विकासन्युज

एक खर्ब निक्षेप संकलन गर्न बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक खर्ब रुपैयाँ बराबरको निक्षेप संकलनका लागि बोलकबोल आह्वान गरेको छ । केन्द्रीय बैंकले बुधबार सूचना जारी गर्दै निक्षेप संकलनका लागि बोलकबोल जारी गरेको हो ।  सूचनाअनुसार नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र बोलकबोलमा सहभागी हुन पाउनेछन् । बोलकबोल गर्दा निक्षेप गर्न चाहेको रकम र प्रस्तावित ब्याजदर (दशमलवपछिका चार अंकसम्म) उल्लेख गर्नुपर्नेछ । घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान गरिएको रकमसम्म बोलकबोल गर्न सकिने  छ ।  

अरुण काबेली पावरले संस्थापक समूहको ३ लाख कित्ता सेयर बेच्दै

काठमाडौं । अरुण काबेली पावर लिमिटेडले संस्थापक समूहअन्तर्गत रहेको ३ लाख कित्ता सेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक समूहको नाममा रहेको इङ्वा हाइड्रोपावर लिमिटेडको ३ लाख कित्ता सेयर दोस्रो बजारमार्फत बिक्री गर्न लागिएको जनाएको छ । कम्पनीका अनुसार विद्युत नियमन आयोगले जारी गरेको विद्युतसम्बन्धी कम्पनीको सेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका, २०७८ को दफा ११ बमोजिम सर्वसाधारणको जानकारीका लागि १५ दिने सूचना प्रकाशित गरिएको हो । बिक्रीमा राखिएको सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । प्राप्त आवेदनका आधारमा प्रचलित कानुनी व्यवस्था अनुसार सेयर बिक्री प्रक्रिया अघि बढाइने कम्पनीको भनाइ छ ।

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा विपक्षीको विरोध कायमै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसदमा दिएको अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा विपक्षी दलहरूको विरोध बुधबार पनि जारी रहेको छ । प्रतिनिधिसभाको बैठक सुरु भएपछि सभामुख डीपी अर्यालले कार्यसूची अघि बढाउन खोज्नेबित्तिकै विपक्षी दलका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका हुन् ।  गत जेठ १७ गते प्रतिनिधिसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने अभिव्यक्ति दिएका थिए ।  उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षी दलहरूले त्यसलाई संसदको अभिलेख (रेकर्ड) बाट हटाउन र प्रधानमन्त्री स्वयंले सदनमा उपस्थित भएर स्पष्ट जवाफ दिनुपर्ने माग गर्दै आएका छन् । यसै विषयलाई लिएर विपक्षी दलहरूले लगातार संसद अवरुद्ध गर्दै आएका छन् भने सरकार र विपक्षीबीच सहमति जुट्न नसक्दा प्रतिनिधिसभाको नियमित कार्यसूची प्रभावित हुँदै आएको छ ।

सेयर बजार बुझ्न १० दिने निःशुल्क तालिम सञ्चालन गर्दै सन सेक्युरिटिज

काठमाडौं । सन सेक्युरिटिज प्रालिले वित्तीय साक्षरता प्रवर्द्धन गर्ने उद्देश्यले १० दिने निःशुल्क सेयर बजारसम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार काठमाडौंभित्र तथा बाहिर, साथै नेपालबाहिर रहेका विभिन्न पेशा तथा व्यवसायमा आबद्ध लगानीकर्तालाई लक्षित गरी तालिम सञ्चालन गर्न लागिएको हो । तालिम गुगल मिटमार्फत अनलाइन सञ्चालन हुनेछ । कम्पनीका अनुसार तालिममा सेयर बजारको आधारभूत विश्लेषण, संस्थागत तथा फन्ड म्यानेजरले सेयर छनोट गर्ने विधि, मार्जिन कारोबारको प्रयोग र जोखिम व्यवस्थापन, नेपालमा उपलब्ध लगानीका वित्तीय साधन, म्युचुअल फन्ड र मल्टिब्यागर सेयर पहिचान गर्ने तरिका, कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग तथा क्यान्डल, चार्ट, ट्रेन्ड र विभिन्न इन्डिकेटरसहितको प्राविधिक विश्लेषणका विषय समेटिनेछन् । यस्तै, वर्तमान बजार परिस्थितिमा लगानीकर्ताले अपनाउनुपर्ने रणनीतिबारे पनि छलफल गरिने कम्पनीले जनाएको छ। यसका लागि विश्लेषक अभिका पौडेल, छोटेलाल रौनियार, अस्तित्व शर्मा र सौगात पन्तले सहजीकरण गर्नेछन् । तालिम हरेक दिन साँझ ७ः३० बजेदेखि ९ बजेसम्म गुगल मिटमार्फत सञ्चालन हुने कम्पनीले जनाएको छ ।

केन र बेलिङ्घमकै भरमा इङ्ल्यान्डले विश्वकप जित्न सक्ला ?

काठमाडौं । फुटबललाई परम्परागत रूपमा ‘वीक लिंक’ (कमजोर कडी) भएको खेल मानिन्छ । सामान्य धारणा के छ भने कुनै टोलीको सफलता उसका उत्कृष्ट स्टार खेलाडीभन्दा पनि सबैभन्दा कमजोर खेलाडीको स्तरले बढी निर्धारण गर्छ । कम गोल हुने र प्रत्येक खेलाडी एकअर्कामा अत्यधिक निर्भर रहने खेल भएकाले व्यक्तिगत उत्कृष्टताले मात्र टोलीलाई धेरै टाढासम्म लैजान सक्दैन । यसको विपरीत, बास्केटबलजस्ता खेललाई ‘स्ट्रङ लिंक’ (बलियो कडी) भएको खेल मानिन्छ । त्यस्ता खेलमा कुनै असाधारण खेलाडीले खेलमाथि पूर्ण नियन्त्रण जमाउँदै लगभग एक्लैले टोलीलाई जित दिलाउन सक्छ । तर, २०२६ फिफा विश्वकपमा जुड बेलिङ्घम र ह्यारी केनले यो परम्परागत धारणालाई चुनौती दिइरहेका छन् । यसको अर्थ इङ्ल्यान्डका अन्य खेलाडीहरूले राम्रो प्रदर्शन गरेका छैनन् भन्ने होइन । तर इङ्ल्यान्डलाई सेमिफाइनलसम्म पुर्याउन बेलिङ्घम र केनको योगदान असाधारण रहेको तथ्यलाई अस्वीकार गर्न सकिँदैन ।  इङ्ल्यान्डले बुधबार राति मियामीमा आफ्नो पुरानो प्रतिद्वन्द्वी अर्जेन्टिनासँग सेमिफाइनल खेल्दै छ । यी दुई खेलाडीले मिलेर प्रतियोगितामा इङ्ल्यान्डका १३ मध्ये १२ गोल गरेका छन् । अन्य खेलाडीबाट भएको एक मात्र गोल समूह चरणको पहिलो खेलमा मार्कस रासफोर्डले क्रोएसियाविरुद्ध गरेका थिए । यस हिसाबले हेर्दा इङ्ल्यान्डका ९२.३ प्रतिशत गोल केन र बेलिङ्घमकै नाममा छन् । अझ उल्लेखनीय कुरा, टोलीका पछिल्ला लगातार नौ गोल पनि यी दुईले मात्रै गरेका छन् । यो साँच्चिकै असाधारण तथ्यांक हो । वास्तवमा विश्वकप इतिहासमै कुनै टोलीको आक्रमण यति धेरै दुई खेलाडीमा केन्द्रित भएको पहिलो पटक हो । प्रतियोगितामा कम्तीमा १० गोल गरेका टोलीहरूलाई आधार मान्दा केन र बेलिङ्घममाथिको इङ्ल्यान्डको निर्भरता विश्वकप इतिहासकै सबैभन्दा उच्च देखिन्छ । तर, दुई खेलाडीमाथिको यस्तो निर्भरता शक्ति हो कि कमजोरी ? इतिहासले भने यो घातक कमजोरी होइन भन्ने देखाउँछ । यो सूचीका शीर्ष सात टोलीमध्ये एक टोलीले विश्वकप जितेको थियो– सन् १९३८ को इटाली । अर्को टोली फ्रान्स पनि २०२६ को सेमिफाइनलमा पुगेको छ, जहाँ केलियन एम्बाप्पे (८ गोल) र उस्मान डेम्बेले (५ गोल) ले टोलीका ८१.३ प्रतिशत गोल गरेका छन् । इङ्ल्यान्ड पनि अहिले उपाधिबाट केवल दुई खेल टाढा छ । सूचीका अन्य टोलीहरूले पनि सफल यात्रा गरेका थिए । १९५० मा स्पेन चौथो भएको थियो । १९५८ मा स्विट्जरल्यान्ड क्वार्टरफाइनल पुगेको थियो, जहाँ उसले विश्वकप इतिहासकै सर्वाधिक गोल भएको खेलमा अस्ट्रियासँग हार बेहोरेको थियो । १९९० मा घरेलु मैदानमा इटाली सेमिफाइनल पुगेको थियो भने ह्रिस्टो स्टोइचकोभको उत्कृष्ट प्रदर्शनमा बुल्गेरिया १९९४ मा अन्तिम चार मा पुगेको थियो । अर्थात् यी सात टोलीमध्ये छ टोली कम्तीमा सेमिफाइनलसम्म पुगेका थिए । स्वीकार गर्नैपर्छ, यहाँ केही ‘सेलेक्सन बायस’ पनि छ । किनकि विश्लेषणमा कम्तीमा १० गोल गरेका टोली मात्र समावेश गरिएकाले गहिरोसम्म पुग्ने सम्भावना भएका टोलीहरू स्वाभाविक रूपमा बढी देखिन्छन्। तर पनि उपलब्ध तथ्यहरूले के देखाउँछन् भने दुई उत्कृष्ट आक्रमणकारीमाथि अत्यधिक निर्भर हुनु आफैमा नकारात्मक कुरा होइन । यस वर्ष फ्रान्सका लागि यो रणनीतिले राम्रोसँग काम गरिरहेको थियो । यद्यपि फ्रान्स पहिलो सेमिफाइनलमा स्पेनसँग २–० ले पराजित भइसकेको छ । त्यसअघि कतार २०२२ विश्वकपमा अर्जेन्टिनाले पनि लियोनेल मेसीमाथि ठूलो भरोसा गरेर उपाधि जितेको थियो । सन् २०२२ को विश्वकपमा अर्जेन्टिनाका कुल प्रहारमध्ये ३२ प्रतिशत मेसीले गरेका थिए, जुन २०२६ मा बढेर ३४ प्रतिशत पुगेको छ । यी दुई विश्वकपलाई जोड्दा पोल्यान्डका रोबर्ट लेवान्डोस्की (३८.७ प्रतिशत) बाहेक आफ्नै टोलीको आक्रमणको यति ठूलो जिम्मेवारी बोकेको अर्को खेलाडी छैन । अर्जेन्टिना, फ्रान्स र अहिले इङ्ल्यान्डले पनि केही विश्वस्तरीय खेलाडीमाथि यति धेरै भर परिरहेका बेला विश्वकप वा समग्र अन्तर्राष्ट्रिय फुटबलले फुटबललाई ‘वीक लिंक’ खेल भन्ने पुरानो धारणामाथि पुनर्विचार गर्न बाध्य बनाइरहेको हुन सक्छ । सान्दर्भिक सामग्रीहरू : पहिलो सेमिफाइनल : उपाधिको दाबेदार फ्रान्स र स्पेनबीच निर्णायक खेल कसले जित्ला विश्वकप ? यस्तो छ अप्टा सुपरकम्प्युटरको भविष्यवाणी इङ्ग्ल्यान्डको नायक बेलिङ्घम सेमिफाइनल समीकरण पूरा, फुटबलका चार महाशक्ति उपाधि दौडमा यी हुन् इङ्ल्यान्डले नर्वेलाई हराउन गर्नुपर्ने ६ मुख्य काम हालान्डको नाममै उन्माद ‘विश्वकप पहिले नै तय थियो ?’ अर्जेन्टिनालाई लिएर फैलिएका षड्यन्त्रका दाबीहरू विश्वकपमा अनुभवको दबदबा, इतिहासकै सबैभन्दा बढी उमेरका खेलाडी मैदानमा विश्वकपको उपाधि होड थप रोमाञ्चक क्रिस्टियानो रोनाल्डो : इतिहास रचे, तर विश्वकप ट्रफी चुम्न सकेनन् हालान्ड : दि नर्वेजियन हिरो चम्किँदै भिनिसियस जुनियर गोल्डेन बुटका दाबेदार विश्वकै भरपर्दा स्ट्राइकर ह्यारी केन डीआर कङ्गोको ऐतिहासिक यात्रामा इंग्ल्यान्डको चुनौती  यी हुन् विश्वकप जित्ने प्रमुख दाबेदार टोली [अप्टा विश्लेषण]  विश्वकपमा गोलको वर्षा, नकआउटअघि नै तोडियो सर्वाधिक कीर्तिमान  मेसी दि ग्रेट : जसले इतिहासका पानाहरू पुनः  लेखे

४५ जिल्लामा सेवा विस्तार गरेको सम्पदा लघुवित्त १०औं वर्षमा प्रवेश

काठमाडौं । राष्ट्रियस्तरको सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड स्थापनाको नौ वर्ष पूरा गरी १०औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा संस्थाले केन्द्रीय कार्यालयसहित देशभरका शाखामार्फत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम सञ्चालन गरेको जनाएको छ । गैंडाकोट–५, नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा रहेको केन्द्रीय कार्यालयले गैंडाकोट–१ स्थित अपाङ्ग जीवन विकास संस्थालाई करिब ५७ हजार रुपैयाँ बराबरका खाद्यान्न तथा अन्य आवश्यक सामग्री हस्तान्तरण गरेको छ । प्रमुख कार्यकारी अधिकृत लक्ष्मण पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा चामल, दाल, खाने तेल, नुन, चिउरा, भुजा, मसला, दुई थान पानी फिल्टर तथा ३० थान तन्ना सहयोग गरिएको संस्थाले जनाएको छ । वार्षिकोत्सवकै अवसरमा रौतहटको यमुनामाई गाउँपालिकास्थित सुकदेवचोक शाखाले बजार, मन्दिर तथा अस्पताल क्षेत्रमा फोहोर व्यवस्थापनका लागि स्ट्यान्डसहितका डस्टबिन वडा नं. १ का अध्यक्ष नन्दलाल यादवलाई हस्तान्तरण गरेको छ । यस्तै, धनुषाको तारापट्टी शाखाले मानव सेवा आश्रम जनकपुरलाई खाद्यान्न सामग्री उपलब्ध गराएको छ भने गोरखाको भच्चेक, बाराको फेटा, मोरङको केरावारी, कास्कीको पार्दी, काभ्रेपलाञ्चोकको खडपु, गुल्मीको मजुवा, बाँकेको रिमझिमचोक तथा रुपन्देहीको झिमझिमिया शाखाले विभिन्न विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण तथा मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेका छन् । संस्थाका अनुसार सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै देशभरका १५५ शाखाले स्थानीय आवश्यकता अनुसार सहयोगमूलक कार्यक्रम सञ्चालन गरेका हुन् । हाल सम्पदा लघुवित्तले ४५ जिल्लाका १५५ शाखामार्फत करिब १ लाख ८४ हजार घरपरिवारलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । संस्थाको कर्जा लगानी १० अर्ब ७५ करोड रुपैयाँभन्दा बढी पुगेको छ भने ग्राहक सदस्यबाट ३ अर्ब ५ करोड रुपैयाँभन्दा बढी बचत परिचालन भएको जनाएको छ ।  

५० हजारको भविष्य अन्योलमा, सिंहदरबारमा करार कर्मचारीको प्रदर्शन

काठमाडौं । तीनै तहका सरकारअन्तर्गत कार्यरत अस्थायी, करार तथा दैनिक ज्यालादारी कर्मचारीहरू आफ्नो रोजगारी नै संकटमा परेको भन्दै आन्दोलनमा उत्रिएका छन् । साउन १ गतेदेखि ठूलो संख्यामा कर्मचारीलाई सेवाबाट हटाउने तयारी भइरहेको आशंकापछि उनीहरूले बुधबार सिंहदरबारमा प्रदर्शन गरेका हुन् । यसअघि मंगलबार उनीहरूले अर्थ मन्त्रालयअगाडि धर्ना दिएका थिए । आन्दोलनरत कर्मचारीहरूले सरकारले प्रशासनिक खर्च कटौती र मितव्ययिताको नाममा आफूहरूलाई विस्थापित गर्न खोजेको आरोप लगाएका छन् । कर्मचारीहरूका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आगामी आर्थिक वर्षदेखि अस्थायी, करार र दैनिक ज्यालादारी कर्मचारीलाई हटाएर ठेक्का प्रणालीमार्फत जनशक्ति व्यवस्थापन गर्ने विषयमा छलफल भएपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन् । उक्त नीतिले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत करिब ५० हजारभन्दा बढी कर्मचारीको रोजगारी जोखिममा परेको उनीहरूको दाबी छ । आन्दोलनमा सहभागी कर्मचारीहरूले १० वर्षदेखि २५ वर्षसम्म निरन्तर सेवा गरेका कर्मचारीलाई कुनै विकल्प वा संरक्षणबिना घर फर्काउने तयारी अन्यायपूर्ण भएको बताएका छन् । वर्षौसम्म राज्यको सेवा गरे पनि अहिले एकैपटक हटाउने निर्णयले हजारौं परिवारको जीविकोपार्जन संकटमा पर्ने उनीहरूको भनाइ छ । उनीहरूले सरकारले एक पटकका लागि आवश्यक प्रक्रिया पूरा गरी आफूहरूलाई स्थायी गर्नुपर्ने, सर्वोच्च अदालतले अस्थायी तथा करार कर्मचारीको पक्षमा गरेका फैसलाहरू तत्काल कार्यान्वयन गर्नुपर्ने तथा सामाजिक सुरक्षा कोषमा आबद्ध गरिनुपर्ने माग अघि सारेका छन् । आन्दोलनरत कर्मचारीहरूका अनुसार सर्वोच्च अदालतले २०७० साल र गत भदौ २ गते दिएका आदेशमार्फत अस्थायी तथा करार कर्मचारीलाई महँगी भत्ता, स्वास्थ्य उपचार, उपदान तथा सामाजिक सुरक्षा कोषलगायतका सुविधा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको थियो । तर ती आदेश कार्यान्वयन गर्नुको सट्टा सरकारले कुनै सेवासुविधा नदिई कर्मचारीलाई घर पठाउने तयारी गरेको उनीहरूको आरोप छ । उनीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पटकपटक ध्यानाकर्षण गराउँदा पनि ठोस निर्णय नभई आश्वासन मात्रै पाएको गुनासो गरेका छन् । आन्दोलनरत कर्मचारीहरूले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउने चेतावनी दिएका छन् ।   

फक्ताङलुङ गाउँपालिकामा उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति

फुङ्लिङ । फक्ताङलुङ गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने सबै विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । विगत चार वर्षदेखि पालिकाले उच्च शिक्षा हासिल गर्ने कक्षा ११ र १२ तथा स्नातक तह अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको हो ।      यसवर्ष भने १३५ विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष राजन लिम्बूले बताए । पालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा १९ लाख ६१ हजार ४०० रुपैयाँ बजेट छात्रवृत्तिका लागि विनियोजन गरेको थियो ।         अध्यक्ष लिम्बूले भने, 'विभिन्न कारणले पढाइ स्थगित गरेका विद्यार्थी समेतले पढाइलाई पुनर्जीवित गर्न छात्रवृत्ति  उपयोगी बनेको छ ।'