बेनी-कोरला सडकखण्डमा १४ वटा पक्की पुल निर्माण गरिँदै, ३० महिनाभित्र सम्पन्न हुने
म्याग्दी । नेपाल र चीनको सीमा क्षेत्र मुस्ताङको कोरला नाकासम्मको सडकखण्डमा १४ वटा पक्की पुल निर्माण गरिने भएको छ । कालीगण्डकी नदीको किनारैकिनार खनिएको यस सडकको विभिन्न सहायक नदीमा उक्त पुल निर्माण गर्न लागिएको हो । अहिले छ वटा पुल निर्माणाधीन अवस्थामा रहेको र आठ वटा बोलपत्र, डिजाइन र सम्झौताको चरणमा पुगेको कालीगण्डकी करिडोर आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले बताए । उनका अनुसार, आगामी ३० महिनाभित्र सबै पुलको निर्माण सम्पन्न लक्ष्यसहित काम भइरहेको छ । कालीगण्डकी करिडोरअन्तर्गत पर्ने १६९ किलोमिटर बेनी-जोमसोम-कोरला सडकको अहिले स्तरोन्नति कार्य भइरहेको छ । अहिले बेलिब्रिजमार्फत सवारी साधन वारपार हुँदै आएकामा ती बेलिब्रिजलाई विस्थापित गरी पक्की पुल निर्माण गर्न लागिएको आयोजना प्रमुख सुवेदीले बताए । आयोजनाका अनुसार म्याग्दीको दानास्थित घट्टेखोलामा रु पाँच करोड ७६ लाखको लागतमा फेवा नयाँजाय जेभी, मुस्ताङको घासामा खहरेखोलामा पाँच करोड ९७ लाख रुपैयाँमा सिर्वा कन्स्ट्रक्सन, मार्फा र जोमसोमको बीचमा साढे १० करोड रुपैयाँमा मुक्तिनाथ गीता जेभीले पुल निर्माण गरिरहेको छ । त्यस्तै, कागबेनी खोलामा दुई करोड ८८ लाख रुपैयाँलागतमा गल्फा एण्ड रेविना जेभी र लोप्रा पाण्डखोलामा लोकप्रिय शंकरमनी जभीले रु तीन करोड नौ लाखमा ठेक्का लिएको छ । सडक विभागअन्तर्गत पुल सेक्टर नं ३ पाल्पाले म्याग्दीको तिब्ल्याङ र पोखरेबगरमा कालीगण्डकीमाथि पुल निर्माणको जिम्मा लिएको छ । दुवै स्थानमा बेलिब्रिजलाई विस्थापित गरिनेछ । तिब्ल्याङमा निर्माण कार्य तीव्र रहे पनि पोखरबेगरमा भने शुरु भएको छैन । गलेश्वरस्थित राहुघाट खोलाको ठेक्का भने कालिका गजुरमुखी जेभीले लिएको छ । गजुरमुखीले तातोपानीदेखि कोबाङसम्म ३८ किलोमिटर सडक स्तरोन्नतिको कार्य पनि गरिरहेको छ । आयोजनाले मुस्ताङको चराङखोला, घमीखोला, छुसाङखोला र ढुंगाखोलाका लागि एकहप्ताअघि टेण्डर आह्वान गरेको छ । नेपाली सेनाले मार्ग खोलेको ७६ किलोमिटर बेनी–जोमसोमखण्डमा गलेश्वर, तिब्ल्याङ, पोखरेबगर, स्याङ, खहरेखोलामा बेलिब्रिज जडान गरिएको थियो । तर, मर्मतसम्भारको अभावमा बेलिब्रिजहरु जीर्ण भएका छन् । रासस
४० प्रतिशत हकप्रद पछि सूर्या लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४० प्रतिशत हकप्रद पछिको मूल्य समायोजन भएको छ । बुधबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७०७ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ८७४ रुपैयाँ रहेको छ ।
सेञ्चुरी बैंक र यूनियन लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्सको सम्झौता भएको छ । सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी बैंकबाट उक्त कम्पनीको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानीलगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सकिने छ । उक्त सम्झौतापत्रमा बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र यूनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमारलाल कर्णले हस्ताक्षर गरेका छन् । हाल बैंकले ३ वटा एक्स्टेन्सन काउण्टर साथै १० वटा शाखारहित बैकिंङ्ग गरी जम्मा १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।
काठमाडौं टावरका निर्माता मनोज भेटवाल पक्राउ, के हुन्छ टावरको भविष्य ?
काठमाडौं । पुरानो बसपार्कमा धमाधम निर्माण भैरहेको २९ तल्ले काठमाडौं भ्यु टावरका निर्माता मनोज कुमार भेटवाल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो(सिआइबी)ले भेटवाललाई सोमबार पक्राउ गरेको हो । एपेक्स बैंक घोटाला प्रकरणमा संलग्न रहेको तथ्य फेला परेपछि उनलाई सोमबार पक्राउ गरि हिरासतमा राखेर थप अनुसन्धान अघि बढाईएको सिइआबीका प्रवक्ता जिवन श्रेष्ठले बताए । भेटवालले झापाको दमक नगरपालिका वडा नम्बर १७ को कित्ता नम्बरर ४८५ को ०६७७२.६३ वर्ग मिटर जमिन धितो राखेर ऋण लिएका थिए । कमसल धितो राखेर अधिक ऋण लिएको तथ्य फेला परेपछि उनी पक्राउ परेका हुन् । उनी पक्राउ परेसँगै काठमाडौं टावरको निर्माण भने अन्यौलमा पर्ने देखिएको छ । तर काठमाडौं महानगरपालिकाका सहायक प्रवक्ता नमराज ढकालले भने व्यक्ति पक्राउ पर्दैमा निर्माण प्रक्रिया नरोकिने बताए । ‘लगानी कर्ताका रुपमा भेटवाल एक्लै थिए भने समस्या हुन सक्थ्यो तर जोइन्ट भेञ्चरमा तीन वटा कम्पनीले काम गरेका हुन्, व्यक्ति पक्राउ परेर खासै ठुलो समस्या नआउला’, महानगरपालिकाका सयहाक प्रवक्ता ढकालले भने । काठमाडौं महानगरपालिकाले २०७१ फागुन ८ गते जलेश्वर स्वच्छन्द विकोई विल्डर्ससँग सार्वजनिक निजी साझेदारीमा २९ तले बहुउदेश्यिय काठमाडौं भ्यु टावर निर्माण सम्झौता गरेको थियो । २०७२ कात्तिक २५ गते उपराष्ट्रपति नन्द बहादुर पुनःले टावरको शिलान्यास गरेका थिए । कम्पनीले टावर निर्माणका लागि भन्दै २०७३ साल बैशाख २२ गते पुरानो बस पार्कलाई खुल्ला मञ्चमा सारेको थियो ।
यातायात व्यवसायी संघले बैशाख १२ र १३ गते सबै गाडी सडकमा छोड्ने, २१ देखि यातायात सेवा ठप्प पार्ने
काठमाडौं । सिण्डीकेट पक्षधर यातायात व्यवसायीहरुले बैशाख २१ गतेदेखि देशभर यातायात सेवा ठप्प पार्ने घोषणा गरेका छन् । राजधानीमा पत्रकार सम्मेलन गर्दै उनीहरुले चरणवद्ध आन्दोलनका कार्यक्रम अघि सारेर बैशाख २१ देखि अनिश्चित कालिन यातायात बन्दको घोषणा गरेका हुन् । उनीहरुले २१ गते आफ्ना सवारी साधनहरुलाई घर ग्यारेजमा धन्क्याउने र २७ गतेपछि अनिश्चितकालसम्म यातायात सेवा ठप्प पार्ने बताएका हुन् । सिण्डीकोटको पक्षमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियसन र ढुवानी व्यवसायी महासंघ नेपाल रहेका छन् । उनीहरुले बैशाख १२ र १३ गते सबै सवारी साधनहरुलाई सडकमा उतारेर सवारी आवागमन अस्तव्यस्त बनाउने लगायतका कार्यक्रम अघि सारेका छन् । त्यस्तै, बैशाख १४ र १५ गते कुनै पनि सवारी साधनलाई क्युमा सञ्चालन नगर्ने बताएका छन् । नेपाली व्यवसायीहरुको १० खर्बको लगानी र ४० लाख रोजगारी खोस्न सरकार लागि परेको आरोप समेत लगाएका छन् । संयुक्त आन्दोलनका संयोजक योगेन्द्र नाथ कर्माचार्यले बैशाख ७ गते प्रधानमन्त्री केपी ओलीलाई भेटेर आफ्ना समस्या राख्ने पनि बताए । यस्ता छन् यातायात व्यवसायीका आन्दोलनका कार्यक्रमहरु १. बैशाख ८ गते प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउने २. बैशाख ९ गते सबै राजनितिक दलका प्रमुखलाई भेटेर ज्ञापनपत्र बुझाउने ३. बैशाख १२ र १३ गते सबै सवारीलाई तालिका बिनै छोड्ने ४. बैशाख १४ र १५ गते काठमाडौं र प्रदेश राजधानीमा क्यू फ्रि छोड्ने ५. बैशाख २१ गते सबै सवारी ग्यारेजमा थन्क्याउने ६. बैशाख २७ गतेदेखि अनिश्चित कालिन यातायात बन्द गर्ने
२० करोड मुद्धति निक्षेपमा राख्न बैंक खोज्दै दुरसञ्चार प्राधिकरण
काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले आफुसंग रहेको वचत रकम १ वर्षे मुद्धति निक्षेपमा राख्नका लागि बैंकसंग प्रस्ताव मागेको छ । प्राधिकरणले ब्याजदर खुलाई प्रस्ताव बैशाख ११ गते पेश गर्न बैंकलाई भनेको छ । प्राधिकरणले न्युनतम २० करोड रुपैयाँका लागि प्रस्ताव पेश गर्न अनुरोध गरेको छ । बैंकहरुले मुद्धतिमा ११ र साधारण वचतमा ८ प्रतिशतसम्म ब्याज दिने आन्तरिक सहमति गरेका छन् ।
नेपाल इन्स्योरेन्सको हकप्रद सेयर बिक्री खुला, जेठ ८ गतेसम्म भर्न पाइने
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको आजदेखि हकप्रद सेयर बिक्री खुला भएको छ । कम्पनीले चुक्तापुँजी बढाउन १०० प्रतिशत अर्थात ३० करोड १९ लाख ८८ हजार रुपैयाँ बराबरको ३० लाख १९ हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । सेयर निष्कासन जेठ ८ गतेसम्म रहेको निष्कासन तथा बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ । चैत २२ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रद खरिदका लागि आवेदन दिन सक्ने छन् । हकप्रद निष्कासनका लागि दरखास्त पाइने र रकम बुझाउन एनआईबीएलको लाजिम्पाट, लालदरबार, लगनखेल, चिप्लेढुङा, बुटबल, वीरगञ्ज, र विराटनगरबाट पाइने छ ।
प्रदेश सरकार तातेपछि सातै प्रदेशका ठुला औद्योगीक क्षेत्रको काम द्रुत गतिमा
काठमाडौं । सातै प्रदेशको ११ वटा औद्योगिक क्षेत्रको कार्य द्रुत गतिमा अघि बढेको छ । प्रदेश सरकारले चाँडो औद्योगिक क्षेत्र निर्माण गर्न दवाव दिएसँगै अहिले द्रुत गतिमा औद्यागिक क्षेत्रको कार्य अघि बढेको हो । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका कामु उपनिर्देशक भोजराज विनाडीले अहिले सम्बन्धीत औद्योगिक क्षेत्रको प्रदेश सरकरलेनै औद्योगिक क्षेत्रको निर्माण कार्य चाँडो गर्न पर्ने जोड दिएको बताए । प्रत्येक प्रदेशमा ठूला आकारका नयाँ औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको नीति बमोजिम सरकारले समेत औद्योगिक क्षेत्र स्थापनाको लागि द्रुत गतिमा आफ्नाको काम अघि बढाएको उनको भनाइ छ । उनको अनुसार ७ औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरण प्रभाव मूल्याङ्कन (इआइए) दुवै कार्य अन्तिम चरणमा पुगेको छ भने केहीको डीपीआर सकिएको छ । साथै ४ औद्योगिक क्षेत्रमा भने इआईएको काम भइरहेको छ । ‘चालु आर्थिक वर्षमा बजेट छुट्टिएसँगै सोअनुसर जग्गा मुआब्ज वितरण र औद्योगिक क्षेत्रको डीपीआर र इआइए प्रस्तुत गर्ने कार्य अन्तिम चरणमा पुगेको हो ,’ उनले भने ‘आगामी आर्थिक वर्ष २०७५/०७६ लागेसँगै औद्योगिक क्षेत्रको निर्माण कार्य अघि बढ्नेछ ।’ पञ्चवर्षिय योजना अनुसार सरकारले औद्योगिक क्षेत्रको स्थापना गर्ने कार्य अघि बढाएको उनको भनाइ छ । उनकाअनुसार सर्लाहीको सगरनाथ, हेटौंडाको मयूरधाप, चितवनको शक्तिखोर, कैलालीको लम्की, कञ्चनपुरको दैजी, बुटवलको मोतिपुर र बाँकेको नौबस्ता औद्योगिक क्षेत्रहरुमा सम्भाव्यता अध्ययन लगायतका काम सम्पन्न गरि डीपीआर र इआइएको काम अन्तिम चरणमा पुगेको छ । त्यस्तै झापाको दमक, गोरखाको च्यांगलीफाँट, दाङको लक्ष्मिुर र सुर्खेतको साटाखानी औद्योगिक क्षेत्रमा इआइएको काम अघि बढिरहेको कामु उपमहानिर्देशक बिनाडीको भनाइ छ । सरकारले १० वर्षमा १० लाख संख्यामा रोजारी सृजना गर्ने उद्देश्यलाई प्राथमिकतामा राखेर उक्त ठुला आकारको औद्यागिक क्षेत्र निर्माण गर्ने योजना ल्याएको हो । उद्योगमन्त्री महेश बस्नेतको पालामा २०७१÷०७२ मा प्रत्येक प्रदेशमा एक–एक वटा एक÷एक हजार विद्या क्षेत्रफल भएको ठूला आकारका औद्योगिक स्थापना गर्ने घोषणा गरिएको थियो । सोही अनुसार प्रक्रिया अघि बढेको हो । सातै प्रदेशमा अहिले औद्योगिक क्षेत्र निर्माणको प्रक्रिया द्रुत गतिमा अघि बढेको छ । प्रदेश नम्बर ३ मा दुई, ५मा तीन, ६ मा २ र बाँकी प्रदेशहरुमा १÷१ वटा औद्योगिक क्षेत्र बन्ने भएको छ । ती औद्योगिक क्षेत्रमध्ये सबैभन्दा कम गोरखामा १०० विद्या भने सबैभन्दा बढी सर्लाहीमा ३ हजार विद्यामा औद्योगिक क्षेत्र बन्ने कामु उपनिर्देशक बिनाडीको भनाइ छ । उनले झापा दमकको काम भने केहि ढिला गरी अघि बढेको भन्दै अहिले मुआब्जा वितरणको कार्य भइरहेको बताए । त्यहाँ पनि समयमै योजनाअनुसारको काम सम्पन्न हुने उनको दावी छ । कम्पनीको अनुसार सरकारको औद्योगिक व्यवसायी ऐन २०७३ अनुसार सो औद्योगिक क्षेत्रमा उत्पादनमुलक, लघु घरेलु तथा सान उद्योग, ऊर्जामुलक उद्योग, कृषि तथा वनपैदावर, सूचना सञ्चार तथा प्रशारण, सेवा मुलक लगायतको उद्योगहरु सञ्चालन हुनेछ । पीपीआर मोडेल सञ्चालन हुने उक्त औद्योगिक क्षेत्रमा स्वदेशमै उत्पादन भएका कच्चापदार्थ तथा रोजगारी सृजना गर्ने सरकारको मुख्य उद्देश्य छ । त्यहाँस्थित उद्योगहरु नयाँ र आधुनिक प्रविधिमा सञ्चालन हुने कामु उपनिर्देशक बिनाडीको भनाइ छ । औद्योगिक क्षेत्रमा उद्योगहरु सञ्चालन भएसँगै राजस्व तथा पूँजीको बृद्धि हुने र सरकारले घोषणा गरेअनुसार मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढ्न सहयोग पुग्ने भएको छ ।