विकासन्युज

रक्सी खाएर सवारी चलाउने १५ लाख जना भन्दा बढी चालक कारवाहीमा

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मादक पदार्थ सेवन (मापसे)गरी सवारी चलाउने १५ लाख आठ हजार ५०९ जनालाई कारबाही गरेको छ । महाशाखाले विसं २०६९ मंसिर २२ गतेदेखि हालसम्म उपत्यकामा विभिन्न समयमा मापसे गरी सवारी चलाउने चालकलाई कारबाही गरेको हो । जसमध्ये पहिलोपटक १२ लाख ३४९, दोस्रो २५ हजार ४६१, तेस्रो आठ हजार ३४१, चौंथो दुई हजार ९२६ र पाँर्चा पटक एक हजार ४९ चालक कारबाहीमा परेका छन् । जसमध्ये ३८३ चालक निलम्बनमा परेका छन् । एउटै चालकले पाँच पटकसम्म मापसे गरेर छैँटो पटक पनि मापसेमा परे उसको सवारी अनुमतिपत्र (लाइसेन्स) निलम्बन हुने व्यवस्था छ । महाशाखाका प्रमुख सर्वेन्द्र खनालले मापसे गरी सवारी चलाउदा दुर्घटनाका संख्या वृद्धि हुँदै गएकाले महाशाखाले मापसेमा कडाइ गरेको बताए । “उपत्यकाका साँघुरा सडक मापसे गरी सवारी चलाउँदा धेरै दुर्घटना भएको छ,”– उनले भने । महाशाखाले मापसे सेवन गरी सवारी चलाउनेलाई रु एक हजार जरिवाना र सडक सुरक्षासम्बन्धी प्रशिक्षण दिने व्यवस्था गरेको छ ।-रासस

कपास गोदाममा आगलागी ४० लाख मूल्य बराबरको क्षति

काठमाडौं । भरतपुर महानगरपालिका– १० रिजाल चोकस्थित प्रकृति कपास उद्योगको गोदाममा आगलागी हुँदा कच्चा पदार्थ जलेर नष्ट भएको छ । चन्दना कोइरालाको गोदाममा बिहान ९ बजे लागेको आगो हो । दमकल, प्रहरी, सशस्त्र, सेना र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालकाअनुसार आगलागीबाट रु ४० लाख मूल्य बराबरका क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । गोदाममा पुराना कपडा रहेका थिए । पुराना कपडा पेलेर सिरक डसना बनाउने गरिएको थियो । मेसिनको मोटरबाट सर्ट भई आगलागी भएको ढकालले बताए ।-रासस  

महाकाली पुल निर्माणबाट प्रभावित ३२१ घरधनीले क्षतिपुर्ति पाउने

काठमाडौँ । महेन्द्रगरमा निर्माणधिन रहेको महाकाली पुल आयोजनले ३२१ घरधुरीलाई मुआब्जा वितरण गर्ने भएको छ । नेपाल सरकार भौतिक पुर्वाधार तथा यातायत मन्त्रालयले निर्माण गरिरहेको आयोजनाको दायाँ बाया २५ २५ मिटरभित्र पर्ने जग्गाको मुअब्जा वितरण गर्न लागिएको हो । कञ्चनपुर जिल्लाको साविकको चादनी गाँउ विकास समितिको वडा न ७ र भीमदत्त नगरपलिकाको वडा नं ११ र १२ मा रहेको घर धनिलाई मुआब्जा वितरण गरिने आयोजनाले जनाएको छ । मुआब्जा दाबी गर्नको लागि घरधनिले आवश्यक कागजात सहित महाकाली पुल आयोजनाको कार्यालयमा निवेदन दिनुपर्ने छ ।

बाग्मती जलविद्युत आयोजनाले १५६ घरघनीलाई मूआब्जा वितरण गर्ने

काठमाडौं । बाग्मति साना जलविद्युत आयोजनाले १२४ घरधुरीलाई जग्गाको मुआब्जा वितरण गर्ने भएको छ । २२ मेगावट क्षमताको ६६ केभी विद्युत लाइन प्रसारण गर्न १३.६ किलोमिटरभित्र पर्ने जग्गाको मुआब्जा वितरण गर्न लागेको हो । मकवानपुर जिल्लाको भिमफेदी गाँउपालिका वडा नं ५, ६, ७ र ८ भित्र पर्ने १५६ जना घरधुरीलाई मुआब्जा वितरणको काम सुरु गर्न लागिएकाे हाे । आयोजनाले मुआब्जा वितरणको लागि १५ दिनको समय अवधि तोकेको छ । १५ दिन भित्र सम्बन्धित जग्गा धनिले जग्गाको प्रमाणपत्र सहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनु पर्ने छ ।  

दिक्तेलबाट धरान र विराटनगर सिधा यातायात शुरु

खोटाङ । दिक्तेलदेखि धरान र विराटनगर आवतजावतका लागि पहिलोपटक जिल्लाबाट सिधा यातायात शुरु गरिएको छ । यातायात व्यवसायी संघ खोटाङले शुक्रबारदेखि दिक्तेलबाट विराटनगर बिहान ४ः३० बजे र धरान ५ः१५ बजे बस छुट्ने गरी नियमित यातायात शुरु गराएको हो । विराटनगरको पूर्व नेपाल यातायात व्यवसायी संघको कार्यालयमा भएको व्यवसायीको प्रतिनिधिमूलक भेटघाट र छलफलबाट धरानबाट दिक्तेलका लागि बिहान ४ः३० र विराटनगरबाट ४ः५० मा छुट्ने समय निर्धारण गरिएको छ । दिक्तेल–विराटनगरका लागि प्रतिव्यक्ति १ हजार १७५ र दिक्तेल—धरानका लागि १ हजार १५० भाडादर तोकिएको यातायात व्ययवसायी संघ खोटाङका महासचिव राम हिङ्माङले बताए । दूधकोशीमा पक्की पुल निर्माण भएपछि दिक्तेल–हलेसी–घुर्मी कटारी हुँदै धरान र विराटनगर सिधा यातायात सुचारु गरिएको महासचिव हिङ्माङले जानकारी दिए । जिल्लाबाट राजधानी काठमाडौँलगायत तराईका जिल्लासँग सिधा यातायात सञ्चालन भएपछि यात्रुलाई बस परिवर्तन गरिरहनुपर्ने झन्झट टरेको छ । रासस

वेष्ट फाइनान्स र श्री इन्भेष्टमेन्टको ४ लाख ५२ हजार कित्ता हकप्रद लिलामीमा, सभिल बैंकको आज अन्तिम दिन

काठमाडौं । सेयर बजार घटेका बेला १ सय रुपैयाँ अंकित मूल्यका हकप्रद सेयर पनि बिक्री हुन छाडेको छ । हकप्रद बिक्री नभएपछि दुई फाइनान्स कम्पनीले ४ लाख ५२ हजार ५१४ कित्ता सेयर लिलामीमा राखेका छन् । वेष्ट फाइनान्स कम्पनी लिमिटेड र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी लिमिटेडले बिक्री नभएको हकप्रद लिलामी गर्न लागेका हुन् । वेष्टले संस्थापक र सर्वसाधारण समूहतर्फ गरी १ लाख ८ हजार १४१ कित्ता लिलामी गर्न लागेको छ । यस्तै श्री इन्भेष्टमेन्टले ३ लाख ४४ हजार ३७३ कित्ता हकप्रद सेयर लिलामी गर्न लागेको हो । जसअनुसार संस्थापकतर्फ २ लाख ७७ हजार ९९६ र सर्वसाधारणतर्फ ६६ हजार ३७७ कित्ता रहेको छ । वेष्टले चैत ९ गतेदेखि बोलपत्र पेश गर्न भनेको छ । बोलपत्र पेश गर्ने अन्तिम मिति चैत १८ गतेलाई तोकिएको छ । यस्तै श्री इन्भेष्टमेन्टको बोलपत्र चैत ८ गतेदेखि खुला भई १६ गते अन्तिम दिन भनेको छ । दुबैं फाइनान्स कम्पनीले चुक्तापुँजी बढाउन हकप्रद सेयर निष्कासन गरेको हो । पछिल्लो समयमा संस्थापक हकप्रद नै बिक्री हुन छाडेको छ । सिभिल बैंकको बोलपत्र पेश गर्ने आज अन्तिम दिन सिभिल बैंकको संस्थापक र सर्वसाधारण गरी ४२ लाख ३८ हजार ९५८ कित्ता हकप्रद सेयर लिलामीको मिति आज शुक्रबारसम्म तोकिएको छ । संस्थापक समूहतर्फ ३२ लाख ४४ हजार ६ र सर्वसाधारणतर्फ ९ लाख ९४ हजार ३५८ कित्ता हकप्रद सेयर बिक्री नभएपछि लिलामीमा राखिएको हो । बैंकले चुक्तापुँजी बढाएर ८ अर्ब रुपैयाँ पुर्याउन ४० प्रतिशत अर्थात २ अर्ब ७ करोड ४० लाख रुपैयाँ बराबरको २ करोड ७ लाख ४० हजार कित्ता हकप्रद निष्कासन गरेको हो ।

गाडी बिक्रेतालाई चुनावी चटारो, श्रेष्ठ र दाहाल मैदानमा

काठमाडौं । नाडा अटोमोबाइल एसोसियसन अफ नेपाल(नाडा)मा चुनावी चटारो सुरु भएको छ । चैत २६ गते हुने साधारण सभाले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । नाडाको अध्यक्ष पदमा वर्तमान अध्यक्ष अञ्जन श्रेष्ठ र उपाध्यक्ष शम्भु दाहालले इच्छा देखाएका छन् । ‘अञ्जन श्रेष्ठ र शम्भु दाहालले अध्यक्ष बन्ने इच्छा देखाउनु भएको छ, हामी सहमतिको प्रयास गरिरहेका छौं, दुबै जनालाई मिलेर अघि बढ्न दबाव दिईरहेका छौं’, नाडाका महासचिव कृष्णप्रसाद दुलालले विकासन्युजसँग भने । श्रेष्ठ हुण्डाईका सवारी साधानहरुको आधिकारिक नेपाली बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका हुन् भने दाहाल टाटा मोटर्सको नेपाली आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङका हुन् । ९६४ जना मतदाता रहेको नाडाले आफ्नो बिधान संसोधन गरेर प्रादेशिक संरचनामा रुपान्तरण गर्ने तयारी पनि गरिरहेको छ । ‘हामीले विधान संसोधन गरेर संघिय मोडलमा जानेबारे छलफल सुरु गरेका छौं’, महासचिव दुलालले विकासन्युजसँग भने । हाल नाडाको केन्द्रिय कार्यसमितिका अलवा चितवन, हेटौँडा र पोखरामा शाखा छन् । प्रत्येक प्रदेशबाट केन्द्रिय कार्यसमितिमा एक जनाको प्रतिनिधित्व सुनिश्चित हुने गरि विधान संसोधनको तयारी भैरहेको पनि उनले जानकारी दिए । अहिले नाडामा २३ सदस्यिय कार्य समिति छ । जसमा अध्यक्ष र निवर्तमान अध्यक्ष बाहेक उपत्यकाबाट १४ जना, उपत्यका बाहिरबाट ४ जना र ३ जना मनोनयन हुने गरेको छ । साधारण सभाबाट अध्यक्षको प्रत्यक्ष निर्वाचन हुने व्यवस्था छ भने कार्य समिति सदस्यहरुमा निर्वाचितहरुमध्येबाट उपाध्यक्ष, महासचिव लगायतको चयन गर्ने चलन छ । श्रोतका अनुसार चुनावको मुखमा नाडामा ५ सय जना नयाँ सदस्य थपिएका छन् । नयाँ सदस्यता शुल्क, पुरानाको नविकरण र निर्वाचनमा उम्मेदवारी दर्ताको शुल्क जोड्दा नाडाको कोषमा एक करोड रुपैंयाँ जम्मा हुने बताइन्छ ।

हिमालय ऊर्जा विकासको साधारणसभा चैत २४ मा, आईपीओ निष्कासनको प्रस्ताव पारित गर्ने

काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि २४ करोड ७५ लाख रुपैयाँ बराबरको २४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आउदो सोमबारसम्म आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिने कम्पनीका प्रवन्धक प्रकाश दुलालले बताए । उनले आब्हानपत्र पनि बोर्डले पारित गरिसकेको जानकारी दिए छ । आउदो २४ गते हुने १७ औं वार्षिक साधारणसभाबाट आईपीओ निष्कासनको प्रस्ताव पारित गर्ने दुलालले जानकारी दिए । कम्पनीले सर्वसाधारणको १५ प्रतिशत अर्थात १४ करोड ७५ लाख र आयोजना प्रभावित स्थानियबासिन्दालाई १० प्रतिशत अर्थात ९ करोड ९० लाख रुपैयाँ आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीमा १ हजार ४२० जना संस्थापक लगानीकर्ता छन् । कम्पनीले नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रवन्धक नियुक्त गरेको छ । कम्पनीले १२ मेगावाटको उपल्लोखिम्ती र ७ मेगावाटको तल्लो खिम्ती आयोजना एकसाथ निर्माण गरिरहेको छ । १९ मेगावाट क्षमताका दुई आयोजना बनाउन ३ अर्ब १५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आउदो १५ महिनाभित्र अर्थात ०७५ चैतसम्म आयोजना सम्पन्न हुने उनले जानकारी दिए । आयोजना रामेछाप र दोलखा जिल्ला भएर बग्ने खिम्ती खोलामा छ ।