बैंकको लगानी अनुत्पादक क्षेत्रमा बढी प्राथमिकता प्राप्त जलविद्युतमा न्युन
काठमाडौं । यो वर्ष राज्यको प्राथमिकता प्राप्त क्षेत्र जलविद्युतमा ६८ अर्ब रुपैयाँ मात्र लगानी भएको छ । यो लगानी कुल कर्जाको ३ प्रतिशत मात्र हो । चालु आर्थिक वर्षको ६ महिनामा बैंक तथा वित्तीय संस्थाले २२ खर्ब ४३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस्तै कृषि क्षेत्रमा ५.३ प्रतिशत अर्थात १ खर्ब २० अर्ब लगानी भएको छ । उत्पादनशिल क्षेत्रमा १६.३ र निर्माण क्षेत्रमा १०.३ प्रतिशत कर्जा प्रवाह भएको अर्थ मन्त्रालयले जनाएको छ । बैंकको कर्जा लगानी उत्पादनशिल र आयआर्जनको क्षेत्रमा भन्दा कम योगदान भएका क्षेत्रमा हुदै आएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । उनले बैंकको कर्जा लगानी कृषि, उद्योगलगायत उत्पादनमुलक क्षेत्रमा भन्दा पनि उत्पादन नहुने र रोजगारी सिर्जना कम हुने क्षेत्रमा बढी भएकलो वित्तीय स्रोत विवेकपुर्ण ढंगले हुन नसकेको उनको ठम्याइ छ । यस्तै बैंकको शाखा विस्तार तिब्र गतिमा भएपनि अझै पनि एउटा शाखाले ९ हजार जनसंख्यालाई वित्तीय सेवा दिनुपर्ने वाध्यात्मक अवस्था रहेको उनले औल्याएका छन् । कुल ४० प्रतिशतले बैंकिङ सेवा उपयोग गरेपनि कर्जा भने ५ प्रतिशतले मात्र पाएका छन् । ७५३ स्थानीय तह मध्ये ३७९ मा मात्रै बैंकको सेवा पुगेको छ ।
“नेपालको अर्थतन्त्र चुनौतीपूर्ण”
काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले देशको वर्तमान आर्थिक स्थितिको सम्बन्धमा जानकारी गराउँदै अर्थतन्त्र चुनौतीपूर्ण रहेको बताएका छन् । अर्थमन्त्री डा खतिवडाले स्वेतपत्र जारी गर्दै स्रोतको बजेटमा खर्च गर्न निकै कठिनाइ रहेको उल्लेख गरेका छन् । पूँजी परिचालन उचित रूपमा हुन नसकेको जानकारी गराउँदै उनले भने, “ठूला आयोजना निर्धारित समय र लागतमा निर्माण पूरा हुन सकेका छैनन्, उत्पादनमुखी भन्दा वितरणमुखी कार्यक्रम बढी देखिएका छन् ।” सरकारले सन् २०२२ सम्म मुलुकलाई विकासशील राष्ट्रमा पुर्याउने लक्ष्य राखेको उल्लेख गर्दै उक्त लक्ष्य हासिल गर्न सबै पक्ष लाग्नुपर्ने देखिन्छ । रोजगारीमूलक र उत्पादनमूलक क्षेत्रको लगानी संकुचनसँगै थप चुनौती थपिएको बताउँदै अर्थमन्त्री डा खतिवडाले उद्योग क्षेत्र प्रतिस्पर्धी हुन नसकेको बताए । उनले भने, “सरकारी लगानीका उद्योग घाटामा छन्, नेपालको श्रम बजारमा बेरोजगार बढ्दै गएको छ । ग्रामीण क्षेत्रमा वित्तीय परिचालन आवश्यक रूपमा पुग्नसकेका छैनन् । तरलतामा चाप बढदै गएको छ ।” पूँजी बजार धितोपत्रमा मात्र सीमित रहेको उल्लेख गर्दै उनले बैठकमा शेयर मूल्य प्रभावित भएको र समग्र अर्थतन्त्र आयातमुखी बनेको बताए । तयारी बिना बजेट विनियोजन गर्ने, आर्थिक वर्षको अन्तिम महिनामा विकासका काम गरेर खर्च गर्ने प्रवृत्ति देखिएको उल्लेख गर्दै अर्थमन्त्री डा खतिवडाले राष्ट्रसेवक कर्मचारीको निवृत्तीभरणमा धेरै लगानी भएको बताएका छन् । सार्वजनिक संस्थानमा सरकारले गरेको लगानीको मूल्य नपाएको भन्दै उनले सार्वजनिक संस्थानमा तलबभत्ता र अवकाशको रकम दिन बाँकी रहेको जानकारी गराएका छन् । विदेशीको नेपालप्रतिको सद्भाव रहेको भन्दै उनले सूचना प्रविधिको विकास गरी आर्थिक समृद्धि गर्न सकिने धारणा व्यक्त गरेका छन् ।
एनआईसी एशियाकोे शाखारहित बैंकिङ्ग सेवा इलामको गोदकमा
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले चौँथो शाखारहित बैंकिङ्ग सेवा इलामको गोदकबाट संचालनमा ल्याएको छ । बैंकले ग्रामीण तथा दुर्गम जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्दै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि उक्त सेवाको शुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन इलाम नगरपालिकाका मानव अधिकार निगरानी समितीका अध्यक्ष चन्द्रमणि गौतमले गरेका छन् । साथै, उक्त सेवा संचालनको लागि बैंकले प्रतिनिधिको रुपमा धर्ममणि गौतमलाई नियुक्त गरेको छ । बैंकले १८७ शाखा सहित १९० एटिएम मार्फत बैंकिङ्ग सुविधा दिँदै आएको छ ।
राजस्वले चालु खर्च धान्न सक्दैन–अर्थमन्त्री
काठमाडौं । राजस्वले मुलुकको चालु खर्च धान्न नसक्ने भएको छ । मुलुको वर्तमान आर्थिक अवस्था सम्बन्धि स्वेत पत्र जारी गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले राजश्वले मुलुकको चालु खर्च धान्न नसक्ने जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षको कुल विनियोजनमा मुलुकको चालु खर्च रू ८०४ अर्ब रहेको छ । जुन चालु वर्षको प्रक्षेपित राजश्वकाकाे अनुमानमा ११० प्रतिशत हो । ‘हामीले अपानइएको सरकारी वित्त तथ्याङ्क प्रणाली अनुसार पूँजी निर्माण गर्ने कतिपय कार्यक्रमहरुको वर्गीकरण पनि चालुतर्फ हुने भएकोले नधान्ने देखिएको हो,’ उनले भने ‘तथापि साधारण खर्च भने राजस्वको झण्डै ६० प्रतिशत हुने गरेको छ ।’ जुन नेपाल जस्तो सार्वजनिक लगानीमार्फत द्रुत पूँजी निर्माण गर्नुपर्ने मुलुकका लागि निकै उच्च रहेको उनको भनाइ छ ।
नेपालको समग्र अर्थतन्त्र आयातमुखी, विदेशबाट १७ अर्बको चामल र ७ अर्बको तरकारी
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पछिल्लो समयमा मुलुको समग्र अर्थतन्त्र आयातमुखी भएको बताएका छन् । मुलुकको आर्थिक अवस्थाका बारेमा शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी आयातले अर्थतन्त्रलाई भयावह अवस्थामा पुर्याएको जानकारी गराएका छन् । उत्पादन संरचना नै आयातमुखी हुनु र रेमिट्यान्स आप्रवाहले अर्थतन्त्रलाई बढी उपभोगमुखी बनाउदा आयात बढेको उनले जानकारी दिएका हुन् । युवा जनशक्ति वैदेशिक रोजगारीमा आश्रित हुनुपर्ने वाध्यताले आन्तरिक उत्पादन र उत्पादकत्वमा भारी गिरावट आउदा आयात बढेको अर्थमन्त्रीको ठहर छ । खाद्यान्न, लताकपडा, विलासिताका वस्तु, औषधी र इन्धनलगायत अत्यावश्यक वस्तु आयातमा निर्भर रहेको उनले जानकारी दिए । ५ वर्षयता इन्धन १५ र खाद्यन्न आयात १४, सवारीसाधा र सोको पाटपुर्जाको १२ र सुनचाँदीको हिस्सा ५ प्रतिशत रहेको उनले बताए । यस्तै पछिल्लो समयमा विद्युत आयात बढेर हिस्सा १ प्रतिशत पुगेको छ । नेपालमै उत्पादन हुने आधाभुत खाद्यवस्तुको आयात बढ्दै जानु चिन्ताको विषय भएको उनले बताएका छन् । चालु आर्थिक वर्षको ७ महिनामा १७ अर्बको चामल, १३ अर्बको खानेतेल , ७ अर्बको तरकारी र ३ अर्ब रुपैयाँको फलफुल आयात भएको छ ।
‘मुलुकको जीडीपीमा उद्योग क्षेत्रको हिस्सा ४ प्रतिशत घट्यो’
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको उद्योग क्षेत्र प्रतिस्पर्धी बन्न नसकेको बताए । मुलुकको वर्तमान आर्थिक अवस्थाको सम्बन्धि स्वेतपत्र जारी गर्दै उनले मुलुकमा उद्योग क्षेत्र प्रतिस्पर्धी बन्न नसकेको बताएका हुन् । ‘व्याप्त राजनीतिक संक्रमण र सोको उपजका रुपमा रहेको बन्द, हड्तालका कारण उद्योगहरु बन्द अवस्थामा पुगेको थियो,’ उनले भने ‘मुलुक विना औद्योगिकिकरणको अवस्थाबाट गुज्रिरहेको छ ।’ कुल ग्रार्हस्थ्य उत्पादमा(जीडीपी) औद्योगिक उत्पादको हिस्सा २० वर्ष अघि करिब १० प्रतिशत रहेकोमा हाल आएर ६ प्रतिशतभन्दा कममा सिमित भएको उनले जानकारी दिए । पछिल्लाे सममयमा विद्युत आपूर्तिमा सहज भएपनि कारोबार लागत बढ्नु, बजार विकास नहुनु लगायतको कारण प्रतिस्पर्धी क्षमतामा ह्रास आएको उनको भनाइ । उनका अनुसार अहिले पनि अधिकांश स्थापना भएका उद्योहरु बन्द या घाटामा गइरहेको छ ।
पुँजी बजार संकुचनमा- अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको सेयर बजार सतही हुनुका साथै संकुचित रहेको बताएका छन् । शुक्रबार देशको वर्तमान आर्थिक स्थितिको बारेमा श्वेतपत्र जारी गर्दै उनले सो कुरा बताएका हुन् । सेयर बजार निरन्तर गिरावट आइरहेका बेला अर्थमन्त्री खतिवडाले संकुचन हुदै गएको औल्याएका छन् । खतिवडाले अर्थतन्त्रमा साधन परिचालन गर्न पुँजी बजार सशक्त माध्यम भएपनि यस्तो बजार हाल धितोपत्रमा मात्र सीमित रहेको बताएका छन् । साथै उनले पुँजी बजारलाई ऋण बजारको रुपमा विकास गर्न नसकिएको स्वीकार पनि गरेका छन् । साथै, अहिले बजार घट्नुमा कर्जा र निक्षेपको ब्याजदर बढ्नु, संस्थागत लगानीकर्ताको संख्या न्युन हुनु र चुक्ता पुँजीमा भएको वृद्धिको कारण सेयर आपुर्ति बढ्नु कारण भएको उनले बताएका छन् । अर्थमन्त्रीले लगानीकर्ताको न्युनता, वित्तीय बजारमा लगानीयोग्य पुँजीको अभावले ब्याजदरमा भएको वृद्धि र सेयर आपूर्ति बढ्दा पुँजीबजार घटेको विश्लेषण गरेका छन् । पुँजीबजारमा पारदर्शिताको अभाव, साना लगानीकर्ताको सेयर सम्बन्धित ज्ञानको कमी, सही सूचनाको अभावले गर्दा सेयर बजार ओरालो लागेको खतिवडाको तर्क छ । सेयर बजारमा वित्तीय संस्थाको ८१ प्रतिशत, जलविद्युतको ५, उत्पादनमुलक उद्योगको ३ र होटलको २ प्रतिशत हिस्सा रहेको उनले बताएका छन् । पुुँजी परिचालनमा मुख्य भुमिका निर्वाह गरेकोमा केवल धितोपत्रमा मात्र पुँजी बजार केन्द्रीत भएको उनको भनाई छ । उनले ठुलो लगानी परिचालन गर्नका लागि संस्थागत र नीतिगत आवश्यकता औल्याएको बताए ।
बेपत्ता पारिएका र सत्य निरुपणसम्बन्धी अध्यादेश स्वीकृत
काठमाडौं । प्रतिनिधिसभाले “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, २०७४” लाई स्वीकृत गरेको छ । संसद्को शुक्रबारको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले प्रस्तुत गरेका उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो । त्यस्तै बैठकमा शुक्रबारै गृहमन्त्री रामबहादुर थापाले बैठकमा “राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, २०७४” प्रस्तुत गर्नुभयो भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले “राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४” प्रस्तुत गरेका छन् । उक्त अध्यादेशहरु यसअघि व्यवस्थापिका–संसद् नभएको अवस्थामा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले जारी गरेको थियो । संसद्को अर्को बैठक चैत १९ गते दिउँसो १ बजे बस्नेछ । रासस