मुख्तिनाथ क्यापिटलले विभिन्न कम्पनीका संस्थापक समूहका सेयर बिक्री गर्दै
काठमाडौं । मुख्तिनाथ क्यापिटल लिमिटेडले विभिन्न लघुवित्त वित्तीय संस्था तथा वाणिज्य बैंकका संस्थापक समूहका गरी जम्मा ४ लाख ४४० कित्ता सेयर शिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । बिक्रीमा रहेका सेयरमध्ये मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका १ लाख ७२ हजार ३७२ कित्ता सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३०० रुपैयाँ र न्यूनतम आवेदन ५ हजार कित्ता तोकिएको छ । त्यस्तै, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका ८४ हजार ०६५ कित्ता सेयरको न्यूनतम मूल्य प्रतिकित्ता रु ३७५ र न्यूनतम आवेदन ५ हजार कित्ता तोकिएको छ । यस्तै, कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका ७ हजार ९६८ कित्ता सेयर प्रतिकित्ता न्यूनतम मूल्य ३३० रुपैयाँ र न्यूनतम आवेदन १ हजार कित्ता रहेको छ भने नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका १ हजार ३१५ कित्ता सेयर न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ र न्यूनतम आवेदन १ हजार ३१५ कित्ता तोकिएको छ । इच्छुक योग्य व्यक्ति, कम्पनी तथा संघ–संस्थाले तोकिएको शर्तका अधीनमा रही शिलबन्दी फाराम १०० रुपैयाँ तिरेर मुख्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौं कार्यालयबाट प्राप्त गरी भदौ २४ गते अपराह्न ३:०० बजेभित्र बुझाउनुपर्नेछ । प्राप्त बोलपत्रहरु भदौ २५ गते बिहान ११:०० बजे कार्यालयमा खोलिनेछन् । शिलबन्दी बोलपत्र प्रक्रियामा साविकका संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकता दिइनेछ भने बाँकी रहेका सेयर उच्चतम दरकदर अंकित गर्ने योग्य बोलपत्रदातालाई बिक्री गरिनेछ । मुख्तिनाथ क्यापिटलले सम्पूर्ण प्रक्रिया नेपाल राष्ट्र बैंकको प्रचलित नियमावलीअनुसार अघि बढाइने जनाएको छ ।
सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओली
काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार मध्यान्ह एक बजे बस्ने भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिनेछन् । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरूले सोधेका सवालहरूको प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ । त्यसैगरी, बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साहले बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक, २०८२ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम पनि रहेको छ ।
बैंकहरुले करका लागि छुट्याए ३८ अर्ब, कुनको कति ?
काठमाडौं । गत वर्ष बैंक तथा वित्तीय संस्थाहरुले ३८ अर्ब रुपैयाँ राज्यलाई कर छुट्याएका छन् । सार्वजनिक वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०८/८२ मा बैंकहरूले ३७ अर्ब ९२ करोड ५२ लाख रुपैयाँ कर तिर्नका लागि छुट्याएका हुन् । जुन अघिल्लो आव २०८०/८१ को तुलनामा २२.४२ प्रतिशत अर्थात् ६ अर्ब ९४ करोड ७० लाख रुपैयाँ बढी हो । अघिल्लो वर्ष बैंकहरुले ३० अर्ब ९७ करोड ८२ लाख रुपैयाँ राज्यलाई कर तिरेका थिए । गत वर्ष वाणिज्य बैंकहरूले ३४ अर्ब ६८ करोड ८३ लाख रुपैयाँ कर छुट्याएका छन् । जुन अघिल्लो वर्षको तुलनामा २४.२६ प्रतिशत अर्थात् ६ अर्ब ७७ करोड २६ लाख रुपैयाँ बढी हो । अघिल्लो वर्ष बैंकहरुले २७ अर्ब ९१ करोड ५७ लाख रुपैयाँ कर तिरेका थिए । समीक्षा वर्षमा किकास बैंकहरुको भने कर रकम घटेको छ । गत वर्ष विकास बैंकहरुको १.०७ प्रतिशत अर्थात् २ करोड ९५ लाख रुपैयाँ घटेर २ अर्ब ७२ करोड १७ लाख रुपैयाँ कर छुट्याएका छन् । अघिल्लो वर्ष विकास बैंकहरुले २ अर्ब ७५ करोड १३ लाख रुपैयाँ कर तिरेका थिए । यस्तै, गत वर्ष फाइनान्सको ५.५३ प्रतिशत अर्थात् २० करोड ३९ लाख रुपैयाँ बढेर ५१ करोड ५१ लाख रुपैयाँ कर छुट्याएका छन् । अघिल्लो वर्ष फाइनान्स कम्पनीहरूले ३१ करोड ११ लाख रुपैयाँ कर तिरेका थिए । वाणिज्य बैंक २० वटा वाणिज्य बैंकहरुका गत वर्ष ४ बैंकको कर रकम घटेको छ भने अन्य सबै बैंकको बढेको छ । गत वर्ष सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा (एनआईएमबि), हिमालयन बैंक र प्रभु बैंकको कर रकम घटेको छ भने अन्य सबै बैंकको बढेको छ । गत वर्ष सबैभन्दा धेरै कर कुमारी बैंकले तिर्नका लागि छुट्याएको छ । कुमारीले गत वर्ष ३ अर्ब ७५ करोड ५१ लाख रुपैयाँ कर छुट्याएको छ । जुन बैंकिङ क्षेत्रमा सबैभन्दा धेरै हो । अघिल्लो वर्ष बैंकले १ अर्ब ६ करोड ९३ लाख रुपैयाँ मात्रै राज्यलाई कर तिरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कुमारीले २५१.१८ प्रतिशत अर्थात् २ अर्ब ६८ करोड ५८ लाख रुपैयाँ बढी कर रकम छुट्याएको हो । सबैभन्दा बढी कर तिर्नको दोस्रो नम्बरमा नबिल बैंक रहेको छ । गत वर्ष नबिलको २४.२९ प्रतिशत अर्थात् ६६ करोड ६४ लाख रुपैयाँ बढेर ३ अर्ब ४१ करोड रुपैयाँ कर रकम छुट्याएको छ । बैंकले अघिल्लो वर्ष २ अर्ब ७४ करोड ३५ लाख रुपैयाँ कर तिरेको थियो । गत वर्ष एनआईसी एशिया बैंकको कर रकम सबैभन्दा धेरै बढेको छ । गत वर्ष एनआईसी एशियाको ३४९.५६ प्रतिशत अर्थात् ७२ करोड ४१ लाख रुपैयाँ बढेको छ । बैंकले गत वर्ष ९३ करोड १२ लाख रुपैयाँ कर तिरेको छ । अघिल्लो वर्ष बैंकले २० करोड ७१ लाख रुपैयाँ कर छुट्याएका छन् । गत वर्ष नेपाल बैंकको २४३.१४ प्रतिशत १ अर्ब ३८ करोड ३३ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकको ४७.११ प्रतिशत बढेर १ अर्ब ७७ करोड ५ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको ४५.८८ प्रतिशत बढेर १ अर्ब ६३ करोड ५७ लाख रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ४२.९ प्रतिशत बढेर ५२ करोड ९६ लाख रुपैयाँ कर रकम छुट्याएका छन् । यस्तै, कृषि विकास बैंकको ४२.५८ प्रतिशत बढेर १ अर्ब ६३ करोड ५९ लाख रुपैयाँ, एनएमबि बैंकको ४१.८३ प्रतिशत बढेर १ अर्ब ४५ करोड ४७ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको ३१.५६ प्रतिशत बढेर ८९ करोड ४७ लाख रुपैयाँ, एभरेष्ट बैंकको ३०.२१ प्रतिशत बढेर २ अर्ब ५३ करोड २७ लाख रुपैयाँ कर तिर्नका लाथि छुट्याएका छन् । यस्तै, प्राइम बैंकको १७.९ प्रतिशत बढेर १ अर्ब ९३ करोड ९८ लाख रुपैयाँ, सिद्धार्थ बैंकको १६.५७ प्रतिशत बढेर १ अर्ब ६६ करोड ५१ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकको ११.२७ प्रतिशत बढेर २ अर्ब ६२ करोड ५ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकको ५.५५ प्रतिशत बढेर ९३ करोड २१ लाख रुपैयाँ, सिटिजन्स बैंकको ३.५ प्रतिशत बढेर ७७ करोड २६ लाख रुपैयाँ कर तिर्नका लागि छुट्याएका छन् । गत वर्ष प्रभु बैंकको कर रकम सबैभन्दा धेरै घटेको छ । प्रभुको ४२.०२ प्रतिशत घटेर १ अर्ब ४३ करोड १३ लाख रुपैयाँ, हिमालयन बैंकको २२.७८ प्रतिशत घटेर १ अर्ब ६५ करोड ८७ लाख रुपैयाँ, एनआईएमबिको १६.६६ प्रतिशत घटेर २ अर्ब ७४ करोड ८१ लाख रुपैयाँ र सानिमा बैंकको २.९२ प्रतिशत घटेर ९९ करोड ५९ लाख रुपैयाँ कर रकम छुट्याएका छन् । विकास बैंक र फाइनान्स विकास बैंकहरुमा सबैभन्दा धेरै कर मुक्तिनाथ विकास बैंकले तिरेको छ । मुक्तिनाथको गत वर्ष २८.२८ प्रतिशत बढेर ६८ करोड ६१ लाख रुपैयाँ कर तिरेको छ । अघिल्लो वर्ष बैंकले ५३ करोड ४८ लाख रुपैयाँ कर रकम छुट्याएको थियो । समीक्षा वर्षमा सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकको कर रकम बढेको छ । सप्तकोशीको २४०.२३ प्रतिशत बढेर ३ करोड २८ लाख रुपैयाँ, गरिमा विकास बैंकको १८५.१६ प्रतिशत बढेर ६१ करोड ५६ लाख रुपैयाँ, सालापा विकास बैंकको १५१.४ प्रतिशत बढेर ३५ लाख ७५ हजार रुपैयाँ, ग्रीन डेभलपमेन्ट बैंकको ५९.८ प्रतिशत बढेर २ करोड ९७ लाख रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकको १०.७३ प्रतिशत बढेर २४ करोड ३६ लाख रुपैयाँ कर तिर्नका लागि छुट्याएको छ । गत वर्ष कामना सेवा विकास बैंकले ३० करोड ४१ लाख रुपैयाँ, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले २९ करोड २० लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकले २१ करोड ७१ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकले १८ करोड २४ लाख रुपैयाँ, मितेरी डेभलपमेन्ट बैंकले ५ करोड ५८ लाख रुपैयाँ, सिन्धु विकास बैंकले ३ करोड ५७ लाख रुपैयाँ, एक्सेल डेभलपमेन्ट बैंकले १ करोड ७५ लाख रुपैयाँ र ज्योति विकास बैंकले ५३ लाख रुपैयाँ कर रकम छुट्याएको छ । समीक्षा वर्षमा फाइनान्स कम्पनीहरुमा मञ्जुश्री फाइनान्सले सबैभन्दा धेरै कर रकम छुट्याएको छ । मञ्जुश्रीले १५ करोड ९४ लाख रुपैयाँ, आईसीएफसी फाइनान्सले १५ करोड ४९ लाख रुपैयाँ, प्रोग्रेसिभ फाइनान्सले ४ करोड ७७ लाख रुपैयाँ, पोखरा फाइनान्सले ४ करोड ४० लाख रुपैयाँ, सेन्ट्रल फाइनान्सले ३ करोड ८२ लाख रुपैयाँ, श्री इन्भेस्टमेन्टले २ करोड ९९ लाख रुपैयाँ, गुहेश्वरी मर्चेन्ट बैंकिङले १ करोड ९१ लाख रुपैयाँ कर रकम छुट्याएको छ । यस्तै, मल्टीपर्पस फाइनान्सले ९९ लाख ९६ हजार रुपैयाँ, नेपाल फाइनान्सले ९३ लाख १९ हजार रुपैयाँ, गुडविल फाइनान्सले १४ लाख ९९ हजार रुपैयाँ, बेस्ट फाइनान्सले ८ लाख ९० हजार रुपैयाँ, रिलायन्स फाइनान्सले १२ हजार रुपैयाँ कर रकम छुट्याएका छन् ।
अधिक तरलता भएपछि ३० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक
काठमाडौं । अधिक तरलता भएपछि राष्ट्र बैंकले (आज) बुधवार ३० अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७२ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकता अनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उकरण प्रयोग गर्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउन्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ भदौ २९ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।
नाडा अटो शोमा टाटा मोटर्सका ईभी मोडल सार्वजनिक
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले राजधानीमा जारी नाडा अटो शोमा टाटा मोटर्सका विभिन्न ईभी मोडेल सार्वजनिक गरेको छ । टाटाले अटो शोको माैका पारी नयाँ सफारी सार्वजनिक गरेको छ, जसमा एडीएएस, मेमोरी सिट, ड्युल-जोन क्लाइमेट कन्ट्रोल, टेरेन रिस्पोन्स मोड्स लगायतका प्रिमियम विशेषताहरू छन् । यसको सुरुवाती मूल्य १२ लाख ९९ हजार रहेको छ । यसैगरी, शोमा सिप्रदीले नयाँ रंगकाे टियागो इभी पनि सार्वजनिक गरेको छ । जुन एरिजोना ब्लु रंगमा रहेको छ । यस वर्षको अटो शोमा प्रदर्शित प्रमुख इभी मोडलहरूमा कर्भ इभी, नेक्सन के थ्री। इभी, पन्च इभी र टीयागो इभी रहेका छन् । यसै अवसरमा टाटाले ग्राहकका लागि विशेष अफरहरू ल्याएको छ । अफरअन्तर्गत सिप्रदीको देशव्यापी चार्जिङ नेटवर्कमा आजीवन निःशुल्क गाडी चार्ज गर्न पाइने जनाइएको छ । ३ वर्षसम्म निःशुल्क सर्भिसिङ, निःशुल्क अटोप्लस इन्स्योरेङ, निःशुल्क एसेसरिज र १ वर्षको भेहिकल ट्याक्स निस्शुल्क रहेको छ। यसैगरी घरमै निःशुल्क चार्जिङ जोडिने सुविधा र निःशुल्क इम्बोस्ड नम्बर प्लेट पनि जडान गरिने जनाइएको छ । सिप्रदी ट्रेडिङका सीईओ राजनबाबु श्रेष्ठले नाडा अटाे शो नेपालमा विद्युतीय सवारीसाधन क्रान्ति तीव्र बनाउने महत्त्वपूर्ण मञ्च रहेको जानकारी दिए ।
गोरखा ब्रुअरीलाई ‘व्यावसायिक सुरक्षा पुरस्कार सम्मान’
काठमाडौं । गोरखा ब्रुअरीले कार्यस्थल सुरक्षा र कर्मचारी कल्याणप्रति देखाएको उत्कृष्ट प्रतिबद्धताको कदर स्वरूप नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको श्रम तथा व्यावसायिक सुरक्षा विभागबाट ‘प्रान्त नं. ४ व्यावसायिक सुरक्षा पुरस्कार’ प्राप्त गरेको छ । उक्त सम्मान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले एक विशेष कार्यक्रममा प्रदान गरेका थिए । पुरस्कारमार्फत गोरखा ब्रुअरीले आफ्ना उत्पादन र सञ्चालन प्रक्रियामा उच्चतम स्तरको सुरक्षा मापदण्ड कायम गर्न गरेको निरन्तर प्रयासलाई मान्यता दिइएको हो । गोरखा ब्रुअरीका पीपल एण्ड कल्चर निर्देशक दिपेश मान श्रेष्ठले सुरक्षा कम्पनीको पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै भने, 'यो सम्मान हाम्रो सम्पूर्ण टिमको निरन्तर परिश्रमको प्रतिफल हो, जसले सुरक्षित, स्वस्थ र उत्पादक कार्य वातावरण सुनिश्चित गर्छ। शून्य–दुर्घटना संस्कृतिको लक्ष्य मात्र होइन, यो हाम्रो दैनिक कार्यशैली हो ।' गोरखा ब्रुअरीले विगतदेखि नै कार्यस्थल सुरक्षा संस्कृति, नियमित तालिम, निवारक उपायहरू तथा राष्ट्रिय श्रम सुरक्षा नियमावलीको दृढ पालना गर्दै आएको छ । यस सम्मानले नेपालकै ब्रुअरी उद्योगमा नयाँ सुरक्षा मानक स्थापित भएको कम्पनीको भनाइ छ ।
एनआईसी एशिया लघुवित्तको समिक्षा बैठक तथा कर्मचारी तालिम सम्पन्न
काठमाडौं । एनआईसी एशिया लघुवित्तले प्रगति समीक्षा तथा रणनीतिक योजना बैठक सम्पन्न गरेको छ । सोमबार र मंगलबार गरी दुई दिन चलेको उक्त कार्यक्रममा अनुगमन अधिकृत र कर्जा असुली अधिकृतहरूको सीप तथा क्षमता अभिवृद्धिका लागि विशेष तालिम समेत प्रदान गरिएको थियो । संस्थाको वार्षिक कार्यक्रमअनुसार आयोजित कार्यक्रममा सातै प्रदेशका प्रमुखसहित ३१ अनुगमन अधिकृत, ९ कर्जा असुली अधिकृतलगायत ४७ जना कर्मचारीले सहभागिता जनाएका थिए । रोयल बुटिक होटेल, काठमाडौंमा सम्पन्न कार्यक्रममा सञ्चालक समिति अध्यक्ष प्रकाश राज शर्माले देश–विदेशका लघुवित्त संस्थाहरूका उत्कृष्ट अभ्यास, क्षेत्रीय चुनौतीहरू र कर्जा गुणस्तर कायम राख्न आवश्यक असुली रणनीतिबारे जानकारी प्रस्तुत गरे । त्यसैगरी सञ्चालक सदस्य बलराम पौडेलले प्रभावकारी अनुगमनका लागि अपनाउनुपर्ने कदम तथा व्यवहारिक उदाहरणहरू प्रस्तुत गर्दै कर्मचारीलाई उत्प्रेरित गरेका थिए । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशी, नायव प्रमुख कार्यकारी अधिकृत मेष बहादुर बस्नेत, सहायक प्रमुख कार्यकारी अधिकृत गणेश घिमिरे, सहायक महाप्रबन्धक राजेन्द्र न्यौपाने लगायत विभागीय प्रमुखहरूले दैनिक कार्यान्वयनका क्रममा देखिएका समस्या र समाधानका उपायबारे धारणा राखेका थिए । बैठक गत आर्थिक वर्षको प्रगति समीक्षासहित चालु आवका लागि तय गरिएका लक्ष्यहरू हासिल गर्न आवश्यक रणनीति तर्जुमा गर्दै सम्पन्न भएको संस्थाले जनाएको छ ।
राजगढ गाउँपालिकाका वडा अध्यक्ष साहको निधन
राजविराज । राजगढ गाउँपालिका- ५ का वडाध्यक्ष देवेन्द्र साहको ७० वर्षको उमेरमा निधन भएको छ । अर्बुद रोगबाट पीडित उनको उपचारका क्रममा चिवनको भरतपुर क्यान्सर अस्पतालमा आज बिहान निधन भएको सोही गाउँपालिकाकी उपाध्यक्ष रेणुदेवी मण्डलले बताइन् । जनता समाजवादी पार्टीबाट निर्वाचित उनी तीन वर्षदेखि क्यान्सरबाट पीडित थिए। उजका दुई छोरा र तीन छोरी छन् ।