काठमाडौं जिल्ला रेडक्रसको सभापतिमा पुनः डोटेल निर्वाचित
काठमाडौं । काठमाडौं जिल्ला रेडक्रसको कार्यसमिति सभापतिमा श्यामकाजी डोटेल पुनः निर्वाचित भएका छन् । शाखाको ४५ औं अधिवेशनले डोटेलको नेतृत्त्वमा पुनः नयाँ कार्यसमिति चयन गरेको हो । शाखाको उपसभापतिद्वयमा विष्णुमान मानन्धर, अञ्जना श्रेष्ठ मास्के, मन्त्रीमा बृदिमान शाक्य, कोषाध्यक्षमा लक्ष्मीरत्न तुलाधर, उपमन्त्रीमा नवराज भण्डारी, उपकोषाध्यक्षमा सर्मिला श्रेष्ठ राजभण्डारी निर्वाचित भएका हुन् । यसैगरी सदस्यमा अमृत नारायण मानन्धर, रजेन्द्र प्रसाद श्रेष्ठ, लक्ष्मी प्रसाद कुइँकेल, विदुर राज भट्टराई, नवराज काफ्ले, विदुर राज उप्रेती, इश्वर लामा, मञ्जु अर्याल खतिवडा, गोमा बराल, लक्ष्मी कार्की खड्का, निर्वाचित भएका छन् ।
महिला नेतृहरूलाई पूर्वराष्ट्रपति भण्डारीले दर खुवाउने
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तीजको दर खाने कार्यक्रम आयोजना गरेकी छन् । पूर्वराष्ट्रपति भण्डारीको सचिवालयका अनुसार उनले भदौ ६ गते बेलुका आफ्नै निजी निवासमा तीजको दर खाने कार्यक्रम आयोजना गरेकी हुन् । विगतमा राष्ट्रपति पदमा रहँदा पनि भण्डारीले शीतल निवासमा नेकपा एमाले सम्बद्ध महिला नेतृहरूलाई तीजको दर खुवाउने गरेकी थिइन् । सचिवालयका अनुसार यसपटक एमालेसहित अन्य दलका महिला नेतृहरूलाई पनि दर खान निमन्त्रणा पठाइसकिएको छ ।
सौर्य एयरलाइन्स विमान दुर्घटनाको न्यायिक छानविन गर्न सुदन किराँतीको माग
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले सौर्य एयरलाइन्स विमान दुर्घटनाको न्यायिक छानविन हुनुपर्ने माग गरेका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बुधवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले उक्त उडान गैरनागरिक उड्डयन भएकाले यसको छानविन पुनः गर्न जरुरी रहेको बताए । चित्तबुझ्दो रिपोर्ट नआएको हुनाले न्यायको लागि दर्जनौँ पल्ट छानविन हुनुपर्ने उनको भनाइ छ । प्रतिवेदनमा प्राविधिक त्रुटी के भयो भन्ने मात्रै उल्लेख भएको तर के गर्नु हुँदैन थियो भन्नेकुरा उल्लेख नगरिएको बताए । एक महिनाअघिदेखि ग्राउण्डेट जहाँजमा को मान्छे लैजानु हुँदैन थियो भन्नेकुरा नै उल्लेख नरहेको उनको भनाइ छ । संरचनागत र नीतिगत सुधारका लागि मन्त्री आफैँ लाग्नुभएको बेला यो लापरवाहीपूर्ण प्रतिवेदनलाई छोड्दा देशले न्याय नपाउने जिकिर गरे । ‘गैर नागरिक उड्डयन हो । चालक दल र आवश्यक प्राविधिक मात्रै चढ्न पाउने प्रावधान छ तर अरु प्यासेन्जर पनि जहाँजमा हालिएको छ । रिपोर्ट आयो के भने सबैकुरा ठिक छ तर मुटुमा क्यान्सर लागेको छ भन्ने प्रकृतिको रिपोर्ट आयो । संरचनागत र नीतिगत सुधारका लागि मन्त्रीज्यु नै लाग्नुभएको बेला यो लापरवाहीपूर्ण रिपोर्टलाई छोड्दा देशले न्याय पाउँदैन, ’ उनले भने । सांसद किराँतीले जहाँजको ढोका राम्रोसँग लाग्दैन भन्दा एक पटक गएर आउ अनि बनाउँला भन्ने किसिमको लापरवाही हुने गरेको बताए ।
अमेरिकी शुल्कको प्रहार : जापानको निर्यातमा ४ वर्षयताकै ठूलो गिरावट
काठमाडौं । जुलाई महिनामा जापानको निर्यात करिब चार वर्षयताकै ठूलो मासिक गिरावटमा पुगेको सरकारी तथ्याङ्कले बुधबार देखाएको छ । अमेरिकी शुल्कको प्रभाव अझ प्रबल बन्दै गएपछि निर्यातमा निर्भर अर्थतन्त्रको भविष्यबारे चिन्ता बढेको हो । संसारको चौथो ठूलो अर्थतन्त्र जापानको कुल निर्यात जुलाई महिनामा अघिल्लो वर्षको तुलनामा २.६ प्रतिशतले घटेको छ । यो फेब्रुअरी २०२१ पछि सबैभन्दा ठूलो मासिक गिरावट हो, जसबेला निर्यात ४.५ प्रतिशतले घटेको थियो । यो गिरावट बजारले गरेको २.१ प्रतिशतको अनुमानभन्दा ठूलो हो र लगातार तेस्रो महिनाको गिरावट हो । जून महिनामा पनि निर्यात ०.५ प्रतिशतले घटेको थियो । नोरिनचुकिन रिसर्च इन्स्टिच्युटका प्रमुख अर्थशास्त्री ताकेशी मिनामीका अनुसार निर्यातको मूल्य घटे पनि जापानी निर्यातकर्ताले ठूला मूल्यवृद्धि नगरेकाले निर्यातको मात्रा भने हालसम्म स्थिर देखिएको छ । तर, उनले भने, ‘अन्ततः लागत उपभोक्तामाथि नै पास गर्नुपर्नेछ, जसले आगामी महिनामा बिक्रीलाई अझै असर गर्नेछ । अमेरिकातर्फ जुलाईमा निर्यात अघिल्लो वर्षको तुलनामा १०.१ प्रतिशतले घट्यो । यसमा सवारीसाधनको निर्यात २८.४ प्रतिशतले र अटो पार्ट्स १७.४ प्रतिशतले घटेका छन् । तर कारोबारको हिसाबले सवारीसाधन निर्यात मात्र ३.२ प्रतिशतले घटेको छ, जसले जापानी अटोमोबाइल कम्पनीहरूले मूल्य कटौती तथा थप शुल्कको असर आफ्नै भरमा बहन गर्ने प्रयास गरेको देखाउँछ । अमेरिकाले गत अप्रिलमा सवारीसाधन तथा पार्ट्समा २५ प्रतिशत शुल्क लगाएको थियो र अधिकांश जापानी वस्तुमा पनि त्यस्तै शुल्क लगाउने धम्की दिएको थियो । तर जुलाई २३ मा भएको व्यापार सम्झौतापछि शुल्क दर १५ प्रतिशतमा घटाइएको छ । यसबापत जापानले अमेरिकातर्फ ५५० अर्ब डलर बराबरको लगानी प्याकेज दिने सहमति गरेको हो । तर पनि जापानको सबैभन्दा ठूलो निर्यात क्षेत्र सवारीसाधनमा लागू भएको १५ प्रतिशत शुल्क सुरुवाती २।५ प्रतिशतभन्दा अझै धेरै भएकाले प्रमुख अटोमोबाइल निर्माता तथा पाट्र्स आपूर्तिकर्तामाथि ठूलो दबाब परेको छ । अन्य क्षेत्रमा पनि निर्यात कमजोर रह्यो । चीनतर्फको निर्यात ३.५ प्रतिशतले घटेको तथ्याङ्कले देखाएको छ । जुलाईमा कुल आयात अघिल्लो वर्षको तुलनामा ७.५ प्रतिशतले घट्यो, जुन बजारले अनुमान गरेको १०.४ प्रतिशतको गिरावटभन्दा कम हो । यसै परिणामस्वरूप जापानले जुलाईमा ११७.५ अर्ब येन (७९५.४ मिलियन डलर) बराबरको घाटा खेप्नु पर्यो, जबकि बजारले १९६.२ अर्ब येनको नाफा हुने अनुमान गरेको थियो । यो नतिजा अप्रिल–जून त्रैमासिकमा अप्रत्याशित रूपमा उच्च आर्थिक वृद्धिदर देखाउने छुट्टै तथ्याङ्कपछि आएको हो । उक्त वृद्धिमा निर्यात र पुँजीगत खर्चको स्थायित्व प्रमुख कारण देखिएको थियो । अर्थशास्त्रीहरूका अनुसार जीडीपीमा देखिएको बलियो निर्यात वृद्धिले मूल्य परिवर्तनलाई कसरी गणना गरिन्छ भन्ने भिन्नतालाई देखाउँछ । यद्यपि, नोरिनचुकिनका मिनामीका अनुसार जापानी अर्थतन्त्र अहिलेसम्म सबैभन्दा खराब अवस्थाबाट जोगिएको छ । उनले भने, ‘शुल्क सम्झौताले कम्तीमा अनिश्चितता घटाएकोले जापानको केन्द्रीय बैंक ९बीओजी० ले अक्टोबरमै ब्याजदर बढाउन सुरु गर्नसक्छ ।’ ट्रम्पले रोक्न खोजे पनि भारतमै बढ्दै एप्पल उत्पादन, बेंगलुरुमा आइफोन-१७ निर्माण सुरु सेयर बजारका बादशाह बफेटको नयाँ कदम : कमजोर छवि भएको बीमा कम्पनीमा अर्बौं लगानी
युक्रेनको रक्षा गर्न अमेरिकी सेना नपठाउने : ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार युक्रेनलाई रुसबाट जोगाउन अमेरिकी सेना नपठाउने आश्वासन दिएका छन् । यद्यपि उनले एक दिनअघि यस्तो सम्भावनालाई खुला छाडेका थिए । टिभी अन्तर्वार्तामा ट्रम्पले युक्रेनको नाटोमा प्रवेश गर्ने र रुसबाट क्रिमिया प्रायद्वीप फिर्ता पाउने आशा ‘असम्भव’ भएको बताए । रिपब्लिकन राष्ट्रपति ट्रम्प, युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की र अन्य युरोपेली नेताले सोमबार ह्वाइट हाउसमा रूस–युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले लामो वार्ता गरेका थिए । पत्रकारको प्रश्नमा ट्रम्पले जेलेन्स्कीले माग्नुभएको सुरक्षा ग्यारेन्टी अन्तर्गत अमेरिकी सेना पठाउने कुरा भने अस्वीकार गरेनन् । गत हप्ता अलास्कामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि ट्रम्पले युक्रेनका लागि सुरक्षा ग्यारेन्टीबारे पुटिन खुला भएको बताएका थिए । तर मङ्गलबार फक्स न्युजको ‘फक्स एन्ड फ्रेन्ड्स’ कार्यक्रममा उनले अमेरिकी सेना युक्रेनको सिमाना रक्षा गर्न नजाने प्रष्ट पार्दै भने, “तपाईंलाई मेरो आश्वासन छ, र म राष्ट्रपति हुँ ।” सन् २०२९ जनवरीमा आफ्नो कार्यकाल समाप्त भएपछि ट्रम्पको अमेरिकी सेनामाथि कुनै नियन्त्रण हुनेछैन । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटले पनि पुष्टि गर्दै भनिन्, “कुनै पनि शान्ति मिसन अन्तर्गत अमेरिकी सेना जमिनमा रहने छैन ।” ट्रम्पले अन्तर्वार्तामा रूसी आक्रमण अन्त्य गर्न सम्भावित सम्झौतामा पुग्ने आशा व्यक्त गरिन् । तर उनले युक्रेनले क्रिमिया फिर्ता पाउने वा नाटोमा सामेल हुने आकांक्षा अलग राख्नुपर्नेमा जोड दिइन् । उनले भनिन्, 'यी दुवै कुरा असम्भव छन् ।' पुटिनले डोनेट्स्क र लुहान्स्क क्षेत्रबाट युक्रेनी सेना फिर्ता लैजाने र क्रिमियालाई रूसी क्षेत्रका रूपमा मान्यता दिन दबाब दिइरहेका छन् । सोमबार ट्रम्पले पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता गर्ने व्यवस्था गरिरहेको बताएका थिए । तर पुटिन युक्रेनी नेतासँग प्रत्यक्ष भेट्न इच्छुक हुनुहुन्छ कि हुनुहुन्न भन्नेबारे क्रेमलिनले अझै केही खुलाएको छैन । पत्रकारको प्रश्नमा लेविटले भने, 'पुटिनले भेट्ने वाचा गरिसक्नुभएको छ ।' जेलेन्स्की, पुटिन र आफूबीच त्रिपक्षीय वार्ताको दबाब दिइरहेको बताउँदै ट्रम्पले भने, 'आवश्यक परेमा त्रिपक्षीय बैठक हुनेछ तर पहिले पुटिन–जेलेन्स्की आमनेसामने हुनुहुनेछ ।' पुटिनका विदेश सल्लाहकार युरी उशाकोभले युक्रेनसँग द्विपक्षीय वा त्रिपक्षीय बैठकबारे सहमति भएको कुनै सङ्केत दिएनन् । आगामी दुई हप्तामा पुटिनको निर्णय स्पष्ट हुने विश्वास व्यक्त गर्दै ट्रम्पले भने, 'मलाई लाग्छ पुटिन यस युद्धबाट थकित हुनुहुन्छ, सबै थकित छन् । तर के हुन्छ भन्ने दुई हप्ताभित्रै पत्ता लाग्छ ।' रासस
डिशहोम र इला होटल एण्ड रिसोर्ट्सबीच साझेदारी, ग्राहकलाई सुविधा
काठमाडौं । डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्डमार्फत इला होटल एण्ड रिसोर्ट्ससँग साझेदारी गर्दै ग्राहकहरूलाई विशेष छुट सुविधा प्रदान गर्ने भएको छ । आईएमई हस्पिटालिटीद्वारा सञ्चालित र व्यवस्थापन गरिएको प्रिमियम आतिथ्य ब्रान्डसँगको यस साझेदारीपछि सक्रिय डिशहोम प्रयोगकर्ताले फूड एण्ड बेभरेज तथा आवास सेवामा १५ प्रतिशत स्थिर छुट पाउनेछन् । हाल इला होटल एण्ड रिसोर्ट्सले देशभर तीनवटा उत्कृष्ट होटल सञ्चालन गर्दै आएको छ । मौलाकालीस्थित इला होटल एण्ड रिसोर्ट, बागलुङस्थित आइटा कम्फर्ट होटल र गैँडाकोट–१२, हरकपुरस्थित इला कम्फर्ट । उत्कृष्ट आतिथ्य सेवा, स्वादिष्ट भोजन र आरामदायी आवासका लागि परिचित यी आउटलेटहरूमा डिशहोम ग्राहकहरूले छुटसहितको लक्जरी अनुभव लिन सक्ने अवसर पाउनेछन् । यो अफर केवल माइ डिशहोम एपमार्फत सक्रिय ग्राहकहरूका लागि उपलब्ध हुनेछ । एप डाउनलोड गरी आफ्नो दर्ता भएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरेर लग–इन गरेपछि, होमपेज वा प्रोफाइल सेक्सनबाट भर्चुअल प्रिभिलेज कार्ड प्रयोग गर्न सकिन्छ । ग्राहकहरूले कार्ड देखाएर वा बुकिङ गर्दा कार्ड उल्लेख गरी छुट प्राप्त गर्न सक्नेछन् । साझेदारीलाई औपचारिकता दिने क्रममा इला होटल एण्ड रिसोर्ट्सका सीईओ प्रशन्न अधिकारी र डिशहोमका चिफ, न्यू प्रोडक्ट डेभलपमेन्ट एण्ड इन्टिग्रेसन अफिसर सबिन महर्जनबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । डिशहोमका सीईओ तारा मानन्धरले यस साझेदारीले ग्राहकहरूको जीवनशैलीमा थप मूल्य थप्ने र नेपालभरका उत्कृष्ट आतिथ्य सेवामा पहुँच विस्तार गर्ने बताएका छन् । डिशहोमले सुरु गरेको भर्चुअल प्रिभिलेज कार्डमार्फत ग्राहकहरूले डाइनिङ, आतिथ्य, यात्रा र लाइफस्टाइलका क्षेत्रमा विशेष छुट र सुविधा प्राप्त गर्न सक्नेछन् । कम्पनीले आगामी महिनाहरूमा अझ धेरै शीर्ष ब्रान्डलाई यस कार्यक्रममा समावेश गर्ने योजना बनाएको जनाएको छ ।
३ खर्बको ५ हजार रोपनी जग्गा कारोबारमा रोक
काठमाडौं उपत्यका विकास प्राधिकरणले ३ खर्ब रुपैयाँ बराबरको ५ हजार रोपनी जग्गाको कारोबार तथा प्लटिङ रोकेको बताएको छ । प्राधिकरणले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै सो जानकारी दिएको हो । प्राधिकरणले यो हालसम्मकै ठूलो अपरेसनका रूपमा उल्लेख गरेको छ । काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न क्षेत्रमा २० फिट बाटो, खोला छेउको जग्गा खण्डीकरण गर्ने काम रोकेको प्राधिकरणको भनाइ छ । प्राधिकरणले अवैध प्लटिङ तथा राजनीतिक संरक्षण भएका कानुन विपरीतका घरजग्गा कारोबार तथा सरकारी कर्मचारीको बदमासीका विषयमा लामो अपरेसन नै चलाएको थियो । सोही विषयको जानकारी दिन बुधबार पत्रकार सम्मेलनको आयोजना गरिएको हो । प्राधिकरणले ऐन अन्तर्गत नरहेको जग्गाको कित्ताकाट पनि रोकेको बताएको छ । प्राधिकरणले जग्गा विकास कार्यक्रम र जग्गाको खण्डीकरण सम्बन्धमा भूमि सम्बन्धी ऐन र काठमाडौं उपत्यकाको १८ वटा नगरपालिका र २ वटा गाउँपालिकाहरूको हकमा काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ र प्राधिकरण नियमावली, २०६८ तथा बस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड २०७२ रहेको छ । मुख्य समस्या मालपोत र नापी कार्यालयहरूले प्राधिकरण ऐन नचिन्नु र लागु गर्न नखोज्नु नै मुख्य समस्या रहेको उल्लेख गरेको छ । प्लटिङ्गकर्ताको कारणले र योजना अनुमतिभन्दा बाहिर जग्गा खण्डीकरण हुँदा दले प्लटिङकर्ताहरू मोटाउने तर राज्यको नाममा जग्गा कम हुने, सडक साँघुरा हुने, शहर अव्यवस्थित हुने समस्या हरेको बताएको छ । कानून अनुसार ३० डिग्री भन्दा बढी भिरालो जमिनमा घर निर्माण गर्न सकिँदैन तर काठमाडौं उपत्यकाको वरिपरिको डाँडाहरूमा थाल नअडिने भिरालो जमिनमा प्लटिङ भैरहेको बताएको छ । काठमाडौं उपत्यकामा जग्गा प्लटिङ गर्दा काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन र बस्ती विकास मापदण्ड बमोजिम योजना अनुमति लिएर मात्र जग्गा खण्डीकरण गर्नु पर्ने प्राधिकरणको भनाइ छ । प्राधिकरणले पाँच प्रतिशत थप जग्गा खाली छोड्नुपर्ने हुँदा उक्त जग्गा सम्बन्धित स्थानका नागरिकहरूले नै विभिन्न प्रयोजनमा प्रयोग गर्न सक्ने बताएको छ । यसले भूकम्पलगायत विपत्तिहरू निम्तिने, बिरामी हुँदा एम्बुलेन्स र आगलागी हुँदा दमकल आवतजावत गर्न सक्ने अवस्था नहुने बताएको छ ।
असोज १ गतेदेखि सवारी दर्ता, नामसारी र नविकरणमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य रूपमा जडान गर्न आग्रह गरेको छ । विभागले आज जारी गरेको सूचनामा आगामी असोज १ गतेदेखि सवारी दर्ता, नामसारी र नविकरण गर्दा अनिवार्य रूपमा हाइ–सिक्युरिटी इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने उल्लेख छ । गत साउन २० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको अध्यक्षतामा बसेको विषयगत समितिको निर्णयअनुसार, असोज १ गतेदेखि सबै प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालयहरूले सम्बन्धित सवारीधनीलाई इम्बोस्ड नम्बर प्लेट जडान गर्न मात्र सेवा उपलब्ध गराउने व्यवस्था गरिएको हो । यसैअनुसार विभागले सबै सवारीधनीलाई सम्बन्धित यातायात कार्यालयमा गई आवश्यक प्रक्रिया पुरा गरी हाइ–सिक्युरिटी इम्बोस्ड नम्बर प्लेट जडान गर्न आग्रह गरेको छ ।