विकासन्युज

चन्द्रागिरि हिल्सले सार्वजनिक गर्यो भिडियो विज्ञापन(भिडियो सहित)

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले व्यवसाय प्रवद्र्धनका लागि टेलिभिजन विज्ञापन सामाग्री सार्वजनिक गरेको छ । विज्ञापन सामाग्रीमा महजोडी कलाकार मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यका साथ साथै दीपकराज गिरी र दीपाश्री निरौलाको अभिनय रहेको छ । उक्त प्रवद्र्धनात्मक भिडियोको निर्देशनतथा परिकल्पना दिनेश डीसीले गरेका हुन् । बालकलाकार अनुरोध अधिकारी, निमिशा ढकाल, शैबी ढकाल र सफल झाको प्रस्तुती रहेको विज्ञापन सामाग्री बुधबार चन्द्रागिरिमा आयोजित एक औपचारिक समारोहकाबीच चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष, संचालकहरु र कलाकारहरुले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । उक्त कार्यक्रममा चन्द्रागिरि हिल्स एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालका ख्याती प्राप्त चार कलाकारहरुको अभिनय रहेको विज्ञापन भिडियो बनाउन पाउदा खुशी लागेको बताए । कम्पनीका संचालक मिनबहादुर गुरुङ्गले चन्द्रागिरि हिल्स लिमिटेडले पर्यटन प्रवद्र्धन र रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेको धारणा व्यक्त गरेका छन् । संचालक हेमराज ढकालले कुलग्राहस्थ उत्पादनमा करिव ३ प्रतिशतमात्र योगदान पुर्याउँदै आएको पर्यटन क्षेत्रको योगदान बढाउन केबलकार सहित निर्माण भएको चन्द्रागिरि हिल्स परियोजनाले पनि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । संचालक अम्बिका प्रसाद पौडेलले चन्द्रागिरिको धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्वको विषयमा प्रकाश पारेका छन् । विज्ञापन भिडियोमा अभिनय गरेका कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले नेपालको प्रतिष्ठित व्यवसायिक समूहले ऐतिहासिक, धार्मिक र पर्यटकिय स्थलको प्रर्वद्धन गर्न गरेको प्रयासमा आफुहरुले अभिनय गर्न पाउदा खुसि लागेको बताए । कलाकार दिपकराज गिरि र दिपाश्री निरौलाले चन्द्रगिरि हिल्सको स्थापनाले चन्द्रागिरिको स्थानीय आर्थिक गतिविधिमा महत्वपूर्ण भूमिका  खेलेको बताएका छन् । (भिडियो हेर्न यसमा क्लिक गर्नुहोस्) चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

रिलायवल माईक्रोफाइनान्सको ५० प्रतिशत हकप्रद निष्कासन, अावेदन असार २५ देखि

काठमाडौं । रिलायवल माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले २ लाख ८२ हजार ५ सय कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । एक सय रुपैयाँ अंकित साधारण सेयरको हकप्रद निष्कासन गरेको यो संस्थाले २ कित्ता सेयर हुनेका लागि नयाँ एक सेयर (२ः१)को अनुपातमा सेयर दिने भएको छ । यो संस्थाले ५ करोड ६५ लाख को चुक्ता पुँजीमा २ करोड ८२ लाख ५० हजार रुपैयाँ थप गर्ने उद्देश्यले हकप्रद निष्कासन गरेको हो । यो संस्थाले यही असार १६ गतेसम्म कारोबार भैसकको सेयरधनिले मात्रै हकप्र्र्रद किन्न पाउने जानकारी दिएको छ । यसको हकप्रद यही असार २५ देखि साउन २९ गतेसम्म आवेदन दिन पाइने उल्लेख छ । यसको हकप्रदको आवेदन सिभिल क्यापिटल मार्केट सुन्धारा, रिलायवल डेभलपमेन्ट बैंक ज्ञानेश्वर र यो माइक्रोफाइनान्सको सबै कार्यालयबाट दिन सकिने छ । यसको धितोपत्र निकासन तथा विक्री प्रवन्धक सिभिल क्यापिटल मार्केट्स हो ।

१७ दिनसम्म देउवाले सहयोगी टिम छान्न सकेनन, राजपा भने शिथिल हुँदै

प्रधानमन्त्रीको कार्यकाल सम्हालेको १७ दिन बितिसक्दा पनि शेरबहादुर देउवाले सहयोगी टिम बनाउन सकेका छैनन्। सल्लाहकार र सहयोगी टिम नहुँदा सचिवालय र प्रधानमन्त्री कार्यालय नै अस्तव्यस्त छ । यसअघि तीन पटक प्रधानमन्त्रीको अनुभव लिएका देउवाले चुनावपछि मात्रै सहयोगी टिम बनाउने भन्दै आफूनिकटलाई सुनाउने गरेका छन् । सहयोगी टिमको सुझावभन्दा पनि आफ्नै शैली र परम्पराबाट चल्ने स्वभाव देउवामा देखिएको छ। ‘सल्लाहाकार भन्दा पनि काम गर्न सक्नेक्षमता भएका विज्ञ टिम तत्काल बनाउन आवश्यक छ,’ देउवा निकट नेता एवम् पूर्वपरराष्ट्र मन्त्री प्रकाशशरण महतले भने,‘मैले पनि सुझाव दिएको छु। आभुषणका लागि भन्दा पनि ठोस काम गरेर देखाउन राजनीतिक क्षेत्र र प्रशासन तहमा त्यस्तो टिमको खाँचो छ।’ जेठ २१ मा प्रधानमन्त्री भएका देउवा २२ गतेदेखि कार्यभार सम्हालेका हुन्। कान्तिपुर दैनिकबाट । राजपा शिथिल हुँदै निर्वाचनविरुद्ध आन्दोलन घोषणा गरेको राजपा नेपालको आन्दोलन शिथिल हुँदै गएको छ ।प्रदेश नम्बर १ र ५ मा राजपाको आन्दोलन खुम्चिएको हो । राजपाका कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिन थालेपछि आन्दोलन शिथिल भएको हो ।तर राजपाका प्रवक्ता कृष्णा सिंहले आन्दोलनको नयाँ रणनीति बन्दै गरेको बताएका छन् । उनले भने, ुहामी जोडतोडका साथ तयारी गर्दै छौं हाम्रो आन्दोलन तुहिएको छैन ।  

सुडान घाेटालामा मुछिएका प्रहरी प्रमुख जेल गए, दुई पूर्व आइजीपीसहित चार प्रहरीलाई जरीवानासहितकाे कैद सजाय

काठमाडौं । सुडानको डार्फर मिसनमा सुरक्षाकर्मीका लागि एपीसीलगायत बन्दोवस्तीका सामग्रीमा घोटाला भएको ठहरसहित जेल सजाय सुनाइएका दुई पूर्व आइजीपी र दुई डीआइजीले बुधवार सर्वोच्च अदालतमा समर्पण गरेका छन् । पूर्व आइजीपी हेमबहादुर गुरुङ, ओमविक्रम राणा, डीआइजी दीपक श्रेष्ठ र एआइजी दीपकसिंह थाङदेनले समर्पण गरेका हुन् । उनीहरुलाई बुधवार नै डिल्लीबजारस्थित सदरखोर चलान गरिएको छ । सर्वोच्चका सहायक प्रवक्ता विश्वराज पौडेलले सर्वोच्चमा अभियुक्त स्वयंम हाजिर भएकाले कैदमा २० प्रतिशत छुट हुने बताउनुभयो । निवर्तमान प्रधानन्यायाधीश सुशिला कार्कीसहितको इजलासले सुडानको डार्फर मिसनमा भएको भ्रष्टाचार प्रकरणमा तीनजना पूर्व आइजिपीसहित नौ जनालाई जेलसजायको फैसला सुनाएको थियो । सुडानको डार्फरमा सुरक्षाकर्मीका लागि आर्मोड पर्सनल केरियर (एपिसी) लगायत बन्दोबस्तीका सामाग्रीमा घोटाला भएको ठहरसहित निवर्तमान प्रधानन्यायाधीश कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले विशेष अदालतको पूर्व फैसलामा आंशिक उल्टी गर्दै उक्त निर्णय सुनाएको थियो । सुरक्षाकर्मीका लागि गुणस्तरहिन सामाग्रीका लागि २८ करोड, ८१ लाख, ६१ हजार, ६ सय २९ रुपैयाँ ३० पैसा भुक्तानी दिलाएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीनजना पूर्व आइजीपी र ठेकेदारसहित ३६ विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । विशेषले भ्रष्टाचार प्रकरणमा पूर्व आइजिपी हेमबहादुर गुरुङ, ओमविक्रम राणा र रमेशचन्द ठकुरीलगायतको बिषयमा गरेको फैसला चित्त नबुझेपछि अख्तियारले सर्वोच्चमा पुनरावेदन गरेको थियो । अन्य अभियुक्तबाट पनि विशेषको निर्णय खारेज गर्न पुनरावेदन परेको थियो । सर्वोच्चले पूर्व आइजीपी राणाले रकम लिएखाएको भनेर देखिने अबस्था नरहे पनि मालसामान खरिद गर्दा बढी रकम भुक्तानी गर्दै गुणस्तरहिन, म्याद नाघेको खरिद गर्ने कार्यमा बदनित देखिएको भन्दै दुई बर्ष कैद तथा ५० हजार रुपैयाँ जरिबाना गरेको छ । अर्का प्रतिवादी पूर्व आइजीपी हेमबहादुर गुरुङ र रमेशचन्द ठकुरीले खराव र गुणस्तरहिन सामाग्री भएको जान्दाजान्दै रकम भुक्तानी नरोकेको आधारमा एक बर्ष कैद र ४० हजार जरिबानाको फैसला भएको छ । भ्रष्टाचारमा संलग्नताको अभियोगमा लण्डनस्थित ठेकेदार कम्पनी ‘रिस्क एस्र्योड’ का निर्देसक माइकल राइडरलाई कुल विगो अनुरुप जरिबाना गरी त्यस्को आधा रकम थप १४ करोड २० लाख आठ हजार रुपैयाँ भराउने निर्णय गरेको छ । यस्तै नेपालस्थित ठेकेदार प्रतिनिधि शम्भु भारतीलाई एपिसि आपूर्तिमा निर्णायक भूमिकामा रहेको भन्दै उनलाई समेत १४ करोड २० लाख आठ हजार रुपैयाँ जरिवाना र त्यति नै विगो भराउने फैसला भएको थियो । भारतीलाई एक बर्ष जेल सजायसमेत तोकिएको थियो । यता उक्त प्रकरणमा अभियुक्त कायम गरिएका ३१ प्रहरी अधिकृतहरुमध्ये श्याम सिंह थापा र दीपकसिंह थाङदेनलाई पनि जनही एक बर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना तोकिएको थियो । यता प्रहरी अधिकृत दीपककुमार श्रेष्ठ र रविप्रताप राणालाई ६ महिना कैद र ३० हजार रुपैयाँ जरिबाना तोकिएको थियो । यी बाहेकका अन्य अभियुक्तको भ्रष्टाचार कसुर नदेखिएको आधारमा सफाई पाएका थिए । सर्वोच्चले करार वमोजिम सामान आपूर्ति भए वापतको रकमको अन्तिम जिम्मेबारी सरकारमा निहित रहने फैसलामा उल्लेख थियो । अन्नपूर्ण पोस्टबाट ।

भारतले चार सय नेपाली ग्यास बुलेट रोक्यो, एकाधिकार तोडिएको इगो साध्दै भारत

काठमाडाैं । भारत सरकारको असहयोगले नेपालका करिब चार सय ग्यास बुलेट नौ महिनादेखि भारतमा अड्किएका छन् । नेपालमा ग्यास ढुवानी गर्दै आएका भारतीय व्यवसायीको बिजनेस खोसिने भएपछि भारतले विभिन्न बहाना बनाएर नेपाली ग्यास बुलेट सञ्चालनमा अवरोध गरेको हो । ग्यास ढुवानीमा भारतीय निर्भरता हटाउनका लागि सरकारले बुलेट खरिद आयातमा छुट दिएपछि नेपाली उद्योगीले बुलेट खरिद गरेका थिए । सबै कानुनी प्रक्रिया पुरा गरे पनि भारतले एक्स्प्लोसिभु विभागले एक्स्प्लोसिभ प्रमाण पत्र दिएको छैन । नागरिक दैनिकबाट ।

चुनावको मुखमा कार्यकर्ता पोस्दै, राज्यकोषबाट ८ अर्ब ७१ करोड बाँड्दै सरकार

काठमाडौं । चुनावको मुखैमा कांग्रेस–माओवादी केन्द्रको गठबन्धन सरकारले द्वन्द्वपीडितका नाममा ८ अर्ब ७१ करोड रुपैयाँ आर्थिक सहायता निकासा गर्ने निर्णय गरेको छ। निर्वाचन आयोगले दिएको निर्देशनविपरीत सरकारले रकम निकासा गरेको हो। शान्ति मन्त्रालयअन्तर्गतको राहत तथा पुनस्स्थापना एकाइले बुधबार ७३ जिल्लाका प्रशासन कार्यालयमा उक्त रकम निकासाका लागि अख्तियारी दिएको हो। आयोगले चुनावपछि मात्र त्यसलाई कार्यान्वयन गर्न पत्राचार गरेको थियो। द्वन्द्वकालमा मृत्यु भएका र बेपत्ता सूचीमा परेका, विस्थापित, अपहरण, टुहुरा बालबालिकासहितका नाममा उक्त रकम प्रदान गर्ने मन्त्रिपरिषदको निर्णयलाई शान्ति मन्त्रालय मातहतको एकाइले बुधबार कार्यान्वयनमा लगेको हो। यति धेरै रकम वितरण गर्दा चुनावमा असर पर्ने र निर्वाचन आचारसंहिताविपरीत हुने भन्दै तत्काललाई स्थगित गर्न कर्मचारी वृत्तबाट आवाज उठेको भए पनि मन्त्रालयले प्राविधिक समस्या दर्शाई रकम निकासा गर्न अख्तियारी दिएको हो। यसअघि सर्वसाधारण मृतकमध्ये १३ हजार ४ सय २८ परिवारलाई प्रतिपरिवार ५ लाख रुपैयाँ सरकारले वितरण गरिसकेको छ। त्यसमा प्रतिपरिवार थप ५ लाख रुपैयाँ थपी १० लाख दिइने निर्णय भएको हो। त्यस्तै, मृतक सेना, प्रहरी, सशस्त्र प्रहरी, कर्मचारी, शिक्षक प्रत्येकलाई १० लाख रुपैयाँ नबढ्ने गरी जिल्लामा निकासा गरिएको छ। विभिन्न जिल्लामा सूचीकृत विस्थापितहरूलाई १ अर्ब ४४ करोड रुपैयाँ वितरण गरिने भएको छ। यसअघि पनि विस्थापितमध्येका आंशिक परिवारलाई सरकारले रकम उपलब्ध गराएको थियो। सबै शीर्षकमा गरी कुल ८ अर्ब ७१ करोड ६२ लाख १० हजार रुपैयाँ निकासा गर्ने निर्णय भएको अर्थ मन्त्रालय स्रोतले कान्तिपुरलाई बतायो। उक्त रकम सक्दो चाँडो पीडितका परिवारमा पुर्‍याउन निर्देशनपछि एकाइले सबै जिल्लामा पत्राचार गरेको हो। ‘रकम पठाउन अर्थ मन्त्रालयले शान्ति मन्त्रालयलाई जिम्मेवारी दिएको थियो। शान्तिलाई एकाइमार्फत अख्तियारी पठाउन भनेपछि हामीले त्यसलाई कार्यान्वयन गरेका हौं,’ शान्ति मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले बताए। उनले द्वन्द्वकालमा मारिएका, बेपत्ता पारिएका पीडित परिवालाई रकम बाँडदा कसैको विरोध नहुनेसमेत बताए। ‘त्यत्रा मान्छे मरेका थिए। पीडित परिवारलाई राहत सहयोग गर्नु राज्यको दायित्व हो,’ ठाकुरले कान्तिपुरसँग भने। निर्वाचन आयोगले चुनावपछि कार्यान्वयन गर्नु भने पनि रकम पीडितका हातमा पुग्दा निर्वाचनपछि नै हुने ठम्याइले अहिले निकासा गरिएको उनले तर्क गरे। राहत एकाइ प्रमुख उपसचिव देवराज जोशीले सबै प्रमुख जिल्ला अधिकारीलाई तोकिएको रकम पीडितलाई उपलब्ध गराउन पत्राचार भइसकेको जानकारी दिए। ‘पहिलेदेखिकै गृहकार्य हो। हामीले नयाँ काम गरेको होइन,’ जोशीले भने। पीडितका नाममा उक्त रकम स्वीकृत गर्ने निर्णय पुष्पकमल दाहाल नेतृत्वको सरकारले फागुन २५ गते गरेको थियो। तर, आयोगले निर्वाचन आचारसंहिता प्रभावित हुने भन्दै त्यसको कार्यान्वयन रोकेको थियो। सत्ताधारी दलले रकम दुरुपयोग गर्ने आशंकाले उक्त रकम जिल्ला पठाउन कर्मचारीले सुरुमा आनाकानी गरेका थिए। यसअघि प्रमुख रहेका एकाइ प्रमुख हरिकृष्ण ज्ञवालीले अख्तियारी प्रदान गर्न आनाकानी गरेकै कारण उनको सरुवा गरिएको शान्ति मन्त्रालय स्रोतले जनायो। मृतक र बेपत्ता परिवारका नाममा निकासा हुने रकम अनियमितता हुने, तिनका नाममा माओवादी केन्द्रले कार्यकर्ताको भरणपोषण गर्ने आरोप यसअघि पनि प्रतिपक्षी दलहरूले लगाउँदै आएका थिए। ‘यति ठूलो रकम यही बेला वितरण गर्न लाग्नु पनि शंकास्पद छ। पीडितका नाममा राज्यकोष दोहनको काम रोकिनुपर्छ भनी हामीले उठाएको आवाज सुनुवाइ भएन,’ मन्त्रालयका एक अधिकारीले भने। कान्तिपुर दैनिकबाट ।

रामदेवका औषधि स्तरहीन, बजारबाट फिर्ता लिन आदेश

काठमाडौं । योग गुरु रामदेवका ६ वटा आयुर्वेदिक औषधिलाई सरकारले गुणस्तरहीन ठहर गर्दै बजारबाट फिर्ता लिन आदेश दिएको छ । रामदेवको दिव्य फार्मेसी, उत्तराखण्ड भारतबाट उत्पादित पतञ्जली आयुर्वेद केन्द्रबाट बिक्रीविरण हुने ६ वटा औषधि गुणस्तरहीन ठहर भएको हो । दुई साता अघि पनि रामदेवका ४ वटा औषधि गुणस्तरहीन ठहर भएपछि सरकारले फिर्ता लिन आदेश दिएको थियो । औषधि विभागले आवलाचुर्ण, दिव्य गैसहर चूर्ण, बकुची चूर्ण, त्रिफला चूर्ण, अश्वगन्धा चूर्ण र अदित्य चूर्ण माइक्रोबियलु परीक्षणमा सफल नभएको जनाउँदै फिर्ता लिन आदेश दिएको हो । कान्तिपुर दैनिकबाट ।

बिजीमलमा सुरु भयो सामसुङ ग्यालेक्सी मोवाइलएक्स्पो, प्रत्येका दिनउपहारै उपहार

काठमाडौं । राजधानीको गोगंबुस्थित बिजीमलमा मोबाइल एक्स्पो सुरु भएको छ । सामसुङ ग्यालेक्सी मोबाइल एक्स्पो नाम दिइएको मोबाइल मेला १० दिनसम्म चल्ने छ । एक्स्पो अवधि भर ग्राहकहरुले बिजीमलका सबै फेन्सी पसलहरुमा २५ प्रतिशत छुट पाउने छन् । बिजीमलका अध्यक्ष बासु गिरीले देशभरीका उपभोक्तालाई एकै स्थानबाट धेरै भन्दा धेरै ब्राण्डका मोबाइलका साथै उपभोग्य सामग्री सहज रुपमा सुपथ मूल्यमा उपलब्ध गराउन प्रतिबद्ध रहेको बताए । मोबाइल एक्सपो पनि यसैको एउटा पाटो भएको र आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनको भनाई थियो । असार ७ गतेबाट सुरु भएको ग्यालेक्सी मोबाइल एक्स्पो असार १७ गतेसम्म चल्नेछ । उक्त अवधि भर प्रत्येका दिन मलमा आउने ग्राहकले लक्की ड्र मार्फत एउटा स्मार्टफोन र पाँचजनाले सेल्फी स्टीक पाउने एक्सपोका संयोजक हिरामणी तिमिल्सनाले जानकारी दिए । एक्सपोमा सांगितिक प्रस्तुतीका साथै विभिन्न आकर्षक कार्यक्रमहरुको समेत आयोजना हुने आयोजकले जनाएको छ । एक हजार रुपैंयादेखि ९९ हजार रुपैंयासम्मकामोबाइल सेट उपलब्ध गराउने मलले जनाएको छ ।