विकासन्युज

स्पर्स लघुवित्तको स्वतन्त्र संचालकमा मेघराज गजुरेल नियुक्त

काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र संचालकमा मेघराज गजुरेल नियुक्त भएका छन् । संस्थाको ३१औँ संचालक समितिको बैठकले गजुरेललाई संस्थाको स्वतन्त्र संचालकको रुपमा नियुक्त गरेको हो । गजुरेलले विभिन्न किसिमका बैंक तथा वित्तीय संस्थामा ३८ वर्ष भन्दा बढी लामो अनुभव हासिल गरेका छन् । उनले बैंक अफ सिलोनमा (हालको एनसीसी बैंक) २ वर्ष, कृषि विकास बैंकमा २१ वर्ष तथा रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरमा १५ वर्ष व्यवस्थापकीय पदमा रही कार्यगत अनुभव हासिल गरेका थिए । उनले सेभिङ बैंक फाउन्डेशन फर इन्टरनेशनल कोअपरेशन र सहारा बचत तथा ऋण सहकारी संस्था (साकोस) झापाको कन्सलट्यान्टको रुपमा पनि काम गरेका थिए । हाल संस्थाको चुक्ता पूँजी ५ करोड ६० लाख रुपैयाँ रहेको छ । संस्थाले निकट भविष्यमा २ करोड ४० लाख रुपैयाँको सार्वजनिक निष्कासन गर्ने तयारी गर्दैछ । सार्वजनीक निष्काशन पश्चात संस्थाको चुक्ता पुँजी ८ करोड रुपैयाँ पुग्नेछ ।    

९ प्रतिशत ब्याज दिने २ अर्बको वचतपत्र निष्कासन चैतदेखि

काठमाडौं । नेपाल राष्ट्र बैंकले वार्षिक ९ प्रतिशत ब्याज दिने गरी २ अर्ब रुपैयाँको नागरिक वचतपत्र निष्कासन गर्ने भएको छ । केन्द्रीय बैंकले चैत १ देखि २१ गतेसम्मका लागि वचतपत्र बिक्री खुला गर्न लागेको छ । वचतपत्र निष्कासन चैत २६ गते हुने राष्ट्र बैंकले जनाएको छ । नागरिक बचतपत्र २०७९ चैत २६ गते फिर्ता हुने छ । नेपाली नागरिकले मात्र बचतपत्र खरिद गर्न सक्ने छन् । प्रत्येक ६/६ महिनामा ब्याज भुक्तानी हुने छ । न्युनतम १० हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा पाउने केन्द्रीय बैंकले जानकारी दिएको छ । बचतपत्र धितो राखी यस बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिने छ ।

एक सय रुपैंयाँमा आइपीओ किन्ने दिन सकिँदै, ‘फ्रि प्राईसिङ’को तयारी अन्तिम चरणमा

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्राथमिक सेयर निष्काशन(आइपीओ)मा फ्रि प्राइसिङको मोडल अघि सार्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले उत्पादन मुलक उद्योगहरुलाई पूँजी बजारमा प्रोत्साहन गर्ने उदेश्यले फ्री प्राइसिङको व्यवस्था गर्न लागेको जानकारी दिए । ‘अब हामीले आईपीओ पनि फ्री प्राइसिङमा जाने तयारी गरिरहेका छौं जसले गर्दा रियल सेक्टर पूँजी बजारमा प्रोत्साहित हुनेछ ।’, बोर्डका अध्यक्ष डा. कार्कीले भने । तत्कालिन केपी ओली नेतृत्वको सरकारले २०७३/७४ को बजेटबाटै पूँजी बजारमा आउने उत्पादन मुलक कम्पनीहरुलाई आयकरमा १५ प्रतिशत छुट दिने घोषणा गरेको थियो । तर राम्रो गुडविल र नाफा कमाईरहेका कम्पनीहरुले एक सय रुपैंयाँ मूल्यमा सेयर बेचेर पूँजी बजारमा आउन नचाहेपछि बोर्डले फ्री प्राइसिङको मोडल अघि सार्न लागेको हो । ‘राम्रा उत्पादन मुलक कम्पनीहरु एक सय रुपैंयाँ मूल्यमा पूँजी बजारमा प्रवेश गर्न चाहाँदैनन्, त्यसैले पनि फ्रि प्राइसिङ अनिवार्य छ’, ब्रोकर एसोसियसनका पुर्व अध्यक्ष नरेन्द्र सिँजापति भने । पूँजी बजारमा एक सय रुपैंयाँ भन्दा बढि मूल्यमा आइपीओ जारी गर्ने प्रक्रियालाई प्रि प्राइसिङ भनिन्छ । नेपाल टेलिकमले यस अघि नै फ्री प्राइसिङकै मोडलमा सेयर बेचेको थियो । बोर्डले एफपिओको मूल्य निर्धारण गरे जस्तै आइपीओमा फ्रि प्राईसिङका लागि पनि विभिन्न मोडलहरु तयार पारिसकेको जनाएको छ । ‘हामीले एफपीओमा जस्तै आइपीओ पनि फ्री प्राइसिङमा जाँदा के के आधारमा मूल्य निर्धारण गर्ने भन्नेबारे खाका तयार गरिसकेका छौं’, कार्कीले भने । अब एनसेल लगायतका कम्पनीलाई पूँजी बजार प्रवेशका लागि सहजता थपिनेछ । कम्पनी ऐनको पछिल्लो संसोधनले १० करोड भन्दा बढि चुक्ता पुँजी भएका दुर सञ्चार सेवा प्रदायक कम्पनीहरुलाई २ बर्षभित्र सूचिकृत हुनै पर्ने व्यवस्था गरेको छ ।

१५०० पिन्ट रगत संकलन गर्दै नेपालले तोड्यो भारतको ९ सय पिन्टको रेकर्ड

काठमाडौं । नेपालले ८ घण्टामा १५ सय पिन्ट रगत संकलन गर्दै भारतको ९ सय पिन्ट रगतको विश्व किर्तिमान भंग गरेको छ । लायन्स क्लब अफ काठमाडौँलगायतका संस्थाले भारतको कीर्तिमान भंग गर्ने उद्देश्यले एक हजार ५ सय पिन्ट रगत संकलन गरेका हुन् । एकै दिनमा एकै ठाउँमा आठ घण्टाभित्र रगत संकलन गरेर गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा विश्व कीर्तिमान कायम गराउन उनीहरुले सो प्रयास गरेका आयोजकले जनाएको छ । लायन्स क्लब अफ काठमाडौँका अध्यक्ष अखिल श्रेष्ठले सो रक्तदानलाई विश्व कीर्तिमान कायम गर्न आजदेखि रक्तदानको प्रमाणसहित कार्य अगाडि बढाइने जानकारी दिँदै करिब डेढ महिनाभित्रमा त्यसको प्रमाणपत्र आउने बताए । यसअघि भारतमा करिब ९०० पिन्ट रगत संकलन गरिएको भए पनि विश्व कीर्तिमानका लागि दाबी नगरिएको आयोजकले जनाएका छन् ।-रासस

चीनको पर्यटन आम्दानी मात्रै ५ खर्ब ४६ अर्ब युआन

काठमाडौं । छिमेकी देश चीनले पर्यटन व्यवसायबाट एक वर्षमा ५ खर्ब ४६ अर्ब युआन आम्दानी गरेको छ । गएको वर्ष चीनले २९ करोड ७० लाख पर्यटकबाट सो रकम आम्दानी गरेको हो । पर्यटन व्यवसायीसम्बन्धी अधिकारीहरूका अनुसार देश र विदेशका गरी २०१७ मा २९ करोड ७० लाख पर्यटकलाई स्वागत गरिएको र सो संख्या सन् २०१६ को तुलनामा ४.३ प्रतिशतले बढी हो । यस बर्ष ७ प्रतिशतले पर्यटन व्यवसायको आय आर्जनलाई बढाउने बेइजिङको उद्देश्य रहेको बताइएको छ । साथै यस वर्ष १४४ घण्टाको प्रवेशआज्ञालाई बढावा दिने पनि सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।-रासस÷सिन्ह्वा

इओएलद्वारा गोदरेजको घरायसी सामाग्री सार्वजनिक

काठमाडौं । नेपालका लागि गोदरेज ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत इओएल प्रालिले नेपाली बजारमा गोदरेजको घरायसी थप सामाग्री सार्वजनिक गरेको छ । गोदरेज घरायसी सामाग्रीको ब्राण्ड मध्ये एक हो । कम्पनीले नेपालभरीका आफ्नो बिक्रेताहरुलाई एउटैै छानामुनी राखेर उक्त सामाग्रीहरुको सार्वजनि कार्यक्रम आयोजना गरेको थियो । जहाँ गोदरेजको हेड अफ एक्सपोर्ट तथा एशोसिएट भाइस प्रेसिडेन्ट लगायतकोे उपस्थिति थियो । कार्यक्रममाझ गोदरेजले थप नयाँ सामाग्रीहरु नेपाली बजारमा भित्र्याएको औपचारिक घोषणा गरेको थियो । कम्पनीले एनएक्सडब्ल्यु सेरिज रेफ्रिजेरेटर, रेफ–डिओ सर्भिस रेफ्रिजेरेटर, फ्रिजर, वासिङ मेशिन लगायतका सामाग्रीहरु नेपाली बजारमा भित्र्याएकोे हो ।

नेपालकै अग्रणी महिला चालकलाई यामाहाको स्कुटर

काठमाडौं । १०८औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नेपालकै अग्रणी, सम्भवतः पहिलो महिला स्कुटर चालक कमला श्रेष्ठलाई सम्मान गरेको छ । ३० को दशकमै स्कुटर चलाएर महिला स्वतन्त्रताको आन्दोलनमा टेवा पुर्याउनुका साथै महिला उद्यमशिलताको विकासमा महत्वपूर्ण भूमिका खेलेकी श्रेष्ठलाई एमएडब्लुले यामाहा स्कुटर हस्तान्तरण गरेर सम्मान गरेको हो । राजधानीमा आयोजित कार्यक्रममा कमला श्रेष्ठले सुरुवाती दिनहरुमा स्कुटर चालकका रुपमा आफूले भोगेका अप्ठेरा र समस्याका बारेमा अनुभव बाँडेकी थिइन् । ‘थाइल्यान्ड बसाइको बेला त्यस्तो समस्या आएन तर नेपाल फर्केपछि भने विभिन्न समस्या आइलाग्यो । छोरीबेटीलाई स्कुल नै नपठाउने समयमा केटाहरुका अगाडी स्कुटर चढेर हिंड्नु कम्ता चुनौतीपूर्ण थिएन,’ उनले भनिन्, ‘समाजले राम्रो नजरले हेर्दैनथ्यो । जिस्क्याउनेदेखि हतोत्साहित गर्नेसम्मका मानिसहरु भेटिन्थे । तर घरपरिवारको साथ पाएको कारण लामो समयसम्म स्कुटर चलाएँ ।’ उनी हाल नेपाल उद्योग तथा वाणिज्य महासंघका कार्यकारी सदस्य, महिला उद्यमशिलता विकास कटिमीका अध्यक्ष र सौन्दर्य व्यवसायी संघ, नेपालकी अध्यक्ष छिन् । आफ्नो उद्यमशिलतालाई माथिलान स्कुटरको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ छ । श्रेष्ठलाई एमएडब्लु इन्टरप्राइजेज यामाहा डिभिजनका मार्केटिङ हेड प्रदिप पोखरेलले स्कुटरको साँचो हस्तान्तरण गरेका थिए । कार्यक्रममा पोखरेलले विगतमा स्कुटरलाई महिला सवारीका रुपमा लिइए पनि आजभोलि आधा स्कुटर चालक पुरुष भएको बताए । ‘स्कुटरले महिला मात्र होइन पुरुषको पनि स्वतन्त्रता, आत्मविश्वास र सशक्तिकरणमा भूमिका खेलेको छ,’ उनले भने । यामाहाले आफ्नो ‘एसस्कुटर’ अभियान अन्तर्गत बुधबार नेपालमै पहिलो पटक ‘स्कुटर डे’ मनाएको थियो । यसै अवसरमा यामाहाले आफ्ना सर्भिस सेन्टरहरुबाट सबै ब्रान्डका स्कुटरलाई निशुल्क ‘वास’ गरिएको जनाइएको छ ।

साझा यातायातको सेमि लो फ्लोर जन बस सञ्चालन सुरु

काठमाडौं । नेपाल सार्वजनिक यातायतको क्षेत्रमा नौलो प्रस्तुती गर्दै आएको साझा यातायातले फेरी नेपालमा पहिलो पटक अशोक लेलैण्डको सेमी लो फ्लोर बस सञ्चालन सुरु गरेको छ । उक्त सार्वजनिक बस युरोपियन स्ट्याण्डर्डको रुपमा सञ्चालनमा आएको कम्पनीको भनाइ छ । बस बुधबारनै एक कार्यक्रमबीच काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायतले नेपलामै पहिलो पटक अशोक लेलैण्डले उत्पादन गरेको सेमी लो फ्लोर बस सञ्चालनको सुभारम्भ गरेको बताइएको छ । साे अवसरमा साझा यातायातका अध्यक्ष कनकमणी दिक्षितले अशोक लेलैण्डको ‘जन’ बस विस्वकै पहिलो सिंगल स्टेप, फ्रन्ट इन्जिन, फुल्ली फ्ल्याट फ्लोर बस रहेको बताएका छन् । उपत्यकामा चार स्टेप उक्लिएर बसमा चढुनु पर्ने बाध्यताबाट मुक्ति गराउन एक स्टेपमा नै बसमा चढेन सकिने उक्त सेमि लो फ्लोर बस सञ्चालन गरिएको जानकारी दिए । ‘यसमा भएको फुल एयर सस्पेन्सनको कारण यात्रुहरुलाई आनन्ददायी यात्रको अनुभव दिनेछ,’ उनले भने । कम्पनीकाे अनुसार बस अपाङ्गमैत्री रहेकाे छ । उनले अशोक लेलैण्ड लि. भारतका प्रबन्ध निर्देशक विनोद दसारी आईएमई मोमटर्सको कार्यक्रमको लागि नेपालमा आएको समयमा आफुसंग भेट भएको र सोहि समयमा अशोक लेलैण्डले आफ्नो पेटेन्टराइट भएको विश्वकै पहिलो फ्रन्ट इन्जिन भएको सेमी लो फ्लोर बस सहुलियत मुल्यमा उपलब्ध गराउने जानकारी गराएको हुदा साझा यातायतले काठमाडौं महानगरपालिकाको सहयोगमा वास्तविक मुल्यको एक तिहाइ मुल्यमा उक्त अशोक लेलैण्डको बस आयात गरी आजदेखि सञ्चालन गरेको जानकारी गराए ।