शिवम् सिमेन्टसले ५२ करोड ८० लाख रुपैयाँको आईपीओ निष्कासन गर्दै
काठमाडौं । शिवम् सिमेन्टस लिमिटेडले ५२ करोड ८० लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । शिवम्ले१२ प्रतिशत अर्थात ५२ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । आईपीओ निष्कासन गर्ने शिवम् संभवत नेपालको पहिलो सिमेन्ट कम्पनी हो । कम्पनीले सिमेन्ट कारखाना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न लागेको हो । जसअनुसार कारखाना प्रभावित स्थानीयलाई २ प्रतिशत अर्थात ८ करोड ८० लाख रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता र सर्वसाधारणलाई ४४ करोड रुपैयाँको ४४ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । शिवम्को आईपीओ निष्कासको प्रारम्भीक अध्ययन सुरु भएको बोर्डले जानकारी दिएको हो । उद्योगको हालको जारीपुँजी ४ अर्ब ३० करोड रुपैयाँमा वृद्धि गरी ४० अर्ब ४० करोड रुपैयाँ कायम गर्ने भएकाे छ । गतवर्ष धितोपत्र बोर्डले वास्तविक लगायत अन्य क्षेत्रले न्युनतम १० प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गर्न पाउने व्यवस्था गरेपछि शिवमले पनि आईपीओ निष्कासन गर्न लागेको हो । शिवम् सन् २००९ मा स्थापनमा भएको हो । उद्योगले आफनौ चुनढुङा खानीबाट दैनिक १ हजार २५० टन सिमेन्ट उत्पादनको लक्ष्य लिएको छ । उद्योग मकवानपुरको हेटौडामा रहेको छ । शिवम् नेपालको सबैभन्दा ठुलो उद्योग मध्ये एक हो ।चीनको होङसी सिमेन्ट ग्रुपसंग साझेदारी गरेको छ । हाल कारखाना स्थापनाको काम हुदैछ । सो उद्योगबाट दैनिक ६ हजार टन सिमेन्ट उत्पादन हुने छ । यसमा शिवमका २० प्रतिशत स्वामित्व रहेको छ ।
सरकारी भवनको पुनर्निर्माण नगन्य, ३ वर्षमा साढे १ प्रतिशत मात्रै
काठमडौं । गएको भुकम्पनको कारणले क्षति भएको सरकारी भवनहरुको पुनर्निर्माण नगन्य देखिएको छ । तीन वर्षको अबधिमा १.५८ प्रतिशत मात्रै सरकारी भवनहरुको पुनर्निमाण भएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आर्थिक वर्ष २०७४/७५ को दोस्रो चौमासिक (मंसिर–फागुन) भित्र भएको पुनर्निर्माण प्रगतिको समिक्षा गर्ने क्रममा सरकारी भवनहरुको पुनर्निर्माण कार्य आशातीत रुपमा अघि बढ्न नसकेकाे देखिएकाे छ । पुनर्निर्माण प्राधिकरणले भुकम्पनबाट ३७९ सरकारी भवनहरुको पुनर्निर्माण गर्नुपर्नेमा हालसम्म ६ वटा सरकारी भवनको मात्रै पुनर्निर्माण सम्पन्न भएको जनाएको छ । प्राधिरणको अनुसार १२० सरकारी भवन पुनर्निर्माणको क्रममा रहेको छ । २०३ भवन मर्मत तथा प्रवलीकरण सम्पन्न भएका छन् । मर्मत तथा प्रवलीकरणको क्रममा ३७ वटा रहेको प्राधिकरणको भनाइ छ । निजी आवास निर्माण त्यस्तै विभिन्न ३२ जिल्लामा भुकम्पबाट भत्किएका १ लाख १२ हजार ४५३ निजी आवास निर्माण कार्य सम्पन्न भएको प्राधिकरणले जनाएको छ । गएको आर्थिक वर्ष ०७३/७४ मा विभिन्न ४४ हजार ९२७ निजी आवस निर्माण भएको थियो । पुरातात्विक सम्पदा पुनर्निर्माण त्यस्तै प्राधिकरणले तीन वर्षको अबधिमा विश्व सम्पदा सूचीमा समावेश भएको ३२ र सूचीमा समावेशबाहेकको ६८ सम्पदाको पुनर्निमाण सम्पन्न भएको छ । ३२९ सम्पदाको पुनर्निर्माण कार्य जारी छ । ७५० क्षति भएका पुरातात्विक सम्पदा मध्ये पूर्ण १३३ र आंशिक ६१७ रहेका छन् । विद्यालय भवनहरुको पुनर्निर्माण कुल ७ हजार ५५३ विद्यालयको पुनर्निर्माण गर्नुपर्नेमा हालसम्म ३ हजार ७९ विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ । २ हजार १०३ विद्यालयको पुनर्निर्माण भइरहेको छ भने २ हजार ३७१ विद्यालयको पुनर्निर्माण शुरु हुन बाँकी छ । स्वास्थ्य संस्थाहरुको पुनर्निर्माण २५५ स्वास्थ्य संस्थाहरु पुनर्निर्माण भएको छ । १ हजार १९७ स्वास्थ्य संस्थाहरुमध्ये ५४४ स्वास्थ्य संस्थाहरु पूर्ण क्षति भएका थिए । जसमा ३३१ स्वास्थ्य संस्थाहरु मर्मत र प्रवलीकरण गरिएको छ । तीन महिनाको अबधिमा खानेपानी आयोजना, सडक लगायतका पूर्वधारहरुको पुनर्निर्माणका कार्य केही सम्पन्न भएका छन् भने केही निर्माण कार्य हुदैछ । तीन वर्षको अबधिमा प्राधिकरणले १ खर्ब १ अर्ब ६२ करोड रुपैयाँ खर्च भएको जनाइएको छ । जसमा चालु आर्थिक वर्षको फागुन मसान्तमा मात्रै ४७ अर्ब ८५ करोड रुपैयाँ खर्च भएको थियाे ।
विद्यार्थी संगठनको दबाब पछि अस्थायी शिक्षकको चैत २३ तोकिएको परीक्षा स्थगित
काठमाडौं । विद्यार्थी संगठनको दबाबपछि अस्थायी शिक्षकको चैत २३ गते तोकिएको परिक्षा स्थगित भएको छ । शिक्षक सेवा आयोगले सूचना जारी गर्दै परिक्षा स्थगित भएको जानकारी दिएको हो । शुक्रबार परिक्षा स्थगित गर्न अखिल क्रान्तीकारी एमाले निकट अनेरास्ववियू लगायत विद्यार्थीले आन्दोलन गरेका थिए ।
अर्थमन्त्री खतिवडाले भने : सरकारको ढुकुटी रित्तो छ
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रिय ढुकुटी रित्तो अवस्थामा रहेको बताएका छन् । मुलुकको आर्थिक अवस्थालाई समेटेर ल्याउन लागिएको श्वेतपत्रका बारेमा संघीय संसदलाई जानकारी गराउदै राष्ट्रिय ढुकुटी रित्तो अवस्थामा रहेको जानकारी गराएका हुन् । उनले बजेट अनुशासनको अभावले गर्दा सरकारी ढुकुटी रित्तो अवस्थामा पुगेको जानकारी दिए । श्वेतपत्रको पूर्ण विवरण अर्थ मन्त्रालयले पत्रकार सम्मेलन आयोजना गरेर सार्वजनिक गर्दै छ । अर्थमन्त्री खतिवडाले समाजवाद उन्मुख राष्ट्र निर्माणका लागि सार्वजनिक निजी र सहकारी क्षेत्रलाई अघि बढाइ फराकिलो आर्थिक वृद्धिको लक्ष्यलाई प्राथमिकतामा राखिएको बताएका छन् ।
जनता बैंकको एकैसाथ ८ शाखाबाट कारोबार शुरु, शाखा संख्या १०६ पुग्यो
काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले एकैसाथ ८ नयाँ शाखाबाट कारोबार शुरु गरेको छ । बैंकले पाल्पाको रामपुर, कैलालीको टिकापुर, स्याङ्जाको वालिङ, काठमाडौंको महाराजगंज, ललितपुरको ग्वार्को, रुपन्देहीको नयाँमिल, नवलपरासीको दुम्किबास र बर्दियाको भुरीगाँउ शाखाबाट कारोबार संचालन गरेको हो । यी शाखा मध्ये बैंकले चैत रामपुर, टिकापुर र वालिङ शाखाको कारोबार गत चैत १५ गते देखि कारोबार शुरु गरेको थियो । त्यसैगरी, बैंकले अन्य बाँकी शाखाको आज(शुक्रबार)देखि शुरुवात गरेको छ । यस सगै बैंकको शाखा संख्या १०६ पुगेको पुगेको छ भने काठमाडौं उपत्यकामा १७ शाखाहरु रहेका छन् । यस अतिरिक्त बैंकले ३३ शाखा रहित बैंकिङ्ग, २ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।
२१ करोड निक्षेप राख्न बैंक खोज्दै विद्युत प्राधिकरण
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २१ लाख डलर (२१ करोड डलर) कल खातामा राख्न बैंकसंग प्रस्ताव आब्हान गरेको छ । विद्युत प्राधिकरणले आफुसंग भएको २१ लाख अमेरिकी डलर कल खातामा राख्नका लागि चैत २२ गते प्रस्ताव खोल्ने जानकारी दिएको छ । आफुलाई आवश्यक परेका बेला झिक्न मिल्ने गरी प्राधिकरणले कल खातामा रकम जम्मा गर्न लागेको प्राधिकरण संस्था वित्तीय विभागका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले बताए । “जुन बैंकले बढी ब्याज दिने प्रस्ताव गर्छ हामी सोही बैंकमा रकम जम्मा गर्ने छौं” उनले भने । बैंकले बढीमा २१ लाख डलरसम्मका लागि प्रस्ताव गर्न सक्ने कोइरालाको भनाइ छ ।
उत्तर कोरियालाई सम्झँदै माधव नेपालले ‘म फेन्ट भएँ भनेपछि…’
काठमाडौं । ‘उत्तर कोरियाले प्योङयोङ विमानस्थल २ बर्षमा बनायो, १५ हजार बाढी पीडितलाई २ महिनामा घर बनायो, मैले निजगढ विमानस्थल कहिले बनिसक्छ भनेर हाम्रा प्राबिधिकलाई सोधेको त १० देखि १५ बर्ष भने, म त फेन्ट भएँ’, यो भनाई हो पूर्व प्रधानमन्त्री तथा एमाले बरिष्ठ नेता माधव नेपालको । शुक्रबार राजधानीमा आयोजीत समाजवादका लागि भौतिक पुर्वाधार विकास बिषयका कार्यक्रममा एमाले बरिष्ठ नेता नेपालले उत्तर कोरिया, चीन, भियतनाम र पाकिस्तानले पुर्वाधार विकासमा गरेको प्रगतिका केहि कथा पनि सुनाए । उनले ती देशहरुले जस्तै द्रुत गतिमा नेपालको विकास गर्नुपर्ने धारणा पनि राखे । ‘चीन, भियतनाम, पाकिस्तान, उत्तर कोरियाले २ बर्षमा गर्न सक्ने काम हामीलाई किन १५ बर्ष लाग्ने ?’, नेता नेपालले प्रश्न गरे । उनले नेपालको विकास गतिका बारेमा टिप्पणी गरिरहँदा भौतिक पुर्वाधार मन्त्री रघुविर महासेठ, मन्त्रालयका सचिव देवेन्द्र कार्की, सडक विभागका महानिर्देशक गोपाल सिग्देल, यातायात व्यवस्था विभाग, रेल विभागका उच्च अधिकारी, महानगरिय ट्राफिक महाशाखा प्रमुख डिआइजी सर्वेन्द्र खनाल लगायतका उपस्थित थिए । नेता नेपालले प्रधानमन्त्रीदेखि मुख्य सचिव, सचिव र विभागका प्रमुख देखि कर्मचारीसम्मले भ्रष्टाचार नगर्ने प्रण गर्नुपर्ने धारणा पनि राखेका थिए । कति लेनको सडक बनाउने भन्ने काम अदालतको हो ? नेता नेपालले बिराटनगरमा सडक विस्तार सम्बन्धी अदालतको फैसलाबारे रोचक प्रशंग पनि सुनाए । ‘बिराटनगरको एउटा सडकमा अदालतले ४ लेनको मात्रै बनाउनु भनेर आदेश दिएछ, कति लेनको सडक बनाउने भन्ने काम अदालतको हो र ? मैले त्यो कुरा सुन्ने वित्तिकै प्रधानन्यायधिसलाई भेटेर सोँधे, उहाँले म मिलाउँछु भन्नु भयो’, नेपालले भने । उनले सरुवा र बढुवामा पैसा लिन्न भनेर प्रधानमन्त्री, मन्त्री, मुख्यसचिव देखि विभागका महानिर्देशकहरुले सार्वजनिक घोषणा गर्नुपर्नेमा पनि जोड दिएका थिए । कार्यक्रममा भौतिक पुर्वाधार मन्त्री रघुबिर महासेठले बैशाख भित्रै यातायात क्षेत्रको सिण्डीकेट खारेज गर्ने, चैत भित्रै काठमाडौंका ठुला सडकलाई खाल्डा खुल्डी मुक्त बनाउने, बैशाख १५ भित्र राष्ट्रिय राजमार्गलाई खाण्डाखुल्डी मुक्त बनाउने लगायतका घोषणा गरेका थिए । नेकपा(एमाले)को भौतिक पुर्वाधार तथा यातायात व्यवस्था विभागले आयोजना गरेको कार्यक्रममा सडक, यातायात, रेल, ट्राफिक महाशाखाका अधिकारीहरुले कार्यपत्र प्रस्तुत गरेका थिए ।
काठमाडौं उपत्यकामा झण्डै ६० प्रतिशत किसान थोपा सिँचाइमा
ललितपुर । काठमाडौं उपत्यकामा झण्डै ६० प्रतिशत किसानले थोपा सिँचाइ गर्न थालेका छन् । झण्डै एक दशकमा तरकारीखेतीमा थोपा सिँचाइको प्रयोग ह्वात्तै बढेको नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गतको तरकारी विकास निर्देशनालयका वरिष्ठ तरकारी विकास अधिकृत खेमराज जोशीले बताएका छन् । थोपा सिँचाइका कारण जनशक्ति र पानी दुवैको बचत भएको छ । काठमाडौं उपत्यकामा पानीको कमीका कारण थोपा सिँचाइ उपयुक्त रहेको छ । उनले भने, “अहिले किसानले पनि दिनभर पाइपले पानी हालेर मेहनत गर्नेभन्दा पनि छिटो र सजिलो कुरा खोजेका छन् ।” काठमाडौं उपत्यका बाहिरका तरकारीखेती हुने जिल्लामा पानी पर्याप्त भएकाले र प्रविधि पहुँच नभएकाले पनि थोपा सिँचाइ फैलिन सकेको छैन । थोपा सिँचाइबाट बोटबिरुवालाई पानी हाल्दा उत्पादन बढ्ने वरिष्ठ तरकारी विकास अधिकृत जोशीले बताए । पाइपबाट पानी हाल्दा लामो समयसम्म सुख्खा बिरुवाले एकै पटक ह्वात्त पानी पाउँछ । थोपा सिँचाइबाट पानी हाल्दा बिरुवाले चाहिने मात्रामा र जरामा नै पानी पुग्छ । उनले भने “यो विधिबाट बिरुवा सुक्न र एकै पटक बिरुवामा बाढी जसरी नै पानी ह्वात्तै जान पाउँदैन ।” एक किलो गोलभेँडा फलाउनका लागि थोपा सिँचाइबाट औसत चार लिटर र पाइपबाट औसत ४० लिटर पानी आवश्यक पर्छ । इजरायलबाट फर्किएका नेपाली कामदारले थोपा सिँचाइलगायतका सो प्रविधि भित्र्याएका हुन् । रासस