विकासन्युज

एनसीसी बैंक डुवाउनेमाथि सीआईबीले लगाएको यस्ता छन् १२ आरोप

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकमा १ अर्ब ५० करोड ९६ लाख रुपैयाँ डुवाउनेमाथि एक दर्जन आरोप लगाएको छ । तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकहाल एनसीसीको सञ्चालक विष्णुप्रसाद धिताललगायत १३ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । कमसल धितो राखि करोडौ रुपैयाँ ऋण दिएको लगायत १२ आरोप छन् । पक्राउ परेको १३ जना तत्कालिन एपेक्स डेभलपमेन्टका अध्यक्ष, सञ्चालक, सीईओ र कर्मचारी संलग्न भएको आरोप लगाउदै बैंकिङ कसुरको अभियोग लगाएको छ ।

सञ्चय कोषमा व्यक्तिगत रुपमा पनि रकम जम्मा गर्न सकिने

काठमाडौं । कर्मचारी सञ्चय कोषले संस्थागत रुपमा काम नगर्नेलाई समेत व्यक्तिगत रुपमा कोष कट्टीको सुविधा दिने भएको छ ।कर्मचारी सञ्चय कोष ऐन, २०१९ को नवौँ संशोधनपछि कोषले अनौपचारिक क्षेत्रमा काम गर्नेलाई पनि कोष कट्टीको सुविधा दिन लागेको हो । कोषले वैदेशिक रोजगारीमा रहेकालाई समेत कोष जम्मा गर्ने सुविधा दिने तयारी गरेको कोषका कार्यवाहक प्रशासकीय प्रमुख दीपक रौनियारले जानकारी दिएका छन् । कोषले कोष वृद्धि गरेर सात खर्ब रुपैयाँ पुर्याउने तयारी गरेको छ । अनौपचारिक क्षेत्रमा काम गर्ने, स्वरोजगारमा रहेका तथा व्यक्तिगत रुपमा कुनै व्यापार तथा व्यवसायसमेत गर्नेलाई समेत कोष कट्टा गर्ने सुविधा दिन लागेको हो । सरकारले योगदानमा आधारित निवृत्तिभरण कार्यक्रम लागू गर्ने तयारी गरिरहेको सन्दर्भमा सो कार्यक्रमलाई समेत कोषमार्फत अगाडि बढाउन दिन आग्रह गरेको छ । कोषमा रकम जम्मा गर्दै आएका सञ्चयकर्तालाई थप सुविधा प्रदान गर्न सेवाको विविधीकरण गर्न लागिएको हो । “सेवालाई विस्तार तथा विविधीकरण गर्ने लक्ष्यका साथ कोषले आफ्ना कार्यक्रम विस्तार गर्न लागिएको हो”, कोषका कार्यवाहक प्रशासकीय अधिकृत रौनियारले भने, “हामी रोजगारीमा रहेका तथा नरहेका सबैलाई समेटेर सेवा विस्तार गर्न लागेका छौँ ।” वैदेशिक रोजगारीमा रहेका युवाले विदेशमा कमाएको रकम अनुत्पादक क्षेत्रमा खर्च भइरहेकाले वृद्धावस्थामा समेत सहज जीवनयापनका लागि सहयोग गर्ने लक्ष्यका साथ कोषले वैदेशिक रोजगार बचत कोष सञ्चालनमा ल्याउन लागेको हो । वैदेशिक रोजगारमा हालसम्म करिब ५० लाख युवा कार्यरत छन् । उनीहरुले स्वदेश पठाउने विप्रेषण अनौपचारिक क्षेत्रमा बढी खर्च भइरहेको र बचत गर्ने संस्कृतिसमेत नभएकाले नागरिकलाई थप सुविधासमेत दिन लागिएको हो । कोषका विभागीय प्रमुख अर्जुनकुमार गौतमले कोष कट्टी सेवालाई विस्तार गरेर व्यक्तिगत रुपमा पनि कोष कट्टी गर्ने र वैदेशिक रोजगारमा गएकालाई समेत सेवाको दायरामा ल्याउन पहल गरिएको हो । कोषको सञ्चालक समितिमा त्यससम्बन्धी प्रस्ताव पेश भइसकेको छ । सञ्चालक समितिले आवश्यक निर्णय गरेपछि स्वीकृतिका लागि अर्थ मन्त्रालय पठाइनेछ । नियमावलीसमेत अन्तिम अवस्थामा पुगेको जानकारी दिँदै विभागीय प्रमुख गौतमले रोजगारीमा रहेका, नरहेका तथा वैदेशिक रोजगारीमा रहेका सबैलाई एकमुष्ट रुपमा सेवा दिन लागिएको जानकारी दिएका छन् । कोषले सरकारी निजी एवं संगठित क्षेत्रका कर्मचारीको सञ्चय कोषको व्यवस्थापन गर्दै आएको छ । यस्तै स्वरोजगार र वैदेशिक कामदारका लागि कोष व्यवस्थापन गर्ने, सञ्चयकर्ताका लागि निवृत्तिभरण योजना र अन्य सामाजिक सुरक्षाका योजना सञ्चालन गर्ने जिम्मेवारी निर्वाह गर्दै आएको छ । कोषमा पछिल्लो दिनमा गैरसरकारी संस्था वा संगठित क्षेत्रका कोष कट्टी गर्दै आएको छ । कोषमा हाल सात लाखले कोष कट्टी गर्दै आएका छन् । कोषले विगत ५६ वर्षदेखि कोष कट्टीको सेवा दिँदै आएको छ । कोषले कुनै पनि संगठित संस्थामा न्यूनतम १० जनासम्म कर्मचारी कार्यरत रहेको अवस्थामा कोष कट्टी सेवा दिँदै आएको थियो । कोषमा हाल २ खर्ब ५५ अर्ब २९ करोड रुपैयाँ रहेको छ । आव २०७३/७४ को लेखा परीक्षणसमेत गरिसकेको छ । आव २०७२/७३ मा कोषमा दुई अर्ब २४ अर्ब ७० करोड रुपैयाँ रहेको थियो । यस्तै कोषले कूल दुई खर्ब ४९ अर्ब ३३ करोड लगानी गरेको छ । आव २०७२/७३ मा त्यस्तो लगानी दुई खर्ब १८ अर्ब ३६ करोड रहेको थियो । कोषले आव २०७३/७४ मा एक खर्ब ८९ अर्ब खुद मुनाफा गरेको छ । यस्तो मुनाफा २०७२/७३ मा एक खर्ब ५८ अर्ब रुपैयाँ रहेको थियो । कोषले नागरिक उड्डयन, जलविद्युत्जस्ता उत्पादनमूलक क्षेत्रमा लगानी गर्दै आएको छ । रासस

यी हुन् एनसीसी बैंक डुवाउने तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकका अध्यक्ष तथा कर्मचारी (नाम सहित)

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसुर गरेको अभियोगमा नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैकका १३ जना कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ परेका सबै तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकका कर्मचारी रहेको सीबीआईले जनाएको छ । तत्कालिन एपेक्स डेभलपमेन्टका अध्यक्ष विष्णुप्रसाद धिताल, सञ्चालक इच्छाबहादुर गुरुङ सुवर्णराज भण्डारी र मधुवनलाल श्रेष्ठलाई पक्राउ गरेको छ । यस्तै तत्कालिन एपेक्सका कामु प्रमुख कार्यकारी अधिकृत ऋषिराज भटट् सहित १३ जनालाई पक्राउ गरेको सीआईबीले जानकारी दिएको छ । ०७२ मंसिर २१ गते मर्जरमा जाने सहमतिपत्रमा हस्ताक्षर गरे पश्चात सोको फाइदा उठाउदै तत्कालिन एपेक्स डेभेलपमेन्ट बैंकले दरबार मार्ग , लोकन्थली, इटहरी, सुर्खेत र नेपालगञ्ज शाखाहरूबाट अनियमित प्रक्रियाबाट कर्जा प्रवाह गरी बैकलाई १ अर्ब ५० करोड ९६ लाख ३३ हजार ९८४ रुपैया हानीनोक्सानी पुर्याउने मध्येका १३ लाई शुक्रबार पक्राउ गरेको सीआईबीले जनाएको छ । विभिन्न स्थानबाट पक्राउ गरी बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान कार्य भैरहेको सीआईबीले जनाएको छ ।  

कैलाश विकास बैंक र सगरमाथा इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

काठमाडौं । कैलाश विकास बैंक लिमिटेड र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सम्झौता भएको छ । बैंकले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुले एकद्धार सेवा प्रणालीमार्फत निर्जिवनबीमा सेवा उपलब्ध गराउने उद्देश्यले शुक्रबार(आज) उक्त इन्स्योरेन्ससँग सम्झौता गरेको हो । उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठ र सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात सगरमाथा इन्स्योरेन्सका सम्पूर्ण शाखामार्फत कैलाश विकास बैंकका ग्राहकहरुले बैंकका जुनसुकै शाखाबाट सहज रुपमा बीमालेख प्राप्त गर्न, बीमा शुल्क भुक्तानी गर्न र दावी भुक्तानी प्राप्त गर्न सक्नेछन् । साथै, ग्राहकले सम्पुर्ण प्रकारको निर्जिवन बीमा सेवा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

एनसीसीमा शुक्रबार के भएको थियो ? यसरी पक्राउ परे सञ्चालक विष्णु धिताल

काठमाडौं । शुक्रबार बिहान ८ बजे चुक्तापुँजी ८ अर्ब रुपैयाँ कसरी पुर्याउने भन्ने विषयमा नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको सञ्चालक समिति बैठक बसेको थियो । बैंकका आधारभूत सेयरधनीले हकप्रद सेयरका लागि चैत ५ गतेभित्र पैसा बुझाई सक्नुपर्ने थियो । धितोपत्र बोर्डले हकप्रद सेयर निष्कासन र कम्पनी रजिष्टार कार्यलयबाट स्वीकृति नभइ हकप्रद सेयर नकिन्ने एनबी समूहका जीतबहादुर र लक्ष्मीबहादुर श्रेष्ठले अडान लिएपछि पुँजीवृद्धिमा समस्या आएपछि यसको निकास निकाल्न बैक सञ्चालकले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवि नेपालसंग भेट गर्ने निर्णय लिए । र, गभर्नर नेपालसंग बिहान सवा १० बजेको समय पनि लिइयो । छलफल गर्न बैंकका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेलगायत सबै सञ्चालक गभर्नर भेट्न नेपाल राष्ट्र बैंक पुगेका थिए । छलफलमा गभर्नरनका अतिरित बैंक नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल पनि सहभागी भएका थिए । आधा घण्टा भेटघाटपछि सञ्चालक राष्ट्र बैंकबाट बाहिरिएर राजधानीको कमलादीस्थित एक होटलमा खानाखान बसेका थिए । खाना खाएर छुट्ने वित्तिकै सीआईबीको टोलीले बैंकका सञ्चालक धिताललाई पक्राउ गरेको बैंकका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले जानकारी दिए । धिताल तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकका अध्यक्ष थिए ।  

मुआब्जा विवाद मिलेपछि ठेउलेखोला सञ्चालनमा, जग्गाधनीलार्इ ६० लाख दिने

बागलुङ । जैमिनी नगरपालिकास्थित ठेउलेखोला जलविद्युत् आयोजनाको मुआब्जा विवाद सुल्झेको छ । आयोजना व्यवस्थापन र प्रभावित क्षेत्रका जग्गाधनीबीच सहमति जुटेपछि आयोजनाको काम सञ्चालन भएको हो । जग्गाधनी खगेश्वर शर्माले मुआब्जा माग गर्दै अवरोध सिर्जना गरेपछि आयोजनाको काम प्रभावित भएको थियो । आयोजना व्यवस्थापनले शर्माले माग गरेअनुसारको मुआब्जा दिन नसकिने बताउँदै आएको थियो । शर्माले रु एक करोड पाँच लाख मुआब्जा माग गर्दै आएका थिए । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जैमिनी नगरपालिकाको रोहबरमा दुबै पक्षबीच सहमति जुटेको हो । सहमतिअनुसार शर्माले ६० लाख रुपैयाँ मुआब्जा पाउने भएका छन्। यस्तै आयोजना बनाउदा क्षति पुगेका संरचना निर्माणको काम पनि आयोजना व्यवस्थापनले गर्ने सहमतिमा उल्लेख छ । शर्माको चार रोपनी जग्गा आयोजनाबाट प्रभावित भएकामा दुई रोपनी ११ आना जग्गामा पाइपलाइन विछ्याइएको छ । मुआब्जा विवाद चर्कदैँ गएपछि जिल्ला प्रशासन कार्यालयले विवाद समाधानका लागि स्वतन्त्र समितिसमेत बनाएको थियो । सोही समितिले तयार गरेको क्षतिपूर्ति मूल्यांकन प्रतिवदेनका आधारमा मुआब्जा दिने निर्णय भएको हो । लामो प्रयासपछि विवाद मिलेको निर्माण कम्पनी बाराही हाइड्रोपावर लिमिटेडका अध्यक्ष एवं इञ्जिनियर सूर्यप्रसाद अधिकारीले बताए । सहमति लगत्तै आयोजनाको बाँकी काम शुरु भएको उनको भनाइ छ । “विवादित जग्गामा पाइपलाइन जोड्न बाँकी थियो ” अध्यक्ष अधिकारीले भन्नुभयो –“एक/दुई दिनमै काम सकेर परीक्षण उत्पादन शुरु गर्छौं । यही चैत १५ गतेदेखि आयोजनाबाट व्यावासियक विद्युत् उत्पादन शुरु हुने छ ।” जग्गाको मुआब्जा विवादका कारण फागुनभित्रै नियमित विद्युत् उत्पादन शुरु गर्ने तयारी प्रभावित भएको थियो । यसअघि निर्माण कम्पनीले आयोजनास्थलको ३२ रोपनी जग्गाको मुआब्जा ९२ लाख रुपैयाँ वितरण गरिसकेको छ । ३३ करोडको लागतमा बनेको साढे एक मेगावाटको आयोजनाले जिल्लाभरको एक तिहाई विद्युत् मागलाई धान्ने जनाइएको छ । नगरपालिका-१ कुश्मीसेरा र ४ सर्कुवास्थित ठेउलेखोलाको पानीलाई दुई हजार ७०० मिटरको ‘पेनस्टक’ पाइपमार्फत् वार्ड नं ५ बिनामारेस्थित विद्युत्गृहमा पुर्याइएको छ । आयोजनामा प्रभावित क्षेत्रका स्थानीयवासीको समेत १० प्रतिशत संस्थागत सेयर छ । रासस

मन्त्रिपरिषद् विस्तार हुँदै, मन्त्रालयको संख्या बढाएर २१ पुर्याउने तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्लाई पूर्णता दिँदै छन् । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले आज बाँकी सबै मन्त्री तोकिने जानकारी दिएका छन् । राष्ट्रपति कार्यालयले आज अपरान्ह ४ बजेका लागि शपथ ग्रहणको कार्यक्रम तय गरेको छ । सरकारलाई समर्थन गर्ने दलहरुलाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी भएको हो । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र संघीय समाजवादी फोरम नेपालबाट मन्त्रीहरु थप गरी सरकारलाई पूर्णता दिन लागिएको बताइएको छ । प्रधानमन्त्री ओलीले सरकारलाई पूर्णता दिनेबारेमा बिहीबार केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग परामर्श गरेका थिए । गत फागुन ३ मा ओली प्रधानमन्त्री नियुक्त भई सोही दिन पहिलो र फागुन १४ मा दोस्रो चरणको मन्त्रिपरिषद् विस्तार गरेका थिए । फोरम सरकारमा आउने भएपछि मन्त्रालयको संख्या बढाएर २१ सम्म बनाउने तयारी छ । यसअघि मन्त्रालयको संख्या १८ थियाे त्यसमा ३ थपेर २१ बनाउँन लागेकाे हाे । रासस

एनसीसी बैंकमा सीआईबीको छापा, सञ्चालकसहित कर्मचारी पक्राउ, १ अर्ब ५० करोड ९६ लाख कर्जाकाे दुरूपयाेग

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छापा मारेको छ । शुक्रबार राजधानीको कमलादीस्थित एक होटलमा खाना खाने बेलामा सीआईबीले  बैंकका सञ्चालक विष्णुप्रसाद धिताललाई पक्राउ गरेको हो । सञ्चालक धिताललाई पक्राउ गरे लगत्तै बैंकको कर्पाेरेट कार्यालय बागबजार पुगेको सीआईबीको टोलीले १३ जना कर्मचारीलाई समेत पक्राउ गरि आवश्यक कागजात नियन्त्रणमा लिएको थियो । सीआईबीले उनीहरुको विवरण अहिले सार्वजनिक गरेको छैन । शुक्रबार बिहान चुक्तापुँजी वृद्धिका लागि बैंक सञ्चालक राष्ट्र बैकमा पुगेका थिए ।  बैठक बसेपछि खानाखाने बेलामा सीआईबीले  हाेटलबाट पक्राउ गरेको हो । सीआईबी प्रमुख पुष्कर कार्कीले बैंकमा छापा मारेर कर्मचारीलाई नियन्त्रणमा लिएको बताउदै केही बेरमा सार्वजनिक गर्ने जानकारी दिए । यस सम्बन्धमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश अर्याललाई सम्पर्क गर्दा हुन सकेन । एपेक्स डेभलपमेन्ट बैंकको २ अर्ब रुपैयाँ कर्जा दुरुपयोग गरेको अभियोगमा सीआईबीले अनुसन्धान थालेको थियाे । खोला र बगरको जग्गा धितो राखेर नक्कली ऋणी श्रृजना गरेर एपेक्सका तत्कालिन अध्यक्ष विष्णुप्रसाद धितालले व्यवस्थापनसँग मिलेर कर्जाको दुरुपयोग गरेको आरोप लाग्दै आएको छ । एनसीसी बैंकमा एपेक्स डेभलपमेन्ट बैंक मर्ज भइसकेको छ । एपेक्सको झण्डै १ अर्ब ५२ करोड रुपैयाँ कर्जा उठ्न नसक्ने देखिएपछि नेपाल राष्ट्र बैंकले कर्जा नोक्सानीको व्यवस्था (प्रोभिजन) गर्न निर्देशन दिएको थियो । राष्ट्र बैंकले छानविन गर्न सीआईबीमा विवरण पठाएपछि उसले अनुसन्धान थालेको हो । कमसल धितोमा ऋण दिएको  २ अर्ब रुपैयाँमध्ये ४८ करोड रुपैयाँ फिर्ता भइसकेको छ ।