विकासन्युज

यातायातमा सिण्डिकेट हट्यो, तरकारीमा कहिले ? उपभोक्ता ठगिदै, बिचौलिया मोटाउदै

काठमाडौं । यातायात क्षेत्रमा जस्तै तरकारीमा पनि डरलाग्दो सिन्डिकेट रहेको उपभोक्तावादी संस्थाले गरेको अध्ययनले देखाएको छ । ।  उपभोक्ता हकहितको आवाज उठाउदै आएको उपभोक्ता संरक्षण मञ्चले तरकारीमा यातायात क्षेत्रको भन्दा डरलाग्दो सिन्डिकेट रहेको तथ्य सार्वजनिक गरेको छ । पछिल्लो समय मञ्चले गरेको स्थलगत अध्ययनमा किसानदेखि उपभोक्तासम्म तरकारी आइपुग्न विभिन्न बिचौलियाको तह पार गर्नु पर्ने देखिएको छ । अध्ययन अनुसार ५/७ तहको बिचौलिया पार गरेर मात्र उपभोक्तासम्म तरकरारी आइपुग्छ । विचौलियाले गर्दा तरकारीको मुल्य समेत चार गुणा बढी पर्ने गरेको छ । राष्ट्रिय हित उपभोक्ता संरक्षण मञ्चका महासचिव वावुराम हुमागाईले करिब दुई महिनाको अध्ययनमा तरकारीको उत्पादन बिन्दुदेखि ग्राहकसम्म आइपुग्दा विभिन्न तहका बिचौलियाको सिन्डिकेट पार गर्नु पर्ने बताए । ती बिचौलियाका कारण बजारमा चार गुणाभन्दा बढी तरकारीको मुल्य बढ्ने गरेको छ । ‘त्यसबाट एकातिर भाउ नपाएर किसानहरुले आफ्नो पेशा छोड्दै गएका छन् भने अर्कातिर उपभोक्ताले महङ्गो मुल्यमा तरकारी खरिद गर्नु पर्ने बाध्यता छ,’ उनले भने ‘अब गाडीमा जसरी नै तरकारीको सिन्डिकेट तोड्न आवश्यक छ ।’ उनको अनुसार किसानले तकारीको उत्पादन गर्छ । त्यसयता ढुवानीकर्ता, ठेकेदार, थोक व्यापारी, खुद्रा गरी ४÷५ तह बिचौलिया रहेका हुन्छन् । त्यहाँ रहेको सिन्डिकेटको कारण किसानहरुले तरकारीको मुल्य समेत तोक्न पाउदैनन् । मुल्य बिचौलियाको हातमा हुन्छ । ‘पाँचखालमा प्रतिकिलो १९ रुपैयाँ पर्ने काउली काठमाडौं आइपुग्दा ८० रुपैयाँ पर्छ,’ उनले भने ‘त्यस्तै लालबन्दीमा ६ रुपैयाँ पर्ने गरेको गोलभेडा काठमाडौंमा प्रतिकिलो ४० रुपैयाँ पर्छ ।’ अध्ययन अनुसार किसानदेखि उपभोक्तासम्म आइपुग्दा प्रतिकिलो ४० रुपैयाँ पर्ने तरकरी १६० र प्रतिकिलो ५० रुपैयाँ पर्ने बिचौलिया सिन्डिकेटको कारण २ सयमा रुपैयाँ मुल्य पर्न गएको भेटिएको छ । मञ्चका अध्यक्ष ज्योति बानियाले केही दिनअघि मात्रै मञ्चले गरेको तरकारीको पछिल्लो अध्ययन बारे कृषि, भूमि व्यवस्था तथा सहरकारी मन्त्रालयलाई जानकारी दिने क्रममा तरकारीको क्षेत्रमा यातायातकोभन्दा बढी सिन्डिकेट रहेको बताएका थिए । ‘सिन्डिकेटको कारण बिचौलिया मोटाउदै गएको छ भने वास्तविक किसान पलायन हुने क्रममा छन्,’ उनले भने ‘तरकारी क्षेत्रमा बिचौलियाको खेल डरलाग्दो छ ।’ महासचिव हुमागाईले थप्दै पाचखालको कुनै पनि किसानले सिधै कालिमाटी तरकारी बजारमा आफ्नो उत्पादन बिक्री गर्न नसक्ने बताए । ‘डरलाग्दो सिण्डिकेट छ, बिचौलियाको दादागिरीनै चल्छ,’ उनले भने । उनको अनुसार कालिमाटीमा रहेको तरकारी स्टलको भाडा ५ हजार ५ सय छ । सोही स्टलको लागि सिन्डिकेटको कारण २५/३० हजारदेखि डेढ लाखसम्म बुझाउन पर्ने परिस्थिति छ । ‘वास्तविक स्टल हुने व्यक्ति पाउन सकिन्न,’ उनले भने ‘एकले अर्कोलाई, अर्कोले अर्कोलाई गरी ४/५ जनाले एउटै स्टललाई दलाल गर्दै भाडामा लगाउने गरेको भेटियो ।’ जसमा सरकारी कमचारी तथा उच्च अधिकारीहरुकै मिलेमतो रहेको उनको भनाइ छ । मञ्चले फागुन लागेसँगै तरकारीको मुल्य सम्बन्धि स्थलगत अध्ययन शुरु गरेको थियो । काभ्रेको पाँचखाल, वीरगञ्ज, वनेपा, मकवानपुरको पालुङ, कालिमाटी लगायतका स्थानमा अध्ययन गरेको छ ।उक्त स्थलगत अध्ययनको प्रतिवेदन केहीदिन भित्र कृषि, भूमि व्यवस्था तथा सहरकारी मन्त्रालयलाई बुझाउने कार्यक्रम छ । केही महिनाअघि आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको एक अध्ययनमा समेत तरकारीमा ५ तहसम्मको बिचौलिया रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।  

राष्ट्र बैंकमा जागिर खान फारम भर्नुभएको छ ? हेर्नुहोस यो मितिमा हुँदैछ परीक्षा

काठमाडौं । राष्ट्र बैंकले १५१ जनाको लागि खुलाएको विज्ञापनको परिक्षा मिती तोकेको छ । ३ तहको पदपुर्ति गर्नका लागि बैंकले असार ९ गतेदेखि परिक्षा सञ्चालन गर्ने भएको छ । ४५ जना माग रहेको सहायक निर्देशक अधिकृत तृतियको प्रथम पत्रको परिक्षा असार ९ गते ११ बजेदेखि सुरु हुनेछ भने भने द्धितिय पत्र साउन १७, तृतिय पत्र साउन १८ र चतुर्थ पत्रको लागि साउन १९ गते तोकेको छ । द्धितिय र तृतिया पत्रको परिक्षा ४ घण्टासम्म हुने बैंकले जनाएको छ । त्यस्तै ९६ जना माग रहेको सहायक प्रशासन तर्फको परिक्षा असार २३ गतेबाट सुरु हुनेछ । द्धितिय पत्र भदौ ८ गते हुनेछ भने तृतिय पत्र भदौ ९ गते हुनेछ । यसैगरी १० जना माग गरिएको सहायक प्रविधिक तर्फको परिक्षा असार २२ गते हुने भएको छ । याे पनि हेर्नुहाेस राष्ट्र बैंकमा जागिर मोहः १५१ जनाको कोटामा ५६ हजार आवेदन, ४ करोड राजश्व, कहिले हुन्छ परीक्षा ?

प्रभु बैंकको नाफा घट्यो, ९ महिनामा ८६ करोड ७१ लाख मात्र

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा प्रभु बैंकको नाफामा गिरावट आएको छ । चालु आवको चैतमा बैंकले ८६ करोड ७१ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ४४ करोड रुपैयाँ नाफा गरेको थियो । कर्जा नोक्सानीमा १ अर्ब ३१ करोड रुपैयाँ व्यवस्थापन गर्दा नाफा घटेको बैंकले जनाएको छ । यस्तै समीक्षा अवधिमा बैंकको ब्याज आम्दानी पनि घटेर १ अर्ब ९० करोड रुपैयाँमा सीमित भएको छ । गत आवको सोही अवधिमा ब्याज आम्दानी १ अर्ब ९५ करोड रुपैयाँ थियो । बैंकले पुरानो कर्जा ७५ करोड ७४ लाख रुपैयाँ असुली गरेको जानकारी दिएको छ । बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ४५ पैसा छ । गत चैतसम्म बैंकको निक्षेप परिचालन बढेर ८७ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । यस्तै कर्जा लगानी पनि बढेर ७३ अर्ब रुपैयाँ छ । बैंकको संचित कोषको आकार बढेर ३ अर्ब ४० करोड रुपैयाँ पुगेको छ ।

९ महिनामा कृषि विकास बैंकको नाफा १ अर्ब ७८ करोड

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा कृषि विकास बैंकको नाफा बढेको छ । बैंकले चालु आवमो ९ महिनामा नाफा बढाएर १ अर्ब ७८ करोड रुपैयाँ पुर्याएको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ५७ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आवको वित्तीय विवरणमा निष्क्रिय कर्जा घटेर ३.४९, निक्षेप लागत ७.१५, प्राथमिक पुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी रेसियो) ७९.१३, आधार ब्याजदर १२.७२, ब्याजदर अन्तर ५.६१ प्रतिशत रहेको बैंकले जनाएको छ । प्रतिसेयर आम्दानी २४ रुपैयाँ २० पैसा छ । जगेडा कोषको आकार बढेर ९ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकले ९७ अर्ब १० करोड रुपैयाँ निक्षेप परिचालन गरी ९४ अर्ब ८९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

९ महिनामा कुमारी बैंकको नाफा १०० प्रतिशत बढ्याे ७० करोड पुग्यो

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा कुमारी बैंकले नाफा १०० प्रतिशत बढाएको छ ।बैंकले चालु आवको चैतसम्म ७० करोड ५ लाख रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा ३७ करोड ५८ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले ब्याज आम्दानी बढाएपछि यसको सकरात्मक असर नाफामा परेको हो । गत चैतमा बैंकले १ अर्ब ३४ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधिमा बैंकले ८१ करोड ३७ लाख रुपैयाँ गरेको थियो । बैंकको निष्क्रिय कर्जा घटेर १.२४ प्रतिशतमा झरेको छ । यस्तै निक्षेप लागत ८.६७, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८.६९, आधार ब्याजदर ११.६२ र ब्याजदर अन्तर ३.२० प्रतिशत छ । प्रतिसेयर आम्दानी १५ रुपैयाँ ७६ पैसा छ । बैंकको संचित कोष बढेर २ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप ७.२१ प्रतिशत बढेर ६१ अर्ब ८४ करोड र कर्जा लगानी ११.८३ प्रतितश बढेर ५६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ ।

९ महिनामा नविल बैंकको नाफा बढेर २८० करोड, प्रतिसेयर आम्दानी ४६ रुपैयाँ ७० पैसा

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा नविल बैंकको खुदनाफा बढेर ३ अर्ब रुपैयाँ नजिक पुगेको छ । चालु आवको चैतसम्म बैंकले २ अर्ब ८० करोड रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले २ अर्ब ६८ करोड रुपैयाँ नाफा गरेको थियो । ब्याज आम्दानीमा भएको वृद्धिले बैंकको नाफामा सुधार ल्याएको हो । समीक्षा अवधिमा बैंकले ४ अर्ब ४९ करोड रुपैयाँ रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधिमा बैंकको ब्याज आम्दानी ४ अर्ब ८ करोड रुपैयाँ थियो । ब्याज आम्दानी ४१ करोड रुपैयाँ बढेको छ । बैंकको निष्क्रिय कर्जा १, निक्षेप लागत ४.६३, प्राथमिक पुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी रेसियो) ७६.२०, आधार ब्याजदर ७.३३ र ब्याजदर अन्तर ४.८९ प्रतिशत छ । प्रतिसेयर आम्दानी ४६ रुपैयाँ ७० पैसा छ । समीक्षा अवधिमा बैंकको संचित कोष बढेर ८ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । गत चैतमा बैंकको निक्षेप परिचालन बढेर १ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा निक्षेप १ खर्ब १७ अर्ब रुपैयाँ थियो । यस्तै कर्जा लगानी पनि विस्तार भई १ खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ९० अर्ब ५५ करोड रुपैयाँ थियो ।

माछापुच्छे बैंकको नाफा १९ करोड घट्यो, खराब कर्जा न्युन

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा माछापुच्छ्रे बैंकको नाफा १९ करोड रुपैयाँ घटेको छ । गत चैतसम्म बैंकले ८१ करोड ५० लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको चैतमा बैंकले नाफा १ अर्ब रुपैयाँ कटाएको थियो । बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आवको ९ महिनाको अपरिष्कृत वित्तीय विवरणमा गत आवको तुलनमा ब्याज आम्दानीमा बढाउन नसकेपछि नाफामा गिरावट आएको देखाएको छ । गत चैतसम्म बैंकले १ अर्ब ७८ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत आवाको सोही अवधिमा बैंकको ब्याज आम्दानी १ अर्ब ७५ करोड रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकको ०.३५ प्रतिशत छ । निक्षेप लागत ७.५३, कर्जा र निक्षेप अनुपात (सीडी रेसियो) ७८.६६, आधार ब्याजदर ११.१० र ब्याजदर अन्तर ४.२३ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ७५ पैसा छ । बैंकको संचित कोष बढेर १ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकले निक्षेप बढाएर ६८ अर्ब ४३ करोड रुपैयाँ पुर्याएको छ । यस्तै कर्जा लगानी पनि विस्तार भई ६२ अर्ब २१ करोड रुपैयाँ पुगेको बैंकले जानकारी दिएको छ ।

नेपाल बंगलादेश बैंकको नाफा २७ करोड बढेर ७१ करोड पुग्याे

काठमाडौं । नेपाल बंगलादेश बैंकले ३ महिनामा नाफा २७ करोड रुपैयाँ बढाएको छ ।  बैंकले गत चैतसम्म नाफा बढाएर ७१ करोड रुपैयाँ पुर्याएको छ । गत पुसमा बैंकको नाफा ४३ करोड ८० लाख रुपैयाँ थियो । यद्यपी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा ११ करोड रुपैयाँ घटेको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आवको ९ महिनाको वित्तीय विवरणमा बैंकले ब्याज आम्दानी बढाएपछि नाफामा बढेत्तरी भएको जनाएको छ । गत चैतसम्म बैंकले १ अर्ब २४ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत पुसमा ७४ करोड २६ लाख रुपैयाँ ब्याज आम्दानी थियो । समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा बढेर १.७७ प्रतिशत पुगेको छ । गत पुसमा यस्तो कर्जा १.४७ प्रतिशत थियो । बैंकको निक्षेप लागत ७.९८, प्राथमिक पुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी रेसियो) ७८.६०, आधार ब्याजदर ११.६०, कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेड० ३.५९ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी १२ रुपैयाँ छ । यस्तै बैंकको संचित कोष बढेर ३ अर्ब रुपैयाँ नाघेको छ । समीक्षा अवधिमा बैंकले ४२ अर्ब ३६ करोड रुपैयाँ निक्षेप परिचालन गरेर ४२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।