विकासन्युज

टिभीएसको नयाँ वर्ष अफर, मोटरसाइकल/स्कुटीको खरिदमा ८ हजार पुरस्कार

काठमाडौं । नेपाली बजारमा स्कुटर तथा मोटरसाइकल बिक्री वितरण गर्दै आएको टिभीएस कम्पनीले नयाँ वर्ष योजना ल्याएको छ । ग्राहकहरुका लागि कम्पनीले ‘नयाँ बर्षको सुरुवात, जिवन भरको साथ’ नामक नयाँ योजना ल्याएको हो । अब रहेक ग्राहकले स्कुटर तथा मोटरसाइकलको खरिदमा ८००१ रुपैंया पुरस्कार प्राप्त गर्न सक्छन् । देशैभर सेल्स, सर्भिस र स्पेर्स सहितको अत्याधुनिक सेवा प्रदान गर्दै आइरहेको कम्पनीले जनाएको छ । यस योजना सिमित अवधिका लागि मात्र लागू हुनेछ । ग्राहकहरुले कम्पनीको जुनसुकै डिलरबाट यो सुविधा लिन सक्छन् ।

सेञ्चुरी कमर्सियल बैंक र प्रभु लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र इन्स्योरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत किसोरप्रसाद लामिछानेले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी बैंकबाट उक्त कम्पनीको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।

आगामी डेढ वर्षभित्र ८०० मेगावाट विद्युत् उत्पादन, यस्तो छ निजी क्षेत्रको तयारी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र त्यसका सहायक कम्पनीले आगामी डेढ वर्षभित्र ८०० मेगावाट विद्युत् उत्पादन गर्ने भएका छन् । प्राधिकरणले तयार पारेको कार्ययोजनाका आधारमा माथिल्लो तामाकोशी, कुलेखानी तेस्रो, माथिल्लो त्रिशूली थ्री ‘ए’, साञ्जेन, रसुवागढीजस्ता आयोजनाबाट विद्युत् उत्पादन हुनेछ । स्वदेशी आयोजना निर्माण सम्पन्न भएपछि विद्युत्मा आत्मनिर्भर बन्न सकिने प्राधिकरणको बुझाइ छ । ऊर्जा क्षेत्रमा आत्मनिर्भर बनाउने लक्ष्य पूरा गर्नसमेत निर्माणाधीन आयोजना समयमै सम्पन्न गर्नुपर्ने दबाबमा प्राधिकरण रहेको छ । प्राधिकरणका अनुसार आगामी डेढ वर्षभित्र माथिल्लो साञ्जेन १४.८ मेगावाट, साञ्जेन ४२.५ मेगावाट क्षमताका आयोजना निर्माण सम्पन्न हुनेछ । साञ्जेन जलविद्युत् कम्पनीका प्रमुख किरण श्रेष्ठले दुवै आयोजनाको भौतिक निर्माण कार्य करिब ७० प्रतिशतको हाराहारीमा पुगेको जानकारी दिएका छन् । त्यसमा माथिल्लो साञ्जेनको प्रगति भने उल्लेख्य रुपमा सकारात्मक रहेको छ । यस्तै ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजना २०७५ साल मंसिर मसान्तमा सम्पन्न हुनेछ । सरकारले सो आयोजनामा सबै प्रकारको सहयोग उपलब्ध गराएको छ । आयोजनाको काम द्रुत रुपमा भइरहेको प्रवक्ता डा गणेश न्यौपाने बताए । यस्तै भूकम्प र नाकाबन्दीका कारण समस्यामा परेको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजना भने आगामी डेढ वर्षभित्र सम्पन्न गर्ने गरी कार्यतालिका तयार गरिएको छ । यस्तै चालू आवभित्रै कुलेखानी तेस्रो जलविद्युत् आयोजना सम्पन्न गर्ने भनिए पनि निर्माण व्यवसायीका कारण ढिलाइ भइरहेको छ । कूल १४ मेगावाट क्षमताको सो आयोजनाको भौतिक निर्माण कार्य ९९ प्रतिशत सम्पन्न भए पनि ‘हाइड्रोमेकानिकल’ र इलेक्ट्रोमेकानिकल’ को काम रोकिँदै आएको छ । यस्तै १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना पनि डेढ वर्षभित्र निर्माण सम्पन्न हुनेछ । सो आयोजनाको हाल ६५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको आयोजना प्रमुख माधव कोइरालाले जानकारी दिए । यस्तै मध्यभोटेकोशी जलविद्युत् आयोजनालाई पनि २०७५ सालको अन्त्यसम्म निर्माण सम्पन्न गर्ने गरी कार्यतालिका तय गरिएको छ । तर सो आयोजनाको कार्यप्रगति भने हालसम्म ४० प्रतिशतमात्रै सम्पन्न भएको छ । निर्माण सम्पन्न भइसक्नु पर्ने राहुघाट जलविद्युत् आयोजना ठेकेदार छनोटको प्रक्रियामा नै अल्झिएको छ । काम नगरेपछि ठेक्का सम्झौता तोडेर नयाँ प्रक्रियामा जाँदा राहुघाटको निर्माण शुरु हुनै सकेको छैन । सो आयोजनाको क्षमता ३२ मेगावाटबाट बढाएर ४० पुर्याइएको छ । प्राधिकरणका अनुसार माथिल्लो त्रिशूली थ्री ‘बी’ आयोजनाको ठेकेदार छनोटको प्रक्रिया शुरु भएको छ । प्राधिकरण र नेपाल टेलिकमलगायतको लगानी रहने सो आयोजना माथिल्लो त्रिशूली थ्री ‘ए’को सहायक आयोजनाका रुपमा निर्माण गर्न लागिएको हो । सो आयोजनाको क्षमता ३७ मेगावाट रहेको छ । प्राधिकरणले सो आयोजना २०७६ को अन्त्यसम्म सक्ने कार्यतालिका बनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार आगामी तीन वर्षभित्र प्राधिकरण र सहायक कम्पनीका करीब एक हजार मेगावाट क्षमताका आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्यका साथ काम भइरहेको छ । यस्तो छ निजी क्षेत्रको तयारी यस्तै निजी क्षेत्रले सो अवधिमा साना, मझौला आयोजनाबाट करीब एक हजार ३०० मेगावाट क्षमताका आयोजना निर्माण सक्ने गरी तयारी गरिरहेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)का अनुसार सरकारले थप सहजीकरण गरिदिए आगामी डेढ वर्षभित्र करिब एक हजार ५०० मेगावाट क्षमताका आयोजना निर्माण सम्पन्न हुने जनाएको छ । इपानका अध्यक्ष शैलेन्द्र गुरागार्इंले विद्युत् खरिद सम्झौता भएका तीन हजार ५०० मेगावाट क्षमता बराबरका आयोजनामध्ये करीब ७० प्रतिशत आयोजना निर्माणका चरणमा रहेको बताए । ऊर्जामा आत्मनिर्भर–सरकारको प्राथमिकता नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले ऊर्जा क्षेत्रमा आत्मनिर्भर बनाउनका लागि सरकारी, निजी क्षेत्रका आयोजना तोकिएको समयभन्दा अगावै सम्पन्न गर्ने योजनामा सरकार रहेको जानकारी दिएका छन्। उनले वार्षिक एक खर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको आयातमात्रै प्रतिस्थापन गर्न पनि विद्युत् उत्पादनमा जोड दिनुपर्ने र निर्माणाधीन आयोजना समयअगावै सक्नुपर्ने बताएका छन् । हाल भारतबाट पेट्रोलियम पदार्थमात्रै नभई हिउँदमा ४५० मेगावाट विद्युत् आयात भइरहेको प्राधिकरणले जनाएको छ । रासस

एपेक्स प्रकरणका थप चारजना पक्राउ

काठमाडौं । एपेक्स डेभलपमेन्ट बैंकको रकम दुरुपयोग गरेको आरोपमा थप चारजना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विभिन्न मितिमा एपेक्सका ती उच्च अधिकारीलाई पक्राउ गरेको हो । कमसल धितो राखी बैंकको रकम दुरुपयोग गरेको भन्दै गत शुक्रबार ब्यूरोले तत्कालीन अध्यक्षसहित १३ कर्मचारीलाई पक्राउ गरेको थियो । पछिल्लो पटक पक्राउ पर्नेहरुमा एपेक्सका सञ्चालक तथा नागरिक लगानी कोषका नौ तहका कर्मचारी छविरमण अधिकारीलाई बानेश्वरबाट पक्राउ गरेको छ । त्यसैगरी कर्जामा काम गर्ने कर्जा प्रबन्धक प्रमोद भट्टराईसहित सजल बज्राचार्य र त्रिवेन्द्र श्रेष्ठलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको ब्यूरोका प्रहरी नायब उपरीक्षक श्याम ओलियाले जानकारी दिएका छन् । उनीहरुलाई कमसल धितो राखी भिरालो पाखोबारी, बाटो नपुगेको जग्गाको अधिक मूल्यांकन गरी कर्जा लगानी गरेको आरोप लगाइएको छ । उनीहरूले एक अर्ब ५० करोड ९६ लाख ३३ हजार रुपैयाँ निक्षेप दुरुपयोग गरेको अनुसन्धानबाट खुलेको हो । ऋणीको नक्कली आयस्रोतसम्बन्धी विवरणलाई स्वीकृत गरेको, मोटरबाटो नभएको, भिरालो पाखो बारी खेत वन क्षेत्र भएको जग्गामा बाटो भएको प्रमाणित गरेको, धितो निरीक्षण कर्जा निर्णय जग्गा किनबेच, रोक्का, कर्जा तमसुक, कर्जा प्रवाह एकै दिनमा गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । पक्राउ परेकामाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । रासस

नक्कली स्टिकर छाप्ने भारतीय कम्पनी छानविनको दायरामा, नाम भने अझै गोप्य

वीरगञ्ज । मदिराको बिर्कोमा टाँस्ने राजश्वको नक्कली स्टिकर छाप्ने भारत कलकत्ताको एक कम्पनीलाई छानविनको दायरामा ल्याउने प्रयास भइरहेको आन्तरिक राजश्व कार्यालय वीरगञ्ज पर्साले जनाएको छ । नक्कली स्टिकर प्रकरणमा पक्राउ परेका व्यक्तिसँग विभिन्न चरणमा थप बयान लिने काम भइरहेको भन्दै प्रमुख कर अधिकृत गोपीकृष्ण कोइरालाले भने, “नक्कली स्टिकर छाप्ने सो भारतीय कम्पनीको नाउँ सार्वजनिक गर्दा सतर्क हुने भएकाले नाम गोप्य राखिएको बताए । उनले पक्राउ परेका व्यक्तिसँग बयान लिने क्रम जारी रहेको र नक्कली स्टिकर छाप्ने भारतीय कम्पनीको नामसमेत खुलेकाले भारत सरकारको सहयोगमा ती कम्पनीलाई कारवाहीको दायरामा ल्याउन आन्तरिक राजश्व विभागसँग छलफल भइरहेको स्पष्ट पारेका छन् । विसं २०७४ भदौ १९ गते राजधानीको हरिओम ट्रेडिङ प्रालिले भारतको कलकताबाट करिब रु तीन करोड ५० लाख मूल्य बराबरको ८६ हजार ४७० थान नक्कली स्टिकर वीरगञ्ज भन्सारको वैधानिक च्यानलबाट नेपाल भित्र्याइरहेका बेलामा पक्राउ परेको थियो । हिमालय रोडबेज नामक ढुवानी कम्पनीका कर्मचारी छिमेकी भारत रक्सौलका वीरेन्द्रकुमार महतो नक्कली स्टिकरसहित पक्राउ परेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अनुसन्धानका क्रममा स्टिकर आयातकर्ता कम्पनीका सहयोगी विराटनगरका प्रकाश घिमिरे, धादिङ धुनीबेँसीका राजकुमार भण्डारी, हरिओम ट्रेडिङ कम्पनीका सञ्चालक कुलप्रसाद राजभण्डारी, हिमालयन कार्गोका सञ्चालक विनोदकुमार गुप्तालाई पक्राउ गरेको थियो । आन्तरिक राजश्व विभागले प्रायः गरी ग्लोबल टेण्डरमार्फत इन्डोनेसियाबाट मदिराको स्टिकर छपाउने गरे पनि यस प्रकारको स्टिकर पहिलो पटक भारतको कलकतामा छपाएको फेला परेको हो । आन्तरिक राजश्व विभागले हालसम्म भारतबाट यस प्रकारको कुनै स्टिकर नछपाएकाले पक्राउ परेका उक्त स्टिकर नक्कली भएको बताइएको छ । पक्राउ परेकाहरुसँग बयानपश्चात् जनही रु सात करोडको धरौटी माग गर्दा धरौटी बुझाउन नसकेपछि विनोदकुमार गुप्ताबाहेक सबैलाई पुर्पक्षका लागि वीरगञ्ज कारागारमा राखिएको जनाएको छ । गुप्ता भने सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेपछि प्रधानन्यायाधीश गोपाल पराजुलीको इजलासको आदेशबाट रिहा भए पनि पक्राउ परेकासँग पटक पटक बयान लिने क्रममा थप तीनजनाको नाम आएकाले उनीहरुको खोजी भइरहेको बताइएको छ । अनुसन्धानकै क्रममा नक्कली स्टिकर उत्पादन गर्ने गिरोहमा संलग्न रहेको आरोपमा सिआइबीले पुष्कर दवाडीलाई पक्राउ गरेको छ । कार्यालयले नक्कली स्टिकर प्रकरणमा सरकारी छाप किर्ते गरेको मुद्दा जिल्ला अदालत पर्सामा चलिरहेको छ । पक्राउ परेकाहरु दोषी ठहर भए एक वर्ष कैद बिगो र बिगो बमोजिमको जरिवाना हुनसक्ने सो कार्यालयले जनाएको छ । सो नक्कली स्टिकर बजारमा गएको भए सरकारलाई करीब रु चार करोड राजश्व घाटा हुने थियो । यसैबीच आन्तरिक राजश्व कार्यालय पर्साले आर्थिक वर्ष २०७४÷ ७५ को लक्ष्य रु पाँच अर्ब ५९ करोड राजश्व उठाउने लक्ष्य राखेकामा आवको फागुन मसान्तसम्म ११५ प्रतिशत राजश्व संकलन गरी तीन अर्ब ६४ करोड रुपैयाँ उठाउन सफल भएको छ । साना ठूला गरी करिब चार हजार करदाता रहेको पर्सा जिल्लामा लुकेर बसेका करदाताको खोजी गर्न बजार अनुगमन गर्ने नीति लिएको प्रमुख कर अधिकृत कोइरालाले करको दायरामा आउन नसकेका करदाताको खोजी कार्य भइरहेको बताए । रासस

मंगलबारको बजारमा दोहोरो अंकको गिरावट, ३२ करोड ८९ लाख रूपैयाँको सेयर कारोबार

काठमाडौं । सेयर बजार घट्ने क्रम जारी रहेको छ । सोमबार एकल अंकले घटेको बजार मंगलबार भने दोहोरो अंकले ओरालो लागेको छ । सो दिनको नेप्से परिसूचक १५.०५ अंकले घटेर १२५५ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा मंगलबारको परिसूचकमा गिरावट आएता पनि कारोबार रकममा भने वृद्धि भएको छ । मंगलबारको दिनभरको बजारमा कुल १५९ कम्पनीका ३२ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिनको तुलनामा ४ करोड रुपैयाँ बढी हो । अघिल्लो दिन(सोमबार) २८ करोड रुपैयाँको सेयर किनबेच भएको थियो । बजारमा विभिन्न ९ समूहहरु कारोबारमा आएका थिए । सो मध्ये होटल समूह बाहेक बाँकी समूहको परिसूचक राताम्मे भएका छन् ।

सनराइज बैंकद्धारा विभिन्न ६ वटा विद्यालयका विद्यार्थीलाई १० वर्षका लागि छात्रवृत्ति प्रदान

काठमाडौं । सनराइज बैंक लिमिटेडले विभिन्न ६ वटा विद्यालयमा अध्ययनरत १० जना बालबालिकाहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकले लुभु, बुढानिलकण्ठ, नख्खु, कपन, दार्चुला र नेपालगञ्जमा अवस्थित छ वटा विद्यालयका विद्यार्थीलाई १० वर्षको लागि छात्रवृत्ति प्रदान गरेको हो । बैंक सञ्चालनको दश वर्ष पुगेको अवसरमा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रमको आयोजना गरको हो । कार्यक्रममा बैंकको संचालक समितिका अध्यक्ष मोतीलाल दुगड, संचालकहरु ई.बच्छराज तातेड, ज्योतिकुमार बेगानी, दिपक नेपाल, ओमकृष्ण जोशी, बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, वरिष्ठ नायब महाप्रबन्धक आशा राणा अधिकारी, नायब महाप्रबन्धकद्घय अपछकुमार यादव, रविनकुमार नेपाल, सहायक महाप्रबन्धक सर्वेन्द्र मिश्रका साथै बैंकका कर्मचारीहरुकोे सहभागिता रहेको थियो ।

जनता बैंकको थप ७ शाखा कार्यालय सञ्चालनमा

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले थप २ शाखा र ५ शाखा रहित बैकिङ्ग गरि ७ वटा कार्यालय सञ्चालनमा ल्याएको छ ।  बैंकले कारोबार विस्तारको क्रममा थप २ शाखा बाराको सिमरौनगढ र पोखराको बुढीबजारबाट कारोवार शुरु गरेको छ । साथै, बैंकले कैलालीको बनवेहडा, दुर्गौली र स्याउले बजार तथा दाङको मौरीघाट र फलकापुर गरी ५ स्थानबाट शाखा रहित बैंकिङ्ग सेवा शुरु गरेको हो । यससगै, हाल बैंकले ९८ शाखा, ३१ शाखा रहित बैंकिङ्ग, ३ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।