विकासन्युज

१०० रुपैयाँमा पढ्न सकिने स्कूल भोजपुरमा पनि खुल्दै

काठमाडौं । कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले भोजपुरको सदरमुकाम नजिक पोखरेमा समता स्कूल सञ्चालनमा ल्याइने भएको छ । समता फाउण्डेसनमार्फत देशका ७५ जिल्लामा स्कूल स्थापना गर्ने उद्देश्यअनुरुप भोजपुरमा एक हप्ताभित्र पढाइ शुरु हुनेगरी समता स्कूल सञ्चालनमा ल्याइन लागेको समता फाउण्डेशनका संस्थापक उत्तम सञ्जेलले बताए । विद्यालयले नर्सरी, यूकेजी, एलकेजी र कक्षा १ सम्म भर्ना लिनेछ । यसअघि आवश्यक प्रक्रिया पूरा नभएको भन्दै भोजपुर नगरपालिकाले विद्यालय सञ्चालनमा रोक लगाएको थियो । पछिल्लो समय सञ्चालनको अनुमति पाएपछि व्यवस्थापनका लागि संस्थापक उत्तम सञ्जेल र विद्यालयका संरक्षक हास्यकलाकार हरिवंश आचार्य बिहीबार भोजपुर आइपुगेका थिए । यस विद्यालयले मासिक रु १०० मा नै अंग्रेजी माध्यमबाट अध्यापन गराउँदै आएको छ । स्थापना हुने स्कूल देशको ७५ औँ स्थानमा परेको छ । रासस

डोल्पाका यार्सा पाटन जेठ १ देखि खुल्ने, शुल्क हजारदेखि साढे ३ हजारसम्म

काठमाडौं । हिमाली जिल्ला डोल्पाका यार्सागुम्बा पाटन जेठ १ गतेदेखि प्रवेशका लागि खुला गरिने भएको छ ।   आउँदो जेठ १ गतेदेखि यार्सागुम्बा संकलनका लागि तोकिएको शुल्क उठाई प्रवेश इजाजत पत्र धमाधम वितरण शुरु गर्दै निकुञ्ज क्षेत्रमा पर्ने यार्सागुम्बा पाटन प्रवेशका लागि खुला गरिने शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले जनाएको छ । अघिल्लो वर्षमा जेठ पहिलो र दोस्रो साताबीचको अवधिमा प्रवेशका लागि खुला गरिएको भएपनि यस वर्ष भने सम्पूर्ण सरोकारवालाको सल्लाहअनुसार जेठ १ गतेदेखिनै पाटन प्रवेशका लागि खुला गरिने निर्णय भएको संरक्षण अधिकृत रामदेव चौधरीले बताए । यार्सागुम्बा पाटन संकलन इजाजत पत्र वितरणका लागि निकुञ्ज र सम्बन्धित मध्यवर्ती क्षेत्रका कर्मचारीलाई विभिन्न नाकामा पठाउने तयारी भइरहेको समेत चौधरीले जानकारी दिएका छन् । यार्सागुम्बा संकलनका लागि तीन प्रकारका संकलन इजाजत पत्र वितरण गरिने भएकाले मध्यवर्ती क्षेत्रभित्रका सर्वसाधारणका लागि रु १ हजार, मध्यवर्ती क्षेत्र बाहिरका सर्वसाधारणका लागि रु २ हजार ५०० र जिल्ला बाहिरका सर्वसाधारणका लागि रु ३ हजार ५०० रकम तिर्नुपर्ने निकुञ्जले जनाएको छ । डोल्पामा रहेका यार्सागुम्बा पाटनमा पुगेर यार्सागुम्बा संकलन गर्नका लागि रुकुम, जाजरकोट, सल्यानलगायतका विभिन्न जिल्लाबाट वर्षेनि दशौँ हजार सर्वसाधारण डोल्पा पुग्ने गर्दछन् । यार्सागुम्बा पाटन खुला गरिएको एक महिने अवधिका लागि मात्रै प्रवेश संकलन इजाजत पत्र वितरण गरिनेसमेत निकुञ्जले जनाएको छ । बहुमूल्य जडीबुटी यार्सागुम्बा डोल्पाली जनताको मुख्य आम्दानीको स्रोतको रहँदै आएको छ । रासस

निजी स्कुलकाे मनोमानी विरुद्ध विद्यार्थी संगठनले गुहारे स्थानीय सरकार, यसपाली वार/पारको संघर्ष

काठमाडौं । निजी विद्यालयहरुको चर्को शुल्क असुली विरुद्ध आन्दोलनरत संयुक्त विद्यार्थी संगठनहरुले स्थानीय सरकार गुहारेका छन् । संबिधानले नै शिक्षा क्षेत्रको नियमन गर्ने जिम्मा स्थानीय सरकारलाई दिएपछि विद्यार्थी संगठनहरुले आफ्नो आन्दोलनलाई स्थानीय सरकार तर्फ मोडेका हुन् । अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी, अखिल(छैठौं) र नेक्राबिसंघले संयुक्त रुपमा ७५३ वटै स्थानीय तहका प्रमुखहरुलाई ज्ञापन पत्र बुझाएका हुन् । ‘संबिधानले नै स्थानीय तहले नै शिक्षा सम्बन्धी अधिकांश काम गर्ने जिम्मा दिएको छ, त्यसैले स्थानीय तह मार्फत नै शुल्क निर्धारण र नियमनको काम होस भनेर ज्ञापन पत्र बुझाएका हौं’, अनेरास्ववियुका सचिव सुदेश पराजुलीले भने । अर्का सचिव आरसी लामिछानेले केहि दिनभित्रै ७५३ वटै स्थानीय सरकारका प्रमुखलाई ज्ञापन पत्र बुझाईसक्ने बताए । निजी विद्यालयहरुको अनाधिकृत शुल्क असुली विरुद्ध स्थानीय सरकारसँग विद्यार्थी संगठनहरु पनि छन् भन्ने सन्देश दिनका लागि ज्ञापन पत्र बुझाएको उनले बताए । यसपालीको आन्दोलनले निजी विद्यालयहरुको अनाधिकृत रकम असुलीलाई निस्तेज पारेरै छाड्ने दावी पनि लामिछानेले व्यक्त गरे । भक्तपुरका मेयर सुनिल प्रजापतिलाई ज्ञापन पत्र बुझाएर केन्द्रिय अभियानका सुरुवात गरेका छन् । पोखरा, बिराटनगर, नेपालगञ्ज, बिरगञ्ज, हेटौँडा लगायतका मुल शहरका स्थानीय सरकार प्रमुखहरुलाई उनीहरुले आजै ज्ञापन पत्र बुझाएका छन् ।  

ओडारबाट घर सरे ८० वर्षे रुपसिंह चेपाङ

काठमाडौ‌ । नयाँ पिँडीमा दुईवटा काठको फलेकमाथि बोरा ओछ्याएर आगन्तुकलाई नमस्कार गर्दै थिए ८० वर्ष नाघेका रुपसिंह चेपाङ (प्रजा) बिहीबार बिहानसम्म उनी ओडारमै थिए । दाताको सहयोगमा नयाँ घर बनेपछि बिहीबारमात्रै स्थानीयवासीले उनलाई सारेर नयाँ घरमा भित्र्याए । पिँडीमा हँसिलो मुद्रामा देखिएका रुपसिंहका सबै दाँत किराले खाएर कालै देखिन्थ्यो । आगन्तुकसँगै मज्जाले गफिँदै पनि थिए । ‘घर त बनायो, के खाएर बाँच्ने, खानेकुरो दिनुपर्यो, पैसा दिनुप¥यो, घर त टोक्न सकिन्दैन हजुर’ राप्ती नगरपालिकाका प्रमुख प्रभा बराल, वडाध्यक्ष, पत्रकारका अगाडी, उनले भने । ओडारमा बस्दा जंगली कन्दमुल खाने र छोरी ज्वार्इंले दिएको अनाज खाएर बस्थे रुपसिंह । माटोको गाह्रो र जस्ताको छाना भएको घर बनेको छ । घर उद्घाटनका लागि बिहीबार ध्वजा पताकासहित बेलुन फुलाएर रंगिन पारिएको थियो । अतिथिहरुका लागिसमेत गाउँमा भोज थियो । चितवनको विकट क्षेत्र राप्ती नगरपालिका–११ मा पर्ने साविक लोथर गाविसको युर्ती भन्ने स्थानमा पाखो बारीको कान्लोमा घर छ । माथि सडकबाट ढुंगो गुल्टियो भने सिधै घरको धुरीमा पुग्छ । पहिरो गयो भने घर नै पुरिने अवस्थाको छ । यसअघि पनि ओढारमा बस्दा पहिरोले पुरेकाले सानो प्वालबाट निस्किएको अनुभव स्थानीयवासी सुनाउँदै थिए । दशकौँदेखि ओडारमा बस्दै आएका रुपसिंहलाई यसपटक बेल्जियममा बस्ने चितवनका कृष्णप्रसाद रेग्मीलगायतले संकलन गरेर पठाएको करीब रु पाँच लाख लागतमा नयाँ घर बनाइएको थियो । बिहानसम्म ओडारमा बस्दै आएका उनी दिउँसोदेखि त्यही नयाँ घरमा सरेका थिए । उनललाई राप्ती नगरपालिकाकी प्रमुख बरालले घर सारीन् । रिबन काटेर बरालले घरको उद्घाटन समेत गरेकी थिइन् । घर निर्माण गरेकामा प्रशंसा गर्दै नगरप्रमुख बरालले अब गाउँ–गाउँमा सस्तोमा जग्गा बेच्नबाट रोक्न स्थानीयवासीलाई आग्रहसमेत गरिन् । चेपाङका लागि शिक्षा क्षेत्रमा आवासीय रुपमा स्थानीय सरकारले लगानी गर्ने समेत उनको भनाइ छ । घरमाथि खोरिया फाँडेकाले अब भने पहिरोको जोखिम भएको भन्दै उनले यसतर्फ सचेतसमेत गराइन् । घर भए पनि वृद्ध रुपसिंहलाई खाने अन्नको समस्या रहेको स्थानीय रुपेश चेपाङको भनाइ छ । ‘बास त दियो तर खाना छैन, अस्तिदेखि नै त्यही भन्दै हुनुहुन्छ”, रुपेशले दुखेसो पोखे । घर सरेपछि रुपसिंहको बस्ने ओडारमा बाख्रा र सुँगुर पनि सारिएको छ । चेपाङका अगुवा भ्mयापुराम प्रजाले ओडारमा बस्ने चेपाङका लागि घर बनेकामा खुशी व्यक्त गरे । यस्तै सहयोग अन्तबाट पनि आउनुपर्ने उनको भनाइ थियो । घर सार्ने कार्यक्रममा स्थानीय चेपाङले गिँठा, भ्याकुर र चिउरीको माला लगाइ दिएर अतिथिलाई स्वागत गरेका थिए । सोही क्रममा चेपाङ संरक्षण केन्द्रका केपीकिरण शर्मा र पत्रकार तुलमान गुरुङलाई सम्मान गरिएको थियो । जोखिम क्षेत्रका भूकम्पपीडितले पाए जग्गाधनी पूर्जा भूकम्पबाट जोखिममा परेको चितवनको विकट बस्ती एसिखाई र तापाङका १३ घरपरिवारले कालिटारको सुरक्षित स्थानमा जग्गाधनी पूर्जा प्राप्त गरेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय चितवनले विकट क्षेत्र राप्ती नगरपालिका–१३ कालिटारमा पुगेर जग्गाधनी पूर्जा वितरण गरेको हो । सो इकाइका आयोजना प्रमुख पुष्कर पोखरेलले यहाँको जोखिम बस्ती एसिखाईका ११ र तापाङका दुई गरी १३ परिवारलाई घर निर्माणका लागि जग्गाधनी पूर्जा उपलब्ध गराइएको बताए । उनकाअनुसार विभिन्न ऐलानी जग्गामा राहत वितरणमा समस्या परेको भन्दै स्थानीय तहले सूचीकृतका लागि समन्वय गर्नु आवश्यक छ । जग्गा धनी पूर्जा लिन चेपाङ जोखिम बस्तीबाट झरेर बिहीबार कालिटार आएका थिए । जग्गाधनी पूर्जा लिँदै भीमबहादुर प्रजाले घडेरी पाएपछि अब घर कसरी बनाउने भन्ने चिन्ता भएको बताए । यसरी पूर्जा पाउनेमा भीमबहादुरसहित सन्तलाल प्रजा, दिलबहादुर प्रजा, भीमलाल प्रजा, रामबहादुर प्रजा, आइतराम प्रजा, मनिलाल प्रजा, लालीमायाँ प्रजा, फूलमायाँ प्रजा, इन्द्रलाल प्रजा, चन्द्रबहादुर प्रजा, विमायाँ प्रजा रहेका छन् । राप्ती नगरपालिकाको प्रमुख बरालले उनीहरुलाई पूर्जा वितरण गर्दै समयमै घर निर्माण गर्न आग्रह गरिन्। उनीहरुलाई प्रतिघर १२ दशमलव ८५ धुर जग्गा उपलब्ध गराइएको छ । हरेक घडेरी रु दुई लाखका दरले आयोजनाले खरिद गरेर उपलब्ध गराइएको हो । आगामी असारसम्ममा घरको डिपिसी गरेर भूकम्प लाभग्राहीले दोस्रो किस्ता बराबरको रु एक लाख ५० हजार रकम पाउने भएकाले घर निर्माणलाई तीव्र बनाउन राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय चितवनका शाखा प्रमुख राजेन्द्र कार्कीले आग्रह गरे । उनले उक्त जग्गा १० वर्षसम्म बेचबिखन गर्न नपाउने बताए । उनका अनुसार जिल्लाका १०३ घर स्थानान्तरण गर्नुपर्नेमा २१ घरले जग्गाको पूर्जा पाएको र ४२ परिवारको प्रक्रियामा रहेको छ । प्राधिकरणका इन्जिनियर सुजन नेपालले करीब रु साँढे ४ लाख मुल्यमा नक्साअनुसारको घर तयार हुने भएकाले रु ३ लाखको अनुदानबाहेक अरु पैसा भने स्वयंले नै व्यहोर्नुपर्ने बताए । रासस

प्युठान र अर्घाखाँचीमा जेसीबीको आउटलेट

काठमाडौं । नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले प्युठानको जुम्री बजार र अर्घाखाँचीको सन्धिखर्चमा ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) शुरु गरेको छ । उक्त नयाँ ‘एआरओ’ बाट जेसीबीका ग्राहकले विश्वस्तरीय आफ्टर सेल्स सर्भिस र स्पेयरको सुविधा पाउनेछन् । निर्माण कार्यले तीव्रता पाएसँगै निर्माण व्यवसायीहरुको सहजताका लागि जेसीबीले आधिकारिक आउटलेट शुरु गरेको जनाएको छ । सन्धिखर्क ‘एआरओ’को उद्घाटन सन्धिखर्क नगरपालिका मेयर कमलप्रसाद भुषाल र अर्घाखाँची निर्माण व्यवसायी संघका अध्यक्ष ऋषिराम अधिकारले संयुक्त रुपमा गरेका थिए । दुवै नयाँ आउटलेटबाट जेसीबी ब्रान्डका मेसिनहरुको पार्टस् विक्री गरिनुका साथै सर्भिस पनि दिइने जनाइएको छ । कम्पनीले गल्छी, चरिकोट, लहान, डडेलधुरा र बनेपामा यसअघि नै जेसीबीका आधिकारिक विक्री केन्द्र सञ्चालन ल्याइसकेको छ । जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर लगायत उत्पादन बजारमा उपलब्ध छन् ।

४ अर्बको लागतमा २५ मेगावाटको सोलार प्लाण्टको काम सुरु, १ वर्षमा बिजुली बल्ने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २५ मेगावाट क्षमताको सोलार प्लान्टको औपचारिक रुपमा निर्माण सुरु गरेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले शुक्रबार सो प्लाण्टको शिलान्यास गरेका छन् । नुवाकोटको देवीघाट जलविद्युत केन्द्र परिसरमा स्थापना हुन लागेको नेपालकै सबैभन्दा ठूलो सोलार प्लान्ट हो । सरकार तथा प्राधिकरणको संयुक्त लगानी र विश्व बैकको सहुलियतपूर्ण ऋणमा निर्माण हुने प्लान्टको काम एक वर्षभित्र सकेर विद्युत राष्ट्रिय प्रणालीमा जोड्ने लक्ष्य राखिएको छ । सोलार प्यालन राखी त्यसमार्फत दिउसो उत्पादित विद्युत सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । प्लान्ट सञ्चालनमा आएपछि राष्ट्रिय प्रणालीमा रहेको ऊर्जा अभावलाई कम गर्न सहयोग गर्ने छ । काठमाडौंको खपत केन्द्र (लोड सेन्टर) बाट प्लान्ट नजिक रहेकाले यसबाट काठमाडौं उपत्यकाको विद्युत आपूर्ति प्रणालीलाई थप विश्वसनीय बनाउन महत्वपूर्ण योगदान पुग्ने छ । प्लान्ट सञ्चालनमा आएपछि कुलेखानी जलाशययुक्त र कालीगण्डकी ए, मध्यमस्र्याङदी,मस्र्याङदी, चिलिमे जस्ता अर्ध–जलाशययुक्तको जलाशयमा दिउसो पानी सञ्चित गरी ती विद्युत केन्द्र विद्युतको माग बढी हुने बेलुका र बिहान (पिक समय) सञ्चालन गर्न मद्दत पुग्ने छ । जसले पिक समयको विद्युत माग र आपूर्तिको व्यवस्थापनलाई थप सहज बनाउने अपेक्षा प्राधिकरणको छ । विश्व बैकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजना अन्तर्गत प्लान्ट स्थापना गर्न लागिएको हो । प्लान्ट स्थापनाका लागि चिनियाँ कम्पनी राइजन ईनर्जीस“ग ४ अर्ब रुपैयाँमा (३ करोड ८० लाख अमेरिकी डलर) ठेक्का सम्झौता गरिएको छ । जर्मन कम्पनी फिस्नरले परामर्शदाताको काम गरिरहेको छ । प्राधिकरणको स्वामित्वमा रहेका त्रिसुली र देवीघाट विद्युत केन्द्रको नाममा रहेको खाली जग्गामा राखिने सोलार प्लान्टको डिजाइन, आपूर्ति, निर्माण, सञ्चालन र मर्मतसम्भार ठेकेदार कम्पनीलेनै पाँच वर्षसम्म गर्ने छ । कम्पनीले ५ वर्षसम्म प्लान्टको सञ्चालन तथा मर्मतसम्भार गरी प्राधिकरणलाई चालू अवस्थामा हस्तान्तरण गर्ने छ । कम्पनीले प्लान्टबाट वार्षिकरुपमा तीन करोड ३० लाख युनिट सुनिश्चित ऊर्जा (ग्यारेण्टेड इनर्जी) आपूर्ति गर्नु पर्ने छ । हाल राष्ट्रिय प्रणालीमा अधिकांश विद्युत जलविद्युत आयोजनाबाट प्रवाह भइरहेको अवस्थामा सोलार प्लान्ट स्थापनासँगै सरकारले अगाडि बढाएको ऊर्जा मिश्रण कार्यान्वयनतर्फ अघि बढेको छ । प्राधिकरणले आगामी पाँच वर्षभित्रमा पाँच सय मेगावाटसम्म सोलार प्लान्ट राख्ने लक्ष्य राखेको छ ।  

नेपाल चेम्बर र कतार चेम्बरबीच कतारमा सम्झौता

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र कतार चेम्बर अफ कमर्सबीच कतारमा बिहीबार समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । समझदारीपत्रमा नेपाल चेम्वरकोतर्फबाट उपाध्यक्ष भाष्करराज राजकर्णिकार र कतार चेम्वरकोतर्फबाट खालिड जबार सुल्तान तवर अल कुवारीले हस्ताक्षर गरेका हुन् । दुईपक्षीय समझदारीपत्रमा भएको हस्ताक्षरपछि दुईदेशको आर्थिक अभिवृद्धि हुने विश्वास गरिएको छ । दुई देशबीचको व्यापार अभिवृद्धिमा पनि समझदारीले सहयोग गर्ने विश्वास चेम्बरले लिएको छ । समझदारीपत्रमा हस्ताक्षरपछि व्यापार व्यवसायको सूचना आदानप्रदान, प्रतिनिधिमण्डलको आदानप्रदानले दुवै देशको आर्थिक समृद्धिमा टेवा पुग्ने बताइएको छ ।

कोकाकोलाद्वारा मेगा कलेजका विद्यार्थीहरुसँग अन्तरक्रिया

काठमाडौं । कोकाकोला नेपालले मेगा कलेजमा एमबीएम प्रथम वर्षमा अध्यनरत बिद्यार्थीहरुसँग बुधबार अन्ररक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा बोटर्लस नेपालका कन्ट्री कर्मशियल मेनेजर रजनिश शर्माले विश्वमा कोकाकोला कम्पनी र त्यसको अवस्थाको बिषयमा सहभागीहरुलाई जानकारी गराएका थिए। कम्पनीको अनुसार कोकाकोला अहिले १३१ औं बर्ष पुरा गरेर १३२ औं बर्षमा प्रवेश गरेको छ । उपभोक्तालाई ध्यानमा राखेर ‘कोक खाम्, रसिया जाम्’, कोकाकोला मोःमोत्सव र स्प्राइट क्लियर लगायतका क्याम्पेन सञ्चालन गर्दै आइरहेको छ । साथै कम्पनीले खेलकुदको दिगो विकासका लागि विद्यालय स्तरिय ‘कोका कोला कप’ फुटबल प्रतियोगिता सञ्चालन गरेको थियो । वृहत्तर सामाजिक मनोबल बढाउन ‘फेरी उठ्ने छ नेपाल’ जस्ता कार्यक्रमहरुमार्फत कम्पनीले उत्तरदायित्व बहन गर्दै आएको छ । कोकाकोलाले पहिले पनि कुसुम ,एस इन्टिच्यूट अफ म्यानेजमेन्ट , किंग्स कलेज र एपेक्स कलेज लगायतसँगकाे सहकार्यमा विभिन्न कार्यक्रमहरु गरिसकेको छ । त्यस्तै कार्यक्रमहरुलाई निरन्तरता दिदै अाएकाे कम्पनीको भनाइ छ ।