केन र बेलिङ्घमकै भरमा इङ्ल्यान्डले विश्वकप जित्न सक्ला ?
काठमाडौं । फुटबललाई परम्परागत रूपमा ‘वीक लिंक’ (कमजोर कडी) भएको खेल मानिन्छ । सामान्य धारणा के छ भने कुनै टोलीको सफलता उसका उत्कृष्ट स्टार खेलाडीभन्दा पनि सबैभन्दा कमजोर खेलाडीको स्तरले बढी निर्धारण गर्छ । कम गोल हुने र प्रत्येक खेलाडी एकअर्कामा अत्यधिक निर्भर रहने खेल भएकाले व्यक्तिगत उत्कृष्टताले मात्र टोलीलाई धेरै टाढासम्म लैजान सक्दैन । यसको विपरीत, बास्केटबलजस्ता खेललाई ‘स्ट्रङ लिंक’ (बलियो कडी) भएको खेल मानिन्छ । त्यस्ता खेलमा कुनै असाधारण खेलाडीले खेलमाथि पूर्ण नियन्त्रण जमाउँदै लगभग एक्लैले टोलीलाई जित दिलाउन सक्छ । तर, २०२६ फिफा विश्वकपमा जुड बेलिङ्घम र ह्यारी केनले यो परम्परागत धारणालाई चुनौती दिइरहेका छन् । यसको अर्थ इङ्ल्यान्डका अन्य खेलाडीहरूले राम्रो प्रदर्शन गरेका छैनन् भन्ने होइन । तर इङ्ल्यान्डलाई सेमिफाइनलसम्म पुर्याउन बेलिङ्घम र केनको योगदान असाधारण रहेको तथ्यलाई अस्वीकार गर्न सकिँदैन । इङ्ल्यान्डले बुधबार राति मियामीमा आफ्नो पुरानो प्रतिद्वन्द्वी अर्जेन्टिनासँग सेमिफाइनल खेल्दै छ । यी दुई खेलाडीले मिलेर प्रतियोगितामा इङ्ल्यान्डका १३ मध्ये १२ गोल गरेका छन् । अन्य खेलाडीबाट भएको एक मात्र गोल समूह चरणको पहिलो खेलमा मार्कस रासफोर्डले क्रोएसियाविरुद्ध गरेका थिए । यस हिसाबले हेर्दा इङ्ल्यान्डका ९२.३ प्रतिशत गोल केन र बेलिङ्घमकै नाममा छन् । अझ उल्लेखनीय कुरा, टोलीका पछिल्ला लगातार नौ गोल पनि यी दुईले मात्रै गरेका छन् । यो साँच्चिकै असाधारण तथ्यांक हो । वास्तवमा विश्वकप इतिहासमै कुनै टोलीको आक्रमण यति धेरै दुई खेलाडीमा केन्द्रित भएको पहिलो पटक हो । प्रतियोगितामा कम्तीमा १० गोल गरेका टोलीहरूलाई आधार मान्दा केन र बेलिङ्घममाथिको इङ्ल्यान्डको निर्भरता विश्वकप इतिहासकै सबैभन्दा उच्च देखिन्छ । तर, दुई खेलाडीमाथिको यस्तो निर्भरता शक्ति हो कि कमजोरी ? इतिहासले भने यो घातक कमजोरी होइन भन्ने देखाउँछ । यो सूचीका शीर्ष सात टोलीमध्ये एक टोलीले विश्वकप जितेको थियो– सन् १९३८ को इटाली । अर्को टोली फ्रान्स पनि २०२६ को सेमिफाइनलमा पुगेको छ, जहाँ केलियन एम्बाप्पे (८ गोल) र उस्मान डेम्बेले (५ गोल) ले टोलीका ८१.३ प्रतिशत गोल गरेका छन् । इङ्ल्यान्ड पनि अहिले उपाधिबाट केवल दुई खेल टाढा छ । सूचीका अन्य टोलीहरूले पनि सफल यात्रा गरेका थिए । १९५० मा स्पेन चौथो भएको थियो । १९५८ मा स्विट्जरल्यान्ड क्वार्टरफाइनल पुगेको थियो, जहाँ उसले विश्वकप इतिहासकै सर्वाधिक गोल भएको खेलमा अस्ट्रियासँग हार बेहोरेको थियो । १९९० मा घरेलु मैदानमा इटाली सेमिफाइनल पुगेको थियो भने ह्रिस्टो स्टोइचकोभको उत्कृष्ट प्रदर्शनमा बुल्गेरिया १९९४ मा अन्तिम चार मा पुगेको थियो । अर्थात् यी सात टोलीमध्ये छ टोली कम्तीमा सेमिफाइनलसम्म पुगेका थिए । स्वीकार गर्नैपर्छ, यहाँ केही ‘सेलेक्सन बायस’ पनि छ । किनकि विश्लेषणमा कम्तीमा १० गोल गरेका टोली मात्र समावेश गरिएकाले गहिरोसम्म पुग्ने सम्भावना भएका टोलीहरू स्वाभाविक रूपमा बढी देखिन्छन्। तर पनि उपलब्ध तथ्यहरूले के देखाउँछन् भने दुई उत्कृष्ट आक्रमणकारीमाथि अत्यधिक निर्भर हुनु आफैमा नकारात्मक कुरा होइन । यस वर्ष फ्रान्सका लागि यो रणनीतिले राम्रोसँग काम गरिरहेको थियो । यद्यपि फ्रान्स पहिलो सेमिफाइनलमा स्पेनसँग २–० ले पराजित भइसकेको छ । त्यसअघि कतार २०२२ विश्वकपमा अर्जेन्टिनाले पनि लियोनेल मेसीमाथि ठूलो भरोसा गरेर उपाधि जितेको थियो । सन् २०२२ को विश्वकपमा अर्जेन्टिनाका कुल प्रहारमध्ये ३२ प्रतिशत मेसीले गरेका थिए, जुन २०२६ मा बढेर ३४ प्रतिशत पुगेको छ । यी दुई विश्वकपलाई जोड्दा पोल्यान्डका रोबर्ट लेवान्डोस्की (३८.७ प्रतिशत) बाहेक आफ्नै टोलीको आक्रमणको यति ठूलो जिम्मेवारी बोकेको अर्को खेलाडी छैन । अर्जेन्टिना, फ्रान्स र अहिले इङ्ल्यान्डले पनि केही विश्वस्तरीय खेलाडीमाथि यति धेरै भर परिरहेका बेला विश्वकप वा समग्र अन्तर्राष्ट्रिय फुटबलले फुटबललाई ‘वीक लिंक’ खेल भन्ने पुरानो धारणामाथि पुनर्विचार गर्न बाध्य बनाइरहेको हुन सक्छ । सान्दर्भिक सामग्रीहरू : पहिलो सेमिफाइनल : उपाधिको दाबेदार फ्रान्स र स्पेनबीच निर्णायक खेल कसले जित्ला विश्वकप ? यस्तो छ अप्टा सुपरकम्प्युटरको भविष्यवाणी इङ्ग्ल्यान्डको नायक बेलिङ्घम सेमिफाइनल समीकरण पूरा, फुटबलका चार महाशक्ति उपाधि दौडमा यी हुन् इङ्ल्यान्डले नर्वेलाई हराउन गर्नुपर्ने ६ मुख्य काम हालान्डको नाममै उन्माद ‘विश्वकप पहिले नै तय थियो ?’ अर्जेन्टिनालाई लिएर फैलिएका षड्यन्त्रका दाबीहरू विश्वकपमा अनुभवको दबदबा, इतिहासकै सबैभन्दा बढी उमेरका खेलाडी मैदानमा विश्वकपको उपाधि होड थप रोमाञ्चक क्रिस्टियानो रोनाल्डो : इतिहास रचे, तर विश्वकप ट्रफी चुम्न सकेनन् हालान्ड : दि नर्वेजियन हिरो चम्किँदै भिनिसियस जुनियर गोल्डेन बुटका दाबेदार विश्वकै भरपर्दा स्ट्राइकर ह्यारी केन डीआर कङ्गोको ऐतिहासिक यात्रामा इंग्ल्यान्डको चुनौती यी हुन् विश्वकप जित्ने प्रमुख दाबेदार टोली [अप्टा विश्लेषण] विश्वकपमा गोलको वर्षा, नकआउटअघि नै तोडियो सर्वाधिक कीर्तिमान मेसी दि ग्रेट : जसले इतिहासका पानाहरू पुनः लेखे
४५ जिल्लामा सेवा विस्तार गरेको सम्पदा लघुवित्त १०औं वर्षमा प्रवेश
काठमाडौं । राष्ट्रियस्तरको सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड स्थापनाको नौ वर्ष पूरा गरी १०औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा संस्थाले केन्द्रीय कार्यालयसहित देशभरका शाखामार्फत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम सञ्चालन गरेको जनाएको छ । गैंडाकोट–५, नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा रहेको केन्द्रीय कार्यालयले गैंडाकोट–१ स्थित अपाङ्ग जीवन विकास संस्थालाई करिब ५७ हजार रुपैयाँ बराबरका खाद्यान्न तथा अन्य आवश्यक सामग्री हस्तान्तरण गरेको छ । प्रमुख कार्यकारी अधिकृत लक्ष्मण पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा चामल, दाल, खाने तेल, नुन, चिउरा, भुजा, मसला, दुई थान पानी फिल्टर तथा ३० थान तन्ना सहयोग गरिएको संस्थाले जनाएको छ । वार्षिकोत्सवकै अवसरमा रौतहटको यमुनामाई गाउँपालिकास्थित सुकदेवचोक शाखाले बजार, मन्दिर तथा अस्पताल क्षेत्रमा फोहोर व्यवस्थापनका लागि स्ट्यान्डसहितका डस्टबिन वडा नं. १ का अध्यक्ष नन्दलाल यादवलाई हस्तान्तरण गरेको छ । यस्तै, धनुषाको तारापट्टी शाखाले मानव सेवा आश्रम जनकपुरलाई खाद्यान्न सामग्री उपलब्ध गराएको छ भने गोरखाको भच्चेक, बाराको फेटा, मोरङको केरावारी, कास्कीको पार्दी, काभ्रेपलाञ्चोकको खडपु, गुल्मीको मजुवा, बाँकेको रिमझिमचोक तथा रुपन्देहीको झिमझिमिया शाखाले विभिन्न विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण तथा मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेका छन् । संस्थाका अनुसार सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै देशभरका १५५ शाखाले स्थानीय आवश्यकता अनुसार सहयोगमूलक कार्यक्रम सञ्चालन गरेका हुन् । हाल सम्पदा लघुवित्तले ४५ जिल्लाका १५५ शाखामार्फत करिब १ लाख ८४ हजार घरपरिवारलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । संस्थाको कर्जा लगानी १० अर्ब ७५ करोड रुपैयाँभन्दा बढी पुगेको छ भने ग्राहक सदस्यबाट ३ अर्ब ५ करोड रुपैयाँभन्दा बढी बचत परिचालन भएको जनाएको छ ।
५० हजारको भविष्य अन्योलमा, सिंहदरबारमा करार कर्मचारीको प्रदर्शन
काठमाडौं । तीनै तहका सरकारअन्तर्गत कार्यरत अस्थायी, करार तथा दैनिक ज्यालादारी कर्मचारीहरू आफ्नो रोजगारी नै संकटमा परेको भन्दै आन्दोलनमा उत्रिएका छन् । साउन १ गतेदेखि ठूलो संख्यामा कर्मचारीलाई सेवाबाट हटाउने तयारी भइरहेको आशंकापछि उनीहरूले बुधबार सिंहदरबारमा प्रदर्शन गरेका हुन् । यसअघि मंगलबार उनीहरूले अर्थ मन्त्रालयअगाडि धर्ना दिएका थिए । आन्दोलनरत कर्मचारीहरूले सरकारले प्रशासनिक खर्च कटौती र मितव्ययिताको नाममा आफूहरूलाई विस्थापित गर्न खोजेको आरोप लगाएका छन् । कर्मचारीहरूका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आगामी आर्थिक वर्षदेखि अस्थायी, करार र दैनिक ज्यालादारी कर्मचारीलाई हटाएर ठेक्का प्रणालीमार्फत जनशक्ति व्यवस्थापन गर्ने विषयमा छलफल भएपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन् । उक्त नीतिले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत करिब ५० हजारभन्दा बढी कर्मचारीको रोजगारी जोखिममा परेको उनीहरूको दाबी छ । आन्दोलनमा सहभागी कर्मचारीहरूले १० वर्षदेखि २५ वर्षसम्म निरन्तर सेवा गरेका कर्मचारीलाई कुनै विकल्प वा संरक्षणबिना घर फर्काउने तयारी अन्यायपूर्ण भएको बताएका छन् । वर्षौसम्म राज्यको सेवा गरे पनि अहिले एकैपटक हटाउने निर्णयले हजारौं परिवारको जीविकोपार्जन संकटमा पर्ने उनीहरूको भनाइ छ । उनीहरूले सरकारले एक पटकका लागि आवश्यक प्रक्रिया पूरा गरी आफूहरूलाई स्थायी गर्नुपर्ने, सर्वोच्च अदालतले अस्थायी तथा करार कर्मचारीको पक्षमा गरेका फैसलाहरू तत्काल कार्यान्वयन गर्नुपर्ने तथा सामाजिक सुरक्षा कोषमा आबद्ध गरिनुपर्ने माग अघि सारेका छन् । आन्दोलनरत कर्मचारीहरूका अनुसार सर्वोच्च अदालतले २०७० साल र गत भदौ २ गते दिएका आदेशमार्फत अस्थायी तथा करार कर्मचारीलाई महँगी भत्ता, स्वास्थ्य उपचार, उपदान तथा सामाजिक सुरक्षा कोषलगायतका सुविधा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको थियो । तर ती आदेश कार्यान्वयन गर्नुको सट्टा सरकारले कुनै सेवासुविधा नदिई कर्मचारीलाई घर पठाउने तयारी गरेको उनीहरूको आरोप छ । उनीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पटकपटक ध्यानाकर्षण गराउँदा पनि ठोस निर्णय नभई आश्वासन मात्रै पाएको गुनासो गरेका छन् । आन्दोलनरत कर्मचारीहरूले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउने चेतावनी दिएका छन् ।
फक्ताङलुङ गाउँपालिकामा उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
फुङ्लिङ । फक्ताङलुङ गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने सबै विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । विगत चार वर्षदेखि पालिकाले उच्च शिक्षा हासिल गर्ने कक्षा ११ र १२ तथा स्नातक तह अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको हो । यसवर्ष भने १३५ विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष राजन लिम्बूले बताए । पालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा १९ लाख ६१ हजार ४०० रुपैयाँ बजेट छात्रवृत्तिका लागि विनियोजन गरेको थियो । अध्यक्ष लिम्बूले भने, 'विभिन्न कारणले पढाइ स्थगित गरेका विद्यार्थी समेतले पढाइलाई पुनर्जीवित गर्न छात्रवृत्ति उपयोगी बनेको छ ।'
स्वावलम्बन लघुवित्तको सीईओमा नरेन्द्र सिंह विष्ट पुनर्नियुक्त
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नरेन्द्र सिंह विष्टलाई पुनर्नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको ५७६औं बैठकले विष्टलाई दोस्रो कार्यकालका लागि सीईओमा पुनर्नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीका अनुसार विष्टको साउन ९ गतेदेखि २०८७ साउन ८ गतेसम्म लागू हुने गरी चार वर्षका लागि पुनर्नियुक्त गरिएको छ ।
निषेधित क्षेत्र तोड्न खोज्ने अनेरास्ववियु अध्यक्ष धामीसहित सात जना पक्राउ
काठमाडौं । सिंहदरबारस्थित निषेधित क्षेत्रमा प्रवेश गरेर प्रदर्शन गर्न खोजेको आरोपमा प्रहरीले नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामीसहित सात जनालाई नियन्त्रणमा लिएको छ । बुधबार बिहान सिंहदरबारको दक्षिण प्रवेशद्वार अगाडि प्रदर्शन गर्न पुगेका अनेरास्ववियुका नेताकार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूले निषेधित क्षेत्र तोडेर नाराबाजीसहित प्रदर्शन गर्न खोजेपछि सुरक्षाको दृष्टिले नियन्त्रणमा लिनुपरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरी नियन्त्रणमा पर्नेमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामी, निर्वाचन आयोग अध्यक्ष जितप्रसाद सिटौला, सचिवालय सदस्य विशाल खड्का, उपत्यका विशेष बागमती प्रदेश संयोजक रवि मगर, केन्द्रीय सदस्य विष्णु उपरकोटी, कानुन राष्ट्रिय कमिटी सचिव सुदीप थापा र सीटीईभीटी सदस्य सिरिस बुढाथोकी रहेका छन् । अनेरास्ववियुले विभिन्न माग राख्दै सिंहदरबार अगाडि प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा उनीहरूले मोटरसाइकल पार्किङ गरी नाराबाजी गर्न थालेपछि केहीबेर उक्त क्षेत्रको सवारी आवागमनसमेत प्रभावित भएको थियो । त्यसपछि प्रहरीले प्रदर्शनकारीलाई हटाउँदै नेतृत्व तहका सात जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार निषेधित क्षेत्रमा प्रवेशको प्रयास र सुरक्षा व्यवस्थामा अवरोध पुग्ने गतिविधि देखिएपछि उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको छ । पक्राउ परेकाहरूलाई काठमाडौं प्रहरी परिसरमा राखिएको छ । यस घटनापछि सिंहदरबार आसपासको सुरक्षा व्यवस्था थप कडा बनाइएको प्रहरीले जनाएको छ ।
पूँजी बजारमा एआईको प्रयोग गरिने, एसएमई एक्सचेञ्ज पनि स्थापना हुने
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले देशको पूँजी बजारलाई आधुनिक, प्रविधिमैत्री र अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्यका साथ ‘नेपालको पूँजी बजार विकास मार्गचित्र, २०८३’ (क्यापिटल मार्केट डेभलपमेन्ट ब्लुप्रिन्ट अफ नेपाल, २०२६) सार्वजनिक गरेको छ । बोर्डले तीव्र आर्थिक वृद्धि, पूर्वाधार विस्तार र रोजगारी सिर्जनाका लागि पूँजी बजारलाई राष्ट्रिय आर्थिक विकासको दोस्रो स्तम्भ (सेकेन्ड पिलर) का रूपमा स्थापित गर्ने रणनीतिक योजना अघि सारेको हो । ललितपुरको खुमलटारस्थित धितोपत्र बोर्डको कार्यालयबाट सार्वजनिक गरिएको यस मार्गचित्रमा वित्तीय क्षेत्रको सुधार मात्र नभई निजी क्षेत्रको सबलीकरण र लगानी विस्तारको राष्ट्रिय आकांक्षा समेटिएको छ । बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टका अनुसार नेपाल अब नयाँ आर्थिक विकास र सुधारको चरणमा प्रवेश गरिरहेकाले परम्परागत बैंक–केन्द्रित वित्तीय प्रणाली मात्र अब पर्याप्त हुँदैन । अध्यक्ष भट्टले दक्षिण एसियाकै एक अग्रणी पूँजी बजार निर्माण गर्ने लक्ष्यका साथ यो रणनीतिक मार्गचित्र ल्याइएको बताए । पूँजी बजार विकास मार्गचित्रमा नेपालको बजारको वर्तमान अवस्था र आगामी योजनाहरू स्पष्ट पारिएको छ । मार्गचित्रमा उल्लेख भएअनुसार, सन् २०२६ (जेठ मसान्त) सम्म आइपुग्दा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २९७ भन्दा बढी कम्पनी सूचीकृत भइसकेका छन् । बजार पूँजीकरण ४६ खर्ब ५६ अर्ब रुपैयाँ पुगेको छ, जुन देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब ७४.२४ प्रतिशत बराबर हो । त्यस्तै, देशमा डिम्याट खाता खोल्नेको संख्या ७९ लाख ७२ हजार नाघिसकेको छ भने ७० लाखभन्दा बढी लगानीकर्ता मेरो सेयर प्रणालीमार्फत पूँजी बजारमा जोडिएका छन् । मार्गचित्रले पूँजी बजारलाई प्रविधिमैत्री बनाउन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गर्ने योजना अघि सारेको छ । बजारमा हुने असामान्य कारोबार, इन्साइडर ट्रेडिङ र चलखेल रोक्नका लागि एआईमा आधारित बजार निगरानी प्रणाली (मार्केट सर्भिलेन्स) विकास गरिने मार्गचित्रमा उल्लेख छ । यसका साथै पूँजी बजारलाई पूर्ण रूपमा डिजिटल बनाउन ‘एकीकृत क्यापिटल मार्केट मोबाइल सुपर एप’ विकास गर्ने र कागजरहित (पेपरलेस) सेवा प्रवाह गर्ने लक्ष्य राखिएको छ । धितोपत्र बोर्डले मार्गचित्र कार्यान्वयनका लागि तत्कालै (पहिलो १०० दिनभित्र) धितोपत्र ऐन संशोधन प्रक्रिया सुरु गर्ने, पूँजी बजार सुधार कार्यान्वयन एकाइ स्थापना गर्ने र प्राथमिक बजार निष्कासन व्यवस्थामा सुधार गर्ने जनाएको छ । आगामी दुई वर्षभित्र संस्थागत ऋणपत्र बजार (कर्पोरेट बन्ड) सञ्चालनमा ल्याउने, साना तथा मझौला उद्योगका लागि छुट्टै ‘एसएमई एक्सचेञ्ज’ स्थापना गर्ने र हरित बन्ड (ग्रीन बन्ड) को फ्रेमवर्क लागू गर्ने जस्ता महत्त्वपूर्ण योजनाहरू मार्गचित्रमा समेटिएका छन् ।
जास्मिन पेन्ट्सको आम्दानी साढे ८७ करोड, १० करोडको आईपीओ ल्याउँदै
काठमाडौं । जास्मिन पेन्ट्स लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा ८७ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको जनाएको छ । कम्पनीका अनुसार यो आम्दानी वार्षिक आधारमा करिब ४० प्रतिशतले बढेको हो । साथै पछिल्ला छ वर्षयताकै उच्च सञ्चालन आम्दानी भएको कम्पनीको दाबी छ । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा ८३ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यो आम्दानी अघिल्लो वर्षको तुलनामा २३.३३ प्रतिशत अर्थात १५ करोड ८० लाख रुपैयाँ बढी हो । अघिल्लो आव २०८०/८१ मा कम्पनीले ६७ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यसअघि कम्पनीले आव २०७९/८० मा ६२ करोड २० लाख रुपैयाँ, आव २०७८/७९ मा ७४ करोड ६० लाख रुपैयाँ, आव २०७७/७८ मा ६५ करोड ५० लाख रुपैयाँ बराबर आम्दानी गरेको थियो । देशभर विस्तार हुँदै गएको रिटेलर तथा वितरक (डिलर) सञ्जालका कारण कम्पनीले निरन्तर व्यापार वृद्धि हासिल गरेको जनाएको छ । पछिल्ला चार आर्थिक वर्षमा कुल बिक्रीमध्ये शीर्ष १० डिलरको हिस्सा करिब १३ देखि १५ प्रतिशत मात्रै रहेको छ । यद्यपि सञ्चालन नाफा मार्जिन भने केही खुम्चिएको छ । आर्थिक वर्ष २०८१/८२ मा २१ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन चालु आर्थिक वर्षको ९ महिनामा १७ प्रतिशतमा सीमित भएको कम्पनीले जनाएको छ । सन् १९९४ मा स्थापना भएको जास्मिन पेन्ट्सले चितवनको भरतपुरस्थित उद्योगबाट वार्षिक १८ हजार ३४१ मेट्रिक टन उत्पादन क्षमता रहेको प्लान्टबाट इन्टेरियर, एक्स्टेरियर, मेटल तथा वुड तथा वाटरप्रुफ पेन्ट उत्पादन गर्दै आएको छ । अप्रिल २०२६ सम्म कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ । कम्पनीले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन ९आईपीओ० जारी गर्ने तयारी गरेको छ । यसका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको कम्पनीले जनाएको छ । जास्मिन पेन्ट्समा मुख्य रूपमा अर्याल परिवारको लगानी रहेको छ । कम्पनीमा मधुसुधन अर्यालको ३४ प्रतिशत, लक्ष्मणप्रसाद अर्यालको २५ प्रतिशत, अनुराधा शर्मा अर्यालको १५ प्रतिशत, सौगत अर्यालको १३ प्रतिशत तथा सङ्गीता अर्यालको ९ प्रतिशत सेयर स्वामित्व रहेको छ । कम्पनीको अध्यक्षको जिम्मेवारी सङ्गीता अर्यालले सम्हालिरहेकी छन् । कम्पनीका अनुसार मूल्य प्राप्तिमा सुधार, ऋणभारमा कमी, अनुकूल ब्याजदर तथा लाभांश वितरणपछि पनि सकारात्मक नगद प्रवाह कायम रहेकाले वित्तीय अवस्था थप सुदृढ बनेको छ । लगातारको नाफा र राइट्स सेयर निष्कासनले कम्पनीको पुँजी आधार मजबुत भएको तथा प्रस्तावित आईपीओपछि पुँजी संरचना अझ सुदृढ हुने कम्पनीको विश्वास छ । यद्यपि उच्च मौज्दात र उठ्न बाँकी रकमका कारण कार्यशील पुँजीको आवश्यकता अझै उच्च रहे पनि अघिल्लो वर्षको तुलनामा यसमा सुधार आएको कम्पनीले जनाएको छ ।