विकासन्युज

निजगढ अन्तराष्ट्रिय विमानस्थललाई तीव्रता दिइने, भ्रमण वर्ष २०२० मा १५ लाख पर्यटक पुर्याउने तयारी

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले तीव्रता पाउने भएको छ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले देशकै मुख्य प्राथमिकता निजगढ विमानस्थल भएको र यसको निर्माण कार्य तीव्र रुपमा अघि बढाइने उल्लेख गरेका हुन् । मन्त्री अधिकारीको पदभारको पहिलो नीतिगत निर्णयमा परेको निजगढ विमानस्थललाई चाँडो प्रक्रिया अघि बढाउन निर्देशन पनि दिएका थिए । मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले विभिन्न निर्णय पढेर सुनाउँदै गर्दा मन्त्री अधिकारीले भने, “मुख्य प्राथमिकता निजगढ हो, यो मेरो मात्र भन्ने नठान्नुस् राज्यकै प्राथमिकताको आयोजना पनि हो ।” त्यसैगरी, सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउन ‘भिजिट नेपाल इयर’ एक महिनाभित्र सचिवालय गठन गरी आवश्यक कार्यक्रम तय गरिसक्ने र चीन र भारत केन्द्रीय पर्यटन प्रवद्र्धनलाई तीब्रता दिने मन्त्री अधिकारीको पहिलो निर्णयमा परेका छन् । सन् २०२० मा १५ लाख पर्यटक पुर्याउने गरी भ्रमण वर्ष मनाउन लागेको हो । सन् २०१७ मा १० लाख पर्यटक नेपाल आएका थिए । पदभार ग्रहणपछि मन्त्रालय मातहतका निकायलाई निर्देशन दिदैँ मन्त्री अधिकारीले उच्च मनोवल र उच्च स्वाभिानका साथ परिणाम आउने गरी काम गर्न निर्देशन दिएका छन् ।

नवनियुक्त उपराष्ट्रपति पुनद्धारा पद तथा गोपनीयताको शपथ

काठमाडौंं । नवनियुक्त उपराष्ट्रपति नन्दबहादुर पुनले (सोमबार)आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा उनलाई शपथ गराएका थिइन् । समारोहमा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, कायम मुकायम प्रधानन्यायाधीश, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुखहरु, सांसदलगायतको उपस्थिति थियो । पुन आइतबार उपराष्ट्रपति पदमा निर्विरोध निर्वाचित भएका थिए । रासस

दोहोरो अंकको आर्थिक वृद्धिका लागि ऊर्जामा लगानी गर्ने- मन्त्री पुन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले परिणाम निकाल्ने गरी काम गर्न नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई निर्देशन दिएका छन् । प्राधिकरणमा आज आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै उनले प्राधिकरणको प्रणालीमा रहेको चुहावट नियन्त्रण गर्न, लामो समयदेखि रोकिएका आयोजना तत्काल सम्पन्न गर्ने वातावरण बनाउन आग्रह गरेका छन् । सरकारले एकाध वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धिको लक्ष्य निर्धारण गरेको भन्दै त्यसको आधार ऊर्जा नै भएकाले इमान्दार भएर काम गर्न प्राधिकरणका कार्यकारी निर्देशकलगायत सबै कर्मचारीलाई मन्त्री पुनले निर्देशन दिए । उनले भने, “लामो समयदेखि कुलेखानी तेस्रो निर्माण सम्पन्न हुन सकेको छैन । माथिल्लो त्रिशूली ‘ए’ आयोजनाको अवस्था उस्तै छ । माथिल्लो तामाकोशी आयोजनासमेत लयमा छैन भन्ने सुनेको छु । अब कुनै पनि आयोजना रोकिनु हुँदैन । समयमा सकिनु पर्छ ।” मन्त्री पुनले ऊर्जामा नेपाललाई आत्मनिर्भर बनाउन पनि जलविद्युत् क्षेत्रमा विशेष लगानी जरुरी रहेको स्पष्ट पारेका छन् । पेट्रोलियम पदार्थ आयातमा मात्रै वर्षेनी एक खर्ब रुपैयाँ राबर विदेशिने गरेको तथ्यांक पेश गर्दै उनले नेपाली जनताको चुलोसम्म प्रभाव पर्ने विषयमा गम्भीर भएर काम गर्नुपर्नेमा जोड दिए । मन्त्री पुनले भने, “वर्षेनी रु एक खर्ब बराबरको पेट्रोलियम पदार्थ आयातमात्रै रोक्न सकियो भने मात्रै पनि व्यापार घाटा कम गर्न सकिन्छ ।” दोहोरो अंकको आर्थिक वृद्धिका लागि ऊर्जा क्षेत्रको महत्वपूर्ण योगदान हुने भएकाले सरकारले यसमा विशेष कार्ययोजनाका साथ लगानी गर्ने र प्राथमिकता दिने उनले बताए । राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो काम गर्नेलाई दण्ड दिने प्रणालीको विकास गरिने उल्लेख गर्दै मन्त्री पुनले सरकारको भावना, जनताको आवश्यकता र चाहनालाई केन्द्रमा राखेर काम गर्न आग्रह गरेका छन्। बत्ती बालेरमात्रै समृद्धि नआउने भएकाले उनले ऊर्जाको विविधीकरण तथा प्रयोगको दायरासमेत बढाउनुपर्नेमा मन्त्री पुनको जोड थियो । उनले नेपाललाई समृद्ध र आर्थिक रुपमा सबल बनाउनका लागि महत्वपूर्ण भूमिका ऊर्जा क्षेत्रकै हुने भएकाले सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजनाका साथ काम गर्ने उनको कथन थियो । आगामी १० वर्षमा कम्तीमा पनि १० हजार मेगावाट विद्युत् उत्पादन गर्नैपर्ने बाध्यता रहेको भन्दै मन्त्री पुनले सबैको सकारात्मक र सार्थक प्रयत्नबाट मात्रै त्यो लक्ष्य हासिल हुने स्पष्ट पारेका छन् । कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत वर्षदेखि पूर्णरुपमा लागू भएको विद्युत्भार कटौतीले सकारात्मक प्रभाव पारेको भन्दै अब व्यवस्थित र विद्युत् विस्तार प्रणालीमा जोड दिनुपर्नेमा जोड दिए । उनले सरकारी र निजी क्षेत्रको सकारात्मक प्रयासका कारण मुलुकमा सकारात्मक परिणाम आएकाले आगामी दिनमा थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन् । रासस

हिमालयन फाइनान्सलाई पुनःसञ्चालनमा ल्याउन लिक्विडेटरले राष्ट्र बैंकमा योजना बुझाउँदै

काठमाडौं । खारेजीको प्रक्रियामा रहेको हिमालयन फाइनान्स लिमिटेडलाई पुनः सञ्चालनमा ल्याउन लिक्वडेटरले अवधारणपत्र (कन्सेप्ट पेपर) तयार पारेको छ ।  लिक्विडेटर सुजनकुमार काफ्लेको टिमले अवधारणापत्र तयार पारेर नेपाल राष्ट्र बैंकलाई बुझाउने भएको छ । अवधारणाअनुसार केन्द्रीय बैंकले सहमति दिए प्रक्रिया अघि बढ्ने छ । त्यसपछि पुँजीवृद्धिको योजना तयार पार्ने लिक्विडेटरले जानकारी दिएको छ । ठुला लगानीकर्ता (साहु)को भेलाले फाइनान्स सञ्चालन गर्नका लागि थप लगानी गर्न तयार भएपछि लिक्विडेटरले अवधारणापत्र तयारी थालेको हो । ठुला लगानीकर्ता फाइनान्स पुनः सञ्चालन गर्न राजी भएपनि सानाले मानेका छैनन् । लिक्विडेटरको कार्यालयले खारेजीमा परेको कम्पनीलाई दामासाही सम्बन्धि ऐनअनुसार पुनर्संरचना गरेर पुनःसञ्चालनमा ल्याउन सकिने प्रावधान रहेको भन्दै ठुला लगानीकर्ताको सहमतिमा फाइनान्सलाई पुनः सञ्चालनमा ल्याउने तयारी गरेको थियो । उसले यसअघि कार्यालयले लगानीकर्ता र निक्षेपकर्तासँग सुझाव मागिसकेको छ । राष्ट्र बैंकसँग छलफलपछि लिक्वडेटरको कार्यालयले फाइनान्सलाई पुनः सञ्चालनमा ल्याउने तयारी थालेको हो । हाल हिमालयको निक्षेप रकम फिर्ता र अन्य गरी संस्थाको दाइत्व ५० करोड रुपैयाँ छ । फाइनान्सको तरल र स्थिर सम्पत्ति गरी कुल २५ करोड रुपैयाँ दाइत्व भुक्तान गर्न नसकिने अवस्था देखिएपछि निक्षेपकर्ताको रकम सेयरमा परिणत गर्न योजना ल्याइएको हो । हाल संस्थाको पुँजी अहिले ५० करोड रुपैयाँ रहेको छ । निक्षेपकर्ताको रकम सेयरमा परिणत गर्न सकरात्मक भएको कार्यालयको भनाई छ । २५ करोड रुपैयाँ दाइत्वलाई सेयरमा परिणत गर्न सके फाइनान्स सञ्चालन गर्ने वातावरण बन्ने देखिएको लिक्विडेटरको ठहर छ । फाइनान्स कम्पनी सञ्चालन गर्न अहिले ८० करोड रुपैयाँ चुक्तापुँजी चाहिन्छ । वित्तीय संस्थाको अवस्था खराब भएपछि राष्ट्र बैंकले संकटग्रस्त घोषणा गरी खारेजीका लागि तत्कालिन पुनरावेदन हालको उच्च अदालतमा मुद्धा दायर गरेको थियो ।उसको निवेदनको सुनुवाई गर्दै पुनरावेदन अदालत पाटनले ०७२ असोज २१ गते दामासाही ऐनअनुसार लिक्विडेटर नियुक्त गरी खारेज प्रक्रिया अघि बढाउन आदेश दिएपछि हाल कार्यालयले खारेजीको काम गरिरहेको छ । वित्तीय अवस्था नाजुक भएपछि राष्ट्र बैंकले सन् २०१२ मा जुलाइमा खारेजी प्रक्रियामा लैजाने निर्णय गरेको थियो । कम्पनीको पुँजी पर्याप्तता अनुपात, खुद सम्पत्ति लगायत अन्य सुचक नियम भन्दा कमजोर भएपछि राष्ट्र बैंकले खारेजीको प्रक्रियामा लगेको हो । हिमालयको कुल सम्पत्ति १८ करोड रुपैयाँ रहेकोमा वित्तीय अवस्था खराब भएपछि दाइत्व बढेर ७३ करोड रुपैयाँ पुगेको थियो । फाइनान्सका पुर्वअध्यक्ष हिमालयभक्त प्रधानाङ लगायत १६७ जनालाई बैंकिङ कसुर ऐन अनुसार ५३ करोड २२ लाख ९० हजार रुपैयाँ दावी माग गरिएको छ । सन १९९४ मा स्थापना भएको फाइनान्सको चुक्तापुँजी १४ करोड रुपैयाँ छ । राष्ट्र बैंकले समस्याग्रस्तबाट मुक्त भएर पुनः वित्तीय कारोबार गरेका वित्तीय संस्थाले चुक्तापुँजी पुर्याउन २ वर्ष थप समय दिएको छ । केन्द्रीय बैंकले समस्याग्रस्तबाट मुक्त भई पुनः सञ्चालनमा आएका बैंक तथा वित्तीय संस्थाले आगामी वि.सं २०७६ असारसम्म चुक्तापुँजी पुर्याउन पर्ने व्यवस्था गरेको छ । यस्तै कर्जा, पुँजी र निक्षेप अनुपात (सीसीडी रेसियो)को विषयमा र प्राथमिकता प्राप्त र विपन्न क्षेत्रमा प्रवाह गर्न तोकिएको न्युनतम अनुपातमा औचित्य र आवश्यकताका आधार छुट दिने राष्ट्र बैंकले जनाएको छ । ११ वित्तीय संस्था समस्याग्रस्त घोषणा भएकोमा अरुण फाइनान्स लिमिटेड र जनरल फाइनान्स लिमिटेड नयाँ लगानीकर्ताको प्रवेश भई सञ्चालनमा आइसकेका छन् । यस्तै ९ मध्ये केही संस्था पनि नयाँ लगानीकर्ताबाट सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

सूर्या लाइफ इन्स्योरेन्सले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने, पायो बोर्डको अनुमति

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई चुक्ता पुँजीको १० बराबर ४ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो । कम्पनीले साविकका सेयरधनीलाई २८ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको २८ लाख ८७ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने छ । चुक्तापुँजी बढाउन कम्पनीले हकप्रद सेयर निष्कासन गर्न लागेको हो । आउँदो असारसम्म कम्पनीलाई चुक्तापूँजी बढाएर १ अर्ब रुपैयाँ पुर्याउन नियामक बीमा समितिले निर्देशन दिएको छ ।

एभरेष्ट बैंकको नयाँ शाखा विराटनगरमा, मुख्यमन्त्री राईद्धारा उद्घाटन

काठमाडौं । एभरेष्ट बैंकको थप नयाँ शाखा विराटनगरमा विस्तार भएको छ । उक्त शाखाको उद्घाटन सोमबार प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गरेका हुन् । कार्यक्रममा प्रदेश नं १ का गृह तथा कानुन मन्त्री हिक्मतकुमार कार्की, अर्थ तथा योजनामन्त्री इन्द्रबहादुर आङबो, बैंकका संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ, स्थानीय वाणिज्य संघका पदाधिकारीहरु, सुरक्षा निकायका प्रतिनिधिहरु, स्थानीय तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरु तथा बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति थियो । हाल यस बैंकले ८० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएम मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

कक्षा ९ र १० को १४ वटा विषयको पाठ्यक्रम परिवर्तन हुने

काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ र १० को पाठ्यक्रममा परिवर्तन गर्ने भएको छ । विद्यालय तहको शिक्षालाई व्यावहारिक र कानुनसम्मत बनाउन केन्द्रले कक्षा ९ र १० कोे १४ वटा विषयको पाठ्यक्रम परिवर्तन गर्न लागेको हो । भुगोल, इतिहास, नागरिकशास्त्र, समाजशास्त्र, कम्प्युटर विज्ञान, वातावरण विज्ञान, मैथली, फोटोग्राफ्री, चित्रकला, शिक्षा, लेखापरीक्षण, पत्रकारिता, जनसंख्या, स्वास्थ्य शारीरिक विषयका पाठ्यक्रम परिवर्तन हुने भएका हुन । केन्द्रका सुचना अधिकारी खुविराम अधिकारीले समय परिवर्तनसँगै पाठ्यक्रम परिवर्तन आवश्यक भएको बताए । उनले प्रत्येक १० वर्षमा पाठ्यक्रम परिमार्जन गरिएको बताउदै सोहीअनुसार १४ वटा ऐच्छिक विषयहरु परिमार्जन गर्न लागिएको हो । २०७६ सालमा कक्षा ९ मा १४ वटा विषयहरु लागु हुने गरी परिमार्जन हुनेछ । २०७७ सालमा कक्षा १० को १४ वटा ऐच्छिक विषयहरु लागु हुने गरि परिमार्जन हुने छ । शिक्षा ऐन २०२८ को ८ आैैं संशोधन पछि कक्षा ११ र १२ को पनि पाठ्यक्रम विकास केन्द्रले नै पाठ्यक्रम परिमार्जन गर्ने समेत अधिकारीले बताए ।  

बजारमा आयो एपिकल वाउ पपकर्न, पहिलो पटक चिज, बटर र क्यारामेलको स्वादमा

काठमाडौं । पहिलो पटक विभिन्न फ्लेबरमा वाउ पपकर्नको सफ्ट लन्च भएको छ । पपकर्न(भुटेको मकै) लाई उपभोक्ताको रुचिअनुसार भ्यालुएड तथा बजारिकरण गर्दै क्रफ्ट फुड प्रालिले विभिन्न फ्लेबर तथा आइटममा एपिकल वाउ पपर्कन बजारमा सार्वजनिक गरेको हो । राजधानी स्थित भृकुटीमण्डमा सञ्चालन भएको मेड इन नेपाल वस्तु तथा सेवा प्रदर्शनीको अबसर पारेर कम्पनीले उक्त पपकर्न बजारमा सार्वजनिक गरेको थियो । कम्पनीका कार्यकारी निर्देशक सुभाकर मानन्धरले स्वदेशी कम्पनीले पहिलो पटक नेपाली बजारमा विभिन्न फ्लेबरको पपकर्न ल्याएको बताए । तत्काल सफ्ट लन्च गरेतापनि हप्तादिन भित्रै व्यवसायीक रुपमा बजारमा लैजाने तयारी गरेको उनको भनाइ छ । ‘स्वदेशी उत्पादको रुपमा बजारमा सामान्य पपकर्न मात्र उपलब्ध हुदै आएकोमा हामीले विभिन्न फ्लेबरमा भ्यालुएड गरी उपलब्ध गराएका हौं,’ उनले भने ‘साथै हाम्रो उत्पादन अमेरिकन प्रविधियुक्त रहेको छ ।’ बालाजु औद्योगिक क्षेत्रमा रहेको उक्त कम्पनीले चिज, बटर, क्यारामेल, चिज र क्यारामेल लगायतको सिंगल र मिक्स फ्लेबरमा पपकर्नको भेराइटी उत्पादन सुरु भएकोे छ । कम्पनीका अनुसार २० रूपैयाँको प्याकेट, ३० र ५० रुपैयाँको प्याकेटमा उक्त पपकर्न उपलब्ध छ । ‘विभिन्न डिपार्टमेन्ट स्टोरहरुमा तातो भाडामा राखि खुल्ला रुपमा समेत पपकर्न बिक्री गर्दै आएका छौं,’ कार्यकारी निर्देशक मानन्धरले भने ‘जसबाट उपभोक्ताहरुले आवश्यकता अनुसारको परिमाणमा पपकर्न किन्न सक्नेछन् ।’ उनले मुलुकको विभिन्न खाद्य मापदण्डअनुसार पपकर्न उत्पादन गरेको दावी गर्दै उत्पादनको सुरुवात चरणमै उपभोक्ताहरुबाट राम्रो प्रतिक्रिया आइरहेको जानकारी दिए ।