युटकी सह-निदेशक रेबेका एलेन भन्छिन् कि यो पिण्ड प्रति घण्टा २ लाख किमीभन्दा बढीको गतिमा यात्रा गर्दैछ । यो आन्तरिक सौर्यमण्डलमा मंगल र पृथ्वीको कक्षबीचबाट गुज्रनेछ र सूर्यको नजिक हुँदै जानेछ ।
एनआईसी एशिया बैंकका ग्राहकलाई कैलाली हस्पिटलमा २० प्रतिशतसम्म छुट
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले धनगढीमा रहेको कैलाली हस्पिटलमा स्वास्थ्य उपचार गर्दा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । यस सम्बन्धमा बैंक र हस्पिटलबीच सम्झौता सम्पन्न भएको हो । सम्झौताअनुसार, बैंकका ग्राहकले हस्पिटलमा उपलब्ध विभिन्न सेवामा छुट सुविधा प्राप्त गर्न सक्नेछन् । उक्त सुविधा लिनका लागि ग्राहकले एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एप प्रयोग गरी डिजिटल भुक्तानी गर्नुपर्नेछ । बैंकका अनुसार यस सहकार्यले ग्राहकलाई स्वास्थ्य उपचारमा प्रत्यक्ष लाभ दिलाउने मात्र नभई डिजिटल भुक्तानी प्रवद्र्धनमा समेत योगदान पुर्याउनेछ । नगदरहित कारोबारलाई अघि बढाउँदै, यस कदमले डिजिटल वित्तीय कारोबारको संस्कृति विस्तार गर्ने विश्वास बैंकले व्यक्त गरेको छ ।
पोखरामा १० वटा प्रोटोन इमास ७ एकैपटक हस्तान्तरण
पोखरा । नेपालमा प्रोटोन मोटर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरामा १० वटा प्रोटोन इमास ७ इलेक्ट्रिक एसयूभी ग्राहकलाई सामूहिक रूपमा हस्तान्तरण गर्दै नयाँ किर्तिमान बनाएको छ । विशेष समारोहमा प्रोटोन मलेसिया र जगदम्बा मोटर्सका वरिष्ठ प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा देखिएको सहभागिता र उत्साहले प्रोटोनको विद्युतीय सवारीसाधनप्रति ग्राहकको विश्वास र चासो झल्काएको कम्पनीले जनाएको छ । सो अवसरमा बोल्दै जगदम्बा मोटर्सका सिनियर भाइस प्रेसिडेन्ट राजु भेटवालले भने, 'आजको सामूहिक सवारी हस्तान्तरण केवल कारको हस्तान्तरण मात्र होइन, यो विश्वासको उत्सव हो । पोखरावासीहरूले स्वच्छ र स्मार्ट यातायातलाई अँगालेका छन् । हरित नेपालतर्फको यात्रामा प्रोटोन नेपाल सहभागी हुन पाएकोमा गर्व गर्छ ।' प्रोटोन इमास ७ मा १६० किलोवाट क्षमताको मोटर, विशाल केबिन, उन्नत सुरक्षा प्रविधि र उद्योगमै सबैभन्दा बढी ८ वर्षको ब्याट्री वारेन्टीजस्ता प्रिमियम विशेषता समावेश छन् । यी कारणले गर्दा उक्त इलेक्ट्रिक एसयूभी देशभरका ग्राहकबीच लोकप्रिय बन्दै गएको कम्पनीको दाबी छ । यस सामूहिक हस्तान्तरणले प्रोटोनको ग्राहक–केन्द्रित पहललाई पनि प्रतिविम्बित गरेको कम्पनीले जनाएको छ । आकर्षक फाइनान्सिङ योजना, भरपर्दो ‘आफ्टर सेल्स’ सेवा र सहज स्वामित्व अनुभवमार्फत प्रोटोनले विद्युतीय सवारीलाई अझ सुलभ बनाउने लक्ष्य लिएको छ । प्रोटोन नेपालले देशभर आफ्नो शोरूम र सेवा सञ्जाल विस्तारलाई तीव्रता दिँदै आएको छ । कम्पनीको भनाइअनुसार, यस कदमले अझ धेरै नेपाली परिवार र व्यवसायलाई आत्मविश्वासका साथ विद्युतीय सवारीतर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
घट्यो सेयर बजार, ५ अर्बको कारोबार
काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९ अंकले घटेर २७५७ बिन्दुमा झरेको छ । आज ५३ कम्पनीको सेयर मूल्य बढ्दा १९७ कम्पनीको मूल्य घटेको छ । बिहीबार ३१९ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, नेपाल रिइन्स्योरेन्सको २० करोड, बलेफी हाइड्रोको १४ करोड, बुटवल पावरको १३ करोड र हिमालयन डिस्टीलरीको १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा निर्जीवन बीमाबाहेक सबै समूहका सूचक घटेका छन् । निर्जीवन बीमा ०.१४ प्रतिशतले बढेको छ । घटेका सबै समूहको गिरावट दर १ प्रतिशतमुनि रहेका छन् । बैंकिङ ०.११, विकास बैंक ०.६५, फाइनान्स ०.५५, होटल तथा पर्यटन ०.८६, हाइड्रोपावर ०.५२, लगानी ०.२६, जीवन बीमा ०.३२, उत्पादन तथा प्रशोधन ०.१८, माइक्रोफाइनान्स ०.२१, अन्य ०.५२ तथा व्यापार ०.६४ प्रतिशतले घटेको छ । आज विकास हाइड्रोको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।
राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिकमबीच सम्झौता
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)बीच निवृत्तिभरण खाता, तलबी बचत खाता तथा पेसाकर्मी सरल कर्जा सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल टेलिकमको प्रधान कार्यालयमा आज आयोजित एक कार्यक्रमकाबीच उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो । नेपाल टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक सविना मास्के प्रधान र राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले हस्ताक्षर गरे । 'वाणिज्य बैंकले नेपाल टेलिकमका सेवानिवृत्त कर्मचारीका लागि पेन्सन खाता सञ्चालन गर्नुका साथै कार्यरत कर्मचारीका लागि तलबी बचत खाता, पेसाकर्मी सरल कर्जा र अन्य सेवासुविधा उपलब्ध गराउनेछ', सम्झौतापत्रमा उल्लेख छ । विसं २०२२ माघ १० गते स्थापना भएको वाणिज्य बैंकले हाल ७७ वटै जिल्लामा रहेका तीन सय १० वटा शाखा कार्यालयमार्फत सेवा प्रवाह गर्दै आइरहेको छ । बैंकले आफ्नो सेवालाई समयसापेक्ष बनाउँदै प्रविधिमा आधारित वित्तीय समावेशीकरण र दिगो बैंकिङ सेवा विकासमा केन्द्रित गरिरहेको बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मीले जानकारी दिए ।
एनआइटीमार्फत नेपालमा इग्नुका शैक्षिक कार्यक्रमहरूको विस्तार
काठमाडौं । नेपालमा इन्दिरा गान्धी नेशनल ओपन युनिभर्सिटी (इग्नु) का कार्यक्रमहरू सन् २००८ देखि सफलतापूर्वक सञ्चालन गर्दै आएको नेपाल इन्फर्मेशन टेक्नोलोजी (एनआइटी) ले हजारौं नेपाली विद्यार्थीलाई शैक्षिक अवसर प्रदान गरेको छ । खुला तथा दूर शिक्षा प्रणालीलाई प्रभावकारी बनाउन एनआइटीले काउन्सिलिङ कक्षा, पुस्तक वितरण र आफ्नै व्यवस्थापनमार्फत अध्ययन–अध्यापनलाई सहज बनाउँदै आएको छ । हाल एनआइटीले नेपालमा इग्नुका एमबीए, बीसीए, बीए र बीकमजस्ता गुणस्तरीय कार्यक्रम सञ्चालन गर्दै आएको छ । यी कार्यक्रमले देशभित्रै अन्तर्राष्ट्रियस्तरको शिक्षा प्राप्त गर्ने अवसर दिएका छन् । भर्खरै लागू गरिएका सुधारअनुसार विद्यार्थीहरूले इज्ञानकोष र स्वाएम जस्ता डिजिटल प्लेटफर्ममार्फत अध्ययन सामग्री डाउनलोड गर्न सक्ने भएका छन् । साथै असफल विषयमा अर्को सेसनमै पुनः परीक्षा दिन पाउने, डिजिटल आईडी र प्रमाणपत्र अन्तर्राष्ट्रियस्तरमै सजिलै प्रमाणीकरण गर्न सकिने व्यवस्था पनि गरिएको छ । हाल परीक्षा केन्द्र काठमाडौंमा मात्र भए पनि एनआइटीले निकट भविष्यमा अन्य शहर र प्रदेशसम्म विस्तार गर्ने योजना बनाएको छ । यसले ग्रामीण तथा टाढा क्षेत्रका विद्यार्थीलाई आफ्नै स्थानमै शिक्षा हासिल गर्ने अवसर दिनेछ । एनआइटीले शुल्क भुक्तानीमा किस्ताबन्दीको व्यवस्था गरेको छ, जसले आर्थिक अवस्था कमजोर विद्यार्थीलाई समेत सहज बनाएको छ । १८ वर्षमाथिका जुनसुकै उमेरका व्यक्तिले कार्यक्रममा सहभागिता जनाउन सक्ने सुविधा छ । हालै केही वरिष्ठ नागरिक र महिलाले डिग्री पूरा गरी प्रेरणादायी उदाहरण प्रस्तुत गरेका छन् ।
अर्थ मन्त्रालयमा ‘सरुवा’ आंतक, एक सातामै ८० कर्मचारीको जिम्मेवारी हेरफेर
काठमाडौं । मुलुकमा दुई ठूला दलहरुको नेतृत्वमा बनेको सरकार एक वर्षसम्म स्थिर रहँदा कर्मचारी प्रशासनमा भने चरम अस्थिरता देखिएको छ । स्थायी सरकारका रुपमा मानिने कर्मचारी प्रशासनलाई वर्तमान सरकारले चरम रुपमा अस्थिर बनाएको पछिल्ला घटनाहरुले पुष्टी गरेका छन् । पछिल्लो एक सातामा मात्रै मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने जिम्मेवारी पाएको अर्थ मन्त्रालयभित्र सरुवा आंतक चलेको छ । एक सातामै अर्थमन्त्रालय मातहतका उच्चपदस्थसहित ८० भन्दा बढी कर्मचारीहरुको सरुवा हुँदा कुन कर्मचारी कति बेला कहाँ पुग्ने हो भन्ने भयमा यतिबेला अर्थका अधिकारीहरु पुगेका छन् । अर्थमन्त्रालय मातहतका कर्मचारीको सरुवामा अर्थमन्त्री विष्णु पौडेलले व्यापक रुपमा ध्यान केन्द्रित गराएका छन् । मन्त्रालय मातहतका १२ सहसचिवको जिम्मेवारी हेरफेर गरेको एक साता नबिन्दै पौडेलले ६८ जना उपसचिवको सरुवा गरेका छन् । वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुंगानालाई अर्थ मन्त्रालय तानेर उहाँको ठाउँमा काजीबाबु कोईरालालाई पठाइएको छ । कोईराला त्रिभूवन विमानस्थल भन्सार कार्यालयमा प्रमुख भन्सार अधिकृतका रुपमा कार्यरत थिए । मन्त्री पौडेलले ढुंगानासहित विभिन्न कार्यालयका १३ जनालाई मन्त्रालयमा तानेका छन् । मन्त्री पौडेलले साउन ३० गते भन्सार विभागका महानिर्देशकसहित एकदर्जन सहसचिवको जिम्मेवारी हेरफेर गरेका थिए । यो सरकार बनेको १ वर्ष पुग्दै गर्दा अर्थमन्त्री पौडेलले भन्सार विभागमा एक वर्षमा चार जना महानिर्देशक फेरेका थिए । मन्त्री पौडेलले आफैँले महानिर्देशक बनाएका महेश भट्टराईलाई ६ महिनामै हटाए । भट्टराईलाई अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखा सरुवा गरी उनको ठाउँमा अर्थ मन्त्रालयको योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखको रुपमा कार्यरत श्याम भण्डारीलाई महानिर्देशक बताएका छन् । पौडेल २०८१ असार ३१ गते मन्त्री नियुक्त हुँदा विभागको महानिर्देशक ढुण्डीराज निरौला थिए । पौडेलले निरौलालाई एक महिनामै हटाएका थिए । निरौलालाई तत्कालिन अर्थमन्त्री वर्षमान पुनले २०८० चैत १९ गते महानिर्देशक बनाएका थिए । पौडेलले निरौलाको स्थानमा गत भदौ ६ गते हरिशरण पुडासैनीलाई महानिर्देशक बनाए । तर पुडासैनीलाई पौडेलले ६ महिना पनि काम गर्न दिएन । पुडासैनीको ठाउँमा फागुनमा भट्टराईलाई जिम्मेवारी दिइएको थियो । मन्त्री पौडेलका विश्वासपात्र मानिने भट्टराईको पनि ६ महिनामै सरुवा गरिएको छ । अहिले उनलाई मन्त्रालयमा तानिएको छ । भण्डारीलाई भन्सार विभागको महानिर्देशक बनाएका पौडेलले मन्त्रालयको योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखको जिम्मेवारी टंकप्रसाद पाण्डेलाई दिएका छन् । भन्सार विभागका उपमहानिर्देशक जनकराज शर्मालाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक बनाएका छन् । ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक रमेश अर्याललाई पनि मन्त्री पौडेलले आन्तरिक राजस्व विभागको उपमहानिर्देशकको जिम्मेवारी दिएका छन् । अर्थमन्त्री पौडेलले सहसचिव भरतमणि पाण्डेलाई भन्सार विभागको उपमहानिर्देशकमा सरुवा गरेका छन् भने सहसचिव टंकनाथ लम्साललाई त्रिभूवन विमानस्थल भन्सार कार्यालय पठाइएको छ । वीरगञ्ज भन्सारका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेलाई महालेखा नियन्त्रक कार्यालयमा सरुवा गरेर उनको ठाउँमा सहमहालेखा नियन्त्रक विष्णुप्रसाद ज्ञवालीलाई सरुवा गरिएको छ । त्रिभूवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दिलिपकुमार गौतमलाई ठूला करदाता कार्यालयमा सरुवा गरिएको छ । आन्तरिक राजश्व विभागका उपमहानिर्देशक पदमकुमार श्रेष्ठ मध्यमस्तरीय करदाता कार्यालय पुगेका छन् भने अर्थमन्त्री पौडेलले मन्त्रालयको बजेट महाशाखा प्रमुखको जिम्मेवारी सुमन दाहाललाई दिएका छन् । यसअघि यो महाशाखा प्रमुखमा श्रीकृष्ण नेपाल थिए । यसरी बजेट कार्यान्वयनको शुरुवातमै कर्मचारीतन्त्रमा अस्थीरता चरम रुपमा बढ्दा कार्यान्वयनमा धक्का पुग्ने खतरा बढेको छ । बरम्बार कर्मचारी हेरफेर हुँदा सरकारले लिएका लक्ष्य भेट्न कठिन हुने र बजेट, कार्यक्रम तथा योजनाहरु कार्यान्वयनमा समेत ठूलो असर पर्नसक्ने जानकारहरुको बुझाइ छ ।