५७ कम्पनीलाई करको विवरण पेस गर्न राजस्व कार्यलयलाई ७ दिने अल्टिमेटम
काठमाडौं । आन्तरिक राजस्व विभागले आय विवरण तथा मुल्य अभिवृद्धिकरको विवरण नबुझाउने ५७ कम्पनीलाई ताकेता गरेको छ । विभागले ७ दिनभित्र विवरण बुझाउन कम्पनीहरुलाई अल्टिमेटम दिएको हो । कार्यलयले पटक पटक पत्राचार, फोन सम्पर्क र स्थलगत भेटेरै अनुरोध गर्दा पनि कम्पनीहरुबाट कुनै प्रतिक्रिया नआएपछि विभागले कानूनी उपचार अघि सारेको हो । विवरण नबुभाउनेहरुमा नेटवर्क सोलुसन प्राइभेट लिमिटेड, शंकर मार्केटिङ प्राली, सिमाना इन्टरप्राइजेज लगायत ७५ वटा कम्पनी रहेका छन् । तोकिएकै मितीमा विवरण नबुझाए कानून अनुसार कारवाहि प्रक्रिया अघि बढ्ने विभागले जनाएको छ ।
१ केजी प्लाष्टिकबाट ७०० मिलिलिटर पेट्रोलियम पदार्थ उत्पादन सुरु
झापा । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा प्लाष्टिकबाट पेट्रोलियम पदार्थ उत्पादन गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान नाष्टले प्लाष्टिकबाट पेट्रोलियम पदार्थको उत्पादन सुरु गरेको हो । पाइरोलाइसिस नामक यन्त्रबाट प्लाष्टिकलाई पेट्रोलियम पदार्थमा रुपान्तरण गरिएको छ । नाष्टका इन्जिनियर डा रवीन्द्रप्रसाद ढकालले एक किलोग्राम प्लाष्टिकबाट ६०० देखि ७०० मिलिलिटर पेट्रोलियम पदार्थ निकाल्न सकिने बताए । “यसलाई वर्गीकरण गरेर ६० प्रतिशत डिजल तथा २०-२० पेट्रोल र मट्टीतेल छुट्याउन सकिन्छ”, डा ढकालले भने, “नत्र सबै डिजल मात्र पनि बनाउन सकिन्छ ।” ढकालले कार्यपत्र प्रस्तुत गर्दै प्लाष्टिकलाई नवीकरण गर्न सकिने र नसकिने वर्गीकरण गरेर पेट्रोलियम पदार्थ निकाल्न सकिने बताए । नवीकरण हुने प्लाष्टिकलाई पुनःनवीकरण गर्ने र नवीकरण नहुने प्लाष्टिकलाई पेट्रोलियम पदार्थ उत्पादन गर्न ढकालले सुझाव दिएका छन् । यसअघि नाष्टले ३५ नगरपालिकामा सो प्रविधि प्रयोग गरेर देखाइसकेको छ । ढकालले अहिले विश्वका ६५ मुलुकमा सो प्रविधि लागू भइसकेको जानकारी दिए । स्थानीय तहमा सो प्रविधि लागू गर्न रु ४० देखि ५० लाख पर्ने यन्त्र आवश्यक पर्ने बताइएको छ । झापामा फालिएको प्लाष्टिकजन्य फोहरबाट दैनिक २१ हजार लिटरभन्दा बढी उत्पादन गर्न सकिने नाष्टले जनाएको छ । नाष्टका उपकुलपति प्रा डा जीवराज पोखरेलले जापानी संस्थासँग हातेमालो गरेर नेपालमा सो प्रविधि भित्र्याइएको र यसबाट मुलुक समृद्ध बनाउन योगदान पुग्ने बताए । कन्काई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले प्लाष्टिकजन्य फोहरलाई नगरपालिकाले अवसरका रुपमा लिने बताए । कार्यक्रममा सांसद एलपी साँवा लिम्बू र प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले सो प्रविधि स्थानीय तहमा प्रयोग गर्न सके फोहर व्यवस्थापनमा ठूलो टेवा पुग्नाका साथै पेट्रोलियम पदार्थको आपूर्ति सहज हुने बताए ।रासस
अब फेसबुक, ट्वीटर र युट्युब पनि करको दायरामा
काठमाडौं । सरकारले फेसबुक, ट्वीटर र युट्युब लगायतका समाजिक सञ्जालहरुलाई करको दायरामा ल्याउन लागेको छ । अर्थमन्त्रालयले चालु आर्थिक बर्षभित्रै फेसबुक, ट्वीटर, युट्युब लगायतका सामाजिक सञ्जालहरुलाई करको दायरामा ल्याउने तयारी थालेको हो । ‘सामाजिक सञ्जालहरुको कारोबारको आकार वृद्धि हुँदै गएको छ, अब यसलाई चालु आव भित्रै करको दायरामा ल्याउने प्रक्रिया अघि बढाईसकेका छौं’, राजश्व सचिव शिषिर ढुंगानाले विकासन्युजसँग भने । उनले बाणिज्य विभागसँग समन्वय गरेर कुन प्रक्रियाद्धारा समाजिक सञ्जालहरुलाई करको दायरामा ल्याउन सकिन्छ भन्नेबारे अध्ययन अघि बढाएको पनि बताए । ‘सामाजिक सञ्जालहरुले गरिरहेको कारोबारलाई करको दायरामा ल्याउनेबारे बाणिज्य विभाग मार्फत अध्ययन अघि बढाएका छौं, यसै आव भित्र ठोस प्रगति हुन्छ’, राजश्व सचिव ढुंगानाले भने । उनले पछिल्ला बर्षमा फेसबुक, ट्वीटर, युट्युब लगायतका सञ्जालहरु मार्फत नेपाली उद्यमी व्यवसायीहरुले मोटो रकम खर्चेर आफ्नो व्यवसायको प्रवद्र्धन गरिरहेको पनि बताए । ‘समाजिक सञ्जालहरुबाट हुने व्यवसाय प्रवद्र्धनले करोडौँ डलर बाहिरिएको छ, त्यसलाई करको दायरामा ल्याउने हो’, सचिव ढुंगानाले भने । पछिल्लो समय नेपाली उद्योगी तथा व्यवसायीहरुले फेसबुक, ट्वीटर, युट्युब लगायतका सञ्जालहरु मार्फत आफ्नो व्यवसायको प्रवद्र्धन गरिरहेका छन् । त्यसका लागि उनीहरुले अनधिकृत रुपले डलर भुक्तानी समेत गरिरहेका छन् । ‘बैंकले दिने सेवा सुबिधाहरुका बारेमा फेसबुक मार्फत प्रचार प्रसार गरिरहेका छौं, यसले राम्रो नतिजा पनि दिईरहेको छ’, सिभिल बैंकका मार्केटिङ मेनेजर विजय कसजुले भने । उनले फेसबुक मार्फत व्यवसाय प्रवद्र्धन गर्दा उपभोक्ताको राम्रो प्रतिक्रिया समेत आईरहेको पनि बताए । यतिबेला अधिकांश बैंक तथा वित्तिय संस्था र व्यवसायीक घरानाहरुले फेसबुक, ट्वीटर तथा युट्युब मार्फत व्यवसायको प्रवद्र्धन गरिरहेका छन् । त्यसका लागि उनीहरुले लाखौं डलर खर्च गरिरहेका छन् । तर सो कारोबार भने अझै पनि करको दायरामा आएको थिएन् । अब भने अर्थमन्त्रालय आफैंले त्यस्ता कारोबारलाई करको दायरामा ल्याउने कसरत अघि बढाएको हो ।
ग्यास सञ्चालनसम्बन्धी नियम मान्न सकिन्न : उद्योगी
काठमाडौं । ग्यास उद्योग सञ्चालन सुरक्षित बनाउन सरकारले लागू गरेको नियमका कतिपय प्रावधान पालना गर्न नसकिने उद्योगीले बताएका छन्। गुणस्तर प्रमाणपत्र लिन आवेदन दिएका झन्डै ५० कम्पनी मध्ये अधिकांशले मापदण्ड नपुगेको भन्दै स्वीकृति पाएका छैनन्। नेपाल गुणस्तर तथा नापतौल विभाग गुणस्तर प्रमाणपत्र नलिएका ग्यास उद्योगका सिलिण्डर बिक्रीमा रोक लगाएपछि विवाद बढेको छ ।घना बस्तीबाट कम्तीमा ५ किलोमिटर टाढा मात्र उद्योग राख्नुपर्ने नियम प्रमुख अप्ठेरोको रूपमा रहेको र त्यो प्रावधान हटाउनुपर्ने उद्योगीहरू बताउँछन्। ३० वर्ष पहिले उद्योग खुलिसकेको तर हालै मात्र नयाँ नियम बनाइँदा अधिकांश उद्योगीहरू त्यसलाई पालना गर्न नसक्ने नेपाल एलपीजी ग्यास उद्योग संघका पूर्व अध्यक्ष शिव घिमिरे बताउँछन्। मापदण्डको नाममा अनावश्यक र घना बस्तीबाट यति उति किलोमिटर भन्ने कुरा व्यवहारिक नभएको उनको तर्क छ । उनले भने, सुरक्षासंग सम्बन्धित विषयहरू अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप भएको छ कि छैन भन्ने विषयमा अनुगमन हुनुपर्छ। तर मापदण्डको नाममा अनावश्यक र घना बस्तीबाट यति उति किलोमिटर भन्ने कुरा चाहिँ व्यवहारिक होइन।ू अधिकारीहरूका अनुसार पछिल्लो समय ग्यास उद्योगमा आगलागी र ग्यास सिलिण्डर पड्केर हुने दुर्घटनामा वृद्धि हुन थालेपछि अनुगमन तीव्र पारिएको हो। सरकारी नियमपछि ४९ वटा उद्योगले गुणस्तर प्रमाणपत्रका निम्ति आवेदन दिएकोमा ७ वटाले मात्र पाएको छ। विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बाँकी उद्योगको अनुसन्धान जारी रहेको बताउँदै भने, ३५ वटा उद्योगहरूको अनुगमन गरी आवश्यक विषयमा निर्देशन दिएका छौं। त्यो निर्देशन पूरा भएन भने फेरि बाध्य भएर त्यस्ता उद्योगहरूलाई रोक्नुपर्ने हुन्छ।ू अनुगमनमा सघाइरहेको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले पनि मापदण्ड नै परिमार्जनको सुझाव सरकारलाई दिएको थियो। ३५ वटा उद्योगहरूको अनुगमन गरी आवश्यक विषयमा निर्देशन दिएका छौं। त्यो निर्देशन पूरा भएन भने फेरि बाध्य भएर त्यस्ता उद्योगहरूलाई रोक्नुपर्ने हुन्छ । विभागका महानिर्देशक कुमारप्रसाद दाहाल भन्छन्, बस्तीभित्र रहेका उद्योगलाई गुणस्तर प्रमाणपत्र दिइयो र यदि दुर्घटना भयो भने त झन ठूलो चुनौती आउनेछ। त्यसैले कि उद्योग सार्नुपर्छ वा मापदण्ड नै परिवर्तन गर्नुपर्छ। अन्य उपाय म देख्दिन। हाल देशभर ५५ वटा ग्यास उद्योग सञ्चालनमा छन्। जसले १ करोडभन्दा बढी सिलिण्डर बिक्री गर्दै आएको बताइएको छ । स्रोत बीबीसी
सर्पोट माइक्रो फाइनान्सले थप ९ जिल्लामा कार्यक्षेत्र विस्तार गर्ने
काठमाडौं । सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले कार्यक्षेत्र विस्तार गरी १९ जिल्लामा पुर्याउने भएको छ । संस्थाले हालको कार्यक्षेत्र रहेको १० जिल्लाबाट ९ जिल्लामा विस्तार गर्न लागेको हो । संस्थाले चैत २९ गते बस्ने तेस्रो वार्षिक साधारणसभाले कार्यक्षेत्र विस्तार गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । संस्थाले प्रदेश नम्बर १ मा झापा, इलाम, ताप्लेजुङ, मोरङ, संखुवासभा, ओखलढुङा, सोलुखुम्बु रहेका छन् ।यस्तै प्रदेश नम्बर २ मा सिराह र सप्तरी जिल्लामा कार्यक्षेत्र विस्तार गर्ने संस्थाले जानकारी दिएको छ ।
सिभिल बैंकको ३१ लाख २१ हजार कित्ता संस्थापक हकप्रद सेयर बिकेन, पुनः बोलपत्र आब्हान
काठमाडौं । संस्थापक सेयर बिक्री नभएपछि सिभिल बैंकले लिलामीका लागि पुनः बोलपत्र आब्हान गरेको छ । लिलामी खुला गर्दा १ करोड ३० लाख रुपैयाँ बराबरको मात्र संस्थापक हकप्रद बिक्री भएपछि बाँकी रहेको ३१ लाख २१ हजार ६०० कित्ता पुनः बिक्री खुला गरेको हो । बैंकको संस्थापक सेयर बिक्री चैत १४ देखि खुलाभई २१ गतेसम्मलाई तोकिएको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले जनाएको छ । बैंकले बिक्री नभएको संस्थापक र सर्वसाधारण गरी ४२ लाख कित्ता बढी हकप्रद पुनः लिलाम गरेको थियो । सर्वसाधारण तर्फ छुटट्याइएको ९ लाख कित्ता सबै बिक्री भएको लक्ष्मीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) आतिस श्रेष्ठले जानकारी दिए । साधारण हकप्रद प्रतिकित्ता १३३ रुपैयाँमा बिक्री भएको छ । चुक्तापुँजी बढाउन सिभिलले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो ।
रसुवागढी आयोजनाको सुरुङ ७७ प्रतिशत खनियो
रसुवा । उत्तरी रसुवाको टिमुरे तथा थुमन क्षेत्रमा निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाको काम तिब्र गतिमा अगाडि बढेको छ । आयोजना प्रमुख छवि गैरेका अनुसार विद्युत्गृहमा पानी पठाइने ४ हजार २०० मिटर हेडरेस सुरुङको लम्बाइमध्ये हालसम्मको ७७ प्रतिशत पूरा भएको छ । खन्न बाँकी काम पूरा गराउन करीव २० प्राविधिक एवं ३०० मजदूरले काम गरिरहेका छन् । सन् २०१४ देखि भूमिगत संरचनाबाट निर्माण अगाडि बढेको रसुवागढी सन् २०१९ भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । १३ अर्ब ६४ करोड ४० लाखको लागत रहेको आयोजनामा निर्माण गर्नुपर्ने ३१३ मिटरको पेनस्टक पाइप राख्ने सुरुङ, भोटेकोशीमा बाँध र विद्युत्गृह निर्माणको काम दु्रत रुपमा अगाडि बढिरहेको साइट इञ्चार्ज प्राविधिक गौतम खड्काले जानकारी दिए। भोटेकोशी नदीमा बाँध बाँधी विद्युत्गृहमा सुरुङमार्फत प्रतिसेकेन्ड ८० घनमिटर पानी पठाई १११ मेगावाट अर्थात् ६१ करोड ४० लाख युनिट विद्युत् उत्पादन हुने बताइएको छ । विसं २०६० भदौ ८ गतेदेखि उत्पादन शुरु भएको २२ मेगावाट क्षमताको चिलिमे र १११ मेगावाटको रसुवागढी मात्र सम्पूर्ण भूमिगत संरचनाका भएको प्राविधिकले बताएका छन् । विसं २०७२ को भूकम्पले चिलिमे जलविद्युत् केन्द्रलाई कुनै असर नपरेको समेत प्राविधिकले स्मरण गरेका छन् । रासस
अनलाईनबाट सेयर भर्न, सेयर एकाउन्ट चलाउन आउँदैन ? यो भिडियो हेर्नुहोस–धेरै कुरा सिक्नुहुनेछ
काठमाडौं । अनलाईनबाट सेयर कसरी आवेदन गर्ने ? घरमा वा कार्यालयमा बसेर कसरी हकप्रद सेयर, साधारण सेयर, एफपीओको सेयरका लागि आवेदन गर्ने, सि–आस्वा कसरी लिने ? अनलाईनबाट कसरी आफ्नो सेयरबारे जानकारी लिने ? आफ्नो सेयर एकाउन्ट कसरी चलाउने ? यी विषयमा जानकारी नभएर तपाईलाई धेरै झन्झट भइराखेको हुन सक्छ । सबै कुरा जानेको साथीभाई पनि नहुन सक्छ । नजानेको कुरा अरुलाई सोध्न अप्ठ्यारो भएको पनि हुन सक्छ । नो टेन्सन । तनाव नलिनुहोस् । तपाईलाई इन्टरनेट चलाउन आउछ, फेसबुक चलाउन आउछ वा बेवसाइट चलाउने सामान्य ज्ञान छ तलको भिडियो हेर्नुहोस् । सिद्धार्थ क्यापिटले आफ्ना ग्राहकका सिकाउन बनाएको यो भिडियोबाट तपाईले पनि धेरै कुरा सिक्न सक्नुहुनेछ ।