विकासन्युज

उच्चशिक्षा अध्ययनका लागि कलेज जाने दिन गए, घरमै बसेर अध्ययन गर्न खुल्यो नेपाल खुला विश्वविद्यालय

काठमाडौं । तपाई सधै कलेज गएर उच्चशिक्षा लिइरहनु भएको छ ? तपाईले उच्चशिक्षा लिनका लागि कलेज जान समय दिन सक्नु भएको छैन वा कलेज जान झण्झट मानिरहनु भएको छ ? अब चिन्ता नलिनुस अब यस्ता दिन सकिएका छन् । नेपालमा पनि कलेज नगइ उच्चशिक्षा अध्ययन गर्न सकिने भएको छ । यसका लागि नेपाल खुला विश्वविद्यालय सञ्चालनमा आएको छ । एक महिनापछि नेपालमा खुल्ला विश्वविद्यालयमा पढाई सुरु हुने भएको छ । घरमै बसेर इन्टरनेटको सहायताले पढ्न र तोकेको परीक्षा केन्द्रमा गएर परीक्षा दिन सकिने गरी खुल्ला विश्वबिद्यालय सञ्चालन हुन लागेको हो । अहिले नेपालमा नौ वटा विश्वविद्यालयमा उच्च शिक्षाको अध्ययापन हुने गरेको छ । खुला नेपालको १० औं विश्वविद्यालय हो । विदेशमा रहेको यस्तो विश्वविद्यालय अवधारणा नेपालमा पनि सञ्चालनमा आएको छ । त्रिभुवन विश्वविद्यालयको लिने शुल्कमै खुला विश्वविद्यालयमा उच्च शिक्षा अध्ययन गर्न पाइनेछ । विश्वविद्यालयले शैक्षिक शत्र ०७४/०७५ का लागि सेमेष्टर प्रणालीका लागि स्नातकोत्तर र मास्टर्स इन फिलोसफी (एमफील) सम्म कलेज नगइ अध्ययन गर्न सकिनेछ । विश्वविद्यालयले पहिलो चरणमा समाजशास्त्र तथा शिक्षा र विज्ञान स्वास्थ्य तथा प्रविधी संकायमा स्नातकोत्तरसम्मका लागि भर्ना खुलाएको छ । सामाजिक तथा शिक्षा संकायअन्तर्गत डेढ वर्षका लागि अर्थशास्त्र, समाजशास्त्र र राजनीतिकशास्त्रका लागि एमफीलका लागि भर्ना खुलाएको छ । शिक्षातर्फ नेपाली, अंग्रेजी, स्वस्थ्य, शिक्षा, सामाजिक विज्ञान र गणितका लागि एमफीलका लागि भर्ना खुलाएको विश्वविद्यालयले जनाएको छ । यस्तै पोस्टग्राजुयट डिप्लोमा इन डिस्ट्यान्स एन्ड ई लर्निङ र डिप्लोमा इन लाइब्रेअरी एन्ड इन्फरमेशन म्यानेजमेन्टको एक वर्षे कोर्सका लागि पनि भर्ना खुलेको छ । विज्ञान संकयातर्फ आईसीटीमा एमफील र मास्टर्स इन ई गभरनेन्स दुई वर्षे कार्यकालका लागि भर्न खुला गरेको हो । विश्वविद्यालयले त्रिभुवनको भन्दा नयाँ कोर्ष सञ्चालनमा ल्याएको छ । यी संकायका लागि विश्वविद्यालयले चैत २१ गतेसम्म भर्ना खुलाएको विश्वविद्यालयका ईलनिङ्गं तथा सूचना प्रविधि विज्ञ पदमराज पन्तले बताए । उनकाअनुसार त्यसपछि पढाई सुरु हुने छ । यसरी हुनेछ अध्ययन भर्ना भएपछि विश्वविद्यलयले विद्यार्थीलाई युजर नेम र पासपोर्ट दिन्छ । त्यसमा फेसबुका म्यासेजमा जसरी नै पढाईको जानकारी लिन र नबुझेका कुरा सोधन सकिन्छ । विद्यार्थीले आफ्नो विषयकोमात्र यसबाट जानकारी लिन पाउछन् । अनलाइन कक्षामा यतिनै राख्ने भनेर एकिन भएको छैन यसका बारेमा छलफल भैरहेको पन्तले जानकारी दिए । सातै वटा प्रदेशकमा केही समय पछि संचालमा आउने उनले बताए । नेपालीलाई मात्र भर्ना खुलाउने पछि जुसुकै स्थानबाट पनि अध्यन गर्न र परीक्षामा भाग लिन सक्ने तरीकाले संचालन गर्ने छौ । यस विश्वविद्यालय अरु विश्वविद्यालय भन्दा अझ बढि प्रभाबकारी हुने समेत पन्तले बताए । उनले भने त्रिभुवन विश्वविद्यालयमा स्नातक गरेकाले खुल्ला विश्वविद्यालय स्नातकोत्तर गर्न पाउँने र खुल्ला विश्वविद्यालयमा स्नातक गरेकाल त्रिभुवन विश्वविद्यालयमा पनि स्नातकोत्तर गर्न पाउँने छन् । खुल्ला विश्वविद्यालयमा त्रिभुवन विश्वविद्यालयको भन्दा सकेसम्म कम वा त्यस बराबर हुने छ । अध्यनका लागि त्रिभुवन विश्वविद्यालय र खुल्ला विश्वविद्यालयको समय बराबर हुने छ ।  

२७ वर्षमा नागरिक लगानी कोषको मौज्दात खर्ब नाघ्यो

काठमाडौं । नागरिक लगानी कोषले २७ वर्षमा खुद मौज्दात १ खर्ब ४६ अर्ब पुर्याएको छ । विसं २०४७ साल चैत ४ गते स्थापना भएको कोषले वार्षिक मौज्दातमा २० प्रतिशत वृद्धि गरेको हो । नागरिक लगानी कोषले २८ औं वर्ष प्रवेशको अवसरमा सो तथ्यांक सार्वानिक गरेको हो । कोषले हाल ११ प्रकारका परियोजनाहरु सञ्चालन गर्दै आएका छन् । जसमा सरकारको ऋणपत्र, शेयर पुँजी, परियोजना कर्जा, ‘क’ श्रेणीका बैंकहरुमा निश्चित अवधिको मुद्धती निक्षेपमा लगानी इत्यादी रहेका छन् । कोषको अनुसार गत आर्थिक वर्षको पुष मसान्त सम्ममा कोषको रकम ८५ अर्ब २६ करोड रुपैंया रहेको थियो । जुन रकम ८.४७ प्रतिशत बढी हो । चालु आर्थिक वर्षको पुस मसान्तसम्म कोषको कर्मचारी बचत वृद्धि अवकास कोषमा ६९ अर्ब ४४ करोड ३० लाख रुपैंया जम्मा भएको छ । अघिल्लो वर्षको सोहि अवधिमा ५७ अर्ब ४२ करोड ६६ लाख रुपैंया रहेको थियो । त्यसैगरी उपदानको योजनामा सञ्चित रकम १५ अर्ब १७ करोड ४१ लाख रुपैंया पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिमा १२ अर्ब ३५ करोड ५ लाख रुपैंया रहेको थियो । अन्य परियोजना अन्तर्गत लगानी कर्ताको हिसाबमा आव ०७३ ७४ को पुस मसान्तमा यो रकम २ अर्ब ८३ करोड ९६ लाख रहेकोमा चालू आवको पुस मसान्तसम्म ३ अर्ब ६३ करोड ६३ लाख रुपैंया रहेको छ । निजामती बिमातर्फ चालू आवको ६ महिने अवधिमा ४ अर्ब ७१ करोड ३३ लाख जम्मा भएको नागरिक लगानी कोषले जनाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा ४ अर्ब ३९ करोड ५० लाख रुपैंया रहेको थियो । यस्तै कोषले नेपाल सरकारको ऋणपत्रमा १ अर्ब ८० करोड ९३ लाख रुपैंया लगानी गरेको छ । कोषले समकालिन कर्जामा ८ अर्ब ३८ करोड ९० लाख रुपैंया लगानी गरेको छ । कोषले कर्जातर्फ १५ अर्ब ११ करोड २ लाख रुपैंया लगानीमा गरेको छ । ७७ जिल्लाका ४८ हजार भन्दा बढी सरकारी एवंम गैरसरकारी संस्थाहरु मार्फत ६ लाख भन्दा बढी सेवाग्राहीहरुलाई कोषले सेवा दिइरहेको छ ।      

९०० मेगावाटको अरुण तेस्रो बनाउन भारतको एसजेवीएनलाई लाइसेन्स दिन सरकारको तयारी, ३५ दिनपछि पाउने

काठमाडौं । सरकारले भारतीय कम्पनीलाई ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाबाट बिजुली उत्पादन गर्न अनुमति (लाइसेन्स) दिन लागेको छ । प्रवद्र्धक एसजेवीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनी प्राइभेट लिमिटेडलाई विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) दिन प्रक्रिया अघि बढाएको छ । लगानी बोर्डले एसजेवीएनलाई विद्युत उत्पादनको लाइसेन्स दिनका लागि सार्वजनिक सुचना प्रकाशित गरेको छ । सूचना प्रकाशित भएको ३५ दिनपछि एसजेवीएनले अरुण तेस्रोबाट बिजुली उत्पादन लाइसेन्स पाउने छ । एसजेवीएनले आयोजनाको निर्माणको काम थालेको छ ।लगानी बोर्डको २९ औं सञ्चालक समिति बैठकले लाइसेन्सको प्रक्रिया अघि बढाउन निर्देशन दिएपछि काम अघि बढेको हो ।   एसजेवीएनले आउँदो ५ वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ । भारत सरकार स्वामित्वको एसजेविएनले आउँदो २०७९ असोजसम्म अर्थात सन् २०२२ को सेप्टेम्वरमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ ।आयोजनाको बाँध निर्माण काम शुरु भइसकेको एसजेवीएनका प्रमुख कार्र्यकारी अधिकृत (सीईओ) सतिशकुमार शर्माले जानकारी दिएका छन् । उनले यो महिनामा विद्युतगृह निर्माणको ठेक्का सम्झौता हुने बताए । शर्माकाअनुसार अर्को महिना हाइड्रोमेकानिकल, इलोक्ट्रोमेकानिकलको ठेक्कापट्टाको काम सकिने छ । आयोजना निर्धारित समयमा सम्पन्न हुने उनले जानकारी दिए । ४ लटमा आयोजनाको काम हुनेछ । भारत निकासीका लागि निर्माण हुन लागेको आयोजना निर्माण गर्न १ खर्ब १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कुल लगानी मध्ये १ खर्ब ४ अर्ब विद्युत उत्पादन संरचना र ११ अर्ब रुपैयाँ प्रसारणलाइन बनाउन लगानी हुने छ । आयोजनाबाट वार्षिक २१.९ प्रतिशत अर्थात १९७ मेगावाट बिजुली नेपालले निःशुल्क पाउने छ । अरुण तेस्रोबाट नेपालले वार्षिक ८६ करोड युनिट बिजुली सित्तैमा पाउनेछ । आयोजना प्रभावित स्थानियबासिन्दालाई १ अर्ब ६० करोड रुपैयाँको सेयर वितरण र मासिक ३० युनिट बिजुली निःशुल्क दिने छ । निर्माण अवधी बाहेक आयोजनाको अवधि २५ वर्ष रहेको छ । प्रभावित ६ गाविसमा एसजेवीएनले निःशुल्क विद्युतीकरण गर्नेछ । यस्तै आयोजनामा नेपाली बैंकले पनि ऋण लगानी गर्ने भएका छन् । एभरेष्ट बैंकले अरुण तेस्रो जलविद्युत आयोजनामा ऋण लगानी गर्ने भएको छ । एभरेष्टले ३ अर्ब ६० करोड रुपैयाँ अर्थात २ अर्ब २५ करोड भारु अरुण तेस्रोमा ऋण लगानी गर्ने भएको हो । एभरेष्ट र आयोजनाको प्रवद्र्धक एसजेविएन बीच ऋण लगानी सम्झौता भएको छ । एभरेष्टले संखुवासभाको दिर्दिङदेखि धनुषाको ढल्केबरसम्म ४ सय केभी क्षमताको १६८ किलोमिटर लामो प्रसारणलाइन बनाउन ऋण लगानी गर्ने सम्झौता गरेको छ । यो प्रसारणलाइनका लागि पञ्जाव नेसनल बैंकसँग पनि ८ अर्ब रुपैयाँ अर्थात ५ अर्ब भारु ऋण लगानी गर्ने सम्झौता भएको छ । यस्तै नेपाली बैंकबाट थप ४ अर्ब ६ करोड रुपैयाँ ब्रिजलोन लिने छ । यसका लागि नेपाली बैंकसँग प्रस्ताव मागिसकेको छ । भारत सरकारले अरुण तेस्रोमा ९२ अर्ब रुपैयाँ लगानी गर्न एसजेवीएनलाई स्वीकृत दिइसकेको छ । विद्युत उत्पादनका लागि उक्त रकम लगानी गर्ने तयारी एसजेवीएनको छ । विद्युत उत्पादन प्याकेजका लागि भारतको पावर फाइनान्स कर्पोेरेशन र अन्य बैंकसँग छलफल चलिरहेको उनले जानकारी दिए । आयोजनाको बाँध र डाइभर्सन सुरुङ संरचना निर्माणको ठेक्का भारतको जयप्रकाश एसोसियट्स (जेपी) लिमिटेडले पाएको छ । प्याकेज १ अन्र्तगत आयोजनाको बाँध र ३ किलोमिटर लामो डाइभर्सन सुरुङ निर्माणलगायत संरचना बनाउने जेपीले ठेक्का पाएको हो । प्रवद्र्धक एसजेवीएन र जेपीबीच नयाँदिल्लीमा ठेक्का सम्झौता भएको छ । पहिलो प्याकेजको काम १८ अर्ब रुपैयाँमा सक्ने गरी सम्झौता भएको छ । प्याकेज २ अन्र्तगत विद्युतगृह निर्माणका लागि पनि बोलपत्र आब्हान गरिएको छ । यसको पनि यो महिनाभित्र ठेकेदार छनोट हुने तयारीमा छ । जसअनुसार दोस्रो प्याकेजमा विद्युतगृह र ८ किलोमिटर लामो सुरुङ निर्माण, तेस्रो प्याकेजमा इलेक्ट्रोमेकानिकल र चौथो प्याकेजमा हाइड्रोमेकानिकल र प्रसारणलाइनको अन्र्तगत काम हुने भएको छ । सबै प्याकेजको ठेक्काको काम भइरहेको छ । भारत निकासीका आयोजना बन्न लागेको हो । आगामी २५ वर्षका लागि एसजेभीएनले अरुणको विद्युत् उत्पादन अनुमतिपत्र (लाइसेन्स) पाउनेछ । प्रतिस्पर्धाबाट सबैभन्दा बढी बिजुली दिने प्रस्ताव गरेपछि सतलजले सन् २००८ मा यो आयोजना पाएको हो । आयोजना संखुवासभा र भोजपुर जिल्लाको सिमाना भएर बग्ने अरुण नदीमा पर्छ । बाँध नुम र पाथिभरा तथा विद्युत्गृह दिर्दिङ गाविसमा पर्छ । बाँधबाट विद्युतगृहसम्म ११ किलोमिटर लामो सुरुङ खन्नु पर्नेछ ।

भृकुटीमण्डपमा सुरु भयो जुत्ता चप्पल मेला, २३ ब्राण्ड सहभागि

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जुत्ता चप्पल मेला सुरु भएको छ । नेपालका विभिन्न जुत्ताचप्पलका २३ वटा ब्राण्डहरुको सहभागिता रहेको छ । फुटवेयर मेनुफ्याक्चर एसोसिएसनले नेपाली जुत्ताघरसँग मिलेर उक्त मेला आयोजना गरेको हो । ‘मेलामा सोलको मूल्यमा जुत्ता चप्पल उपलब्ध गराइरहेका छौं,’ शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईंले भने । मेलामा असामान्य मूल्यमा जुत्ता चप्पल बिक्री भइरहेको उनको भनाइ छ । मेलामा १ सय रुपैयाँदेखि १० हजार रुपैयाँसम्मका जुत्ताचप्पल उपलब्ध छन् । अधिकांश जुत्ता चप्पल उत्पादकलाई एउटै छानामुनि समेटिएको छ । जसमा शिखर, रन, हाइलाइफ, विएफडियर हिल लगायत २३ वटा ब्राण्डका जुत्ताचप्पल उपलब्ध छन् । स्वदेशी जुत्ताचप्पलका सेल मेला कहिलेकाँही हुने गर्छ ।  पहिलो यस्तो मेला आयोजना नभएको र सुरु भएको सो मेला विगतकोभन्दा ठूलो रहेको जुत्ताघरका अध्यक्ष होमनाथ उपाध्यायको दावी छ । मेलामा विभिन्न भेराइटीजका दर्जनौ जुत्ताचप्पलहरु राखिएको छ । ३ हजारभन्दा बढी मोडलका जुत्ताचप्पल रहेको आयोजकको भनाइ छ ।  प्रदर्शनीमा स्वदेशी छाला जुत्ताका साथै छालाका विभिन्न वस्तु उत्पादकको समेत राखिएको छ ।  

यति एयरको जहाज जोगियो दुर्घनाहुनबाट

काठमाडौं । यति एयरको जहाज भैरवा स्थित गौतमवुद्ध विमानस्थलमा ठूलो दुर्घटना हुनबाट जोगिएको छ । काठमाडौंबाट भैरहवाका लागि उडेको यति एयरको जहाज अवतरणका क्रममा चक्का ‘जाम’ हुँदा रनवेमा रोकिएको थियो । बेलुका करिब ५ बजे भैरहवा विमानस्थलमा अवतरण गर्ने क्रममा चक्का ‘जाम’ भएको हाे। जहाज अवतरण हुने क्रममा चक्का जाम भएर रोकिएको थियो । काठमाडौंबाट प्राविधिक टाेली पुगेपछि मात्रै रनवेमा रहेको जहाज मर्मत गरिने बताइएको छ । विमानमा २६ यात्रु सवार थिए । सबै सकुशल रहेको जनााइएको छ । विमानस्थल भने अहिले बन्द गरिएको छ ।

खेलमार्फत ‘टिम नेपाल’लाई हौसाला

काठमाडौं । मे १०, २०१८ मा रसियाको मस्कोमा आयोजना हुन गईरहेको १८ वर्ष मुनिका फुटबल खेलाडीहरुबीच हुन लागेको सडक बालबालिकाहरुको ‘स्ट्रीट चिल्ड्रेन वल्ड कप–२०१८’ मा नेपाल २२ वटा देशहरु मध्ये छनोटमा परेको छ । उक्त नेपालको प्रतिनिधि टिम ‘टिम नेपालका’ प्रतियोगीहरुको हौसला बढाउन सन्राइज बैंकले बैंकका कर्मचारीहरु र टिम नेपालका प्रतियोगीहरुबीच मैत्रीपूर्ण खेल सातदोबाटो स्थित एन्फाको खेल मैदानमा सम्पन्न गरेको छ । सडक बालबालिकाहरुलाई उचित तालिम र अन्य सहयोग शेल्टर आश्रय नेपाल नामक गैर सरकारी संस्थाले पुर्याउदै आएको छ । बैंकका अनुसार उक्त मैत्रीपूर्ण खेलमा नेपालको प्रतिनिधि गर्ने टिम नेपाल ६–० को अन्तरले बिजयी भएको छ ।  

एनआइसी एशिया बैंकको मलेसियाबाट इनवार्ड रेमिटेन्स शुरु

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले म्याक्स मनी एसडीएन बीएचडीसँगको सहकार्यमा मलेसियाबाट इनवार्ड रेमिटेन्सको सुरुवात गर्न लागेको छ । बैंकले यस सम्बन्धमा म्याक्स मनि मलेसियासँग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिई मलेसियाबाट इनवार्ड रेमिटेन्स शुरु गर्न लागेको हो । राष्ट्र बैंकले यस बैंकलाई गत फागुन २७ गते उक्त सेवा शुरु गर्न स्वीकृति दिएको थियो । उक्त सम्झौता अनुसार म्याक्स मनी एसडीएन बीएचडीको मलेसियामा रहेका सम्पूर्ण शाखाबाट नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने छन् । साथै, एनआइसी एशिया रेमिट मार्फत पठाएको विप्रेषण रकम यस बैंकको सञ्चालमा आएका सम्पूर्ण शाखा तथा सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने कम्पनीले जनाएको छ ।

तारा एयरले सगरमाथा क्षेत्र सर-सफाईका लागि १०० टन फोहोर एयरलिफ्ट गर्ने

लुक्ला । यती एअरलाईन्स–तारा एयरले २०१८ मा सगरमाथा क्षेत्रबाट काठमाडौंमा रिसाइकल गर्न प्राकृतिक रुपमा नष्ट नहुने १०० टन फोहोर मैला एयरलिफ्ट गर्ने प्रक्रिया औपचारिक रुपमा सुरुवात गरेको छ । एयरले खुम्बु: पासाङ ग्रामिण नगरपालिका, सगरमाथा प्रदूषण नियन्त्रण समिति, हिमालय क्लव र संयुक्त राष्ट्र विकास कार्यक्रमसँगको साझेदारीमा उक्त काम गर्न लागेको हो । एअरलाइन्सले शनिवार लुक्ला एयरपोर्टमा एक कार्यक्रम आयोजना गरेर पहिलो पटक उडान भर्दै आफ्नो सफाई अभियानको सुरुवात गरेको हो । एअरलाइन्सले सगरमाथा क्षेत्रका विभिन्न सङ्कलन केन्द्रहरूमा जम्मा भएका फोहोर मैलाको मात्रा र तिनलाई व्यवस्थित गर्न तोकिएको एक निश्चित समयको जानकारी सार्वजनिक गरेको थियो । सो दिन लगभग ५००० किलो फोहोर त्यही दिन एयरलिफ्ट गरिएको थियो । यती एअरलाइन्स–तारा एअरले विशेषतः जिम्मेवार खपत र उत्पादन (एसडीजी १२), जलवायु परिवर्तन (एसडीजी १३), जैविक विविधताको खपत (एसडीजी १५) र साझेदारी (एसडीजी १७) सम्बन्धित दिगो विकास लक्ष्य (एसडीजी) प्रतिकोआफ्नो प्रतिवद्धताको रूपमा सगरमाथा क्षेत्रबाट २०१८ मा १०० टन फोहोर हटाउने महत्वाकांक्षी उद्देश्य तय गरेको हो । सङ्कलन गरिएका फोहोर रिसाइकल गर्न काठमाडौं पुर्याइनेछ । एसपिसिसिसँगको सम्झौता अन्तर्गत सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) नामक एक स्थानीय पर्यावरणीय संरक्षण सङ्गठन र हिमालय क्लब लुक्लाले सगरमाथा क्षेत्रमा फोहोर सङ्कलनका लागि समन्वय गर्दछन् भने ब्लू वेस्ट टुभ्यालु, काठमाडौंको एक रिसाइक्लिङ कम्पनीले त्यस फोहोर रिसाइकल गर्दछ । सङ्कलन भएका फोहोरमा प्रायः बियरका खाली बोतल र क्यान, खाली खाद्म सामाग्रीका टिन र ट्रेकिङका उपकरणहरु रहेका छन् । यती एअरलाईन्स–तारा एअरका प्रमुख कार्यकारी अधिकृत उमेशचन्द्र राईले यस्तो सहयोगी प्रयासहरूले हाम्रो ग्रहको दुर्वल प्राकृतिक अवस्थाको सुरक्षामा सफलताको लागि नेतृत्व गर्नेछ र भावी पिडीहरूले त्यसको आनन्द उठाउँने बताएका छन् । लुक्लाबाट काठमाडौं फोहोर एयरलिफ्ट गर्ने यस कार्य एक बहुमूल्य सहयोगको रूपमा देखिएको खुम्बु पासाङ ल्हामु ग्रामीण नगरपालिकाका अध्यक्ष तथा एसपीपीसीका उपसभापति निम दोर्जी शेर्पाले बताए । यस्ता गतिविधिहरूले नैतिक र जिम्मेवार व्यवसाय संस्कृतिको प्रचार गर्न मद्दत गर्नेछ, जसले अन्ततः दिगो विकास लक्ष्य प्राप्त गर्न योगदान पुर्याउनेछ”, नेपालका लागि संयुक्त राष्ट्र संघका स्थानीय संयोजक तथा यूएनडीपीका स्थानीय प्रतिनिधि वालेरी जुलियानले भनिन् । “हामी व्यापारीक समुदायलाई एसडीजी प्रचार गर्ने हाम्रो प्रयासमा एक महत्वपूर्ण साझेदार मान्दछौं र देशको स्थायी विकासमा उनीहरूको सक्रिय संलग्नताको लागि प्रोत्साहित गर्दछौँ ।” यो अभियान एअरलाइनको २००८ देखि शुरु गरिएको सगरमाथा क्षेत्रमा फोहोर व्यवस्थापन र पर्यावरण जागरणप्रति केन्द्रित सीएसआर कार्यक्रमको निरन्तरता हो ।