विकासन्युज

भ्रष्टाचार गर्दिन र हुन पनि दिन्नः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचार नगर्ने र हुन पनि नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । संसदमा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले भने–‘म प्रधानमन्त्री बन्नका लागि प्रधानमन्त्री बनेको होइन, देश बनाउने आएको हुँ । भ्रष्टचार गर्दिन र हुन पनि दिन्न ।’ संसदमा विश्वासको मत माग्दै ओलीले यस्तो भने सरकार दम्भि बन्दैन्, प्रतिपक्ष सहयोगी बनोस । सरकार र प्रतिपक्षी भनेर बस्ने सुबिधा छैन् । देशविकासको अभियान सत्तापक्षको मात्रै होइन् । सबैको साझा अभियान हो । विकास र समृद्धिको नेतृत्वले सत्ता पक्षले गर्ला । प्रधानमन्त्री भएकाले मैले गरौंला । तर प्रतिपक्षी पनि यसको महत्वपुर्ण हिस्सा हो । बोक्सी र धामी झाक्री मान्ने हामी कहाँ छौं ? देश कहाँ छ ? समाज किन हेरिबसेको छ ? हाम्रो चेतना कहाँ छ ? आठ बर्षको बालिका बलत्कृत भएर हस्पिटलमा छिन् । यो देश बनाउने उपयुक्त वातावरण हो । साझा घोषणा पत्रले आफ्ना नीति कार्यक्रम र उदेश्य स्पष्ट छ । त्यसलाई जनताले बहुमतका साथ अनुमोदन गरेका छन् । म निर्वाचनको बनोटबाट प्रधानमन्त्री बनेको हुँ । म प्रधानमन्त्रीको हिसाबले तपाईहरुलाई भन्न चाहान्छु, म प्रधानमन्त्री बन्नका लागि प्रधानमन्त्री बनेको होइन, देश बनाउने आएको हुँ । भ्रष्टचार गर्दिन र हुन पनि दिन्न । मलाई जनताले दमनकारी शासक बनाउन जिताएका होइनन् । म जनताको रक्षक हुँ । राष्ट्रियताको पहरेदार हुँ । सदाचारको अभियान्त हुँ । देश भक्त, विकासवादी, सुशासनका पक्षपातीलाई भोट नदिएर कता हाल लैजानु हुन्छ ? मेरो इतिहास र वर्तमानले पनि मलाई भोट नदिनुपर्ने कारण छैन् । हामीले प्रदेश नम्बर २ मा प्रतिपक्षमै बसेर पनि सरकारलाई भोट दिएको छ । यहाँ पनि प्रतिपक्षीले भोट दिन पाउँछन सक्छन र दिनुपर्छ । अब जसले सक्छ उसले गर्छ भन्ने होइन नसक्नेहरुका लागि पनि सरकार बन्नेछ । कोहि भोकै मर्नेछैनन् । केहि बर्षभित्र कोही पनि नेपाली पासपोर्ट देखाउँदा सम्मानपुर्वक व्यवहार गर्ने दिन आउँछ । त्यसकै लागि म प्रधानमन्त्री बनेको हुँ र मत दिनका लागि पनि अनुरोध गर्दछु । मलाई मत दिनु होला ।

सेयर बजार ३१ अंकले घट्यो, दुई कम्पनीका लगानीकर्ताले गुमाए ९ प्रतिशत बढी

काठमाडौं । आइतबारको सेयर बजार निरन्तर ओरालो लागेको छ । सो दिन बजार खुलेदेखि नै निरन्तर ओरालो लागेको नेप्से परिसूचक बजार बन्द हुँदा ३१.०४ अंकले घटेर १२८४.०९ अंकमा झरेको छ । बजारमा परिसूचक र कारोबार रकम दुबैमा गिरावट आएको छ । आइतबार जम्मा १६० कम्पनीको ३२ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएका छन् । आइतबार २ कम्पनीको सेयर मूल्यमा करिब १० प्रतिशत गिरावट आएको छ । सबैभन्दा बढी ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा गिरावट आएको छ । सो दिन यस संस्थाका लगानीकर्ताले ९.३८ प्रतिशत गुमाएका हुन् । त्यस्तै, नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले पनि अघिल्लो दिनको तुलनामा ९.३३ प्रतिशत गुमाएका छन् । सो दिन कारोबारमा आएका सबै समूहका परिसूचक राताम्मे भएका छन् । बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक २४३ अंकले घटेको छ । त्यस्तै, फाइनान्स समूह बाहेक बाँकी समूहको सूचक दोहोरो अंकले घटेको छन् । फाइनान्स समूह ८ अंकले ओरालो लागेको छ । आइतबार गुमाउने १० कम्पनी

चुनावको प्रतिद्धन्द्धिता छाडेर विकास र समृद्धिमा लागौं- ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले चुनावको प्रतिष्पर्धालाई भुलेर देश विकासमा जुट्न आग्रह गरेका छन् । संसदमा विश्वासको मत माग्न आफ्ना कुरा राख्दै प्रधानमन्त्री ओलीले चुनावको प्रतिष्पर्धालाई छाडेर विकास र समृद्धिको बाटोमा अघि बढ्न आग्रह गरेका हुन् । ओलीले निर्वाचनमा प्रतिष्पर्धाका क्रममा देखिएका तिक्तताहरुलाई भुलेर सरकार र प्रतिपक्ष दुबै मिलेर अघि बढ्नुपर्ने बताएका हुन् । उनले राष्ट्रियता र गौरवलाई उच्च बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका हुन् । उनले बामपन्थी घोषणा पत्रमा अघि सारिएका प्रतिवद्धताहरुको कार्यान्वयनमा प्रतिवद्ध रहेको समेत बताएका थिए ।

गण्डकी विकास बैंकले १९ प्रतिशत बोनस सेयर दिने, चुक्ता पुँजी २ अर्ब ७५ करोड पुग्ने

काठमाडौं । गण्डकी विकास बैंकले सेयरधनीलाई १९ दशमलब ३१०६ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । उक्त निर्णय कम्पनीको फागुन २६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैंकले गत आवको संचित मुनाफा र हाल जारी गरेको हकप्रद पश्चात कायम भएको पुँजीमा सो मात्राको लाभांश वितरण गर्न लागेको हो । कम्पनीले जारी गरेको हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ७५ करोड रुपैयाँ पुग्ने छ । कम्पनीको प्रस्तावित उक्त लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

बेलबारी नगरद्धारा ३२ विद्यालयमा ई-हाजिरी सेवा र बिरामीलाई २५ हजार सहयोग

काठमाडौं । बेलबारी नगरपालिका उर्लाबारी मोरङले नगरपालिका भित्रका ३२ वटा विद्यालयमा ई-हाजिरी प्रक्रिया सुरु हुने भएको छ । नगरपालिकाको समन्वयमा ई हाजिरी मेसिन खरिद प्रक्रिया अघि बढेको हो । ३२ विद्यालयका लागि ३२ वटै ई हाजिरी मेसिन खरिद प्रक्रिया अधि बढेको नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए । ई-हाजिरी सेवाबाट विद्यालयमा काम गर्ने सम्पुर्ण कर्मचारीको हाजिर हुनेछ । तर विद्यार्थीको हकमा भने यो लागू हुने छैन । ‘नगरपालिकाले विकासका कार्यक्रमलाई अगाडी बढाइरहेको छ, नगरपालिकामा रहेका ११ वटै वडामा इन्टरनेट सेवा पुगिसको छ, अब अन्य विकासका पुर्वाधार विकास गर्न आर्थिक स्रोतको व्यवस्थापन गरिरहेका छौं’, सुवेदीले विकासन्यूजसँग भने । नगरपालिकाले विभिन्न पाँच रोगका बिरामीलाई जिवनयापन सहज बनाउँनका लागि २५ हजार रुपैंयाका प्रतिव्यक्तिदरले रकम प्रदान गर्ने भएको छ । नगरले अर्बुद, मुटुरोग, मिर्गौला प्रत्यारोपण गरेका व्यक्ति, बोनम्यारो ट्रान्सप्लान्ट र स्पाइनल कर्ड इन्जुरीका बिरामीलाई आर्थिक सहयोग उपलब्ध गराउन लागेको हो । अहिले पाँच रोगबाट पीडित व्यक्तिहरुको तथ्यांक संकलन भैरहेको नगरले जनाएको छ । ११ जना पीडितको विवरण आइसकेको र आउनेक्रम जारी रहेको छ । रकम लिनको लागि बिरामीले उपचार गराएको अस्पताल वा चिकित्सकले प्रमाणित गरेको कागजातको नगपालिकामा पेश गर्नु पर्ने छ । बिरामीलाई प्रदान गर्ने रकम नगरपालिकाको कोषबाटै उपलब्ध गराउने मेयर सुवेदीले जानकारी दिए । नगरपालिकाले विशेषगरी सडक, स्वास्थ्य र शिक्षालाई जोड दिएको उपमेयर ढाकादेवी पराजुलीले बताइन् । नगरमा सपिङ कम्पेक्स, बसपार्क निर्माण लागि आवश्यक कोष नहुँदा विभिन्न दाताहरुसँग सहयोग लिने विषयमा छलफल भैरहेको उपमेयर पराजुलीले बताइन । नगरपालिकाले स्पस्ट कानूनी कार्यआदेश नपाउँदा सुकुम्बासी समस्या र नदिनालाको व्यवस्थापनमा कठिनाई रहेको मेयर श्रेष्ठले बताए । नगरको ११ वडामा करिब ७३ हजार जनसंख्या बसोबास गर्दै आएका छन् । नगरको सबै वडाहरुमा खानेपानी को सुविधामा भने पुगेको छैन ।

चैत पहिलो हप्ता सार्क विजनेश लिडर्स कनक्लेभ

काठमाडौं । चैत २, ३ र ४ गते छैठौं ‘विजनेश लिडर्स कनक्लेभ’ हुने भएको छ । नेपालसहित विभिन्न सार्कमा आबद्ध मुलुकहरुको व्यापपार व्यवसाय बढाउन सहयोग पुर्याउने उद्देश्यले उक्त कनक्लेभ सार्क चेम्बर आफ कमर्श एन्ड इण्डस्ट्रिज (सार्क सीसीआई) ले गर्ने भएको हो । राजधानीमा आइतबार सार्क सीसीआईले पत्रकार सम्मेलन गरी उक्त सञ्चालन हुने सभाको बारेमा जानकारी दिएको थियो । सम्मेलनमा सार्क सीसीआईका अध्यक्ष सुरज वैद्यले नेपालको लागि उक्त सभा महत्वपूर्ण हुने बताए । सभामा सार्क मुलुकका वाणिज्य मन्त्रालयको प्रतिनिधि, विभिन्न सार्क स्थित चेम्बरका प्रतिनिधि, विजनेश कमिटी, नीति निर्माता लगायतको महत्वपूर्ण उपस्थिति रहने जानकारी दिए । ‘सार्क क्षेत्रको कृषि, उर्जा, सडक लगायतको विकासको सम्बन्धमा छलफल हुनेछ,’ उनले भने ‘हाम्रो टिमले सार्क क्षेत्रका युवाहरुबाट धेरै नै अपेक्षा गरेको छ ।’ नेपाल, भारत, बंगलादेश, भुटान लगायत सार्कमा आबद्ध आठ मुलुकको विभिन्न आर्थिक मुद्धाहरुमा विस्तृत छलफल गरिने उनको भनाइ छ । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका प्रवक्ता रविशंकर सैंजुले मुलुकको सबैभन्दा ठूलो बजार सार्कसँगको रहेको बताए । नेपालको व्यापारमा उक्त सभाले नयाँ कोर्ष लिने उनको विश्वास छ । ‘सभालाई हामीले अवसरको रुपमा लिन पर्दछ,’ उनले भने ‘सार्क मुलुकहरुको विजनेश टप लिडरहरु आउने भएका छन् । वीटुवी मिटिङ सञ्चालन हुनेछ ।’ नीति निर्माण गर्नेदेखि त्यसको कार्यान्वयनसम्म सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न चाहेको उनको भनाइ छ । आयोजकले सभामा मुलुकबाहिरबाट करिब २ सयको संख्यामा डेभलपर, डेलिगेटर, स्पीकर लगायतको उपस्थिति हुने जनाएको छ ।

भक्तपुर पर्यटन विकास समिति र अस्पतालबीच पर्यटकलाई आकस्मिक सेवा दिने सम्झौता

भक्तपुर । भक्तपुरमा आउने पर्यटकहरुको आकस्मिक स्वास्थोपचारका लागि भक्तपुर पर्यटन विकास समिति र डा. इबामुरा अस्पतालबीच आइतबार सम्झौता भएको छ । उक्त सेवा आइबारदेखि नै लागू हुने भएको छ । अस्पतालले भक्तपुरमा आउने पर्यटकलाई निःशुल्क एम्बुलेन्स सेवा, फुट पोइजन साधारणदेखि अन्य रोगको उपचार हुने अस्पतालका व्यवस्थापक रञ्जित मारिखुले बताएका छन् । उनका अनुसार भक्तपुरमा आउने पर्यटकका लागि आकस्मिक सेवा प्रदान गर्ने कुनै अस्पताल नभएकाले इबामुराले पर्यटन विकास समितिसँग सम्झौता गरी पर्यटकलाई सेवा प्रदान गरिएको हो । भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेलेले दुई निकायबीच भएको सम्झौताले भक्तपुरमा आउने पर्यटक झन बढ्ने बताएका छन् । उनले अब भक्तपुरमा आउने पर्यटक आकस्मिक रुपमा बिरामी भए जुनसुकै समयमा पनि इबामुराले स्वास्थ्य सेवा प्रदान गर्ने बताएका छन् ।

एनआइसी एसियाले भन्यो-तत्काल ब्याजदर घट्दैन

काठमाडौं । एनआइसी एसिया बैंकले तत्काल ब्याजदर नघटाउने स्पष्ट पारेको छ । निक्षेप कर्ताहरुमाझ प्रतिवद्धता गरिसकिएको र सो प्रतिवद्धता अनुसार केहि निक्षेप सकेत संकलन भैसकेकाले तत्काल ब्याजदर नघटाउने निष्कर्षमा पुगेको बैंकका प्रवक्ता सुधिर पाण्डेले बताए । ‘हामीले निक्षेप कर्तालाई ब्याजदरबारे प्रतिवद्धता जनाईसकेका छौं, त्यसबाट पछि हट्न सकिन्न, बिचको कुनै बाटो निकाल्ने प्रयास गर्छाै’, पाण्डेले भने । उनले बैंकर्स संघको उच्च नेतृत्वसँग छलफल भैरहेको बताउँदै हल्लाका पछाडी नलाग्न आग्रह पनि गरे । ‘बैंकर्स संघका अध्यक्षसँग हामी निरन्तर छलफलमै छौं, केहि दिनमै सहमति जुट्छ, हल्लाको पछि कुद्नु भएन ।’ पाण्डेले भने ।  एनआइसीका प्रवक्ता पाण्डेले अन्तर बैंक कारोबार नगर्ने बैंकर्स संघको निर्णय विरुद्ध तत्काल राष्ट्र बैंकमा उजुरी नदिने पनि स्पष्ट पारे । ‘अहिले नै राष्ट्र बैंक जाँदा दुवै पक्षले प्रतिष्ठाको बिषय बनाउने सम्भावना देखेर आपसमै मिल्ने प्रयास गरिरहेका छौं’, पाण्डेले भने ।  उनले बैंकर्स संघ र एनआइसी एसिया बैंकबीच आरोप प्रत्यारोपमा भने नजाने सहमति भएको जानकारी दिए । एनआइसी एसिया बैंकले मुद्धति निक्षेपमा १२ प्रतिशत र साधारण बचतमा १० प्रतिशत ब्याज दिने योजना सार्वजनिक गरेपछि बैंकर्स संघले एनआइसीसँग अन्तर बैंक कारोबार नगर्ने निर्णय गरेको थियो । आइतबार २७ वटै बाणिज्य बैंकले संघको निर्णयलाई अनुमोदन गरेका छन् । संघले मुद्धति निक्षेपमा ११ र साधारण बचतमा ८ प्रतिशत भन्दा बढि ब्याजदर नदिने सहमति गरेको थियो ।