एनआईसी एशिया बैंकबाट लक्ष्मण रिसाल बाहिरीए, बैंक नयाँ सीईओको खोजीमा
काठमाडौं । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले राजीनामा दिएका छन् । २ वर्षे कार्यकाल सकिन लाग्दा बैंक सञ्चालक समितिले नयाँ सिईओ खोजी गर्न थालेपछि रिसालले दुई महिनाअघि नै राजीनामा दिएका छन् । रिसाल शुक्रबारदेखि विदामा बसेको बैंकका प्रमुख सूचना अधिकृत सुधीर पाण्डेले विकासन्युजलाई जानकारी दिए । ‘उहाँको दुई वर्षको कार्यकाल सकिन लागेको छ । नियमअनुसार शुक्रबारदेखि विदामा बस्नु भएको छ’ पाण्डेले भने । रिसालले बुधबार बैंक सञ्चालक समितिको अध्यक्ष तुलसीराम अग्रवाललाई राजीनामा बुझाएका छन् । उनले विहीबार सार्वजनिक विदा भएपनि बैंकका उच्च व्यवस्थापन समूहलाई बैंकमा बोलाई आफ्नो कार्यकाल सकिन लागेको र शुक्रबारदेखि विदामा बसेको जनाकारी गराएका छन् । जेठको पहिला सातादेखि उनको दुई वर्षे कार्यकाल पूरा हुँदैछ । थप कार्यकालको लागि पुन नियुक्ती गर्ने अवस्थामा कार्यकाल सकिनुभन्दा तीन महिनाअघि नै जानकारी दिने अभ्यास छ । दुई महिना बाँकी हुँदा पनि समय थप गर्ने बारेमा जानकारी नपाएपछि र सञ्चालक समितिले नयाँ सीईओको खोजी थालेको संकेत पाएपछि रिसालले राजीनामा गरेको स्रोतले बतायो । पछिल्लाे समय बैंकहरू लगानी याेग्य पुँजीकाे अभावले तनावमा छन् । यसै बेला बैंकका सीर्इअाेहरूले राजीनामा दिने क्रम पनि बढेकाे छ। छिटाेछिटाे सीर्इअाे परिवर्तनलार्इ बैंकिङ क्षेत्रमा राम्राे मानिएकाे छैन । ‘रिसालले राजीनामा अध्यक्षलाई बुझाएको मैले पनि सुनेको हुँ’ बैंकका एक जना सञ्चालकले भने–‘बैंक सिष्टममा चलेको छ । विधि अनुसार नयाँ सीईओको नियुक्ती छिट्टै हुनेछ ।’
भारतीय ९०० पिन्टको रेकर्ड तोड्न टुलिखेलमा गरे १ हजार जनाले रक्तदान
काठमाडौं । एकै दिन एकै स्थानमा सबैभन्दा बढी रक्तदान गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डसमा विश्वकीर्तिमान दर्ता गर्ने उद्देश्यले टुँडिखेलमा करीब एक हजारभन्दा बढी रक्तदाता रक्तदान गरेका छन् । लायन्स क्लब अफ काठमाडौँको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा विभिन्न उमेर समूहका मानिस, विद्यालय तथा कलेजका विद्यार्थी तथा युवाको बाक्लो उपस्थिती रहेको थियो । बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म आयोजित कार्यक्रममा रगत दिन चाहने संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणलाई विभिन्न चरणको परीक्षण पार गर्दै दान गर्नसक्ने व्यवस्था मिलाइएको थियो । जनसंख्या तथा वातावरणमन्त्री लालाबाबु पण्डितले जीवनमा रगतको ठूलो महत्व रहेको हुँदा रक्तदानको प्रचारका लागि कार्यक्रमले सकारात्मक सन्देश दिने विचार व्यक्त गरे । आयोजकका अनुसार यसअघि भारतमा करीब ९०० पिन्ट रगत संकलन भएको हुँदा एक हजार पिन्ट रगत संकलन भएमा कीर्तिमान कायम हुनेछ । नेपालस्थित लायन्स क्लबका प्रमुख बालकृष्ण बुर्लाकोटीले आयोजक संस्थालाई प्रमाणपत्र वितरण गरेर कार्यक्रमलाई औपचारिक रुपमा अगाडि बढाइएको थियो । आयोजकले करीब तीन हजार पिन्ट रगत संकलन गर्ने लक्ष्य राखेको छ । रगत दिन आएका मानिसलाई सहयोगका लागि १० सहयोगी कक्ष स्थापना तथा करीब ५०० स्वयंसेवकलाई खटाइएको कार्यक्रमका संयोजक अखिल श्रेष्ठले जानकारी दिए । सो कार्यक्रममार्फत गिनिज बुकमा नाम लेखाउन सकिएमा नेपाल र नेपालीलाई अन्तर्राष्ट्रिय तहमा गौरव प्राप्त हुने लायन्स क्लबका सदस्य सुचिता घिमिरेले विश्वास व्यक्त गरे । विसं २०७२ को भूकम्पमा रगतको केही अभाव भएका कारण लायन्स क्लबले नयाँ सडकमा आयोजना गरेको रक्तदान कार्यक्रममा करीब ५०० पिन्ट रगत संकलन गरिएको थियो । बसुन्धरास्थित ग्रीन सिटी हस्पिटलका अध्यक्ष एलबी टण्डनले स्वस्थ मानिसले गरेको रक्तदानका कारण थला परिरहेका बिरामीले जीवन प्राप्त गर्नसक्ने हुँदा यसबारे सन्देश फैलाउन आवश्यक रहेको बताए ।
पुरुषले मागे महिला छुट्टै विश्वविद्यालय र संग्राहलय
काठमाडौँ । १०८ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा रक्षा मन्त्री ईश्वर पोखरेलले महिलाका लागि सांस्कृतिक संग्रहालय र छुट्टै विश्वविद्यालय हुनुपर्ने कुरामा जोड दिएका छन् । सांस्कृतिक संग्राहलयले आयोजना राजधानीमा आयोजना गरेको कार्यक्रममा सो कुरा व्यक्त गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले अशं र वंशको अधिकारमा महिला र पुरुषको समान हैसियत हुनुपर्ने बताए । महिला दिवसको अवसर पारेर आयोजकले नेपालका विशिष्ट महिलाको ऐतिहासिक फोटो प्रदर्शनी समेत सुरु गरेको छ । नेपालको सामाजिक, राजनीतिक र आर्थिक रुपान्तरणमा विशेष योगदान पु¥याएका महिलाको फोटो प्रदर्शनी फागुन ३० गतसम्म हुने आयोजकले जनाएको छ । संग्रहालयका अध्यक्ष क्षितिज अरुण श्रेष्ठले ‘नारी शक्तिलाई सम्झौँ, नारीको सम्मान गरौँ’ भन्ने मूलनाराका साथ १०८औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा फोटो प्रदर्शन गर्न लागेको जानकारी दिए । प्रदर्शनीमा नेपालका २५० भन्दा बढी विशिष्ट, प्रथम र साहसिक महिलाको फोटो राखिएको छ ।
उद्योग मन्त्री यादव भन्छन्-२/४ जना खर्बपति पालेर करोडौं नागरिकलाई मागेर खान बाध्य पार्ने देश केको धनी ?
काठमाडौं । उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादवले दुई चार जना खर्बपतिले देश धनी नहुने बताएका छन् । ७ औं अन्तराष्ट्रिय व्यापार मेलाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने–कतिपय ठुला देशहरुमा केहि खर्बपतिको घर बनाउनै हाम्रो देशको पुरै बजेट लाग्छ, तर ती देशमा लाखौं करोडौं मानिस भिख माग्नेहरुको ताँती हुन्छ, अब भन्नुस त्यो देश केको धनी ?’ उनले मुकेश अम्बानीले भारतमा महंगो घर बनाएको र भारतमा करोडौं मानिस मागेर गुजारा चलाउन परिरहेका तर्फ संकेत गरेका थिए । अम्बानीले २ अर्ब अमेरिकी डलर खर्च गरेर एन्टिलिया भवन बनाएका थिए । उनले नेपाल धेरै देश भन्दा राम्रो भएको दावी गर्दै छाता जस्तो नभएर पिरामिड जस्तो अर्थतन्त्रको विकास गर्नुपर्नमो पनि जोड दिए । उनले विकास र समृद्धिको प्रतिफल सबै नागरिकले पाउनुपर्नेमा जोड दिए । उनले हिजो गडबड गर्ने सबै कर्मचारीलाई माफी दिएको बताउँदै अब सुध्रन चेतावनी दिँदै जनताका पक्षमा लाग्न आग्रह गरे । उनले अब खुस खुवाउनेहरुको काम हुने दिन सकिएको पनि बताएका थिए । ‘एक दम ख्याल गर्नु होला, अब जसले घुस खुआउँछ उसको काम हुँदैन्, हिजोसम्म जसले घुस खुवाउँछ उसको काम हुन्थ्यो अब त्यस्तो हुँदैन, जसले घुस खान्छ उसको त के हुन्छ हुन्छ ।’ उनले राजनीतिक दलहरु एकताको प्रक्रियामा सामेल भएकाले अब निजी क्षेत्रका विभिन्न संघ संस्थाहरुबिच पनि एकता आवश्यक रहेको बताएका थिए ।
टोयोटा विरुद्ध अमेरिकामा मुद्दा दायर, कमसल सामाग्री प्रयोग गरेको आरोप
काठमाडौं । अमेरिकामा टोयोटा मोटर कम्पनीले कमसल सामाग्रीको प्रयोग गरेको भन्दै उपभोक्ताहरुले अमेरिकी अदालतमा मुद्धा दायर गरेका छन् । उपभोक्ताहरुले टोयोटा कम्पनी र कोब स्टिल प्रालि विरुद्ध मुद्धा दायर गरेका हुन् । सवारी उत्पादन गर्दा कमसल फलाम प्रयोग गरेको भन्दै उनीहरु अदालत गएको बेलायती समाचारसंस्था रोयर्टसले जनाएको छ । अमेरिकाको सान फ्रान्सिस्कोको प्रान्तीय अदालतमा क्यालिफोर्नियाका दुई टोयटा गाडी खरिद गरेका उपभोक्ताले उजुरी हालेका हुन् । अदालतमा दायर भएको उक्त उजुरीमा टोयोटाका प्रियुस, क्याम्रि, ल्याण्ड क्रुजर र लेक्सस गाडीमा निम्न गुणस्तरको स्टील, आल्मुनियम र कपर प्रयोग गरिएको दाबी गरिएको छ । यसका साथै उजुरीकर्ताहरुले टोयोटा र कोब स्टीलको अहिलेको गल्तीले अमेरिकी संघीय कानुन र गुणस्तर कानुनको उल्लंघन भएको दाबी गरेका छन् । ‘हामीले अहिले सबै विवरण पाइसकेका छैनौं र हामीले यो विषयमा अनुसन्धान र अध्ययन थालिसकेका छौं’, कोब स्टीलका प्रवक्ताले रोयर्टसलाई बताए । यता टोयटाले भने यस विषयमा कुनै प्रतिक्रिया नदिएको समाचारमा उल्लेख छ । झण्डै ११२ वर्ष पुरानो जापानी फलाम उत्पादन कम्पनी कोबले कार, प्लेन र ट्रेन उत्पादक कम्पनीलाई फलाम सप्लाई गर्दै आएको छ । गत वर्ष मात्रै पनि कम्पनीले आफ्ना करिब ५ सय ग्राहकलाई कमसल सामाग्री आपुर्ती गरेको भनि स्वीकार गरेको थियो जसका कारण कम्पनीमाथि दबाब र आलोचना बढ्दै आएको छ । यो खुलासाभएपछि अप्रिलदेखि नै कावासाकी कम्पनीले भने कोबसंग आवश्यक फलाम नकिन्ने जनाएको छ ।
एनआईसी एशियाको ‘धनवर्षा मुद्धती खाता’मा प्रतिमहिना १२ प्रतिशत व्याज, ९०% सम्म ऋण सुविधा
काठमाडौं । एनआईसी एशिया बैंकले ‘धनवर्षा मुद्धती खाता’ लाई री–लञ्च गरेको छ । १ बर्ष अवधिकोे उक्त मुद्धती खातामा वार्षिक १२ प्रतिशतका दरले मासिक रुपमा व्याज भुक्तानी गरिने छ । बैंकको जुनसुकै शाखाबाट उक्त मुद्धती खाता खोल्न सकिने र मुद्धती रसिदको धितोमा मौज्दातको ९० प्रतिशतसम्म कर्जा समेत उपलब्ध गराउन सकिने बैंकले जनाएको छ । त्यसैगरी, यसअघि बैंकले सञ्चालनमा ल्याएको सर्वाधिक उच्च ब्याजदर सहितको ‘समुन्नति प्लस बचत खाता’मा त्रैमासिक ब्याज भुक्तानी हुने गरी वार्षिक १० प्रतिशतका दरले व्याज प्रदान गर्दै आईरहेको छ । हाल बैंकले १८० शाखा कार्यालयहरु, १८३ एटिएम सञ्जालहरु, ४ एक्स्टेन्सन काउन्टरहरु, ३ शाखारहित बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
महिला नेतृको उद्घोष: बलात्कार, बालविवाह र दाइजो प्रथा उन्मूलन गर्छाै
काठमाडौं । बलात्कारी बालविवाह र दाईजो प्रथा निर्मुल पार्ने महिला नेतृहरुले उद्घोष गरेका छन् । १०८ अाैं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा रिपोटर्स क्लबले गरेको साक्षात्कारमा बोल्दै महिला नेतृहरुले सो कुरा बताएका हुन् । कार्यक्रममा बाेल्दै महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले बलात्कारीलाई कडा कारबाही गर्ने र बालविवाह, दाईजो प्रथाको अन्त्यको लागि आफूले छिट्टै नयाँ कार्यक्रम सार्वजनिक गर्ने बताएकी छिन् । उनले भनिन्,‘बलात्कारीहरुलाई कडा कारबाही गर्छु र दाईजो प्रथालाई निर्मुल पार्छु।’ माओवादी नेतृ पम्फा भुषालले नेपाली समाजमा महिलाहरुलाई हेर्ने सोचमा फरक रहेको र यसमा परिवर्तन ल्याउनु पर्ने कुरमा जोड दिइन् ।नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले महिलाहरु सांसद, सभामुख, उपप्रधानमन्त्री, प्रधानन्यायाधीश र राष्ट्रपति बनिसकेकोले मुलुकका कार्यकारी पद प्रधानमन्त्री पनि बन्न सक्ने क्षमता महिलाहरुमा भएको बताइन् ।
वीरगञ्जको रेल र निजगढको फास्ट ट्रयाक चोभारसम्म
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले वीरगञ्ज–काठमाडौं विद्युतिय रेलमार्ग र निजगढ-काठमाडौं फास्ट ट्रयाकलाई चोभारमा जोडिने बताएका छन् ।राजधानीमा आयोजीत एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले फास्ट ट्रयाकको डिजाइनमै चोभारमा जोड्ने व्यवस्था मिलाउन नेपाली सेनालाई निर्देशन दिईसकेको बताएका हुन् । उनले बिरगञ्ज वीरगञ्ज-काठमाडौं विद्युतिय रेलमार्गलाई पनि चोभारमै जोड्ने व्यवस्था मिलाउन निर्देशन दिएको बताएका हुन् । ‘फास्ट ट्रयाकलाई चोभार जोड्ने व्यवस्था मिलाउन भनिसकिएको छ, भविष्यमा निर्माण हुने वीरगञ्ज-काठमाडौं रेलमार्गलाई पनि चोभारमै जोड्ने गरि अध्ययन अघि बढाउन भनिसकेका छौं’, मन्त्री खतिवडाले भने । हालसम्म फास्ट ट्रयाकलाई ललितपुरको खोकना जोड्ने भनिएको छ । नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले फास्ट ट्रयाकलाई चोभारसम्म जोड्नका लागि औपचारिक निर्देशन नआएको तर अनौपचारिक छलफल भएको भैरहेको बताए । वीरगञ्ज–काठमाडौं विद्युतिय रेलगमार्गको भने सम्भाव्यता अध्ययन गर्ने कम्पनी छनौट अन्तिम चरणमा पुगेको छ । अर्थमन्त्री डा. खतिवडाले चोभारलाई फास्ट ट्रयाक र बिरगञ्ज काठमाडौं विद्युतिय रेलमार्गले जोडेर निर्यात व्यापारको केन्द्र बनाउने बताएका हुन् । उनले चोभारमा अन्तराष्ट्रिय स्तरको प्रदर्शनी कक्ष र इनल्याण्ड कन्टेनर डिपो(आइसीडी) निर्माणको काम अघि बढिसकेकाले फास्ट ट्रयाक र रेलमा जोड्न लागेको बताएका हुन् ।