रक्त परीक्षण सेवाका लागि रेडक्रसलाई मुक्तिनाथ विकास बैंकको सहयोग
काठमाडौं । मुक्तिनाथ विकास बैंकले नेपाल रेडक्रस सोसाइटी, लुम्बिनी प्रदेशलाई तीन वटा जैविक सूक्ष्मदर्शी (बायोलोजिकल माइक्रोस्कोप) हस्तान्तरण गरेको छ । बैंकका अनुसार उक्त उपकरणले नेपाल रेडक्रस सोसाइटीको सुरक्षित तथा पर्याप्त रगत आपूर्ति सुनिश्चित गर्ने अभियानलाई सहयोग पुग्नेछ । माइक्रोस्कोपको प्रयोगबाट रगतमा रहेका राता रक्तकण, सेता रक्तकण तथा प्लेटलेट्समा देखिने असामान्यता पहिचान गर्न सहज हुने जनाइएको छ । यसका साथै रगतको उपयुक्तता परीक्षण, रगत सङ्कलन, प्रशोधन, परीक्षण तथा भण्डारण प्रक्रियाको गुणस्तर नियन्त्रणलाई थप प्रभावकारी बनाउन पनि उपकरणले महत्त्वपूर्ण भूमिका खेल्ने बैंकले जनाएको छ । मुक्तिनाथ विकास बैंकले यस सहयोगमार्फत सुरक्षित, गुणस्तरीय र भरपर्दो रक्तसञ्चार सेवा सुदृढ गर्न तथा सार्वजनिक स्वास्थ्य सेवाको प्रवर्द्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
एलपी ग्यास पुनः १४.२ केजीकै सिलिन्डरमा बिक्री गरिने, प्रतिसिलिन्डर ९३७ रुपैयाँ घाटा
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा देखिएको एलपी ग्यासको आपूर्ति असहजता हटाउन पुनः १४.२ केजीकै सिलिन्डर कार्यान्वयनमा ल्याएको जानकारी दिएको छ । बुधबार संघीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्रालयका सचिव कृष्णबहादुर राउतले आपूर्ति प्रणालीलाई सहज बनाउन र ढुवानी लागत घटाउन यस्तो निर्णय गरिएको स्पष्ट पारे । यसअघि रुस–युक्रेन युद्ध र आपूर्तिमा देखिएको अवरोधका कारण सिर्जना भएको मनोवैज्ञानिक त्रास र अभावलाई मध्यनजर गर्दै मन्त्रालयले ७.१ केजीको आधा सिलिन्डर वितरण गर्ने निर्णय गरेको थियो । वि.सं. २०७२ सालको नाकाबन्दीको अभ्यासलाई पछ्याउँदै आपूर्तिलाई व्यवस्थित गर्न उक्त कदम चालिएको भए पनि हाल ढुवानी भाडामा वृद्धि, उपभोक्ताको माग र औद्योगिक जनशक्तिको खर्च बढेका कारण पुनः पूर्ण तौलकै सिलिन्डर बिक्री गर्ने निर्णयमा पुगेको सचिव राउतले बताए । सचिव राउतका अनुसार नेपाल आयल निगमले अहिले पनि एलपी ग्यासमा ठूलो नोक्सानी व्यहोर्दै आएको छ । इन्डियन आयल कर्पोरेसनबाट जुलाई २०२४ मा प्राप्त मूल्यसूचीअनुसार निगमलाई प्रतिसिलिन्डर ९३६ रुपैयाँ ९८ पैसा घाटा रहेको छ । यसअघि यो घाटा प्रतिसिलिन्डर १ हजार १ सय ७३ रुपैयाँसम्म पुगेको थियो । ग्यासमा नेपाल सरकारले सिधै अनुदान उपलब्ध नगराएको स्पष्ट पार्दै सचिव राउतले निगमले अन्य पेट्रोलियम पदार्थको नाफाबाट ग्यासको घाटा पूर्ति (क्रस सब्सिडी) गरिरहेको जानकारी दिए । पछिल्लो तीन–चार महिनामा मात्रै मूल्य स्थिरीकरण कोष र सञ्चित नाफाबाट करिब ३६ अर्ब रुपैयाँ खर्च भएको उनले उल्लेख गरे । हाल बजारमा ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ कायम छ । मन्त्रालयका अनुसार हाल मुलुकभर ५८ वटा ग्यास उद्योग सञ्चालनमा छन्, जसको दैनिक सिलिन्डर भर्ने क्षमता १ लाख ६२ हजार रहेको छ । बजारमा दैनिक औसत १ लाख १० हजार सिलिन्डर बिक्री भइरहेको छ । उद्योगहरूको कुल भण्डारण क्षमता १० हजार १६६ मेट्रिक टन मात्र रहेको र नेपाल आयल निगमको आफ्नै भण्डारण क्षमता नहुँदा आपूर्ति व्यवस्थापनमा चुनौती देखिएको सचिव राउतको भनाइ छ । सचिव राउतले भने, ‘त्यतिबेला विभिन्न सञ्चारमाध्यम तथा सरकारसमक्ष एलपी ग्यासको अभाव भएको भन्ने गुनासो आएको थियो । रुस–युक्रेन युद्धका कारण उपभोक्तामा ग्यास अभाव हुने मनोवैज्ञानिक त्रास बढेकाले ग्यास सञ्चित गर्ने प्रवृत्ति पनि बढ्यो । यी सबै कारणले तत्कालीन अवस्थामा १४.२ केजीको सट्टा ७.१ केजी रिफिल वितरण गर्नुपर्ने अवस्था सिर्जना भएको हो ।’ औद्योगिक प्रयोजनका लागि दिइने ग्यासमा भने निगमले पूरा मूल्यमै बिक्री गर्ने गरेको र त्यसमा घाटा नरहेको उनले प्रस्ट पारे । सचिव राउतले सात सय ग्यास बुलेट ट्रान्जिट र स्ट्यान्डबाईमा रहँदा भारतबाट हुने लोडिङमा समेत प्रभाव परेको भन्दै आगामी चाडपर्व र जाडो मौसममा हुन सक्ने माग वृद्धिलाई ध्यानमा राखी आपूर्ति व्यवस्था चुस्त बनाउन मन्त्रालय लागिपरेको बताए ।
संविधान संशोधनमा राष्ट्रिय सहमति खोज्दै कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधनको विषयलाई संस्थागत रूपमा अघि बढाउने तयारी गरेको छ । पार्टीले पहिलो चरणमा संविधान निर्माण प्रक्रियामा सहभागी भएका प्रमुख राजनीतिक दलहरूसँग औपचारिक संवाद सुरु गर्दै संशोधनका विषयमा साझा धारणा निर्माण गर्ने रणनीति कांग्रेसले बनाएको हो । पार्टी उपसभापति समेत रहेकी संविधान संशोधनविज्ञ समूहकी संयोजक पुष्पा भुसालले संविधान संशोधनलाई राष्ट्रिय सहमतिका आधारमा अघि बढाउनुपर्ने बताउँदै संविधानसभामा सँगै काम गरेका दलहरूसँग प्रारम्भिक छलफल गरिने जानकारी दिइन् । उनका अनुसार साझा धारणा कायम गर्ने प्रयासका लागि अन्तिमसम्म कांग्रेसले प्रयास गर्ने छ । त्यो सम्भव नभए कम्तीमा पनि संशोधनका आधारभूत विषयमा न्यूनतम सहमति निर्माण गर्ने लक्ष्य कांग्रेसको रहको उनले बताइन्। ‘अब हामी संविधान संशोधनबारे अन्य राजनीतिक दलहरूसँग औपचारिक संवाद अघि बढाउँछौं । पहिलो चरणमा संविधानसभामा सँगै काम गरेका मुख्य राजनीतिक दलहरूसँग छलफल गर्छौं । साझा धारणा बनाउने प्रयास गर्छौं । साझा धारणा सम्भव नभए पनि न्यूनतम साझा बुझाइ कायम गर्ने कोसिस गर्छौं,’ भुसालले भनिन् । कांग्रेसले पहिलो चरणको राजनीतिक परामर्शपछि सत्ता नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग पनि संविधान संशोधनबारे औपचारिक संवाद गर्ने तयारी गरेको छ। त्यसपछि सरकारसँग समेत संशोधन प्रक्रियालाई अघि बढाउने विषयमा छलफल गरिने भुसालले बताइन् । उपसभापति भुसालले वर्तमान राजनीतिक परिस्थितिमा संविधान संशोधनलाई विवादको विषय नभई सहमतिका माध्यमबाट टुंग्याउनुपर्नेमा जोड दिइन् । नेपाललाई पुनः राजनीतिक द्वन्द्वतर्फ धकेलिन नदिन कांग्रेसले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्ने उनको भनाइ छ । ‘देश फेरि अर्को राजनीतिक द्वन्द्वमा फस्ने अवस्था आउन नदिन कांग्रेसले जिम्मेवार राजनीतिक शक्तिका रूपमा आफ्नो भूमिका निर्वाह गर्नेछ । संविधान संशोधन राष्ट्रिय आवश्यकता र सहमतिका आधारमा अघि बढ्नुपर्छ,’ भुसालले दाबी गरिन् । यसैबीच कांग्रेसले संविधान संशोधनका विषयमा पार्टीभित्रै व्यवस्थित बहस अघि बढाउन उपसभापति भुसालको नेतृत्वमा गठन गरिएको विज्ञ समितिलाई कार्ययोजना तयार पार्ने जिम्मेवारी दिएको छ । समितिले संशोधनका सम्भावित विषय, कार्यविधि र राजनीतिक सहमतिका आधारबारे विस्तृत अवधारणापत्र तयार गरी पार्टीभित्र छलफलका लागि पेश गर्ने उपसभापति भुसालले जानकारी दिइन् । समितिमा वरिष्ठ अधिवक्ताहरू राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेमबहादुर खड्का, उपेन्द्रकेशरी न्यौपाने, शेरबहादुर केसी, यदुनाथ खनाल, गोपालकृष्ण घिमिरे, योगेन्द्रबहादुर अधिकारी, दिनेश त्रिपाठी, सीताराम केसी, ललितकुमार बस्नेत तथा अधिवक्ताहरू रनबहादुर थेवे, शर्मिला श्रेष्ठ र झलमाया विक सदस्य रहेका छन् । कांग्रेसले संविधान संशोधनलाई पार्टीको प्रमुख राजनीतिक एजेन्डाका रूपमा अघि बढाउने संकेत दिँदै आन्तरिक तयारीसँगै अन्तरदलीय संवादलाई समेत समानान्तर रूपमा अगाडि बढाउने रणनीति अपनाएको छ ।
प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक : विभिन्न प्रतिवेदन पेस हुने
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय मानवअधिकारलगायत तीन आयोगका पछिल्ला वार्षिक प्रतिवेदन पेस हुँदैछन् । दिउँसो १ः०० बजे बस्ने बैठकमा राष्ट्रिय मानवअधिकार आयोगको १८औँ वार्षिक प्रतिवेदन (२०८१ साउन–२०८२ असार मसान्त), राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन आव २०८१/८२ र समावेशी आयोगको सातौँ वार्षिक प्रतिवेदन आव २०८१/८२ पेस हुने कार्यसूची रहेको छ । उक्त प्रतिवेदन प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले पेस गर्नेछिन् । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यस्तै युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘अन्तरराष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महाससन्धि, १९९३ सम्बन्धी सन् २०१४ को प्रोटोकल नं २९ र अन्तरराष्ट्रिय श्रम सङ्गठनको श्रम निरीक्षणसम्बन्धी महासन्धि, १९४७ (नं ८१)लाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यसैगरी, राष्ट्रियसभाको आजै १ः१५ मा बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले महान्यायाधिवक्ता कार्यालयको आव २०८१/८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।
सिंहदरबार दक्षिण गेटमा अनेरास्ववियुको प्रदर्शन, केहीबेर यातायात प्रभावित
काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले बुधबार सिंहदरबारको दक्षिण गेट अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शन गरेको छ । संगठनका कार्यकर्ताले मोटरसाइकल सडकमै पार्किङ गरी विभिन्न नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनका कारण सिंहदरबारको दक्षिण गेट क्षेत्रको सडकमा केहीबेर सवारी आवागमन प्रभावित भएको थियो । त्यसक्रममा उक्त क्षेत्रमा सवारीसाधनको चाप बढेको देखिएको थियो । प्रदर्शनको जानकारी पाएलगत्तै नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले प्रदर्शनकारीसँग मोटरसाइकल हटाउन आग्रह गर्दै सडक खुलाउने प्रयास गरेको थियो । त्यसपछि प्रहरीले मोटरसाइकल हटाएर सडक सञ्चालनलाई सहज बनाएको थियो । प्रहरीले प्रदर्शन नियन्त्रणमा लिएपछि सो क्षेत्रमा यातायात पुनः सामान्य रूपमा सञ्चालन भएको थियो । प्रदर्शनको कारण र संगठनले उठाएका मागबारे भने तत्काल विस्तृत विवरण सार्वजनिक भएको छैन ।
कालीमाटीमा १२ रुपैयाँदेखि १ हजारसम्मका कृषिउपज, गोलभेँडा सबैभन्दा सस्तो
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु २०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५०, आलु रातो (गोलो) प्रतिकिलो रु ५०, आलु रातो (मुढे) प्रतिकिलो रु ४८, आलु रातो (भारतीय) प्रतिकिलो रु ३०, सेतो आलु प्रतिकेजी ३०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १२०, गाजर (तराई) प्रतिकिलो रु ९०, बन्दा (लोकल) प्रतिकिलो रु ४०, काउली स्थानीय प्रतिकिलो रु ६०, रातो मूला प्रतिकिलो रु ३५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ३५ र भन्टा डल्लो प्रतिकिलो रु ७० कायम भएको छ । समितिका अनुसार बोडी तने प्रतिकिलो रु ६०, मकै बोडी प्रतिकिलो रु ६०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ९०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ७०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १२०, टाटे सिमी प्रतिकिलो रु ७०, भटमास कोसा प्रतिकिलो रु १४०, तीते करेला प्रतिकिलो रु ४०, लौका प्रतिकिलो रु ४०, परवर (लोकल) प्रतिकिलो रु ५०, परवर (तराई) प्रतिकिलो रु ५०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ५०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ६०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ९०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४०, भिन्डी प्रतिकिलो रु ५०, सखरखण्ड प्रतिकिलो रु १२० र पिँडालु प्रतिकिलो रु १००, इस्कुस प्रतिकिलो रु ५० कायम भएको छ । रायोसाग प्रतिकिलो रु ८०, पालुङ्गो प्रतिकिलो रु ८०, चमसुरको साग प्रतिकिलो रु ६०, तोरीको साग प्रतिकिलो रु ५०, प्याज (हरियो) रु ८०, च्याउ (कन्य) प्रतिकिलो रु २६०, च्याउ (डल्ले) प्रतिकिलो रु ४२०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ । कुरिलो प्रतिकिलो रु ३००, निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु ९०, चुकन्दर प्रतिकेजी रु ७०, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु ९०, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ३५०, सौफको साग प्रतिकिलो रु ६०, पुदिना प्रतिकिलो रु २००, गान्टेमूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १५०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ । स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन २५०, केरा (मालभोग) २००, कागती प्रतिकिलो रु १६०, अनार प्रतिकिलो रु ५००, आँप (मालदह) प्रतिकिलो रु १५०, आँप (दशहरी) प्रतिकिलो रु १६०, तरबुजा (हरियो) प्रतिकिलो रु ७०, जुनार प्रतिकिलो रु ३००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ८०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ७०, रूखकटहर प्रतिकिलो रु ५०, नासपति प्रतिकिलो रु १३०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, नरिवल (काँचो) प्रतिकिलो रु ७० र नरिवल (हरियो) प्रतिकिलो रु १७० तोकिएको छ । अदुवा प्रतिकिलो रु २००, सुकेको खुर्सानी प्रतिकिलो रु ५००, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ७०, माछे खुर्सानी प्रतिकिलो रु ५०, खुर्सानी भेडे प्रतिकिलो रु ६०, अकबरे प्रतिकिलो रु २५०, हरियो लसुन प्रतिकिलो रु १००, हरियो धनियाँ प्रतिकिलो रु १००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १८०, छ्यापी सुकेको प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु ३०० निर्धारण भएको छ ।
डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह
कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै जिल्लामा २८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये सबैभन्दा बढी सङ्क्रमित कञ्चनपुरमै भेटिएपछि स्वास्थ्य निकायहरूले सतर्कता अपनाउन र समुदायस्तरमा रोकथामका गतिविधिलाई प्रभावकारी बनाउन आग्रह गरेका छन् । स्वास्थ्य कार्यालयका औलो निरीक्षक तथा कीटजन्य रोग सम्पर्क व्यक्ति (फोकल पर्सन) सिद्धराज भट्टका अनुसार जनवरीमा पाँच, फेब्रुअरीमा छ, मार्चमा पाँच, अप्रिलमा सात, मेमा दुई र जुनमा तीन जना गरी २८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो । उनका अनुसार यही अवधिमा सुदूरपश्चिम प्रदेशभर कुल ७० जनामा सङ्क्रमण देखिएको छ । जसमा कञ्चनपुरपछि अछाममा १३, कैलालीमा १०, डडेल्धुरामा आठ, बझाङमा छ, डोटीमा तीन तथा दार्चुला र बैतडीमा एक–एक जना सङ्क्रमित फेलापरेका छन् । डेङ्गु ‘एडिस एजिप्टाई’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको सङ्क्रमित लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो । यो लामखुट्टेले प्रायः सफा र जमेको पानीमा फुल पार्ने तथा दिउँसो बढी सक्रिय रहने भएकाले घर, विद्यालय, कार्यालय र सार्वजनिकस्थल वरपर पानी जम्न नदिन विशेष ध्यान दिन आवश्यक रहेको भट्टले बताए । 'डेङ्गुका चार प्रकारका विषाणु हुन्छन्', भट्टले भने, 'एकपटक लागेको प्रकारको डेङ्गु पुनः नलागे पनि अर्को प्रकारको सङ्क्रमण हुनसक्छ, दोस्रोपटक हुने सङ्क्रमण अझ जटिल र जोखिमपूर्ण हुने भएकाले थप सचेत रहन आवश्यक छ ।' डेङ्गुको सङ्क्रमणकाल सामान्यतया तीनदेखि १० दिनसम्म रहने गर्दछ । सङ्क्रमण भएपछि १०२ देखि १०३ डिग्री फरेनहाइटसम्म ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, पेट तथा जोर्नी दुख्ने, वाकवाकी लाग्ने, शरीरमा राता बिमिरा देखिने तथा गम्भीर अवस्थामा आन्तरिक वा बाह्य रक्तस्रावसमेत हुनसक्ने स्वास्थ्य कार्यालयले जनाएको छ । शुक्लाफाँटा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टले सङ्क्रमित व्यक्तिको समयमै परीक्षण र उपचार गर्न सके डेङ्गुबाट हुने मृत्युदर दुई प्रतिशतभन्दा कममा सीमित गर्न सकिने बताए । उनका अनुसार शिशु, गर्भवती, ज्येष्ठ नागरिक, मोटोपन भएका व्यक्ति, दीर्घरोगी तथा अत्यधिक रक्तस्राव भएका बिरामी डेङ्गुको उच्च जोखिममा पर्दछन् । उनले ज्वरो कम गर्न सिटामोल प्रयोग गर्न सकिने तर आइबुप्रोफेन र एस्पिरिनजस्ता औषधि चिकित्सकको सल्लाहबिना कदापि प्रयोग नगर्न सुझाव दिए । एउटा एडिस लामखुट्टेको आयु करिब ३० दिन हुन्छ । यस अवधिमा एउटा पोथी लामखुट्टेले पाँच सय देखि एक हजारसम्म अण्डा पार्न सक्छ । सङ्क्रमित लामखुट्टेको अण्डाबाट जन्मिने नयाँ लामखुट्टेमा पनि डेङ्गुको विषाणु रहन सक्छ । स्वास्थ्यकर्मी कृष्णराज जोशीका अनुसार डेङ्गु सार्ने लामखुट्टेका अण्डाहरू पानी नहुँदा पनि महिनौँसम्म जीवित रहन सक्छन् । त्यसैले पानी जम्न नदिनु नै यसको नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय हो । नेपालमा डेङ्गु पहिलोपटक २०६१ साल (सन् २००४) मा एक विदेशी नागरिकमा पुष्टि भएको थियो । त्यसयता यो सङ्क्रमण हरेक वर्ष विभिन्न जिल्लामा फैलिरहेको छ । हाल जलवायु परिवर्तन, तीव्र सहरीकरण, कमजोर रोग निगरानी प्रणाली, समयमै परीक्षणको अभाव, बसाइँसराइ र समुदायको न्यून सहभागितालाई डेङ्गु नियन्त्रणका प्रमुख चुनौतीका रूपमा औँल्याइएको छ । कञ्चनपुरका नौवटै पालिकामा डेङ्गु सार्ने लामखुट्टेको लार्भा खोजी तथा नष्ट गर्ने (सर्च एन्ड डिस्ट्रोय) कार्यक्रमका लागि आवश्यक बजेटको व्यवस्था भइसकेको औलो निरीक्षक भट्टले जानकारी दिए । यस अभियानअन्तर्गत लार्भा नष्ट गर्नेसँगै सरसफाइ, जनचेतना अभिवृद्धि, समुदाय परिचालन तथा छलफल र गोष्ठी सञ्चालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्यकर्मीले गमला, फूलदानी, ड्रम, टायर र बट्टाहरू नियमित सफा गर्न, खानेपानीका ट्याङ्की ढाकेर राख्न, झ्यालढोकामा जाली लगाउन र दिउँसो सुत्दा पनि झुलको प्रयोग गर्न सर्वसाधारणमा अपिल गरेका छन् ।
मितेरी बैंकको सेयर बेचेर ३ जना संस्थापक बाहिरिँदै
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकका तीन जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको कुल २ लाख ३१ हजार ३७४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् । बैंकका अनुसार संस्थापक सेयरधनी ललिता थापाले १ लाख १ हजार ४०० कित्ता, सविना श्रेष्ठले ६१ हजार १२४ कित्ता र सुनिल श्रेष्ठले ६८ हजार ८५० कित्ता सेयर बिक्री गर्न लागेका हुन् । ललिता थापा र सविना श्रेष्ठले बिक्रीमा राखेको सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । तर, ३५ दिनभित्र संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरे अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अघि बढाइनेछ । यस्तै, सुनिल श्रेष्ठले बिक्रीमा राखेको संस्थापक सेयर भने सर्वसाधारण लगानीकर्ताले समेत खरिद गर्न सक्ने बैंकले जनाएको छ । सेयर खरिद गर्न इच्छुकले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकमा आवेदन दिनुपर्नेछ ।